इलाममा झलनाथ खनालको फराकिलो अग्रता
इलाम,प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं १ मा वाम गठबन्धनले अग्रता लिएको छ । हालसम्म दुई हजार ९०६ मत गणना भएको छ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक हजार ७४२ र नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले एक हजार २७ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभातर्फ क्षेत्र नं २ को मत परिणाम आउन केहीबेर लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्याङजामा तनाब, कर्फ्यू आदेश
स्याङजा, मंसिर २२ । नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद भएपछि स्याङजामा तनाव भएको छ । विवाद भएपछि अहिलेसम्म मतगणना हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कफ्र्यू आदेश जारी गरेको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत् दोस्रो चरणमा भएको निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा काँग्रेस र एमालेबीचको विवादका कारण मतगणना हुन नसकेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काँग्रेस र एमालेले एक अर्काले धाँदली गरेको आरोपसहित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएपछि विवाद बढ्दै जाँदा मतगणना सुरु हुन नसकेको हो । सो क्षेत्रका निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठले काँग्रेस र एमालेले एक अर्काले बुथ क्याप्चर गरेको आरोप सहित दायर भएको मुद्दा निर्वाचन आयोगमा पठाईएको भन्दै अब निर्वाचन आयोगले गरेको फैसलालाई नै अन्तिम मानेर अघि बढ्ने बताए । त्यहाँ दुबै पार्टीका कार्यालयलाई प्रहरीले लाठी चार्ज गरेर तितरवितर पारेको थियो । निर्वाचन अधिकृत माथि समेत हातपात गर्ने प्रयास भएपछि लाठी चार्ज गरेको छ । साथै त्यसले पनि स्थिती सामान्य नबनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
रुपन्देहीमा विष्णु पौडेल दोब्बर मतले अगाडि
रुपन्देही, मंसिर २२ । रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेका नेता विष्णु पौडल दोब्बर मतको अग्रता कायम गरेका छन् । पौडेलले नेपाली कांग्रेसका युवराज गिरी भन्दा १७४८ मतले अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार पौडेलले ३२ सय ८० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी गिरीले १५ सय ३२ मत ल्याएर पछ्याई रहेका छन् ।
गोरखामा तनाव, कहाँबाट आए ४५ मतपत्र, मतगणना स्थगित
गोरखा । गोरखा क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ । मुच्चोकको चतुर्माला मावि मतदान केन्द्रको मतपेटिकामा मुचुल्कामा भन्दा ५४ मत बढी भेटिएपछि विवाद भएर मतगणना रोकिएको हो । बढी मतपत्र भेटिएपछि अहिले विवाद भइरहेको छ । गोेरखामा नेकपा माओवादीका नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टरार्इबीच प्रतिस्पर्धा छ । दुबै नेताहरुबीच मतान्तर कम बढी भइरहँदा कसले जित्छ भनेर अनुमान लगाउन गारो परेको छ ।
तनहुँमा रामचन्द्र पौडेल समेत पछाडि
काठमाडौं । देशव्यापीरुपमा वाम उम्मेदवारहरुले अग्रता लिइरहेको अवस्थामा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछाडि परेका छन् । अहिलेसम्मको मत परिणाम अनुसार एमालेका किसन श्रेष्ठ पहिलो स्थानमा देखिएका छन् । एमाले श्रेष्ठको २२ सय ६४ मत आउँदा काँग्रेसका रामचन्द्र पौडेलको १७ सय ७४ मत आएको छ । त्यस्तै, प्रतिनिधि सभा २ तर्फ पनि काँग्रेस नै दोस्रो देखिएको छ । काँग्रेसका शंकर भण्डारीले ५ सय ५२ मत आउँदा एमालेका केदार सिग्देलले ११ सय २१ मत ल्याएका छन् ।
वर्षमानको दोब्बर मतको अग्रता कायमै
रोल्पा । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’ले शुरुवातदेखिको दोब्बर मतको अग्रता अहिलेसम्म काममै राखेका छन् । मतगणनाको पछिल्लो ताजा मत परिणाम अनसार पुनले ३८३३ मतले नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुन भन्दा अगाडि रहेका छन् । अनन्त ले ७७०९ मत ल्याउँदा उनका प्रतिस्पर्धी पुनले ३८७६ मत लयाएर पछ्याईरहेका छन् ।
