सुनसरी ३ मा मतगणना सुरु

सुनसरी, मंसिर २६ । सुनसरी निर्वाचन क्षेत्र नं ३ को स्थगित मतगणना सुरु भएको छ । खसेको भन्दा बढि मतपत्र भेटिएपछि विवाद बढेसँगै सोमबार बिहानबाट मतगणना रोकिएको थियो ।

सुनसरी ३ मा एमाले नेतृ भगवती चौधरी र नेपाली काँग्रेसका उम्मेदवार नेता उपप्रधानमन्त्री विजयकुमार गच्छदारको प्रतिस्पर्धा रहेको छ ।

पछिल्लो मतगणनाको सार्वजनिक नतिजानुसार चौधरीले २९ हजार ३२६ र गच्छदारले भगवतीभन्दा १५५ मत कम अर्थात् २९ हजार १७१ मत प्राप्त गरेका छन् ।

टीकापुर हत्याकाण्डका अभियुक्त चौधरी विजयी: भेटिए पक्राउ र अदालतमा पेश-प्रहरी

धनगढी, मंसिर २६ । टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा ३४ हजार ३४१ मत प्राप्त गरी विजयी भएका छन् । मंगलबार बिहान घोषणा गरिएको अन्तिम मत परिणामअनुसार चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनकी मदनकुमारी (गरिमा) शाहलाई २० हजार ९३५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निकटतम प्रतिद्वन्द्वी एमालेकी शाह १३ हजार ४०६ र तेस्रो स्थानमा रहेकी काँग्रेस उम्मेदवार ईश्वरी न्यौपानेले ११ हजार २०३ मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्यका लागि प्रदेश नं ७ मा यति ठूलो मतान्तरले विजयी हुने राजपा नेपालका चौधरी पहिलो भएका छन् । चौधरीले वारेसमार्फत मनोनयनपत्र दर्ता गराएका थिए । दुई वर्षअघि भएको टीकापुर काण्डपछि प्रहरीको फरार सूचीमा रहेका चौधरी भारतमा बस्दै आएका छन् । हिंसात्मक टीकापुर घटनामा एक नाबालक र आठ प्रहरीको हत्या भएको थियो । चौधरीले सामाजिक सञ्जाल र भिडियो क्लिपको प्रयोग गरेर आफ्ना समर्थकलाई चुनावी प्रचारमा परिचालन गरेका थिए । निर्वाचित चौधरीको प्रमाणपत्र तथा शपथ लिने विषयमा कानूनी व्यवस्था निर्वाचन आयोगको निर्णयबमोजिम हुने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले अभियुक्त चौधरीलाई भेटिएमा पक्राउ गरिने जानकारी दिए । “भेटिए भने कानूनबमोजिम उनी पक्राउ हुन्छन् र अदालतमा पेश हुन्छन्”, घिमिरे भने । प्रमाणपत्र हस्तान्तरण गर्न असहज विजयी चौधरीलाई विजयी प्रमाणपत्र हस्तान्तरण गर्न सहज अवस्था नभएको निर्वाचन अधिकृत खिमानन्द भुसालले बताए । “विजयी भएको प्रमाणपत्र बुझ्न भनी उहाँकी श्रीमती र आफन्त बिहान कार्यालयमा आउनुभएको थियो” भुसालले भने, “कानूनी व्यवस्थाबारे उहाँहरुलाई जानकारी गराएर फर्काइदिएँ ।” विजयी हुनेले आफैँ कार्यालयमा उपस्थित भएर विजयी भएको प्रमाणपत्र बुझ्नुपर्ने, उपस्थित हुन नसकेमा घरठेगानामा प्रमाणपत्र पठाउनुपर्ने र प्रमाणपत्र पनि पठाउन नसक्ने अवस्था देखिएमा प्रमाणपत्र आयोगलाई हस्तान्तरण गरिने भुसालले बताए । प्रदेशमा चौधरी र डा रावल निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क मा राजपाकै कृष्णबहादुर चौधरी १२ हजार १८४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जनकराज चौधरीले नौ हजार ३०८ मत प्राप्त गरे । प्रदेशसभा (ख) तर्फ काँग्रेसका डा रणबहादुर रावल नौ हजार ४३४ मतले विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नेपबहादुर चौधरीले आठ हजार ९०६ मत प्राप्त गरे । यता विवादका कारण निर्वाचन क्षेत्र नं २ को मतगणना रातिदेखि स्थगन भएको छ । मतदान अधिकृतले उपलब्ध गराएको मतको तथ्यांकभन्दा मतपेटिकामा केही मत कम फेला परेपछि विवाद भएको निर्वाचन अधिकृत शिवहरि पौड्यालले बताए । विवाद समाधानको प्रयास भइरहेको छ ।

