बझाङमा कांग्रेस–एमालेबीच झडप, उम्मेदवार घाइते
बझाङ, असार १४ । अशक्त मतदातालाई भोट हाल्न दिने विषयमा कांग्रेस र एमालेबीच झडप भएको छ ।
बझाङको जयपृथ्वीबहादुर नगरपालिकाको वडा नं. ३ पुणेतमा भएको झडपमा एकजना उम्मेदवार घाइते भएका छन् ।
जिल्ला प्रमुख अधिकारी केशव बहादुर थापाका अनुसार, मतदान केन्द्र बाहिर अशक्त मतदातालाई मतदान गर्न दिने या नदिने विषयमा दुबै दलका समर्थकबीच हानाहान भएको हो ।
अहिले स्थिति नियन्त्रणमा लिइएको र थप सुरक्षाकर्मी समेत पठाइएको थापाले बताए ।
रत्ननगरमा एमाले विजयी
चितवन, जेठ ७ । चितवनको रत्ननगर नगरपालिकामा प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । रत्ननगर नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरमा नारायण वन र उपमेयरमा विमला दुवाडी निर्वाचित हुनुभएको छ । उहाँले १४ हजार ६७७ र निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुपनराज घिमिरेले १३ हजार २२७ मत ल्याउनुभएको छ । उपप्रमुखमा एमालेकी विमला दुवाडी १४ हजार ४८१ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी नीता ढकालको १२ हजार ७०३ मत आएको निर्वाचन अधिकृत गीता गुरुङले जानकारी दिनुभयो । रत्ननगरका वडाध्यक्षमा एमालेका तर्फबाट १० र काँग्रेसका तर्फबाट ६ जना निर्वाचित भएका छन् । काँग्रेसबाट विजयी हुनेमा वडा नं १ मा शङ्कर लामा, २ मा तिलकराज पौडेल, ६ मा बलराम दहाल, ७ मा राजन भट्ट, ११ मा शशीभक्त न्यौपाने र १२ मा वीरबहादुर पाख्रिन हुनुहुन्छ । एमालेतर्फ वडा नं ३ मा गोविन्द भट्टराई, ४ मा रवीन्द्र चौधरी, ५ मा कृष्ण महतो, ८ मा विनोद बस्नेत र ९ मा रोजन आचार्य विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेबाट अन्य विजयी हुनेमा वडा नं १० मा केशव आचार्य, १३ मा चित्रबहादुर भण्डारी, १४ मा हरिकुमार श्रेष्ठ, १५ मा होमनाथ लामिछाने र १६ मा हेमराज थापा हुनुहुन्छ । यसअघि चितवनका राप्ती र कालिका नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा एमालेले जितेको छ भने माडीका प्रमुखमा नेकपा(माओवादी केन्द्र) र उपप्रमुखमा एमाले तथा इच्छाकामना गाउँपालिका अध्यक्ष–उपाध्यक्षमा काँग्रेस विजयी भइसकेका छन् । अहिले भरतपुर महानगरपालिका र खैरहनी नगरपालिका मतगणना भइरहेको छ ।
उत्सवमय चुनाव हुने छः प्रम
धनुषा, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको चुनाव समयमै हुनेमा सबैलाई ढुक्क रहन आग्रह गर्नुभएको छ । जनकपुरमा नेकपा(माओवादी केन्द्र), प्रदेश नं २ को पोलिटब्युरो बैठकलाई सम्बोधन गर्नुअघि पत्रकारसँग कुरा गर्दै उहाँले मधेसमा चुनाव उत्सवमय हुने बताउनुभयो । उहाँले मधेसी जनता निर्वाचनमा सहभागी हुन आतुर छन् भन्दै पहाडमा भन्दा मधेसमा बढी मत खस्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले निर्वाचनबाट मधेसको केही माग सम्बोधन हुने र केही माग संविधान संशोधनको माध्यमले पूरा हुने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री आजै राजधानी फर्कने कार्यक्रम छ ।
स्थानीय तहको निर्वाचन-२०७४ को मतपरिमाण
