दशैंमा ८३ करोडका खसीबोका ल्याइँदै
काठमाडौं, भदौ २५ । दशैंको अबधिमा काठमाडौं उपत्यकामा मात्रै ८३ करोड रुपैयाँभन्दा बढी रुपैयाँको खसिबोका तथा च्याङ्ग्राको कारोबार हुने बताइएको छ । जसमध्ये पनि ५० करोड रुपैयाँभन्दाबढी रकम खसीबोका खरिद गरेबापत भारतमा बाहिरिने सरोकारवाला व्यवसायीहरुको भनाइ छ ।
चौपाया व्यवसायी संघका संरक्षक तथा व्यवसायी दिपक थापाले दशैंमा निजी व्यवसायीहरुले करिब ४० हजार संख्यामा खसीबोका उपत्यकामा भित्र्याउने बताए । त्यस्तै करिब १० हजारको संख्यामा भेडा च्याङ्ग्रा भित्र्याउने उनले अनुमान गरे । “यद्यपि अहिले नै ठ्याक्कै भन्न सकिँदैन आवश्यकताअनुसार खसीबोका र च्याङ्ग्राको खपत घटबढ हुन सक्छ,” उनले भने “दशैंको अबधीमा व्यवसायीहरुले खसीबोकाको अभाव हुन दिने छैन ।”
उनका अनुसार खसीबोकाको औसत मूल्य प्रतिगोटा १४ हजार रुपैयाँ पर्छ । व्यवसायीहरुले मात्रै उपत्यकामा भित्र्याउने खसिबोका ५६ करोड रुपैयाँका रहेका छन् ।
त्यस्तै उनले एउटा च्याङ्ग्राको मूल्य २२ देखि २७ हजार रुपैयाँसम्म पर्ने बताए । औसतमा प्रतिगोटाको २४ हजार राख्ने हो भने, उपत्यकामा १० हजार संख्या भित्रिने अनुमान गरिएको छ । त्यसलाई आधार मान्ने हो भने दशैंको लागि उपत्यकामा करिब २४ करोड रुपैयाँको भेडा च्याङ्ग्रा भित्रिनेछ । सबैलाई जोड्ने हो भने यो दशैंमा निजी व्यवसायीले मात्रै ८० करोड रुपैयाँ बराबरको खसीबोका, भेडाच्याङ्ग्राको कारोबार गर्ने संरक्षक थापाको भनाइ छ ।
त्यस्तै नेपाल खाद्य संस्थानले ३ करोड ३१ लाख रुपैयाँको खसीबोका उपत्यकामा भित्र्याउने संस्थानका प्रवक्ता शंकर सापकोटाले बाह्रखरीलाई बताए । सो रकम बराबरको १ हजार ५ सय संख्यामा खसीबोका र १ हजारको संख्यामा च्याङ्ग्रा भित्र्याउने उनको भनाइ छ । “संस्थानले यो वर्ष गएको वर्षभन्दा केहि कम चौपाया ल्याउन लागेको हो,” उनले भने “गएको वर्ष हामीले २ हजार ८८४ ओटा भित्र्याएका थियौं ।” उनका अनुसार संस्थानले भित्र्याउने खसीबोका र च्याङ्ग्राको मूल्य निजी क्षेत्रकोभन्दा १०÷१५ रुपैयाँ कमि हुनेछ । खसीबोका दाङ्ग र मकवानपुरदेखि भने, च्याङ््ग्रा मुस्ताङ्गदेखि ल्याउने प्रवक्ता सापकोटाको भनाइ छ ।
संरक्षक थापाले व्यवसायीहरुले दशैंको लागि भित्र्याउने खसी बोका ९० प्रतिशत भारतबाट ल्याइने बताए । “सरकारले स्वदेशमा नै खसीबोकाको उत्पादन बढ्यो भन्छ,” उनले रुष्ट हुँदै भने “दशैं जस्तो चाडपर्वमा भारतमै निर्भर हुनुपर्छ । खै उत्पादन बढेको ?” उनका अनुसार भारतबाट ठूलो संख्यामा खसीबोका ल्याए भन्सार लगायत भेटेनरी चेकजाँच सहज छ । तर नेपालकै विभिन्न जिल्लाहरुबाट उपत्यकामा भित्र्याउन परे विभिन्न झन्झटीलो प्रक्रियाहरु बेहोर्नुपर्छ । त्यसैले उनकाअनुसार सहजताको लागि भएपनि भारतबाटै खसीबोकाहरु ल्याइने गरिएको छ ।
गएको दशैंमा भारतदेखि ८० प्रतिशत मात्र खसीबोका उपत्यकामा भित्रिएकोमा यो वर्ष १० प्रतिशत बढेर ९० प्रतिशत पुग्ने उनको अनुमान छ । त्यसको आधारमा ५० करोड रुपैयाँभन्दा बढीको खसीबोका यो दशैंको लागि भारतबाट भित्रिदै छ । भेडा च्याङ्ग्रा भने, मुस्ताङ्ग र तिब्बतबाट भित्रिने उनले जानकारी दिए ।
व्यवसायीहरुले गएको वर्षभन्दा यो वर्ष खसीबोका भेडा च्याङ्ग्राहरुको मूल्य प्रतिकिलो २०÷२५ रुपैयाँ बढ्ने अनुमान गरेको छ । उनीहरुकाअनुसार गएको वर्ष जिउँदो खसीबोकाको मूल्य ४६० देखि ५०० र च्याङ्ग्राको मूल्य ७ सयदेखि ७५० रुपैयाँसम्म रहेको थियो ।
नदी नियन्त्रणका लागि बजेट अपुग
भद्रपुर, भदौ २३ । जिल्लाका प्रमुख चारवटा नदी नियन्त्रणको कार्यलाई सञ्चालन गर्न बजेट अपुग भएको छ । चालू आर्थिक वर्ष २०७४-७५ मा नदी नियन्त्रण गर्न रु ३८ करोड ४६ लाख बजेट अपुग भएको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय गैडे झापाले जनाएको छ । आव २०६६-६७ मा स्थापना भएको सो कार्यालयले २९ किमी लम्बाइ भएको कन्काई, ६६ किमी लम्बाइ भएको रतुवा, ४४ किमी लम्बाइ भएको विरिङ र २५ किमी लम्बाइ भएको कमल नदी नियन्त्रणको कार्य गर्दैआएको छ । हालसम्म सो कार्यालयले कन्काईमा १०.९३ किमी, रतुवा १४.९३ किमी, विरिङ ३.३५ किमी र कमलमा १.