प्रतिनिधिसभामा एमाले २ र माओवादी केन्द १ स्थानमा विजयी
काठमाडौं, मंसिर २२ । मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी जिल्लाको मत परिणाम सार्वजनिक हुन थालेको छ । अहिलेसम्म प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दुई जना विजयी भएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका एक जना विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मत प्राप्त गरे । त्यसैगरी मनाङमा पनि प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पाल्देन छोपाङ गुरुङ निर्वाचित भएका छन् । उनले २ हजार ३ सय मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१ मत प्राप्त गरे । यसैगरी रुकुम पूर्वको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरे । अहिलेसम्म जारी मत गणनामा अधिकांश स्थानमा वामगठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवारले १६ स्थानमा अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले १३ स्थानमा अग्रता लिएका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवारले ५ स्थानमा अग्रता लिएका छन् । प्रदेशसभा सदस्यतर्फ पनि अधिकांश स्थानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन् । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।
गोरखामा नारायणकाजी भन्दा बाबुराम अगाडि, क्षेत्र नं १ मा माअाेवादीका हरिराज अगाडि
गोरखा । गोरखा क्षेत्र नं २ मा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र नयाँशक्तिका बाबुराम भट्टराईबीच कडा प्रतिस्पर्धा भएको छ । शुरुवातमा श्रेष्ठ अगाडि थिए भने अहिले भट्टराईले अग्रता कायम गरेका छन् । ताजा मत परिणाम अनुसार भट्टराईले ८३० मत पाएका छन् भने श्रेष्ठले ७६६ मत। त्यस्तै गोरखा क्षेत्र नं १ मा माओवादीका हरिराज अधिकारीले १२८१ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठले ८५१ मत प्राप्त गरेका छन् । गोरखा क्षेत्र नं १ क प्रदेशमा माओवादीका लेखबहादुर थापा मगर ८६५ नेपाली कांग्रेसका घिरन थापा ५८७ प्रदेश ख मा एमालेका रामशरण बस्नेत ७४३ कांग्रेसका राजेन्द्र बजगाई ६५४
बैतडीमा वाम गठबन्धन ३४३ मतले अगाडि
बैतडी, मंसिर २१ । बैतडी वाम गठबन्धनका दामोदर भण्डारीले अग्रता लिएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका नरबहादुर चन्दलाई ३४३ मतले पछि पारेका छन् । भण्डारीले १८६९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी चन्दले १५२६ मत प्राप्त गरेका छन् । त्यस्तै प्रदेश क मा वाम गठबन्धनकै प्रेमप्रकाश भट्टले ११८५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रित गठबन्धनका हरिमोहन भण्डारी ८२३ पाएका छन् । त्यसैगरी, प्रदेश ख मा पनि वाम गठबन्धनका लिलाधर भट्टले १३२० र लोकतान्त्रित गठबन्धनका गणेश चन्द ११९५ मत प्राप्त गरेका छन् ।
बाबुरामलाई पछि पार्दै नारायणकाजीको अग्रता
गोरखा, मंसिर २१ । पहिलो चरणमा मतदान भएका मध्ये सर्वाधिक चासोको क्षेत्र गोरखामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अग्रता लिएका छन । उनका प्रतिस्पर्धी नयाँशक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईलाई प्राप्त ताजा मत परिणाममा श्रेष्ठले ३३ मतले पछि पारेका हुन । श्रेष्ठले १६५ मत प्राप्त गर्दा भट्टराईले १३२ मत पाएका छन् ।
माओवादीले कारबाही गरेका लामा २०० मतले अगाडि
हुम्ला, मंसिर २१ । हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा माओवादीका उम्मेदवार भन्दा छिमीदोर्जे लामा भन्दा २०० मतले अगाडि छन् । अहिलेसम्म गणना भएको १२७४ मत मध्ये छक्कबहादुरले ४३४ मत प्राप्त गरेका छन् भने छिमीदोर्जेले २५६ मत प्राप्त गरेका छन । त्सस्तै नेपाली कांग्रेसका मंगलबहादुर शाहीले २३४ मत प्राप्त गरेका छन् ।
काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?
