रत्न, पत्थर निकासी बन्द गर्दा वार्षिक ५० करोड घाटा

काठमाडौँ, वैशाख १३ । राज्यले बहुमूल्य रत्न, पत्थर निकासी बन्द गर्दा वार्षिक रु ५० करोड घाटा हुने गरेको छ ।

नेपाल हस्तकला महासङ्घले आज आयोजना गरेको ‘नेपाली रत्न, पत्थरको व्यवसायी सम्भावना, चुनौती र समाधान’ विषयक अन्तक्र्रियामा बोल्ने वक्ताहरुले राज्यले तीन वर्षअघिदेखि बहुमूल्य रत्न, पत्थरको निकासी बन्द गर्दा खानी क्षेत्रका ५० हजार मानिस बेरोजगार तथा राज्यको रु ५० करोड रकम घाटा भएको बताएका हुन् ।

अन्तक्र्रियामा खनिज तथा खानी सङ्घका अध्यक्ष गोपालराज रेग्मीले वार्षिक पाँच सय मेट्रिक टन रत्न, पत्थर निकासी रोकिएको बताए । उनले भने, “उद्योग मन्त्रालय रत्नपत्र क्षेत्रको विकासका बाधक तत्वलाई निर्मूल गर्नेतर्फ उदासीन छ ।”

उनले मुलुकमा उत्पादित कच्चा पदार्थको स्वदेशमा नै प्रशोधन गर्नुपर्ने भन्दै राज्यलाई तत्काल यसबारे निर्णय लिन आग्रह गरे ।

राज्यले तीन वर्ष अगाडि स्वदेशमै रत्न उद्यमको विकास गर्नुपर्ने मनसायले निकासी बन्द गरे तापनि हालसम्म केही काम हुन नसकेपछि मुलुकले यति ठूलो घाटा व्यहोर्नुपरेको हो ।

घरेलु तथा साना उद्योग विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले रत्न पत्थर क्षेत्रको स्तरलाई बढाउनका लागि सरकार सकारात्मक रहेको बताए । उनले भने, “रत्न पत्थरको विकास र विस्तारका लागि उद्योग मन्त्रालय गम्भीर छ ।” रत्न पत्थर प्रशोधन गर्ने मेसिन भित्र्याउने काममा विभाग लाग्ने उनले स्पष्ट पारे ।

नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक विमल नेपालले रत्न तथा पत्थरको बजार राम्रो भए पनि आवश्यक तालिम र प्रशोधन मेसिन नहुँदा यो क्षेत्र ओझेलमा परेको बताए ।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्यले देशका विभिन्न भागमा रत्न पत्थरहरु भए पनि जनशक्तिको अभाव र यससम्बन्धी स्पष्ट नीति नहुँदा काम गर्न नसकिएको बताए ।

नेपाल हस्तकला महासङ्घ, उद्योग परिषद्का संयोजक रत्नेश्वरी श्रेष्ठले कच्चा पदार्थको नियमित आपूर्ति नहुनु, दक्ष जनशक्तिको अभाव, प्रविधि भित्र्याउन नसक्नुलगायतका समस्याले नेपालको रत्न, पत्थर व्यवसाय सङ्कटमा परेको बताए ।

नेपालमा हाल हिमाली क्षेत्रमा अक्वामेरिन, निलम, रुवी, टुर्मालिन महाभारत क्षेत्रमा काइनाइट, क्वार्ज, ज्यास्पर र चुरे क्षेत्रमा क्वार्जाइट, ज्याम्परलगायतका रत्न तथा पत्थर रहेको पाइन्छ ।

