दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकियो, २० मतपत्र गायब
डोटी, असार १९ । दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ ।
सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो । ९ नं वडाको मतगणना रोकिएको छ । ९ नं वडाका ३ वटा बुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले बताए ।
सो वडामा जम्मा एक हजार ८८ मत खसेका थिए । त्यसमध्ये २० वटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडा नं ८ सम्मको मतगणना भइसक्दा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार विजय खड्का (बाजी) ले तीन हजार ८५७ मत र उपप्रमुखमा प्रोसिस महराले तीन हजार ७८३ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेकी प्रमुख उम्मेदवार मन्जु मलासीले तीन हजार ८७२ मत र उपप्रमुखमा शिवराज खड्काले चार हजार ४६ मत प्राप्त गरेका छन् ।
शान्तिपूर्ण रुपमा दोश्रो चरणको निर्वाचन सम्पन्न, के के भयो दिनभरी ?
काठमाडौं, असार १४ । स्थानीय तहको दोश्रो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मधेस केन्द्रीत राष्ट्रिय जनता पार्टीले बहिस्कार आव्हान गरेपनि मतदानमा कुनै अप्रिय घटना भने हुन पाएन । बिहान ७ बजेदेखि शुरु भएको निर्वाचनमा मतदाताहरु उत्साहित भएर मतदान गरेका छन् । देशका कतिपय क्षेत्रमा वर्षाले समस्या उत्पन्न गरेपनि मतदाताहरु छाता ओढेर लाइनमा बसेको देखिन्थे । मतदानका क्रममा कञ्चनपुरको भृकुटी मतदान केन्द्र र दाङको तुलसीपुरमा सुतली बम विष्फोट गराईपनि त्यसले मतदानमा भने असर गरेन । यसबाहेक केही अन्य स्थानमा भेटिएका बमहरु नेपाली सेनाले डिस्पोजल गरेको थियो । बझाङ र अछाममा अशक्त नागरिकलाई मतदान गर्ने विषयमा नेपाली कांग्रेस र एमालेबीच झडप भयो । यसैगरी रोल्पा नगरपालिकाको वडा नं. १० भनभने मतदान केन्द्रमा विप्लव माओवादीका समर्थकहरुले मतपत्रमा एसिड हालेर मतपेटिकामा खसालेपछि १०–१५ मत जलेका थिए । सर्वदलीय बैठकले जलेका मतहरु बदर गरी बाँकी मत गणना गर्ने र मतदान सुचारु गर्ने निर्णय गरेका थिए । आजको निर्वाचनमा लाइनमा लागेकै बेला दमक र पाल्पामा दुईजना बृद्धको मृत्यु भएको छ । छिटपुट सामान्य घटनाबाहेक निर्वाचनमा हिंसा हुन पाएन । कपिलबस्तु, रुपन्देही, झापा, सुनसरीलगायतका संवेदनशील मानिएका स्थानमा समेत निर्वाचनमा उल्लेख्य सहभागिता रह्यो । प्रधानमन्त्री शेरबहादुर देउबाले असीग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका थिए । डडेल्धुराबाट फर्किंदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा रहेको गाडी सहजपुरमा दुर्घटना भएको थियो । निर्वाचन आयोगले अपरान्ह चार बजेसम्म ६२ प्रतिशत मत खसेको आधिकारिक जानकारी दिएको छ ।
धनकुटामा ७० प्रतिशत मत खस्यो
धनकुटा, असार १४ । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा आज अपरान्ह ४ बजेसम्ममा धनकुटामा ७० प्रतिशत मत खसेको छ । तीन नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तहमा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले ७५ प्रतिशत मत खस्ने अनुमान गरेको छ । कुल मतदाता संख्या मध्ये ८० प्रतिशत मतदाता परिचय पत्र वितरण भएको थियो । धनकुटाका सात स्थानीय तहमा १ सय १७ मतदानस्थल र १ सय ४३ मतदान केन्द्र रहेका छन् । बिहान पानी परेपनि दिउँसो भने टनटलापुर घाम लागेको छ।
