दूध बिक्रीबाट वार्षिक एक करोड आम्दानी

म्याग्दी, मंसिर २६ । आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् ।

बेनी नगरपालिका वडा नं ४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक रु एक करोड कमाउन थालेपछि सिंगाको चर्चा अहिले जिल्लाभरि हुन थालेको छ । सिंगा गाउँबाट मात्रै वार्षिक करिब रु एक करोडको दूध निर्यात हुने गरेको छ ।

दूध बिक्री गरेर मासिक प्रतिव्यक्ति रु ४० हजारदेखि रु एक लाखसम्म कमाउने गरेका सिंगाका नवराज पौडेलले बताउनुभयो ।

खाडी मुलुक कतारबाट फर्किए पछि गाउँमै भैँसी खरिद गरी दूध बेच्न थालेका बेनपा–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट अहिले मासिक रु एक लाखभन्दा बढी कमाउन थालेको जानकारी दिनुभयो । उहाँले २०६८ सालमा रु एक लाख लगानीमा दुईवटा भँैसी खरिद गरेर दूध बेच्न थाल्नुभएको हो ।

दूधबाट राम्रो आम्दानी देखेपछि केसीले अहिले छवटा भैँसी र एउटा उन्नत जातको जर्सी गाईबाट दैनिक ७० लिटर दूध बजारमा लैजाने गर्नुभएको छ । केसीमात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिकरुपमा दूध बिक्री गरेर घरमै बसीबसी प्रतिव्यक्ति मासिक रु एक लाखभन्दा बढी कमाइ गर्दै आएका छन् ।

गाउँमा जनभावना दुग्ध सहकारी संस्था स्थापना भएपछि घर–घरमा व्यावसायिक पशुपालनका लागि प्रोत्साहित गरिएको छ । सहकारीमार्फत ३०० र किसानले व्यक्तिगतरुपमा १५० लिटर दूध बजारमा पु¥याउने गरेको सहकारीका सञ्चालक कोपीलाल पौडेलले बताउनुभयो । “एक करोड त हिसाबै देखिन्छ । योभन्दा धेरै बिक्री हुन्छ”, पौडेलले भन्नुभयो । बजारमा प्रतिलिटर रु ८५ सम्म बिक्री हुने भए पनि किसानले भने रु ६५ प्रतिलिटरमा सहकारीलाई दूध बेच्दै आएका छन् ।

गाउँबाट एउटै किसानले दैनिक ५५ लिटरसम्म दूध बेच्ने गरेका छन् भने करिब ४२ घरमा व्यावसायिकरुपमा गाईभैँसी पालिएको छ । पशु सेवा कार्यालयबाट नमूना सहकारीको पुरस्कारसमेत प्राप्त गरेको सहकारीले संकलन गरेको दूध बजार लैजान कर्मचारीसमेत परिचालन गरेको छ । सहकारीमार्फत दूध बेच्ने किसानका नाममा सहकारीकै खातामा पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सहकारीले लगानीसमेत गर्ने भएकाले पनि किसान सहकारीको अभियानमा आकर्षित भएका छन् ।

वीरगन्ज नाकाबाट चार महिनामा पाँच अर्बको मोटरसाइकल भित्रियो

काठमाडौं, मंसिर १९ । मुलुकको मुख्य नाका वीरगन्जबाट आर्थिक वर्षको पहिलो चौमासिकमा ५ अर्ब रुपैयाँभन्दा बढीका मोटरसाइकल भित्रिएका छन् । चारपांग्रे सवारीको आयात पनि यो अवधिमा बढेको भन्सार कार्यालयले जनाएको छ । बस, मिनी बस र पिकअप गाडीको आयात भने घटेको छ । जिप, कार, भ्यान र मोटरसाइकलजस्ता सवारी साधन राजस्वमा योगदानको हिसाबले महत्वपूर्ण मानिन्छन् । चालु आवको चौमासिकमा ५ अर्ब ४९ करोड रुपैयाँ राजस्व बुझाएर ५ अर्ब ३२ करोड रुपैयाँ बराबरको ६५ हजार ४ सय ११ वटा मोटरसाइकल आयात भएका छन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २५ प्रतिशतभन्दा बढी हो । –कान्तिपुर दैनिकबाट