काठमाडौं, मङ्सिर २० । सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. १ का मुख्य अधिकृत रमेशराज पोखरेलका अनुसार काठमाडौंमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको हो । काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गरेको मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘दशवटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ, केही प्राविधिक काम मात्र बाँकी छ, त्यो पनि आज बेलुकासम्म सकिन्छ ।’ पोखरेलका अनुसार निर्वाचन क्षेत्रमा मतपत्र पुर्याउने काम भइरहको छ । सुरक्षित रुपमा मतपत्र लान सक्नेलाई मंगलबारदेखि नै मतपत्र दिइएको छ भने सुरक्षित रुपमा लान नसक्ने स्थानमा आयोगले आजसम्म पुर्याउने तयारी छ । दश निर्वाचन क्षेत्रमा आयोगबाट दशै निर्वाचन क्षेत्रमा एकरएक निर्वाचन अधिकृतसहित पाँच हजार ८४८ कर्मचारी खटिएका छन् । त्यसमा उपसचिव ३५५, शाखा अधिकृत ७३१ नायब सुब्बा ३७६ र दुई हजार ९२४ सहायक कर्मचारी र एक हजार ४६२ कार्यालय सहायक कर्मचारी रहेका छन । काठमाडौंका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्र ७३१ र मतदानस्थल ३०९ छन् । काठमाडौंमा रहेको १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार १७१, प्रदेश सभा ९क०मा १०७ र प्रदेशसभा (ख) मा ११५ रहेका छन् । दश निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या छ लाख ३० हजार ४६० छन् । आयोगको मतदानस्थलको सुरक्षाका लागि मोबाइल टोलीसमेत तयार गरिसकेको छ । आयोगले निर्वाचनलाई शान्तिपूर्ण, विश्वासिलो तरिकाले गर्न चाहेको छ भने मत बदर हुन नदिनका लागि बुझेर मात्र उपयुक्त स्थानमा मतदान गर्न आग्रह गरेको छ । मतगणनास्थलमा सिसी टीभी र जालीको प्रयोग मतगणना स्थलको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी निर्वाचन आयोगले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सिसी टिभी क्यामेरा र तारजाली राख्ने तयारी गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘विगतमा भएको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर सुरक्षित बनाउन सिसी टिभी क्यामेरा जडान र प्रतिनिधिले हर्ने मिल्ने गरी जाली राख्ने तयारी भएको छ ।’ स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका चितवनमा देखिएको समस्या पुनः नदोहोरियोस् भनेर आयोगले मतगणनामा सिसी टिभी क्यामेरा र जालीको प्रयोग गर्न लागेको जनाएको छ । सुरक्षाका दृष्टिकोणले प्रतिनिधि र मतगणनामा खटिएका कर्मचारी एकै ठाउँमा राख्न नहुने सुझाव आएपछि तार जालीको प्रयोग गर्ने तयारी भएको हो । मुख्य निर्वाचन अधिकृत पोखरेलले थपे, ‘मतगणनामा अन्तर्राष्ट्रिय पर्यवेक्षक पनि आउँछन्, मतगणना स्थलमा जाली लगाउँदा कस्तो सन्देश जाला भन्ने पनि छ, कस्तो जाली राख्ने भन्ने विषमया सोच्दैछौँ ।’ आयोगले प्रतिनिधि र कर्मचारीसँगै नहुने गरी बीचमा राख्ने तर दुवैले राम्ररी देखिने गरी राख्ने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘आयोगले मतगणनामा पहिलो पटक सिसी टिभी र जाली प्रयोग गर्न लागेको हो, एउटा मतपत्र तहमाथि पर्यो भने राम्रो हुँदैन, मतपत्रको सुरक्षा सतर्कताका लागि आवश्यक पर्यो ।’ दश निर्वाचन क्षेत्रको कहाँ-कहाँ हुन्छ मतगणना काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना हुने तयारी निर्वाचन आयोगले गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं। १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं। ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं. ९ र १० अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ । निर्वाचन क्षेत्र नं. ८ को वन परिसर बबरमहलमा र निर्वाचन क्षेत्र नं। ६ को जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।
४५ जिल्लामा भोलि गाडी नचल्ने, सार्वजनिक बिदा पनि..