६४ किमी तटबन्ध गरेको डिभिजन प्रमुख कैलाश श्रेष्ठले जानकारी दिनुभयो । यी चारवटै नदीको कूल लम्बाइ १६४ किमी रहेको छ । हालसम्म रु ३१ करोड ३० लाख खर्च गरेर कूल ३०.८५ किमी तटबन्ध निर्माण गरेको छ । रतुवा नदीमा रु आठ करोड ५० लाख, कमल नदीमा रु दुई करोड, कन्काई नदीमा रु पाँच करोड ६१ लाख र विरिङमा रु छ करोड नौ लाख तटबन्धमा खर्च भएको छ । नदी नियन्त्रणको कार्यलाई निरन्तरता दिन बजेट अभाव रहेको श्रेष्ठको भनाइ छ । कन्काई नदीले किच्चकडाँगी, विसुडुब्बा, रंगीया थान, बिर्खे बस्ती, आपगाछी, भ्याकुरमारी र आँपटारी, रतुवा नदीले चप्रामारी, दुवाटोली, महादेवस्थान, झर्का, मुन्सी गाडा, दमक १० र पिडाली चोक, कमल नदीले कमल गाउँपालिका १, २ र ३ सरङ्गपारा ढेंग्री, शिवसत्ताक्षी १, ३ र ४, विरिङ नदीले बाह्रदशी गाउँपालिका ४ र ७ को चकचकी र तुल्सीबारी, कन्काई नगरपालिकाको ९ घैलाडुब्बा, बुद्धशान्ति गाउँपालिका–९ को होक्से, बाह्रदशी गाउँपालिकाको डाँगीबारी, अर्जुनधारा नगरपालिका–१ को मदनपुर र अर्जुनधारा नगरपालिकाको रमाइलोबस्ती डुबान तथा कटान गर्ने गरेको छ ।
ट्याम्के मैयुङको बजेट रु २७ करोड ६४ लाख
भोजपुर, भदौ २३ । सडक र विद्युत्लाई पहिलो प्राथमिकता दिँदै टेम्केमैयुङ गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक र विद्युत्लाई पहिलो प्राथमिकतामा राखी गाउँसभाले बजेट विनियोजन गरेको छ । गाउँ सभाले सडकमा रु पाँच करोड ९ लाख सत्तरी हजार, विद्युत्मा रु एक करोड ३८ लाख ३० हजार र गाउँपालिका स्तरीय मध्यम तथा साना पूर्वाधारमा रु.एक करोड पचहत्तर लाख बजेट विनियोजन गरेको टेम्केमैयुङ गाउँपालिका–५ खावाका वडाअध्यक्ष सुनिल राईले जानकारी दिनुभयो । गाउँपालिकालार्ई यस आर्थिक वर्ष २०७४÷७५ का लागि कुल २७ करोड ६४ लाख बजेट प्राप्त भएको छ । गाउँसभाले गाउँपालिकाको नाम यसअघिको ट्याम्केमैयुमलाई संशोधन गरी ‘टेम्केमैयुङ’ नामाकरण गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । गत भदौ ५ गतेदेखि शुरु भएको परिषद् बिहीबार सकिएको हो ।
उपभोक्ता ठग्ने व्यवसायीको पक्षमा नेपाल चेम्बर अफ कमर्स
काठमाडौं, भदौ २२। नेपाल चेम्बर अफ कमर्सले बजार अनुगमनका क्रममा व्यापार व्यवसायीको पसल शिलबन्दी गरी बजारमा असहज स्थिति सिर्जना गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरका कावा महासचिव नीलकण्ठ चौलागाईँँले आज एक विज्ञप्ति जारी गरी बजारलाई व्यवस्थित पार्न तथा बजारको असहज परिस्थिति र बेथितीको अन्त्य गर्न बजार अनुगमन गर्ने काम स्वागतयोग्य भए पनि अव्यवहारिक कालोबजारी ऐनको प्रयोगबाट पसलहरु शिलबन्दी हुनु दुःखद भएको जनाएको छ । विज्ञप्तीमा दशैँजस्तो महान् चाड नजिक आइरहेको अवस्थामा बजार व्यवस्थामा सरोकारवालाहरुको समेत संलग्नतामा सरकारले समन्वय गनुपर्नेमा त्यो काम नगरी विपरीत काम गरेको उल्लेख छ । “मूल्य निर्धारण तथा बिलबिजक जस्ता विषयमा राजश्व अनुसन्धानसँंग सम्बन्धित भए पनि आपूर्ति व्यवस्थापन विभागबाट पसल शिलबन्दी गरिनु अव्यवहारिक छ”– विज्ञप्तीमा भनिएको छ । चेम्बरले बजार यथाशीघ्र सञ्चालन गरी आपूर्ति सहज बनाउन सरकारका सम्बन्धित निकायसँंग सहकार्यका लागि आग्रहसमेत गरेको छ । रासस
भूकम्पपीडितको राहत गोदाममा कुहियो
नुवाकोट, भदौ २२ । नुवाकोटका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री कुहिएको छ । भूकम्पपीडितलाई वितरण गर्न जिल्ला ल्याएर लामो समयसम्म थन्काउँदा खाद्य सामग्री कुहिएका छन् भने बन्दोबस्तीका सामग्री प्रयोग गर्न नमिल्ने भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको इलम प्रशिक्षण केन्द्रस्थित चिसो भुइँमा भण्डारण गरिएको चामल, दाल, बिस्कुटलगायतका खाद्यान्न म्याद गुज्रिएर खान अयोग्य भएर गन्हाउन थालेको उद्योग वाणिज्य सङ्घका सदस्य सवीन राजभण्डारीले बताए । “गोदाममा राखेको त्रिपाल, टेन्ट, कम्बललगायतका बन्दोबस्तीका सामग्री मुसाले खानेदेखि चिसोले मक्किएर काम नलाग्ने भएको छ ।” राजभण्डारीले भने, “भण्डारणमा रहेका सामग्री व्यवस्थापन गर्न प्रशासनलाई गरेको आग्रहमा चासो नै दिइएन ।” खाद्यान्न तथा बन्दोबस्तीको सामग्री प्रयोगविहीन अवस्थामा पुगेको जानकारी पाए पनि नुवाकोट प्रशासन तथा जिल्ला दैवी प्रकोप उद्धार समितिले राख्ने स्थानको अभाव देखाउँदै बेवास्ता गरेको छ । भूकम्पपछि जिल्लाका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको खाद्य र बन्दोबस्तीका सामग्री वि.