कैलालीमा गहुँको उत्पादनमा वृद्धि

कैलाली, वैशाख ११ । कैलालीमा गत वर्षको तुलनामा यो वर्ष गहुँको उत्पादन बढेको कृषि विकास कार्यालयले जनाएको छ । सबैजसो क्षेत्रमा उत्पादकत्व बढेको सो कार्यालयको भनाई छ । सिचांई सुविधा पुगेको र खेतीका लागि उपयुक्त मानिएको क्षेत्रमा उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव १ मेट्रिकटन रहेको अनुमान कार्यालयले गरेको छ । त्यस्तो क्षेत्रमा उत्पादकत्व यसअघि ३ दशमलव ९ मेट्रिकटन रहेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत गौरीशंकर गुप्ताले जानकारी दिए । सिंचाई सुविधा नपुगेको र उत्पादनका दृष्ट्रिले त्यति उपयुक्त नमानिएको क्षेत्रमा पनि तुलनात्मक रुपमा उत्पादकत्व बढेको उनले बताए । गहुँका लागि उपयुक्त मौसम हुनु उत्पादन बढ्नुको मुख्य कारण रहेको कृषि प्राविधिकहरुले बताएका छन् । प्रारम्भीक विवरण हेर्दा उत्पादन बढेको तर जिल्लाभरको उत्पादनको एकिन विवरण भने निकाल्न बाकी रहेको उनले बताए । पछिल्लो समय उन्नत जातको बीउ प्रयोग गर्ने किसानको संख्या बढ्दै गएको उनले बताए । जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष करिब ५० प्रतिशत क्षेत्रमा विजय जातको उन्नत गहुँ लगाइएको थियो । यस्तै जिल्लामा गौतम, आदीत्य, नेपाल २९७ लगायत जातको गहुँको खेती हुने गरेको कार्यालयको भनाई छ । जिल्लाभर यो वर्ष ३४ हजार ५ सय हेक्टरमा गहँु खेती गरिएको थियो । गहुँको उत्पादन बढाउनका लागि उन्नत बीउको प्रयोग, नियमित सिंचाई, उपयुक्त समयमा मलखाद हाल्न, झार नियन्त्रण गर्न र बीर फेरेर लगाउनमा कृषि विकास कार्यालयले जोड दिइरहेको प्रसार अधिकृत गुप्ताले बताए । कैलाली अन्न उत्पादनका दृष्टिले उर्बर जिल्ला मानिन्छ । तर सबै क्षेत्रमा सिंचाई सुविधा नहुँदा संभावना भएर पनि उत्पादकत्व बढ्न सकेको छैन । सिचांई सुविधा विस्तार भए र आधुनिक प्रविधि बीउको प्रयोगमा जोड दिन सके उत्पादकत्व अझै बढ्ने कृषि प्राविधिकहरुको भनाई छ । उन्नत बीउ, आधुनिक प्रविधि, भण्डारण, सिंचाई, मलखाद आदिमा सहयोग गरेर गहुँबालीको उत्पादन बढाउनका लागि कैलालीमा यस वर्षदेखि प्रधानमन्त्री आधुनिक कृषि परियोजना अन्तरगत गहुँमा सुपरजोन कार्यक्रम लागू भएको छ ।

अब नेपाली युवा रोजगारीका लागि विदेश जानै पर्दैन : मन्त्री जोशी

काठमाडौं, वैशाख ७ । औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिसँग बिहीबार आयोजना गरेको छलफलमा स्वदेशभित्र रोजगारीका विविध अवसर जुटाउन सो योजना सार्वजनिक गरेको हो । दश वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने गरी तयारीका साथ योजना बनाइएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए । “साना उद्योगको विकासले रोजगारी बढाउन सहयोग पुग्छ, ठूला उद्योगले रोजगारी सिर्जनाका साथै देशको आर्थिक विकासमा योगदान गर्छ, संविधान निर्माण भएपछि नेपालमा शान्ति स्थापना भएकाले लगानीको वातावरण बनेको छ, यो वातावरणमा लगानी गर्न हामी सबै मित्रराष्ट्रलाई आग्रह गर्छौं” उनले भने । लगानीकर्तालाई कानुनी रुपमा कुनै समस्या नहुने गरी नीति निर्माण गर्ने प्रतिबद्धता पनि मन्त्री जोशीले व्यक्त गरे । छलफलमा नेपालस्थित जापानी राजदूत मासासी ओगावा, फिनल्यान्डका राजदूत योर्मा सुमान्तो, ब्राजिलका राजदूत मारिया टेरेसा मेस्कुटा पेसोआ, संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाक्बीलगायत अमेरिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी), युरोपियन युनियन, हबिब बैंक र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का प्रतिनिधिले लगानीको वातावरण बनाउन सरकारले जग्गा प्राप्तिलाई सहज बनाउनुपर्ने, लगानीका लागि सरकारका विभिन्न निकायमा धाउनुपर्ने झन्झटलाई औद्योगिक ऐनमा भएको व्यवस्थाअनुरुप एकल विन्दु सेवाको स्थापना गरिनुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव शङ्करप्रसाद कोइराला, सहसचिव प्रदीप कोइराला र प्रवक्ता पुरुषोत्तम नेपालले लगानीका लागि नीतगत, कार्यक्रमगत र कार्यविधिगत सुधार गर्न सुझाव सङ्कलन गर्ने उद्देश्यले नेपालमा लगानी र औद्योगिक वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

