गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनता : संयोग वा राजनीतिक सन्देश ?
- पूर्ण घर्ति
गणतन्त्र कुनै औपचारिक शब्द होइन। यो नेपाली जनताले दशकौंको संघर्ष, जनआन्दोलन, बलिदान र राजनीतिक रूपान्तरणको प्रक्रियाबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो। त्यसैले जेठ १५ केवल क्यालेन्डरको एउटा मिति मात्र होइन, यो नेपाली राज्यको चरित्र र शासन व्यवस्थामा आधारभूत परिवर्तन भएको दिन हो। यही दिनमा राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्री मौन बस्नु सामान्य घटना मान्न सकिँदैन।
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नै सभापतित्वमा सम्पन्न गणतन्त्र दिवसको औपचारिक समारोहमा सम्बोधन नगर्नु त छँदैछ, त्यसबाहेक पनि उनले यस राष्ट्रिय अवसरमा कुनै शुभकामना सन्देश जारी गरेनन्, गणतन्त्रको ऐतिहासिक महत्वबारे कुनै धारणा व्यक्त गरेनन् र जनतालाई सम्बोधन गर्न आवश्यकसमेत ठानेनन्। यसले स्वाभाविक रूपमा एउटा प्रश्न जन्माएको छ—के यो केवल व्यक्तिगत शैली हो, वा गणतन्त्रप्रति रहेको राजनीतिक असहजताको अभिव्यक्ति ?
राजनीतिमा मौनता कहिल्यै पूर्णतः तटस्थ हुँदैन। विशेषतः त्यो मौनता राष्ट्रको कार्यकारी प्रमुखबाट आएको हो भने झन् हुँदैन। नयाँ वर्षमा शुभकामना दिने, धार्मिक पर्वमा सन्देश जारी गर्ने, सामाजिक विषयमा निरन्तर अभिव्यक्ति दिने प्रधानमन्त्रीले गणतन्त्र दिवसमा मात्र मौनता रोज्नु संयोगका रूपमा व्याख्या गर्न कठिन छ।
गणतन्त्र दिवसमा शुभकामना दिनु कुनै दल वा विचारधाराको समर्थन गर्नु होइन। त्यो संविधानले परिभाषित गरेको राज्य व्यवस्थाप्रति सम्मान व्यक्त गर्नु हो। प्रधानमन्त्रीले संविधानको शपथ खाएर पद ग्रहण गरेका हुन्छन्। त्यसैले गणतन्त्र दिवसमा अभिव्यक्ति दिनु वैकल्पिक सौजन्यको विषय होइन, संवैधानिक संस्कार र राजनीतिक उत्तरदायित्वको विषय हो। कम्तीमा पनि गणतन्त्रप्रति आफ्नो सम्मान सार्वजनिक रूपमा व्यक्त गर्न नसक्ने नेतृत्वमाथि स्वाभाविक रूपमा प्रश्न उठ्छ।
यहाँ प्रश्न प्रधानमन्त्रीले विगतमा राजतन्त्रको समर्थन गरे कि गरेनन् भन्ने मात्र होइन। मूल प्रश्न यो हो कि उनले वर्तमान संविधान र गणतान्त्रिक व्यवस्थाप्रति आफ्नो सार्वजनिक प्रतिबद्धता किन प्रष्ट पार्न चाहेनन् रु लोकतान्त्रिक नेतृत्वको दायित्व केवल सरकार सञ्चालनमा सीमित हुँदैनस त्यो राष्ट्रिय मूल्य, संवैधानिक व्यवस्था र ऐतिहासिक उपलब्धिप्रति पनि स्पष्ट अडान राख्नुपर्ने विषय हो।
बालेन्द्र शाहको राजनीतिक उदय परम्परागत दलहरूप्रतिको जनअसन्तुष्टिको पृष्ठभूमिबाट भएको हो। उनले भ्रष्टाचार, अकर्मण्यता र राजनीतिक विकृतिविरुद्ध जनमत निर्माण गरे। तर एउटा महत्वपूर्ण तथ्य बिर्सनु हुँदैन—दलहरूको असफलता गणतन्त्रको असफलता होइन। सरकारहरूको कमजोरी संविधानको कमजोरी होइन। संविधानमा रहेका कमी–कमजोरी सुधार्ने, संशोधन गर्ने र समयानुकूल परिमार्जन गर्ने लोकतान्त्रिक बाटो खुला नै छ।