चितवनलाई लालकिल्ला बनाई विजय जुलुस निस्कियो

चितवन, मङ्सिर २६ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारले ऐतिहासिक नतिजा ल्याउँदै चितवन जिल्लालाई लालकिल्ला बनाएपछि सोमबार भरतपुरदेखि नारायणगढसम्म विजय जुलुस निकालिएको छ । विजय जुलुसमा प्रतिनिधि सभा सदस्य पदमा विजयी तीन क्षेत्र र प्रदेश सभा सदस्य पदमा विजयी ६ क्षेत्रका विजयी वाम उम्मेदवार सहभागी थिए । मतगणनास्थल चितवन माध्यमिक विद्यालय परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको विजयी प्रमाणपत्र वितरण कार्यक्रम सकिएपछि सोही ठाउँबाट विजय जुलुस सुरु भएको थियो । जुलुसमा चितवनका सबै निर्वाचन क्षेत्रबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ता र सर्वसाधारणको ठूलो संख्यामा सहभागिता रहेको थियो । भरतपुरबाट सुरु भएको विजय जुलुस लायन्सचोक, शहिदचोक, पुलचोक, मेनरोडहुँदै पोखरा बसपार्कमा पुगेर टुंगिएको थियो । जुलुसका सहभागीहरुले नवै ठाम वामै वाम, चितवन जिल्ला लाल किल्ला लगायतका नारा लगाएका थिए । जुलुसको कारण भरतपुर र नारायणगढ क्षेत्रमा केहीबेर यातायात आवागमनमा समस्या हुँदा सडक जामको अवस्था देखिएको थियो ।

