दाउन्नेमा यातायात ठप्प, यात्रुलाई सास्ती
नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ । मंलबार रातिदेखि अवरुद्ध सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि अवरुद्ध भएको हो ।
शीतलहरका कारण सडक चिप्लो भएपछि मंगलबार रातिदेखि सवारी साधन आवागमनमा समस्या भएको छ । शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्णरुपमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । बिहान दुवैतर्फ सवारी साधनको लामो लाइन छ ।
रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिंडेर दाउन्ने खण्ड पार गरेका छन् ।
नेपाल–चीन सिमानामा ७ म्याग्निच्यूटको भूकम्प
काठमाडौं । मंगलबार बिहान बिहान ६ः५० बजे गएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन सीमा क्षेत्र भएको खुलेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पविद् अधिकारीका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमाना नजिक दिङ्गे काउन्टी हो । भूकम्पको धक्का लामो समय महसुस भए पनि अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन । भूकम्पको धक्का नेपालभर महसुस भएको थियो । भूकम्पको धक्का चीन, नेपालसहित बंगलादेश, भारत र भुटानमा महसुस भएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ। भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो। भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए। वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको हो। नेपालमा २०७२ साल वैशाख १२ गते ७.६ म्याग्निच्यूडको भएकम्प गएको थियो। गोरखा केन्द्रबिन्दु भएर गएको उक्त भूकम्पपछि नेपालमा लागतार सानाठुला भूकम्प गएका थिए। पछिल्लो दुई महिनामा मात्र पश्चिम नेपालमा चार म्याग्निच्यूडभन्दा माथिको भूकम्प पटकपटक गहिरहेको थियो।
पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश, आज र भोलि वर्षा र हिमपात
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना रहेको हो । “हिजो साँझबाट पश्चिमी भूभागमा बादल प्रवेश गर्न सुरु गरिसकेको छ । त्यसको प्रभावस्वरुप आज र भोलि वर्षा र हिमपात हुने हो,” मौसमविद् प्रतिभा मानन्धर बाह्रखरीसँग भन्छिन्, “आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपात र वर्षा हुनेछ ।” हाल नेपालमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । मौसमविद् मानन्धरका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौंमा आज वर्षाको सम्भावना नरहेको मौसमविद् मानन्धरको भनाइ छ । उनका अनुसार काठमाडौंमा आज बदली मात्र हुनेछ । काठमाडौंमा आज बिहान ५ : ४५ को न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस छ । दिउँसो १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमबाट पूर्वतर्फ सर्दै जाँदा भोलि भने काठमाडौंमा वर्षाको सम्भावना छ । “भोलि काठमाडौंमा वर्षाको सम्भावना छ । भोलि मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको छ,” मौसमविद् मानन्धर भन्छिन्, “हल्का वर्षा मात्रै हुने हो । ठूलो वर्षा कतै पनि हुने सम्भावना छैन ।” उनका अनुसार बुधबारबाट मौसम क्रमिक रूपमा सफा हुँदै जानेछ । पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि मौसम सफा हुने उनको भनाइ छ । बादल, वर्षा, हिमपात तथा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