यही कारणले गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनता अझ गम्भीर देखिन्छ। किनभने यसले दलविरोध र व्यवस्थाविरोधबीचको सीमारेखालाई धमिलो बनाउने जोखिम पैदा गर्छ। यदि प्रधानमन्त्री गणतन्त्रप्रति असहमत छन् भने त्यसबारे स्पष्ट राजनीतिक बहस गर्न सक्नुपर्छ। यदि उनी गणतन्त्रवादी हुन् भने त्यसको पनि सार्वजनिक अभिव्यक्ति आवश्यक छ। तर संविधानको शपथ खाएर प्रधानमन्त्रीको कुर्सीमा बस्ने, अनि गणतन्त्र दिवसमा मौन बसेर सबै पक्षलाई आफ्नो–आफ्नो व्याख्या गर्ने अवसर दिनु जिम्मेवार राजनीतिक नेतृत्वको शैली मान्न सकिँदैन।
नेपालमा गणतन्त्र स्थापनापछि विभिन्न असन्तुष्टि र आलोचना भए पनि समग्र जनमत गणतान्त्रिक व्यवस्थाकै पक्षमा रहेको देखिन्छ। यस्तो अवस्थामा प्रधानमन्त्रीको प्रत्येक सार्वजनिक व्यवहार राजनीतिक सन्देशमा रूपान्तरित हुन्छ। उनले बोलेका शब्दले मात्र होइन, उनले नबोलेका शब्दले पनि राजनीतिक अर्थ निर्माण गर्छन्। त्यसैले उनी गणतन्त्रप्रति कति प्रतिबद्ध छन् भन्ने विषयमा स्वयं उनले स्पष्ट धारणा राख्नु आवश्यक छ।
गणतन्त्र दिवसमा देखिएको मौनताले गणतान्त्रिक संस्कारप्रतिको पर्याप्त संवेदनशीलता नदेखिएको संकेत दिएको छ। राष्ट्रको प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिक उपलब्धिप्रति सम्मान व्यक्त गर्न आवश्यक ठानेनन् भने त्यसले नागरिकमा स्वाभाविक रूपमा जिज्ञासा, प्रश्न र शंका जन्माउँछ।
लोकतन्त्रमा प्रश्न उठाउनु विरोध होइनस उत्तर खोज्नु नागरिक कर्तव्य हो। त्यसैले आजको मुख्य प्रश्न प्रधानमन्त्री बालेन्द्र शाह गणतन्त्रवादी हुन् कि होइनन् भन्ने मात्र होइन। मुख्य प्रश्न यो हो कि गणतन्त्र दिवसजस्तो ऐतिहासिक अवसरमा उनले किन मौनता रोजे ?
जब राष्ट्रको कार्यकारी प्रमुख बोल्नुपर्ने दिनमा मौन बस्छ, त्यो मौनता आफैं एउटा राजनीतिक अभिव्यक्ति बन्छ। इतिहासले प्रायः यस्ता मौनताहरूलाई पनि शब्दसरह गम्भीरताका साथ मूल्याङ्कन गर्ने गर्दछ। प्रधानमन्त्री बालेन्द्र शाहको यो मौनता पनि भविष्यमा नेपालको राजनीतिक इतिहास र गणतान्त्रिक संस्कारको बहसमा एउटा सन्दर्भ बिन्दुका रूपमा स्मरण गरिन सक्नेछ। अन्ततः यसको वास्तविक अर्थ र उद्देश्यको मूल्याङ्कन समयले नै गर्नेछ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।
आज युरोपियन युरो एकको खरिददर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ०९ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३२ पैसा र बिक्रीदर ११० रुपैयाँ ७६ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १९ पैसा र बिक्रीदर २२ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २२ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा कायम गरिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३२ पैसा र बिक्रीदर १० रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८० पैसा र बिक्रीदर २३ रुपैयाँ ८९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ७१ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
संघीय संसद्को अधिवेशन आजबाट सुरु हुँदै
काठमाडौं । संघीय संसद्को दुवै अधिवेशन आजबाट सुरु हुँदै छ । बैठक दिउँसो २ बजे बस्नेछ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा वैशाख २२ गते आजका लागि संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका थिए ।