सानिमा इक्विटी फन्ड निष्कासन

काठमाडौं, मंसिर १२ । सानिमा बैंक कोष प्रवद्र्धक रहेको सानिमा क्यापिटलले १ अर्ब २० करोड रुपैयाँको इकाई निष्कासन गर्ने भएको छ । कम्पनीले १० रुपैयाँ दरका १२ करोड इकाई निष्कासन गर्न लागेको हो । सातवर्षे बन्दमुखी योजनामा कुल १५ प्रतिशत अर्थात् १ करोड ८० लाख रुपैयाँका इकाई सानिमा बैंकले र सानिमा क्यापिटलले किन्ने विज्ञप्तिमा उल्लेख छ । बाँकी १० करोड २० लाख इकाई १२ देखि १५ मंसिरसम्म सर्वसाधारणलाई बिक्री गरिने भएको छ । इकाई खरिद गर्न चाहनेले आस्बा सेवा दिने आÏनो खाता रहेको बैंकबाट आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम सय इकाई अर्थात् हजार रुपैयाँका लागि आवेदन दिनुपर्छ । बढीमा २ करोड ४० लाख रुपैयाँसम्मको आवेदन दिने सकिने कम्पनीले जनाएको छ । कम्पनीले अधिक आवेदनमार्फत १ अर्ब ५० करोड रुपैयाँसम्मको इकाई बिक्री गर्न सक्ने पनि जनाएको छ।  

लुम्बिनी र सूर्या लाइफबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, मंसिर १२ ।  लुम्बिनी विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकका इन्सुरेन्स सम्झौता भएको छ । निक्षेपकर्ता र कर्जाका ग्राहकलाई बैंकमार्फत जीवन बिमा सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको विज्ञप्तिमा उल्लेख छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र सूर्या लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि ग्राहकले बैंकका सबै शाखा कार्यालय मार्फत सूर्या लाइफको जीवन बिमा सेवा प्राप्त गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तनी सहज रूपमा प्राप्त गर्न सकिने पनि सम्झौतामा उल्लेख छ।