भोलिदेखि वर्षा र हिमपात हुने
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधरणतया मौसम बदलीदेखि सामान्यतया वर्षा रहने छ । आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ । 'तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ,' उनले भने, 'बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।' पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
धान उत्पादन चार प्रतिशतले बढ्यो
काठमाडौं । यस वर्ष मुुलुकभर धानको उत्पादन चार प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालुु आर्थिक वर्ष २०८१/८२ मा धानको उत्पादन ४.०४ प्रतिशतले बढेर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको छ । गत आव २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले धानको कुल उत्पादन बढेको मन्त्रालयले जनाएको छ । यस वर्ष बर्खे र चैते गरी १४ लाख २० हजार ६३६ हेक्टरमा धान रोपाइँ भएको थियो, जुन गत वर्षभन्दा १.२८ प्रतिशतले कमी हो । गत वर्ष १४ लाख ३८ हजार ९८९ हेक्टरमा धान रोपिएको थियो । यस वर्ष धानको औसत उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. मतिना जोशी वैद्यले रासायनिक मल, उन्नत जातको बिउ र समयमा वर्षा हुँदा धान उत्पादन बढेको जानकारी दिनुभयो । धानको औसत मूल्य प्रतिकिलो ३२ रुपियाँका दरले हिसाब गर्दा यस वर्ष एक खर्ब ९० अर्ब ५७ करोड ५२ लाख ३२ हजार रुपियाँ बराबरको धान उत्पादन भएको छ । चालु आवका लागि सरकारले मोटा धान प्रतिक्टिन्टल तीन हजार ४१० रुपियाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपियाँ ६२ पैसा निर्धारण गरेको छ । यस वर्ष बाढीपहिरोका कारण केही प्रदेशमा धानको उत्पादन घटे पनि केही प्रदेशमा उत्पादन बढ्दा धानको राष्ट्रिय उत्पादन बढेको गोरखापत्र दैनिकमा समाचार छ ।
लेखा समिति सभापतिका स्वकीय सचिव ठगी धन्दामा, पक्राउको तयारीपछि निष्काशन
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीमा संलग्नको आरोप लागेका स्वकीय सचिव अनिलकुमार पोखरेललाई हटाएका छन् । संघीय संसद् सचिवालयलाई पत्र लेखेर सभापति पोखरेलले स्वकीय सचिवलाई हटाएका हुन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापति पोखरेलले स्वकीय सचिवलाई हटाउनका लागि भन्दै शुक्रबार पत्र पठाएका छन् । उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो । परमादेश पुस ११ मा प्रमाणीकरण भएकोमा शुक्रबारसम्म सभापति पोखरेलको स्वकीय सचिवमा अनिल पोखरेलले नै काम गरिरहेका थिए । सभापति पोखरेलले संसद् सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, 'मेरो स्वकीय सचिवको रुपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।' ‘माथिसम्म पहुँच रहेको’ भन्दै लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव अनिल पोखरेलले छोरीको नाम एमबीबीएस इन्ट्रान्समा निकालिदिने आश्वासन दिई बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएर ५० लाख ऋण लिएको लिखत बनाइ चौधरीलाई हस्ताक्षर गराएका थिए । अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् । २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला कमिटीबाट सिफारिस भएका थिए । ऋषिकेश पोखरेले सांसद भएर सार्वजनिक लेखा समितिको सभापति बनेदेखि नै अनिलकुमार पोखरेल स्वकीय सचिव थिए ।