रोल्पामा ६५ प्रतिशत मतदान सम्पन्न, सर्वसाधारण उत्साहित
रोल्पा, असार १४ । रोल्पामा अहिलेसम्म ६५ प्रतिशत मतदान भइसकेको छ । आज विहान ७ बजेदेखि सुरु भएको स्थनीय दोस्रो चरणको निर्वाचनका क्रममा रोल्पाको एउटा केन्द्रबाहेक अन्यमा स्थिति निकै हर्षाेल्लासपूर्ण रहेको मुख्य निर्वाचन अधिकृतले बताएका छन् । रोल्पा नगरपालिका – १० मा रहेको भनभने मतदान केन्द्रमा विप्लव समूहले मतपत्रमै एसिड छर्केर आगो लगाए पनि । १५ जटा मतपत्र उक्त एसिडबाट जलेको भएपनि अन्यहरु भने सकुशलै रहेको निर्वाचन अधिकृतले बताएका छन् । विहान १० बजेदेखि रोकिएको उक्त क्षेत्रको मतदान प्रक्रिया अहिले ३ बजेबाट पुनः सुचारु भएको छ । थवाङ जहाँ निर्वाचनका लागि निकै संवेदनशील मानिएको स्थान हो । तर त्यस क्षेत्रमा पनि स्थिति सामान्य बनेको छ । जनताहरु मतदान गर्न गइरहेका छन् । समग्रमा जिल्लामा मतदान प्रक्रिया निकै उल्लासमय रहेको बताइएको छ ।
कञ्चनपुरमा ६५ प्रतिशत मतदान
कञ्चनपुर, असार १४ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज भइरहेको मतदानमा कञ्चनपुरमा ६५ प्र्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। विहान ७ बजेदेखि सुरु भएको प्रदेश नम्वर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचन भइरहेका छन् । स्थानीय निर्वाचनका लागि आम जनसमुदायहरु निकै उत्साहित देखिएका छन् । आम जनताले घाम, पानी केहीको पनि प्रवाह नगरी आ–आफ्नो केन्द्रबाट मतदान गरिरहेका छन् । हालसम्म ५० प्रतिशतभन्दा बढी वा ५० प्रतिशतको हाराहारीमा मतदान भइसकेको छ ।
रोल्पामा स्थगित मतदान पुनः सुचारु
रोल्पा, असार १४ । अपरिचित व्यक्तिले मतदान गर्न जाने बहानामा मतपेटिकामा तेजाब हालेपछि स्थगित बनेको रोल्पा नगरपालिका– १० स्थित जनता आधारभूत विद्यालय भवनमा मतदान केन्द्रको मतदान प्रक्रिया पुनः सञ्चालन भएको छ । ् सर्वदलीय बैठकको निर्णयानुसार स्थगित मतदान पुनः सञ्चालन गर्ने सहमति भएपछि अहिले त्यहाँ मतदान सुरु भएको मतदान अधिकृत भरतमणि पाखे्रेलले जानकारी दिएका छन् । एक सय ५० मत खसिसकेपछि उक्त घटना घटेको थियो । ती अपरिचित व्यक्तिले लुकाएर लगेको तेजाब मतपेटिकामा खन्याएपछि मतपेटिकामा रहेका १५ मत जलेको बताइएको छ । सर्वदलीय बैठकपछि मतदान नगरेकाहरुलाई मात्र मतदान प्रक्रियामा समावेश गराइएको छ । जिल्लामा हालसम्म करिब ५५ प्रतिशत मत खसिसकेको बताइएको छ ।
५३ प्रतिशत भोट खस्यो
