नेपाली र अंग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, जेठ ३१ । शिक्षक सेवा आयोगले आज (शुक्रबार) खुला प्रतियोगितात्मक परीक्षातर्फ निम्न माध्यमिक तह अन्तर्गत ४ क्षेत्रको नेपाली र अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज निम्न माध्यमिक तह अन्तर्गत पूर्व र मध्यमाञ्चल क्षेत्रको अंग्रेजी विषयको तथा सुदूरपश्चिम र मध्यपश्चिमाञ्चलको नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो ।

पूर्वाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मध्यमाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सुदूरपश्चिम क्षेत्रको नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मध्यपश्चिमाञ्चल क्षेत्रको नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

जान्नुहोस्, परीक्षा तयारीका ७ टिप्स

काठमाडौंः यस दुुनियाँमा परीक्षालाई रमाइलो मान्ने विद्यार्थी भेट्टाउन निकै कठिन छ । तर सही तरिका समातेर गरिएको परीक्षा तयारीले उत्कृष्ट नतिजा दिने गरेको विभिन्न अध्ययनले देखाएको छ । जुनसुकै तहको परीक्षा तयारी गरिरहेका भए पनि विद्यार्थीले तयारीअघि केही यस्तो तरिका समात्नुपर्छ जसले उनीहरूलाई परीक्षामा आनन्द प्रदान गर्नुको साथै सोचेजस्तै नतिजा ल्याउनसमेत मद्दत गर्दछ । अध्ययनका लागि पर्याप्त समयपरीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई परीक्षा आउनुुभन्दा अन्तिम एक मिनेट पनि निकै महत्वपूर्ण हुन्छ । त्यसैले विद्यार्थीले सबैभन्दा पहिला आफूले दिनुुपर्ने परीक्षा कतिवटा छन् र ती परीक्षामध्ये कुन विषयलाई कति समय दिने भन्ने योजना विद्यार्थीले पहिले नै बनाउनुपर्छ । कहिलेकाहीँ कुनै विषयलाई धेरै समय र कुुनैलाई थोरै समय पनि दिनुपर्ने हुुन्छ । यसको हिसाब तयारीको योजना बनाउने बेलामा गर्नुपर्छ । यसो गर्नाले विद्यार्थीलाई आनन्द प्रदान गर्नुका साथै सोचेजस्तो नतिजासमेत प्रदान गर्दछ । अध्ययन कक्षमा पर्याप्त स्थानपरीक्षाको तयारीका लागि होस् अन्य जुनसुकै विषय अध्ययन गर्न बसेका विद्यार्थीका लागि पनि अध्ययन कक्ष पर्याप्त हुनुपर्छ । अध्ययनका क्रममा विद्यार्थीले आवश्यकताअनुसार प्रशस्त किताब र कापी प्रयोग गर्नुपर्ने हुन्छ । प्रयोगका क्रममा यी सामग्रीहरू यताउति छरिन्छन् । यो सामान्य कुरा हो । यसका लागि स्थान पर्याप्त स्थान चाहिन्छ । अध्ययन कक्षमा कम्प्युटर, बत्ती, कुर्सी आदि सामग्रीलाई सजिलो हुनेगरी राख्नुुपर्छ । कोही विद्यार्थी अध्ययनका क्रममा गीतसंगीत बजाउने बानी परेका हुन्छन् । कुनै विद्यार्थी अत्यन्त शान्त भएर बस्ने हुन्छन् । चार्ट र डायग्रामको प्रयोगकुनै विषयवस्तु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पुर्‍याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उतारेर राख्नुपर्छ । जसलाई आफूले चाहेको र सम्झन खाजेको अवस्थामा सहजै हेर्न सकियोस् । पुराना प्रश्नपत्रको अध्ययनपरीक्षा तयारी गर्दा विद्यार्थीले सधैं सम्झनुुपर्ने विषय हो, पुराना प्रश्नपत्रको अध्ययन । यसो गर्दा परीक्षाको कस्तो फरम्याटमा आउँछ? उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरू बढी महत्वपूर्ण हुन्छन् भन्ने जान्न सहज हुन्छ । कस्तो प्रश्नलाई कति समय दिएर लेख्ने भन्ने जान्न पनि यसले सहयोग पुर्‍याउँदछ । आफूले जानको कुरालाई साथीभाइलाई भन्नेभनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुुस्तक अध्ययन गरेरभन्दा आफूले जानेको कुरा अरूलाई भन्दा बढी प्रभावकारी हुन्छ । त्यसैले साथी, दाजुभाइ, दिदीबहिनी वा आमाबाबुलाई नै भने पनि आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउने गर्नुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुक्ति पाइन्छ । समूहगत अध्ययन गर्नेपरीक्षा तयारी गर्दा साथीभाइसँग पर्याप्त भेटघाट गर्नुुपर्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले अन्य साथीलाई सोध्न सकिन्छ । यसो गर्दा पनि पढेको कुरा स्पष्टसँग बुझ्न सकिन्छ । त्यसबाहेक साथीबाट नयाँ जानकारी पाउन पनि सकिन्छ । नियमित ब्रेक लिनेकुनै मानिस म्याराथनको तयारीमा लागेको छ भने उसले २४ घन्टा नै दौडन सक्दैन र दौडनुु पनि हुँदैन । यसैगरी परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुुस्तक र नोट बुकमा मात्र केन्द्रित हुनु पनि हुुँदैन । यसले गर्दा उनीहरूलाई दौड परीक्षा आयो भन्दैमा दिन रात नभनी पढाइमा मात्र केन्द्रित हुनुहुुदैन । नियमित रूपमा ब्रेक लिनुपर्छ ।रातमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले दिनमा धेरै थकाई मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले रातमा थकाई मार्ने गर्नुुपर्छ । जुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुपर्छ । यसबाहेक उनीहरूले नियमित पानी पिउने, हलुका खानेकुरा खाने गर्नुपर्छ । अन्नपूर्ण पोस्ट् दैनिकबाट

