वाग्मतीसहित देशका अधिकांश प्रदेशमा आज मध्यम वर्षाको सम्भावना
काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय प्रणालीका कारण मौसम प्रभावित बनेको हो ।
जल तथा मौसम विज्ञान विभाग का अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहने जनाइएको छ ।
कोसी र मधेस प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ ।
त्यस्तै, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका थोरै स्थान तथा सुदूरपश्चिम तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
रातिको समयमा कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।
यी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
बुधबार सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा
काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली हुँदा देशका विभिन्न क्षेत्रमा बुधबार वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबैभन्दा बढी वर्षा प्युठानको हंसपुरमा पछिल्लो १२ घण्टामै १०४.४ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो । २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा भएमा धेरै भारी वर्षामा गणना गर्ने गरिएको छ । आजै अन्य विभिन्न जिल्लामा भारी वर्षा भएको छ । विभागमा अभिलेख भएअनुसार कास्कीमा ८०, म्याग्दीमा ७८, तनहुँमा ७०, कपिलवस्तुमा ५०.८, चितवनमा ५४.६, सङ्खुवासभामा ५१.४ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको छ । हाल देशभर अधिकांश बादल लागेको छ । वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित मध्यमसम्मको वर्षा अहिले पनि जारी छ । भोलि पनि बदली कायम रहने तर विस्तारै कम हुँदै जाने बताइएको छ । बिहीबार देशभर साधारणतया बादल लाग्ने कोसी र मधेस प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागका मौसमविद् सञ्जिल अधिकारीले जानकारी दिए ।
आजकाे माैसम: देशका केही भूभागमा वर्षा/हिमपातको सम्भावना
काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । बिहीबार (वैशाख १७) देशका केही भूभागमा वर्षा/हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी र मधेस प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । राति, देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
६ महिनामा दुई हजार ६३४ पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार ६३४ पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ । यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको संख्या दुई हजार २७८ रहेको छ । त्यसबाहेक सार्क मुलुकका ४९ महिला र १९५ पुरुष गरी दुई ४४ जना, त्यसबाहिरका ४९ महिला र ६३ पुरुष गरी ११२ पर्यटकले यहाँ भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । यस अवधिमा सबैभन्दा बढी गत चैतमा ६२१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । कात्तिकमा ५८०, मंसिरमा २९३, पुसमा ३७६, माघमा ३६९ र फागुनमा ३८६ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटनबाट १४ लाख ६७ हजार ४८६ राजस्व संकलन गरिएको सूचना अधिकारी वाग्लेले बताए । जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण यो निकुञ्ज पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कोभिड महामारीपछि यहाँ आउने विदेशी पर्यटकको संख्यामा केही कमी आए पनि पछिल्ला वर्षहरूमा त्यो संख्या बढ्दै गएको छ । “नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान रहेको यस निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि विभिन्न वनस्पति पाइन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे अध्ययन–अनुसन्धानसँगै अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ पुग्ने गरेका छन्,” वाग्लले भने । निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ७६२ जनाले यहाँ भ्रमण गरेका छन्, जसमा १३२ विदेशी र ११२ सार्क मुलुकका पर्यटक रहेका छन् । आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ३२२ जनाले निकुञ्ज भ्रमण गरेकामा त्यसमा १९९ जना सार्क मुलुकका र १५२ त्यसबाहेकका मुलुकका विदेशी पर्यटक रहेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गरेको बताए । “शुक्लाफाँटाको प्रचारप्रसार गरेर यहाँ उल्लेख्य पर्यटक भित्र्याउन सकिन्छ । यहाँको जैविक विविधताबारे व्यापक प्रचारप्रसार हुनसकेको छैन । अब प्रचारप्रसारका लागि सबैले सहयोग गर्नुपर्छ,” उनले भने । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिंगा छन् ।
नेपाली कम्युनिष्ट पार्टीले पार्टीको नेतृत्वमा अब ५० प्रतिशत युवा ल्याउने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका सबै कमिटीहरुमा ५० प्रतिशत युवालाई नेतृत्वमा ल्याउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समिति आजको बैठकले सो निर्णय गरेको हो । संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठकको समापनमा तत्कालीन योजनाको चार बुँदे रुपरेखा प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई बैठकले पास गरेको एक पदाधिकारीले जानकारी दिए । प्रचण्डले प्रस्तुत गरेको योजनाको रुपरेखाको पहिलो नम्बरमा पार्टी पुनर्गठनको विषय छ । त्यसमा ‘वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक स्पष्टतासहित पार्टी पुनर्गठन प्रक्रियालाई महाधिवेशनसम्म पूर्णता दिने’ उल्लेख छ । यसैगरी दोस्रो बुँदामा पार्टीका हरेक तहमा निर्वाचित कमिटी बनाउने उल्लेख छ । ‘वडादेखि केन्द्रसम्म सानो, चुस्तदुरुस्त निर्वाचित कमिटी बनाउने र त्यसमा ५० प्रतिशतसम्म युवा र नवयुवाहरुलाई नेतृत्वमा ल्याउने निर्णय भएको छ,’ ती पदाधिकारीले भने । यसैगरी पार्टी पुनर्गठनसँगै सिंगो कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि वाम एकता र ध्रुवीकरणमा जोड दिने विषय पनि उल्लेख छ । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिबीच साझा समझदारी बनाएर राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा पहलकदमी लिने निर्णय पनि नेकपाले गरेको छ । यसैगरी अन्तर्राष्ट्रिय क्षेत्रमा वैचारिक, राजनीतिक र कूटनीतिक तहबाट योजनाबद्ध ढंगले पहलकदमी लिने निर्णय पनि नेकपाले गरेको एक पदाधिकारीले जानकारी दिए ।
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको पनि काम जारी
नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ । सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा स्पिड लिमिटका चिह्नहरू जडान गर्ने काम भइरहेको छ । साथै, सडक छेउमा रेलिङ लगाउने, डब्लु–बिम राख्ने र डेलिनेटर पोल जडान गर्ने काम पनि जारी छ । सडक निर्माणको काम अन्तिम चरणमा पुग्दैगर्दा सडक सुरक्षाका कामलाई पनि प्राथमिकता दिइएको सूचना अधिकारी खनालले बताए । उनले भने, “सडक निर्माणका धेरैजसो काम अन्तिम चरणतर्फ बढेका छन्, हामीले सोहीअनुसार सडक सुरक्षाका काम अघि बढाएका छौँ ।” सूचना अधिकारी खनालका अनुसार नवलपरासी पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये हाल करिब सात किलोमिटरमा मात्र कच्ची सडकको यात्रा गर्नुपर्ने अवस्था छ । अन्य सबै क्षेत्रमा कालोपत्र तथा पक्की सडक सञ्चालनमा आइसकेको छ । पूर्वी खण्डमा हालको भौतिक प्रगति ८१ प्रतिशत पुगेको उनले जानकारी दिए । पूर्वी खण्डमा अहिले दाउन्ने क्षेत्रमा बाहेक अन्य स्थानमा यात्रा सहज भएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम २०७५ साल माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्यका साथ चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सुरु गरेको