बाढीपीडितलाई रु बत्तीस करोड बाँडियो, ४७ परिवार पालमा

बर्दिया, वैशाख २ । दुई वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन बनेर शिविरमा आश्रय लिइरहेका परिवारको अझैसम्म पुनःस्थापना हुनसकेको छैन । विसं २०७१ साउन २९ गते आएको बाढीले बबई नदीको किनारमा बसोवास गरिरहेका ४७ घरपरिवारका करिब तीन सय जना विस्थापित भएका थिए । उक्त बाढीका कारण बर्दियामा ३४ जनाले ज्यान गुमाएका थिए भने १३ जना बेपत्ता भएका थिए । बाढीले तीन हजार ८५९ घर पूर्णरुपमा क्षति पु¥याएका थिए भने १३ हजार ५१७ घरमा आंशिक क्षति पु¥याएका थिए । अहिले सामान्य र आंशिक क्षति हुने आ–आफ्नो घर फर्केर पनि घरबार सम्हालिसके तर बाढीले घरखेत बगाइ उठीबास भएर शिविरमा नै बस्दै आएका बाढीपीडितलाई सरकारले पुनःस्थापना नगरिँदा उनीहरु कष्टकर जीवन बिताउन बाध्य छन् शिविरमा बस्दै आएका गुलरिया नगरपालिका, रामपुर टप्परका ४७ घरपरिवार, बनियाभारका ९८ घरपरिवार र चेपाङका २१ घरपरिवार गरी १६२ घरपरिवार बाढीपीडितमध्ये गुलरिया नगरपालिका रामपुरका ४७ घरपरिवारको मात्रै पुनःस्थापना हुनसकेको छैन । अन्य शिविरमा रहेकाको पुनःस्थापना भइसकेको छ । आफनो घर जग्गा सबै बगाएपछि अहिले पालको बास भएको बताउछन् सविन्द्र शाही । बर्दिया, बाँके, सुर्खेत र दाङ जिल्लाका बाढीपहिरो प्रभावितलाई पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि मध्यपश्चिम क्षेत्रका सभासदहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । तर पनि आवास व्यवस्थापनअन्तर्गत रोकिएको अनुदान रकम निकासा नहुँदा बाढीपीडितले दुःख व्यहोर्नुपरेको छ । सरकारले बाढीपीडितका लागि भनेर विभिन्न चरणमा गरी रु ३२ करोड ५६ लाख २१ हजार ९०० बाँडिसकेको जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रशासकीय अधिकृत एवम् विपद् सम्पर्क व्यक्ति डिल्लीराम आचार्यले बताउनुभयो ।

९० करोडको लगानीमा भाटभटेनीको सुपरस्टोर सन्चालन

बुटवल, वैशाख १ । पश्चिम नेपालको रुपन्देही र त्यसआसपासका जिल्लाका ग्राहकलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केटले बुटवलमा सुविधा सम्पन्न ‘सुपरस्टोेर’ सन्चालनमा ल्याएको छ । बुटवलस्थित सुक्खानगरमा बनेको अत्याधुनिक भवनसहितको सुपरस्टोरको शुक्रबार विधिवत् उद्घाटन गर्दै भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले यसमा ९० करोड रुपैयाँ लगानी भएको दाबी गरे । राजधानीसहित मुलुकका विभिन्न सहरमा रहेको भाटभटेनीको काठमाडौं उपत्यकाबाहिरको यो चौथो शाखा हो । यहाँ चार सयजनालाई प्रत्यक्ष रोजगारी दिइएको जनाइएको छ ।

सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खुल्ने

काठमाडौँ,  चैत  २९ । सरकारले ७४४ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय खोल्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ । सरकारले नयाँ प्रावधानअनुसार स्थानीय तहको संरचना खडा गरेको र आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनसमेत हुन लागेको सन्दर्भमा नागरिकलाई वित्तीय सेवाको पहुँच दिनका लागि त्यस्ता शाखा खोल्न लागिएको हो । अर्थमन्त्रालयले बैंक तथा वित्तीय संस्थाको शाखा खोल्नका लागि सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बैंक तथा वित्तीय संस्थाको शाखा खोल्ने कार्य तत्काल अगाडि बढाउन आवश्यक निर्देशन दिनुभएको छ । नयाँ आर्थिक वर्ष सुरु हुनेबित्तिकै स्थानीय जनतालाई सेवा दिने गरी शाखा खोल्नका लागि आवश्यक व्यवस्था गरिएको र प्रक्रियासमेत सुरु भएको अर्थमन्त्रालयले जनाएको छ । त्यस्ता शाखा खोल्दा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थालाई नै प्राथमिकता दिनुपर्नेछ । सरकारी बैंक तथा वित्तीय संस्थाप्रति जनताको विश्वास बढाउन र सेवा प्रवाहलाई समेत सहज एवम् सरल बनाउन सरकारी बैंक तथा वित्तीय संस्था नै स्थानीय तहमा जानुपर्छ भन्ने मान्यताका साथ प्रक्रिया अगाडि बढाइएको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराका सञ्चार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिनुभयो । बैंक तथा वित्तीय संस्था खोल्नका लागि मन्त्रालयको बैंक तथा वित्तीय क्षेत्र महाशाखाले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पनि स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्ने आवश्यक प्रक्रिया अगाडि बढाउन निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसक्नुभएको छ ।

भाटभटेनीको अर्काे शाखा बुटवलमा

बुटवल, चैत २८ । नेपालको प्रमुख व्यापारिक प्रतिष्ठानको रुपमा चिनिएको भाटभटेनी सुपरमार्केटको १३औँ व्यापारिक कम्प्लेक्स बुटवलमा सञ्चालनमा आउने भएको छ । एउटै भवनबाट सबै किसिमको व्यापारिक सेवा प्रदान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका–८ को मुख्य क्षेत्र सुख्खानगरमा स्थापना गर्न लागिएको हो । आठ तले भवन निर्माणसँगै नयाँ वर्षको अवसर पारेर व्यावसायिक सेवा सुरु गरिने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिएका छन् । गत असारदेखि निर्माण सुरु भएको व्यापारिक कम्प्लेक्स भवन कुल आठ कठ्ठा क्षेत्रफलमा निर्माण भएको र भवन निर्माण मात्र रु ३५ करोड लगानी भएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार भवनका लागि जग्गा गरिद र व्यवसाय सञ्चालनको अवस्थासम्मको लगानी रु ९० करोड पुगेको छ । निर्माण सुरु भएको झन्डै १० महिनामा सञ्चालन हुन लागेको यो सुपरमार्केटको भवन निर्माणमा दैनिक ३०० भन्दा बढी कामदार परिचालन भएका छन् । स्थानीय उत्पादन, स्थानीय जनशक्ति र स्थानीय बजार भन्ने मुख्य लक्ष्य बनाएको यो सुपरमार्केटको सञ्चालनमा स्थानीय गाउँघरमा उत्पादित वस्तुको प्रवद्र्धन गरिने र दैनिक कामका लागि स्थानीय युवायुवतीलाई नै रोजगारी दिइने उहाँले बताउनुभयो । यसका लागि २०० प्रत्यक्ष र झन्डै पाँच हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिनसकिने उनले बताए । यो सुपर कम्प्लेक्समा यसअघि सञ्चालनमा आएको कम्प्लेक्सभन्दा उपभोक्तालाई एकै स्थानमा बजार गर्ने सुविधासहित मनोरञ्जनको समेत सेवा उपलब्ध हुने अध्यक्ष गुरुङले बताए ।