नेपाल पत्रकार महासंघ उदयपुरमा सदस्यता शुद्धीकरणको माग गर्दै दुई संगठनद्वारा ज्ञापनपत्र
उदयपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरमा सदस्यता शुद्धीकरणको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । उक्त ज्ञापनपत्र प्रेस सेन्टर नेपाल उदयपुर र समाजवादी प्रेस संगठन उदयपुरले संयुक्त रूपमा बुझाएका हुन् । नेपालको पत्रकारिता क्षेत्र हाल विश्वसनीयता संकट, पेशागत अवमूल्यन तथा गैर–पत्रकारको प्रवेशका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको भन्दै शाखाका अध्यक्ष भक्तिविलास पोखरेललाई ज्ञापनपत्र बुझाइएको हो । अध्यक्ष पोखरेललाई बुझाइएको ज्ञापनपत्रमा शाखासँग आबद्ध पत्रकारको संख्या बढ्दो भए पनि नियमित रूपमा सक्रिय पत्रकारिता गर्ने श्रमजीवी पत्रकार करिब ५५–६० जना मात्र रहेको यथार्थलाई ध्यानमा राख्दै सदस्यता शुद्धीकरण अभियान तत्काल सञ्चालन गर्न माग गरिएको छ । ज्ञापनपत्रमा विशेषगरी जिल्लास्तरमा पत्रकारिताको नाममा गैर–पेशागत गतिविधिमा संलग्न व्यक्तिहरूले महासंघको सदस्यता लिएर वास्तविक श्रमजीवी पत्रकारहरूको अधिकार, अवसर तथा प्रतिनिधित्वमाथि अन्याय गरिरहेको उल्लेख गरिएको छ । साथै, महासंघलाई वास्तविक पत्रकारहरूको साझा पेशागत संस्था बनाउन सदस्यता शुद्धीकरण, संस्थागत सुधार तथा पारदर्शी प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । ज्ञापनपत्र बुझ्दै अध्यक्ष पोखरेलले पत्रकार सदस्यता शुद्धीकरणबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै तत्काल जिल्ला कमिटीको बैठक बोलाएर आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् । यस कार्यमा सबै पक्षको साथ र सहयोग आवश्यक रहने उनको भनाइ छ । ज्ञापनपत्रमा समाजवादी प्रेस संगठनका काेशी प्रदेश सचिव सुखिलाल चाैधरी र प्रेस सेन्टर नेपाल उदयपुरका अध्यक्ष अभिमन्यु लामिछानेकाे हस्ताक्षर रहेकाे ज्ञापन पत्रमार शुद्धिकरणकाे माग गरिएकाे छ । हाल शाखामा आबद्ध पत्रकारको सदस्य संख्या १ सय ६ रहेको पाइएको छ । जसमध्ये विभिन्न सरकारी कार्यालयका स्थायी तथा अस्थायी कर्मचारी, विभिन्न राजनीतिक दलमा जिम्मेवारी सम्हालेका व्यक्ति, शिक्षक, ठेकेदार तथा विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरू समेत सदस्य रहेको उल्लेख गरिएको छ ।
वामपन्थी एकता अब विकल्प नभई बाध्यता बन्दै: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र कम्युनिस्ट शक्तिलाई कमजोर पार्ने र ‘जिरो’ मा पुर्याउने षड्यन्त्र भइरहेको दाबी गर्दै वामपन्थी एकता अब विकल्प नभई बाध्यता बनिसकेको बताउनु भएकाे छ । निर्मल लामा स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पछिल्लो निर्वाचन परिणाम र त्यसपछिका राजनीतिक घटनाक्रमले कम्युनिस्ट दलहरूबीच एकताको आवश्यकता अझ बढाएको उल्लेख गर्नुभयाे । उहाँले विचार, राजनीति र संगठनात्मक तहमा समेत एकता अपरिहार्य बन्दै गएको भन्दै विगतका मतभेदमा अल्झिरहनु अब उपयुक्त नहुने बताउनु भएकाे छ । “दक्षिण एसियाबाटै कम्युनिस्ट आन्दोलन समाप्त भयो भन्ने भ्रम फैलाउने प्रयास