काठमाडौँ, जेठ ७ । स्थानीय तहको निर्वाचन-२०७४ को मतपरिमाण सार्वजनिक गर्ने क्रम जारी नै छ ।
मतगणना पुनः सुरु गर्नेबारे छलफल सुरु
भक्तपुर, जेठ ७ । चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिएपछि पुन: मतगणना सुरु गर्ने विषयमा सहमति गर्नाका लागि सर्वपक्षीय बैठक सुरु भएको छ । शनिबार बिहान चाँगुनारायण– ३ र ४ को मतगणना सकिएपछि मतपरिणाम सार्वजनिक गर्ने बेलामा भएको विवादका कारण मतगणना रोकिएको थियो । अर्को निर्णय नभएसम्मका लागि मतगणना स्थगन गर्ने गरी मतगणनास्थलमा सिलबन्दी गरिएको छ । चाँगुनारायण– ३ को अन्तिम मत परिणाम सार्वजनिक गरिएको केही बेरमा वडा नं ४ को मतगणना सम्पन्न गरी मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा नेकपा(एमाले) बाहेकका अन्य दलले कर्मचारीले मतगणना पारदर्शी नगरेको जनाउँदै विरोध गरेपछि मतगणना रोकिएको छ । अपराह्न पटक पटक मतगणना पुनःसञ्चालन गर्नेबारेमा दलबीच भएको छलफल टुङ्गोमा नपुगेपछि साँझ मतगणनास्थलमा सिलबन्दी गरी मतपत्र सुरक्षित राखिएको छ । शनिबार साँझ नै प्रमुखका उम्मेदवार नेपाली काँग्रेसका राजाराम खड्का, नेमकिपाका न्हुच्छेभक्त फोजू, राप्रपाका रवीन्द्रप्रताप शाह, नेकपा (माओवादी केन्द्र) का होमनाथ लामिछाने र नयाँ शक्ति पार्टीका कान्छा तामाङले संयुक्त विज्ञप्ति जारी गर्दै चाँगुनारायण– १, २, ३ र ४ को पुन ः मतगणना गर्नुपर्ने माग गरेका छन् । विज्ञप्तिमा मतगणनामा सहभागी कर्मचारीले काँग्रेसका प्रमुखका उम्मेदवारले प्राप्त गरेको १८४ मत एमालेका प्रमुखको उम्मेदवारको नाममा हालेको, नेमकिपाका प्रमुखले प्राप्त गरेको ११५ मतलाई बदर मतमा गणना गरेको, निर्वाचन निर्देशिकाले तोकेको अनुसूची तथा फारामको प्रयोग नगरेकाले परिणाम प्राप्त भएका मतमा समेत विश्वास नभएकाले पुन ः मतगणना गर्नुपर्ने उल्लेख छ । मतपेटिका र मतपत्र रहेको कक्षमा गरिएको सिलबन्दी सहमतिबिना नतोड्न ती दलले सचेत गराएका छन् । मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले भने मतगणना रोकिएकाले छलफल र सहमतिबाटै समस्याको समाधान निकालेर पुनः मतगणना सुरु गर्नका लागि सर्वपक्षीय बैठक आह्वान गरिएको बताउनुभयो ।
धुलिखेल नगर प्रमुखमा एमाले विजयी
काभ्रे, जेठ ७ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले) का अशोक ब्याञ्जु (श्रेष्ठ) सात हजार ९८१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशप्रसाद हुमागाईंले पाँच हजार ४०८ मत ल्याउनुभयो । उपप्रमुखमा एमाले कै विमलाकुमारी चौलागाईं छ हजार ८२३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निर्मलाकुमारी चौलागाईंले चार हजार ९४० मत ल्याउनुभयो । उक्त नपाको– ११ र १२ मा एमालेको पूरै समूह विजयी भएको छ । वडा नं ११ मा एमालेबाट विष्णु धितालले ९४१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोदप्रसाद तिवारीले ५०५ मत ल्याउनुभयो । त्यस्तै वडा नं १२ हर्कबहादुर तामाङले ६५१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्रबहादुर लामाले ६१६ मत ल्याउनुभयो ।
