महिलाको प्रतिनिधित्व बढाएर ५० प्रतिशत पुर्याउन माग
काठमाडौं । जेनजी आन्दोलनमार्फत बनेको बलियो सरकारले महिलाको प्रतिनिधित्व बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने माग उठेको छ । शुक्रबार सञ्चारिका समूह नेपालको आयोजना र युनफपियको सहयोगमा ‘लैंगिक समानता प्रवर्द्धन तथा लैंगिक हिंसा अन्त्यका लागि आगामी रणनीतिक विषयमा अन्तर्क्रिया’ कार्यक्रममा युवा नेतृत्वले महिलाको प्रतिनिधित्व बढाएर विश्वमा नमुना पेस गर्नुपर्ने माग राखेका छन् ।
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सीड)का सदस्यमा बन्दना राणाले नेपालको जेनजी आन्दोलनले विश्वको ध्यान केन्द्रित गरेको बताइन् । उनले कार्यक्रममा भनिन्, "अन्य देशमा जेनजी आन्दोलन असफल भयो । तर, नेपालमा सफल मात्रै भएन । सरकार ढालेरै आफूले नेतृत्व लियो । यति बलियो नेतृत्वले महिलाको प्रतिनिधित्वलाई ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउनुपर्छ ।"
उनले नेपाललाई ‘ग्लोबल रेकर्ड’ बनाउनुपर्नेमा जोड दिइन् । साथै, महिलामाथि हुने हिंसा डिजिटलमा रुपान्तरण भएको समयमा सामाजिक सञ्जालको नियमनमा पत्रकार, वकिल र नागरिक समाजले मुख्य भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
अन्तर्क्रिया कार्यक्रममा महिला, कानुन र विकास मञ्चका अध्यक्ष तथा अधिवक्ता सविन श्रेष्ठले लैंगिक हिंसामा मुख्य यौन र प्रजनन् स्वास्थ्यको विषयमा जोड दिनुपर्ने उल्लेख गरेका छन् । उनले राज्यलाई जनसंख्या बढाउन र घटाउन आवश्यक परेमा महिलाकै प्रयोग हुने गरेको बताएका छन् ।
नेपाल प्रहरीको तथ्याकंअनुसार ९१ प्रतिशत हिंसा चिनजानकै व्यक्तिबाट हुने गरेको छ । नेपालमा हुने कूल हिंसाको आधारमा २९ प्रतिशत लैंगिक हिंसा हुने गरेको छ । त्यसैगरी श्रेष्ठले नेपालमा अझै पनि गोप्य रूपमा ‘सरोगेट’ हुने गरेको खुलासा गरे । जसले महिलाको प्रजनन् अधिकारमाथि अर्को समूहले हस्तक्षेप गरेको उनको भनाइ छ । त्यसैगरी ‘लिभिङ टुगेदर’को सम्बन्धमा पनि महिलाहरू अत्यधिक शोषणमा परेका कारण कानुनी जटिलतालाई सम्बोधन गर्नुपर्ने माग गरे ।
त्यसैगरी वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले नेपालमा महिलाको लागि प्रशस्त कानुन बनेको भए पनि न्यायको पहुँचमा पीडित पुग्न नसकेको गुनासो गरिन् । उनले भनेकी छिन्, "कानुनको जटिलताको कारण महिलाहरू अदालत त परै जावोस् । पीडित प्रहरीकोमा उजुरी दिन समेत पुग्न सकेका छैनन् । ठूला ठूला अपराधमा पनि महिलाहरू मेलमिलाप गर्न बाध्य छन् । यो सबै कानुनी साक्षरताको अभाव हो ।"
प्रधानन्यायाधीस सिफारिस विवाद: अब कुन प्रक्रियाबाट अघि बढ्ला ?
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायपालिका मात्रै होइन, राजनीतिक वृत्तमै तरंग पैदा भएको छ । यही विषयलाई लिएर शुक्रबार सर्वोच्च अदालतमा बसेको ‘फूलकोर्ट’ बैठकमा न्यायाधीशहरूबीच तीव्र मतभेद देखिएको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको अध्यक्षतामा बसेको बैठकमा सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी थिए । प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश डा. मनोज शर्मा पनि प्रारम्भिक छलफलमा उपस्थित थिए । तर, संवैधानिक परिषद्को निर्णयबारे पक्ष–विपक्षमा धारणा व्यक्त हुन थालेपछि उनी बैठकबाट बीचैमा बाहिरिएको स्रोतले जनाएको छ । बैठकमा सहभागी एक न्यायाधीशका अनुसार संवैधानिक परिषद्को निर्णयबारे सर्वोच्च अदालतले संस्थागत धारणा सार्वजनिक गर्ने कि नगर्ने भन्ने विषयमै न्यायाधीशहरू दुई धारमा विभाजित भएका थिए । केही न्यायाधीशले वरिष्ठताको स्थापित परम्परा तोडेर चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नु न्यायपालिकाको अभ्यासविपरीत भएको तर्क गरेका थिए । तर अर्काे समूहका न्यायाधीशहरूले संविधानमै सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष सेवा गरेका न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश नियुक्त गर्न सकिने स्पष्ट व्यवस्था भएकाले संवैधानिक परिषद्को निर्णयलाई अस्वाभाविक मान्न नहुने धारणा राखेका थिए । ‘‘वरिष्ठता परम्परा हो, बाध्यकारी संवैधानिक प्रावधान होइन भन्ने मत पनि आयो,’’ बैठकमा सहभागी एक न्यायाधीशले भने, ‘‘संविधानले योग्यता र कार्यकाललाई आधार मानेको छ भन्ने तर्क पनि उठ्यो ।’’ ‘फूलकोर्ट’ बाट एउटै धारणा ल्याउने प्रयास असफल संवैधानिक परिषद्को बिहीबारको निर्णयपछि सर्वोच्च अदालतले संस्थागत रूपमा साझा धारणा बनाउने तयारी गरेको थियो । त्यसैका लागि कार्यालय समय सुरु हुनासाथ ‘फूलकोर्ट’ बैठक बोलाइएको थियो । तर छलफल क्रममा न्यायाधीशहरूबीच मतैक्य हुन सकेन । कतिपयले अदालतले तत्काल कुनै धारणा सार्वजनिक गर्नु उपयुक्त नहुने बताए भने केहीले न्यायपालिकाको स्वतन्त्रता र संस्थागत परम्पराको रक्षाका लागि अदालतले बोल्नुपर्ने धारणा राखे । ‘‘हिजोको संवैधानिक परिषद् निर्णयलाई लिएर सर्वोच्चको धारणा आउने अपेक्षा थियो,’’ स्रोतले भन्यो, ‘‘तर विषय संवेदनशील बन्दै गएपछि बैठक निष्कर्षविहीन बन्यो ।’’ बैठकमा सहभागी एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीश सिफारिससम्बन्धी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भइसकेको सन्दर्भ पनि छलफलको मुख्य विषय बनेको थियो । ‘‘पछि यही विषयमा संवैधानिक इजलास वा पूर्ण इजलासबाट सुनुवाइ हुन सक्छ,’’ ती न्यायाधीशले भने, ‘‘अहिले नै फूलकोर्टबाट धारणा दिँदा अदालत पूर्वाग्रही देखिन सक्ने चिन्ता पनि उठ्यो ।’’ मनोज शर्मा बैठकबाट किन उठे ? छलफलको क्रममा संवैधानिक परिषद्को निर्णयको पक्ष–विपक्षमा धारणा आउन थालेपछि प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश डा. मनोज शर्मा असहज बनेको स्रोतको दाबी छ । एक न्यायाधीशका अनुसार शर्माले आफू सिफारिससँग प्रत्यक्ष जोडिएको व्यक्ति भएकाले यस्तो छलफलमा बस्नु उपयुक्त नहुने बताएका थिए । त्यसपछि उनी बैठकबाट उठेर बाहिरिएका थिए । ‘‘मनोज श्रीमान्ले ‘मेरो विषयमा छलफल हुँदा म बस्नु उचित हुँदैन’ भन्ने आशय व्यक्त गर्नुभयो,’’ स्रोतले भन्यो, ‘‘त्यसपछि उहाँ बाहिरिनुभयो ।’’ उनको बहिर्गमनपछि पनि न्यायाधीशहरूबीच लामो समय छलफल चलेको थियो । तर अन्ततः कुनै साझा निष्कर्ष वा औपचारिक धारणा सार्वजनिक नगरी बैठक सकिएको थियो । प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता कायम गर्ने अभ्यास नेपालको न्यायपालिकामा लामो समयदेखि रहँदै आएको छ । तर संविधानले भने सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष सेवा गरेका न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश नियुक्त गर्न सकिने व्यवस्था गरेको छ । यही संवैधानिक व्यवस्थालाई आधार बनाएर संवैधानिक परिषद्ले चौथो वरीयताका न्यायाधीश डा. शर्मालाई सिफारिस गरेको बताइएको छ । तर कानुन व्यवसायी र केही पूर्वन्यायाधीशहरूले वरिष्ठताको परम्परा भत्किँदा न्यायपालिकाभित्र प्रतिस्पर्धा, समूहबन्दी र राजनीतिक प्रभाव बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् । केहीले भने योग्यता, कार्यक्षमता र प्रशासनिक दक्षतालाई आधार बनाएर प्रधानन्यायाधीश चयन गर्नु सकारात्मक अभ्यास हुन सक्ने बताएका छन् । न्यायपालिका र राजनीतिमा तरंग संवैधानिक परिषद्को निर्णय सार्वजनिक भएलगत्तै राजनीतिक दल, कानुन व्यवसायी र न्यायिक वृत्तमा बहस सुरु भएको छ । विपक्षी दलहरूले निर्णय प्रक्रियामाथि प्रश्न उठाएका छन् भने सत्ता पक्ष निकट नेताहरूले संवैधानिक अधिकारअनुसार निर्णय भएको दाबी गरेका छन् । नेपाल बार एसोसिएसनभित्र पनि यस विषयमा छलफल सुरु भएको छ । केही वरिष्ठ अधिवक्ताले निर्णयले न्यायपालिकाको परम्परागत संरचना भत्काउने तर्क गरेका छन् भने अर्काे पक्षले संविधानभन्दा माथि कुनै परम्परा हुन नसक्ने धारणा राखेका छन् । सर्वोच्चमा दैनिक काम प्रभावित शुक्रबार बिहानैदेखि ‘फूलकोर्ट’ बैठक चलेका कारण सर्वोच्च अदालतको दैनिक पेसी सूची प्रकाशनमा ढिलाइ भएको थियो । लामो छलफलका कारण अदालतको प्रशासनिक कामसमेत प्रभावित भएको स्रोतले जनाएको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश डा. मनोज शर्माले शुक्रबार कुनै पनि मुद्दाको सुनुवाइ गरेनन् । बिहीबार बसेको संवैधानिक परिषद् बैठकले बहुमतका आधारमा न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेपछि न्यायपालिकाभित्र नयाँ शक्ति सन्तुलन, संवैधानिक अभ्यास र वरिष्ठताको परम्पराबारे गम्भीर बहस सुरु भएको छ । अब यो विवाद अदालतभित्रको कानुनी प्रक्रियाबाट कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।
सुशासन र कार्यसम्पादनमा कटारीको छलाङ : लिजामा उदयपुरकै उत्कृष्ट बनेपछि जिल्ला समन्वयद्वारा सम्मान