आज तीन प्रदेशमा मौसम बदली, तराई र उपत्यकामा हुस्सु
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराईका धेरै स्थानसहित उपत्यका क्षेत्रमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तीन प्रदेशको मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना भने कतै देखिएको छैन। ‘बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
जनमत पार्टीले मनायो राष्ट्रिय धोती दिवस
काठमाडौं । काठमाडौं- जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त(सिके) राउतले लामो संघर्षपछि मुलुकमा गणतन्त्र आइसक्दा पनि पश्चगामी मानसिकता अझै कायम रहेकाले धोती दिवस मनाउन बाध्य भएको बताएका छन्। बुधबार माइतीघर मण्डलामा राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘नेपाल विविधतापूर्ण देश हो। यहाँ अनेकौँ, जातजातिहरु, भाषाभाषीहरु, भेषभुषा भएका मानिसहरु छन्। हाम्रो लागि त्यो कमजोरी होइन। यो हाम्रो लागि सम्पती हो। यो सबैलाई हामीले सम्मान गर्नुपर्छ। त्यही आशयले हामी आज राष्ट्रिय पोशाक दिवस मनाउँदै छौँ,’ उनले भने,’नेपालमा लामो समय एकल भाषाभाषी लाद्ने चेष्ठा गरियो। लामै संघर्ष गर्यौँ। त्यसपछि गणतन्त्र आइसक्दा पनि कतै न कतै त्यो पश्चगामी मानसिकता अझै छ। त्यसैले हामी यो दिवस मनाउन बाध्य भएका हौँ। आज कुनै एकल जाजातिको मात्रै भेषभुषा मनाउने दिवस होइन। सबैले आफ्नो मौलिक भेषभुषा लगाउने हो।’ उनले धेरै भेषभुषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पती भएको उल्लेख गरे। उनले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताए। उनले सबैले सबैको अपनत्व स्वीकार गरेर आफ्नो-आफ्नो पोशाक लगाइ पोशाक दिवस मनाउनुपर्ने बताए। उनले अरुलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताए। राष्ट्रिय धोती दिवसको अवसरमा मधेसी समुदायका नागरिकहरु धोती लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए। उनीहरुले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
स्याङ्जामा एक अर्ब २५ करोडको सुन्तला बिक्री
स्याङ्जा । स्याङ्जामा यसवर्ष एक अर्ब २५ करोडको सुन्तला उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालका अनुसार गत वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा १५ प्रतिशत समेत वृद्धि भएको हो। अघिल्लो वर्षमा पनि अत्याधिक सुन्तला उत्पादन भएको थियो। यसवर्ष २० देखि २१ हजार मेट्रिक टन सुन्तला फलेको कृषि ज्ञान केन्द्र र सुन्तला सुपरजोन परियोजनाले जनाएको छ। अघिल्लो वर्ष २२ हजार मेट्रिक टन र गतवर्ष १७ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। जिल्लाभर २ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती छ। ती मध्ये १ हजार ३ सय ७० हेक्टरमा सुन्तलाले उत्पादन दिएका छन् भने बाँकी ८ सय ८० हेक्टरमा हुर्कदो अवस्थाका सुन्तला छन्। जिल्लाभर ४ हजार भन्दा बढी सुन्तला व्यवसायी किसान छन्। यहाँका ११ पालिकाका ९७ वडामध्ये ७/८ वडा बाहेक सबै वडामा सुन्तलाको उत्पादन राम्रो छ। कालीगण्डकी गाउँपालिका र चापाकोटका केही वडा बाहेक अन्य सबै पालिकामा सुन्तलाका खेती विस्तार भएका छन्। विसं. २०७३ सालमा सुन्तला जोन सञ्चालनको स्वीकृत पाएपछि सुरुमा १७ वडामा परियोजना लागू भएको थियो। पछिल्ला केही वर्षयता भने जिल्लाभर सुन्तला सुपरजोन परियोजना समेटिएको छ। सबै ठाउँमा सुन्तलाको उत्पादन हुने भएकाले ब्लक, पकेट कार्यक्रममार्फत् जिल्लाभर समेटिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना इकाई कार्यालयले जनाएको छ। स्थानीय पालिका,प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना र कृषि ज्ञान केन्द्रमार्फत् पनि किसानलाई आवश्यक सहयोग हुँदै आएको छ। तर, सुपरजोन परियोजनाको भने सहयोग उल्लेख्य छ। सुन्तला रोपण र उत्पादनमा जोड दिँदै यसका लागि वनजंगल फडानीदेखि स्याहार सम्भार,खाद्य पोषणलगायतसम्मका गतिविधि र उपकरण खरिदलगायतमा केही प्रतिशत छुटदेखि अनुदानसम्मका सुविधा उपलब्ध गराउँदै आएको बरिष्ट कृषि अधिकृत अजय अधिकारीले जानकारी दिए। सुन्तला उत्पादनका लागि उपयुक्त भूगोल भएका कारण जिल्लाको मुख्य उत्पादन पनि सुन्तला बनेको छ। सुन्तलाबाटै बर्सेनि करोडौं रुपैयाँ भित्रयाइन्छ यहाँ। यहाँका पाखा, पखेरा र खेत बारीका गहगह्रामा सुन्तला झुलेका छन्। हिजोआज सुन्तला पाकेर पहेंलपुर बनेका छन्। सुन्तलाको बिरुवा रोपेको ५ देखि ६ वर्षभित्रमा फल दिने हुँदा किसानको विशेष रुची सुन्तला खेतीमा गएको हो। अझ कलमी बिरुवाले त रोपेको दुई/तीन वर्षमै फल दिन थाल्छ। वर्षको दुई/चार पटक मल, जल, गोडमेल गरेपछि सुन्तलाले राम्रो उत्पादन हुन्छ। बर्सेनि ५ देखि ३० लाख रुपैयाँसम्म नगद आम्दानी गर्ने दर्जनौं किसान छन् यहाँ। यहाँका प्रायजसो सबैका घर घर सुन्तलाका बिरुवा छन्। स्थानीय पालिकाले पनि सुन्तलालाई विशेष प्राथमिकतामा राखेको छ। सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा सुन्तला उत्पादन हुन्छ। कूल उत्पादनको ३० प्रतिशत भन्दा बढी पुतलीबजारमा सुन्तला उत्पादन हुने गर्दछ। पुतलीबजार, वालिङ्, अर्जुनचौपारी, भीरकोट, बिरुवा, आँधीखोला, गल्याङमा अत्याधिक सुन्तला खेती हुन्छ। यसैगरी, दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे, पौवेगौडे लगायतका वडा सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र हुन। कालीगण्डकी, चापाकोट र हरिनासका केही बडा बाहेक जिल्लाभर सुन्तला खेती अत्यन्तै राम्रो हुन्छ। स्याङ्जामा आन्तरिक रुपमा कार्त्तिकको अन्तिम सातादेखि नै सुन्तला खरिद बिक्री सुरु हुन्छ। सुन्तला व्यापारी पनि मंसिर पहिलो सातादेखि नै किसानका घर बगैचामै पुगेर किन्ने गर्छन्। अहिले सुन्तला व्यापारी बगैचामा पुगिसकेका छन्। यहाँका सुन्तलाको मुख्य बजार पोखरा, बुटवल, चितवन, नारायणघाट,काठमाडौं हो।
बाँके कुष्ठरोगको उच्च जोखिममा
