एसीसी वुमन्स एसिया कप : भारत र श्रीलंका फाइनलमा प्रवेश

काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनल खेल्ने भएका छन्। 

गएराति श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै भारत फाइनलमा पुगेको हो। 

बंगलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍ यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८० रन बनाएको थियो। 

यस्तै आयोजक श्रीलंका पनि पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। पाकिस्तानले दिएको १४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाएर १९.५ ओभरमा पूरा गर्‍यो। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १४० रन बनाएको थियो। 

माओवादीको पदाधिकारी बैठक जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।  सरकारबाट हटेपछि पहिलो पटक बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक अवस्था, आगामी योजना, पार्टी निर्माण लगायत विषयमा छलफल हुने उपाध्यायले बताए । साथै स्थायी समिति बैठक र केन्द्रीय समितिको बैठक बोलाउनेबारे छलफल हुनेछ ।

कोशी सरकारका माओवादी मन्त्रीले राजिनामा दिंदै

विराटनगर ।नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । शुक्रबार माओवादी केन्द्रका चार मन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीबाट राजीनामा दिने भएका हुन् । कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् ।भने वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री रहेकी छन् ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा भैरहेको कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य २० रुपैयाँ घटेर एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।   

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।  उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०ः४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले कान्तिपुरलाई जानकारी दिइन् । मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए। श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको पार्थिव शरीर राखिने बताइएको छ ।नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। 

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन ११ गते शुक्रबार सन् २०२४ जुलाई २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबार यूरोको विनिमयदर बढ्दा अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर घटेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ०४ पैसा र बिक्री दर १७२ रुपैयाँ ८१ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । आंशिकदेखि साधारणतया बदली हुँदा गण्डकी  प्रदेशका  थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।  वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।  वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ ।  

पहिलो महिला मुख्यसचिव बनिन् गड्तौला

काठमाडौं । नेपाल सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ । यससँगै उनी नेपालको प्रशासनिक इतिहासमा प्रथम महिला मुख्यसचिव बन्न सफल भएकी छन् । वर्तमान सरकारले नै उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । विसं २०२३ साल भदौ १५ मा तेह्रथुममा जन्मिएकी गड्तौला विसं २०५२ मा नेपालको निजामती सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गरेकी थिइन्। उनी विसं २०६३ मा उपसचिव, २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा भएकी थिइन्। उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुँदै छिन्।

भाजपा कोषाध्यक्ष राजेश अग्रवाल आज नेपाल आउँदै

काठमाडौँ । भारतीय जनता पार्टीका कोषाध्यक्ष राजेश अग्रवाल आज नेपाल आउँदै छन् । कोषाध्यक्ष अग्रवालको यो नेपालको निजी भ्रमण भए पनि यहाँ उच्चस्तरीय भेटघाटको पनि कार्यक्रम रहेको बताइएको छ । नेपालमा भाजपा निकट रहेर काम गर्दै आएका एक स्रोतका अनुसार कोषाध्यक्ष अग्रवाल सत्ता पक्ष र विपक्षी दलका केही शीर्ष नेतासँग भेटघाट गर्नुका साथै केही मन्त्रीसँग पनि भेटघाटको कार्यक्रम रहेको छ । स्रोतका अनुसार कोषाध्यक्ष अग्रवाल कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा  नेपाल आउन लागेका हुन् ।

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।  बैठकमा सङ्गठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यसूची रहेको छ । 

मौद्रिक नीति शुक्रबार सार्वजनिक गरिदै

काठमाडौँ। चौतर्फी चासोका साथ हेरिएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ। नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले अन्य कुरा यथावत् रहेमा शुक्रबार मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिएका हुन्।  मौद्रिक नीतिका लागि अन्य तयारी सम्पन्न भएको भन्दै उनले शुक्रबार बस्ने राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले तय गर्ने बताए। अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै आउने अनुमान गरिएको थियो। गत शुक्रबार आउने चर्चा भए पनि सो दिन आएन। अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भनेर सबैतिरबाट हेरिरहेका छन्। सेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन्। समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैङ्कले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो। मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ। सामान्य रूपमा व्याख्या गर्नुपर्दा मौद्रिक नीतिले मुद्राको मूल्य निर्धारण गर्छ। त्यसले गर्दा राष्ट्र बैङ्कले सार्वजनिक गर्ने मौद्रिक नीतिले प्रत्यक्ष रूपमा सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारी सबैलाई प्रभाव पार्छ। पुँजीलाई महँगो बनाउने कि सस्तो, राष्ट्रिय मुद्रालाई अन्तर्राष्ट्रिय मुद्राको तुलनामा बलियो बनाउने कि कमजोर जस्ता कुरा मौद्रिक नीतिमा निर्भर हुन्छ। राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गर्नुभएको छ भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउँदै आउनुभएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । आजको बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने लगायत विषयमा निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गरिने उनको भनाइ छ। पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । समावेशीको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ ।

देशका यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधार बदली हुँदा वाग्मती र गण्डकी  प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।  कोसी, वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  वाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी  वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ । आज सूर्योदय बिहान ५ बजेर २३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा हुनेछ ।  

सात वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूचि

काठमाडौं । आज एकै पटक सात वटा संसदीय समितिको बैठक बस्दैछ ।जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सुरु हुँदेछ । बैठकमा नेपाल सरकारले पछिल्लो समय छिमेकी मित्र राष्ट्रहरुसँग गरेको सन्धि सम्झौताहरुको विवरण र हालसम्मको कार्यप्रगति र मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयहरुमाथि छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ । बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिमा प्राप्त विधेयकहरुका सम्बन्धमा छलफल हुनेछ। त्यसैगरि बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरुमा छलफल हुनेछ भने बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । त्यस्तै संसदीय सुनुवाइ संयुक्त समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा निर्वाचन आयुक्त पदमा प्रश्तावित व्यक्तिको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

आयुक्तमा प्रस्तावित प्रधानको संसदीय सुनुवाइ आज

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ आज हुने भएको छ । प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।  असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । 

बागमतीमा मुख्यमन्त्री लामाको सपथ, यी हुन् १३ मन्त्री

हेटौंडा । बागमतीमा नव नियुक्त मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन्।  नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।   मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताएका छन्। बागमती प्रदेश सरकारमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको टुङ्गो लागेको छ। एमाले संसदीय दलले सरकारमा जाने मन्त्रीहरुसहित मन्त्रालयको टुङ्गो लगाएको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए।   एमालेले प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।    मन्त्रालय बाँडफाँटअनुसार कांग्रेसले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउने भएको छ। का्रग्रेसले भने अझै मन्त्रीको टुंगो लगाउन सकेको छैन।