सं. २०७२ को जेठ पहिलो साता थन्काएदेखि अहिलेसम्म अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा प्रयोगविहीन अवस्थामा पुगेको हो । भण्डारणमा रहेका सामग्रीमध्ये खाद्यान्नको म्याद सकिएको र गैरखाद्य छनोट गर्ने तयारीमा लागेको प्रजिअ जगदीशराज बरालले बताए । भूकम्पपछि राहत वितरण गर्न सामाजिक संस्थाले सबै स्थानको जिम्मा लिएपछि सरकारी राहत थन्काइएको थियो । भण्डारण गरिएको राहतको विवरण नभएकाले कति मूल्य बराबरको यकिन नभए पनि करिब रु एक करोड भएको हुनसक्ने अनुमान गरिएको छ । रासस
प्रदेश–२ को चुनावका लागि डेढ अर्ब निकासा, १ अर्ब पठाउने तयारी
काठमाडौं, भदौ २२ । तेस्रो चरणको स्थानीय निर्वाचनका कारण पूर्वनिर्धारित बजेटभन्दा अढाई अर्ब रुपैयाँ खर्च बढ्ने भएको छ । निर्वाचन आयोग र सुरक्षा निकायले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि छुट्टाछुट्टै रकम मागेपछि अर्थ मन्त्रालयले थप रकम उपलब्ध गराउने भएको हो । माग गरिएको रकममध्ये अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई डेढ अर्ब रुपैयाँ निकासा गरिसकेको छ भने गृह मन्त्रालयलाई पनि मागबमोजिम नै बजेट उपलब्ध गराउने अर्थको तयारी छ । अर्थका अनुसार गृहले सुरक्षाका अतिरिक्त अन्य खर्चसहित १ अर्ब रुपैयाँ मागेको छ । तेस्रो चरणअन्तर्गत असोज २ मा प्रदेश नं. २ का ८ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदैछ । पहिलो र तेस्रो चरणमा ६ प्रदेशमा स्थानीय तहको चुनाव सम्पन्न भइसकेको छ ।
इम्बोस्ड नम्बर प्लेटमा नीतिगत भ्रष्टाचार !
काठमाडौं, भदौ २२ । अंक र अक्षर अंग्रेजीमा राख्ने सम्झौता गरेर नियमावली परिवर्तन सरकारले हालै सुरु गरेको इम्बोस्ड नम्बरप्लेटमा नीतिगत भ्रष्टाचार गरेको पाइएको छ । यातायात व्यवस्था विभागले कार्यान्वयनमा रहेको कानुनविपरीत इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्ने गरी सम्झौता गरेको खुलेको हो । तत्कालीन समयमा कार्यान्वयनमा रहेको सवारी तथा यातायात व्यवस्था नियमावलीमा नम्बरप्लेटमा प्रयोग हुने अंक र अक्षर देवनागरी लिपिमा हुनुपर्ने व्यवस्था रहेको थियो । तर, इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर हुने गरी सम्झौता गरेको विभागले त्यसपछि मात्रै नियमावली संशोधन गरी अंग्रेजी भाषा प्रयोग गर्ने नियम बनाएको हो । विभागले १७ जेठ २०७३ मा बंगलादेशी कम्पनी डेकाटुर टाइगरसँग ५ वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी करिब साढे ४ अर्ब रुपैयाँमा सम्झौता गरेको थियो । विभागले नियमावलीविपरीत सम्झौता गर्दा सो व्यवस्था संशोधन गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरेको पाइएको छ । विभागका कर्मचारीको निहित उद्देश्य पूरा गर्ने गरी सरकारले भर्खरै नियमावली संशोधन गरेको छ । २५ साउन २०७४ को राजपत्रमा सूचना प्रकाशित गरी नियमावलीमा नेपाली भाषाको ठाउँमा अंग्रेजी भाषा प्रयोग गर्ने व्यवस्था गरिएको हो । विभागले ५ भदौदेखि वितरण थालेको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिएको छ । नम्बर प्लेटमा हाल प्रयोगमा रहेको नेपाली भाषाको ठाउँमा अंग्रेजी भाषाको प्रयोग गरिनुलाई नागरिक समाज र सांसदहरूले समेत विरोध गर्दै आएका छन् । सबै नेपाली नागरिकले अंग्रेजी भाषा नबुझ्ने र त्यसको प्रयोग गर्दा नेपाली भाषा तथा राष्ट्रियतामाथि गम्भीर आघात पुग्ने भन्दै बुधवार संसद्को विकास समितिको बैठकमा बोल्ने धेरैजसो सांसदले आपत्ति जनाएका छन् । सांसद शिवजी यादवले नम्बर प्लेटमा रहेको बारकोड मेसिनले अध्ययन गर्ने भन्दै त्यसमा लेखिने भाषाले फरक नपर्ने बताए । सीमापार यातायातको कारण देखाएर अंग्रेजी भाषा प्रयोग गर्नु सरासर गलत भएको उनको भनाइ थियो । सम्झौताबाट पछि हट्न सकिँदैन : मन्त्री नेपाल क्रस