नेप्से १.१४ प्रतिशत घट्यो

काठमाडौं, फागुन १७ । नेप्से परिसूचक १ दशमलव १४ प्रतिशत घटेको छ । ३ घण्टाको व्यापारमा परिसूचक १४ दशमलव ९६ अंक घटेर १ हजार २ सय ९८ दशमलव शून्य ५ विन्दुमा पुगेको छ ।

कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि नेप्से परिसूचक ओरालो लागेको हो । यस समयमा १ सय २५ कम्पनीको २ हजार ९ सय १४ पटकको व्यापारमा ९ लाख ९६ हजार बराबरको शेयर कित्ता कारोबार भएको छ ।

बीमा समूहको परिसूचक २ दशमलव ५९ प्रतिशत घटेको छ ।

त्यस्तै, होटल समूहको परिसूचक २ दशमलव शन्य १ प्रतिशत र बैङ्किङको १ दशमलव ११ प्रतिशतले घटेको छ ।

साथै, ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ८८ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव शून्य ८ प्रतिशत, जलविद्युतको शून्य दशमलव शून्य ७ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन समूह भने स्थिर रहेको छ ।

गाउँका विद्यार्थी व्यावसायिक तरकारी खेतीमा

मोरङ, फागुन १५ । तरकारी खेती गर्ने भन्नेबित्तिकै शैक्षिक योग्यता नपुगेर होला वा विदेशमा हन्डर खाएर फर्केका युवा सम्झने गरिन्छ । तर त्यसको विपरीत मोरङको ग्रामीण भेग कदमहा, रङ्गेली, अमाही बरियाती, सिसवनिजहदा र कटहरीका युवा कृषक स्नातक तहमा अध्ययन गर्दै तरकारी खेती गर्दै आएको छ । अमाही बरियातीका सुवासचन्द्र गच्छदार विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विज्ञान विषयमा स्नातक तहमा अध्ययन गर्दै आएको छ । स्नातक पढ्दै गरेका विद्यार्थी पाँच जनाको समूह बनाएर चार बिगाहा जग्गा भाडामा लिएर खेती सुरु गरेको भए पनि गत वर्ष उहाँहरुले आठ कट्ठामा भन्टा र गोलभेँडा मात्रै लगाएको थियो । उनीहरुले गत वर्ष भन्टाबाट खर्च कटाएर रु ७० हजार र गोलभेँडाबाट रु ५० हजार नाफा कमाउनुभयो । तर यस वर्ष भने चार बिगाहामा नै उनीहरुले तरकारी लगाएको छ । यस वर्ष कम्तीमा पनि रु १० लाख आम्दानी गर्ने लक्ष्य उनीहरुको छ । पुरानो तरिका छाडेर आधुनिक प्रविधि र व्यावसायिक तरिकाले खेती गर्दा आम्दानी पनि राम्रो हुने र कृषिमा देशलाई आत्मनिर्भर बनाउन सकिनेमा युवा विश्वस्त रहेको कद्माहा–७ का कृषक जितेन्द्रकुमार मण्डलको भनाइ छ । उहाँहरुले कद्माहामा फार्म तयार पारेको छ । त्यो फार्मको बाहिरी भागमा पूरै किरा नछिर्ने खालको जाली लगाएको छ । विज्ञान विषय पढेका यी युवाको उत्साहलार्ई हेर्दा लाग्छ यी युवा नै हुन् जो कृषिमा केही गर्न खोज्दैछन् र यहीबाट कृषि क्रान्ति सुरु भइरहेको छ । आफ्नो फार्ममा दुईजनालाई रोजगारी दिइरहेको गच्छदारको भनाइ छ । स्वदेशमा रोजगारी पाइएन भनेर युवा विदेश पलायन भइरहेको अवस्थामा ग्रामीण भेगका यी युवा उदाहरण बनेका छन् ।

