स्याउको व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै

पोखरा, वैशाख १२ । हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक स्याउखेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।

उच्च हिमाली भूभाग भएको जिल्लामा अन्य खेती नहुने भएकाले लेकाली तथा हिउँदे फलफूलखेतीलाई प्राथमिकता दिन स्याउखेती विस्तार गर्न लागिएको छ । स्याउखेतीको अध्ययन तथा अनुसन्धान गर्दै आएको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले जिल्लामा स्याउखेतीको विस्तारका लागि बिरुवा वितरण गर्न थालेको छ ।

शीतोष्ण बागवानी विकास केन्द्रका प्रमुख बालकृष्ण अधिकारीका अनुसार आव २०७२-७३ मा स्याउका ३५ हजार बिरुवा केन्द्रबाट वितरण गरिएको थियो । स्याउबाहेक अन्य लेकाली फलफूल ओखर, खुर्पानीलगायत बिरुवाका गरी सो आवमा ४६ हजार बिरुवा वितरण गरिएको थियो ।

पछिल्लो समयमा जिल्लामा सहकारी तथा कृषि समूहको व्यवस्थापनमा लगानी गरेर फार्म सञ्चालन गर्ने क्रम बढेको छ । स्थानीय कृषक विस्तारै स्याउको व्यावसायिकखेतीतर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक स्याउखेतीका लागि सहकारी तथा कृषि समूहको व्यवस्थापनमा करिब रु १० करोडसम्म लगानी गरेर फार्म सञ्चालन गरेका अधिकारीले बताउनुभयो ।

फार्म सञ्चालन गर्ने कृषकलाई कृषि विकास कार्यालयले प्राविधिक तालिम, अनुदान तथा स्याउका बिरुवा वितरण गर्ने गरेको छ । स्याउको व्यावसायिकखेती मार्फत १० वर्षभित्रमा देशलाई स्याउमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कृषकलाई अनुदान, कृषि औजार आदिको वितरण गर्ने गरिएको छ ।

जिल्लामा अघिल्लो आवमा चार हजार ८०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । मौसमको प्रतिकूलताका कारण यस वर्ष चार हजार ५०० मेट्रिक टन मात्र उत्पादन भएको अधिकारीले जानकारी दिनुभयो । तथ्याङ्कअनुसार जिल्लामा एक हजार १०० हेक्टर जमिनमा स्याउखेती गरिएकामा करिब ३५० हेक्टरमा लगाएको बोटले हाल उत्पादन दिइरहेका छन्।

मुस्ताङमा उत्पादित स्याउ म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँलगायतका बजारमा बिक्री हुँदै आएको छ । यातायातको सहज पहुँच र राम्रो मूल्य पाउन थालेपछि अहिले जिल्लाका विभिन्न गाविसमा व्यावसायिक रुपमा फार्म थपिने क्रम जारी रहेको मार्फाका सुरज लालचनले बताउनुभयो ।

जलवायु परिवर्तनको असरसँगै मुस्ताङको तल्लो भेगमा पानी पर्न थालेपछि लेतेलगायतका स्थानमा भने स्याउखेती घट्दै गएको व्यवसायीको अनुभव छ । “करिब २०-२५ वर्षअघि मुस्ताङको लेतेलगायतका तल्लो भेगमा स्याउको राम्रो उत्पादन हुन्थ्यो,” लालचनले भन्नुभयो – “पानी पर्ने क्रम बढेसँगै बर्सेनि उत्पादनमा कमी आउन थालेको छ ।”

पछिल्ला वर्षमा सहकारीमार्फत स्याउखेती गर्न थालिएसँगै स्थानीयवासी यसतर्फ आकर्षित बन्न थालेका छन् । विभिन्न सहकारीमार्फत जोमसोम, मार्फा, कागबेनी, छुसाङ, सुर्खाङ, टुकुचे, ताङ्वेलगायतका गाउँमा स्याउखेतीको विस्तार गरिएको छ । सहकारीले स्याउखेतीका साथै अर्गानिक तरकारी तथा अन्य फलफूलखेतीलाई विस्तार गरेका छन् ।