ऐतिहासिक एकलौटी जित निकाल्दै वामगठबन्धन

चितवन, मङ्सिर २६ । ऐतिहासिक एकलौटी जित निकाल्दै वाम गठबन्धनका उम्मेदवारले चितवन जिल्लालाई लाल किल्ला बनाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएसँगै चितवन जिल्ला लाल किल्ला बनेको हो । अन्तिम मतपरिणाम यस्तो छः क्षेत्र नम्बर एक निर्वाचत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र पाण्डे विजयी भएका छन् । पूर्वअर्थमन्त्री पाण्डेले नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४३ मतको फराकिलो मतान्तरले पराजित गरे । एमालेका पाण्डेले ५० हजार ८ सय ९७ मत पाउँदा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत पाए । यस क्षेत्रबाट पाण्डे दोस्रोपल्ट निर्वाचित भएका हुन् । यसअघि पाण्डेले यो क्षेत्रमा गरेको विकास निर्माणका कामको सबैले प्रशंसा गरेका छन् । यसअघि संविधान निर्माणमा समय खर्चिएर पनि भौतिक निर्माणका काम गर्न सफल भएको बताउँदै पाण्डेले अब सबै ध्यान समृद्धिमा दिने प्रतिवद्धता जनाएका छन् । निर्वाचन क्षेत्र नं। एकको प्रदेश सभा क मा वाम गठबन्धनका उम्मेदवार दावा लामा विजयी भएका छन् । लामाले कांग्रेसका धनबहादुर गुरुङलाई ७ हजार २९ मतले पराजित गरे । लामाले २३ हजार २३ मत पाउँदा गुरुङले १५ हजार ९ सय ९४ मत पाए । क्षेत्र नं। एककै प्रदेश सभा ख मा वाम उम्मेदवार कृष्णप्रसाद खनाल २७ हजार २ सय ३१ मतका साथ विजयी भएका छन् । उनले कांग्रेसका उत्तम आचार्यलाई ८ हजार ७ सय २१ मतले पराजित गरे । आचार्यले १८ हजार ५ सय मत पाएका छन् । क्षेत्र नम्बर दुई निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनकै कृष्णभक्त पोख्रेल विजयी भएका छन् । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मतको फराकिलो अन्तरले पराजित गर्दै पोख्रेल विजयी भएका हुन् । एमालेका पोख्रेलले ४४ हजार ६ सय ७० मत पाउँदा काँग्रेसकय अधिकारीले २७ हजार ३ सय १४ मत पाए । नवनिर्वाचित पोख्रेलले सबैसँग मिलेर समृद्धिको बाटोमा सँगै हिँड्ने बताएका छन् । यस क्षेत्रको प्रदेश सभा क मा माओवादी नेता घनश्याम दाहाल विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका जिल्ला सभापति जीतनारयण श्रेष्ठलाई ४ हजार ७ सय १८ मतान्तरले पराजित गरे । वाम गठबन्धनका दाहालले २० हजार ३ सय ७१ मत पाउँदा श्रेष्ठको पक्षमा १५ हजार ३ सय ६३ मत खस्यो । शीर्ष नेतृत्व नै यसपटक पराजयको शिकार भइरहेका बेला आफूलाई खासै अनौठो नलागेको बताउने श्रेष्ठले यसबाट केन्द्रदेखि स्थानीयस्तरसम्म समीक्षा गर्दै आगामी दिनमा अघि बढ्ने बताए । क्षेत्र नं.दुईको प्रदेश सभा ख मा निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाश अधिकारीलाई ८ हजार ९ सय २ मतले पराजित गर्दै एमालेका विजय सुवेदी विजयी भएका छन् । सुवेदीले २१ हजार ५ सय ७२ मत पाउँदा अधिकारीले १२ हजार ६ सय ७० मत पाए । क्षेत्र नम्बर तीन क्षेत्र नम्बर तीनबाट वाम गठबन्धनका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार तीन सय ४१ मतको फराकिलो मतान्तरले पराजित गर्दै प्रचण्ड विजयी भएका हुन् । पूर्वप्रधानमन्त्री प्रचण्डले ४८ हजार २ सय ७८ मत पाउँदा पाण्डेले ३८ हजार ९ सय ३५ मत पाए । प्रचण्ड वाम गठबन्धनको साझा उम्मेदवार बनेर निर्वाचनमा होमिएसँगै चितवन क्षेत्र नम्बर तीनको चुनावी सरगर्मी ह्वात्तै बढेको थियो । प्रदेश सभा क मा वाम उम्मेदवार कृष्ण भुर्तेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका दिनेश कोइरालालाई १ हजार ७ सय ४० मतको अन्तरले पराजित गर्दै एमालेका भुर्तेल विजयी भए । चितवनका ९ वटा क्षेत्रमध्ये अन्य क्षेत्रमा भन्दा कम मतान्तरले विजयी हुनु भएका भुर्तेलले २४ हजार ७ सय ८५ मत पाउँदा काँग्रेसका कोइरालाले २३ हजार ४५ मत पाए । क्षेत्र नम्बर तीनको प्रदेश सभा ख मा वाम उम्मेदवार रामलाल महतो लोकतान्त्रिक गठबन्धनका साजनकुमार महतोलाई ९ हजार १ सय १६ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । रामलालले २५ हजार ६१ मत पाउँदा साजनले १५ हजार ९ सय ४५ मत पाए । रामलाल र साजन मामाभाञ्जा हुन् । प्रदेश सभा सदस्य पदमा निर्वाचित भएपछि रामलालले मामाभाञ्जाको सम्बन्धमा अलिकति पनि चिसोपना नआउने बताए । ‘हिजोदेखिको सम्बन्ध आज पनि छ, भोलि पनि रहिरहन्छ’ रामलालले भने, ‘यो राजनीतिक प्रतिस्पर्धामात्रै हो । हामी मिलेर अघि बढ्छौँ । भाञ्जाले मलाई बधाई पनि दिनु भएको छ ।’ समृद्धिको सपना अब पूरा हुने पहिलोपल्ट गृहजिल्लाबाट उम्मेदवारी दिनु भएका प्रचण्डले अब नेपाल इतिहासको नयाँ युगतर्फ प्रवेश गरेको बताएका छन् । धेरै वर्षदेखिको समृद्धिको सपना अब पूरा हुने पनि दाबी गरे । उहाँ यसअघि रोल्पा–काठमाण्डौँ र सिरहाबाट चुनाव लडेका थिए । प्रचण्डको जितसँगै चितवनको सबै स्थानमा वाम गठबन्धनले जितेको छ । जिल्लामा रहेको ३ वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभा सदस्य गरी ९ वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । विजयी उम्मेदवारलाई सबैजसो पराजित उम्मेदवारले भेटेरै खादा र अबिर लगाई बधाई दिएर सौहाद्र्रता देखाएका छन् । यसलाई सबैले राम्रो राजनीतिक संस्कार बसालेको भन्दै प्रशंसा गरेका छन् । तीन लाख ५४ हजार ३६ मतदाता रहेको चितवनमा ७३ प्रतिशत मत खसेको थियो । प्रचण्डसहित सबै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका सदस्यलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार एक समारोहबीच विजयी भएको प्रमाणपत्र वितरण गरेको छ । सफलखबरबाट साभार