शिक्षकले नपढाउँदा विद्यार्थी धमाधम विद्यालय छाड्न बाध्य

जाजरकोट, जेठ ५ । त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ । तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् । प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी उहाँकी श्रीमती छोराको विवाहमा गएको लामो समय बिते पनि अहिलेसम्म विद्यालयमा फर्केका छैनन् । त्यस्तै अर्का शिक्षिका चन्द्ररुपा थापाले फागुनदेखि अहिलेसम्म विद्यालयमा पाइला टेकेका छैनन् । थापाले अघिल्लो वर्षसमेत ८ महिना विद्यालय नआएर तलब खाएको स्थानीयवासीले बताएका छन् । प्रधानाध्यापक र उनकी श्रीमती छोराको विवाहमा महिना दिनअघि गएको र अहिलेसम्म विद्यालय नआएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्न नेवारले बताए । शिक्षक विद्यालयमा नआउँदा दैनिक पढार्इ प्रभावित हुँदै आएको छ । विद्यालयमा नियमित पढाइ नहुँदा र शिक्षकको लापरवाहीको शिकार हुँदा यहाँ पढ्ने विद्यार्थी नजिकै रहेको त्रिपुराकोट मावि मदुमा गएर पढ्न बाध्य भएको विद्यार्थी राम थापाले बताए । प्रधानाध्यापक र उनको श्रीमतीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । विद्यालयमा नपढाउने शिक्षकलाई तलब कसरी दिइन्छ त ? भन्ने प्रश्नमा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख ओमबहादुर बुढाले भने, ‘प्रक्रियावद्ध रूपमा विद्यालय र वडा कार्यालयबाट सूचना र प्रमाण पेश गरेमा तत्काल त्यस्ता शिक्षकको तलब रोकिने छ ।’ स्थानीय सरकार गठन भएसँगै स्थानीय सरकारले सबै हेर्दै आएकाले विद्यालय अनुगमनमा समस्या देखिएको शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाका प्रमुख सिंहराज डाँगीले बताए । यो त प्रतिनिधिमूलक घटनामात्र हो, डोल्पाका अधिकांश विद्यालयमा शिक्षकले विद्यालयमा पढाउने भन्दा पनि व्यक्तिगत काममा समय खर्चिने गरेका छन् । रासस