थियो । कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि हाल चौथोपटक म्याद थप गरी आउँदो साउनसम्मका लागि अवधि बढाइएको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सञ्चालित यस सडक विस्तार आयोजनाको दुवै खण्डको कुल लागत रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ । कुल ११३ किलोमिटरमध्ये ७० किलोमिटरमा चार लेन, २९ किमीमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरका सर्भिस लेन निर्माण गरिनेछ । दाउन्ने क्षेत्रको १४ किमी खण्डमा तीन लेनको सडक निर्माण हुनेछ ।
उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा
काठमाडौँ । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरूसम्म पुर्याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समय सीमा सार्वजनिक गरेको छ । प्रसारण लाइन निर्माणमा देखिएको बेथिति अन्त्य गर्ने, तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउने भएको हो । प्रसारण लाइन निर्माणमा देखिएको रुख कटानको समस्या समाधान गर्ने, मुआब्जा वितरणमा देखिएको जटिलता फुकाउने तथा लगानीको विविधकरण गर्ने कार्यक्रम निर्धारण गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको ‘विद्युत् खपत वृद्धि तथा ऊर्जा निर्यात रणनीति, २०८२’ प्रसारण लाइन निर्माण सम्पन्न गर्ने समय सीमा निर्धारण गरेको छ । रणनीतिअनुसार, हेटौडा– ढल्केबर इनरुवा प्रसारण लाइनको हेटौडा ढल्केबर खण्ड चालु आवको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने समय सीमा निर्धारण गरिएको छ । सो प्रसारण लाइनको पूर्वी खण्ड ढल्केबर–इनरुवा खण्ड भने यसअघि नै सम्पन्न भइसकेको छ । सो आयोजनालाई शीघ्र निर्माण सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणलाई जिम्मेवार बनाइएको छ । रुख कटान, वन क्षेत्रको जग्गा प्रयोग, मुआब्जालगायतका समस्याका कारण सो आयोजना लामो समयदेखि समस्यामा परेको थियो । पछिल्ला दिनमा सो समस्या समाधान भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा नियमित काम सुरु भइसकेको छ । यसै गरी नयाँ खिम्ती बाह्रबिसे काठमाडौँ प्रसारण लाइनको काम आव २०८४/८५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त प्रसारण लाइनको क्षमता चार सय केभीको हो । सो प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय तह र वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवार बनाइएको छ । हेटौँडा–रातमाटे लप्सीफेदी न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन आव २०८६/८७ सम्म निर्माण सम्पन्न हुनेछ । सो प्रसारण लाइन चार सय केभी क्षमताको हो । यसै गरी नयाँ बुटवल–लमही प्रसारण लाइन आव २०७८/८८ सम्म निर्माण सम्पन्न हुनेछ । यस्तै, लहमी–छिन्चु दोदोधारा प्रसारण लाइन आव २०८९/९० सम्म निर्माण सम्पन्न हुनेछ । किमाथांका– हाइटार सितलपाटी प्रसारण लाइन आव २०८९/९० सम्म सम्पन्न हुनेछ । अरुण हब इनरुवा प्रसारण लाइन, इनरुवा–अनारमणी प्रसारण लाइन, फुकोट बेतन दोदोधारा प्रसारण लाइन, तिंगला दुधकोशी–ढल्केबर प्रसारण लाइन आव २०९०/९१ सम्म सम्पन्न गर्ने लक्ष्य रणनीतिमा समावेश गरिएको छ । भेरी करिडोर प्रसारण लाइन र सेती करिडोर प्रसारण लाइन पनि आव २०९०/९१ मा सम्पन्न हुनेछ । दोदोधारा–अत्तरिया लम्की प्रसारण लाइन भने आव २०९१/९२ सम्म सम्पन्न हुनेछ । ती सबै प्रसारण लाइनको क्षमता चार सय केभीको छ । उत्पादित बिजुलीलाई सहज रूपमा प्रसारण गराएर लाड सेन्टरहरूमा पुर्याउने लक्ष्यका साथ सरकारले प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । आवश्यक संरचनागत सुधार गरिने, नीतिगत अस्पष्टता हटाउने तथा तोकिएको समयमा नै आयोजना सम्पन्न गर्ने लक्ष्यलाई रणनीतिले विशेष प्राथमिकतामा राखेको छ । यस्तै, अन्तर देशीय प्रसारण लाइन