कृषिको व्यवसायीकरणको विस्तारका लागि विभिन्न स्थानमा भइरहेका अध्ययन तथा अनुसन्धानलाई प्रचारप्रसार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको कृषि सूचना तथा सञ्चार केन्द्रका सूचना अधिकृत नारायण न्यौपानेले बताउनुभयो ।

बाढीपीडितलाई रु बत्तीस करोड बाँडियो, ४७ परिवार पालमा

बर्दिया, वैशाख २ । दुई वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन बनेर शिविरमा आश्रय लिइरहेका परिवारको अझैसम्म पुनःस्थापना हुनसकेको छैन । विसं २०७१ साउन २९ गते आएको बाढीले बबई नदीको किनारमा बसोवास गरिरहेका ४७ घरपरिवारका करिब तीन सय जना विस्थापित भएका थिए । उक्त बाढीका कारण बर्दियामा ३४ जनाले ज्यान गुमाएका थिए भने १३ जना बेपत्ता भएका थिए । बाढीले तीन हजार ८५९ घर पूर्णरुपमा क्षति पु¥याएका थिए भने १३ हजार ५१७ घरमा आंशिक क्षति पु¥याएका थिए । अहिले सामान्य र आंशिक क्षति हुने आ–आफ्नो घर फर्केर पनि घरबार सम्हालिसके तर बाढीले घरखेत बगाइ उठीबास भएर शिविरमा नै बस्दै आएका बाढीपीडितलाई सरकारले पुनःस्थापना नगरिँदा उनीहरु कष्टकर जीवन बिताउन बाध्य छन् शिविरमा बस्दै आएका गुलरिया नगरपालिका, रामपुर टप्परका ४७ घरपरिवार, बनियाभारका ९८ घरपरिवार र चेपाङका २१ घरपरिवार गरी १६२ घरपरिवार बाढीपीडितमध्ये गुलरिया नगरपालिका रामपुरका ४७ घरपरिवारको मात्रै पुनःस्थापना हुनसकेको छैन । अन्य शिविरमा रहेकाको पुनःस्थापना भइसकेको छ । आफनो घर जग्गा सबै बगाएपछि अहिले पालको बास भएको बताउछन् सविन्द्र शाही । बर्दिया, बाँके, सुर्खेत र दाङ जिल्लाका बाढीपहिरो प्रभावितलाई पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि मध्यपश्चिम क्षेत्रका सभासदहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । तर पनि आवास व्यवस्थापनअन्तर्गत रोकिएको अनुदान रकम निकासा नहुँदा बाढीपीडितले दुःख व्यहोर्नुपरेको छ । सरकारले बाढीपीडितका लागि भनेर विभिन्न चरणमा गरी रु ३२ करोड ५६ लाख २१ हजार ९०० बाँडिसकेको जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रशासकीय अधिकृत एवम् विपद् सम्पर्क व्यक्ति डिल्लीराम आचार्यले बताउनुभयो ।

९० करोडको लगानीमा भाटभटेनीको सुपरस्टोर सन्चालन

बुटवल, वैशाख १ । पश्चिम नेपालको रुपन्देही र त्यसआसपासका जिल्लाका ग्राहकलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केटले बुटवलमा सुविधा सम्पन्न ‘सुपरस्टोेर’ सन्चालनमा ल्याएको छ । बुटवलस्थित सुक्खानगरमा बनेको अत्याधुनिक भवनसहितको सुपरस्टोरको शुक्रबार विधिवत् उद्घाटन गर्दै भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले यसमा ९० करोड रुपैयाँ लगानी भएको दाबी गरे । राजधानीसहित मुलुकका विभिन्न सहरमा रहेको भाटभटेनीको काठमाडौं उपत्यकाबाहिरको यो चौथो शाखा हो । यहाँ चार सयजनालाई प्रत्यक्ष रोजगारी दिइएको जनाइएको छ ।

सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खुल्ने

काठमाडौँ,  चैत  २९ । सरकारले ७४४ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय खोल्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ । सरकारले नयाँ प्रावधानअनुसार स्थानीय तहको संरचना खडा गरेको र आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनसमेत हुन लागेको सन्दर्भमा नागरिकलाई वित्तीय सेवाको पहुँच दिनका लागि त्यस्ता शाखा खोल्न लागिएको हो । अर्थमन्त्रालयले बैंक तथा वित्तीय संस्थाको शाखा खोल्नका लागि सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बैंक तथा वित्तीय संस्थाको शाखा खोल्ने कार्य तत्काल अगाडि बढाउन आवश्यक निर्देशन दिनुभएको छ । नयाँ आर्थिक वर्ष सुरु हुनेबित्तिकै स्थानीय जनतालाई सेवा दिने गरी शाखा खोल्नका लागि आवश्यक व्यवस्था गरिएको र प्रक्रियासमेत सुरु भएको अर्थमन्त्रालयले जनाएको छ । त्यस्ता शाखा खोल्दा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थालाई नै प्राथमिकता दिनुपर्नेछ । सरकारी बैंक तथा वित्तीय संस्थाप्रति जनताको विश्वास बढाउन र सेवा प्रवाहलाई समेत सहज एवम् सरल बनाउन सरकारी बैंक तथा वित्तीय संस्था नै स्थानीय तहमा जानुपर्छ भन्ने मान्यताका साथ प्रक्रिया अगाडि बढाइएको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराका सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिनुभयो । बैंक तथा वित्तीय संस्था खोल्नका लागि मन्त्रालयको बैंक तथा वित्तीय क्षेत्र महाशाखाले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पनि स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्ने आवश्यक प्रक्रिया अगाडि बढाउन निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसक्नुभएको छ ।

भाटभटेनीको अर्काे शाखा बुटवलमा

बुटवल, चैत २८ । नेपालको प्रमुख व्यापारिक प्रतिष्ठानको रुपमा चिनिएको भाटभटेनी सुपरमार्केटको १३औँ व्यापारिक कम्प्लेक्स बुटवलमा सञ्चालनमा आउने भएको छ । एउटै भवनबाट सबै किसिमको व्यापारिक सेवा प्रदान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका–८ को मुख्य क्षेत्र सुख्खानगरमा स्थापना गर्न लागिएको हो । आठ तले भवन निर्माणसँगै नयाँ वर्षको अवसर पारेर व्यावसायिक सेवा सुरु गरिने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिएका छन् । गत असारदेखि निर्माण सुरु भएको व्यापारिक कम्प्लेक्स भवन कुल आठ कठ्ठा क्षेत्रफलमा निर्माण भएको र भवन निर्माण मात्र रु ३५ करोड लगानी भएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार भवनका लागि जग्गा गरिद र व्यवसाय सञ्चालनको अवस्थासम्मको लगानी रु ९० करोड पुगेको छ । निर्माण सुरु भएको झन्डै १० महिनामा सञ्चालन हुन लागेको यो सुपरमार्केटको भवन निर्माणमा दैनिक ३०० भन्दा बढी कामदार परिचालन भएका छन् । स्थानीय उत्पादन, स्थानीय जनशक्ति र स्थानीय बजार भन्ने मुख्य लक्ष्य बनाएको यो सुपरमार्केटको सञ्चालनमा स्थानीय गाउँघरमा उत्पादित वस्तुको प्रवद्र्धन गरिने र दैनिक कामका लागि स्थानीय युवायुवतीलाई नै रोजगारी दिइने उहाँले बताउनुभयो । यसका लागि २०० प्रत्यक्ष र झन्डै पाँच हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिनसकिने उनले बताए । यो सुपर कम्प्लेक्समा यसअघि सञ्चालनमा आएको कम्प्लेक्सभन्दा उपभोक्तालाई एकै स्थानमा बजार गर्ने सुविधासहित मनोरञ्जनको समेत सेवा उपलब्ध हुने अध्यक्ष गुरुङले बताए ।