विश्वविद्यालयका पदाधिकारीका लागि नयाँ योग्यता र मापदण्ड

काठमाडौं जेठ २ । ठूला विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति र साना विश्वविद्यालयको उपकुलपति उपराष्ट्रपति हुने व्यवस्था गर्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले कुलपति प्रधानमन्त्री हुने ब्यवस्था परिवर्तन गरी राष्ट्रपति र उपराष्ट्रपति राख्न सिफारिस गरेको हो । कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुझाएको प्रतिवेदनमा साना विश्वविद्यालयसहित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपराष्ट्रपति कुलपति हुने व्यवस्था गर्न सिफारिस गरेको छ । सबै विश्वविद्यालयको समन्वयका लागि सहकुलपतिमा शिक्षामन्त्री नै हुनुपर्ने कार्यदलले सिफारिस गरेको छ । कार्यदलको सिफारिस कार्यान्वयन गर्न विश्वविद्यालयका ऐन तथा नियम संशोधन गर्नुपर्ने मन्त्रालयका अधिकारीको भनाई छ । प्रधानमन्त्री व्यस्त हुने र सबै विश्वविद्यालयलाई समय दिन कठिन हुने भएकाले कुलपतिमा राष्ट्रपति र उपराष्ट्रपति सिफारिस गरेको कार्यदलका एक सदस्यले बताए । शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालको संयोगकत्वमा मन्त्रालयले कार्यदल गठन गरेको थियो ।  कार्यदलले कुलपति, सहकुलपति, सेवा आयोगका अध्यक्ष, रेक्टर, रजिस्ट्रार, डिन र कार्यकारी निर्देशकलाई पदाधिकारी मानेर नियुक्तको मापदण्ड र आधार सिफारिस गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘सिफारिस गरेको मापदण्ड कार्यान्वयन भएमा प्रतिस्पर्धामा आधारित नियुक्ति हुने र योग्य व्यक्ति आउनुका साथै पारदर्शिता कायम हुनेछ ।’ उपकुलपतिका लागि तीन चरण पार गर्नुपर्ने कार्यदलले उपकुलपति छनोटका लागि विस्तृत मापदण्ड तयार पारेको छ । उपकुलपतिका लागि तीन चरणको प्रक्रिया पूरा गर्नुपर्ने मापदण्ड तय भएको छ । विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन उपकुलपति नियुका लागि न्यूनतम योग्यता, अनुभव र मापदण्ड तथा त्यसबापत प्राप्त हुने अंक भारसमेत कार्यदलले प्रस्ताव गरेकोे छ ।  उपकुलपतिमा नियुक्तिको सिफारिस गर्न बहालवाला उपकुलपतिको कार्यकाल समाप्त हुनुभन्दा कम्तीमा ६ महिनाअगावै विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा सात सदस्यीय सर्च कमिटी गठन गर्न सिफारिस गरेको छ । उपकुलपति पदका लागि सम्भाव्य उम्मेदवारले पेस गरेको कार्ययोजना मूल्यांकनका लागि छुट्टै विज्ञ समिति गठन गर्नसमेत प्रस्ताव गरिएको छ ।  पेस भएका कार्ययोजनाको मूल्यांकन गर्न सर्च कमिटीले विज्ञहरूको कार्यदल गठन गर्नेछ । कार्यदलले पेस भएका कार्ययोजनाको मूल्यांकन गरी उत्कृष्टताका आधारमा तीनजनाको नाम सहकुलपतिमार्फत कुलपतिसमक्ष पेस गर्नुपर्नेछ । सिफारिस उम्मेदवारमध्येबाट सर्वोत्कृष्ट योग्यता प्राप्तलाई कुलपतिबाट उपकुलपतिमा नियुक्त गरिने व्यवस्था गर्न सुझाब दिइएको छ । प्रथम चरणको छनोट सूचीमा सूचीकृत हुन न्यूनतम ७० प्रतिशत प्राप्तांक ल्याएका उम्मेदवारमध्ये बढीमा सातजनाको नाम सार्वजनिक रूपमा प्रकाशित गर्नुपर्ने सिफारिस कार्यदलको छ ।   शिक्षाध्यक्ष छनोटका आधार र मापदण्ड शिक्षाध्यक्षका लागि तल्लो तहमा अनुभवप्राप्त व्यक्तिलाई नियुक्त गर्दा उपयुक्त हुने कार्यदलले सिफारिस गरेको छ । डिन, सहायक डिन वा केन्द्रीय विभागको विभागीय प्रमुखका रूपमा पूरा एक कार्यकाल काम गरेको अनुभवप्राप्त व्यक्ति मात्र विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा नियुक्ति हुन सक्ने व्यवस्था गर्न उपयुक्त हुने सिफारिस कार्यदलको छ । शिक्षाध्यक्षसभा तथा उपकुलपतिप्रति उत्तरदायी र जवाफदेही हुने व्यवस्था गर्न सिफारिस गरिएको छ । शिक्षाध्यक्षको छनोटका लागि कुलपतिले उपकुलपतिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने र सिफारिसका आधारमा नियुक्त गर्नुपर्ने सुझाव छ ।  रजिस्ट्रार छनोटका आधार र मापदण्ड विश्वविद्यालयको रजिस्ट्रार पद प्राज्ञिकभन्दा पनि आर्थिक तथा सामान्य प्रशासनसँग सम्बन्धित भएकाले छनोटका आधारलाई व्यवस्थापकीय दक्षता र क्षमतासँग सम्बन्धित गरेको छ । रजिस्ट्रार छनोटका लागि कुलपतिले विश्वविद्यालयका उपकुलपतिको संंयोजकत्वमा शिक्षाध्यक्षसहित पाँच सदस्यीय समिति गठन गरी छनोट गर्न उपयुक्त हुने सिफारिस कार्यदलको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