बोर्डर ट्रान्सपोर्टसम्बन्धी सन्धिको पक्ष राष्ट्र भएको र ठेकेदार कम्पनीसँग पनि अंग्रेजी भाषाको प्रयोग गर्ने गरी सम्झौता भइसकेका कारण पछाडि फर्किन नसकिने भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायरको भनाइ छ । बुधबार संसद्को विकास समितिको बैठकमा बोल्नेक्रममा उनले नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न ठूलो परिवर्तन आवश्यक हुने भन्दै तत्काल सम्भव नहुने बताए । ‘सम्झौताअनुसारको नम्बर प्लेटको आकारले दुवै भाषा समेट्न कठिन छ,’ मन्त्री बलायरले भने, ‘एउटा किसिमको सम्झौता गरेर अर्को किसिमको काम गर्न लगाउनु उपयुक्त हुँदैन, त्यसैले तत्काल नेपाली भाषाको प्रयोग गर्न सम्भव छैन ।’ विभागमै कारखाना खोलेर नम्बर प्लेट तयार पार्ने काम सुरु भइसकेको छ । त्यसमा नेपाली भाषाको प्रयोग गर्न सफ्टवेयर र डाइ पनि परिवर्तन गर्नुपर्ने हुन्छ । यसरी भयो नीतिगत भ्रष्टाचार -१७ जेठ २०७३ मा बंगलादेशी कम्पनी डेकाटुर टाइगर कम्पनीसँग इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अंक र अक्षर प्रयोग गर्ने गरी सम्झौता। -तत्कालीन अवस्थामा कार्यान्वयनमा रहेको सवारी तथा यातायात व्यवस्था नियमावलीको अनुसूची ६ मा नम्बर प्लेटमा प्रयोग हुने अंक र अक्षर देवनागरी लिपिमा स्पष्ट रूपमा लेखिएको हुनुपर्ने व्यवस्था । -२५ साउन २०७४ मा प्रकाशित राजपत्रमा नियमावलीमा रहेको नम्बर प्लेटसम्बन्धी प्रावधान परिवर्तन गरी अंग्रेजी अक्षर प्रयोग गर्ने व्यवस्था । अब प्रदेशकै नाममा इम्बोस्ड नम्बर प्लेट यातायात व्यवस्था विभागले भर्खरै सुरु गरेको इम्बोस्ड नम्बर प्लेट अब प्रदेशकै नाममा जारी हुने भएको छ । यसअघिकै अञ्चलका नाममा नम्बरप्लेट वितरण सुरु गरिएको भए पनि भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयको सक्रियतामा सो कार्य रोकिएको हो । प्रदेशको नामाकरण भइनसकेको भए पनि हाल कायम प्रदेश नम्बरका आधारमा नम्बर प्लेट वितरण गरिने यातायातमन्त्री वीरबहादुर बलायरको भनाइ छ । प्रदेशको नामाकरण भइसकेपछि भने सोहीअनुसार नम्बर प्लेट तयार गरिनेछ । बंगलादेशको ठेकेदार कम्पनी डेकाटुर प्रदेशका आधारमा नम्बर प्लेट बनाउन तयार भइसकेको भन्दै मन्त्री बलायरले सम्झौता हुन भने बाँकी रहेको बताए । ‘मैले कम्पनीसँग प्रदेशका आधारमा नम्बर प्लेट तयार गर्नुपर्ने विषयमा निरन्तर जोड दिँदै आएको छु,’ उनले भने, ‘हाल अञ्चलका नामबाट नम्बरप्लेट वितरण गर्ने कार्यलाई भने मंगलबारदेखि नै बन्द गरिसकिएको छ ।’ के भन्छन् विज्ञ ? उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिवक्ता तथा न्याय परिषद्का पूर्वसदस्य कुनै निश्चित कम्पनीलाई फाइदा पुर्याउने गरी नियमावलीभन्दा बाहिर गएर इम्बोस्ड नम्बर प्लेटका लागि सम्झौता भएको देखिन्छ । यसले कानुनी तथा प्रशासनिक चुनौती पनि निम्त्याएको छ । सरकारकै निकायले पहिले सम्झौता गर्ने र पछि गएर सम्झौताअनुकूल हुने गरी कानुन परिवर्तन गर्नु सरासर नीतिगत भ्रष्टाचार ठहरिन्छ । रूपनारायण भट्टराई, महानिर्देशक, यातायात व्यवस्था विभाग कम्पनीसँग भएको सम्झौताअनुसार नियमावली संशोधन गरिएको हो । यसमा कानुन मन्त्रालयको पनि सहमति लिइएको थियो । पहिले सम्झौता गरी पछि कानुनी सुधार गर्दा नमिल्ने भन्ने हुँदैन । विकास समितिका ५ निर्देशन संसद्को विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई ५ वटा निर्देशन दिएको छ । १. सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट राख्ने सम्बन्धमा टेन्डर प्रक्रिया प्रारम्भ भएपश्चात् हालसम्म भएका कामलाई सार्वजनिक गर । विशेष गरी आवेदन गर्ने ४ वटा कम्पनीमध्ये सबैभन्दा न्यून रकम (२९ मिलियन डलर) प्रस्ताव गर्ने कम्पनीलाई छनोट नगरी बढी रकम प्रस्ताव गर्ने आवेदकमध्येको दोस्रो कम्पनी डेकाटोर टाइगर कोअपरेसन (बंगलादेश र अमेरिकन संयुक्त उपक्रम) (४०.