बुटवलमा पहिलो पटक सेयर खरिद बिक्री सुरु

रुपन्देही, चैत १९ । बुटवलमा पहिलोपटक सेयर खरिद बिक्री सुरु भएको छ । आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि (ब्रोकर नं ५७) बुटवल शाखाले मङ्गलबारदेखि यहाँ सेयर खरिद बिक्री सुरु गरेको हो । सो कम्पनीको बुटवल शाखाले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी सेयर खरिद बिक्रीका लागि काठमाडौँ पुग्नुपर्ने समस्या अब हल भएको बतायो । प्रालिका सञ्चालक रामचन्द्र भट्टराईले बुटवल आसपासका क्षेत्रमा रहेका सेयर लगानीकर्तालाई छिटो र सरल तरिकाबाट सेयर खरिद बिक्री गर्न दिने उद्देश्यले बुटवलमा पनि सेयर खरिद बिक्री कार्यको थालनी गरेको बताए । विसं २०६३ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबाट सेयर बिक्री गर्ने अनुमति पाएको प्रालिले बुटवलका लागि २०७३ चैत १३ गते सेयर कारोबारको स्वीकृति पाएको थियो ।

साताको अन्तमा १ अर्ब ४८ करोडको कारोबार, नेप्सेमा सामान्य गिरावट

काठमाडौं । बिहीबार सेयर बजारमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बुधबारको तुलनामा एक अर्ब ६ करोड रुपैयाँ घटी हो । बिहीबार १४० कम्पनीको २७ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी सानिमा बैंकको २२ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन बैंकको शेयर मूल्य प्रतिकित्ता ५७४ रुपैयाँ रहेको छ । त्यस्तै, लक्ष्मी बैंकको ११ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि सामान्य अंकले ओरालो लागेको छ । परिसूचक शून्य दशमलब ६५ अंकले घटेर १५८७ दशमलब ६४ अंकमा झरेको छ । सो दिन बीमा, फाइनान्स, होटल र अन्य समूहको परिसूचक क्रमशः ६९, ८, ५ र २ अंकले उकालो लागेका छन् । त्यस्तै, हाइड्रो, उत्पादमूलक, विकास बैंक र बैंकिङ् समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । यस दिन सिर्जना फाइनान्स, ज्योती विकास बैंक, साहारा विकास बैकका लगानीकर्ताहरु मालामाल भए भने सेती फाइनान्स, रिलायबल माइक्रोफाइनान्स, सिन्धु विकास बैकका लगानीकर्ताहरुले धेरै नै गुमाए । यस दिन बैक समूहको ८७ करोड ३५ लाख, होटल समूहको ७२ लाख, विकास बैंक समूहको १७ करोड ६० लाख, हाइड्रोपावर समूहको ४४ लाख, फाइनान्स समूहको १ करोड ८२ लाख, बिमा समूहको ३१ करोड ६४ लाख, उत्पादन समूहको १७ लाख र अन्य समूहको ८५ लाखको कारोबार भएको छ ।

वीरगन्ज नाकाबाट ३९ अर्ब ३६ करोडको इन्धन आयात

पर्सा, चैत १६ । चालु आवको आठ महिनामा वीरगन्ज नाका भएर भारतबाट रु ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपाल भित्रिएको छ । सिमावर्ती भारतीय सहर रक्सौल, बरौनी, हल्दिया, मथुरालगायत स्थानबाट सो इन्धन नेपाल आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए । रक्सौल र बरौनी तेल डिपोबाट नेपालका लागि छ लाख ५० हजार २११ किलोलिटर डिजेल, पेट्रोल र मट्टितेल आयात गरिएको छ । यस्तै भारतको मथुरा, हल्दियालगायत स्थानबाट एक लाख १४ हजार एक सय १४ मेट्रिक टन खाना पकाउने ९एलपिजी० ग्यास आयात भएको पोखरेलले बताए । भारतबाट इन्धन आयात गर्दा रु नौ अर्ब ११ करोड २४ लाख १९ हजार राजस्व सङ्कलन भएको छ । वीरगन्ज नाकाबाट चालु आवको फागुनमा मात्र रु छ अर्ब २६ करोड आठ लाख ३७ हजारको ९४ हजार ९५५ किलोलिटर डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टीतेल तथा १३ हजार ८९४ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ । फागुनमा भारतबाट २० हजार ८५ किलोलिटर पेट्रोल, ५९ हजार ८२५ किलोलिटर डिजेल, ७८९ किलोलिटर मट्टीतेल र १४ हजार २५६ किलोलिटर हवाई इन्धन वीरगन्ज नाकाबाट नेपाल भित्रिएको छ । फागुनमा कार्यालयले रु एक अर्ब ३३ करोड एक लाख राजस्व सङ्कलन गरेको छ ।  