युवराज कार्की (सन्ताेष) उदयपुर । विकास निर्माण, सेवा प्रवाह र सुशासनलाई प्रभावकारी बनाउने प्रयासमा सक्रिय देखिएको कटारी नगरपालिका अहिले उदयपुर जिल्लाकै उत्कृष्ट स्थानीय तहका रूपमा स्थापित भएको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लाभरका आठ स्थानीय तहमध्ये सर्वाधिक अंक हासिल गरेपछि कटारी नगरपालिका जिल्ला समन्वय समितिबाट सम्मानित भएको हो। शुक्रबार सम्पन्न जिल्ला समन्वय समितिको आठौँ जिल्ला सभामा आयोजित विशेष कार्यक्रममा कटारी नगरपालिकालाई सम्मान गरिएको थियो। जिल्ला समन्वय प्रमुख गौरबहादुर विश्वकर्मा र जिल्ला समन्वय अधिकारी सान्नानी अधिकारी ले नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ लाई सम्मानपत्र हस्तान्तरण गर्दै नगरपालिकाको कार्यसम्पादनको प्रशंसा गरेका हुन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि गरेको लिजा मूल्याङ्कनमा कटारी नगरपालिकाले ८४.५० अंक प्राप्त गरेको थियो। जिल्लाका चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तहमध्ये कटारीले सबैभन्दा बढी अंक ल्याएर उत्कृष्टता हासिल गरेको हो। लिजा मूल्याङ्कन स्थानीय तहको समग्र संस्थागत क्षमता, वित्तीय अनुशासन, योजना कार्यान्वयन, सेवा प्रवाह, पारदर्शिता, प्रशासनिक दक्षता, सूचना प्रविधिको प्रयोग, नागरिक सहभागिता र सुशासनका सूचकका आधारमा गरिन्छ। यस्ता सूचकमा कटारीले उल्लेखनीय सुधार र प्रभावकारी कार्यसम्पादन देखाएकाले उत्कृष्ट बन्न सफल भएको जिल्ला समन्वय समितिले जनाएको छ। सम्मान कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख विश्वकर्माले कटारी नगरपालिकाले पछिल्ला वर्षहरूमा प्रशासनिक सुधार र विकास व्यवस्थापनमा देखाएको सक्रियता अन्य स्थानीय तहका लागि पनि उदाहरणीय भएको बताए। उनले स्थानीय सरकार नागरिकप्रति उत्तरदायी र परिणाममुखी बन्न सके विकासको गति तीव्र हुने उल्लेख गर्दै कटारीले त्यसको सकारात्मक संकेत दिएको धारणा राखे। नगरप्रमुख श्रेष्ठले प्राप्त सम्मानलाई केवल नगरपालिकाको उपलब्धि मात्र नभई सम्पूर्ण नगरवासीको साझा सफलता भएको बताए। जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीयवासीको सहयोग र सहभागिताका कारण नै नगरपालिका उत्कृष्ट बन्न सफल भएको उनको भनाइ थियो। “हामीले सेवा प्रवाहलाई छिटो, पारदर्शी र जनमैत्री बनाउने प्रयास गरिरहेका छौँ,” नगरप्रमुख श्रेष्ठले भने, “यो सम्मानले अझ जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको छ। आगामी दिनमा सुशासन, विकास र नागरिक सन्तुष्टिलाई केन्द्रमा राखेर कामलाई थप प्रभावकारी बनाइनेछ।” उनले नगरपालिकाले डिजिटल प्रविधिको प्रयोग विस्तार, योजनाको प्रभावकारी अनुगमन, आर्थिक अनुशासन कायम, सार्वजनिक सुनुवाइ तथा नागरिक सहभागिता जस्ता विषयलाई प्राथमिकतामा राख्दै काम गरिरहेको जानकारी दिए। स्थानीय तहप्रति नागरिकको विश्वास बढाउने गरी सेवा प्रणाली सुधार गर्न नगरपालिका निरन्तर सक्रिय रहेको पनि उनले बताए। कटारी नगरपालिकाले पछिल्ला वर्षहरूमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषि क्षेत्रमा विभिन्न विकास कार्यक्रम अघि बढाएको छ। नगरभित्रका वडाहरूमा पूर्वाधार विस्तारसँगै प्रशासनिक सेवामा सहज पहुँच पुर्याउने प्रयास पनि भइरहेको जनाइएको छ। जिल्ला समन्वय समितिको सभामा सहभागी अन्य स्थानीय तहका जनप्रतिनिधिहरूले पनि कटारीको उपलब्धिलाई सकारात्मक रूपमा लिँदै प्रतिस्पर्धात्मक र उत्तरदायी स्थानीय शासन प्रणाली विकासका लागि लिजा मूल्याङ्कन प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरेका थिए। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न तथा आर्थिक एवं प्रशासनिक कार्यप्रणालीलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन हरेक वर्ष लिजा मूल्याङ्कन गर्दै आएको छ। उक्त मूल्याङ्कनले स्थानीय तहबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथै सेवा प्रवाहमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।
कर्णालीका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी रिक्त
सुर्खेत । भौगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशका ७९ स्थानीय तहमा एक चौथाइ कर्मचारी दरबन्दी रिक्त रहेको छ । सङ्घीय सरकारको स्वीकृत दरबन्दीअनुसार यहाँका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी कर्मचारीविहीन रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ । कूल पाँच हजार ६६० स्वीकृत दरबन्दी रहेकामा एक हजार ३६३ दरबन्दी रिक्त रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए । उनका अनुसार कूल दरबन्दीमध्ये चार हजार २९७ कर्मचारी कार्यरत छन् । सम्बन्धित पालिकाको पठाएको विवरणअनुसार शिक्षा सेवातर्फ पाँचौँदेखि नवौँ/दशौँ तहका १८३ स्वीकृत दरबन्दीमा १३२ पदपूर्ति र ५१ दरबन्दी रिक्त छन् । इञ्जिनियरिङ सेवातर्फ एक हजार ५५ स्वीकृत दरबन्दीमा ६३४ पदपूर्ति र ४२१ रिक्त रहेका छन् भने यो सेवामा नवौँ÷दशौँ तहमा शून्य पदपूर्ति रहेका सचिव विकले बताए । उनका अनुसार प्रशासन सेवातर्फ एक हजार ५४१ स्वीकृत दरबन्दीमा एक हजार ६४ पदपूर्ति हुँदा ४७७ रिक्त छ । स्वास्थ्य सेवातर्फ एक हजार ८८४ स्वीकृत दरबन्दीमा एक हजार ७३२ पदपूर्ति र १५२ दरबन्दी रिक्त रहेका जनाइएको छ । कृषि सेवातर्फ ८१४ स्वीकृत दरबन्दीमा ५७७ पदपूर्ति र २३७ रिक्त छन् । विविध सेवातर्फ १८३ स्वीकृत दरबन्दीमा १५८ पदपूर्ति र २५ रिक्त रहेका कार्यालयका सचिव विकले जानकारी दिए । प्रदेशका ७९ स्थानीय तहमध्ये डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा ५३ दरबन्दीमाध्ये १५ जना मात्र कार्यरत छन् । वीरेन्द्रनगर नगरपालिका सुर्खेतको १०५ स्वीकृत दरबन्दीमा ११६ जना कार्यरत छन् । यो पालिकामा ११ जना कर्मचारी बढी रहेका कार्यालयका सचिव विकले बताए । डोल्पो बुद्धमा दरबन्दीअनुसार कर्मचारी नदेखिनुमा करारबाट काम चलेको हुनसक्ने भन्दै सचिव विकले मुख्यमन्त्री कार्यालयले अब सबै स्थानीय तहको रिक्त दरबन्दीको विवरण मागेर प्रदेश लोकसेवा आयोगमा पठाउने र रिक्त पद पूर्ति गर्ने जनाए ।
सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा
बाँके । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले शाखा नहर निर्माणकार्यलाई प्राथमिकता दिएको छ । आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत अहिले डुडुवा शाखा नहरको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । यो नहरबाट १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर (सिडीइ) मनोजकुमार साहले बताए । उनका अनुसार २३.४ किलोमिटर लामो सो डुडुवा नहरबाट करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उक्त नहरअन्तर्गत खजुरा र मानपुर दुई मुख्य शाखा रहनेछन् । विगतमा ठेक्का विवादका कारण लामो समयसम्म नहर निर्माणको काम रोकिएको थियो भने पुरानो ठेक्का रद्द गरेर नयाँ कम्पनीमार्फत ठेक्का दिई निर्माणलाई तीव्र पारिएको छ । हालसम्म नहरको निर्माण कार्य २५ प्रतिशत प्रगति भएको छ । नेपालगन्ज–सुर्खेत सडकखण्डअन्तर्गत पिप्रहवादेखि राँझासम्म करिब पाँच किलोमिटर क्षेत्रमा टनेलमार्फत डुडुवा नहर निर्माण गरिनेछ भने बाँकी भाग खुला संरचनामा बन्नेछ । रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले रु एक अर्ब १२ करोडको लागतमा यो नहर निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने जिम्मा पाएको छ । नहर सम्पन्न भएपछि डुडुवा, खजुरा, नेपालगन्ज र जानकी क्षेत्रका किसानले वर्षैभरि सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको आयोजनाका सूचना अधिकारी साहले बताए । सिक्टा सिँचाइ आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (१८ हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर २३ किलोमिटर लामो डडुवा शाखा नहर र उपशाखा नहर निर्माण गरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । यो नहर बनेपछि बाँकेको नेपालगन्ज, जानकी, खजुरा र डडुवा गाउँपालिकाका करिब १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिँचाइ सुविधा विस्तार हुने साहको भनाइ छ । सिक्टाको मूल नहरबाट डुडुवा शाखा नहरको मुहानसम्म नियमित रूपमा पानी सञ्चालन भइरहेका कारण अब डुडुवा नहर निर्माण पूरा भए सुक्खा र खडेरीको मारमा परेका किसानलाई राहत मिल्ने सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता सङ्घका अध्यक्ष शालिकराम डाँगीको विश्वास छ ।
हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो
बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ । पन्ध्र दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिएको छ । नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन । हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन प्राविधिक, सिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन् । आरक्षका रेन्जर सागर सुवेदीका अनुसार ५६ क्यामेरा तीन समूहले छ वटा सिकार ब्लकमा राखेर फर्केको बताए । क्यामेराले ४५ दिनसम्म आफैँ फोटो सङ्कलन गर्नेछ । क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने १५ दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्नेछ । ओडारमा बास बसेर, कष्टकर हिउँ छिचोलेर