प्लस–टुमा पनि कानून विषयमा पढाइ हुने

काठमाडौं, जेठ १ । प्रवीणता प्रमाणपत्र तह हटेपछि कक्षा ११ र १२ मा कानून विषयमा कक्षा सञ्चालन नभएको स्थितिमा नेपाल विद्यापीठ कलेजले उक्त अभावलाई मेटाउने भएको छ । दस जोड दुई ‘प्लस–टु’ उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्छ । स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे एलएलबी पढ्न सक्नेछन् । वि.सं. २०५८ मा प्रवीणता प्रमाणपत्र तह विस्थापनपछि नेपालमा पहिलोपटक काठमाडौँको बानेश्वरस्थित सो कलेजले ‘प्लस–टु’मै कानून विषय पढाउन थालेको हो । कलेजमा पूर्वन्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ता तथा कानूनी र शैक्षिक क्षेत्रका ज्ञाता आबद्ध छन् । कक्षा ११ र १२ मा ५०० पूर्णाङ्कको यो विषयको ‘प्लस–टु’ पास गरेका विद्यार्थीले सिधै स्नातकमा कानून विषय पढ्न पाउने छन् । काठमाडौँ महानगरपालिकाबाट विद्यालय सञ्चालनको अनुमति लिई यस वर्षदेखि कानून र व्यवस्थापन कक्षा सञ्चालनको तयारी भएको कलेजका प्रिन्सिपल विनोद तिमल्सिनाले बताए ।

‘सामान्य ज्ञानको अध्ययनले करोडपति बनायो’