५ मिलियन डलर) लाई छनोट गर्नु पछाडिको स्पष्ट कारणहरू, सार्वजनिक खरिद ऐन, नियमावलीसँग कम्पनी छनोटको तादात्म्यता खुलाई समितिलाई ७ दिनभित्र लिखित जानकारी उपलब्ध गराऊ । २. इम्बोस्ड नम्बर प्लेट राख्न प्रतिसवारीसाधन सवारी धनीसँग लिइने शुल्क अपारदर्शी, अस्पष्ट रहेको भन्ने जनगुनासो रहेको छ । सम्पूर्ण लागत रकम सेवाग्राहीबाटै उठाउने सरकारको लक्ष्यसमेत रहेको देखिएको छ । उक्त शुल्कलाई पुनर्विचार गर्न, प्रस्तावित शुल्कलाई व्यावहारिकताका आधारमा परिमार्जन गर । ३. इम्बोस्ड नम्बर प्लेट प्रयोगमा ल्याउन आवश्यक प्रविधि, उपकरण एवं सञ्चालनको पूर्वतयारीका लागि आवश्यक पर्ने डेटा सेन्टर, कन्ट्रोल रुम, स्याटेलाइट कनेक्सन, रिडेबल डिभाइस र टावरलगायतका कार्यले पूर्णता नपाएको देखिएको छ । ती कार्यहरूलाई तत्काल पूर्णता दिन र त्यसपछि मात्र सेवाप्रवाह गर्न, गुणस्तरमा सुनिश्चितता गर्न, स्मार्ट लाइसेन्स वितरणमा देखिएको जस्ता समस्या-अवरोध इम्बोस्ड नम्बर प्लेट वितरणमा आउन नदिनेतर्फ सचेत रहन र स्तरीय सेवा उपलब्ध गराऊ । ४. सवारीसाधनका लागि नम्बर प्लेट वितरण गर्ने कार्य अञ्चलगत आधारमा गरिँदै आएकोमा अब अनिवार्य रूपमा प्रदेशगत आधारमा गर्ने व्यवस्था मिलाउ । ५. इम्बोस्ड नम्बर प्लेटमा नेपाली अक्षर नरहने भन्ने जनगुनासो रहेको सन्दर्भमा नेपाली अक्षर राख्न किन नसकिने हो सोसम्बन्धी जानकारी ७ दिनभित्र समितिलाई उपलब्ध गराऊ । साथै, नम्बर प्लेटमा देवनागरी लिपि राख्ने सम्बन्धमा आवश्यक उपाय पहिल्याई गृहकार्य अघि बढाउ । -नयाँ पत्रिकाबाट
दरबारमार्गका केही पसलमा सिलबन्दी, ठगी गर्न नपाएको विरोधमा प्रदर्शनमा व्यवसायी
काठमाडौं, भदौ २१ । सरकारले बुधबार फेरि बजार अनुगमन गरी दरबारमार्गका केही पसलमा सिलबन्दी गरेको विरोधमा व्यवसायी पसल बन्द गरेर प्रदर्शनमा उत्रिएका छन । व्यवसायीहरुको विरोधका कारण दरवारमार्ग क्षेत्रको आवागमनमा केही समय समस्या भएको थियो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सम्बन्ध समितिले दरबारमार्गका पसलहरुमा अनुगमन गर्न शुरु गरेपछि व्यवसायीहरुले सटर बन्द गरेका थिए । सरकारी टोलीले अनुगमनका क्रममा १ हजार ५ सय रुपैयाँ मूल्यको घडीलाई ११ हजार र १ लाख २० हजार रुपैयाँ मूल्यको घडीलाई २ लाख ५० हजार रुपैयाँसम्म बेचेको भेटिएपछि वाच एण्ड सी, सुलक्स लेभिज र बोसेनीमा सिल गरेको हो । गएको सोमबार आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वको अनुगमन गरी दरवारमार्गका चार पसलमा सिलबन्दी गरिएको थियो ।
२६ सयको जुत्तालाई २६ हजारमा बेच्दा आपूर्ती मन्त्रीले लगाए ताला
काठमाडौं, भदौ १९ । २६ सयमा खरिद गरिएको नाइक ब्राण्डको जुत्ता २६ हजारमा बेचेको अनुगमका क्रममा पाइएपछि आपूर्ती मन्त्री शिबकुमार मण्डल नेतृत्वको टोलीले दरबार मार्गका चार ब्राण्डेड पसलमा सिलबन्दी गरेको छ । सोमबार आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त बजार अनुगमन गर्दा ९ सयदेखि २३ सय प्रतिशतसम्म नाफा खाएर बस्तु बिक्री गरेको पाइएपछि नाइक, बेन्टले, स्टोर वान, पुमा, पसलमा सिलबन्दी गरिएको मन्त्रीमण्डलले जानकारी दिए । त्यस्तै, एक सय रुपैयाँ खरिद मूल्य रहेको जुत्तालाई २ हजार ४ सय रुपैयाँसम्म नाफा खाएर बिक्री गरेको पाइएको छ । कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने व्यवस्था भए पनि व्यापारीहरूले आफूखुसी मूल्य कायम गरी उपभोक्ता ठगेका हुन् । ती पसलले आवश्यक बिलविजक प्रस्तुत गर्न नसकेपछि अनुगमन टोलीले शिल गरेको हो । आपूर्ति मन्त्री मण्डलले उपभोक्ता ठग्ने व्यापारीलाई कठोर कारवाही गर्ने बताए ।
बोक्सीखोलामा चिज उद्योग
मुस्ताङ, भदौ १९ । थासाङ गाउँपालिका–२ बोक्सीखोलामा गाई फार्म र चिज उद्योग स्थापना भएको छ । धौलागिरि गुरुसाम्फु कृषि सहकारी संस्थाले गाई फार्म र चिज उद्योग सञ्चालन गरेको हो । मुस्ताङमा आवश्यक दुग्धजन्य पदार्थको आपूर्ति गरी आयात घटाउने, रोजगारी सिर्जना र आयआर्जन वृद्धिका लागि गाई फार्मसँगै चिज उद्योग सञ्चालन गरिएको सहकारीका अध्यक्ष नरबहादुर हिराचनले बताए । “मुस्ताङमा आवश्यक दूध, घ्यू र छुर्पी आपूर्तिका लागि गाईफार्म सञ्चालन गरिएको हो” उहाँले भन्नुभयो “यहाँ गाई फार्म सञ्चालन गरेपछि पोखराबाट आयात हुने दूध घटेको छ ।” अध्यक्ष हिराचनका अनुसार हिमाली आयोजनाको सहयोगमा रु ५६ लाख २३ हजारको लागतमा