इन्द्रावती गाउँपालिकाका आठवटा वडाको मतपरिणाम घोषणा
मेलम्ची, ७ जेठ । सिन्धुपाल्चोक जिल्लाको इन्द्रवती गाउँपालिकाको सम्पन्न मतगणनाअनुसार वडा नं १ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार श्री लामा ३३१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तिललाल तामाङले २९१ मत प्राप्त गरेका छन् । वडा नं २ मा नेकपा (माओवादी केन्द्र)का वीरबहादुर तामाङ ३५६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण गिरीले ३१६ मत प्राप्त गरे । वडा नं ३ मा काँग्रेसका देवप्रसाद बानियाँ ३८५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केदारबहादुर थापाले ३२१ मत प्राप्त गरे । वडा नं ४ मा काँग्रेसका जगतमान ताल्चाभडेल ६०३ मत प्राप्त गरी विजयी भए भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमे लामाले ५०२ मत पाए । वडा नं ५ मा काँग्रेसका दुर्गाबहादुर तामाङ ५४७ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मण तिमिल्सिनाले ५३९ मत प्राप्त गरे । वडा नं ६ मा एमालेका इन्द्रबहादुर तामाङ ५३८ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अनुप न्यौपानेले ३९१ मत प्राप्त गरे । वडा नं ७ मा माओवादी केन्द्रका वीरबहादुर तामाङ ४७४ मत प्राप्त गरी विजयी भए भने एमालेका रामजी थापाले ४२९ मत प्राप्त गरे । वडा नं ८ मा काँग्रेसका धनबहादुर श्रेष्ठ ३६४ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका केदारनाथ आचार्यले ३२५ मत प्राप्त गरे । त्यसैगरी अहिलेसम्मको मत गणनाअनुसार अध्यक्षमा काँग्रेसका वंशलाल तामाङले तीन हजार ५९४, एमालेका झम्क नेपालले तीन हजार २०६, माओवादी केन्द्रका चिरञ्जीवी आचार्यले दुई हजार ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दइन्द्र ठकुरीले ६४० मत मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षमा काँग्रेसका मिरा अधिकारी लामाले तीन हजार ३२७, एमालेका सरस्वती अधिकारीले तीन हजार १६७, माओवादी केन्द्रका बिसमई तामाङले दुई हजार १२७ र राप्रपाका शर्मिला दनुवारले ७५५ मत प्राप्त गरे ।
भरतपुर वडा २९ को मतगणना जारी, यस्तो छ परिणाम
काठमाडौं, जेठ ७। देवी ज्ञवाली १७८७६ मत अहित अग्रस्थानमा छन् । रेणु दाहाल १६९४७को र बद्री तिमिल्सिना १४३४ मत रहेको छ। उपमेयरमा दिव्या आचार्यको १५६०८ मत रहेको छ भने पार्वती शाहको १९५७० छ । रिना गुरुङ १५५७ को मत छ । वडा नम्बर २९ को मतगणना जारी छ । वडा अध्यक्ष ६०६ मत गणना गर्दा २६३ एमालेको पक्षमा छ भने २९१ काङ्ग्रेसको र ७ माओवादी केन्द्रको र।हेको छ।
मतदाता शिक्षाका लागि स्वयंसेवक घरदैलोमा
कञ्चनपुर, जेठ ७ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पुनः कञ्चनपुरमा मतदाता शिक्षाका लागि स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएका छन् । जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका अनुसार तालिम प्राप्त गरेका २८७ जना स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्तालाई मतदाता शिक्षा सामग्रीसहित मतदाताको घरदैलोमा पठाइएको छ । “सात नगरपालिका र दुई