प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीको भनाइ छ । “हिउँचितुवाको गणनाका लागि ५६ स्थानमा क्यामेरा राखिएको छ, क्यामेराले ४५ दिनसम्म कैद गरेका फोटोका आधारमा चितुवाको सङ्ख्या पत्ता लगाइन्छ, अहिले १५–१५ दिनमा क्यामेराको मेमोरी र ब्याट्री फेर्न प्राविधिक टोली सोही स्थानमा पुग्छ”, सुवेदीले भने, “सम्भावित चितुवाको वासस्थान, ओडार, जङ्गललगायत उच्च हिमाली भेगको बनोट हेरेर क्यामेरा जडान गरिएको छ ।” हिउँचितुवा गणनामा १५ जना कर्मचारी तथा प्राविधिक खटिएका थिए । ढोरपाटन सिकार आरक्षको तीन हजारदेखि पाँच हजार ५०० मिटरभन्दा माथिसम्म हिउँचितुवाको वासस्थान रहेको पाइएको छ । एक हजार ३२५ वर्ग किमी क्षेत्रमा फैलिएको आरक्षको मुख्यालय बागलुङमा रहे पनि म्याग्दी र रुकुमसम्म फैलिएको छ । वैशाखको ११ गतेदेखि राख्न थालिएको क्यामेरा ४५ दिनपछि सङ्कलन गरेर कार्यालयमा ल्याएर गणना गरिनेछ । आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँचितुवा गणना गर्न क्यामेरा जडान गरिएको हो । रेन्जर सुवेदीका अनुसार हिउँचितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ । यस्तै हिउँचितुवाको जङ्गलमा भेटिएको दिसा सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरिन्छ भने पदचिह्न तथा सङ्केत सर्वेक्षण पाइलाका आधारमा समेत चितुवाको सङ्ख्या गणना गर्न सकिन्छ ।
चीनद्वारा दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय
काठमाडौं । चीनको एक सैन्य अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ । सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्री रहेका वेई फेङ्हे र सन् २०२३ मा केही महिना मात्र उक्त पद सम्हालेका उनका उत्तराधिकारी ली शाङ्फुलाई बिहीबार घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो । लीमाथि घुस दिएको अभियोग पनि प्रमाणित भएको बताइएको छ । दुवैलाई दुई वर्षको ‘रिप्रिभ’ अर्थात् निलम्बनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । साथै, उनीहरूलाई ‘प्यारोल’को सुविधा नदिइने अदालतले जनाएको छ । चीनमा यस्तो सजाय प्रायः दुई वर्षपछि स्वतः आजीवन कारावासमा परिणत हुने प्रचलन रहेको छ । चीनको सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार, दुवैको राजनीतिक अधिकार आजीवनका लागि खोसिएको छ भने उनीहरूको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गरिनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट मानिएका ली शाङ्फु मन्त्री नियुक्त भएकै वर्ष अर्थात् सन् २०२३ मा अन्य धेरै उच्च सैन्य अधिकारीहरूसँगै सार्वजनिक जीवनबाट अचानक गायब भएका थिए । सन् २०१२ मा सी चिनफिङ सत्तामा आएपछि सुरु गरिएको भ्रष्टाचारविरुद्धको शुद्धीकरण अभियानअन्तर्गत हालसम्म लाखौँ अधिकारीहरू कारबाहीमा परिसकेको बताइएको छ । विभिन्न रिपोर्टअनुसार केही उच्च पदस्थ अधिकारीहरूको हिरासतकै क्रममा मृत्यु समेत भएको छ ।
आजकाे लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरकाे मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९४ रुपैयाँ २३ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर ११० रुपैयाँ ८९ पैसा, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९० पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १३ पैसा र बिक्रीदर २२ रुपैयाँ २२ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ९८ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३७ पैसा र बिक्रीदर १० रुपैयाँ ४२ पैसा कायम गरिएको छ । स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६९ पैसा र बिक्रीदर २३ रुपैयाँ ७९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ५० पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ३९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४०० रुपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ९० पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
आजकाे माैसम: मध्यमसम्मको वर्षाको सम्भावना
काठमाडौं । देशका केही भूभागमा वर्षाको सम्भावना छ । आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । विभागले राति हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भूभागमा आंशिक बादलको पूर्वानुमान छ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेशलगायत बाँकी हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ ।
आजकाे माैसम: कहाँ–कहाँ पर्छ हाेला पानी ?