भइरहेको छ,” प्रचण्डले भन्नुभयाे, “कम्युनिस्टलाई जिरोमा लैजाने योजनाविरुद्ध सचेत र संगठित भएर अघि बढ्नुपर्ने अवस्था आएको छ ।” उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई संकटमा पार्ने र राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै त्यसविरुद्ध देशभक्त तथा वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता रहेकाे औँल्याउनु भयाे । स्थानीय तहदेखि नै वामपन्थी र देशभक्त शक्तिहरूबीच सहकार्य तथा एकताको आवाज उठिरहेको उल्लेख गर्दै प्रचण्डले आफू देशका विभिन्न स्थानमा जाँदा नेता–कार्यकर्ताबाट कम्युनिस्ट एकता, गणतन्त्र र लोकतन्त्रको रक्षा गर्न साझा मोर्चा निर्माणको माग आउने गरेको बताउनु भयाे । उहाँले गणतन्त्र र लोकतान्त्रिक उपलब्धिमाथि चुनौती बढिरहेको दाबी गर्दै त्यसको संरक्षणका लागि व्यापक राजनीतिक ध्रुवीकरण आवश्यक रहेको धारणा राख्नुभयाे । यस क्रममा प्रचण्डले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) नेतृत्वको स्थानीय सरकारप्रति पनि आलोचनात्मक टिप्पणी गर्दै श्रमजीवी वर्ग, गरिब तथा निमुखा नागरिकमाथि दबाब र आक्रमण बढेको आरोप लगाउनु भयाे । प्रचण्डको भनाइले आगामी दिनमा वाम एकता, साझा राजनीतिक मोर्चा र कम्युनिस्ट आन्दोलनको पुनर्संरचनाबारे बहस थप तीव्र हुने संकेत गरेको छ।
टेन्टमा सुकुमवासीको उकुसमुकुस, भविष्य अन्योलमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीसहित विभिन्न स्थानका सुकुमवासी बस्ती हटाएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका विस्थापित परिवार अस्थायी बसोबासमा उकुसमुकुस र भविष्यको अन्योलमा बाँचिरहेका छन् । महानगरले तत्काल खाद्यान्न, बसोबास र विद्यार्थीको पठनपाठनको व्यवस्था मिलाएको दाबी गरे पनि दीर्घकालीन पुनर्वास योजना अझै स्पष्ट छैन । हाल कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा १९२ जना विस्थापित सुकुमवासी बसिरहेका छन् । काठमाडौं महानगरका अनुसार उनीहरूमध्ये ७७ पुरुष, ५० महिला, ३४ बालक र ३१ बालिका छन् । बस्ती हटाइएपछि उनीहरूलाई अस्थायी रूपमा राधास्वामी सत्संग परिसरमा बनाइएको टेन्टमा राखिएको हो । तर, त्यहाँ बसोबास गरिरहेका अधिकांश सुकुमवासीले आफूहरू मानसिक तनाव र अन्योलमा रहेको बताएका छन् । उनीहरूको मुख्य चिन्ता अस्थायी छानामुनि कति दिन बस्नुपर्ने र त्यसपछि कहाँ जाने भन्ने हो । दुई सातादेखि होल्डिङ सेन्टरमा बसिरहेकी सम्झना तामाङले टेन्टमा लामो समय बस्नुपर्दा मानसिक तनाव बढेको बताइन् । खाना र आधारभूत आवश्यकता पूरा भए पनि बसाइ सहज नभएको उनको भनाइ छ । “खाना त पाइरहेको छ, तर धेरै दिन यसरी बस्न गाह्रो हुन्छ,” उनले भनिन्, “बालबालिकाको पढाइ, भविष्य र हाम्रो बस्ने ठाउँको टुंगो छैन ।” गैरीगाउँ बस्तीबाट विस्थापित ६६ वर्षीया सीता नेपाली पनि सरकारको दीर्घकालीन योजनाबारे चिन्तित देखिइन् । सर्लाहीबाट काठमाडौं आएकी उनी २० वर्षदेखि अस्थायी टहरामा बस्दै आएकी थिइन् । बस्ती हटाइएपछि उनले कोठा खोज्ने प्रयास गरे पनि ‘सुकुमवासी’ भएकै कारण घरभाडा नपाएको गुनासो गरिन् । “कहाँ जाने, कसरी बस्ने केही थाहा छैन,” उनले