निर्वाचनलाई दृष्टिगत गरी तीन दिनसम्म नेपाल–भारत सीमा नाका बन्द

वीरगन्ज, मंसिर १९ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा र रौतहट जिल्लाका नेपाल–भारत सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएको छ ।

सोमबार राति १२ बजेदेखि बन्द हुने नाका मंसिर २१ गते राति १२ बजेदेखि खुल्नेछ ।

पर्साका प्रजिअ विनोदप्रकाश सिंहका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सीमापारिबाट हुने आपराधिक गतिधि नियन्त्रण गर्न सीमा बन्द गरिएको जानकारी दिए ।
यसैगरी, बाँके जिल्लाको नेपाल–भारत सीमा नाका पनि सोमबार राति १२ बजेदेखि बन्द हुने भएको छ ।

दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार मंसिर २१ गतेसम्म जिल्लासँग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिने प्रजिअ रमेशकुमार केसीले जानकारी दिए ।

उनका अनुसार त्यस अवधिभर जिल्लाका राधापुरदेखि सुइया बघौडासम्मको ६५ किमी क्षेत्रअन्तर्गतका सबै साना र ठूला सीमा क्षेत्रबाट सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज लगाइएको छ । रासस

मंसिर १५ मा रुकुमको दुई मतदान केन्द्रमा फेरि मतदान हुने

रुकुम, मंसिर १३ । मतदानका क्रममा मंसिर १० गते एसिड हालेर मतपेटिकाहरु नष्ट भएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा १५ मंसिरमा पुनः मतदान हुने भएको छ । एसिड हालेर नष्ट भएका मतदान केन्द्रहरुमा मंसिर १५ गते पुनः मतदान गराउनु भन्ने निर्वाचन आयोग केन्द्रको पत्रअनुसार जिल्लाका दुई मतदान केन्द्रमा पुनः मतदान हुन लागेको जिल्ला निर्वाचन कार्यालय रुकुमका जिल्ला निर्वाचन अधिकारी कमलमणि देवकोटाले जानकारी दिए। उनका अनुसार मतपत्र नष्ट भएका बाँफिकोट गाउँपालिका ५ को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको लागि मात्र मतदान हुनेछ भने आठ–बीसकोट नगरपालिका–११, को नेपाल राष्ट्रिय मावि गत्तसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुने छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदानका लागि मतदान अधिकृतहरुको टोली आवश्यक सामग्रीसहित उक्त क्षेत्रमा सदरमुकाम खलंगाबाट हिँडिसकेको छ। बाँफिकोटको मतदान अधिकृतमा जिल्लाका सहायक निर्वाचन अधिकृतसमेत रहेका तेजप्रसाद पौडेललाई र आठबीसकोटको मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरलाई खटाइएको छ। बाँफिकोटको मतदान केन्द्रमा ६ सय ७२ र आठबीसकोटमा ७ सय ५६ जना मतदाता छन्। यी दुवै मतदान केन्द्र प्रदेशसभाअन्तर्गत क्षेत्र नम्बर १ मा पर्दछन्। जहाँ नेकपा माओवादी केन्द्रको तर्फबाट रातो कामी र नेपाली कांग्रेसको तर्फबाट कृष्णबहादुर रोकाय प्रदेशसभा उम्मेदवार छन् ।

मुसाले मतपत्र काट्न सक्ने भन्दै मतपेटिका राखिएको कोठामा ढाडे बिरालो तैनाथ गर्नुपर्ने प्रस्ताव !