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात हुनेछ । बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागले राति कोसी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ । मधेस र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ । विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको बताएको छ ।
धरानमा उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
सुनसरी । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । केही वर्ष अघिसम्म उजाड र सुनसान जङ्गलका रूपमा रहेको उक्त क्षेत्र श्रमदानमार्फत विकास गरिएपछि हाल लोकप्रिय पर्यटन गन्तव्यका रूपमा परिचित बनेको हो । विशेष गरी पार्कभित्र बनाइएको आकर्षक पानीको फोहरा ९वाटर फाउन्टेन० ले धेरैलाई आकर्षित गरिरहेको छ । सिराहाको धनगढीमाई नगरपालिकाबाट यहाँ घुम्न आएका हरिनारायण चौधरीले धरान धेरै पटक आए पनि उक्त पार्क पहिलोपटक घुम्दा निकै रमाइलो लागेको बताए । “सामाजिक सञ्जालमा देखेको र सुनेको थिएँ, यस पटक यही आएर हेर्दा निकै रमाइलो लाग्यो । निकै सुन्दर प्राकृतिक पार्क रहेछ भन्ने अनुभूति भयो”, उनले भने, “धरानका अन्य स्थान पनि घुम्ने योजना थियो, तर यहाँको वातावरणले अन्त जानै मन लागेन ।” चौधरीले प्राकृतिक संरचनाको संरक्षण र सौन्दर्यकरण गर्न सके यस्ता बगर क्षेत्रसमेत उत्कृष्ट पर्यटन गन्तव्य बन्न सक्ने सन्देश यस पार्कले दिएको बताए । “श्रमदानबाट निर्माण गरिएको यस्तो पार्कले नयाँ अनुभूति दिलाएको छ । चारैतिर फूल, चौतारा र हरियालीले सजिएको देख्दा निकै राम्रो लागेको छ । यसबाट देशका अरू क्षेत्रले पनि सिक्नुपर्छ”, उनले भने । पहिले ‘ओशो पार्क’, बिपी पार्कका रूपमा चिनिने उक्त क्षेत्र हाल ‘श्रम संस्कृति पार्क’ नामले परिचित छ । श्रमदान अभियानमार्फत विकास गरिएको यस पार्क आसपासमा दर्जनौँ सानाठुला पार्क निर्माण भएका छन् । एसडिबी पार्क, रक गार्डेन, चिल्ड्रेन पार्क, ज्येष्ठ नागरिक पार्कलगायत संरचना यहाँ रहेका छन् । साथै, गोर्खाली भूपू लाहुरेहरूले निर्माण गरेको ‘गोर्खा चौतारी’ समेत पर्यटकको अर्को आकर्षण स्थल बनेको छ । पार्क क्षेत्रमा हरियाली वातावरणसँगै विभिन्न प्रजातिका फलफूल तथा बोटबिरुवाले ढाकिएका बगैँचाले आगन्तुकलाई आकर्षित गर्ने गरेको छ । पार्कभित्र स्थानीय जनजीवन झल्काउने प्रतिमा राखिएका छन्, जसले पर्यटकको ध्यान तान्ने गरेको छ । सर्दु, खर्दु र निसाने खोलाको बगर क्षेत्रमा निर्माण गरिएको पार्कमा फलफूलका बिरुवा, विश्रामस्थलका रूपमा चौतारा तथा आकर्षक बगैँचा निर्माण गरिएका छन् । साथै, धरानको पहिचान झल्काउने काठ काट्ने आराको नमुना तथा किरात संस्कृतिसँग सम्बन्धित चिन्डोको आकृतिमा धारा निर्माण गरिएको छ । विभिन्न दाताले आफ्ना आफन्तको सम्झनामा बस्न मिल्ने संरचनाहरू निर्माण गरिदिएका छन् । यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सजिलो भएको छ । झापाबाट साथीहरूसहित घुम्न आएकी जयन्ती जिमीले पार्कको तीव्र विकास भएको देख्दा खुसी महसुस भएको बताइन् । “एकै स्थानमा श्रमदानमार्फत विभिन्न संरचना निर्माण गरिएकाले पार्क निकै आकर्षक बनेको छ”, उनले भनिन्, “ पाँच/छ वर्षअघि पहिलोपटक आउँदा चारैतिर जङ्गल, झाडी र खोला मात्र देखेको थिएँ, यस पटक त परिवर्तन गरेर चारैतिर फूल, चौतारा र हरियाली रहेछ । निकै खुसी र रमाइलो लाग्यो ।” पार्क निर्माणसँगै आसपास क्षेत्रमा होटल तथा खाजा पसलको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । स्थानीय होटल व्यवसायी सुरज गुरुङका अनुसार पार्क बनेपछि व्यापारमा उल्लेख्य वृद्धि भएको छ । “पहिले बगर छेउमा चारपाँचवटा मात्र खाजा घर थिए, अहिले दुई दर्जनभन्दा बढी सञ्चालनमा आएका छन्”, उनले भने । दैनिक सयौँ पर्यटक धरान, पाँचथर, तेह्रथुम, धनकुटा, इटहरी, मोरङ, झापालगायत जिल्लाबाट तथा विदेशबाट समेत आउने गरेका छन् । “एकै स्थानमा धेरै आकर्षक पार्क भएकाले बिहान आएका पर्यटक दिनभर यहीँ बिताउने गरेका छन्”, गुरुङले भने । पार्क संरक्षण समितिका अध्यक्ष पुनेन्द्रप्रसाद लिम्बूका अनुसार उक्त स्थान पहिले पैदलमार्गका रूपमा मात्र प्रयोग हुँदै आएको थियो । हाल दैनिक पाँच सयदेखि एक हजारसम्म पर्यटक आउने गरेका छन् भने बिदाका दिनमा पाँच हजारसम्म पर्यटक आउने गरेको उनले बताए । धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्कराज राई (साम्पाङ)को नेतृत्वमा सुरु भएको श्रमदान अभियानबाट उक्त क्षेत्रको विकास गरिएको हो । स्वदेश तथा विदेशमा रहेका सहयोगी दाताहरूको सहयोग र श्रमदानमार्फत पार्क निर्माण गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए । उनका अनुसार पार्कमा हाल २५ देखि २८ जनाले रोजगारी पाएका छन् । हाल पार्क क्षेत्रमा तीनवटा टिकट काउन्टर