गुल्मीमा चार महिनामा राहदानीबाट झण्डै एक करोड राजस्व

प्रेम सुनार गुल्मी, कार्तिक २८ । पछिल्लो चार महिनाको अवधीमा गुल्मीमा राहदानी बनाउनेको संख्या बढेको छ । साउन मसान्तदेखि कार्तिक २६ गतेसम्म सरदर दैनिक २५ जनाका दरले राहदानी लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल दशै बिदा सकिएपछि र तिहार बिदा सकिएपछि बिहान आठ वजे देखि साँझ ८ वजेसम्म पनि प्रशासनमा खट्नु परेको थियो भन्छन् । प्रजिअ अर्यालका अनुसार असार मसान्तदेखि कार्तिक २५ गतेसम्म ८३ लाख ९३ हजार राहदानीबाट राजश्व संकलन भएको छ । जिल्ला प्रशासनकी लेखापाल सुष्मा मरासीनीका अनुसार साउन महिनामा १८ लाख १५ हजार राहदानीबाट राजश्व संकलन भएको थियो । भाद्र महिनामा १३ लाख २० हजार, दशै ताका आश्विन महिनामा ह्वात्तै बढेर २७ लाख ५ सय राजश्व संकलन भएको थियो । कार्तिक १ गते देखि २८ सम्म २४ लाख ३० हजार ५ सय राजश्व संकलन भएको थियो । दैनिक १ लाख देखि २ लाख ८० सम्म राजश्व संकलन भएको छ । आश्विन २२ गतेका दिन गत एक वर्षको अवधीमा सम्म सवै भन्दा धेरै जनाले राहदानी लिएका थिए । उक्त दिन सवैभन्दा बढी २ लाख ७० हजार ५ सय राजश्व संकलन भएको थियो । कम्तीमा पनि एकदिनमा राहदानीबाट एक लाख भन्दा कम नहुठेको प्रजिअ अर्याल बताउँछन् । राहदानी फाँट प्रमुख भुवन बस्नेतका अनुसार देश विदेशमा आफन्तले बोलाएर भेट्न विदेश जाने बृद्ध बृद्धाहरुको संख्या पनि बढ्दै गएको छ । आमाले घर छाडेर विदेश हिडेका तिन चार वर्षका बालबालिका समेत राहदानी बनाएर अभिभावक मार्फत विदेश जाने गरेका छन् । करिव ५ प्रतिशत आफन्त भेट्न र सिमित समयका लागि घुम्न जानेहरु रहेको पाईएको छ । प्रशासनले दिएको राजश्वको विवरण अनुसार मासिक ५ सय जना युवाहरु गुल्मीबाट वैदेशिक रोजगारमा जाने गरेको आंकलन गर्न सकिन्छ । एकिन विवरण भने प्रशासनले आर्थिक वर्ष समाप्ती पछि मात्र सार्वजानिक गर्ने बताएको छ । राजश्य संगै गुल्मीमा रेमिट्यान्स पनि मासिक करौडौं भित्रिदै आएको छ । जिल्लामा पछिल्लो एक दशकमा केहि असहाय परिवार वाहेक दयानिय अवस्थाका गरिव परिवार कम मात्रमा देखिएका छन् । गाउँ गाउँमा पनि शहरिया लवाई खुवाई र वसाईको लहर चलेको छ । प्राय प्रत्येकको घरमा व्यवस्थि भान्छा कोठा सहितको ग्याँस चुलो, टेवुल कुर्चि, अलग अलग सत्ने कोठा र आकर्षक वैठक कक्ष समेत रहन थालेका छन् । टेलिभिजन र ईन्टरनेटको पहुँचमा समेत ग्रामिण वस्ती रहँन थालेका छन् । एउटै परिवारमा १२ वटा सम्म मोवाईल सञ्चालनमा छन् । प्रायः धेरैको हातमा महँङ्गा मोवाईले देख्न सकिन्छ । कतिपय परिवारमा ५÷६ हजार सम्म मोवाईल फोन खर्च भएको पाईन्छ । अव गाउँमा पनि पैसाको कमी छैन तर वैदेशिक रोजगारले कतिपय दम्पत्ती विचमा विश्वासको कमी भने निम्ताएको छ ।

चार महिनामा साढे पन्ध्र प्रतिशत बजेट खर्च

लोकेश धामी कैलाली, कार्तिक २९ । कैलालीमा गत आवभन्दा चालू आव २०७४–०७५ को चार महिनामा विकास बजेट साढे पन्ध्र प्रतिशत खर्च भएको छ । चालू आवको साउन, भदांै, असोज र कार्तिक महिनामा गतवर्षको तुलनामा यसवर्ष बजेट ३ प्रतिशतले बढी खर्च भएको हो । गत आवको सुुरुको चार महिनामा १२ प्रतिशत विकास बजेटमात्रै खर्च भएको थियो । कैलालीमा चालू आवमा पूँजीगत तर्फ ४ अर्ब ८३ करोड ७७ लाख १८ हजार र चालु खर्चतर्फ ९ अर्ब ३१ करोड ३ लाख रुपैयाँ बजेट अख्तियारी आएको छ । जसमध्ये हालसम्म विकास बजेट ७४ करोड ६६ लाख २८ हजार अर्थात् साढे १५ प्रतिशत र चालू तर्फ साढे ३१ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनगढीका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरीले जानकारी दिए । जिल्लामा रहेका ठूला आयोजनामा पनि गत वर्षको तुलनामा बढी खर्च भएको देखाउँछ । जसमध्ये राष्ट्रिय गौरवको आयोजनामा रानी जमरा कुलरिया सिँचाई आयोजनाको एक अर्ब ९२ करोड १३ लाखमध्ये हालसम्म झण्डै ३८ लाख बजेट खर्च भएको छ । यस्तै, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, भूमिगत जल सिंचाइ विभाग कार्यालय, हसनपुर खुटिया विपी नगर गड्सेरा दिपायल सडकको बजेट पनि सन्तोषजनक नै खर्च भएको कोष नियन्त्रक चौधरीले बताए । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको भने न्यून रकम खर्च भएको छ। एक अर्ब ३१ करोड ६ लाख बजेट अख्तियारी आएकोमा हालसम्म साढे ५ करोडमात्रै बजेट खर्च भएको छ । यस्तै, मोहना पुल अत्तरिया सडक विस्तार आयोजनाको पनि बजेट न्यून निकासा भएको छ । ५१ करोड बजेट मध्येबाट अहिलेसम्म २१ लाख रुपैयाँमात्रै बजेट खर्च भएको प्रमुख कोष नियन्त्रक चौधरीले जानकारी दिए । चालू आवमा बजेको अख्तियारी छिटो तथा बजेट भाषण शीघ्र हुनु, विगतमा मन्त्रालयबाट हुने झन्झटिला कार्य सहज हुनु लगायतका कारण यो वर्ष विकास बजेट बढी निकासा भएको कोष नियन्त्रक कार्यालयले जनाएको छ ।