काठमाडौं, असार १४ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज भइरहेको मतदानमा आज अपरान्ह साढे एक बजेसम्मकोमा ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। विहान ७ बजेदेखि सुरु भएको प्रदेश नम्वर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा निर्वाचन भइरहेका छन् । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सवैभन्दा बढी उदयपुर र डँडेलधुलामा ६५ प्रतिशत मतदान भएको छ । यसैगरी, सोलुखुम्बु, भोजपुर, खोटाङ लगायतका १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी प्राप्त भएको छ। अन्य जिल्लाहरुमा पनि हालसम्म ५० प्रतिशतभन्दा बढी वा ५० प्रतिशतको हाराहारीमा मतदान भइसकेकोसमेत जानकारी प्राप्त भएको छ।
प्रधानमन्त्रीको स्कर्टिङका लागि गएकाे गाडी दुर्घटना, १२ घाइते, ८ गम्भिर
असार १४ । प्रधानमन्त्री शेरबहादुर देउवाको स्कर्टिङका लागि हिँडेको एक मिनी ट्रक दुर्घटना भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई लिन जाने क्रममा धनगढीबाट डोटीको बोर्डरसम्मका लागि हिँडेको से१ख १५०३ को उक्त भाडाको मिनी ट्रक कैलालीको सहजपुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर रहेको सेती अञ्चल अस्पतालले जनाएको छ । चिप्लाे बाटाेमा गाडी अनियन्त्रित भइ दुर्घटना भएकाे जनाइएकाे छ ।
रोल्पामा ४५ प्रतिशत मत खस्यो, सुरक्षा ब्यवस्था अत्यन्तै कडा
रोल्पा , असार १४ । रोल्पामा ४५ प्रतिशत मत खसेको छ । बिहान रोल्पा नगरपालिका– १० मा रहेको भनभने मतदान केन्द्रमा मतदाताले नै मतपत्रमा एसिड खनाईदिएपछि आगो लागेको थियो । भनभने घटनाले झस्काएको भएपनि अन्यत्र शान्तिपुर्ण रुपमा मतदान भैरहेको प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताए । अहिले जिलमा सुरक्षा ब्यवस्था अत्यन्तै कडा पारिएको उनले बताए । १५० मत खसिकेको अवस्थामा मतपेटिकामै आगो लागेपछि भनभनेमा भने मतदान स्थगीत भएको छ ।
मत हाल्नै गएनन् नेचासल्यानका स्थानीय
काठमाडौं । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नं ६ मा कुनैपनि मतदाताले मतदान गरेका छैनन् । सिमांकनको विषयमा कुरा नमिलेपछि झण्डै सात महिनादेखि आन्दोलनमा रहेको सो वडामा सबै दलले सहमति गरेर नै निर्वाचनमा सहभागी नहुने निर्णय गरेका थिए । विहान साढे ११ बजेसम्म एक जना पनि मतदान गर्नको लागि मतदान केन्द्रमा नआएको नेचा सल्यान गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । कूल ५ वटा मतदान केन्द्र र २४ सय भन्दा बढी मतदाता रहेको सो गाउँपालिकाको वडा नं ६ मा कसैले पनि उम्मेदवारी दिएका छैनन् । यद्यपि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने उम्मेदवारी परेको छ ।
दाङमा ४२ प्रतिशत मतदान सम्पन्न, बम बिस्फोटको हल्ला निराधार
दाङ, असार १४ । दाङ तुलसीपुरमा सुतली बम बिस्फोटको हल्ला निराधार रहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले बताएका छन् । एभरेष्टदैनिकसंग कुरा गर्दै उनले ४२ प्रतिशत मतदान सकिएको समेत जानकारी दिए ।
अशक्त बृद्धाको मतपत्र खोसेर एमाले प्रतिनिधिले भोट हालेपछि तनाव