सञ्चालनमा रहेका छन् भने रोपिएका बोटबिरुवाको संरक्षणका लागि कर्मचारी खटाइएको छ । खोलाको किनार क्षेत्रमा पार्क रहेकाले बर्खायाममा आउने बाढीले केही संरचनामा क्षति पुर्याउने समस्या रहेकाले खोलाको व्यवस्थापन गर्न सके पार्क अझ व्यवस्थित बन्ने उनको भनाइ छ । पार्क क्षेत्रलाई अझ रमणीय र आकर्षक बनाउन थप भौतिक पूर्वाधारका कामहरू भइरहेका छन् । यहाँ पार्क बन्नुभन्दा अगाडि २०७५/७६ सालमा पूर्वसांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट रु २० लाखमा यस क्षेत्रमा रहेका ओशो पार्क र बिपी पार्क निर्माण गरिएका थिए । त्यसैगरी, पूर्वसांसद कृष्णकुमार राईको कोषबाट रु १० लाख सहयोगमा बिपी पार्क क्षेत्रमा घिर्लिङ अवशेषसम्म जाने सिँढी निर्माण गरिएको थियो । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित ती संरचना निर्माण गरिएकाले स्थानीय पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुर्याएको पूर्वसांसद जयकुमार राईले बताए । धरान उपमहानगरपालिका–१३ स्थित फुस्रे चोकबाट श्रम संस्कृति पार्क पुग्न कोशी प्रदेश सरकारको रु ४० लाख सहयोगमा करिब एक किलोमिटर सडक कालोपत्रे भएपछि पर्यटकलाई आवतजावतमा सहज छ ।
एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) का अनुसार गाउँपालिकामा एक हजार ८५७ घरपरिवार अव्यवस्थित रहेकामा हालसम्म १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सम्पन्न भइसकेको छ । बाँकीलाई पनि प्रमाणपत्र वितरणको काम अन्तिम चरणमा पुगेको छ । “रोङमा भूमिहीन दलित चार, भूमिहीन सुकुमवासी ६९ र एक हजार ७८४ अव्यवस्थित बसोबासी छन्”, अध्यक्ष स्याङ्बोले भने, “वडा नं १ का १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सकिएको छ । बाँकीको काम अन्तिम चरणमा छ । लगत सङ्कलन, प्रमाणीकरण र नक्साङ्कनको कार्य सकिएको छ । त्यसैले अव्यवस्थित बसोबासी हटाइने भन्ने हल्ला निराधार हो ।” सङ्घीय सरकारले भूमि आयोग विघटन गरेपछि नयाँ आयोग गठन प्रक्रियाका कारण केही ढिलाइ हुनसक्ने भन्दै गाउँपालिकाले प्रमाणपत्र पाउन बाँकी नागरिकलाई नआत्तिन आग्रह गरेको छ । “सामाजिक सञ्जालमा फैलिएको भ्रम गलत हो । प्रचलित कानुनबमोजिम जग्गाधनी प्रमाणपत्र वितरण कार्यले निरन्तरता पाउनेछ । मापदण्ड पुगेका ऐलानी तथा अन्य जग्गामा बसोबास गरिरहेका नागरिकलाई हटाउने वा संरचना भत्काउने कुनै योजना छैन । भ्रमपूर्ण प्रचारमा नलाग्न आग्रह छ”, गाउँपालिकाले एक सूचना जारी गरी आश्वस्त पारेको छ । अध्यक्ष स्याङ्बोले गाउँपालिका नागरिकको आवासको हकप्रति प्रतिबद्ध रहेको बताउँदै सामाजिक सञ्जालमा भनिए झै घर भत्काउने हल्लाबाट त्रस्त नहुन आग्रह गरे ।
मुस्ताङमा बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
मुस्ताङ । हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनुकूल याम चलिरहेको छ । हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ । हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्ने क्रम भने रोकिएको छैन । बुधबार यहाँको वारागुङ मुक्तिक्षेत्रमा आंशिक हिउँ परेको छ, जसकारण यहाँ चिसो बढेको छ । मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी सरोज घर्तीले बुधबार मुक्तिनाथ क्षेत्रमा करिब एक घण्टाभन्दा बढी समयसम्म हिउँ परेको बताए । हिउँ परेसँगै आसपासका नाङ्गा डाँडाकाँडा फेरि हिउँले सेताम्मे भएको उनको भनाइ छ । गर्मीयाम सुरु भइसक्दा पनि मुक्तिनाथमा बेमौसमी हिमपातले दर्शनार्थी भक्तजनलाई मुक्तिनाथ यात्रामा असहज भएको स्वास्थ्यकर्मी घर्तीले उल्लेख गरे । मुक्तिनाथ क्षेत्रमा योसँगै यस वर्ष आठौँ पटक हिमपात भएको हो । यसलाई स्थानीय जानकारकर्ताले जलवायु परिवर्तनको प्रभावका रूपमा विश्लेषण गरेका छन् । वसन्त ऋतुको समयमा पालुवा पलाएर मौसम पनि गुल्जार हुने समयमा मौसम प्रतिकूल बन्नु र हिउँ पर्नु यहाँका लागि राम्रो नभएको वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङले बताए । वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत खिङ्गा, झारकोट, लुप्रा र पुराङ रानीपौवालगायत गाउँमा हिउँदयामको बिदाइ र बर्खायामलाई स्वागत गर्दै ‘धछ्याङ’ पर्व मनाइसकिएको छ । बेमौसमी हिमपातले अन्नबाली र विशेष गरी स्याउका फूलहरू नष्ट गर्ने चिन्ता बढेको वडाध्यक्ष गुरुङले उल्लेख गरे । यस वर्षको हिउँदयाममा यहाँ पटक पटक हिउँ परे पनि वैशाख महिनामा हिउँ पर्नु अनौठो भएको वारागुङ—१ का खिङ्गा गाउँका मुखिया ल्हाक्पाटसी गुरुङले उल्लेख गरे । हिउँदयाममा परेको हिउँ कृषकका लागि फाइदाजनक भए पनि बेमौसमी हिमपातले कृषि र पर्यटन क्षेत्रलाई असर पुर्याउने उनले बताए ।