कपाल काटेर मासिक रु दुई लाखभन्दा बढी आम्दानी

पर्वत, फागुन १५ । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका बानपा–२ का २७ वर्षीय राजन पौडेलले अहिले घरमै बसेर मनग्य आम्दानी गर्न थाल्नुभएको हो । विदेशबाट घर फर्किएपछि राजधानीमा बसेर ६ महिना हेयर डिजाइनर तालिम लिएर पुनः घर फर्केर सैलुन व्यवसाय सुरु गरेपछि जीवनमा सोचेभन्दा पनि राम्रो आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । अहिले बागलुङ बजारको पुरानो बसपार्क नजिकै रहेको आफ्नै घरमा ‘मार्क रविन्स सैलुन एयर एन्ड ब्युटी फर लेडिज एन्ड जेन्स’ पसल खोलेर पौडेलले व्यवसाय गर्दै आउनुभएको छ । परिवारका कान्छा छोरा, बाबु नेपाल बैंकको पूर्व म्यानेजर । पैसाको त खासै कमी थिएन, विदेश जानुपर्ने बाध्यता पनि थिएन तर बालहठका कारण विदेश गएँ युएईमा पनि यस्तै पार्लरमा काम गर्ने अवसर पाएँ र त्यसैको प्रेरणाबाट नेपाल फर्केर सैलुन व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । सुरुमा त घरपरिवार र समाजले समेत यस्तो व्यवसाय नगर्न सुझाव मात्र होइन दबाब पनि दिए । उहाँ भन्नुहुन्छ – “काम भनेको सानो ठूलो हुँदैन भनेर आफूले रु ६ लाख लगानी गरेर व्यवसाय थालेको हुँ ।” हाम्रो समाजमा अझै पनि सैलुन व्यवसाय भनेको भारतीय मूलका नागरिकले नै गर्ने हो भन्ने प्रचलन रहेको छ । ठूला सहरबजारदेखि साना व्यापारिक केन्द्रसम्म उनीहरूकै वर्चस्व पनि छ । त्यसैले समाजको बुझाईसमेत नेपालीले गर्नुहुँदैन भन्ने हुँदाहुँदै पनि उहाँले सैलुन व्यवसाय सुरु गर्नुभएको हो । व्यवसाय सुरुवातका केही समय त आफ्नो सैलुनमा कोही पनि नआउने, यसले जान्दैन भन्ने गर्दथे तर विस्तारै आफ्नो मेहनत र कलाकौशलका कारण अहिले उहाँको पसल धौलागिरि अञ्चलकै नमुना बनेको छ । उहाँको पसलमा पुरुष मात्र होइन महिलाको पनि उत्तिकै आकर्षण रहेको छ । बढिजसो अफिसियल र टिनेजर्स मेरोमा आउने गर्छन्, उहाँले भन्नुभयो । दैनिक ४० देखि ५० जनासम्म पुरुष र महिला विभिन्न सेवा लिनका लागि आउने गरेको राजनले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ – “मासिक रु एक हजार २०० देखि रु एक हजार ५०० सम्मले सेवा लिने गरेका छन् ।” मबाट सेवा लिएकाहरू अर्को पटक अर्को स्थानमा जान मान्दैनन् उहाँले भन्नुभयो – “पोखरा, काठमाडाँै जहाँ पुगे पनि फर्की फर्की सेवा लिन आउने गरेका छन् ।” तालिम नै लिएर व्यवसाय सुरु गरेकाले ग्राहकको जस्तोसुकै रोजाइको सेवा दिन सक्ने उहाँको क्षमता रहेको छ । दैनिक रु पाँच हजार देखि रु सात हजारसम्म कमाइ हुने गरेको उहाँको भनाइ छ । व्यवसायमा गरेको लगानी पहिलो वर्षमा उठाएका राजनले अहिले भएको कमाइले आफ्ना छोराछोरी पढाउने र पैसा बैंकमा बचत गर्न थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ – “यसबाट भएको कमाइको केही हिस्सा सामाजिक क्षेत्रमा लगानी गर्ने योजना छ।” उहाँको व्यवसायबाट आफूमात्र होइन दुईजना पुरुष र एक महिला गरी अन्य तीनजनालाई पनि रोजगारी पाएका छन् । उनीहरूले आफ्नो सहयोगीका रूपमा काम गर्ने गरेको राजन बताउनुहुन्छ ।

साताको नेप्से ३२ अङ्कले घट्यो

काठमाडौँ, फागुन १४ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१ दशमलव ८९ अङ्कले घटेको छ । गतसाता ९१ दशमलव ३५ अङ्कले बढेको थियो । यो साताको अन्तिम दिन परिसूचक एक हजार ३३७ दशमलव ४६ अङक्मा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीको कारोबार भएको छ । जसअनुसार २८ हजार ०६८ कारोबारबाट रु दुई अर्ब ७४ करोड ७४ लाख ५६ हजार बराबरका ६२ लाख ३४ हजार ३५० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६ दशमलव ४३ प्रतिशत बढी हो । गतसाता १५५ कम्पनीको कारोबार भएको थियो । जसअनुसार २९ हजार ३२७ कारोबारबाट रु दुई अर्ब ५८ करोड १४ लाख १५ हजार बराबरका ७९ लाख सात हजार ७२० कित्ता सेयर खरिद बिक्री भएका थिए । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ७ दशमलव २८ अङ्कले घटेर २९० दशमलव ८८ अङ्कमा आइपुगेको छ । यससाता कारोबार रकम रु १४ करोड ८८ लाख ६० हजारको आधारमा बैंक अफ काठमाडौँं लुम्बिनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या ९रु तीन लाख ८४ हजार कित्ता० को आधारमा एनआइबीएल संमृिद्ध फन्ड एक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार सङ्ख्या (एक हजार ५२९ वटा) को आधारमा बैंक अफ काठमाडाै‌ लुम्बिनी लिमिटेड अग्रस्थानमा रहेको छ । यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋण पत्रको कुनै पनि कारोबार भएन । यो साता एभरेष्ट फाइनान्स लिमिटेड एक लाख ९९ हजार ४०३, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड एक लाख, सहारा विकास बैंक लिमिटेड ८२ हजार, लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको छ लाख र मुक्तिनाथ विकास बैंक लिमिटेडको २८ लाख ५० हजार ६७१ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । त्यसैगरी यसैसाता अरनीको डेभलपमेन्ट बैंक लिमिटेडको नौ लाख २८ हजार १९०, सहारा विकास बैंक लिमिटेडको तीन लाख ५४ हजार र मुक्तिनाथ विकास बैंक लिमिटेडको ४१ लाख ९२ हजार १६३ कित्ता हकप्रद सेयर तथा टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड १३ लाख २८ हजार २७२ अभिलेख सूचीकृत भएका छन् ।