बाँके । एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ । जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान हुँदा बाँकेका मात्रै ८४ बिरामी रहेको छन् । साइनिङ अस्पतालका प्रमुख मङ्गलबहादुर थारुले नयाँ पहिचान भएका कुष्ठरोगीमा बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका पाँच, रुकुमका चार, सल्यानका तीन तथा दैलेख, सुर्खेत, जाजरकोट, रोल्पा र हुम्लाका एक/एक जना रहेका जानकारी दिए । पहिचान भएकामध्ये ३९ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु पोजिटिभ रहेको थियो । बिरामीलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको उनले बताए । अस्पतालले आफ्नो बहिरङ्ग सेवामार्फत गत आर्थिक वर्षमा १७ हजार दुई सय ६५ जनालाई सेवा प्रदान गरेको थियो । साइनिङ अस्पतालले कुष्ठरोग सेवालाई विस्तार गर्दै पश्चिम क्षेत्रको कुष्ठरोग प्रेषण केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको थारुले बताए । अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवालगायत गतिविधि गरिरहेको प्रमुख थारुले जानकारी दिए । गत आवमा प्रयोगशाला परीक्षणमा कुष्ठरोग पहिचानसम्बन्धी ‘स्लिट स्किन स्मिएर’ जाँच आठ सय ३८ र अन्य प्रयोशाला परिक्षण ११ हजार तीन सय १८ रहेको थियो । सन् १९९६ मा नेपालगञ्ज टिवी रेफरल केन्द्रको नामबाट सेवा सुरु गरी हाल जानकी गाउँपालिका–३ मानपुरमा साइनिङ अस्पतालले सुविधा सम्पन्न भवनबाट पश्चिम नेपाल र आसपासको क्षेत्रका कुष्ठरोगीको उपचार सेवा प्रदान गर्दै आएको आएको अस्पताल प्रमुख थारुको भनाइ छ । जानकी–१ का सेवाग्राही गुलाम हसमत साईले कुष्ठरोग प्रभावित बिरामीलाई आइएनएफको साइनिङ अस्पताल भगवान् जस्तै बनेको बताए । आफूले साइनिङ अस्पतालको माध्यमबाट उपचार पाइरहेको उल्लेख गर्दै धेरैको ज्यान जोगाउन अस्पतालले उल्लेखनीय भूमिका खेलेको उनको भनाइ छ । जानकी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले समाजमा आइएनएफले कुष्ठरोग निवारण काक्र्रक्रममा सहयोग पुग्ने गरी सेवा प्रवाह गरेको जानकारी दिँदै अझै पनि कुष्ठरोगको प्रभाव रहेकाले निवारणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । कुष्ठरोग अहिले पनि जनस्वास्थ्यको समस्याका रूपमा रहेको बताउँदै रानाले समाजमा रोगीहरू लुकेर बसेको हुनसक्ने भएकाले शिविरअन्तर्गत खोजी अभियान सञ्चालनको आवश्यकता रहेको औँल्याए । उनले विगतको तुलनमा रोगीको सङ्ख्या कमी भए पनि रोग निवारणको लक्ष्य भेटाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्राथमिकताका साथ लाग्न जरुरी भएको उल्लेख गरे ।
आजबाट जन्मने पुस्तालाई भनिने छ ‘जेनेरेशन विटा अर्थात जेन बी’
आजको दिन एउटा नयाँ पुस्ता जन्मिएको छ। जेनरेशन जेड (Gen Z) र अल्फा (Alpha) जस्तै, जेनरेशन बीटा पनि एक यस्तो संसारमा हुर्किनेछ, जसमा प्रविधि र वातावरण तीव्र गतिमा परिवर्तन भइरहेका छन्। यसले नवप्रवेशी पुस्ताको जीवनमा के अर्थ राख्छ भनेर बुझ्न प्रयास गरौँ। सन् २०२५ को पहिलो दिन जन्मेका बच्चाहरू केवल वर्षकै पहिलो मात्र होइनन्, उनीहरू नयाँ पुस्ताको पहिलो प्रतिनिधि हुन्। २०२५ देखि २०३९ बीच जन्मिने व्यक्तिहरूलाई जेनरेशन बीटा भनिनेछ, जो हाम्रो समयको सातौँ पुस्ता हुनेछ। जेनरेशन बीटा को विशेषता यस पुस्ताले विश्वको १६ प्रतिशत जनसङ्ख्या ओगट्ने अपेक्षा गरिएको छ, र यसमध्ये धेरैले २२औँ शताब्दीको प्रारम्भ हेर्नेछन्। तर, जेनरेशन जेडको तुलनामा, जसले एनालग प्रविधिबाट डिजिटलमा रुपान्तरण देख्यो, जेनरेशन बीटा एक अत्यधिक प्रविधिमा एकीकृत संसारमा