ताप्लेजुङ,मंसिर १३ । पहिलो चरणको मतदान सम्पन्न भएका जिल्लाहरुमा प्रशासनको मुख्य चुनौति मतपेटिकाको सुरक्षा रहेको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्रै मतगणना सुरु गरिने भएकाले ती मतपेटिका दलका कार्यकर्ताबाट मात्रै होइन, मुसाबाट समेत जोगाउनुपर्ने स्थिति छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा भने मतपेटिका र मतपत्रको सुरक्षा अब दलका कार्यकर्ता र सुरक्षाकर्मीले मात्रै होइन, बिरालाको समेत सहारामा गरिनुपर्ने प्रस्ताव आएको छ । मुसाले मतपत्र काट्न सक्ने भन्दै नेकपा एमाले ताप्लेजुङका उपाध्यक्ष मात्रिका भट्टराईले मतपेटिका राखिएको कोठामा ढाडे बिरालो तैनाथ गर्नुपर्ने प्रस्ताव गरे । तर, उनको प्रस्तावमा सहमति जुटेन । सहमति के जुटेको छ भने मतपेटिका राखिएको स्थानमा सीसी क्यामेरा जडान गरिनेछ र सिलबन्दी गरी सुरक्षाकर्मी चौबीसै घण्टा तैनाथ गरिनेछ । तर, तत्कालका लागि भने सिलबन्दीमात्रै गरिएको छ । दलहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयका चारवटा कोठामा सिलबन्दी गरी राखिएका जिल्लाका सबै मतपेटिकाको निगरानी सीसी क्यामेराबाट पनि हुनुपर्ने माग गरे पनि क्यामेरा खरिदका लागि निर्वाचन आयोगमा स्वीकृति माग गरिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीर्ले जानकारी दिए । सोमबार रातिसम्म सबै मतपेटिका सदरमुकाम ल्याइसकिएको र सिलबन्दी गर्नुपूर्व राजनीतिक दलहरुले सीसी क्यामेराबाट पनि निगरानी गर्नुपर्ने माग गरेपछि निर्वाचन आयोगमा सीसी क्यामेरा खरिदका लागि माग गरिएको अधिकृत कार्कीले बताए । आयोगबाट प्रकृया र खरिद ढीला भए क्यामेरा खरिदका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनका लागि आएको रकमबाट नै खरिद गर्ने जानकारी आयोगमा गर्ने दलहरुबीचको छलफलपछि सहमति भएको उनको भनाइ छ । कार्कीका अनुसार सीसी क्यामेरा उपलब्ध भएपछि कोठाको सील तोडेर क्यामेरा जडान गरी पुनः सील गरिने सहमति दलहरुले गरेका छन् । त्यसो त स्थानीय चुनावका बेला मतपत्र च्यातिएको भरतपुरमा पनि कोठामा थुनिएको मतपेटिकाको सुरक्षाका लागि बिरालोको सहारा लिनुपर्ने चर्चा चलेको थियो ।

डोल्पाका नौ मतदानस्थलका मतपेटिका संकलनमा समस्या

काठमाडौं, मंसिर १३ ।  पहिलो चरणमा निर्वाचन भएका ३२ मध्ये ३१ जिल्लाका मतदानस्थलका मतपेटिका सदरमुकाम आइपुगेका छन् । निर्वाचन आयोगका अनुसार डोल्पाका नौ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउने प्रयास भइरहेको छ । २९ सय १७ मध्ये अब नौ मतदानस्थलका मतपेटिका आउन बाँकी रहेको हो । मौसमका कारण हेलिकोप्टर सदरमुकाम पुगे पनि अत्यधिक हावा चलेका कारण उडान हुन नसक्दा मतपेटिका बुधबार मात्र ल्याउने तयारी छ । सर्लाही ४ मा के हुन्छ ? आयोगले सर्लाही ४ का माओवादी केन्द्रका उम्मेदवार शिवपूजन राय यादवको उम्मेदवारी रद्द गरेको छ । उनको उम्मेदवारी रद्द भएपछि सो क्षेत्रमा के हुन्छ भन्ने जिज्ञासा उठिरहेका वेला आयोगले निर्वाचन गराउन कुनै बाधा नपर्ने स्पष्ट पारेको छ । सो क्षेत्रका लागि मतपत्र पहिला छापिएकै प्रयोग हुनेछन् । छापिएका मतपत्रमा रायको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा पनि छ । छापिएको मतपत्र रद्द हुनेछैन । प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले सर्लाही ४ मा नयाँ मतपत्र नछापिने जानकारी दिए । रायको उम्मेदवारी रद्द गर्ने विषयमा आयोगमा निकै रस्साकस्सी चलेको थियो । प्रमुख आयुक्त डा. यादवले रायको उम्मेदवारी रद्द गर्ने निर्णयमा हस्ताक्षर गरेका छैनन् । निर्णयपुस्तिकामा प्रमुख आयुक्त यादव ‘आयोगमा उपस्थित नभएको’ भन्ने शब्द प्रयोग गरिएको छ । आयुक्तहरू अनुगमन गर्न जिल्ला दौडाहामा  दोस्रो चरणको निर्वाचनका लागि आयुक्तहरू जिल्ला अनुगमनमा गएका छन् । आयुक्त सुधीरकुमार शाह मंगलबार भक्तपुर र नरेन्द्र दाहाल मोरङ पुगेका छन् । भक्तपुर पुगेका शाहले दूधपाटी, दरबार स्क्वायर क्षेत्र, क्वाछेँ, तौमडी, सुुकुलढोकालगायतका क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीत सडकमाथि वारपार टाँगिएका विभिन्न पार्टीका चुनाव चिह्न, उम्मेदवारको तस्बिर, झन्डाअंकित तोरणका रूपमा राखिएका प्रचारप्रसारका सामग्री हटाउन लगाएका छन् । अर्की आयुक्त इला शर्मा सोमबारदेखि पर्सा, रौतहट र बारा जिल्लाको अनुगमनमा गएकी छिन् । तराईका जिल्लामा मधेसकेन्द्रित दलका उम्मेदवारले मधेस आन्दोलनका बीभत्स तस्बिरलाई निर्वाचन प्रचारमा प्रयोग गरेको पाइएपछि आयोगले अनुगमन सुरु गरेको हो । प्रदेश नम्बर २ को अनुगनमा रहेकी आयुक्त शर्माका अनुसार केही स्थानमा आचारसंहिताविपरीत प्रचारप्रसार भए पनि कारबाही गरिहाल्नुपर्ने देखिएको छैन ।