बुद्ध मण्डला निर्माणार्थ एक करोड १८ लाख सङ्कलन

पोखरा, १३ फागुन । पोखरा उपमहानगरपालिका–२१ काहुँकोटमा निर्माण गर्न लागेको यशोधरा वाटिका एवम् विश्वकै अग्लो बुद्ध मुर्तिका लागि एक सय ८९ रोपनी जग्गा र रु एक करोड १८ लाख नगद सङ्कलन भएको छ । धर्मकाया बुद्ध मण्डला विकास एवम् व्यवस्थापन समितिद्धारा आज काहुँकोटमा आयोजित बुद्ध मण्डला निर्माणार्थ भूमिदान कार्यक्रममा धारापानी सामुदायिक वन उपभोक्ता समूहले १७० रोपनी जग्गाको स्वामित्व हस्तान्तरण गरेको हो । त्यस्तै सो कार्यका लागि रु सात करोडको लागतमा छ रोपनी जग्गा खरिद गरी सकिएको छ भने स्थानीय समाजसेवी गमबहादुर गुरुङ, खिमबहादुर गुरुङ र इन्द्रबहादुर गुरुङको परिवारले आफ्ना पुर्खाको स्मृतिमा एक÷एक रोपनी जग्गा समितिलाई निःशुल्क प्रदान गर्ने घोषणा गरे । सो स्थानमा लगभग पाँच अर्बको लागतमा ८० मि उचाइको विश्वकै अग्लो बुद्ध मुर्तिसहित सङ्गहालय, पार्क, ध्यान केन्द, अध्ययन केन्द्रलगायत विभिन्न भौतिक संरचना निर्माण गरिने लक्ष्य रहेको धर्मकाया बुद्ध मण्डला विकास एवम् व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङले जानकारी दिए । धर्मकाया बुद्ध मण्डल विकास एवम् व्यवस्थापन समितिका संरक्षक तथा लामा गुरु साङ्पा रिम्पोछेले सो कार्यक्रमको उद्घाटन गर्दै जग्गादाता र नगद प्रदान गर्नु हुने दानवीरलाई खादा ओढाएर सम्मान गरेका थिए । पोखराको जुनसुकै स्थानबाट पनि स्पष्ट देख्न सकिने गरी भगवान् बुद्धको मूर्ति निर्माण गरिने बताउँदै उहाँले विश्वका मासिनलाई यस क्षेत्रमा आउने वातावरण तयार हुनुका साथै काहुँकोटको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । उक्त बुद्धकाया निर्माणका लागि उहाँले आफ्नो व्यक्तिगततर्फबाट दश लाख र विभिन्न मुलुकका अनुयायीबाट सङ्कलन भएको रु दश लाखसहित कुल २० लाखको चेक समितिका अध्यक्ष रुद्र कुमारी गुरुङलाई हस्तान्तरण गरेका थिए । धारापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमार क्षेत्रीले बुद्धकाया मण्डला निर्माणले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै वन समूहले निःस्वार्थ जग्गाको स्वामित्व समितिलाई हस्तान्तरण गरेको बताए । समुन्द्री सतहबाट एक हजार ४२८ मिटरको उचाइमा रहेको सो रमणीय कोटबाट माछापुच्छे्र्र, अन्नपूर्ण, धौलागिरि, मनासलुलगायत विभिन्न हिमशृङ्खलासहित पोखरा बजारको स्पष्ट दृश्यावलोक गर्न सकिन्छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, समितिका महासचिव राजबहादुर गुरुङ समितिका सल्लाहकार अशोक पालिखेलगायत जग्गा तथा नगद प्रदान गर्नुहुने सामाजिक एवम् धार्मिक व्यक्तित्वले बुद्धधर्मको माध्यमबाट विश्वशान्तिमा महत्वपूर्ण योगदान पुगेको बताउँदै काहुँकोटमा निर्माण गरिने बुद्ध मण्डलाले आन्तरिक तथा बाह्रय पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने जानकारी दिए ।