सरकार गठन, पार्टी एकता र कम्युनिष्ट अान्दाेलनबारे प्रचण्डसंगकाे स‌ंवाद (भिडियाे)

माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड अाफ्ना मतदातालाई धन्यवाद दिन चितवन-३ का गाउँ बस्तीमा घरदैलाे गर्ने कार्यक्रममा व्यस्त छन् । यहि क्रममा सरकार गठन, पार्टी एकता र कम्युनिष्ट अान्दाेलनबारे लिइएकाे अन्तरवार्ता यहाँ प्रस्तुत गरिएकाे छ । थप भिडियाेमे हेराैँ ।   

महत भारी मतले पछाडि

नुवाकोट, मंसिर २३ । नुवाकोट क्षेत्र १ मा नेकपा माओवादी केन्द्र उम्मेदवार हितमान तामाङले मत अन्तरलाई बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार तामाङले नेपाली कांग्रेसका उम्मेदवार रामशरण महतलाई ३७ सय मतले पछि पारेका हुन । तामाङले १८०२१ मत प्राप्त गरेर अगाडि छन् भने उनलाई खड्काले १४२४९ मत ल्याएर पछ्याईरहेका छन् ।

पूर्व गृहमन्त्री खड्का पनि २५ सय मतले पछि

सुर्खेत, मंसिर २३ । सुर्खेतको क्षेत्र १ मा पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कालाई पछि पार्दै वाम गठबन्धनका एमाले उम्मेदवार ध्रुबबहादुर शाहीले अग्रता लिइरहेका छन् । शाही २४ सय बढी मत अन्तरले अगाडि रहेका छन । पछिल्लो मतपरिणाम अनुसार एमालेका शाही १९९६८ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् । भने कांग्रेसका पूर्वसहमहामन्त्री समेत रहेका खड्काले १७५४७ मत प्राप्त गरी शाहीलाई पछ्याई रहेका छन् ।

काठमाडौँ ३ प्रदेश (क)मा काँग्रेसका लामा विजयी

काठमाडौँ, मंसिर २३ । काठमाडौँ क्षेत्र नं ३ को प्रदेश (क)मा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका प्रदेशसभा उम्मेदवार छिरिङदोर्जे लामा छ हजार ४४८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका रुद्रबहादुर बराइलीले पाँच हजार ३३५ मत पाउनुभएको काठमाडौँ क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत बाबुराम भट्टराईले राससलाई जानकारी दिनुभयो । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०का विशाल न्यौपानेले एक हजार ३०५ मत पाउनुभयो । अहिले प्रदेश (ख)को मतगणना भइरहेको छ । प्रदेश (ख)मा वाम गठबन्धन झिनो मतले अगाडि छ । वाम गठबन्धनका रामेश्वर फुयाँलले दुई हजार ५०७ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई पछ्याउँदै काँग्रेसका विमल ठकुरीले दुई हजार ४४९ मत पाउनुभएको छ । दुई घण्टामा अन्तिम परिणाम सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ । काठमाडौँ ६ मा वामको अग्रता काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनको अग्रता छ । गठबन्धनका झक्कु सुवेदीले १२ हजार ३०१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका भीमसेनदास प्रधानले ११ हजार ६८८ मत पाउनुभएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिनुभयो । अहिलेसम्म २९ हजार मतगणना भइसकेको उहाँले बताउनुभयो । तेस्रो स्थान विवेकशील साझा पार्टीले ओगटेको छ । विवेकशीलका रमेश सिलवालले दुई हजार ३९२ मत पाउनुभएको छ । आज बेलुकीसम्म काठमाडौँ–६ को प्रतिनिधिसभाको मतगणना सकेर परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको उहाँले बताउनुभयो । यो क्षेत्रमा पर्ने तारकेश्वर र टोखा नगरपालिकाको मतगणना सकी काठमाडौँ महानगरपालिका २६, २७ र २८ को मतगणना शुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा ४२ हजार ३९९ मत मत खसेको निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो ।  