फार्म स्थापना भएको हो । आयोजनाको रु ४२ लाख ९६ हजार र सहकारीको रु १३ लाख २६ हजार लगानीमा स्थापना भएको फार्मका हाल २० वटा होलीस्टेन, जर्सी र जर्सी क्रस जातका गाई छन् । दैनिक ७० देखि ११५ लिटर दूध उत्पादन हुने गरेको छ । २५ जना सदस्य रहेको सहकारीले मुस्ताङमै पहिलो पटक चिज उद्योग सञ्चालन गरेको हो । दैनिक सात किलोका दरले चिज उत्पादन हुने गरेको छ । चिज प्रतिकिलो रु एक हजारमा जोमसोम, मार्फा, कागबेनी, टुकुचे, कोवाङ, लेतेका होटलमा खपत हुन्छ । चिज उत्पादन गरेर बचेको दूध बिक्री हुने गरेको छ । दैनिक ६० लिटरभन्दा बढी दूध बिक्री हुन्छ । फार्ममा पाँच जनाले रोजगारी पाएका छन् । मासिक रु एक लाख ५० हजार बराबरको दूध र चिज बिक्री हुने गरेको संस्थाले जनाएको छ । संस्थाले चौरी गाईको दूधबाट चिज उत्पादन गर्ने योजना बनाएको छ । “चौरी खर्क रहने गाउँमै अस्थायी संरचना बनाएर त्यहीँबाट उद्योग सञ्चालन गर्ने तयारी गरेका छौँ,” हिराचनले भने, “चिज र दूध ढुवानीका लागि तीनवटा खच्चर खरिद गरिसकेका छौँ ।” रासस
मेलम्चीको पानी काठमाडौं आउन ०७५ साल कुर्नुपर्ने
काठमाडौं, भदौ १९ । उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न ०७५ साल नै कुर्नुपर्ने भएको छ । सुरुङ निर्माणमा ढिलाइ भएपछि पछिल्लो समय तोकिएको १५ असोजमा पनि मेलम्चीको पानी उपत्यकामा नआउने भएको हो । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ खन्ने काम सोचेभन्दा ढिलो भएकाले समस्या परेको हो । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले मेलम्चीको पानी काठमाडौं आइपुग्न ०७५ नै कुर्नुपर्ने बताए । ‘सुरुङ खन्ने कामले सोचेजस्तो गति पाउन सकेको छैन । यही गतिमा काम भए पुस महिनासम्म मात्रै सुरुङ खन्ने काम सकिन्छ । त्यसपछि तीन महिना सुरुङको मेन्टिनेन्समा लाग्छ । सम्पूर्ण काम चैत अन्तिम सातामा मात्रै सकिन्छ । खानेपानी काठमाडौं आइपुग्न ०७५ लाग्छ,’ देवकोटाले भने । यस कारण ०७५ साल लाग्छ आयोजनाका अनुसार अझै १.९२४ किमि सुरुङ खन्न बाँकी छ । खन्नुपर्ने २७.५८४ किमिमध्ये २५.६५९ किमि मात्र खनिसकिएको छ । अहिले दैनिक १३ देखि १४ मिटर सुरुङ खन्ने काम जारी छ । ‘सुरुङ खन्ने रफ्तार घटेको छ । मेसिन पनि पुरानो भयो । बीचमा नरम चट्टान भेटियो । पानी पनि रसाउन थाल्यो । सुरुङ खन्ने काम जोखिमपूर्ण भयो । र काम तीव्र गतिमा अघि बढ्न सकेन,’ कार्यकारी निर्देशक देवकोटाले भने । यही गतिमा काम भए बाँकी सुरुङ खन्न अझै एक सय ४८ दिन अर्थात् पुसको पहिलो सातासम्म लाग्छ । त्यसपछि सुरुङको चारैतर्फ ‘प्लास्टर’ गर्नुपर्छ । त्यसका लागि थप तीन महिना लाग्छ । र सुरुङको काम फागुनसम्ममा मात्रै सकिन्छ । पानीको मुहान सुरुङमार्गसम्म जडान गर्न १५ चैतसम्म लाग्नेछ । बाँकी काम सकेर पानी सुरुङमार्गमा प्रवेश गराउन चैत मसान्तसम्म लाग्छ भने पानी उपत्यकामा आउन ०७५ को वैशाख कुर्नुपर्नेछ । ढिलो हुनका ४ कारण १) १२ वैशाख ०७२ मा गएको भूकम्पले मेलम्ची खानेपानीको सुरुङ खन्ने काम प्रभावित बन्यो । भूकम्पपछिको करिब ३ महिना सुरुङ खन्ने सम्पूर्ण काम रोकियो । २) भूकम्पलगत्तै भारतले गरेको नाकाबन्दीका कारण सुरुङ खन्ने काम करिब ६ महिना ठप्प बन्न पुग्यो । नाकाबन्दीमा इन्धनको चरम अभाव भयो । सुरुङ खन्न प्रयोग हुने केमिकल तथा विस्फोटक पदार्थ नाकाबन्दीका कारण रोकिए । जसका कारण सुरुङ खन्ने काम अघि बढ्न सकेन । ३) इटालियन ठेकेदारले सन् २०१३ देखि सुरुङ खन्ने काम गर्दै आएको छ । सुरुङ खन्दा प्रयोग गरिएको मेसिन ठेकेदार कम्पनीले अहिलेसम्म परिवर्तन गरेको छैन । पुरानै मेसिनको भरमा सुरुङ खनिँदै छ । ४) भौगर्भिक समस्याका कारण पनि सुरुङ खन्ने काम ढिलाइ भएको छ । चट्टान भेटिएको ठाउँमा सुरुङ खन्न सजिलो भयो, तर पर्याप्त मात्रामा नरम चट्टान, कति ठाउँमा पानी रसाउने कारणले काममा ढिलाइ भयो ।
दसैंका लागि उपत्यकामा ६६ करोडको खसीबोका