व्यावसायिक च्याउखेतीतर्फ महिला आकर्षित

मोरङ, फागुन १४ । मोरङ पथरी शनिश्चरेका महिला अहिले व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् । च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । समूह बनाएर नै उनीहरु च्याउखेती गर्दै आएका छन् । सुरुमा समूह बनाएर काम गर्नै समस्या परेको पथरी शनिश्चरे– १२ की पार्वतीदेवी यादव बताउँछन् । पाँच/पाँच जनाको समूहमा च्याउखेती सुरु गरेका उनीहरुले सुरुमा यसकोे बजार पाउन समस्या परेको भएपनि पछिल्लो यसले राम्रो बजार पाउन थालेको च्याउखेतीमा संलग्न स्थानीय रतनीदेवी यादवले बताए । सुरु सुरुमा च्याउ बिक्री नभएर रु। एक सयमा प्रतिकेजी बेच्नुपरेको थियो, उनले भने – विस्तारै विस्तारै च्याउ स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने सर्वसाधारणले बुझेपछि गाउँकै हाटबजारमा प्रतिकिलो रु दुईसयमा बिक्री हुने गरेका छन् । गएको पुस महिनाबाट सुरु गरेको च्याउखेतीबाट अहिलेसम्म दुई क्वीन्टल भन्दा बढी बिक्री गरेको कृषक फूलावती चौधरीले बताए । सुरुमा च्याउखेतीबाट फाइदा हुन्छ भन्ने विश्वास लागेको थिएन तर साथीहरुले धेरै कर गरेपछि च्याउखेती सुरु गरें, अर्का कृषक नरमाया चौधरीले भनिन् – च्याउखेतीबाट अहिले राम्रो आम्दानी हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यलय मोरङका प्रमुख मनोज यादवकाअनुसार जिल्लामा २५ हजार कृषक च्याउ उत्पादनमा प्रत्यक्ष रुपमा संलग्न छन् । यसबाट वार्षिक दुई सय २० मेट्रिक टन च्याउ उत्पादन हुने गरेको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेबाट ७ महिनामा २ करोड राजस्व सङ्कलन

पोखरा, १३ फागुन । जिल्ला ट्राफिक कार्यालय कास्कीले सवारी नियम उल्लङ्घन गर्ने सवारी चालक र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी चालु आवको सात महिनामा रु दुई करोड ११ लाख ६ हजार राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि माघ मसान्तसम्म ३० हजार ९९९ सवारी चालक कारबाहीमा परेको कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिनुभयो । सोही अवधिमा कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार १८ जना चालकलाई कारबाही गरी रु १० लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । कारबाहीमा पर्नेमा मोटरसाइकल चालक ८९४ जना, ट्र्याक्टर चालक १४, कार÷जिप चालक ९९, बस चालक ८ जना र ट्रक÷ ट्र्याङ्कर चालक तीन जना रहेका छन् । कार्यालयले सवारी दुर्घटनालाई कम गर्न २१० पटकसम्म १७ हजार ३३७ जनालाई ट्राफिक जनचेतना प्रशिक्षण दिएको जनाएको छ । रासस

गरिबी निवारणका नवनियुक्त अध्यक्ष थापाले दिए यस्तो अभिव्यक्ति

काठमाडौँ, १३ फागुन । गरिबी निवारण कोषको नवनियुक्त उपाध्यक्ष डा यमबहादुर थापाले राजनीतिक दलको विचारधारा फरक भएतापनि गरिबी निवारणजस्तो संवेदनशील विषयमा भने एकमत र ऐक्यबद्धता हुनुपर्ने बताउनुभएको छ । उहाँको स्वागतका लागि कोषमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले कोषलाई स्वाबलम्बी संस्थाको रुपमा विकास गर्न प्रयास गर्ने बताउनुभयो । डा थापाले आगामी दिनमा अनुसन्धान, सिर्जनशील परियोजना, घुम्ती कोषको व्यवस्थापनमा जोड दिने र नेपाल सरकारको गरिबी निवारणको लक्ष्य प्राप्तिमा कोषलाई उन्मुख गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सरकारले गरिबी निवारण कोषमा गत सोमबार डा थापालाई उपाध्यक्ष नियुक्त गरेको हो । डा थापाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गर्नुभएको छ । यसअघि उहाँले राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा काम गरिसक्नुभएको छ । यस्तै उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा गरिबी निवारण विशेषज्ञको रुपमा समेत काम गरिसक्नुभएको छ । बाह्र वर्षदेखि संञ्चालित गरीवी निवारण कोषका कार्यक्रमले ५५ जिल्लामा ३० हजार सामुदायिक संस्था गठन गरेर ८ लाख गरीव घरधुरीलाई समेटेको छ । रासस

शिवरात्रिमा टेलिकमको फेस्टिभल अफर

काठमाडौं, फागुन १२ । नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ। अफरअन्तर्गत रु ७५ मा १०० एमबी डाटा खरिद गरी सोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ। त्यस्तै, रु १५० मा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । २२ रुपैयाँ ६० पैसामा १०० एमबी फेसबुक प्याकेज खरिद गरी पाँच दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