गाउँपालिकाका ९२ वटा वडाका मतदातालाई मतदाता शिक्षा प्रदान गर्न स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्तालाई घरदैलोमा पठाएका छौँ” – जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका प्रमुख केशवसिंह भण्डारीले भने । मतदाता शिक्षाका लागि परिचालितहरुलाई निर्वाचनबारे जानकारी दिनका लागि हातेपुस्तिका, स्रोतपुस्तिका, पर्चा पम्प्लेट र नमुना मतपत्रसहित सम्बन्धित गाउँपालिका र नगरपालिकामा खटाइएको उहाँले बताए । सम्बन्धित मतदान केन्द्र, मतदानस्थल र घरदैलोमा पुगेर परिचालितहरुले मतदाता शिक्षा प्रदान गरिरहेका छन् । वडा वडामा राखिएका १३२ मतदानस्थलमा मतदाता शिक्षाका लागि जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकामा रहेका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र पूर्व प्राथमिक विद्यालयका शिक्षकलाई स्वयंसेवक र मतदान शिक्षा कार्यकर्ताका रुपमा निर्वाचन कार्यालयले तीनदिने तालिम प्रदान गरी सामग्रीसहित खटाएको हो । मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवकले मतदातालाई मतपत्रमा चिह्न लगाउने, मतपत्र पट्याउने, मतपेटिकामा राख्ने, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम र तरिकाबारे मतदातालाई जानकारी दिने छन् । बदर मतको प्रतिशतमा कमी ल्याउनका लागि परिचालित स्वयंसेवकलाई मतदातालाई सचेत गराउनमा बढी जोड दिइएको अधिकृत भण्डारीको भनाइ रहेको छ । यसैगरी, निर्वाचनका लागि निर्वाचन कार्यालयले यहाँ दुई हजार ५०० बढी कर्मचारीलाई मतदान केन्द्र र मतदानस्थलमा खटाउने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको र निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागिसमेत कार्य अगाडि बढाइएको अधिकृत भण्डारीले बताए ।
दोस्रो चरणको निर्वाचनमा नयाँ सुरक्षा रणनीति
काठमाडौं,जेठ ७। निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचनका लागि गठन गरिएको उच्चस्तरीय सुरक्षा समितिसँग छलफल गरेको छ । पहिलो निर्वाचनमा कतिपय अवाञ्छित गतिविधि भएको भन्दै दोस्रो चरणको निर्वाचनमा केही संयमित हुन दलका कार्यकर्तालाई आग्रह गर्न लगाउने उदेश्यले आयोगले चाडै प्रमुख दलका हिर्ष नेताहरुसँग छलफल गर्ने तय गरिएको आयोग स्रोतले जनाएको नेपाल समाचारपत्रमा खबर छ ।
भरतपुरको ताज़ा परिणाम- ८ सय मतले एमाले अगाडि
चितवन, भरतपुर महानगरपालिका वडा नम्बर १० सम्मको मतगणना सम्पन्न हुंदा एमालेले अग्रता लिएको छ । वडाको सुरूवाति गणनामा रेणु दाहालले बढ़ी मत पाए पनि अन्तिमसम्मको गणनामा एमालेले वडामा जीत हासिल गरेको हो । उप मेयरमा भने नेपाली कांग्रेसकी पार्वती शाहको अग्रता क़ायम छ । मेयर देवी ज्ञवाली-१७५९१ रेणु दाहाल-१६७०६ बद्री तिमिल्सिना-१४३३ उपमेयर दिव्या आचार्य-१५३२७ पार्वती शाह-१९३१३ रिना गुरुङ-१५५१
पोखरा महानगरको मतगणनामा फरक मतपत्र भेटिएपछि मतगणना स्थगित