काठमाडौं, भदौ १९ । दसैंका लागि उपत्यकामा करिब ६६ करोड रुपैयाँ बराबरका खसीबोका र च्यांग्रा भित्रिने भएका छन् । खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त मूल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याइएको छ । उक्त रकमबाट २५ सय खसीबोका र च्यांग्रा (एक हजार पाँच सय खसीबोका र एक हजार च्यांग्रा) खरिद गरिनेछ । व्यवसायीले खसीबोका र च्यांग्रा गरी करिब ४५ हजार हाराहारीमा ल्याउने तयारी गरेका छन् । मागको आधारमा संख्या थप बढ्न सक्ने संघका अध्यक्ष दीपक थापाले बताए । उनका अनुसार एउटा खसीबोकाको औसत मूल्य १४ हजार रुपैयाँ पर्छ । जसअनुसार ६३ करोड रुपैयाँको आयात गर्ने तयारी भएको उनले बताए । –कान्तिपुरबाट
महिन्द्रा मोटरसाइकल र स्टुकटर खरिदमा सुनका सिक्कादेखि थाइल्याण्ड भ्रमणसम्म
काठमाडौं, भदौ १८ । नेपालभर महिन्द्रा टु–ह्वीलर विक्री गर्दै आएको अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटो इन्क प्रालिले आफ्ना ग्राहकहरुलाई दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै “महिन्द्रा सुनैसुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा” योजना ल्याएको छ । ग्राहक सवारी खरिदसँगै प्राप्त गर्नेे कुपन स्क््रयाच गरी निश्चित उपहारको रुपमा एक तोलासम्म सुनको सिक्का पाउन सक्ने छन । योजना अन्तर्गत ग्राहकले महिन्द्रा बाइक तथा स्कुटरको खरिद गर्दा एउटा स्क््रयाच कुपन पाउने छन । कुपन स्क््रयाच गरी न्युनतम २.५ ग्राम देखि १ तोलासम्मको सुनको सिक्का पक्का पाइने छ भने हरेक १५ दिनमा एक जनाले रानीहार उपहार पाउने छन । त्यसै गरी बम्पर उपहारमा चार जनाको दुई परिवारलाई ४ दिन ५ रातको थाइल्याण्ड भ्रमणको अवसर पनि पाउने छन । महिन्द्रा टुह्वीलर उच्चतम प्रविधी युक्त बाइक तथा स्कुटरहरु हुन् । यी बाइक तथा स्कुटरहरुले कम इन्धन खपत गरी अधिकतम माइलेज दिने बताइएको छ । मुलुकभर सुलभ तरिकाबाट जेन्युन स्पेयरपार्ट उपलब्ध हुनु, विक्रीपछिको ग्राहकमुखी सेवा जस्ता विशेषताले गर्दा महिन्द्रा टुह्वीलरहरु नेपाली उपभोक्तामाझ लोकप्रिय रहेको बताइन्छ ।
अव्यवस्थित तार हटाउने अभियानमा मन्त्री बस्नेत
काठमाडौं, भदौ १८ । सडकका खम्बाहरुमा टाँगिएका अव्यवस्थित केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार काट्न थालेको छ । सुरुवाती स्वरुप सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेका छन् । सोही क्रममा मन्त्री बस्नेतले तारहरुलाई अब जमिनमुनि विच्छाउने तयारी भइरहेको र त्यसका लागि एशियन डेभलभमेन्ट बैंकले सहयोग गर्ने बताए । त्यस्तै उनले सडक फराकिलो बनाउनेबारे पनि छलफल भइरहेको बताएका छन् । यसअघि सञ्चार मन्त्रालयले सम्बन्धित निकायलाई बोलाएर तार पहिचान गर्न र व्यवस्थित गर्न भनेपनि व्यवस्थित भएको थिएन । वैधानिकताको दायराभित्र नआएसम्म तार काट्ने अभियानलाई देशैभरि सञ्चालन गर्ने मन्त्री बस्नेतको भनाइ छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले तार एकै ठाउँमा गन्जागोल हुँदा धेरै ठाउँमा असुरक्षा हुने, बाटोमा मोटरसाइकल तथा गाडी हिँड्दा बेरिएर दुर्घटना हुने भएकाले पनि केबल र टेलिफोनका तार हटाउनुपरेको बताए ।
ललितपुर मोबाइल एक्स्पो २०७४ सुरु
ललितपुर । ललितपुर लगनखेलमा रहेको ललितपुर मल दोस्रो तल्लामा अवस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको मोबाईल मेला शुक्रबारदेखि शुरु भएको छ । मोवाईल एक्सपोको अवसर पारेर यही भदौ १६ गते शुक्रबारदेखि २६ गतेसम्म तद्अनुसार सेप्टेम्बर ०१ तारिखदेखि सेप्टेम्बर ११ तारिखसम्म आयोजना हुने ललितपुर मोबाइल मेला २०७४ एक कार्यक्रमका बिच सांसद मदन बहादुर अमात्यले उद्घाटन गरेका छन् । उनले समाज आधुनिकिकरणतर्फ उन्मुख भएको भन्दै यस्ता सपिंग मलहरुले आर्थिक गतिविधि बढाउन सहयोग गर्ने स्पष्ट पारे । ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको भन्दै कम्प्लेक्सको वार्षिकोत्सवको अवसर पारेर मोबाइल मेला गर्न लागिएको जानकारी दिएका छन् । अध्यक्ष बस्नेतले ग्राहकहरुलाई सूपथ मूल्यमा मोबाइल खरिद गर्ने वातावरण बनाउन मेला आयोजना गर्न लागिएको बताएका छन् । उनले कम्प्लेक्समा ग्राहकहरुलाई गुणस्तरीय मोबाइल फोनहरु तथा एसेसरिज मात्र बिक्री गरिने दाबी गरे । कार्यक्रममा ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले आर्थिक गतिबिधि बढाउन यो मलले सहयोग गर्ने अपेक्षा गर्दै मल हरेक पुस्ताका ग्राहकहरुको लागि उपयुक्त रहेको दाबी गरेका छन् । उनले ललितपुर जिल्लामा नै पहिलो पटक व्यवस्थितरुमा मल संचालन गरिएको भन्दै ग्राहकहरुले सूपथ मूल्यमा अधिकतम सेवा सुविधा प्राप्त गर्ने बताए । आजदेखि शुरु भएको मोबाइल मेलाको पहिलो दिन करिब १० हजार व्यक्तिले अवलोकन गरेका छन् । अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको मोबाइल कम्प्लेक्सले ग्राहकहरुलाई मोबाइलसँग सम्बन्धित विभिन्न सेवा सुविधाहरु एकै स्थानबाट प्रदान गर्दै आएको छ । मोबाइल मेलामा न्यूनतम ९ सयदेखि १ लाख २५ हजार रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ । मेलाको अवधिभर कुनैपनि मोबाइल वा एसोसोरिज खरिदमा ५ देखि ७० प्रतिशतसम्मको नगद छुट ग्राहकले प्राप्त गर्नेछन । मोबाइल मेलामा विभिन्न कम्पनीहरुले बजारमा आएका नयाँ स्मार्टफोनहरु पनि सार्वजनिक गरिने छ । यसअघिको एक्स्पोमा विभिन्न कम्पनीहरुले स्मार्टफोन लन्च गरेको र यो पटक पनि नेपालमा भित्रिएका विभिन्न नयाँ स्मार्टफोनहरु सार्वजनिक हुनेछन् । ललितपुर मलको दोस्रो तल्लामा कम्प्लेक्समा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आईसकेएका छन् । त्यस्तै कम्प्लेक्समा सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । मोबाइल मेलामा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, लाभा, कलर्स, ओप्पो, सोनी, वन प्लस ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।
गोलभेँडा खेतीबाट मनग्य आम्दानी
पाल्पा, भदौ १७ । रैनादेवी गाउँपालिका–५ मुझुङ्गका सन्तोष बम्रेलले भाडाको जग्गामा गरेको गोलभेडा खेतीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएको छ । “गोलभेँडा खेती गर्न भाडामा लिएको झण्डै १५ रोपनी जग्गाका लागि वार्षिक रु पचास हजार तिर्नुपर्छ,” बम्रेलले भन्नुभयो,– “गोलभँेडा खेतीमा श्रम र पसिना पोखे विदेशमा भन्दा बढी आम्दानी यहाँ नै लिन सकिन्छ ।” गोलभेँडा खेतीबाट अहिले रु १० लाखसम्म आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । श्रम र पसिना पोखे स्वदेशका भिरपाखमा पनि पैसा कमाउन सकिन्छ भन्ने उदाहरण म आफैं बनेको छु, बम्रेल भन्नुभयो – “राम्रो आम्दानी हुन थालेपछि अहिले यहाँका युवाहरु जग्गा भाडामा लिएर भए पनि गोलभेँडा खेती शुरु गरेका छन् ।” अर्का युवा तिलक रानाले पनि भाडाकै जग्गामा गोलभेँडा खेती गरेर वार्षिक रु सातदेखि आठ लाखसम्म आम्दानी लिन थालेका छन् । राम्रो आम्दानी हुन थालेपछि उनी पनि गोलभेँडा खेतीमा हौसिएका छन् । गाउँमा गोलभेँडा खेतीबाट रु ५० हजारदेखि १० लाखसम्म आम्दानी लिनेको संख्या वर्षेनी बढ्दै गएका छन् । गोलभँेडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि रोजगारीका लागि विदेशिने युवाको संख्यामा पनि यहाँ कमि हुँदै गएको छ । व्यावसायिक गोलभेँडा खेतीबाट मनग्य आम्दानी हुन थालेपछि सयौँ घरपरिवारको जीवनस्तरमा समेत सुधार आएका छन् । गोलभँेडा खेतीबाट जीवनस्तरमा सुधार आएपछि यहाँका परिवारमा खुशी छाएका छन् । पाल्पाली गोलभँेडाको माग बजारमा एकदमै राम्रो रहेको र यस वर्ष मूल्य पनि राम्रो भएकाले किसान आफ्नो बारीको गोलभेँडाको बोटलाई निकै स्याहार गर्न व्यस्त देखिन्छन् । गोलभेँडाको बजार मूल्य अहिले प्रतिकिलो रु १०० को हाराहारी छ । गत वर्र्षभन्दा यस वर्ष प्रतिकिलो रु ७० देखि ८० बढी पाउने भएपछि किसान खुशी भएको मुझुङ्ग कृषि सहकारी संस्थाका सदस्य चन्द्रवीर कार्कीले बताउनुभयो । बजारको समस्या झेल्न नपर्ने भएपछि किसानलाई गोलभेँडा खेती गर्न झनै सजिलो भएको छ । सहकारीले बजार व्यवस्थापन, मल, बीउ, प्राविधिक सहयोग र ऋणसमेत व्यवस्था गरेपछि गोलभँेडा खेतीमा स्थानीय आकर्षित बनेका हुन् । यहाँ उत्पादित गोलभेँडा सदरमुकाम तानसेन र बुटवलमा मात्र बिक्री हुँदै आएकोमा यतिखेर पोखरासम्म बिक्री हुँदै आएका छन् । यहाँ दैनिक ५० देखि ६० क्विन्टल गोलभँेडा उत्पादन हुँदै आएको बजार व्यवस्थापनका संयोजक अम्बरबहादुर कार्कीले बताउनुभयो ।