निर्माणलाई पनि उत्तिकै महत्वका साथ रणनीतिले समेटेको छ । अन्तर देशीय प्रसारण लाइनको क्षमता अभिवृद्धि पनि अर्को महत्त्वपूर्ण पक्ष छ । ढल्केबर–मुजफ्फपुर अन्तर देशीय प्रसारण लाइन आव २०८३/८४ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बुटवल गोरखपुर अन्तर देशीय प्रसारण लाइन, नानपारा नेपालगञ्ज, इनरुवा पूर्णिया, लम्की बेरली, लमही लखनउ, निजगण मोतिहारी, चमेलिया जौलजिवी, ढल्केबर मुजफ्फरपुर र चिलिमे हब केरुङ अन्तर देशीय प्रसारण लाइन निर्माण प्राथमिकतामा छ । आन्तरिक रूपमा बिजुलीको खपत बढाउने, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरण गर्ने लक्ष्यलाई रणनीतिले स्पष्ट रूपमा सूचीकृत गरेको छ । त्यस्तै, स्मार्ट ग्रिड र सवस्टेशनको आधुनिकीकरण निरन्तर रूपमा अगाडि बढाइनेछ । सवस्टेशनको क्षमता विस्तार गरेर ४० हजार एमभीए पुर्याइनेछ । सो कार्य आव २०९२/९३ सम्म सम्पन्न हुनेछ । कृषि क्षेत्रको आधसनिकीकरण र किसानको खेतसम्म नै फिडर पुर्याउने लक्ष्यलाई पनि उत्तिकै महत्त्व दिएको रणनीतिमा भूमिगत वितरण प्रणालीको काम २०८५ सम्म सम्पन्न गर्ने उल्लेख गरिएको छ । आव २०९२/९३ सम्म एलपी ग्यास अनुदान खारेजी गर्ने र विद्युतीय चुल्होमा अनुदान दिइनेछ । देशभर चार्जिङ स्टेसन सञ्जाल विस्तार गर्ने, प्रमुख सहरहरूमा विद्युतीय बस र ट्रली बस सञ्चालन गरी आन्तरिक विद्युत् खपत क्षमता विकास गरिनेछ । हाल नेपालको कूल जडित क्षमता चार हजार ८६ मेगावाट पुगेको छ । राष्ट्रिय प्रसारण ग्रिडको विस्तारसँगै ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने राष्ट्रिय प्रतिबद्धता अनुरूप खनिज इन्धनको परनिर्भरता घटाई स्वदेशी बिजुलीको खपत बढाउन अवलम्बन गर्नुपर्ने सबै काम अगाडि बढाउने रणनीतिको लक्ष्य छ । नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरिसकेको छ । हाल करिब एक हजार दुई सय मेगावाट बिजुली भारत र बंगलादेशतर्फ आयात निर्यात भइरहेको अवस्था छ ।
आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (वैशाख १६)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९१ रुपैयाँ १६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९० पैसा, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ १८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ आठ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २५ पैसा र बिक्रीदर ४० रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ १० पैसा र बिक्रीदर ४१ रुपैयाँ २६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २८ पैसा र बिक्रीदर १६ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६३ पैसा र बिक्रीदर २३ रुपैयाँ ७२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ १९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
आजकाे माैसम: मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित पानी सम्भावना
काठमाडौं । देशका केही स्थानमा आज (वैशाख १६) तीव्र हावाहुरीको पूर्वानुमान छ । सुदूरपश्चिमदेखि कोसी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची हित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ । त्यस्तै, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । “बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहोला,” विभागले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ । हावाहुरी साँझ करिब ५:४५ बजे सुरु हुने सम्भावना छ । बिहीबार (वैशाख १७) बिहान करिब ७:४५ बजे हावाहुरी ‘समाप्त हुने’ सम्भावना रहेको विभागले जनाएको छ । मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना रहेकोले देशका धेरै ठाउँहरूमा यसको प्रभाव पर्ने सम्भावना छ ।
माैसम पूर्वानुमान: आगामी बुधबार र विहीबार तीव्र हावाहुरी चल्ने