मतपेटिका राखेको कोठामा तीनवटा ताल्चा झुड्याइयो, बाहिर काँडेतार

गोरखा, मंसिर १२ । मतपेटिका राखिएको कोठा बाहिर लगाइएको काँडेतारबार बन्दुक बोकेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले २४ सै घण्टा सुरक्षा दिनेगरी मंसिर २१ गतेसम्म गोरखाको मतपेटिका सुरक्षित राखिने भएको छ। मतपेटिका भण्डारण गरेको कोठामा तीनवटा ताल्चा लगाइएको छ भने बाहिर काँडे तारको बार लगाइएको छ। स्थानीय प्रशासन, दलहरु र निर्वाचन अधिकृतको कार्यालयले एउटै ढोकामा छट्टाछुट्टै तीन वटा ताल्चा लगाएका छन्। एकआपसमा ताल्चालाई लाहाछाप लगाइएको छ भने ताल्चा खोल्ने साँचो पनि स्थानीय प्रशासन, दल र निर्वाचन अधिकृतको कार्यालयले सुरक्षित तवरले राखेका छन्। मतपेटिका राखिएको क्षेत्र वरपर निगरानी गर्ने गरी दलका प्रतिनिधि बसेका छन्। मतपेटिका साटिनसक्ने भय र अनुमानका बीच कडा सुरक्षाका साथ मतपेटिका कोठाभित्र भण्डारण गरिएको छ। क्षेत्र नं। १ को मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहेको महिला तथा बालबालिका कार्यालयको एउटा कोठामा राखिएको भने क्षेत्र नं.२ का मतपेटिका जिल्ला समन्वय समितिको माथिल्लो सभा हलमा भण्डारण गरिएको छ। मंसिर १० गते पहिलो चरणमा गोरखासहित देशका ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन सकिएको थियो। दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन भएपछि मात्रै पहिलो चरणमा निर्वाचन भएका मतदान केन्द्रहरुको पनि मतगणना सुरु गरिनेछ। गोरखाका २८२ मतदान केन्द्रका ८४६ वटा मतपेटिका सुरक्षित भण्डारण गरिएको हो। २८ मतदान केन्द्रका ८४ वटा मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिएको थियो भने अरु मतपेटिका ट्रक, बसलगायत सवारीबाट ढुवानी गरी सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए।

२६ जिल्लाका सबै मतपेटिका सदरमुकाममा ल्याइँदै

काठमाडौं, मङ्सिर १२ । २०७४ मंसिर १० गते पहिलो चरणमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेका छन् । अब बाँकी रहेका ६ जिल्लाका ७१ मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम ल्याउने कार्य भइरहेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, कूल २ हजार ९१७ मतदानस्थलमध्ये अब संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका १ स्थल गरी जम्मा ७१ मतदान स्थलका मतपेटिकाहरु सदरमुकाममा संकलन हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । छ वटै जिल्लाका बाँकी मतपेटिकालाई पैदल मार्ग, सडक मार्ग र हवाई मार्गबाट ल्याउने काम भइरहेको छ ।