काठमाडौं, जेठ १ । विराटनगरका राजीव जैन स्कुल पढ्दादेखि नै हाजिरीजबाफमा भाग लिइरहन्थे । त्यहीँबाट सामान्य ज्ञान अध्ययनको जग बसालेका उनले ‘को बन्छ करोडपति?’ मा एक करोड रुपैयाँ जितेका छन्। उनले भने, ‘स्कुल पढ्दा हाजिरीजबाफ, वादविवाद, अतिरिक्त क्रियाकलापमा भाग लिन्थेँ। त्यही बानीले सामान्य ज्ञान अध्ययनमा आकर्षित भएँ। अहिले करोड रुपैयाँ जित्न सफल भएँ।’ एपीवान टेलिभिजनले ‘को बन्छ करोडपति?’ सुरु गरेपछि उनलाई करोडपति बन्न सक्छु भन्ने आँट पलायो । अन्तिम प्रश्नको उत्तर मिलेपछि आफू ‘शब्दविहीन’ भएको उनले बताए । उनले भने, ‘अगाडि महानायक राजेश हमाल हुनुहुन्थ्यो तर मैले केही देखिनँ।’ यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

कार्यालयमा प्रमुख नहुँदा कामकाज ठप्प, सेवाग्राहीलाई सास्ती

सिमकोट, वैशाख ३१ । दुई महिनादेखि जिल्ला मालपोत कार्यालयमा प्रमुख नहुँदा कामकाज ठप्प भएका छन् । पहिलेका कार्यालय प्रमुख सरुवा भएर गएको तथा मन्त्रालयले नयाँ कार्यालय प्रमुख हालसम्म पनि नखटाउदा कार्यालयमा कामकाज सबै ठप्प भएका हुन । एक महिना अगाडिदेखि जग्गाका रजिस्टेसन गर्नका लागि पाँच पटक कार्यालयमा जाँदा कार्यालय प्रमुखको अनुपस्थितीको कारण काम हुन नसकेको सिमकोट गाउँपालिका वडा नं. ६ का अध्यक्ष जयचन्द्र रोकायाले बताए । मालपोत जस्तो बढी काम हुने कार्यालयमा दुई महिनासम्म प्रमुख विहीन बनाएर काम काज प्रभावित हुँदासम्म कसैले ध्यान नदिनु जनताका लागि अभिसाप भएको उनले बताए । वडा अध्यक्ष रोकाया एकजना उदाहरणका लागि लिइएको सेवाग्राही रहेका छन् । उनीजस्तै दैनिक दुई दर्जनभन्दा बढी सेवाग्राहीहरु आउने गरेका छन् । गत चैत पहिलो हप्ता तत्कालीन कार्यालय प्रमुख काम विशेषले काठमाडौं गएको र उनलाई त्यतैबाट कलंकी मालपोतमा सरुवा भएपछि फिर्ता नआएको हाल करारमा जागिर खादै आएका कम्प्युटर अपरेटर मिमसिंह नेपालीले बताए । आएका काम गर्न सकिने भएपनि करारलाई काम गर्न नदिएकोले आउने सेवाग्राहीलाई रित्तो हात फर्काउने गरिएको उनले बताए । बिदाको दिन बाहेक अन्य दिनमा दैनिक जग्गाको कारोवार गर्ने सेवाग्राहीको घुईचो लाग्ने गरेको र सबैलाई रित्तै हात फर्काउने गरेको निमित्त प्रमुख नेपालीले बताए । मन्त्रालयमा कार्यालय प्रमुखको व्यवस्थाका लागि जानकारी लिन खोज्दा हुन्छ भन्ने जवाफ मात्र आउने गरेको उनले बताए । यसअघि मन्त्रालयले दुई जनालाई सरुवा गराएकोमा दुबै जनाले जिल्लामै नआएर अन्तै सरुवा गरेको र अबको एक हप्तामा कर्मचारी जिल्लामा खटाई सक्ने जानकारी मन्त्रालयले दिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए ।