पोखरा, जेठ ६ । फरक मतपत्र भेटिएपछि पोखरा महानगरको मतगणना स्थगित भएको छ । गणनाको क्रममा मतपत्रको कागज फरक भएको, मतदान गर्ने स्वस्तिक छाप केही चाक्लो र रंग फरक भएको भन्दै कांग्रेस, माओवादी केन्द्र, राप्रपासहितका दलहरुले मतगणना बहिस्कार गरेपछि मतगणना रोकिएको हो । वडा नम्बर १७ को मत गणनाका क्रममा फरक मतपत्र भेटिएपछि पोखरा लेखनाथ महानगरपालिकाको सम्पूर्ण मतगणना कार्य रोकिएको छ । फर्जी भनिएको मतपत्रमा पनि निर्वाचन अधिकृतको २ वटा हस्ताक्षर रहेको बताइएको छ । फर्जी भनिएको सो मतपत्रमा सूर्यमा प्यानल नै भोट हालिएको छ । त्यसरी भेटिएको मतपत्र संख्या ८÷१० वटा भएको गणनामा सहभागि कांग्रेस र माओवादी प्रतिनीधिको आरोप रहेको छ । तर, निर्वाचन कार्यालयले भने त्यो मत फर्जी नभएको दाबी समेत गरेको छ । सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले भने दोश्रो संविधानसभामा प्रयोग गरिएको स्वस्तिक छाप भएकाले केही चाक्लो भएको हुनसक्ने बताएका छन् । यद्वपी यसबारे बुझ्ने प्रयास भइरहेको उनले बताए ।
निर्वाचन आयोगले शीर्ष नेतासँग सुरक्षाबारे छलफल गर्ने
काठमाडौँ, जेठ ६ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई बढी प्रभावकारी बनाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ । पहिलो चरणको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताबीचको झडपबाट केही सुरक्षा चुनौती देखिएपछि आयोगले दोस्रो चरणमा त्यस्ता घटना नदोहोरियोस् भनी आयोगले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेको हो । स्थानीय तह निर्वाचनका लागि गठन गरिएको उच्चस्तरीय सुरक्षा समितिको आज बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त सुधीरकुमार शाहले राजनीतिक दलका कार्यकर्ता र समर्थकलाई नियन्त्रित भएर क्रियाकलाप गर्न निर्देशन होस् भन्नाका लागि शीर्ष नेताहरुसँग परामर्श गर्न लागिएको जानकारी दिए । उनले भने, “आयोग दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक र साम्प्रदायिक सद्भाव नखल्बलियोस्, यसले अप्रिय वातावरण सिर्जना नहोस् भन्ने चाहन्छ ।” निर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था हुँदाहुँदै पनि पहिलो चरणको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताबीचको द्वन्द्व र मुठभेडले दोलखालगायतका जिल्लामा अनपेक्षित रुपमा घटना भएपछि आयोगले थप सजगता अपनाउन राजनीतिक दललाई आग्रह गर्ने पनि भएको छ । जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी र राजनीतिक दलबीचमा निरन्तर सम्पर्क, सहयोग र समन्वयको वातावरण सिर्जना गर्न राजनीतिक दलहरुको जिल्लास्तरीय संयन्त्रलाई अझ बढी सक्रिय र प्रभावकारी तुल्याउन आवश्यक भएको आयोगको ठहर छ । पहिलो चरणको निर्वाचनमा देखिएका सवल पक्ष र एकाध ठाउँमा भएका कमी कमजोरीको समग्र मूल्याङ्कन र विश्लेषण गर्दै बैठकले पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न उचित सुरक्षा व्यवस्था गरेकोमा सरकार र सुरक्षा निकायलाई धन्यवाद ज्ञापन गर्दै आयोगले दोस्रो चरणको निर्वाचनमा पनि सुरक्षा निकायबीचको सहकार्य र समन्वय अझ प्रगाढ हुने विश्वास लिएको छ । बैठकले पहिलो चरणको निर्वाचनको समग्र सुरक्षा व्यवस्थाको समीक्षा र मूल्याङ्कन गर्दै दोस्रो