बीरगञ्जका ताजा अपडेट, कसको कति

बीरगञ्ज, असोज १० । वीरगञ्ज महानगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमले अग्रता लिएको छ । भने उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता रहेको छ । अहिलेसम्म ७३ हजार ७२ मत गणना भएकोमा फोरमले प्रमुखमा १६ हजार ८ सय ४१ र उपप्रमुखमा १५ हजार ९ सय ७६ मत ल्याएको छ । फोरमलाई पछ्याइरहेको कांग्रेसले प्रमुखमा १५ हजार ५ सय ४० र उपप्रमुखमा १७ हजार ९ सय ५ मत ल्याएर पछि परेको छ । त्यस्तै राजपा नेपालले १० हजार ८१ र ८ हजार ८ सय ७५ मत ल्याएर तेस्रो स्थानमा रहेको छ । नेकपा माओवादी केन्द्रले प्रमुखमा ७ हजार ६ सय २१ र उपप्रमुखमा ४ हजार ६ सय ४३ मत ल्याएर चौथो स्थानमा रहेका छ । २ नं. प्रदेशमा गएको असोज २ गते भएको स्थानीय तह तेस्रो चरणको निर्वाचन भएको थियो । २ नं. प्रदेशको एक मात्र महानगरपालिका बीरगञ्जमा कांग्रेस र फोरमबीच कडा प्रतिस्पर्धा भइरहेको छ । तेस्रो चरणमा १३६ स्थानीय तहमा निर्वाचन भएकोमा १३३ तहाको नतिजा सार्वनिक भइसकेको छ ।

बीरगञ्ज महानगर प्रमुखमा फोरमको अग्रता कायमै

बीरगञ्ज, असोज ९ । बीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणना अनुसार संघीय समाजवादी फोरमको अग्रता कायमै रहेको छ । फोरमका महानगरप्रमुखका उम्मेदवार विजयी सारावगीले १५६३५ मत प्राप्त गरेका छन भने उनलाई नेपाली कांग्रेसका अजय द्विवेदीले १४९५० मत ल्याई पछ्यारहेका छन । भने नेकपा माओवादीका रहबर अन्सारीले ७३२३ मत पाएका छन । त्यसैगरी, उमप्रमुखमा नेपाली कांग्रेसकी शान्ति कार्कीले १६४८३ मत प्राप्त गरी अगाडि छन भने उनलाई संघीय समाजवादी फोरमकी पिंकी यादवले १४९५० मत ल्याई पछ्याइरहेकी छन ।

रौतहटको कटहरिया नगरप्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी

रौतहट, असोज ८ । रौतहटको कटहरिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन । माओवादी केन्द्रका उम्मेदवार सियाराम कुशवाह प्रमुख र उपप्रमुखमा नुरजहा खातुन निर्वाचित भएका हुन । कुशवाहले ४२३२ र खातुन ५११० मत प्राप्त गरी विजयी भएका हुन । कटहरिया नगरपालिकासहित माओवादी केन्द्रले रौतहटमा ३ तहमा विजयी भएको हो ।

१२५ तहकाे नतिजा सार्वजनिक, अब ११ तहको नतिजा घोषणा हुन बाँकि

काठमाडौं, असोज ८ । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १२५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।  अब ११ तहको नतिजा घोषणा हुन बाँकि छ । हालसम्म नेपाली कांग्रेसले ३६ स्थानीय तहमा जितेको छ भने संघीय समाजवादी फोरमको २३, माओवादी केन्द्रको २१, राजपाको २३, एमालेले १६, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ । कांग्रेस ५, माओवादी ३, संघीय फोरम ३, राजपा २, एमाले ३ तथा नयाँ शक्ति १ तहमा अगाडि रहेको छ । पछिल्लो परिणामअनुसार सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका देवनन्द महतो ७२०८ मत ल्याएर विजयी भए । उपमेयरमा पनि माओवादी केन्द्रकै रिता माझी ६४९९ मतसहित विजयी भइन । सिरहाको सिरहा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका असेश्वर यादव ९२३४ मत ल्याएर विजयी भए । उपमेयरमा भने नेकपा एमालेकी नमिता यादव ९१६१ मतसहित विजयी भइन ।