भनिन्, “अहिले छानो छ, तर भोलि के हुन्छ भन्ने डर छ ।” थापाथली बस्तीबाट हटाइएका ५२ वर्षीया अनिता राई र उनका श्रीमान् चम्बरबहादुर राईले पनि सरकारले पुनर्वासको स्पष्ट योजना नदिँदा तनाव बढेको बताएका छन् । ज्याला मजदुरी गर्दै आएका उनीहरू हाल नियमित काममा फर्किन कठिन भइरहेको बताउँछन् । “यहाँ बस्न त पाइयो, तर अबको जीवन कसरी चलाउने भन्ने चिन्ता छ,” चम्बरबहादुरले भने, “काम पाउने ठाउँबाट टाढा हुँदा आम्दानी रोकिने डर छ ।” पेन्टिङ मजदुर राजकुमार माझीले पनि बस्ती हटाउँदा आफ्नो ऋणमा बनेको घर गुमेको र अहिले जीविकोपार्जनमै समस्या उत्पन्न भएको बताए । सरकारले पुनर्वास गर्दा रोजगारीको पहुँचलाई पनि ध्यान दिनुपर्ने उनको माग छ । “बस्ने ठाउँ मात्रै भएर हुँदैन, काम गर्ने वातावरण पनि चाहिन्छ,” उनले भने । यसबीच, होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई पठनपाठनबाट वञ्चित हुन नदिन कीर्तिपुरस्थित जनविकास माध्यमिक विद्यालयमा अस्थायी अध्ययनको व्यवस्था मिलाइएको छ । महानगरका अनुसार हाल ४१ जना विद्यार्थीको नाम संकलन गरिएको छ भने अधिकांशको विद्यालय पोसाकको नापसमेत लिइएको छ । काठमाडौं महानगरपालिकाले संघ सरकारसँगको समन्वयमा विस्थापितको पहिचान र स्क्रिनिङ प्रक्रिया जारी रहेको जनाएको छ । महानगर प्रहरी प्रमुख विष्णु जोशीका अनुसार सुकुमवासीको पहिचान प्रक्रिया नसकिउन्जेल उनीहरूलाई अन्यत्र सारिने छैन । “संघ सरकारले स्क्रिनिङको काम गरिरहेको छ । त्यसको निष्कर्ष आएपछि मात्रै थप निर्णय हुन्छ,” जोशीले भने । यद्यपि, विस्थापित परिवारले आफूहरूको दीर्घकालीन व्यवस्थापन, रोजगारी र बालबालिकाको शिक्षाको सुनिश्चितता हुनुपर्ने माग गर्दै आएका छन् । अस्थायी टेन्टमा बसोबास तत्कालका लागि राहत भए पनि भविष्य अझै अनिश्चित रहेको उनीहरूको गुनासो छ ।
मनाङमा मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण
मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोर्खा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ । यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मिप्रा गाउँ नजिकैको छिप्ली भिरमा झुन्डिएका भिर मौरीका चाकाको सिकार गर्न ज्यानै जोखिममा राखेर डोरीमा झुन्डिएर मह सिकार गर्दछन् । यस कार्यले यहाँका स्थानीयका साथै पर्यटकलाई पनि आकर्षित गरेको छ । गाउँको पुर्ख्यौली पेसाकै रूपमा अगाडि बढाउन सकिने गरी भिर मौरीको मह काढ्ने कार्यमा संलग्न हुँदै आएको स्थानीय बताउँछन् । स्थानीयले भिर मौरीको मह काढ्ने परम्परालाई निरन्तरता दिँदै आएका सिकारी टेकबहादुर गुरुङ बताउँछन् । विगतमा ज्येष्ठ नागरिकको मात्रै सहभागिता रहने मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरणलाई प्राथमिकता दिइएको उनी बताउँछन् । “भिर मौरीको मह औषधीका रूपमा प्रयोग हुन्छ । औषधिको रूपमा उपयोग गर्न जोखिम मोलेर भिरबाट मह काढ्ने गरेका छौँ”, गुरुङ भन्छन्, “भिर मौरीको महको माग पनि बढी छ ।” वर्षमा दुई पटक मह काढ्ने गरिएको उनले बताए । गुरुङले भने, “पहिलो चरणमा मह वैशाखको अन्तिम सातादेखि जेठको दोस्रो साताभित्र निकाल्नुपर्ने हुन्छ भने दोस्रो