झापा १ मा कार्कीको अग्रता कायमै

झापा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीको अग्रता कायमै रहेको छ । पछिल्लो ताजा मतपरिणाम अनुसार कार्की नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा भन्दा ८२५ मतले अगाडि रहेका छन् । कार्कीे १६०५८ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् । भने उनलाई शर्माले १५२३३ ल्याएर पछ्याई रहेका छन् ।

पाल्पामा वामगठबन्धन अगाडि

पाल्पा, मंसिर २३ । पाल्पामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ वाम गठबन्धनका उम्मेदवार अग्र स्थानमा रहेका छन् । पछिल्लो मत गणनाअनुसार क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका दलबहादुर रानाले ९ हजार ७९२ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका विजयराज घिमिरेले तीन हजार ७२२ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं १ प्रदेश ‘क’ एमालेका युवराज खनालले ६ हजार ४७० मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका देवराज ढकालले तीन हजार ८८९ मत प्राप्त गर्नुभएको छ । प्रदेश ‘ख’ मा एमालेका नारायणप्रसाद आचार्यले ६ हजार २८२ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका दानबहादुर पछाइले दुई हजार ५३ मत प्राप्त गर्नुभएको छ । यसैगरी, क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट एमालेका सोमप्रसाद पाण्डेयले १७ हजार ४६९ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका हरिप्रसाद नेपालले १० हजार ४३८ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं २ प्रदेश ‘क’ मा एमालेका पुरन बज्राचार्यले ८ हजार ६५ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका माधव नेपालले पाँच हजार २८ मत प्राप्त गर्नुभएको छ । यस्तै, प्रदेश ‘ख’ मा माओवादी केन्द्रका तुलाराम घर्ती १० हजार ३१५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने काँग्रेसका राम कार्की ६ हजार ३१ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । शुक्रबार दिउँसो १ वजेदेखि पाल्पा दरबारमा मतगणना शुरु भएको हो । रासस  

काठमाडौँ क्षेत्र १० बाट केसी विजयी

काठमाडौँ, मंसिर २३ । काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसी २४ हजार १९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गर्नुभएको छ । नेता केसी विस २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँ युवा खेलकुदमन्त्रीसमेत हुनुहुन्छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गतसो क्षेत्रबाट ५५ हजार ११० मत खसेकामा ५३ हजार ३४१ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जाजरकाेटमा वामगठबन्धनकाे क्लिन स्वीप पूर्वगृहमन्त्री बस्नेत भारी अन्तर विजयी

जाजरकोट, मंसिर २३ । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत भारी मत प्राप्त गरी विजयी भएका छन् । बस्नेतले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मदवार राजीवविक्रम शाहलाई करिब नौ हजार मतान्तरले पराजित गरेका हुन । प्रदेश नं ६ का माओवादी केन्द्रका इन्चार्ज समेत रहेका बस्नेतले ३२२८१ मत प्राप्त गरी विजयी भएका हुन । भने उनका निकटतम प्रतिद्वन्द्वी शाहले २३२८९ मत प्राप्त गरेका थिए । त्यस्तै प्रदेश (क) मा वाम गठबन्धनबाटै माओवादी केन्द्रका गणेशप्रसादसिंह विजयी भएका छन् । सिंहले १६ हजार ९११ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम्मेदवार वेदराज सिंहले १२ हजार ८७८ मत प्राप्त गरे । प्रदेश (ख) मा वाम गठबन्धनकै एमालेका करबीर शाही विजयी भएका छन् । शाहीले १५ हजार १८५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गरेर पराजय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ ।