कुखुरापालनबाट फेरिएको जीवन

तेह्रथुम, कात्तिक २६ । जिल्लाबाट वर्षेनी युवा रोजगारीका लागि विदेसिने क्रम बढ्दो छ । परदेशमा मनग्य कमाइ हुन्छ भन्ने सोच सबैमा देखिन्छ । विदेशमा नेपालमा भन्दा दुःखकष्ट बढी भोग्नुपर्छ । तर विदेशको जस्तो दुःखकष्ट आफ्नै देशमा भोगेपछि नेपालमै कमाउन सकिन्छ भनेर फर्किने पनि भेटिन्छन् । स्वदेश फर्किएपछि उनीहरुले घरैमा बसेर लाखौँ रुपैयाँ आम्दानी गरेका छन् । तिनै युवामध्ये एक हुनुहुन्छ छथर गाउँपालिका–५, ओख्रका ३१ वर्षीय लिलम बुढाथोकी । मनग्य कमाउने सोचले अलिअलि भएको पैसा पनि म्यानपावरलाई बुझाएर कहिले कतार त कहिले मलेसिया पुगेका बुढाथोकीले छवर्ष विदेशमा बिताए । पछि स्वदेशमै केही गर्ने सोचले फर्किए । अहिले उनले व्यावसायिक कुखुरापालनलाई आम्दानीको स्रोत बनाएका छन । चार वर्षदेखि कुखुरा फार्म खोलेर व्यावसायिक बन्नुभएका बुढाथोकीले सात सयभन्दा बढी कुखुरा पाल्नुभएको छ । शुरुवातमा रु ५० हजारमा कुखुरापालन व्यवसाय शुरु गरेका उनको अहिले मासिक रु ३५ हजार बचत हुन्छ । व्यवसायमा लगानी पनि बढ्दो छ । विसं २०५८ मा १० कक्षा उत्तीर्ण गरेपछि उन प्राविधिक सीपको खोजीमा मोरङ झरे । उर्लाबारीमा ६ महिना बिजुली सम्बन्धि तालिम लिए । “परिवारबाट टाढा रहेर जति नै पैसा कमाए पनि मनमा शान्ति मिल्दैन,” उनले भने । गाउँ÷गाउँमा फ्रेस हाउस खुलेपछि उनलाई बजारको कुनै समस्या छैन । ओख्रे बजारमा बुढाथोकीको आफ्नै फ्रेस हाउस समेत छ । अहिले फार्ममा रु पाँच लाखभन्दा बढी लगानी छ । त्यही व्यवसायबाट भएको आम्दानी बैंकमा रु तीन लाख बचत गरेका छन भने व्यवसायबाटै उनी ऋणमुक्त भएका छन ।