स्थानीय तहद्वारा केन्द्र सरकारसँग १० हजार कर्मचारी माग

काठमाडौं, बैशाख ३१ ।स्थानीय तहले केन्द्र सरकारसँग १० हजार कर्मचारी माग गरेका छन् । कर्मचारी अभावका कारण नियमित कामसमेत प्रभावित भएको गुनासो गर्दै आएका स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग १० हजार चार सय ९२ कर्मचारी माग गरेका हुन् । यही वैशाख पहिलो साता मन्त्रालयले आवश्यकताबमोजिम कर्मचारीको माग पठाउन स्थानीय तहलाई पत्राचार गरेको थियो । २० वैशाखसम्म चार सय ३७ स्थानीय तहबाट १० हजार चार सय ९२ कर्मचारीको माग आएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए । मन्त्रालयका अनुसार स्थानीय तहले माग गरेका कर्मचारीको पूर्तिका लागि लोकसेवालाई पत्राचार गरिएको प्रवक्ता तामाङले बताए । उनका अनुसार बाँकी स्थानीय तहले पनि कर्मचारी माग गरिरहेका छन् । सरकारले स्थानीय तहका लागि ६६ हजार नौ सय आठ दरबन्दी स्वीकृत गरेको छ । स्थानीय तहले हाल स्वीकृत दरबन्दीको झन्डै आधा संख्यामा मात्र कर्मचारी पाएका छन् । मन्त्रालयको प्रस्तावमा लोकसेवाको प्रश्न सरकारले आगामी साउनभित्रै नयाँ कर्मचारी भर्ना गरेर अभाव पूर्ति गर्ने बताएको छ । तर, पछिल्लो समय लोकसेवा आयोगले कर्मचारी नियुक्तिमा कानूनी प्रश्नको निरुपण खोजेको छ । आयोगले मन्त्रालयलाई पत्राचार नै गरेको छ । कर्मचारी नियुक्तिमा प्रदेश र स्थानीय तहको कानुन नभएको, प्रदेशपिच्छे समावेशिताको सिद्धान्तलाई कसरी अवलम्बन गर्ने, तहगत र श्रेणीगत कर्मचारी व्यवस्थापनलगायतमा लोकसेवाले प्रश्न उठाएको छ । स्वाभाविक प्रक्रियाबाट अघि बढे पनि लोकसेवालाई कर्मचारी नियुक्तिका लागि अझै करिब ६ महिना लाग्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । नयाँ पत्रिका दैनिकबाट

बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्बजनिक गरेको छ । त्रिविले २०७५ भाद्र महिनामा संचालित ४ बर्षे बिबिएस प्रथम वर्षको नतिजा आइतबार सार्वजनिक गरेको हो । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखेर एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने छ ।

तीन विषयको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, वैशाख २९ । शिक्षक सेवा आयोगले माध्यमिक तह अन्तर्गत (खुल्लातर्फ) विभिन्न विषयको लिखित परीक्षाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिबार एक सूचना जारी गर्दै मावि तहको सााजिक, नेपाली, गणित विषयको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको हो । साविक पाँच विकास क्षेत्रमध्ये पूर्वाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको सामाजिक विषयको र मध्यमाञ्चलको गणित र नेपाली विषयको पुनर्योग नतिजा सार्वजनिक भएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

शिक्षा मन्त्री भन्छन्, ‘अंग्रेजी पढाउने लोभमा विद्यार्थीलाई बिगार्ने काम भएको छ’

झापा, वैशाख २९ । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताएका छन् । उनले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार लागि परेको स्पष्ट पारे । आज विर्तामोड–५ मा महेन्द्ररत्न माविको नमूना विद्यालयको शिलान्यास गर्दै मन्त्री पोखरेलले शिक्षामा छलफल, सुधार र क्रान्तिको आवश्यकता औंल्याए । ‘नमूना विद्यालयको मूल उद्देश्यलाई आत्मसात गर्न जरुरी छ’ उनले भने, “सार्वजनिक शिक्षाले वर्गको अन्त्य गर्नुपर्छ ।’ देश कता जाने त्यसको फैसला सार्वजनिक शिक्षाले गर्ने बताएका मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई आशा र भरोसाको केन्द्र बनाउन नमूना विद्यालयको अवधारणा अघि सारिएको उनले दोहोर्याए । ‘विद्यालयले नै शिक्षामा विभेद गरेको छ, अब त्यसको अन्त्य गर्नुपर्छ’ उनले भने, ‘अङ्ग्रेजी पढाउने लोभमा विद्यार्थीलाई बिगार्ने काम भएको छ सबै विद्यालयमा नेपाली विषय पनि पढाइ हुनुपर्छ ।’ अङ्ग्रेजी पढ्न जानेका भरमा सबै युवा युरोप र अमेरिका पुगेका छन् त्यस्तो परम्पराको अन्त्य हुनुपर्छ मन्त्री पोखरेलले भने, ‘अङ्ग्रेजी जानेका भनिएका सबै युवा विदेश जाने र उतै पलायन हुने हो भने देश कसरी समृद्धिको बाटोमा जान्छ’ उनले प्रतिप्रश्न गरे । मन्त्री पोखरेलले सिकाइ भनेको पढ्नु मात्र होइन खेलेर पनि नाम राख्न सकिन्छ भन्ने प्रमाणित भइसकेको बताउँदै विद्यार्थीले जे विषयमा अध्ययन गर्न चाहन्छ सोही विषयको शिक्षा दिन जरुरी रहेको बताए ।