हुर्कनेछन्। कृत्रिम बौद्धिकता (AI) को विकासले उनीहरूको जीवनलाई गहिरो रूपमा परिवर्तन गर्नेछ, जसको परिणामस्वरूप उनीहरूले अति उच्च प्रविधिगत दक्षता देखाउनेछन्। तर यो पुस्ताले जलवायु परिवर्तनको प्रभाव पनि उत्तराधिकारमा पाउनेछ। मोनाश सेन्टर फर युथ पोलिसी एण्ड एजुकेशन प्राक्टिस का निर्देशक लुकस वाल्शका अनुसार, विश्वले जलवायु परिवर्तनलाई नियन्त्रण गर्न पर्याप्त कदम चाल्ने सम्भावना कम छ। वाल्श भन्छन्, "ठूला र अस्तित्वगत चुनौतीहरू नयाँ होइनन्, तर सामुदायिक सोचको अस्वीकृतिले कुनै ठोस कार्यलाई अवरोध पुर्याउँछ।" उनका अनुसार, "हामीले विचारधाराहरू र राजनीतिक दृष्टिकोणहरूको विखण्डन देखेका छौँ। कुनै ठूला कथानक (grand narrative) ले निर्णय प्रक्रियालाई अघि बढाउने मार्गदर्शन गरिरहेको छैन।" सबैभन्दा ठूलो परिवर्तन के हुनेछ? आजका युवाहरूको एउटा महत्वपूर्ण विशेषता हो—संस्थाहरू प्रतिको अविश्वास। वाल्शले भने, "हामीले वर्षेनी देख्यौँ कि मुख्यधारको राजनीतिक संस्थाहरूलाई युवा पुस्ताले चासो र आलोचना गर्दै आइरहेका छन्।" यो आलोचना त्यस्तो आर्थिक र सामाजिक संरचनाबाट उत्पन्न भएको हो, जसले युवाहरूलाई विस्थापित गरिरहेको छ। उनले थपे, "पुरानो पुस्ताले बनाएको खेल भन्छ: 'तिमीले थप प्रमाणपत्र र तालिम पाउँछौ भने, राम्रो काम र घर पाउनेछौ।' तर, यो खेलको नियम कोले बनाएको भन्ने सोच्न युवाहरू बाध्य छन्।" तर मेलबर्न विश्वविद्यालयका समाजशास्त्र प्राध्यापक ड्यान वुडम्यानका अनुसार, संस्थाहरूको अविश्वास वा अस्वीकृतिको प्रभाव अझै स्पष्ट छैन। "जेनरेशन बीटा एउटा यस्तो संसारमा जन्मिँदै छ, जहाँ शताब्दीयौँसम्म पुस्तालाई आकार दिने संस्थाहरू प्रतिको विश्वास कमजोर हुँदै गएको छ," उनले भने। जेनरेशन बीटाको भविष्य वाल्शका अनुसार, "अत्यधिक परिवर्तन भइरहेका बेला भविष्यको अनुमान गर्न कठिन छ। हामीले जेनरेशन एक्स, बुमर्स वा जेनरेशन बीटा जस्ता नामहरू समयसँगै पछिसम्मै हेरेर मात्र दिने गरेका छौँ।" वुडम्यान भन्छन्, "हामीले पछिल्लो समय मात्र यस्ता पुस्ताको भविष्यबारे अनुमान गर्न थाल्यौँ, जसको हालै जन्म मात्र भएको छ वा अझै जन्मिन बाँकी छ।" अन्ततः, जेनरेशन बीटाले कसरी विश्वलाई रूपान्तरण गर्छ भन्ने कुरा भविष्यमै निर्भर छ। तर, यस पुस्ताले उच्च प्रविधि, जलवायु परिवर्तनको प्रभाव, र संस्थागत परिवर्तनहरूको सामना गर्दै नयाँ इतिहास लेख्ने निश्चित छ।
तराईमा हुस्सु, जनजजीवन प्रभावित
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको छ । हुस्सु र कुहिरोका कारण उक्त क्षेत्रको जनजीवन प्रभावित बनेको छ । आवतजावत तथा सवारी सञ्चालनमा समेत समस्या भएको छ । आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ । तराई, खोँच क्षेत्रका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
बैतडीमा भूकम्पको धक्का
काठमाडौं । बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र (NEMRC)का अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको जानकारी अनुसार यो स्थानीय म्याग्निच्युड (ML) ४.६ को भूकम्प हो। भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन। सम्बन्धित क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। भूकम्प मापन केन्द्रले थप विवरणका लागि अनुसन्धान गरिरहेको जनाएको छ।