घुस लिँदै गर्दा रंगेहात मालपोतका नासुसहित तीनजना पक्राउ

भक्तपुर, फागुन १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दुई कर्मचारीसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशवबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतू रहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ । मालपोत कार्यालयअगाडिको खाजा पसलमा सेवाग्राहीसँग रु ६ लाख १४ हजार घुस लिँदैगर्दा अख्तियारको टोलीले बुधबार साँझ उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिना र महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालको रोहवरमा अख्तियारको टोलीले घुस लिएको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको छ । आयोगमा परेको निवेदनअनुसार विगत एक सातादेखि सो कार्यालयका कर्मचारीमाथि आयोगले निगरानी गर्दै आएकोे आयोगका कर्मचारी गोकुल पन्तले बताए ।

बैंकबाट ओडी लिएर जग्गाको वैना कारोबार गर्नेहरू बेघर हुँदै

काठमाडौं । पोखराकी अन्जु लामगाडेले दुई महिना अघि बैंकसँग ऋणको कुरा गरेर ८० लाख रुपैयाँ पर्ने घर किन्न २४ लाख रुपैयाँ वैना दिइन्। पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल छेउको घर किन्न लाग्नुको कारण थियो- केहि समय पछि बेचेर राम्रो नाफा कमाउने। तर, उनले सोचेजस्तो भइ दिएन। बैंकिङ क्षेत्रमा ‘क्रेडिट क्रन्च’ चर्किएपछि कबुले बमोजिम कर्जा दिन नसक्ने भन्दै बैंक टक्टकिए। ‘बैंकले ऋण दिन्छु भनेकैले ४५ दिनको भाका राखेर घरको वैना दिएँ, लामगाडेले बिजमाण्डू सँग भनिन्- पछि बैंकले ऋण दिन नसक्ने जवाफ दिए पछि घर नकिन्ने मनसाय बनाएकी थिएँ।’ उनले वैना दिएको २४ लाख रुपैयाँ फिर्ता गरिदिन घरधनी सँग आग्रह गरिन्। तर, घरधनिले ‘बरु केही समय पर्खिने तर पैसा फिर्ता दिन नसक्ने’ जवाफ दिए। ‘घरधनीले जहिले हुन्छ बेचेर बाँकी पैसा देउ तर वैना फिर्ता गर्न सक्दिन भनेपछि घर बेच्ने निर्णयमा पुगेकी हुँ’ उनले भनिन्। घर बिक्रीका लागि लामगाडेले मंगलबार फेसबुकमा सूचना नै पोष्ट गरिन्। अहिले तत्काल ५० लाख रुपैयाँ दिनेलाई घर पास गरिदने र बाँकी पैसा बिस्तारै दिँदा हुने उनको भनाइ छ। ‘अव मलाई दुई/चार लाख घाटा त हुने नै भयो’ उनले सुनाइन्- ७०/७५ लाख आए पनि बेचिदिन्छु।’ बैना दिएको २४ लाख रुपैयाँ पनि ऋण सापटी खोजेको हुँदा जसरी पनि घर बेच्ने बाध्यता आएको उनले बताइन्। पर्वतका रामचन्द्र पौडेलले पनि केहि समय अघि थानकोटमा प्लटिङ गरेका तीन वटा घडेरी किने। उनको उद्येश्य पनि दुई तीन महिनामा राम्रो नाफा खाएर बेच्ने नै थियो। तर, बैंकले ऋण लगानी नगरे पछि घरजग्गाको कारोबार सुस्त भयो। अहिले उनी घरजग्गा हैन शेयर बजारमा लगानी गर्ने भन्दै जग्गा बिक्रिको प्रयासमा छन्। बानियाटार काठमाडौंकी लक्ष्मी उपाध्यायले ८ कोठाको दुई तले घर बिक्रीका लागि सूचना नै प्रकाशित गरेकी छिन्। चार आनामा बनेको घर एक करोड १५ लाख रुपैयाँमा बेच्न तयार भएको उनले उल्लेख गरेकी छिन्। बैंकबाट लिएको ४० लाख रुपैयाँ ऋण चुक्ता गर्न समस्या भएपछि घर बेच्ने निर्णयमा पुगेको उनले बताईन्। उनी किन्न आउने ग्राहकलाई ‘मिलाएर’ घर दिन तयार छिन्। सिन्धुपाल्चोकका लक्ष्मण श्रेष्ठले पनि डेढ महिना अघि काठमाडौं थलीमा १५ कोठाको घर किने। तर, ‘फाइनान्सिङ’कै समस्या आएपछि मासिक ४०/५० हजार रुपैयाँ भाडा आउँदा आउँदै पनि घर बेच्ने निर्णयमा पुगेको उनको भनाइ छ। जति सक्दो चाँडो बैंकको लफडा सल्ट्याउन श्रेष्ठ दौडधुपमा लागेका छन्। एक करोड २० लाख मूल्य तोकेको घर मिलाएर दिन उनी पनि तयार छन्। ‘नाफाको त कुरै भएन सावाँ आउने बित्तीकै बेचिदिने हो’ उनले भने। ईमाडोलका विवेश श्रेष्ठ भने जग्गा बेच्न आतुर छन्। उनीसँगै सिमा जोडिएको जग्गा दुई महिना अघि आनाको ४५ लाख रुपैयाँ दरले बिक्री भयो। अहिले उनले आनाको २९ लाखमा बेच्ने भनेर सूचना निकालेका छन्। ‘आनाको २७ लाख रुपैयाँ आए पनि बेच्ने हो, ल आउनुस, ग्राहकको रुपमा बिजमाण्डूले कुरा गर्दा उनले भने- मेरो धेरै ठाउँमा जग्गा छ दाई विदेश जान लागेकोले बेच्नु पर्ने बाध्यता छ, आउनुस अझै मिलाउनु पर्छ भने पनि मिलाउँला’। बैंक तथा वित्तिय संस्थाले लगानी रोकेसँगै घर/घडेरी मूल्य घटाएर बेच्ने सूचना दिनहुँ प्रकाशित हुन थालेका छन्। जसले आफ्नै प्रयोजनका लागि घर जग्गा किनेका थिए उनीहरुलाई समस्या नभए पनि कमाउने उध्येश्यले लगानी गर्नेहरु भने समस्या पर्न थालेको व्यवसायीले बताएका छन्। ‘जसले आफ्नै गोजीको रुपैयाँ हालेर घरै बनाउने उद्येश्यले किनेका थिए उनिहरुलाई समस्या छैन, अनलाईनको माध्यमबाट घरजग्गा किनबेचको मध्यस्थता गरिरहेका अर्जुन छत्कुली भन्छन्- तर जसले बैंकबाट ओभरड्राफ्ट ऋण निकालेर नाफाका लागि जग्गा कारोबार गरिरहेका थिए उनिहरुलाई समस्या भैसकेको छ।’ अचेल विगत भन्दा दोब्बर संख्यामा घरजग्गा बेच्नेहरुले सम्पर्क गरि रहेको उनी सुनाउँछन्। पत्रिका देखि डीजिटल मिडिया घरजग्गा बिक्रिका विज्ञापनले भरिन थालेका उनको अनुभव छ। बैंकमा क्रेडिट क्रन्चसँगै राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जामा गरेको कडाइले घरजग्गा कारोवार ८ वर्ष अघिकै दृश्य देखिन थालेका छन्। त्यसबेला पनि बित्तिय क्षेत्र तरलता संकटमा परेपछि धेरै घरजग्गा ब्यवसायी डुबेका थिए। सर्वसाधारणको पैसा डुबाएपछि सुधिर बस्नेत लगायत ‘ठूला’ रियलस्टेट ब्यवसायी अझै पनि जेलमा छन्। बिजमाण्डूबाट साभार