ठूलो संख्यामा विज्ञापन खोल्दै लोकसेवा

काठमाडौं, वैशाख २८ । लोकसेवा आयोगले स्थानीय तहका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन गर्ने तयारी थालेको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रशासनलगायतका विभिन्न सेवा समूहका पदमा लोकसेवाले भर्नाको गृहकार्य थालेको हो । आयोगले जेठको दोस्रो सातासम्म विभिन्न तहमा विज्ञापन गर्ने गरी गृहकार्य अघि बढाइएको जनाएको छ । आयोगका अनुसार आगामी ६ महिनाभित्रै स्थानीय तहका विभिन्न पदमा हजारौं कर्मचारी सिफारिस नै गर्नेगरी आवश्यक गृहकार्य अघि बढाइएको हो । लोकसेवाले स्थानीय स्तरका तह ४ देखि ९ सम्मको पदमा विज्ञापन गर्ने तयारी गरेको छ । आयोगले स्थानीय तहका लागि श्रेणीगत नभएर तहगत पदमा विज्ञापन गर्ने गृहकार्य थालेको छ । कर्मचारी समायोजन गर्दा स्थानीय र प्रदेश स्तरमा तहगत पदको व्यवस्था गरिएकाले आयोगले सोहीअनुसार स्थानीय तहमा रिक्त रहेका विभिन्न तहमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाएको हो । आयोगले हालको श्रेणीगत पदको पाठ्यक्रमलाई नै तहगत पदको लागि पनि मिल्ने गरी आवश्यक व्यवस्थापन गर्ने भएको छ । लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले सरकारबाट स्थानीय तहमा रिक्त पदमा पदपूर्तिको माग भई आएकाले त्यससम्बन्धी गृहकार्य अघि बढाइएको जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार लोकसेवालाई पत्र पठाउँदै ४३७ वटा स्थानीय तहमा ११ हजार ४९२ पदमा पदपूर्ति गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो । मन्त्रालयले अझै केही स्थानीय तहबाट रिक्त पदको विवरण आउने क्रम रहेकाले केही पद थप गरेर पठाउन सकिने जानकारी आयोगलाई दिएको छ । सोहीअनुसार अयोगले थप भएका पदलाई समेत समेटेर विज्ञापन गर्ने तयारीमा जुटेको हो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

२ विषयको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, वैशाख २७ । शिक्षक सेवा आयोगले माध्यमिक तह अन्तर्गत (खुल्लातर्फ) विभिन्न विषयको लिखित परीक्षाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै मावि तहको नेपाली र कार्यालय संचालन तथा लेखा विषयको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको हो । साविक पाँच विकास क्षेत्रमध्ये पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको नेपाली विषयको र मध्यमाञ्चल तथा पश्चिमाञ्चल क्षेत्रको कार्यालय संचालन तथा लेखा विषयको पुनर्योग नतिजा सार्वजनिक भएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

आज पनि एक क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक

काठमाडौं, वैशाख २५ । शिक्षक सेवा आयोगले माध्यमिक तह अन्तर्गत मध्यपश्चिमाञल क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै गत वर्ष लिइएको स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने क्रममा मध्यपश्चिमाञल क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो । आयोगले आफ्नो साइटमा उल्लेख गरेअनुसार नतिजाको पि.डि.एफ. फाइल केही बेरमा अपलोड गरिने गरिने छ । त्यस समयसम्मका लागि उसले एसएमएसबाट नतिजाको जानकारी लिन सकिने बताएको छ । एसएमएसबारे विस्तृत जानकारी लिनका लाति गलको सूचना पढ्नुहोस्–