चरणमा असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो सातामा निकालिसक्नुपर्छ । शुक्रबार मात्रै मह काढ्ने चलन छ ।” मह धेरै भएको समयमा भने दुई दिन लगाएर मह निकाल्ने गरिएको उनी बताउँछन्। मौरीको सिकार गर्न तिथिमिति जुराएर जङ्गलबाट निगालो ल्याउने र चोया बनाई लठ्ठा बनाउने गरिन्छ । आगोमा तताउँदै लठ्ठाबाट गाउँले मिलेर भर्याङ बनाउने गर्दछन् । एक पटक बनाइएको भर्याङ तीन/चार वर्षसम्म उपयोग गर्न सकिन्छ । यसरी बनाइएको भर्याङ मह निकाल्न (काढ्न) गाउँले एकसाथ भिरमा मह सिकारका लागि जाने गर्दछन् । विश्वकै साहसिक पेसाको रूपमा परिचय बनाएकाले मह सिकार हेर्न विदेशी पर्यटकको आकर्षण बढ्दै जानुका साथै यस गाउँको आयआर्जनको माध्यम बनेको सिकारी मिनबहादुर गुरुङ बताउँछन् । “पहिला पहिला त मुख मात्रै छोपेर मह निकालिन्थ्यो, अहिले त शरीर पूर्ण रूपमा छोपेर मह निकाल्ने गरेका छौँ”, उनले भने, “यसले जोखिमबाट जोगाएको छ ।” मौरीले कम चिल्दा थेरापीको रूपमा काम गर्छ भने बढी चिलेमा मानिसको ज्यानै जान सक्ने जोखिम हुने गुरुङले बताए। पहिलेदेखि नै औषधिको रूपमा प्रयोग गरिँदै आएको भिर मौरीको मह स्थानीयकै घरमा सीमित हुने गर्दथ्यो । मानवीय विकाससँगै पहिरनमा परिवर्तन हुँदै जाँदा शरीरमा पुरा कपडाले ढाकिने चलन बढ्नुका साथै सुरक्षित तवरबाट मह सिकारमा पनि सहज हुँदै गएको स्थानीयको भनाइ छ । पहिले स्थानीयको सहभागितामा मात्रै निकालिने मह अहिले विदेशीको आकर्षण बढ्दै गएको गुरुङ बताउँछन् । हाल भिर मौरीको मह सिकार गरेको हेर्न विदेशी आउने गरेको स्थानीय बताउँछन् । पर्यटकलाई आकर्षित गर्दै प्राकृतिक र साहसिक कार्यलाई जीवन्त राख्न निरन्तरता दिनुपर्ने टर्कीका नागरिक केमल बताउँछन् । “यस्तो चिल्ने मौरीको मह सिकार जोखिमयुक्त छ । तर, यहाँका स्थानीयको साहसिकताले लोभ्यायो”, उनले भने, “प्राकृतिक जोखिम मोले जस्तै यसलाई आयआर्जनसँग जोड्न सक्नुपर्छ ।” आश्चर्य चकित पार्ने गरी स्थानीयले मह निकालेको देख्दा डर लागेको केमल बताउँछन् । “म त निकालेको महमा केही मौरी बसेको देख्दा पनि डराएको थिए । नेपाली साहसी छन्, नेपालीको बारेमा जुन बयान सुनिएको थियो त्यो आफ्नै आँखाले देख्न पाइयो”, उनी भन्छन् । भिर मौरीको मह काढ्ने परम्परा मात्रै नभएर मह औषधिजन्य भएकाले अझ माग बढी हुने गरेको छ । त्यसैले यसलाई निरन्तरता दिन आवश्यक छ । प्राकृतिक उपजको रूपमा विकास गर्दै आयआर्जनको माध्यम बनाउन संरक्षण र प्रवर्द्धन गर्नुपर्ने अवस्था देखिन्छ । यस परम्परालाई जीवन्त राख्दै विदेशीको आकर्षणको केन्द्र बनाउने प्रयासमा सबैको ध्यान जानुपर्ने हुन्छ ।
पाल्पामा बलात्कार आरोपमा एकजना पक्राउ
काठमाडौं । पाल्पामा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । रामपुर नगरपालिका–६, बराहाटारका ४२ वर्षीय सञ्जयकुमार सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २५ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (वैशाख २५) बेलुका उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । सञ्जयले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आज कति पुग्यो डरलको भाउ ?