मोबाइल ब्याङकिङ सेवा पुर्याउनुपर्नेमा जोड

काठमाडौँ,  फागुन ११ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले ग्रामीण भेगमा मोबाइल ब्याङकिङ सेवा पुर्याउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् । पुँजीमा पहुँच बढाउँदै नेपालको गरिबी घटाउन क्रियाशील बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभागअन्तर्गतको परियोजना ‘सक्षम’ र व्यापारीक प्रतिष्ठान आइएमई समूहको ‘आइएमई डिजिटल’ बीच आज यहाँ आयोजित मोबाइल ब्याङकिङ सेवासम्बन्धी सम्झौता समारोहमा उहाँले त्यस्तो आवश्यकता औँल्याएको हो । नगदरहित कारोबारले पारदर्शिता सुनिश्चित गर्ने बताउँदै गभर्नरले अनौपचारिक माध्यमबाट हुने कारोबार नियन्त्रणमा समेत मोबाइल ब्याङकिङ प्रणालीले सघाउने वास्तविकता प्रस्ट्याए । सूचना तथा सञ्चार प्रविधिको वर्तमान युगमा विद्युतीय कारोबार सुरक्षित एवम् भरपर्दो हुने भएकाले केन्द्रीय बैंकले त्यसको प्रवद्र्धनलाई प्रोत्साहन गर्ने बताए । देशका सम्पूर्ण जिल्लामा पाँच हजार पाँचसय ‘एजेन्ट’ बाट वित्तीय सेवा प्रवाह गर्दै आएको आइएमईका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र मध्य तथा सुदूरपश्चिमका सबै जिल्लामा सेवारत सक्षम परियोजनाका टोली नेता बलजित बोहोराले सम्झौतापत्रमा हस्ताक्षर गरे । त्यस अवसरमा अध्यक्ष ढकालले मुलुकको वित्तीय सेवालाई सबल र सुदृढ तुल्याउन निजी क्षेत्रको प्रतिबद्धता दोहोर्याउँदै त्यसनिम्ति सरकारसँग हातेमालो गरेर अनौपचारिक कारोबार र वित्त प्रवाहलाई निरुत्साहित गर्न आफू दृढ रहेको बताए ।