चरणको निर्वाचनको जोखिम र सुरक्षा चुनौतीबारे विस्तृत छलफल गरेको आयुक्त शाहले बताए । बैठकमा गृहमन्त्रालयले दोस्रो चरणको निर्वाचनका लागि तयार गरेको सुरक्षा योजनामा आवश्यक रणनीतिगत परिमार्जन र थप कार्ययोजना बनाई आगामी बैठकमा पेस गर्ने निर्णय भएको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको उपस्थितिमा बसेको उक्त सुरक्षा समितिको बैठकमा निर्वाचन आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल तथा सुधीरकुमार शाह, आयोगका सचिव गोपीनाथ मैनाली, गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मी, रक्षामन्त्रालयका सचिव श्रीधर सापकोटा तथा चारवटै सुरक्षा निकायका प्रमुख एवम् उच्च पदाधिकारी सहभागी थिए ।
मत परिणामको विषयमा विवाद हुँदा भक्तपुर चाँगुनारायण नगरपालिकाको मतगणना स्थगित
भक्तपुर, जेठ ६ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना स्थगित भएको छ । वडा नं ४ को मतगणना सार्वजनिक गर्ने क्रममा एमालेका बुद्धलाल महर्जनको समूह विजयी भएपछि कांग्रेस, नेपकिपा र राप्रपाले विरोध गरेका थिए । एमालेका बुद्धलाल महर्जनले एक हजार चार सय ५६ र उहाँका प्रतिद्वन्द्वी कांग्रेसका गोपालप्रसाल पोख्रेलले सात सय २५ प्राप्त गरेका थिए । मतगणनाको आधिकारीक घोषणा गर्ने बेलामा एमालको पक्षमा यति मत आउन सक्दैन भन्दै अरु दलले विवाद गरेपछि अन्य वडाको मतगणना रोकिएको हो । चाँगुनारायण नगरपालिका –४ मा पुन मतगणना हुनुपर्ने उनीहरुको माग छ ।
भरतपुरको ताजा परिणाम, एमाले २ सय ९४ मतले अगाडि
भरतपुर, जेठ ६ । आज बिहान १० बजेदेखि सुचारु भएको मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ । नयाँ प्राप्त नतिजा अनुसार, वडा नं. १० को ६ सय मत गणना भएको छ । जस अनुसार, उक्त वडामा रेणु दाहालले २ सय ४४ र देवी ज्ञवालीले १ सय ९२ मत प्राप्त गरेका छन् । हिजो साँझ घोषणा भएको मत परिणाममा यो मत जोड्दा ज्ञवालीको १५ हजार ३४७ मत पुगेको छ भने रेणुले १५ हजार ५३ मत प्राप्त गरेकी छिन् । वडा नं. १२ सम्म रेणु र देवीको मत तलमाथि भइरहने र वडा नं. १३ देखि भने रेणुले अग्रता लिने माओवादी समर्थक बताउँछन् । यसअघि माओवादी र कांग्रेसको गणना भएको मत भन्दा कम मत कम्युटरमा राखेर नतिजा सार्वजनिक गरिएको भन्दै निर्वाचन मत गणना स्थगित भएको थियो ।
चाँगुनारायणमा विवाद चर्कियो, नतिजा सार्वजनिक रोकियो
भक्तपुर, ६ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ को मत परिणामलाई लिएर विवाद चर्किएको छ । नेकपा(एमाले)को मत बढी आएको भन्दै नेपाली काँग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि अन्तिम चरणमा यस वडाको आधिकारिक मत परिणाम समेत सार्वजनिक गरिएको छैन । बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा एमालेको मत बढी देखियो भन्दै विवाद भएपछि मत परिणाम सार्वजनिक नगरिएको प्रहरीले जानकारी दिएको छ । वडा नं– ४ को मत गणना पुनः गर्नुपर्ने नेपाली काँग्रेसले माग गरेको छ । मध्यान्हसम्म पटक÷पटकको छलफलमा पनि सहमति हुन नसकेको प्रहरीले जानकारी दिएको छ । रासस