रु १० करोडको मुला बिक्री

नुवाकोट, चैत १६ । कम खर्चमा मनग्य आम्दानी गर्न सकिने भएपछि यहाँका किसान मुलाखेतीतर्फ आकर्षित भएका छन् । चालु आवको आठ महिनामा जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । सो परिमाणको मुला बिक्री गरी रु नौ करोड ९८ लाख भित्रिएको उहाँले बताउनुभयो । आव २०७२÷७३ मा रु सात करोडको मुला उत्पादन भएको कार्यालयले जनाएको छ । स्थानीय बजारमा मुला अहिले प्रतिकिलो रु १० देखि रु १२ मा बिक्री भइरहेको छ । यहाँ उत्पादन भएको मुला काठमाडौँसम्म पुग्ने गरेको छ । अन्य बालीको तुलनामा खेती लगाउन, हुर्काउन सजिलो हुँदा किसान मुलाखेतीतर्फ आकर्षित भएका हुन् । मुला ४० दिनदेखि ६० दिनमा तयार हुन्छ । जिल्लाको माथिल्लो क्षेत्रमा अन्य बाली उत्पादनमा ढिलाइ हुँदा किसान मुलाखेती गर्दैआएका छन् । जिल्लाको ककनी, ओखरपौवा, मदानपुर, बेलकोट, चाउथे कुमरी, किम्ताङलगायत ठाउँलाई जिल्ला कृषि कार्यालयले पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ ।

टेलिकमबाट सेवाग्राहीलाई ‘ब्यालेन्स लोन’

काठमाडौँ, चैत १५ । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहुँदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ । टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते सम्झौता भई सोबारे आज सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । सम्झौतानुसार उपभोक्तालाई कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ । कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौतापत्रमा टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टरका तर्फबाट प्रालिका निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गर्नुभएको टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । सो सुविधा प्रयोग गरेबापत थप कुनै ‘चार्ज’ वा ब्याज नलिई उपभोक्तालाई लोन (ऋण) उपलब्ध हुने र रिचार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुनेछ । सम्झौतानुसार सो सुविधा सम्झौता भएको मितिले पाँच महिनाभित्र सञ्चालन गरिने बताइएको छ ।