नेप्से परिसूचक ०.१३ प्रतिशतले बढ्यो

काठमाडौं, कार्तिक २६ । आइतबार नेप्से परिसूचक ०.१३ प्रतिशत बढेको छ । पहिलो आधा घण्टासम्म ओरालो लागेको बजार त्यसपछिको व्यापारमा भने सुधार देखिएको थियो । १ घण्टा ३० मिनेटको व्यापारमा शेयर बजार १ .९२ अंकले बढेर १ हजार ४ सय ६२.६५ विन्दुमा पुगेको छ । बैंकिङ, होटल र जलविद्युत समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । यस व्यापार अवधिमा १ सय ६ कम्पनीको ९ सय ३६ पटकको व्यापारमा रू। १० करोड ४१ लाख बराबरको शेयर कारोबार भएको हो । होटल समूहको परिसूचक १.०१ प्रतिशत, जलविद्युतको ०.६८ प्रतिशत र बैंकिङको ०.३६ प्रतिशत बढेको छ । त्यस्तै, वित्त कम्पनी र ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ५ प्रतिशत, लघुवित्त समूहको ०.४६ प्रतिशत र बीमाको ०.१३ प्रतिशतले घटेको छ । विकास बैङ्क भने स्थिर रहको छ । अभियानबाट साभार

देवःको खुद नाफा ३६.१३ प्रतिशतले लाग्यो ओरालो

काठमाडौं, कार्तिक २६ । देवः विकास बैंकले चालु आवको पहिलो त्रैमासमा ३ करोड २३ लाख ७७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गतवर्षको यही त्रैमासको भन्दा नाफा ३६.१३ प्रतिशतले थोरै हो । गतवर्ष देवःले ५ करोड ६ लाख ९५ हजार रुपैयाँ खुद नाफा बुक गरेको थियो । यता, बैंकको खुद ब्याज आम्दानी भने २.९८ प्रतिशतले वृद्धि भएर १२ करोड ६ लाख ५२ हजार रुपैयाँ पुगेको छ । गतवर्ष खुद ब्याज आम्दानी ११ करोड ७१ लख ६० हजार रुपैयाँ थियो । निक्षेप ७ अर्ब ९६ करोबाट ११ अर्ब ३५ करोड ३० लाख ३६ हजार रुपैयाँ पुर्याएको यस बैंकले १० अर्ब १६ करोड ८९ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ६४ प्रतिशतले बढेर १ अर्ब ४४ करोड ४९ लाख ८४ हजार रुपैयाँ पुर्याएको बैंकको जगेडा कोषमा भने ५० करोड ८७ लाख ८४ हजार छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउने अभियानमा रहेको देवःले युनियन फाइनान्स र साझा विकास बैंकलाई एक्वायर गरेर बिहीबार (कात्तिक २३ गते) देखि एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । यस्तै, देवःले सहारा विकास बैंकलाई एक्वायर गर्ने तरखरमा पनि छ । बैंकले प्रथम त्रैमासमा प्रोभिजनमा ४ करोड १० लाख ४० हजार रुपैयाँ राखेको छ । देवःले खराब कर्जा भने घटाउँदै लगेको छ । गत वर्ष ३.४४ प्रतिशत रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा १.७९ प्रतिशतमा झरेको छ । कस्ट अफ फन्ड र निक्षेप अनुपात भने बढेर क्रमशः ८.०६५ र ७६.५३५ पुगेको छ । गतवर्ष कस्ट अफ फन्ड र निक्षेप अनुपात क्रमशः ३.९६५ र ७३.८१ प्रतिशत थियो । देवःको ८ रुपैयाँ ९६ पैसा ९वार्षिक० मा झरेको छ । प्रतिसेयर नेटवर्थ भने १३५ रुपैयाँ २१ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २३ रुपैयाँ १ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५ पैसा थियो । नेपालीपैसाबाट साभार

आजबाट ‘हुण्डार्इ मेगा एक्सचेन्ज विक’ सुरु

काठमाडौं, कात्तिक २६ । आजदेखि हुण्डार्इ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले देशव्यापीरुपमा ‘हुण्डार्इ मेगा एक्सचेन्ज विक’ सुरु गरेको छ। यो एक्सचेञ्ज कार्यक्रम देशभरि रहेका हुण्डार्इका डिलरमा हुने र यसबाट ग्राहकले ६ लाख २० हजार रुपैयाँसम्म फार्इदा लिनसक्ने कम्पनीले आफ्नो प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। अविश्वसनीय मूल्याङ्कनसँगै उपहार, उत्कृष्ट नगद छुट, स्पट फाइनान्स तथा बीमा, चार वर्ष फ्रि सर्भिस, तीन वर्षको वारेन्टी, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस हरेक गाडीको बिक्रीमा दिइने कम्पनीले जनाएको छ। यो कार्यक्रम मंसिर २ गतेसम्म संचालन हुनेछ।