अछाम, असार १४ । बझाङको जस्तै घटना अछाममा पनि घटेको छ । अछामको मेल्लेख गाउँपालिका ७ स्थित दुर्गादेवी मावि नन्देगडा मतदान केन्द्रमा एमालेका प्रतिनिधिले अशक्त बृद्धाको मतपत्र खोसेर आफैले मतदान गरेपछि विवाद भएको छ । एमालेका एजेन्ट रामबहादुर बुढाले अशक्त महिलाको मत खोसेर मत खसाल्दा विवाद सिर्जना भएपछि केही समय उक्त केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध भएको हो । एजेन्टले मतदान गरेको १५ मिनेट तनाव भएपनि केही बेरमै असक्तको मत परिवारका सदस्यले मात्र गर्ने सहमति भएपछि पुनः मतदान सुरु भएको छ । यसअघि बझाङमा यही विषयमा एमाले र कांग्रेसबीच झडप हुँदा एकजना उम्मेदवार घाइते भएका थिए ।
मोरङ्मा ४० प्रतिशत मत खस्यो, मौसम सफा, शान्ति सुरक्षा चुस्त
मोरङ्, असार १४ । मोरङ्मा ४० प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीका अनुसार यसपटक ८० प्रतिशत मत खस्ने अनुमान गरिएको छ । शान्ति सुरक्षा चुस्त रहेको र मौसम समेत सफा भएकाले मतदाताहरुले एक नम्बर प्रदेशमै उत्साहपुर्ण रुपमा मतदान गरिरहेका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
रोल्पा नगरपालिका–१० मा मतपेटिकामैं आगलागी
रोल्पा, असार १४ । बम विष्फोटले मतदानमा कुनै प्रभाव नपरेपछि निर्वाचन बहिस्कार गर्ने समूहले मतपेटिका नै जलाएका छन् । रोल्पा जिल्लाको रोल्पा नगरपालिका– १० मा रहेको भनभने मतदान केन्द्रमा मतपत्रबाटै आगो उठेको खबर छ। विप्लव समूहका कार्यकर्ताले भोट हाल्ने बहानामा मत पेटिकाभित्र ज्वलनशील पदार्थ पठाएको अनुमान सुरक्षाकर्मीले गरेका छन् । थप विवरण आउन बाँकी छ। File Photo
कैलालीमा हावाहुरीले मतदान प्रभावित, २५ प्रतिशत मत खस्यो
धनगढी, असार १४ । हावाहुरीसँगै वर्षा शुरु भएपछि कैलाली जिल्लाको उत्तरी क्षेत्रका मतदान केन्द्र प्रभावित भएका छन् । बर्दगोरीया गाँउपालिकालगायतका क्षेत्रमा हावाहुरीका कारण मतदान गर्न आएका मतदाता अलपत्र परेका हुन । सहायक जिल्ला प्रमुख अधिकारी मोहनराज जोशीका अनुसार, हावाहुरी र वर्षाले असर परेपनि मतदाता फर्केर भने गएका छैनन् । जोशीका अनुसार, अहिलेसम्म २५ देखि ३० प्रतिशत मत खसेको छ । यही अवस्था रहे साँझ पाँच बजेसम्म सत्तरीदेखि असी प्रतिशत मत खस्ने आँकलन रहेको उनले बताए । मतदानको अघिल्लो दिन आफैले बोकेको बम विष्फोट परी विप्लव कार्यकर्ताको मृत्यु भएको थियो । यसैगरी फुलबारीमा एमालेका उम्मेदवार पैसा बाँडदै गरेको आरोप कांग्रेस र माओवादीले लगाएपछि तनावको अवस्था सिर्जना भएको थियो । सहायक जिल्ला प्रमुख अधिकारी जोशीका अनुसार, निर्वाचनको दिन भने अहिलेसम्म कुनै अप्रिय घटना घटेको छैन । सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको उनले बताए ।
रुपन्देहीमा १० बजेसम्म ३० प्रतिशत मतदान
भैरहवा, स्थानीय चरणको दोश्रो चुनाव अन्तर्गत रुपन्देहीमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । जिल्ला प्रमुख अधिकारी विनोद प्रकाश सिंहले दिएको जानकारी अनुसार, बिहान ठूलो वर्षा भएपछि बुटवल लगायतका केही मतदान केन्द्रमा मतदानमा असर परेपनि मतदाताहरु उत्साहपूर्णरुपमा मतदानमा सहभागि भएका छन् । सिंहका अनुसार, बिहान १० बजेसम्म करिब ३० प्रतिशत मतदान सम्पन्न भएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिने रुपन्देही जिल्लामा सुरक्षाको पूर्ण व्यवस्था मिलाइएको र कुनै अप्रिय घटना नघटेको उनले बताए ।