कुचो व्यवसायी मारमा

काभ्रे, १५ चैत । पनौती–६ का २८ वर्षीया लस्मिता लामाले दैनिक एक सयवटा कुचो बनाउँदै आउनुभएको छ । उहाँले कुचो बिक्री गरेर वार्षिक रु आठ लाखसम्म आम्दानी गर्नुहुन्छ । तर यस वर्ष उचित मूल्य नपाउँदा सोचे जस्तो आम्दानी नहुनेमा लामा चिन्तित हुनुहुन्छ । कुचोको उचित मूल्य नपाउँदा मारमा परेको उहाँको भनाइ छ । लामा विगत २१ वर्षदेखि कुचो बनाउँदै आउनुभएको छ । लामा जस्तै त्यहाँका अन्य व्यापारी पनि कुचोको उचित मूल्य नपाएपछि मारमा परेका छन् । “भाउ बजारमा निर्भर हुने भएकाले मूल्य घटबढ भइराख्छ,” अर्का व्यापारी प्रकाश लामाले भन्नुभयो । उहाँले सिन्धुपाल्चोक र सिन्धुलीबाट कुचो बनाउने कच्चा पदार्थ (अम्रिसो) सङ्कलन गर्दै आउनुभएको छ । हाल उहाँले महाँकाल कुचो उद्योगका रुपमा दर्ता गरेर सञ्चालन गर्दै आउनुभएको छ । हाल कुचो बनाउन कच्चा पदार्थभन्दा पनि ज्यामीलाई दिने ज्याला बढी भएका कारण व्यवसाय सञ्चालन गर्न कठिन भएको लामा बताउनुहुन्छ । “व्यवसायबाट घाटा भएपछि परिवारको खर्च धान्न कठिन भएको छ,” उहाँले भन्नुभयो । कुचो बनाउने ज्यामीको समेत अभाव भएको लामाको भनाइ छ । कुचोको उचित मूल्य नपाएपछि व्यापारीमात्र नभई उत्पादन गर्ने कृषकसमेत समस्यामा परेका छन् । करिब ३० रोपनी जग्गामा अम्रिसो उत्पादन गर्दै आएका पनौती–११ का पुस्कल महत गत वर्ष कुचोको मूल्य राम्रै पाए पनि यस वर्ष उचित मूल्य नपाउँदा बिक्री गर्न नसकेको बताउनुहुन्छ । “बाढीपहिरोबाट जग्गा जोगिने भएकाले नै कुचो उत्पादन सुरु गरेको हुँ” महतले भन्नुभयो । अम्रिसो उत्पादन पर्याप्त मात्रामा हुने भए पनि उचित मूल्य नपाउँदा मारमा परेको उहाँले बताउनुभयो । गत वर्ष व्यापारी अम्रिसो किन्न घरमै आउने गरेका तर यस वर्ष भने नआएका महत बताउनुहुन्छ । जिल्लामा कुल ४२५ कबुलियती वन र ५६५ सामुदायिक वन रहेका छन् । ती सवैलाई जिल्ला वन कार्यालयले अम्रिसोको बिरुवा वितरण गर्दै आएको जिल्ला वन अधिकृत प्रेम खनालले बताउनुभयो ।

दुई करोड ४० लाख राजस्व सङ्कलन

पोखरा, चैत १५ । जिल्ला ट्राफिक कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गरी रु दुई करोड ४० लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा ३५ हजार एक सय ४९ सवारी चालकलाई कारबाही गरिएको र मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार १९५ जनाको सवारी अनुमति पत्रमा प्वाल पारिएको प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले जानकारी दिनुभयो । चालु आवको साउनदेखि फागुनसम्ममा ७५ वटा सवारी दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका थिए । मोटरसाइको स्वरुप परिवर्तन गर्ने र ध्वनी प्रदूषण गर्ने १४१ मोटरसाइकल चालकलाई पक्राउ गरी जरिवानापछि अभिभावकको जिम्मा लगाइएको थियो ।

चार महिनापछि नेप्सेमा भारी बृद्धि, १६ सय बिन्दूमा पुग्यो

काठमाडौँ, चैत १५ । चार महिनापछि नेप्सेमा भारी बृद्धि भएर निर्धारित समय अगावै बजार बन्द भएको छ । नेप्सेले १६ सय बिन्दुको उचाईमा पुगेको छ । मंगलबार तीन घण्टा नबित्दै बजार ५ प्रतिशतले बढेपछि कारोबार स्थगित गरिएको छ । बजार एकै दिन ७६ अंकले बढेको छ । यसदिन १ सय ४४ कम्पनीको सेयर किनबेच भएर १ अर्ब ३८ करोडको कारोबार भएको छ । बजार खुलेको आधा घण्टा नबित्दै ३ प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लागेको बजार १५ मिनेट बन्द भएर खुल्दा केही सम्हालिएको थियो । बजारमा दिनानुदिन सेयर आपुर्ती बढ्दा पनि लगानीकर्ताहरु हौसिएका हुन् । बजार ४ प्रतिशत बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो भने त्यसपछि आधार घण्टा कारोबार बन्द भएर शुरु भएको केही समयमै बजार ५ प्रतिशतले बढेर दिनभरको लागि कारोबार रोक्का भएको हो । साविक चार घण्टा कारोबार हुने गरेकोमा तेस्रो पटक सर्किट ब्रेक लागेपछि ३ घण्टामा नै बजार बन्द भएको छ । मंगलबार मात्रै बजारमा ४२ करोड ९४२ लाख कित्ता० भन्दा बढि सेयर थपिएका छन् । बैंक तथा वित्तीय संस्थाले आगामी असारमा नै प्रस्ताव गर्न सकिने बोनस जोडेर चुक्ता पुँजी पुर्याउन सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ । बजारमा सबैभन्दा धेरै सेयर कारोबार हुनेमा पनि वाणिज्य बैंक र बीमा कम्पनीहरु रहेका छन् ।