आजकाे माैसम: वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपात हुनेछ । मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । विभागले राति कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशको केही स्थान, मधेस, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । जलवायुविज्ञ धर्मराज उप्रेतीले राति २ बजेयता चितवनदेखि झापासम्म केही ठाउँमा मध्यमसम्म वर्षा भएको बताएका छन् । “यो दिउँसोसम्म नै रहने सम्भावना छ । पश्चिम तराईमा हल्का प्रभाव हुनेछ,” उनी भन्छन्, “तर मधेसलगायत पूर्वी भागमा ठूलै (राम्रै) वर्षाको सम्भावना छ ।” उनले खहरे खोलामा बाढीको जोखिम हुनसक्ने र बीपी राजमार्गका पर्ने रोशी खोलामा सावधानी आवश्यक रहेको बताएका छन् । मौसमविद् विनोद पोखरेल वैशाखमा पश्चिमी वायुको प्रभाव लगातार एक महिना दिखिएको भन्दै अझै दुई हप्तासम्म नेपालमा दैनिक वर्षा हुने बताउँछन् । अब दुई हप्ता सबै ठाउँमा सधैँ वर्षा नभए पनि नेपालका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको उनको भनाइ छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको विभागले बताएको छ । यही प्रणालीका कारण वर्षा भइरहेको छ ।
आज विदेशी मुद्राको विनिमयदर निर्धारण कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९४ रुपैयाँ २२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रुपैयाँ २६ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ १८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २८ पैसा र बिक्रीदर २२ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५९ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३३ पैसा र बिक्रीदर १० रुपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६ रुपैयाँ ४८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८१ पैसा र बिक्रीदर २३ रुपैयाँ ९० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ४८ पैसा कायम गरेको छ । बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ७५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
दुई वर्षमा कालोपत्रे हुनुपर्ने सडक सात वर्षसम्म पनि भएन
बागलुङ । दक्षिण बागलुङको ‘लाइफलाइन’ का रूपमा रहेको कुश्मीसेरा–बरेङ–शान्तिपुर सडकको पहिलो खण्ड कालोपत्रे नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ । पहिलो खण्डमा पर्ने कुश्मिसेरा–राङ्खानी खण्डको १० किलोमिटर सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण कालोपत्रे हुन नसकेको हो । विसं २०७६ असोजमा २४ गते शर्मा/क्याराभान जेभीले दुई वर्षमा सक्ने गरी जिम्मा पाए पनि अहिलेसम्म कालोपत्रे नगर्दा यात्रा र सामान ढुवानीमा समस्या भएको छ । विसं २०७८ असोजसम्म कालोपत्रे गरिसक्नुपर्ने सडक हालसम्म जम्मा ७८ प्रतिशत काम सकिएको छ । गण्डकी प्रदेश सरकारको रु २४ करोड ५८ लाख लागतमा कालोपत्रको काम अगाडि बढाइएको थियो । निर्माण कम्पनीले सुरुदेखि नै काम गर्न आनाकानी गर्दै आएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर प्रकाश श्रीसले बताए । अहिले मूल्य वृद्धिको बहाना बनाएर काम रोकेको उनको भनाइ छ । काम सम्पन्न गर्नका लागि ताकेता गरे पनि अटेर गरिरहेको श्रीसले बताए । उनका अनुसार हालसम्म निर्माण कम्पनीले पाँच पटक म्याद थप गरेको छ । अन्तिम पटक थपिएको म्याद गत चैत ४ गते सकिएको इन्जिनियर श्रीसले जानकारी दिए । अब म्याद थप गर्ने कि सम्झौता अन्त्य गर्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । निर्माण कम्पनीले हालसम्म काम गरेको भुक्तानी भने लगी सकेको उनी बताउँछन् । इन्जिनियर श्रीसले भने, “काम सक्नका लागि धेरै पटक तातेका गरेका गर्यौँ, तर निर्माण कम्पनीले सुन्दै सुनेनन्, सरासर काम गरेको भए पाँच वर्ष अगाडि नै सकिनु पर्थ्यो तर अहिलेसम्म कामले राम्रासँग गति लिएको छैन, काम त पहिलेदेखि गरी रहेको थिएन, अहिले महङ्गीका कारण काम गर्न सकिएन भन्छ ।” उक्त सडकको राङखानी–बरेङ खण्ड भने दुई वर्ष अगाडि नै कालोपत्रे भइसकेको छ । निर्माण कम्पनी लामो समय सम्पर्कविहीन हुँदै आएको थियो । सडक कालोपत्रे हुने आशमा सात वर्ष बितिसकेको जेमिनी नगरपालिका–१० राङखानीका भक्तबहादुर थापाले बताए । गाउँको सडकमा दैनिक गाडी गुड्दा हिउँदमा धुलो र वर्खामा हिलो घरभित्रै आउने गरेको उनले गुनासो पोखे । “यो बाटो पिच हुन्छ, हुन्छ भनेको पनि धेरै वर्ष भयो, अहिलेसम्म जस्ताको त्यस्तै छ, हिउँदभरि बाटोको धुलो उडेर भान्छाकोठा मै आउँछ, बारीका तुलफूल पनि धुलैधुलो हुन्छन्”, थापाले भने, “वर्खामा बाटोको भल सबै बारीमा पसेर दुःख दिने गरेको छ, यसको समाधान कहिले हुने रैछ कुन्नि ?” स्थानीय पुष्पा श्रीसले सडकको दुरावस्थाका कारण सामान ढुवानी र यात्रा गर्न निकै कठिन हुने गरेको बताए । गाडीवालाले अप्ठ्यारो सडक देखाएर छोटो दूरीमा पनि बढी भाडा लिने गरेको उनको भनाइ छ ।