वीरगञ्ज महानगरपालिका अपडेड: संघीय समाजवादीकाे अग्रता यथावत

काठमाडौं, असोज ८ । वीरगञ्ज महानगरपालिका, पर्सा संघीय समाजवादी 9232/8642 कांग्रेस 9194/10558 राजपा 6409/5521 प्रदेश नम्बर २ मा निकै चर्चा र चासोको विषय बनेको वीरगन्ज वीरगन्ज महानगरपालिकामा  ८४ हजार मत खसेको थियो । ३२ वटा वडा रहेको वीरगन्जमा मंगलबारबाट मतगणना सुरु भएको थियो । वीरगन्ज महानगरमा अहिलेसम्म १, २, ३, ४, ६, ७, ८, ९, १०, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये वडा नं ३० मा एमालेका उम्मेदवार विजयी भएका छन् भने २, २८ र २९ नम्बर वडमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । त्यस्तै, १ र ४ नम्बर वडामा कांग्रेस, ३,५ र ३२ नम्बर वडामा राजपा नेपालका उम्मेदवारहरु विजयी भएका छन् । ३२ हजार ९ सय ५२ मत गणना हुँदा वीरगञ्ज महानगरपालिकाको पछिल्लोे मतपरिणाम यस्तो छ ।  

वीरगञ्ज महानगरपालिकामा सर्वदलीय बैठक जारी

वीरगञ्ज, वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु गर्ने विषयमा छलफल गर्न बिहान ८ बजेका लागि बोलाइएको सर्वदलीय बैठक भर्खरै सुरु भएको छ ।

धनुषाको गणेशमान नगरपालिका ११ मा माओवादी प्यानल नै विजयी

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा माओवादी प्यानल नै विजयी भएकाे छ ।

उपमहानगरमा कांग्रेसले बल्ल खाता खोल्यो, धनगढीको मेयर र उपमेयरमै विजयी

धनगढी,असार  २४ ।  धेरैको चाँसोको विषय रहेको सात नम्बर प्रदेशको एक मात्रै धनगढी उप–महानगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली कांगेस विजयी भएको छ । आज विहान सार्वजनिक भएको परिणाम अनुसार मेयरमा कांग्रेसका नृपबहादुर वडले निकटतम् प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २७९७ मतले पछि पार्दै प्रमुखमा विजयी भए । उनले १४३२४ मत ल्याए भने उनका प्रतिस्प्रर्धी हमालले ११५२७ मत पाए । यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकी सुशीला मिश्र भट्ट भारी मतले विजयी भएकि छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी रुक्मणी देवकोटालाई ४६४५ मतले पछि पार्दै उपमेयरमा जित हासिल गर्न सफल भइन् । भट्टले १७४०८ मत पाउँदा उनकी प्रतिस्पर्धी देवकोटाले १२७६३ मत ल्याइन । यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार रामसमझ रानाले १०२०९ मत प्राप्त गर्दै तेस्रो स्थानमा सिमित रहे । भने, नेकपा एमालेका दुर्गा जोशीले ९९४६ मत प्राप्त गर्दै चौथो स्थानमा चित्त बुझाउन बाध्य भए । यस्तै नेकपा एमालेका उपप्रमुख पदका उम्मेदवार रुक्मणी देवकोटाले १२७६३ मत ल्याइन । भने, माओवादी केन्द्रकी उपप्रमुख शान्ती अधिकारी क्षेत्रीले १०२५२ मत पाइन । यस्तै बदर मत पनि धेरै देखिएको छ । प्रमुखमा २९०९ र उपप्रमुखमा ७३९१ म तबदर भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । यस्तै धनगढीका १९ वटा वडा मध्ये कांग्रेसले प्यानल र अध्यक्षमात्र सहित १२, माओवादी केन्द्रले ५ र एमालेले २ वडामा जित हात पारेका छन् ।

स्थानीय चुनावमा एमाले, कांग्रेस र माओवादी नै बलिया, खै नयाँ अनुहार !