कृषि पेसातर्फ आकर्षण बढ्दै

रोल्पा, चैत १५ । लिवाङ–६ का रुपलाल ओली काँक्रो, गोलभेँडा, फर्सी, च्याउलगायत बेमौसमी तरकारीखेती गरेर एउटा याममा रु तीन लाखसम्म आम्दानी गर्नुहुन्छ । उहाँले वार्षिक रु १६ तिरेर भाडामा जग्गा लिई व्यवसाय गर्दै आउनुभएको छ । जिल्लास्थित एक गैरसरकारी संस्थामा कार्यालय सहयोगीका रुपमा समेत काम गर्दै आउनुभएका ओली बिहान बेलुका तरकारीखेती गर्नमै व्यस्त रहनुहुन्छ । जागिरलाई अस्थायी र कृषिलाई स्थायी पेसा मान्दै आउनुभएका उहाँले कृषिबाट मनग्य आम्दानी गरिरहनुभएको छ । यस्तै धवाङ– ३ का ऋषिराम रोका लिवाङमा अलैँचीखेती गर्नुहुन्छ । उहाँले अलँैचीखेतीबाट वार्षिक रु १४ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । विगतमा राजनीति प्यारो लागे पनि अहिले कृषि पेसा प्यारो लाग्ने गरेको उहाँ बताउनुहुन्छ । गत वर्षसम्म जग्गा भाडामा लिई नर्सरी स्थापना गर्नुभएका रोकाले अहिले आफँै जग्गा खरिद गरी व्यवसाय गरिरहनुभएको छ । उहाँले देवदार, श्रीखण्ड, खोटे सल्ला, सागुन, सुगन्ध कोकिला, टिमुर, अलैँची, किबी, राई खनियोलगायत प्रजातिको नर्सरी स्थापना गर्नुभएको छ । रोल्पा, सल्यान, प्यूठान, दैलेखलगायत जिल्लाबाट समेत बिरुवाको माग आउने गरेको उहाँले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयले रोकालाई अलैँची नर्सरीका लागि अनुदान उपलब्ध गराएको हो । उत्पादित बिरुवा कार्यालयले नै खरिद गर्ने गरेको उहाँ बताउनुहुन्छ । यस्तै लिवाङमा रहेको सिर्जनशील कृषि महिला सहकारी संस्थाले यस वर्ष मकैको बीउ बिक्री गरेर रु एक लाख ५० हजार आम्दानी गरेको छ । बीउ उत्पादनबाट प्राप्त आम्दानीले सहकारीमा आबद्ध सदस्यलाई आर्थिक रुपमा सबल बनाउन मद्दत पुगेको सिर्जनशील कृषि महिला सहकारी संस्थाका अध्यक्ष हिरा घले बताउनुहुन्छ । जिल्लाका अन्य कृषि सहकारीले समेत बीउ उत्पादन गर्दैआएका छन् । यस वर्ष खाद्य सुरक्षा परियोजनाको सहयोगमा जिल्लाका गैरीगाउँ, घर्तीगाउँ, जंकोट, जैमाकसला, वडाचौर, मिझिङ, जुगार, लिबाङलगायतका ठाउँमा २८ वटा कृषक पाठशाला सञ्चालन गरेको छ । कृषकलाई प्राविधिक सीप हस्तान्तरण गर्ने, समूहलाई सशक्तीकरण गर्ने र कृषकको जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यका साथ कृषक पाठशाला सञ्चालन गरेको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो । अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएका कारण कृषक पाठशालामा महिलाको सहभागिता अत्यधिक रहेने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको करिब चार हजार ८९० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । सो क्षेत्रफलका लागि २४५ मेट्रिक टन बीउ आवश्यक पर्छ । जिल्लामा ४० मेट्रिक टन धान उत्पादन हुन्छ । यसैगरी १२ हजार ६६० हेक्टरमा उत्पादन गरिने मकैका लागि २५४ मेट्रिक टन बीउ आवश्यक पर्छ । जिल्लामा २९ मेट्रिक टन मकै उत्पादन हुन्छ । यस्तै आठ हजार ५७० हेक्टर क्षेत्रफलमा लगाइने गहुँका लागि एक हजार २८ मेट्रिक टन बीउ आवश्यक पर्छ । करिब २७ मेट्रिक टन गहुँ उत्पादन हुन्छ ।