काठमाडौं । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा रहेको छ । अमेरिकी डलर र युरोपियन युरोको विनिमयदर शनिबार पनि आजकै जति थियो । त्यसैगरी आजको युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०६ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १८ पैसा र बिक्रीदर २२ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २२ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७६ पैसा र बिक्रीदर २३ रुपैयाँ ८५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
तनहुँमा प्रसारणलाइन निर्माणका लागि एक हजार रुख कटान गरिँदै
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारणलाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले २०८३ वैशाख २५ गतेदेखि लागु हुनेगरी प्रसारणलाइनको मार्गधिकारमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रका रुखहरू कटान, मुछान र घाटगद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौता सम्पन्न भएसँगै निर्माण कार्यले थप गति लिने आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिका–१ स्थित सतनचुली संरक्षित वन र सतनचुली सामुदायिक वन तथा वडा नं २९ अन्तर्गतका अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका विभिन्न प्रजातिका एक हजार २६३ रुख कटान गरिनेछ । काटिएका रुखलाई सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र सबडिभिजन वन कार्यालयले तोकेको सुरक्षित स्थानमा घाटगद्दी गर्नुपर्ने व्यवस्था गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मंसिर २० गतेको निर्णयअनुसार यो प्रसारणलाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लाको कुल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा त्यहाँ रहेका नौ हजार १२७ रुख हटाउन स्वीकृति दिइएको थियो । जसमध्ये चितवनमा २५.२७ हेक्टर र तनहुँमा ६७.४६ हेक्टर वन क्षेत्र पर्दछ । सोही निर्णयका आधारमा २०८२ पुस ३० गते आयोजना र वन तथा भूसंरक्षण विभागबीच सम्झौता भएको थियो । उक्त सम्झौतापछि डिभिजन वन कार्यालय, आयोजना र सामुदायिक वन समूहहरूको समन्वयमा रुख छपान कार्य अघि बढाइएको हो । चितवन खण्डमा कटान सुरु हुँदा तनहुँ जिल्लाअन्तर्गत पर्ने रुखको छपान कार्य भने हाल जारी रहेको आयोजनाले जनाएको छ । कुल ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा एसियाली विकास बैंक (एडीबी), जाइका, युरोपियन लगानी बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत ५८ करोड ७७ लाख युनिट विद्युत् उत्पादन हुनेछ । उक्त आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको विकास प्रक्रियासमेत अघि बढाइएको छ ।
आजकाे माैसम: मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार, देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोसी प्रदेशको तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हिमपातको सम्भावना छ ।
११ वर्षपछि ग्रामीण सडक कालोपत्रे
बागलुङ । विकासका हिसाबले ओझेलमा परेको रामतोला गाउँ जोड्ने सडक कालोपत्रे गरिएको छ । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा पर्ने रामतोला गाउँ जोड्ने सडक पहिलो पटक कालोपत्रे गरिएको हो । भौगोलिक विकटताका कारण पछाडि परेको यस गाउँलाई जोड्न २०७२ सालमा मार्ग खुलेको थियो । मार्ग खुलेको ११ वर्षपछि अहिले कालोपत्रे गरिएको हो । सडकको बागलुङ नगरपालिका–१० भकुण्डे डोटेतालदेखि रामतोलासम्म करिब पाँच किलोमिटर पर्छ । यस वर्ष स्तरोन्नतिसहित एक किलोमिटर कालोपत्रे गरेर सुरुआत भएको बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए । पहिलो चरणमा अत्यन्तै साँघुरो र अप्ठ्यारो रहेको स्थानबाट कालोपत्रे गरिएको उनको भनाइ छ । अध्यक्ष गौतमले भने, “जिल्ला सदरमुकामै पर्ने भए पनि रायडाँडा, रामतोला गाउँ विगतदेखि नै ओझेलमा पर्दै आएका थिए, यस वर्ष सङ्घीय सरकारको लगानीमा रामतोला गाउँ जोड्ने सडकको थालनी गरेका छौँ, अब हरेक वर्ष निरन्तर काम गर्दै गएर गाउँसम्मै कालोपत्रे सडक पुग्ने छ ।” सङ्घीय सरकारले विनियोजन गरेको रु दुई करोड ९५ लाखमा उक्त सडक कालोपत्रे भएको हो । सडक डिभिजन कार्यालयमार्फत कालोपत्रेको काम भएको हो । विसं २०८२ वैशाखमा हिलसाइड/पीके जेभीले आगामी जेठ २५ गते सक्ने गरी जिम्मा पाएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर विष्णु लामिछानेले जानकारी दिए । एक किलोमिटर सडक फराकिलो बनाउने, नाली निर्माण, ग्याविन लगाउनेदेखि कालोपत्रे गर्नेसम्मको काम गरेको उनको भनाइ छ । ट्रयाक खुलेदेखि अहिलेसम्म स्तरोन्नति नहुँदा कम दूरीको सडक कालोपत्रे गर्न ठुलो लागत लागेको इन्जिनियर लामिछाने बताउँछन् ।