काठमाडौं,  असार २४ । दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । कुन दलले कहाँ जिते ? एमाले झापा : कन्काई, दमक, बिर्तामोड, कमल, भद्रपुर, शिवसताक्षी, मोरङ : कानेपोखरी, ग्रामाथान, पथरी–शनिश्चरे, बेलबारी र मिक्लाजुङ, सुनसरी : इटहरी, बराह, उदयपुर : उदयपुरगढी, कटारी, रौतामाई, ताप्ली, त्रियुगा, बेलका, दाङ : गढवा, घोराही, तुल्सीपुर, दंगीशरण, बबई, लमही, रुपन्देही : बुटवल, कञ्चन, तिलोत्तमा, शुद्धोदन, सिद्धार्थनगर, सियारी, सैनामैना, नवलपरासी : सुस्ता, बर्दघाट, कपिलवस्तु : विजयनगर, शिवराज, बाँके : कोहलपुर, खजुरा, जानकारी र बैजनाथ, बर्दिया : ठाकुरबाबा, बढैयाताल, बाँसगढी, कैलाली : गोदावरी, गौरीगंगा, घोडाघोडी, चुरे, टीकापुर, मोहन्याल, लम्की, कञ्चनपुर : कृष्णपुर, बेलडाँडी, भीमदत्त, वेदकोट   कांग्रेस झापा : गौरादह, झापा, बाह्रदशी, बुद्धशान्ति, मोरङ : उर्लाबारी, कटहरी, केराबारी, रतुवामाई, लेटाङ, सुनवर्षी र सुन्दरहरैँचा, सुनसरी : इनरुवा, कोसी, गढी, देवानगन्ज, रामधुनी, हरिनगर, उदयपुर : चौदन्डीगढी, दाङ : राजपुर, राप्ती र शान्तिनगर, रूपन्देही : देवदह, मायादेवी, नवलपरासी : प्रतापपुर, रामग्राम र सुनवल, कपिलवस्तु : कपिलवस्तु, वाणगंगा, बुद्धभूमि, महाराजगन्ज, यशोधरा, बाँके : डुडुवा, राप्ती सोनारी, बर्दिया : गुलरिया, गेरुवा, कैलाली : जोशीपुर, बर्दगोरिया, कैलाली : धनगढी उपमहानगर, कञ्चनपुर : महाकाली, शुक्लाफाँट     माओवादी केन्द्र मोरङ : रंगेली, उदयपुर : सुनकोसी, दाङ : बंगलाचुली, रुपन्देही : ओमसतिया, नवलपरासी : पाल्हीनन्दन, बर्दिया : बारबर्दिया, मधुवन र राजापुर, कैलाली : कैलारी र भजनी, कञ्चनपुर : बेलौरी, लालझाँडी   नयाँ शक्ति–संघीय फोरम– मोरङ : जहदा गाउँपालिका, सुनसरी : झोक्राह, रूपन्देही : कोटहीमाई, गैडहवा, मर्चवारी, रोहिणी, कपिलवस्तु : मायादेवी, बाँके (१) : नरैनापुर   फोरम लोकतान्त्रिक– मोरङ : बुढीगंगा, सुनसरी : दुहवी, बर्जु, रुपन्देही : सम्मरीमाई, नवलपरासी : सरावल कैलाली : जानकी   राप्रपाले प्रमुख जितेको तह झापा(३) : कचनकवल, गौरीगन्ज र हल्दिबारी बाँके (१) : नेपालगन्ज उपमहानगर   स्वतन्त्रले प्रमुख जितेको तह रुपन्देही (१) : लुम्बिनी सांस्कृतिक नगर कपिलवस्तु (२) : कृष्णनगर, शुद्धोदन

यस्ता चुनिय जनप्रतिनिधि : जन्मकैद पाएकादेखि एनजिओकर्मीसम्म

बाँके, असार । २४  बाँकेमा जन्मकैद सजाय पाएकादेखि ठेकेदारसम्मले स्थानीय निर्वाचन जितेका छन् । अदालतले जन्मकैद सुनाएका बेतहनीका नरेन्द्रकुमार चौधरी कुर्मी (पप्पु) डुडुवा गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । अदालतको सजाय भोगिरहेका पप्पुलाई कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले माफी दिएको थियो । जेलबाट छुट्ने बेला उनले कांग्रेसका नेता–कार्यकर्ता र साबिकको बेतहनी गाविसका नागरिकको भव्य स्वागत पाएका थिए । उनी ०७१ सालको प्रजातन्त्र दिवसको अवसरमा थुनामुक्त भएका थिए । बाँके जिल्ला अदालतले चौधरीलाई कर्तव्य ज्यान, डाँकालगायत पाँच मुद्दामा सर्वस्वसहित जन्मकैद सुनाएको थियो । दुईवटा डाँका मुद्दा, दुईवटा कर्तव्य ज्यान मुद्दा र ज्यान मार्ने उद्योग गरी पाँच मुद्दामा अदालतले जन्मकैद सुनाएको थियो । नयाँ पत्रिकामा खबर छ । एनजिओकर्मी थारु विजयी राप्ती–सोनारी गाउँपालिकाको अध्यक्षमा गैरसरकारी संस्था ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) बाँकेका अध्यक्ष लाहुराम थारु विजयी भएका छन् । उनी पूर्वसभासद्लाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । थारु कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।