प्रचण्ड-चिनियाँ राष्ट्रपति सी भेटः स्थानीय चुनावका लागि चीनले दियो १४ करोड ४० लाख

बेइजिङ, चैत १४ । नेपालमा हुने स्थानीय तह चुनावका लागि चीन सरकारले ९ मिलियन चिनियाँ युआन अर्थात करिब १४ करोड ४० लाख नेपाली रूपैयाँ बराबरको सहयोग गर्ने भएको छ । सोमबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीजिनपिङबीचको वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा भएको भेटमा चिनियाँ राष्ट्रपति सि ले नेपालमा हुन लागेको स्थानीय चुनावमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । साथै चिनियाँ राष्ट्रपति सि जिन पिङले तातोपानी नाका खोल्न आफू सकारात्मक रहेको र नेपाल र चीनवीच रेल्वे लिंक जोड्नेबारे प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त पारेका छन् ।

वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलन एक अर्बले न्यून

पर्सा, चैत १४ । वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । यहाँको नाका प्रयोग गरी नेपालका लागि हुने सवारी साधन आयातमा कमी आएका कारण राजस्व सङ्कलन घटेको कार्यालय प्रमुख सेवन्त पोखरेलले बताउनुभयो । भारत तथा तेस्रो मुलुकबाट आयात भएका जिप तथा कारमा नेपाली बैंकले लगानी गर्न नमानेपछि तिनको आयात घटदा सोको असर राजस्व सङ्कलनमा परेको उहाँले जानकारी दिनुभयो । कार्यालयले आव २०७३÷७४को फागुन महिनामा रु नौ अर्ब सात करोड २६ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु आठ अर्ब नौ कारोड ८५ लाख ९४ हजार, अर्थात् रु ९७ करोड ४० लाख ९४ हजार राजस्व सङ्कलन न्यून भएको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो । देशकै प्रमुख भन्सार नाकाका रुपमा रहेको वीरगन्जबाट नेपालका लागि हुने सवारी साधन तथा इन्धन आयातबाट सबैभन्दा बढी राजस्व सङ्कलन हुँदै आएको थियो । कुल राजस्वमध्ये ५७ प्रतिशत राजस्व सवारी साधन तथा इन्धन आयातबाट सङ्कलन हुने गरेकोे कार्यालयले जनाएको छ । फागुन महिनामा मात्र वीरगन्ज नाका प्रयोग गरी भएका सवारी साधन तथा इन्धन आयातबाट कार्यालयले रु पाँच अर्ब १६ करोड २९ लाख दुई हजार राजस्व सङ्कलन गरेको थियो । सङ्कलित राजस्व कुल राजस्वको ५६.९० प्रतिशत रहेको छ । बैंकले लगानी नगर्दा नेपालका लागि आयात गरिएको करिब चार हजार जिप कार सीमावर्ती भारतीय सहर रक्सौलको विभिन्न स्थानमा थन्किएको सम्बद्ध भन्सार एजेन्टको भनाइ छ ।