कास्कीकाे गुरुङ सम्पदा पदमार्गमा थपिँदै पूर्वाधार
गण्डकी । कास्कीको मादी गाउँपालिकाका सिक्लेस, ताङतिङका साथै लम्जुङ जिल्लाका घनपोखरा लगायतका गन्तव्यबाट मनाङको तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गमा पूर्वाधार थपेर त्यसलाई यात्रा पर्यटनको आकर्षक गन्तव्य बनाइने भएको छ । सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको सक्रियतामा यसको प्रवर्द्धनसँगै पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । यस अघि चरणगत रूपमा स्थलगत अध्ययन अनुसन्धानपछि सो पदमार्गको औपचारिक घोषणा गरिएको थियो । प्रकृति, संस्कृति र इतिहासको सङ्गमका रूपमा रहेको यो पदमार्ग हुँदै गुरुङ बस्तीको कुरा गुरुङ समुदायको ‘प्ये ल्हु ताँ’ मा उल्लेख भएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका सल्लाहकार एवं गुरुङ सम्पदा पदमार्ग खोज तथा अन्वेषण कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले जानकारी दिए । क्होलासोँथारमा विभिन्न चरणमा स्वदेशी तथा विदेशी विशेषज्ञहरूले गरेको पुरातात्त्विक अध्ययनले पनि यहाँको ऐतिहासिकता पुष्टि गरेको उनको भनाइ छ । क्होलासोँथरको पुरातात्त्विक महत्वका भग्नावशेषहरूको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न सकिने उल्लेख गर्दै संयोजक गुरुङले सो पदमार्गसँग जोडिएका कास्की र लमजुङका गाउँमा अझै पनि भोटबाट नुन बोक्दाका कथा व्यथा सुन्न पाइने बताए । सङ्घले प्रवर्द्धन गिरहेको यो पदमार्ग नै तत्कालीन समयको नुनको व्यापारिक बाटो भएको उल्लेख गर्दै उनले वर्तमानमा पनि पदमार्गमा भेटिने बिसौनी तथा चौतारी नुनको व्यापारिक मार्गको जीवन्त साक्षी बनेका उनको भनाइ छ । खोज तथा अनुसन्धानका क्रममा सङ्घले एउटा मूल पदमार्गसहितका आवश्यकता र चाहनाअनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्ग पहिचान गरेको छ । यी पदमार्गमा पर्यटकले पाँचदेखि १० दिनसम्म बिताउन सक्ने संयोजक गुरुङले बताए । पछिल्लो समयमा यहाँको प्रवर्द्धनसँगै पूर्वाधार विकासका लागि विभिन्न प्रयास निरन्तर अघि बढी रहेको जिकिर गर्दै उनले अत्यावश्यकीय पूर्वाधार तयार भएपछि आगामी असोजदेखि सो पदमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी छ । गण्डकी प्रदेश सरकारले सो पदमार्ग क्षेत्रका चौरुबाट तप्रो, तप्रोबाट तिउँजे ताल, हेगुबाट क्होलासोंथारसम्म पदमार्गको मर्मत तथा स्तरोन्नतिका लागि रु २० लाख बिनियोजन भइ काम अघि बढाउन लागिएको उनले बताए । पदमार्ग क्षेत्रकै कर्पु डाँडादेखि क्होलासोंथार हुँदै कोरी ठूलीलेकसम्म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को रु चार लाख लागत सहयोगमा सङ्केत चिन्ह राखिएका बोर्ड राख्ने तयारी छ । पदमार्ग क्षेत्रकै सिक्लेस, ताङतिङ, कर्पु डाँडा, याङ्जाकोट, सिङ्दी, पसगाउँ, भुजुङ, घनपोखरा, घलेगाउँ र पुमा गाउँमा नेपाल पर्यटन बोर्डको सहयोगमा गुरुङ सम्पदा पदमार्गको नक्साङ्कनसहितको सूचना पाटी राख्ने तयारी छ । पदमार्गमा जाने पर्यटकका लागि मोबाइल सम्पर्कलाई सहज बनाउने उद्देश्यले यस क्षेत्रको फुर्जु देउराली र कोरीमा नेपाल टेलीकमले टावर राख्न पहल गरिरहेको संयोजक गुरुङले बताए । उक्त पदमार्गको विभिन्न चरणमा गरिएको खोज तथा अनुसन्धानपछि पहिचान गरिएका अत्यावश्यक पूर्वाधार विकास सङ्घको प्राथमिकतामा रहेको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले बताए । अत्यावश्यकीय पूर्वाधार विकास भएसँगै यो पदमार्ग पदयात्रा पर्यटनको महत्त्वपूर्ण विकल्पका रूपमा स्थापित हुने उनले विश्वास व्यक्त गरे ।