तत्कालिन प्रचण्ड सरकारले दिएको निर्देशन कार्यान्वयनमा अर्थकाे हेलचेक्राइँ

काठमाडौं, कात्तिक २६ । अर्थ मन्त्रालयले १६ हजार रुपैयाँको भुक्तानी नगर्दा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका आठ जनाका आफन्त ५२ लाख रुपैयाँ पाउनबनट बञ्चित भएका छन् । आजको नागरिकमा रुद्र खड्काले लेखेका छन् । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीको क्रमम ज्यान गुमाएका व्यक्तिका निकट आफन्तले पाउने क्षतिपूर्ति रकम वृद्धि गर्न गत माघ ११ गते दिएको निर्देशन कार्यान्वयनमा अर्थले हेललचेक्राइँ गर्दा पीडित क्षतिपूर्ति पाउनबाट वञ्चित भएका हुन् । दाहालले वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका परिवारलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट सात लाख रुपैयाँसम्म दिने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

तीन महिनामा ५६ करोड राजश्व संकलन

भद्रपुर, कात्तिक २३ । आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल रु ५६ करोड तीन लाख ८१ हजार राजश्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४७ करोड ८२ लाख ५६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयबाट प्राप्त जानकारीअनुसार संकलित राजश्वमा आयकर रु १७ करोड ८५ लाख ६२ हजार, बहाल कर रु दुई करोड छ लाख ५३ हजार, ब्याजकर रु दुई करोड ९० लाख ५२ हजार, मूल्य अभिवृद्धि कर रु २१ करोड १८ लाख ५३ हजार, अन्तःशुल्क रु १० करोड ३० लाख १९ हजार, स्वास्थ्य सेवा कर रु एक करोड ३२ लाख छ हजार र शिक्षा सेवा शुल्क रु ३९ लाख ४६ हजार रहेको छ । करदाता सेवा कार्यालय इलाम र दमकमा रहेका यस कार्यालयको शाखाबाट समेत गरेर सो राजश्व संकलन भएको कार्यालय प्रमुख बोलराज आचार्यले जानकारी दिनुभयो ।

छ अंकले झरेको नेप्सेमा ४६ करोडको कारोबार

काठमाडौं, कार्तिक २३ । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक करिब ६ अंकले घटेको छ। ५.८ अंकको गिरावटपछि बजार १४६० अंकमा अडेको छ। १५४ कम्पनीको ४६ करोड ८२ लाखको कारोबार भएको छ । जलविद्युत र माइक्रोफाइनान्स उपसूचक बढेका छन् भने अरु घटेका छन् । जलविद्युत ६ तथा माइक्रोफाइनान्स १ अंकले बढे। बैंकिङ ६, व्यापार १, होटल ९, विकास बैंक ११, फाइनान्स ७, बिमा २४, उत्पादन ३ र अन्य समूह १ अंकले घटेका छन् । कारोबारका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रह्यो । कम्पनीको ३ करोड २० लाखको कारोबार भएको छ। मूल्य प्रतिकित्ता ११०५ कायम भएको छ । दोस्रोमा रहेको स्टान्डर्ड चार्टर्ड बैंकको २ करोड ५७ लाखको कारोबार भयो । मूल्य प्रतिकित्ता १९८५ कायम भएको छ । नागबेली लघुवित्त, नविल बैंक पनि कारोबारका आधारमा अगाडि रहे । समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.९ प्रतिशत नाफा कमाए । नाफा कमाउने अन्यको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा तल सीमित रह्यो। गुमाउनेमा रिलायबल माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि देखिए । सो कम्पनीको मूल्य ७ प्रतिशतले घटेको छ। कन्काई विकास बैंक, हाम्रो विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि गुमाउनेमा अगाडि देखिए। सेतोपाटीबाट साभार  

सपोर्ट माइक्रोफाइनान्सको कति पर्यो शेयर, हेर्नुस यसरी !