बुटवलमा पहिलो पटक सेयर खरिद बिक्री सुरु

रुपन्देही, चैत १९ । बुटवलमा पहिलोपटक सेयर खरिद बिक्री सुरु भएको छ । आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि (ब्रोकर नं ५७) बुटवल शाखाले मङ्गलबारदेखि यहाँ सेयर खरिद बिक्री सुरु गरेको हो । सो कम्पनीको बुटवल शाखाले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी सेयर खरिद बिक्रीका लागि काठमाडौँ पुग्नुपर्ने समस्या अब हल भएको बतायो । प्रालिका सञ्चालक रामचन्द्र भट्टराईले बुटवल आसपासका क्षेत्रमा रहेका सेयर लगानीकर्तालाई छिटो र सरल तरिकाबाट सेयर खरिद बिक्री गर्न दिने उद्देश्यले बुटवलमा पनि सेयर खरिद बिक्री कार्यको थालनी गरेको बताए । विसं २०६३ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबाट सेयर बिक्री गर्ने अनुमति पाएको प्रालिले बुटवलका लागि २०७३ चैत १३ गते सेयर कारोबारको स्वीकृति पाएको थियो ।

साताको अन्तमा १ अर्ब ४८ करोडको कारोबार, नेप्सेमा सामान्य गिरावट

काठमाडौं । बिहीबार सेयर बजारमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बुधबारको तुलनामा एक अर्ब ६ करोड रुपैयाँ घटी हो । बिहीबार १४० कम्पनीको २७ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी सानिमा बैंकको २२ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन बैंकको शेयर मूल्य प्रतिकित्ता ५७४ रुपैयाँ रहेको छ । त्यस्तै, लक्ष्मी बैंकको ११ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि सामान्य अंकले ओरालो लागेको छ । परिसूचक शून्य दशमलब ६५ अंकले घटेर १५८७ दशमलब ६४ अंकमा झरेको छ । सो दिन बीमा, फाइनान्स, होटल र अन्य समूहको परिसूचक क्रमशः ६९, ८, ५ र २ अंकले उकालो लागेका छन् । त्यस्तै, हाइड्रो, उत्पादमूलक, विकास बैंक र बैंकिङ् समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । यस दिन सिर्जना फाइनान्स, ज्योती विकास बैंक, साहारा विकास बैकका लगानीकर्ताहरु मालामाल भए भने सेती फाइनान्स, रिलायबल माइक्रोफाइनान्स, सिन्धु विकास बैकका लगानीकर्ताहरुले धेरै नै गुमाए । यस दिन बैक समूहको ८७ करोड ३५ लाख, होटल समूहको ७२ लाख, विकास बैंक समूहको १७ करोड ६० लाख, हाइड्रोपावर समूहको ४४ लाख, फाइनान्स समूहको १ करोड ८२ लाख, बिमा समूहको ३१ करोड ६४ लाख, उत्पादन समूहको १७ लाख र अन्य समूहको ८५ लाखको कारोबार भएको छ ।

वीरगन्ज नाकाबाट ३९ अर्ब ३६ करोडको इन्धन आयात

पर्सा, चैत १६ । चालु आवको आठ महिनामा वीरगन्ज नाका भएर भारतबाट रु ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपाल भित्रिएको छ । सिमावर्ती भारतीय सहर रक्सौल, बरौनी, हल्दिया, मथुरालगायत स्थानबाट सो इन्धन नेपाल आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए । रक्सौल र बरौनी तेल डिपोबाट नेपालका लागि छ लाख ५० हजार २११ किलोलिटर डिजेल, पेट्रोल र मट्टितेल आयात गरिएको छ । यस्तै भारतको मथुरा, हल्दियालगायत स्थानबाट एक लाख १४ हजार एक सय १४ मेट्रिक टन खाना पकाउने ९एलपिजी० ग्यास आयात भएको पोखरेलले बताए । भारतबाट इन्धन आयात गर्दा रु नौ अर्ब ११ करोड २४ लाख १९ हजार राजस्व सङ्कलन भएको छ । वीरगन्ज नाकाबाट चालु आवको फागुनमा मात्र रु छ अर्ब २६ करोड आठ लाख ३७ हजारको ९४ हजार ९५५ किलोलिटर डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टीतेल तथा १३ हजार ८९४ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ । फागुनमा भारतबाट २० हजार ८५ किलोलिटर पेट्रोल, ५९ हजार ८२५ किलोलिटर डिजेल, ७८९ किलोलिटर मट्टीतेल र १४ हजार २५६ किलोलिटर हवाई इन्धन वीरगन्ज नाकाबाट नेपाल भित्रिएको छ । फागुनमा कार्यालयले रु एक अर्ब ३३ करोड एक लाख राजस्व सङ्कलन गरेको छ ।  