xकाठमाडौं । देशका केही स्थानमा बुधबार (वैशाख १६) तीव्र हावाहुरीको पूर्वानुमान छ । सुदूरपश्चिमदेखि कोसी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । “भोलि (बुधबार) सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहोला,” विभागले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ । विभागका अनुसार, बुधबार साँझ करिब ५:४५ बजे हुरी सुरु हुने सम्भावना छ । बिहीबार (वैशाख १७) बिहान करिब ७:४५ बजे हावाहुरी ‘समाप्त हुने’ सम्भावना रहेको विभागले जनाएको छ । “मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना रहेकोले देशका धेरै ठाउँहरूमा यसको प्रभाव पर्ने सम्भावना रहेको छ,” विभागले भनेको छ । देशका विभिन्न स्थानमा बिहीबारसम्म मेघगर्जन/चट्याङसहित वर्षाको पूर्वानुमान छ ।
‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान भएपछि खेतीपातीमा नयाँ आशा पलाएको हो । प्रगतिटोलका किसान परमानन्द जोशी सिँचाइ सुविधा पुगेपछि निकै उत्साहित देखिन्छन् । “पहिले सिँचाइको अभाव हुँदा खेतमा जति मेहनत गरे पनि उब्जनी सन्तोषजनक हुँदैनथ्यो”, उनले भने, “अब खेतमै डिप बोरिङ जडान भएपछि सिँचाइ गर्न कुनै समस्या छैन ।” उनका अनुसार पानीको सहज उपलब्धताले उत्पादन बढ्ने अपेक्षा गरिएको छ । किसानहरूको लामो समयदेखिको सिँचाइ समस्या समाधान गर्न सुदूरपश्चिम प्रदेश सरकारको पहलमा रु २५ लाखभन्दा बढीको लगानीमा डिप ट्युबवेल जडान गरिएको हो । उक्त योजना प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह महराको संसदीय विकास कोषबाट विनियोजित बजेटमार्फत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले कार्यान्वयन गरेको हो । वडाध्यक्ष लालबहादुर ऐरका अनुसार डिप ट्युबवेल सञ्चालनमा आएपछि प्रगतिटोलका ५० भन्दा बढी किसान प्रत्यक्ष लाभान्वित भएका छन् । “सिँचाइको समस्या ल्याएर किसानहरू पटक–पटक धाउदै आएका थिए”, उनले भने, “त्यही माग मन्त्रीसमक्ष राख्दा उहाँले कोषमार्फत बजेट विनियोजन गरी योजना कार्यान्वयनमा ल्याउनुभयो ।” उनका अनुसार अब सिँचाइ अभावका कारण बाँझोजस्तै रहेका खेतहरूमा अन्नबाली, तरकारी तथा अन्य नगदे खेती विस्तार गर्न सकिने भएको छ । यसले स्थानीय किसानहरूको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । स्थानीय किसान हरिकृष्ण चौधरीले डिप बोरिङ जडानसँगै व्यावसायिक खेतीतर्फ आकर्षण बढेको बताए । “पहिले पानीको अभावका कारण थोरै जमिनमा मात्रै तरकारी र वसन्ते मकैखेती गथ्र्यौं”, उनले भने, “विद्युतीय मोटर प्रयोग गरेर पानी तान्दा पनि पर्याप्त सिँचाइ गर्न घण्टौँ लाग्थ्यो, तर अहिले त्यो समस्या हटेको छ ।” उनका अनुसार अब व्यावसायिक तरकारीखेती गरी राम्रो आम्दानी गर्ने लक्ष्य लिइएको छ । डिप ट्युबवेलको क्षमता करिब ६० बिघा जमिनमा सिँचाइ पुर्याउने रहेको बताइएको छ । यसले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने स्थानीयको विश्वास छ । केही पूर्वाधार अझै अधुरै रहेको किसानहरूले बताए । स्थानीय किसान यशोदा भट्टका अनुसार हाल बोरिङ गाड्ने काम मात्रै सम्पन्न भएको छ भने पानी वितरणका लागि आवश्यक पाइपलाइन विस्तार हुन बाँकी छ । “आउँदो बजेटमा पाइपलाइन विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्न वडा कार्यालयमार्फत सम्बन्धित निकायसँग अनुरोध गरेका छौँ”, उनले भने। उनका अनुसार सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न सकिए मात्रै सबै किसानसम्म समान रूपमा पानी पुर्याउन सकिनेछ । अन्यथा केही क्षेत्र मात्र लाभान्वित हुने र बाँकी किसान अझै समस्या झेल्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।
चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु
चितवन । जिल्लाका छ पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको छ । भरतपुर महानगरपालिकाबाहेक पाँचवटा नगरपालिका र एउटा गाउँपालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको हो । नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीमा रहेको करदाता सेवा केन्द्र हटेसँगै त्यहाँबाट प्रदान गर्ने सेवा स्थानीय तहहरुमा प्रदान गर्ने निर्णय भएपछि पालिकाहरुबाट सेवा सुरु गरिएको हो । आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख पुण्यविक्रम खड्काका अनुसार रत्ननगर, कालिका र राप्ती नगरपालिकामा गएको माघबाट सेवा सुरु गरिएको थियो । त्यसको केही समयपछि खैरहनीबाट सेवा सुरु गरिएको हो । गएको चैत १९ गते माडीबाट सेवा सुरु गरिएकोमा आजदेखि इच्छाकामनामा सेवा सुरु गरिने उनले बताए । यसैबीच, आन्तरिक राजस्व विभागका सूचना प्रविधि निर्देशक पदमबहादुर भण्डारीले छवटै पालिकाका अधिकृत र सहायकस्तरका दुईदुई जना कर्मचारीलाई सोमबार एक दिने प्रशिक्षण दिएका छान् । सो क्रममा प्रविधिसँग सम्बन्धित र अन्य विषयहरुका बारेमा उहाँहरुलाई जानकारी गराइएको थियो । पालिकाहरुले व्यक्तिगत प्यान, व्यावसायिक प्यान दिन सक्ने छन् । करदाताको आयकरतर्फको कारोबार बन्द गर्न, करदाता विवरण संसोधन गर्न, मूल्य अभिवृद्धि कर दर्ताका लागि सिफारिस गर्न, कर चुक्ताका लागि सिफारिस गर्न र आन्तरिक राजस्व कार्यालयको समन्वयमा करदाता शिक्षा दिनसमेत सक्ने छन् । ती विषयमा पनि छलफल भएको खड्काले जानकारी दिए । ती पालिकाका करदाताको अनुगमन, अनुसन्धान र कर परीक्षणलगायतका काम भने आन्तरिक राजस्व कार्यालयबाटै हुने छ । कार्यालय भरतपुरमा रहेकाले भरतपुर महानगरपालिकामा भने केन्द्र सञ्चालनमा ल्याइएको छैन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा ७४ हजार करदाता रहेका छन् । यस कार्यालयले यस आर्थिक वर्षमा रु २९ अर्ब ८१ करोड ७७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । हालसम्म रु १८ अर्ब पाँच करोड ५० लाख राजस्व सङ्कलन भएको छ ।
बाख्रापालनबाट स्वरोजगार, वार्षिक लाखौँ आम्दानी
म्याग्दी । मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन्। पचास वर्षीय पुनले वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन गरेर स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । “घरमै भएका दुई वटा माउ बाख्राबाट सुरु गरेको फार्ममा अहिले पाठापाठी, खसिबोका र माउबाख्राको सङ्ख्या ४८ वटा पुगेको छ”, उनले भने, “वार्षिक १५ देखि २० वटाको हाराहारीमा बिक्री हुन्छ ।” बाख्रापालन सुरु गरेपछि घरव्यवहार चलाउन र छोराछोरीको पठनपाठनमा सहज भएको पुनले बताए । सामाजिक काममा पनि आबद्ध पुन बाख्रापालन सुरु गर्नुअघि परम्परागत खेतीकिसानी र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका थिए । उनलाई बाख्रापालनमा श्रीमतीले पनि सघाइरहेकी छिन्। अठार महिनादेखि दुई वर्षको खसीलाई तौलअनुसार १५ देखि २० हजार मूल्य पार्न सकिने पुनले बताए । बाबियाचौर, तातोपानी र बेनी बजारमा मासुका लागि खसीबोका बिक्री हुन्छ । धार्मिकस्थल मालिकामा बलि चढाउनका लागि पनि बोका, पाठा लैजाने गर्छन् । खसीबोकाकै हाराहारीमा पाल्ने किसानहरु पनि पाठापाठी किन्न आउँछन् । पुनले विसं २०७८ मा हिदी बाख्रापालन फार्म स्थापना गरेर व्यवसाय सुरु गरेका थिए। स्थानीय जमुनापारी जातको बाख्राको नश्ल सुधार गरेर पाठापाठी उत्पादन गर्न उन्नत बोयर जातको बोका पालेका छन् । बोयर बोकाबाट नश्ल सुधार गरेका पाठापाठी छिटो बढ्ने, तौल धेरै हुने भएकाले आम्दानी वृद्धिका लागि सहज भएको पुनको अनुभव छ । उक्त फार्ममा बाख्राको ब्यवस्थित खोर निर्माणका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु पाँच लाख अनुदान सहयोग गरेको थियो । मङ्गला गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा उन्नत बोयर जातको एक वटा बोका उपलब्ध गराएको छ । फार्म स्थापनाका क्रममा लागेको रु १० लाख ऋण पनि खसीबोका र पाठापाठी बेचेर तिरिसकेको पुनले बताए । बाख्राको खोरभित्र फरक–फरक उमेर समूहका बाख्रा, बोका, खसी र पाठापाठी राख्ने छुट्टाछुट्टै कोठाहरु छन् । बधुवा प्रणालीबाट बाख्रापालन गरेका पुनले आहराका लागि बहुवर्षीय डालेघाँस खेती गरेका छन् । घाँसखेती विस्तार र बाख्रापालनलाई थप व्यवस्थित गरेर निरन्तरता दिने पुनले बताए ।
आजकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण: कुनकाे कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (वैशाख १५)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा युरोपियन युरोको भाउ भने आज उकालो लागेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ एक पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५० पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १० पैसा र बिक्रीदर १०८ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४९ पैसा र बिक्रीदर ११० रुपैयाँ ९३ पैसा, सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ १४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६१ पैसा तोकिएको छ । nabil जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ चार पैसा र बिक्रीदर २२ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ पाँच पैसा र बिक्रीदर ३८ रुपैयाँ २१ पैसा कायम गरिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६ रुपैयाँ ४३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६४ पैसा र बिक्रीदर २३ रुपैयाँ ७३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ८९ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८५ पैसा, बहराइन दिनार एकको खरिददर ३९८ रुपैयाँ ६० पैसा र बिक्रीदर ४०० रुपैयाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३९२ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
आजकाे माैसम: कोसी र गण्डकीमा भारी वर्षाको पूर्वानुमान, अन्यमा कस्ताे रहला ?
काठमाडौं । देशभर मंगलबार (वैशाख १५) वर्षाको पूर्वानुमान गरिएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको केही स्थानहरूमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै, मधेसलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । विभागले राति कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको पूर्वानुमान गरेको छ । "कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा/हिमपातको सम्भावना छ," विभागले भनेको छ । विभागका अनुसार, दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकीलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । राति, कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशको धेरै स्थानहरूमा र मधेस, वागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
उदयपुरमा माछा मार्ने क्रममा सुनकोशी नदीमा बेपत्ता पुरुष मृत फेला
उदयपुर । उदयपुरमा माछा मार्ने क्रममा सुनकोशी नदीमा डुबेर बेपत्ता भएका एक पुरुष मृत फेला परेका छन्। लिम्चुङबुङ गाउँपालिका–५, चौलानेका वर्ष ५१ का रामशेर राई आइतबार मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी निरञ्जन थापाका अनुसार मृत फेला परेका राई पाँच दिनअघि बेपत्ता भएका थिए। गाउँमा अन्य आठजनासहित सुनकोशी नदीमा माछा मार्न जाने क्रममा लिम्चुङबुङ गाउँपालिका–४, सानरलुङस्थित सुनकोशी नदीबाट बेपत्ता भएपछि प्रहरीको टोलीले खोजतलास गर्दा रौतामाई गाउँपालिका–३, भदौरेकिनारमा शव फेला परेको थापाको भनाइ छ। मृतकको शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको प्रहरीले जनाएको छ।