काठमाडौं, कार्तिक २२ । सपोर्ट माइक्रोफाइनान्सको साधारण शेयर बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको १ लाख ८० हजार कित्ता साधारण शेयर बुधबार बाँडफाँड गरिएको हो । शेयर माग गरेकामध्ये ज्यादै न्यून आवेदकले मात्र १० कित्ता शेयर पाएका छन् । माइक्रोफाइनान्सको साधारण शेयरका लागि २ लाख ३७ हजार ६ सय १७ वटा आवेदन परेको थियो । जसमा २ हजार ३ सय ९६ आवेदन रद्द भएका छन् । बाँकी रहेका २ लाख ३५ हजार २ सय ४८ आवेदनलाई मात्र शेयर बाँडफाँड प्रकृयामा सहभागी गराइएको छ । सोही अनुसार लघुवित्तको सेयर १६ हजार ७ सय ४० जनाले प्राप्त गरेका छन् । उनीहरुलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको हो । आईपीओ नतिजा हेर्न मेरो लगानीको आइपीओ रिजल्टमा गएर आइपीओ  ( IPO RESULT ) जारी गर्ने कम्पनीको नाम र आफ्नो डिम्याट नम्बर भरेर सर्च गर्नुहोस् । तपाईले शेयर परे नपरेको नतिजा थाहा पाउनुहुनेछ ।

दशैं अघिको तुलनामा तरकारीको भाउ दोब्बर बढ्यो

काठमाडौं, कात्तिक २१ । काठमाडौंमा मागअनुसार तरकारी आपूर्ति हुन नसकेपछि मूल्य दोब्बर बढेको छ । दशैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएपछि मूल्य आकाशिएको हो । सर्वसाधारणको भान्सादेखि पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउलीलगायत तरकारीको मूल्य दशैंअघिको तुलनामा दोब्बरले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका वरिष्ठ अधिकृत मनोज धितालले सामान्यतया काठमाडौंमा दैनिक सातसय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेको बताए । अहिले त्यसको ५० प्रतिशतमात्रै आपूर्ति भएकाले मूल्य आकाशिएको उनले जानकारी दिए । –नागरिक दैनिकबाट

नेपाल बङ्गलादेश बैंक र कुमारी बैंकले नाफा बृद्धि गर्न सकेनन्

कार्तिक २० । नेपाल बङ्गलादेश बैंक र कुमारी बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । नेपाल बङ्गलादेश बैंकको पहिलो तीन महिनामा नाफा ३१ प्रतिशतले र  कुमारी बैंकको नाफा १८ प्रतिशतले घटेको छ । नेपाल बङ्गलादेश बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १५ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष बैंकको नाफा २२ करोड ५० लाख रुपैयाँ थियो । बैंकको पहिलो तीन महिनामा खुद ब्याज आम्दानी २० करोड २४ लाख रुपैयाँ छ भने गत वर्ष यस्तो आम्दानी ३२ करोड ९२ लाख रुपैयाँ थियो। बैंकले ४२ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ छ। जगेडा कोषमा दुर्इ अर्ब ५० करोड रुपैयाँ जम्मा भएको छ। बैंकको पूँजी कोष अनुपात १४.६३ प्रतिशत रहेको छ भने खराब कर्जा ०.७३ प्रतिशत छ। प्रति शेयर आम्दानी २२ रुपैयाँबाट ८ रुपैयाँमा सिमित भएको छ। यस्तै कुमारी  बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो बर्ष बैंकको नाफा १३ करोड ७४ लाख रुपैयाँ थियो। बैंकको खुद ब्याज आम्दानी ३५ करोड ६७ लाख रुपैयाँ छ भने गत वर्षको यहि अवधिमा यस्तो आम्दानी २६ करोड २५ लाख रुपैयाँ थियो। बैंकको कर्मचारी खर्च तथा भाका नागेको ऋणको कारण नाफामा गिरावट आएको देखिन्छ। बैंकले ५४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी ५ अर्ब ९६ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुर्इ अर्ब ७४ करोड जम्मा भएको छ । बैंकको पूँजी कोष अनुपात १५.२५ प्रतिशत छ भने खराब कर्जा २.५८ प्रतिशत रहेको छ। बैंकको प्रति शेयर आम्दानी ७ रुपैयाँ छ। समयपाेष्टबाट साभार