रु १० करोडको मुला बिक्री

नुवाकोट, चैत १६ । कम खर्चमा मनग्य आम्दानी गर्न सकिने भएपछि यहाँका किसान मुलाखेतीतर्फ आकर्षित भएका छन् । चालु आवको आठ महिनामा जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । सो परिमाणको मुला बिक्री गरी रु नौ करोड ९८ लाख भित्रिएको उहाँले बताउनुभयो । आव २०७२÷७३ मा रु सात करोडको मुला उत्पादन भएको कार्यालयले जनाएको छ । स्थानीय बजारमा मुला अहिले प्रतिकिलो रु १० देखि रु १२ मा बिक्री भइरहेको छ । यहाँ उत्पादन भएको मुला काठमाडौँसम्म पुग्ने गरेको छ । अन्य बालीको तुलनामा खेती लगाउन, हुर्काउन सजिलो हुँदा किसान मुलाखेतीतर्फ आकर्षित भएका हुन् । मुला ४० दिनदेखि ६० दिनमा तयार हुन्छ । जिल्लाको माथिल्लो क्षेत्रमा अन्य बाली उत्पादनमा ढिलाइ हुँदा किसान मुलाखेती गर्दैआएका छन् । जिल्लाको ककनी, ओखरपौवा, मदानपुर, बेलकोट, चाउथे कुमरी, किम्ताङलगायत ठाउँलाई जिल्ला कृषि कार्यालयले पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ ।

टेलिकमबाट सेवाग्राहीलाई ‘ब्यालेन्स लोन’

काठमाडौँ, चैत १५ । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहुँदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ । टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते सम्झौता भई सोबारे आज सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । सम्झौतानुसार उपभोक्तालाई कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ । कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौतापत्रमा टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टरका तर्फबाट प्रालिका निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गर्नुभएको टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । सो सुविधा प्रयोग गरेबापत थप कुनै ‘चार्ज’ वा ब्याज नलिई उपभोक्तालाई लोन (ऋण) उपलब्ध हुने र रिचार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुनेछ । सम्झौतानुसार सो सुविधा सम्झौता भएको मितिले पाँच महिनाभित्र सञ्चालन गरिने बताइएको छ ।

कुचो व्यवसायी मारमा

काभ्रे, १५ चैत । पनौती–६ का २८ वर्षीया लस्मिता लामाले दैनिक एक सयवटा कुचो बनाउँदै आउनुभएको छ । उहाँले कुचो बिक्री गरेर वार्षिक रु आठ लाखसम्म आम्दानी गर्नुहुन्छ । तर यस वर्ष उचित मूल्य नपाउँदा सोचे जस्तो आम्दानी नहुनेमा लामा चिन्तित हुनुहुन्छ । कुचोको उचित मूल्य नपाउँदा मारमा परेको उहाँको भनाइ छ । लामा विगत २१ वर्षदेखि कुचो बनाउँदै आउनुभएको छ । लामा जस्तै त्यहाँका अन्य व्यापारी पनि कुचोको उचित मूल्य नपाएपछि मारमा परेका छन् । “भाउ बजारमा निर्भर हुने भएकाले मूल्य घटबढ भइराख्छ,” अर्का व्यापारी प्रकाश लामाले भन्नुभयो । उहाँले सिन्धुपाल्चोक र सिन्धुलीबाट कुचो बनाउने कच्चा पदार्थ (अम्रिसो) सङ्कलन गर्दै आउनुभएको छ । हाल उहाँले महाँकाल कुचो उद्योगका रुपमा दर्ता गरेर सञ्चालन गर्दै आउनुभएको छ । हाल कुचो बनाउन कच्चा पदार्थभन्दा पनि ज्यामीलाई दिने ज्याला बढी भएका कारण व्यवसाय सञ्चालन गर्न कठिन भएको लामा बताउनुहुन्छ । “व्यवसायबाट घाटा भएपछि परिवारको खर्च धान्न कठिन भएको छ,” उहाँले भन्नुभयो । कुचो बनाउने ज्यामीको समेत अभाव भएको लामाको भनाइ छ । कुचोको उचित मूल्य नपाएपछि व्यापारीमात्र नभई उत्पादन गर्ने कृषकसमेत समस्यामा परेका छन् । करिब ३० रोपनी जग्गामा अम्रिसो उत्पादन गर्दै आएका पनौती–११ का पुस्कल महत गत वर्ष कुचोको मूल्य राम्रै पाए पनि यस वर्ष उचित मूल्य नपाउँदा बिक्री गर्न नसकेको बताउनुहुन्छ । “बाढीपहिरोबाट जग्गा जोगिने भएकाले नै कुचो उत्पादन सुरु गरेको हुँ” महतले भन्नुभयो । अम्रिसो उत्पादन पर्याप्त मात्रामा हुने भए पनि उचित मूल्य नपाउँदा मारमा परेको उहाँले बताउनुभयो । गत वर्ष व्यापारी अम्रिसो किन्न घरमै आउने गरेका तर यस वर्ष भने नआएका महत बताउनुहुन्छ । जिल्लामा कुल ४२५ कबुलियती वन र ५६५ सामुदायिक वन रहेका छन् । ती सवैलाई जिल्ला वन कार्यालयले अम्रिसोको बिरुवा वितरण गर्दै आएको जिल्ला वन अधिकृत प्रेम खनालले बताउनुभयो ।