शिक्षक भर्ती आयोगबाट मात्रै हुनुपर्छः शिक्षा मन्त्री पोखरेल

काठमाडौं, वैशाख २५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री पोखरेलले गुणात्मक शिक्षाको लागि शिक्षक दरबन्दी अपुग भएको स्थितिमा केन्द्र सरकारले आवश्यक निर्णय लिने तयारी गरेको र नयाँ शिक्षक भर्ती केन्द्र आयोगले विज्ञापन गर्ने बताए । कतिपय स्थानीय तहले आफैँ नयाँ शिक्षक नियुक्ति र सरुवा गरिरहेको सन्दर्भमा मन्त्री पोखरेलले शिक्षक सेवा आयोगको बाटोबाहेक अन्य तरिकाबाट शिक्षक नियुक्ति गर्दा व्यवस्थापन असहज हुने जनाए । मन्त्री पोखरलले आन्तरिक प्रतियोगितामा असफल भएका अस्थायी शिक्षकलाई यसै आर्थिक वर्षको सुविधासहित बिदा गरिने र अन्य शिक्षकलाई पटकपटक आन्तरिक परीक्षामा सहभागी गराउन नसकिने स्पष्ट पारे । आगामी आवका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा सार्वजनिक शिक्षा सबलीकरण दशक घोषणा गरिएकाले आफूहरुको ध्यान सामुदायिक विद्यालयको गुणस्तर सुधारमा हुने प्रतिबद्धता व्यक्त गरे । उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ का आधारमा राष्ट्रिय शिक्षा नीति तर्जुमा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिएको जानकारी दिँदै नीति आएपछि सङ्घीय शिक्षा ऐन तर्जुमा गरिने जानकारी दिए । मन्त्री पोखरलले संसदीय समितिका सुझाव र निर्देशनलाई मन्त्रालयले ग्रहण गर्ने विश्वास व्यक्त गरे । समितिका सभापति जयपुरी घर्तीले समितिको उपसमितिले शिक्षा क्षेत्रका समसामयिक सवालमा समस्या र समाधानका उपायबारे तयार गरेको सुझाव प्रतिवेदन मन्त्री पोखरेललाई हस्तान्तरण गरे । मन्त्रालयका सचिव खगराज बरालले विगतमा आवश्यकताको पहिचान नगरी विद्यालयको अनुमति दिइएकाले शिक्षक व्यवस्थापनमा सरकारलाई थप दायित्व परेकाले विद्यालय समायोजन गराउनुपर्ने बताए ।

कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु

काठमाडौं, वैशाख १५ । आजदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । पहिलो दिन आइतबार अंग्रेजी विषयको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाका लागि ४ लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेका छन् । सबैभन्दा कम मनाङमा ५९ जना र सबैभन्दा धेरै काठमाडौमा ६२ हजार ५ सय ८८ परीक्षार्थीले फाराम भरेको बोर्डले जनाएको छ । देशभर १ सय ७ परीक्षा केन्द्र कायम गरिएको बोर्डले जनाएको छ । परीक्षालाई मर्यादित बनाउन १३ हजार २ सय ८४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षाको नियम उल्लंघन गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवाना गरिने बोर्डले जनाएको छ । यसैबीच प्रश्नपत्रको सुरक्षाका लागि प्रश्नपत्र राखिएको कोठामा सीसीटीभीमार्फत निगरानी गरिएको पनि बोर्डले जनाएको छ । परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट थप कडाइ गर्ने गरिएको  हो । १२ कक्षाको परीक्षा वैशाख २९ गतेसम्म चल्नेछ भने ११ कक्षाको बार्षिक परीक्षा पनि वैशाख २९ गतेबाट नै सुरु हुनेछ ।