३० हजार बढी मतान्तरले पार्वत गुरुङ बिजयी

दोलखा, मंसिर २३। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सार्वजनिक भएका मध्ये सबैभन्दा बढी मतान्तरले दोलखामा वाम गठबन्धनका उम्मेदवार एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । केही बेर अगाडि सार्वजनिक भएको मत परिणाम अनुसार एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरसहित विजयी भएका हुन । गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३० हजार १५३ रहेको छ । एमाले केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज गुरुङ यसअघि ०७० सालमा दोलखा १ बाट निर्वाचित भएका थिए । यसैबीच दोलखाको प्रदेशसभा १ बाट माओवादीका विशाल खड्का बिजयी भएका छन् । खड्काले २८ हजार ३५० मत प्राप्त गरेर बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत पाएका छन् । प्रदेशसभा २ तर्फ एमालेका पशुपति चौलागाईको बिजय घोषणा हुन बाँकी छ । उनको जित निश्चित भइसकेको छ ।

राप्रपाका कमल थापा दुई हजार मतले पछि परे

मकवानपुर, मंसिर २३ । मकवानपुरमा वाम गठबन्धनका एमाले उम्मेदवार कृष्ण दाहालले राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापासँगको मतान्तरलाई थप फराकिलो बनाउदै लगेका छन् । शुरुवातमा अग्रता लिएका कमल थापालाई पछि पार्दै दाहालले अग्रतासँगै मतान्तरलाई बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार थापा भन्दा करिब दुई हजार मतले पछि परेका हुन । ताजा मत परिणाम अनुसार दाहालले १८०८२ मत प्राप्त गरी अग्रस्थानमा छन भने उनलाई कमल थापालेले १६२५३ प्राप्त गरी पछ्याई रहेका छन । त्यसैगरी प्रदेशसभा (क) धर्म लामिछाने, कांग्रेस १२१२३ प्रेम पुलामी, माओवादी केन्द्र ११९८३ प्रदेशसभा ख डोरमणी पौडेल, एमाले ११५५९ अशोक शाक्य, कांग्रेस १०३७५

मोरङ ४ मा माओवादीका अमनलाल मोदी विजयी

मोरङ, मंसिर २३ । मोरङका क्षेत्र नं ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाई मोदी विजयी भएका छन् । वाम गठबन्धनका उम्मेदवार मोदीले नेपाली कांग्रेसका महेश आचार्यलाई पराजित गरेका हुन मोदीेले करिब सात हजार मतान्तरले पूर्व मन्त्रीसमेत रहेका कांग्रेसका प्रभावशाली नेता आचार्यलाई पराजित गरेका हुन । मोदप्ले ३३५२९ मत प्राप्त गरी विजयी भएका हुन । भने उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले २६८०० मत प्राप्त गरेका थिए ।

खनाल र नेम्बाङ भारी मतले अगाडि

इलाम, मंसिर २३ । इलाममा वाम गठबन्धनको अग्रता कायमै रहेको छ । एमालेका बरिष्ठ नेता झलनाथ खनाल र पूर्व सभामुख सुभाष नेम्बाङ उम्मेदवार भारी मतान्तरले अगाडि रहेका छन् । पछिल्लो ताजा मतपरिणाम अनुसार इलाम क्षेत्र नं १ मा एमालेका उम्मेदवार झलनाथ खनाल १३१७६ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन । भने उनलाई नेपाली कांग्रेसका भुपेन्दै खत्रीले ७५९४ मत प्राप्त गरी पछ्याई रहेका छन् । त्यसैगरी इलाम क्षेत्र नं २ मा एमालेका सुभाषचन्द्र नेम्बाङ १३०५७ मत ल्याएर अगाडि छन् भने उनलाई कांग्रेसका केशव थापाले ९१७१ मत प्राप्त गरी पछ्याई रहेका छन् ।