दुई करोड ४० लाख राजस्व सङ्कलन

पोखरा, चैत १५ । जिल्ला ट्राफिक कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गरी रु दुई करोड ४० लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा ३५ हजार एक सय ४९ सवारी चालकलाई कारबाही गरिएको र मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार १९५ जनाको सवारी अनुमति पत्रमा प्वाल पारिएको प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले जानकारी दिनुभयो । चालु आवको साउनदेखि फागुनसम्ममा ७५ वटा सवारी दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका थिए । मोटरसाइको स्वरुप परिवर्तन गर्ने र ध्वनी प्रदूषण गर्ने १४१ मोटरसाइकल चालकलाई पक्राउ गरी जरिवानापछि अभिभावकको जिम्मा लगाइएको थियो ।

चार महिनापछि नेप्सेमा भारी बृद्धि, १६ सय बिन्दूमा पुग्यो

काठमाडौँ, चैत १५ । चार महिनापछि नेप्सेमा भारी बृद्धि भएर निर्धारित समय अगावै बजार बन्द भएको छ । नेप्सेले १६ सय बिन्दुको उचाईमा पुगेको छ । मंगलबार तीन घण्टा नबित्दै बजार ५ प्रतिशतले बढेपछि कारोबार स्थगित गरिएको छ । बजार एकै दिन ७६ अंकले बढेको छ । यसदिन १ सय ४४ कम्पनीको सेयर किनबेच भएर १ अर्ब ३८ करोडको कारोबार भएको छ । बजार खुलेको आधा घण्टा नबित्दै ३ प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लागेको बजार १५ मिनेट बन्द भएर खुल्दा केही सम्हालिएको थियो । बजारमा दिनानुदिन सेयर आपुर्ती बढ्दा पनि लगानीकर्ताहरु हौसिएका हुन् । बजार ४ प्रतिशत बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो भने त्यसपछि आधार घण्टा कारोबार बन्द भएर शुरु भएको केही समयमै बजार ५ प्रतिशतले बढेर दिनभरको लागि कारोबार रोक्का भएको हो । साविक चार घण्टा कारोबार हुने गरेकोमा तेस्रो पटक सर्किट ब्रेक लागेपछि ३ घण्टामा नै बजार बन्द भएको छ । मंगलबार मात्रै बजारमा ४२ करोड ९४२ लाख कित्ता० भन्दा बढि सेयर थपिएका छन् । बैंक तथा वित्तीय संस्थाले आगामी असारमा नै प्रस्ताव गर्न सकिने बोनस जोडेर चुक्ता पुँजी पुर्याउन सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ । बजारमा सबैभन्दा धेरै सेयर कारोबार हुनेमा पनि वाणिज्य बैंक र बीमा कम्पनीहरु रहेका छन् ।