काठमाडौं, मंसिर २० । निर्वाचन आयोगले बिहीबार हुने चुनावको सबै तयारी पूरा भएको जनाएको छ । बुधबार बेलुका ५ बजेसम्म सबै मतदान केन्द्र बनाइसक्ने आयोगले जनाएको छ । बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिन्छ । आयोगले चुनावको तयारीबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउँदैछ । दिउँसो साढे २ बजे चुनावको सबै तयारीबारे जानकारी गराइने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यस्तै गृह मन्त्रालयले पनि दिउँसो नै पत्रकार सम्मेलन गरेर सुरक्षाको बारेमा जानकारी गराउँदैछ । बिहीबार चुनाव हुने ४५ जिल्लामा पास लिएका गाडी र अत्यावश्यक गाडी मात्र चल्न पाउनेछन् । अरु गाडी भने आज मध्यराति १२ बजेदेखि भोलि बेलुकी ७ बजेसम्म चलाउन नपाइने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक सूचना निकालेर नै बिहीबार गाडी नचल्ने हुँदा बुधबार राति १२ बजे अगावै गन्तव्यमा पुग्ने गरी यात्रा थाल्न आग्रह पनि गरेको छ । सरकारले बिहीबार चुनाव हुने ४५ जिल्लामा सार्वजनिक बिदा पनि दिएको छ ।
भोलिकाे चुनावमा पानी पर्ने सम्भावना भएका ठाउहरु
काठमाडौं, मंसिर २० । भोलि मतदान हुने ४, ५, ६ र ७ नम्बर प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । अरब सागरमा रहेको शक्तिशाली सामुद्रिक चक्रवातका कारण बिहीबार देशभरिकै मौसम बदली भई ४, ५, ६ र ७ नम्बर प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । तर ठूलो पानी वा झरीको संभावना भने नभएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एक, दुई र तीन नम्बर प्रदेशको मौसम भने आशिंक बदली हुनेछ । भोलि कहाँको मौसम कस्तो ? दक्षिणपूर्वी अरब सागरमा रहेको शक्तिशाली सामुद्रिक चक्रवात ओकीको कारण मंगलबारदेखि नै धेरै ठाउँको मौसम बदली भइ केही ठाउँमा हल्का पानी पर्नुका साथै हल्का हिमपात पनि भएको उनले बताए । उनका अनुसार यसकै प्रभावले गएको २४ घण्टामा काठमाडौं उपत्यकासहित दिपायल, डडेलधुरा, धनगढी, विरेन्द्रनगर, नेपालगन्ज, जुम्ला र जोमसोम आसपासका केहि ठाउँमा हल्का पानी परेको छ । यस्तै हिमाली तथा पहाडी क्षेत्रमा हिमपात पनि भएको छ । यो चक्रवात बिस्तारै कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भएको छ । तर यसको असर अझै एक दुई दिन रहने भएकाले पर्वतारोहणको लागि नजान मौसमविद् प्रधानाङको सुझाव छ । बिहीबार बेलुकासम्ममा सबैतिरको मौसम खुल्दै जाने उहाँको अनुमान छ । भोलि देशका धेरै ठाउँको मौसम सामान्यतया बदली भई हिमाली भेगका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको उनले जानकारी दिए ।
यसरी बन्दैछ मतगणनास्थल
बागलुङ, मंसिर २० । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको बागलुङमा तारजाली लगाएर मतगणना गरिने भएको छ। जिल्लाका प्रतिनिधिसभाका दुई क्षेत्र र प्रदेशसभाका चार क्षेत्रको जिल्ला समन्वय समिति बागलुङको सभाहलमा गणक तारजाली भित्र र दलीय प्रतिनिधि बाहिर राखेर गणना गर्ने आवश्यक व्यवस्था मिलाइएको छ। मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भए पनि सम्भावित परिस्थितिलाई ध्यानमा राखेर मतगणनाका लागि तारबार जाली लगाइएको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले बताए। तारवार र जालीको कडा सुरक्षा घेरा भित्र आयोगका कर्मचारीले मतगणना गर्ने र तारवार बाहिर रहेका उम्मेदवारका प्रतिनिधिलाई देखाउँदै सदर गरिने उनले बताए। ‘अहिलेको लोकतान्त्रिक व्यवस्थामा पनि तारबार लगाएर मतगणना गर्नु शोभनीय विषय हुँदै होइन,’ जिल्ला न्यायाधीश समेत रहेका पण्डितले भने, ‘तर विगतका घटना र सम्भावित घटनाका विषयलाई गम्भिरतापूर्वक लिएर तारजाली लगाएर मतगणना गर्नुपर्ने अवस्था आएको हो।’ मतगणना स्थलमा ८ वटा सिसि क्यामरा पनि जडान गरिएको छ। यसका साथै पहिलो घेरमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिइएको छ। पहिलो चरण अन्तर्गत मंसिर १० गते भएको मतदानमा बागलुङमा ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। उजुरीमा मुख्य निर्वाचन अधिकृतको राय माग नेपाली कांग्रेस बागलुङले जिल्लाका तीन मतदान स्थलमा ‘बुथ कब्जा’ गरी धाँधली गरेको भन्दै दर्ता गरेको उजुरी उपर निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको राय माग गरेको छ। गत मंसिर १० गतेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन सकिएको चार दिन पछि बिहीवार वाम गठबन्धनबाट निर्वाचनमा धाँधली भएको भन्दै कांग्रेसले उजुरी दर्ता गराएको थियो। उजुरीपछि आयोगले सम्बन्धित मतदान अधिकृतहरूको प्रतिवेदन माग गरे अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले प्रतिवेदन पठाएको थियो। प्रतिवेदन अध्ययन तथा छलफल पछि मंगलवार फेरि मुख्य निर्वाचन अधिकृतको पनि राय माग गरेको पत्र प्राप्त भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए। जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबास्कोट, जैमिनी नगरपालिकाको पैयुथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा एकलौटी मतदान गरेको भन्दै कांग्रेस जिल्ला सभापति तथा क्षेत्र नम्बर १ (क) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश २ का उम्मेदवार प्रकाश शर्मा पौडेलले पुनः मतदानको माग सहित उजुरी दर्ता गराएका हुन्। आफ्ना पार्टीका एजेण्ट भएपनि वाम गठबन्धनका स्थानीय नेता कार्यकर्ताले आफ्ना एजेण्टलाई धम्की दिएर धाँधली गरेको भन्दै पुनः निर्वाचन गराउन माग गरेको हो। उम्मेदवार थापाले भकुण्डे र शर्माले अन्य दुइ स्थानमा बुथ कब्जा भएको दावी गरेका छन्। आयोगको राय माग गरिएको पत्रको अध्ययनपछि सम्बन्धित मतदान स्थलमा खटिएका सुरक्षा प्रमुखहरूसँग जानकारी लिएर राय पठाउने मुख्य निर्वाचन अधिृकत पण्डितले बताए। ‘उजुरीका विषयमा निर्वाचन आयोग मार्फत मेरो राय दिन भनिएको छ,’ मुख्य निर्वाचन अधिकृत पण्डितले भने, ‘बुधवार सकेसम्म छिटो पठाएर आगामी बिहीवार साँझ ठिक ५ बजेदेखि मतगणना गर्न मिल्ने नमिल्ने निर्देशन दिन अनुरोध गर्ने तयारी छ।’ वाम गठबन्धन भने निर्वाचन स्वच्छ र शान्तिपूर्ण रुपमा सम्पन्न भएको चार दिन पछि उजुरी पर्नु नियोजित र पराजित मानसिकताको उपज भएको बताउँदै आएको छ। बागलुङमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा बाम गठबन्धन बनाएर चुनावी मैदानमा छन् भने नेपाली कांग्रेस राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा प्रतिस्पर्धामा छ। प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कांग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका सूर्य पाठक प्रतिस्पर्धामा छन् भने यस क्षेत्रको प्रदेश क मा कांग्रेसका दीपेन्द्र थापा र गठबन्धनका तर्फबाट एमालेकै इन्द्रलाल सापकोटा मैदानमा छन्। प्रदेश २ मा कांग्रेसका प्रकाश पौडेल र वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा चुनावी प्रतिस्पर्धामा छन्।
यी हुन् आफू उम्मेदवार भएर आफैंलाई मतदान गर्न वञ्चित नेता !
काठमाडौं, मंसिर २० । एमाले अध्यक्ष केपी ओलीले आफैंलाई मत हाल्न नपाउने भएका छन् । उनी झापा–५ का उम्मेदवार हुन् । तर ओलीको मतदाता नामावली भक्तपुर सुर्यविनायक नगरपालिका–२ मा छ । एमाले नेता माधवकुमार नेपाल काठमाडौं २ बाट उम्मेदवार बनेका छन् । तर उनको मतदाता नामावली रौतहटमा छ । माओवादी नेता कृष्णबहादुर महरा, सुरेन्द्र कार्की र झक्कुप्रसाद सुवेदीले पनि आफूलाई मत हाल्न पाउने छैनन् । महरा दाङ–२बाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनले यसअघि रोल्पाको लिवाङ नगरपालिका–१ तारा मावि केन्द्रबाट मत हाल्दै आएका थिए । यस्तै कार्की झापा–१बाट उम्मेदवार छन् । उनी काठमाडौंका मतदाता हुन् । रोल्पामा मतदाता सूचीमा नाम रहेका सुवेदी काठमाडौं ६ बाट उम्मेदवार छन् । राजपा अध्यक्ष मण्डका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आफूलाई भोट दिन पाउने छैनन् । ठाकुर महोत्तरी–३ बाट उम्मेदवार छन् । उनको मतदाता सूची सर्लाहीको बलरा नगरपालिकामा छ । महतोको मतदाता सूची सर्लाही चन्द्रनगर–२ मा छ । उनी धनुषा ३ मा उम्मेदवार छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि आफैंलाई भोट दिन पाउने छैनन् । उनी सप्तरी २ का उम्मेदवार हुन् । यादवको मतदाता सूची मोरङको विराटनगर महानगरपालिका–१४ जतुवामा छ । –नयाँ पत्रिका दैनिकबाट