नयाँ कार्यक्रमका लागि ३०० अर्बको बजेट माग

काठमाडौँ, फागुन ११ । रकमान्तर र थप बजेटको निकासाको लागि दबाब दिनुको साटो पहिले पुँजीगत शीर्षकमा विनियोजन भएको रकम खर्च गरिसक्न अर्थमन्त्रालयले सुझाव दिएको छ । व्यवस्थापिका– संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा विकास खर्चको स्थिति र रकमान्तरका विषयमा उठेको प्रश्नको जवाफमा अर्थमन्त्रालय बजेट महाशाखाका प्रमुख मधु मरासनीले सो सुझाव प्रस्तुत गरेकाे हो । उनले भने– “एकातिर पँुजीगत खर्च नभएको अवस्था छ भने अर्कोतिर धेरै सङ्ख्यामा नयाँ कार्यक्रमका लागि ठूलो परिमाणमा बजेट माग भई आएको छ । अहिलेसम्म झन्डै तीन सय अर्बको नयाँ कार्यक्रमका लागि रकम माग भई आएको छ, हामी बजेट बनाउँदा कुन कार्यक्रमलाई प्राथमिकता दिने हो भन्नेमा चुकिरहेका छाँ,ै कि भन्ने जस्तो भएको छ, यद्यपि मन्त्रालयले बजेट सम्बन्धी नियमको परिधिभित्र रहेर प्राथमिकता र आवश्यकताका आधारमा मात्रै रकमान्तरको लागि स्वीकृति दिने गरेको छ ।” बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन भएको बजेट समेत रकमान्तर गरिएको भनी आपत्ति प्रकट गर्दै सरकार फेरिने वित्तिकै विकासका प्राथमिकता बदल्ने सोचले मुलुकलाई कहिले पनि समृद्ध तुल्याउन नसकिने धारणा व्यक्त गरेका थिए । दक्षिण एसियाली पूर्वाधार, मदन–आश्रित प्रतिष्ठान तथा पर्यप्रवद्र्धन शीर्षकमा विनियोजन भएको बजेट रकमान्तरको लागि प्रयास भइरहेको भनी प्रतिपक्ष दलका सांसदले आपत्ति जनाउँदै राष्ट्रिय गौरवका आयोजनाको नियमित अनुगमन गरेर पुँजीगत खर्च बढाउने काम गर्न सुझाव दिएका थिए ।

संस्थालनले बिमाङ्कीय मूल्याङ्कन नियमित गर्ने

काठमाडौँ,  फागुन ११ । राष्ट्रिय बिमा संस्थानले जीवन बिमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बिमाङ्कीय मूल्याङ्कनलाई नियमित गर्ने जनाएको छ । संस्थानको ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) का अवसरमा आज आयोजित कार्यक्रममा संस्थानले सन् २००७ देखिको बिमाङ्कीय मूल्याङ्कन यथाशीघ्र अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको हो । बिमाङ्कनबाट बिमा व्यवसाय (जीवन, निर्जीवन र पुनःबिमा) मा बिमालेख तयार गर्न, बिमा शुल्क निर्धारण गर्न, बिमा दाबी सङ्ख्याको पूर्वाअनुमान लगाउन, बिमा कम्पनीको सम्पत्ति वा दायित्वको अवस्था मूल्याङ्कनजस्ता सूचकको विश्लेषणबाट भावी कार्यदिशा लिन सहयोग पुग्नेछ । संस्थानका प्रशासक अस्वीनीकुमार ठाकुरले लेखा अद्यावधिक तथा लेखापरीक्षण गराइसकेको र यस कार्यलाई विज्ञ परामर्शदाताको सहयोगमा अभियानका साथ अगाडि बढाइएको जानकारी दिए । उनले भने, “विगत केही वर्षदेखि मौजुदा रहेको लेखापरीक्षण सम्बन्धी कार्यसम्पन्न गराउने तर्फ विश्वास दिलाउँछु ।” संस्थानको व्यवसाय प्रवद्र्धनका लागि सशक्त माध्यमका रुपमा कार्यरत अभिकर्ता सेवा शर्त र सुविधामा समयसापेक्ष सुधार गरी आवश्यक व्यवस्था गर्ने प्रयासलाई निरन्तररुपमा अगाडि बढाउने संस्थानले जनाएको छ । संस्थानको बक्यौता रहेको लेखापरीक्षण सम्पन्न गर्न संस्थान लागिपरेको ठाकुरले जानकारी दिए । संस्थानले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पुँजी कोषबाट निर्दिष्ठ क्षेत्रमा रु १५ अर्ब लगानी गरेको छ । अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्राडा पुन्यप्रसाद रेग्मीले बिमा व्यवसायको विकासमा संस्थानको भूमिका अग्रणी रहेको उल्लेख गर्दै जीवन बिमामार्फत बाहिरिँदै आएको रकमलाई नियन्त्रण गर्नुपर्ने बताए । राष्ट्रिय बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले संस्थानले विगतको छविलाई समीक्षा गरी संस्थालाई पुनःजीवन दिन इमान्दारिताका साथ अगाडि बढ्न र ग्राहकसँगको विश्वासलाई अक्षुण राख्न सुझाव दिए । कार्यक्रममा संस्थानमा २० वर्षदेखि अभिछिन्न रुपमा काम गर्दै आएका कर्मचारीलाई दीर्ग सेवा पदक तथा कदरपत्र र बढी व्यवसाय गर्ने अभिकर्तालाई पुरस्कार दिएर प्रशंसा गरियो । त्यसैगरी संस्थानको स्थापनाकालको संस्थान सञ्चालक समितिका अधयक्ष डा भेषबहादुर थापा, कर्मचारी कुवेरप्रसाद शर्मा, सिद्धिमान बस्न्यात, इन्द्रप्रसाद कर्माचार्य र रघु पन्तलाई सम्मान गरियो ।