कृषि पेसातर्फ आकर्षण बढ्दै

रोल्पा, चैत १५ । लिवाङ–६ का रुपलाल ओली काँक्रो, गोलभेँडा, फर्सी, च्याउलगायत बेमौसमी तरकारीखेती गरेर एउटा याममा रु तीन लाखसम्म आम्दानी गर्नुहुन्छ । उहाँले वार्षिक रु १६ तिरेर भाडामा जग्गा लिई व्यवसाय गर्दै आउनुभएको छ । जिल्लास्थित एक गैरसरकारी संस्थामा कार्यालय सहयोगीका रुपमा समेत काम गर्दै आउनुभएका ओली बिहान बेलुका तरकारीखेती गर्नमै व्यस्त रहनुहुन्छ । जागिरलाई अस्थायी र कृषिलाई स्थायी पेसा मान्दै आउनुभएका उहाँले कृषिबाट मनग्य आम्दानी गरिरहनुभएको छ । यस्तै धवाङ– ३ का ऋषिराम रोका लिवाङमा अलैँचीखेती गर्नुहुन्छ । उहाँले अलँैचीखेतीबाट वार्षिक रु १४ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । विगतमा राजनीति प्यारो लागे पनि अहिले कृषि पेसा प्यारो लाग्ने गरेको उहाँ बताउनुहुन्छ । गत वर्षसम्म जग्गा भाडामा लिई नर्सरी स्थापना गर्नुभएका रोकाले अहिले आफँै जग्गा खरिद गरी व्यवसाय गरिरहनुभएको छ । उहाँले देवदार, श्रीखण्ड, खोटे सल्ला, सागुन, सुगन्ध कोकिला, टिमुर, अलैँची, किबी, राई खनियोलगायत प्रजातिको नर्सरी स्थापना गर्नुभएको छ । रोल्पा, सल्यान, प्यूठान, दैलेखलगायत जिल्लाबाट समेत बिरुवाको माग आउने गरेको उहाँले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयले रोकालाई अलैँची नर्सरीका लागि अनुदान उपलब्ध गराएको हो । उत्पादित बिरुवा कार्यालयले नै खरिद गर्ने गरेको उहाँ बताउनुहुन्छ । यस्तै लिवाङमा रहेको सिर्जनशील कृषि महिला सहकारी संस्थाले यस वर्ष मकैको बीउ बिक्री गरेर रु एक लाख ५० हजार आम्दानी गरेको छ । बीउ उत्पादनबाट प्राप्त आम्दानीले सहकारीमा आबद्ध सदस्यलाई आर्थिक रुपमा सबल बनाउन मद्दत पुगेको सिर्जनशील कृषि महिला सहकारी संस्थाका अध्यक्ष हिरा घले बताउनुहुन्छ । जिल्लाका अन्य कृषि सहकारीले समेत बीउ उत्पादन गर्दैआएका छन् । यस वर्ष खाद्य सुरक्षा परियोजनाको सहयोगमा जिल्लाका गैरीगाउँ, घर्तीगाउँ, जंकोट, जैमाकसला, वडाचौर, मिझिङ, जुगार, लिबाङलगायतका ठाउँमा २८ वटा कृषक पाठशाला सञ्चालन गरेको छ । कृषकलाई प्राविधिक सीप हस्तान्तरण गर्ने, समूहलाई सशक्तीकरण गर्ने र कृषकको जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यका साथ कृषक पाठशाला सञ्चालन गरेको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो । अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएका कारण कृषक पाठशालामा महिलाको सहभागिता अत्यधिक रहेने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको करिब चार हजार ८९० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । सो क्षेत्रफलका लागि २४५ मेट्रिक टन बीउ आवश्यक पर्छ । जिल्लामा ४० मेट्रिक टन धान उत्पादन हुन्छ । यसैगरी १२ हजार ६६० हेक्टरमा उत्पादन गरिने मकैका लागि २५४ मेट्रिक टन बीउ आवश्यक पर्छ । जिल्लामा २९ मेट्रिक टन मकै उत्पादन हुन्छ । यस्तै आठ हजार ५७० हेक्टर क्षेत्रफलमा लगाइने गहुँका लागि एक हजार २८ मेट्रिक टन बीउ आवश्यक पर्छ । करिब २७ मेट्रिक टन गहुँ उत्पादन हुन्छ ।