साउदीबाट फर्किएका दुई श्रमिकमा मंकीपक्स
काठमाडौं । साउदी अरबबाट फर्केका मंकीपक्स संक्रमित एक नेपालीको अवस्था जटिल देखिएको छ । पछिल्लो दस दिनमा साउदी अरबबाट फर्किएका दुई नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको थियो । उनीहरूमध्ये गत शनिबार काठमाडौं आएका सिन्धुलीका ४४ वर्षीय पुरुषको अवस्था यसअघि पहिचान भएका संक्रमितको भन्दा जटिल देखिएको हो । उनी हाल सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा उपचाररत छन् । छाला रोग विशेषज्ञ डा. सिवेन्द्रकुमार झाका अनुसार ती पुरुषको मृगौला, फोक्सो, कलेजो जस्ता संवेदनशील अंगलाई भने असर गरेको छैन । ‘अनुहार, छाती, हातखुट्टालगायत शरीरभरि संक्रमण देखिएको छ,’ उनले भने, ‘छालाको दृष्टिकोणबाट हेर्दा संवेदनशील तथा जटिल देखिएको हो ।’ ती पुरुष साउदी अरबमा करिब १६ वर्षदेखि काम गर्दै आएका थिए । मंकीपक्स लागेपछि साउदी अबरकै अस्पतालमा १७ दिनदेखि उपचाररत थिए । उनी साउदी अरबबाट दोहा हुँदै शनिबार बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । विमानस्थलबाट सिधै स्वयम्भूस्थित आफन्तकोमा गएका थिए । भोलिपल्ट आइतबार मात्र उपचारका लागि टेकु अस्पताल पुगेका थिए । नमुना परीक्षण गर्ने क्रममा उनलाई मंकीपक्स संक्रमण पुष्टि भएको थियो । गत पुस ५ मा साउदी अरबबाटै फर्केका तनहुँका ३६ वर्षीय पुरुषलाई पनि मंकीपक्स पुष्टि भएको थियो । उनको पनि टेकु अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले ती युवकको घाउ लगभग सुकिसकेको बताए । ‘नयाँ घाउ पनि देखापरेको छैन,’ उनले भने, ‘केही दिनमा डिस्चार्ज गर्ने तयारी छ ।’ चिकित्सकका अनुसार मंकीपक्स संक्रमित व्यक्ति वा पशुसँगको सम्पर्कमा आउँदा, शरीरबाट निस्किएको थुक, र्याल, घाउ, खटिरा, भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ । तर, सिन्धुलीका युवामा संक्रमण पुष्टि भएको २४ घण्टा बितिसक्दा पनि सम्बन्धित निकायले कन्ट्याक्ट ट्रेसिङ गरेको छैन । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले संक्रमित व्यक्तिको परिवारलाई मंकीपक्सबारे जानकारी रहेको र सतर्कता अपनाउन भनिसकेको बताए । ‘कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मी पठाउने तयारी छ,’ उनले भने, ‘साउदी अरबमा मंकीपक्स संक्रमित अन्य नेपालीको अवस्थाबारे जानकारी दिन त्यहाँको सरकारी संयन्त्रलाई आग्रह गरेका छौं ।’ साउदी अरब नेपालीको रोजगारीको प्रमुख गन्तव्यमध्येमा पर्छ । त्यहाँ मात्र ४ लाख नेपाली श्रमिक कार्यरत छन् । निर्देशक घिमिरेका अनुसार साउदी अरबको स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय इन्टरनेसनल हेल्थ रिप्रेजेन्टेटिभ (आईएचआर) सँग त्यहाँ कार्यरत नेपालीको अवस्थाबारे जानकारी लिने प्रयास जारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार केही दिनयता अफ्रिकी मुलुक कंगोमा मंकीपक्स भाइरसको घातक प्रजाति ‘क्लेड १ बी’ फैलिरहेको छ । गत जनवरी यतामात्र उक्त भाइरसका कारण विश्वभरि पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि मंकीपक्स संक्रमण बढिरहेको भन्दै सबै मुलुकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । सन् २०२२–०२३ मा पनि मंकीपक्स विश्वव्यापी प्रकोपका रूपमा फैलिएको थियो । मंकीपक्स बिफर रोग लाग्ने प्रजातिको भाइरसबाट संक्रमण हुने गर्छ । एमपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि पनि मंकीपक्स मध्य पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ । छाला रोग विशेषज्ञहरूका अनुसार यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने गर्छ । टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ । स्वास्थ्य मन्त्रालयले छिमेकी देशमा मंकीपक्स भाइरसको संक्रमण बढिरहेकाले नेपालीलाई पनि सतर्कता अपनाउन आग्रह गरेको छ । हवाई तथा सीमा नाकाका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘सातवटै प्रदेशमा मंकीपक्स रोकथाम तथा व्यवस्थापनका लागि अस्पताल र फोकल पर्सन तोकेका छौं,’ उनले भने, ‘कसैलाई शंकास्पद देखिए परीक्षण गर्न आग्रह गर्छु ।’ कान्तिपुर दैनिकबाट
अध्यक्ष प्रचण्डलाई झापामा कोच संस्कृतिको भोजन
झापा । झापाको गौरिगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्न यहाँ आउनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केराको पातमा खाना खानुभएको छ । गौरिगञ्ज–१ मा तिलक राजवंशीको घरमा प्रचण्डसहितका नेताहरूले कोच संस्कृति अनुसार खाना खानुभएको हो । अध्यक्ष प्रचण्डलाई कोच संस्कृतिको भोजन उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चट्नी र पापडलाई कोलाको पातमा दिइएको हो । आफूले प्रचण्डलाई कोच संस्कृति अनुसारको खाना खुवाउन पाउँदा खुसी लागेको राजवंशीले बताउनुभयो । ‘उहाँले मलाई कोच जातीहरुको लागि लडिरहेको छु । कोच जातीको घरमा भात खान पाउँदा खुसी लागेको बताउनु भयो’– तिलक राजवंशीले भन्नुभयो– ‘मैले पनि तपाईलाई सौभाग्यले खाना खुवाउन पाएँ भने ।’ प्रचण्डको टोलीमा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य एवं स्वकीय सचिव गंगा दाहाल, माओवादी संसदीय दलका कोशी प्रदेश नेता इन्द्रबहादुर आङ्बो, माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो, केन्द्रीय सदस्यहरु धर्मशिला चापागाईं, जीवन आचार्य, झलकसिंह दर्लामीलगायतका नेताहरुको सहभागिता रहेको थियो ।
अध्यक्ष प्रचण्ड झापामा, गौरीगञ्जमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने
काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज झापा पुग्नुभएको छ । झापामा अध्यक्ष प्रचण्डले गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्नुहुनेछ । नेकपा (माओवादी केन्द्र)ले केपी ओली सरकार भ्रष्टाचारमा डुबेको र आफ्नालाई काखा पाखा गरिरहेको आरोप लगाउँदै देशव्यापी रूपमा खबरदारी सभाको आयोजना गरिरहेको छ। यस अघि शनिबार कंचनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र वेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभामा हजारौंलाई पार्टी प्रवेश गराई सम्बोधन गर्नूभएका प्रचण्डले आज ओलीको गृह जिल्ला झापामा पुगेर ओली सरकारले गरेका व्यथितिविरुद्ध जनतालाई सम्बोधन गर्ने हुनुभएको हो । आज दिउँसो १ बजे आयोजना गरिएको उक्त खबरदारी सभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको जनाइएको छ।