राष्ट्रबैंकको कडा निर्देशन– निजि गाडी किन्न ५० प्रतिशतमात्रै ऋण दिन सकिने

काठमाडौं, फागुन १० । बिभिन्न बैंकहरुले ऋणको प्रावधान खुकुलो गर्दै आएकोमा नेपाल राष्ट्र बैंकले त्यसलाई नियन्त्रण गर्न खोजको छ । चालु आर्थिक वर्ष अर्ध वार्षिक मौद्रिक नीतिको समीक्षा गरेपछि अनुत्पादक क्षेत्रमा बैंकहरुले नाफाका लागि गर्दै आएको लगानीलाई नियन्त्रण गर्न बैंकले यस्तो निति ल्याएको हो । यस अन्तर्गत अब निजी सवारी साधन खरिद गर्नका लागि बढीमा ५० प्रतिशत मात्रै ऋण दिन पाउने व्यवस्था गरेको छ । सार्वजनिक सवारी खरिदका लागि भने यो नीति लागु हुने छैन । यसैगरी राष्ट्र बैंकले बैंकहरुले कल डिपोजिटमा दिँदै आएको उच्च ब्याजलाई पनि बचत खाताको ब्याजदर सरह बनाउन निर्देशन दिएको छ । यसअघि बैंकहरुले कल डिपोजिट, बचत र मुद्दती खातामा ठूलो ब्याज अन्तर राख्दै आएका थिए । राष्ट्र बैंकको नयाँ निर्देशनपछि बचत र कल डिपोजिट दुवै खाताको ब्याजदर समान हुनुपर्ने भएको छ ।

मूल्य घट्दा किसान मारमा

काभ्रे, फागुन १० । बजारमा तरकारीको मूल्यमा कमी आएपछि नालाका किसान मारमा परेका छन् । व्यापारीले गत साता प्रतिकिलो रु १२ मा मुला किन्ने गरेका थिए, मङ्गलबार बजारमा पुग्दा प्रतिकिलो रु ९ मात्र दिएको टुकुचा नाला– ८ का गङ्गा घिमिरेले बताए। उनी आफूले उत्पादन गरेको तरकारी दैनिक उग्रचण्डी कृषि बजारमा ल्याएर बिक्री गर्ने गरेको छ । ‘दुई घन्टा हिँडेर तरकारी बिक्री गर्न आउँछु, तर व्यापारीले उचित मूल्य दिँदैनन्’, उनले भने । व्यापारीले मनोमानी रुपमा तरकारीको मूल्य तोक्ने गरेको घिमिरेको आरोप छ । टुकुचा नालामा सबैभन्दा बढी मुला उत्पादन हुन्छ । विगत वर्षमा जस्तो किसानले तरकारीको मूल्य पाउन सकेका छैनन् । उचित मूल्य नपाउँदा तरकारीमा मेहनत गर्न छाडेको स्थानीयवासी भवानी घिमिरे बताउनुहुन्छ । एक्कासि तरकारीको मूल्यमा कमी आएको हो । गङ्गा र भवानी जस्तै यहाँका अन्य किसान तरकारीको उचित मूल्य नपाएपछि मारमा परेका छन् । ‘प्रमुख आयस्रोत नै तरकारी खेती हो, उचित मूल्य नपाउँदा खर्च धान्न मुस्किल भएको छ,’ उग्रचण्डी नाला– ७ का सीताराम दाहालले भने । कालीमाटी बजारमै तरकारीको मूल्यमा कमी आएपछि त्यसको मार किसानलाई परेको उग्रचण्डी कृषि बजारका व्यापारी जितेन्द्रप्रसाद गुप्ताले बताउनुभयो । उग्रचण्डी तरकारी बजारमा दैनिक उग्रचण्डी नाला, टुकुचा नाला, देवीटार, नयाँगाउँ, देउपुर गाविसलगायतका किसान तरकारी बिक्री गर्न आउने गरेका छन् । उक्त बजारमा हाल मुलाको खरिद मूल्य प्रतिकिलो रु.८ देखि रु १०, काउली रु १० देखि रु १२ तथा मटरकोसाको रु ४४ देखि रु ४६ सम्म रहेको छ । गत वर्षभन्दा सस्तोमा तरकारी बिक्री भइरहेको छ ।