मुस्ताङमा एकजना भारतीय नागरिक मृत फेला

मुस्ताङ । मुस्ताङमा एक भारतीय नागरिकको शव फेला परेको छ । घरपझोङ गाउँपालिका–४ लामाकुर्सीस्थित लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा मंगलबार बिहान सवा १० बजे भारतीय नागरिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रतापगढ उत्तर प्रदेश राज्य भारत घर भएका ६३ वर्षीय पुरुष सङ्गमलाल यादवको शव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए ।

वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको सीमाना पान्डा खोलानजिकै जोमसोम–कागबेनी सडक छेउको लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको शव फेला परेको महतको भनाइ छ । घटनास्थलबाट उनको आधार कार्ड फेला परेको छ । मृत फेला परेका यादव चैत १८ गते ट्रेकिङका लागि आएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले मृतकको परिवारसँग सम्पर्कको लागि समन्वय गरिहेको जनाएको छ । प्रहरीका अनुसार उनको शव जोमसोमस्थित प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

झापा । भारतको पश्चिम बंगाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीट्यांकी नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । भारतको पश्चिम बंगालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो । ‘बोर्डर शिल’ गरिएको अवधिमा पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिने भए पनि उपचारका लागि बिरामी र अतिजरुरी कामका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिए । नेपाल र बंगलादेशका पर्यटकको हकमा आफ्नो मुलुक जानका लागि भारतीय प्रशासनले परिचय खुल्ने कागजपत्र देखाएमा आवतजावतमा सहजीकरण गरिदिने भएको उनले बताए । 

विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (वैशाख ८)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ आठ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ आठ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ १५ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ नौ पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ र बिक्रीदर ११७ रुपैयाँ ४७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७८ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४३ पैसा र बिक्रीदर २३ रुपैयाँ ५२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ सात पैसा, कुवेती दिनार एकको खरिददर ४८५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

तराई क्षेत्रमा तातो हावा चल्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा आइतबार (वैशाख ६)देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार मधेस प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा ३८ डिग्री सेल्सियस आसपास मापन गरिएको छ ।  विभागका अनुसार, मंगलबार (वैशाख ८) लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा तथा तातो लहरको सम्भावना छ । विभागले सोमबार विशेष बुलेटिन जारी गर्दै कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही जिल्ला प्रभावित हुने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । मधेस प्रदेशलगायत वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ । सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । दिउँसो, देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, कोसी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।  राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले बताएको छ । 

पर्यटकको पर्खाइमा म्याग्दीको पाउद्वार मुर्ताला गुफा : जहाँ ढुङ्गामै देखिन्छन् देव-आकृति

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-५ मा रहेको पाउद्वार मुर्ताला धार्मिक गुफा पर्यटक र पूर्वाधारको पर्खाइमा छ। स्थानीयवासीले 'पाउद्वार मुर्ताला धार्मिक गुफा' नामकरण गरेको यस गुफाभित्र अनौठा दृश्यहरू अवलोकन गर्न सकिन्छ। पाउद्वारका बासिन्दा जसे पुनका अनुसार दुईतले गुफाभित्र विभिन्न देवीदेवता, मानिसको शरीरका अङ्ग, शिवलिङ्ग, जनावरका थुन, खुर, सिङजस्ता आकृतिहरू अवलोकन गर्न सकिन्छ, तर यो गुफा ओझलमा परेको छ। "गुफाभित्र मूर्तिकारले पहाडको चट्टान कुँदेर बनाएजस्ता विचित्रका दृश्यहरू देख्दा अनौठो लाग्छ," उनले भने, "स्थानीय स्तरमा सीमित यो गुफाको धार्मिक तथा ऐतिहासिक महत्त्वको विषयमा अध्ययन, संरक्षण, व्यवस्थापन, पूर्वाधार निर्माण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न हामी पाउद्वारवासी जुटेका छौँ।" यहाँ गणेश, शिवलगायत हिन्दु धर्मावलम्बीहरूका देवीदेवताका आकृतिहरू पनि भेटिन्छन्। तपतप गरेर पानी चुहिरहने यो गुफा करिब १० मिटर लामो भएको स्थानीय बताउँछन्। गुफाभित्र अँध्यारो हुने भएकाले बत्ती अथवा टर्चलाइट बाल्नुपर्छ। टेक्ने भुइँ चिप्लो र गुफा होचो भएको हुँदा घोप्टो परेर हिँड्नुपर्छ र अवलोकन गर्दा सावधानी अपनाउनुपर्छ। स्थानीयवासीबाहेक बाहिरका पर्यटकहरू हालसम्म यस गुफाको अवलोकन गर्न नआएको पुनले बताए। पाउद्वार गाउँदेखि सवारीसाधनमा १० मिनेट र त्यसपछि २० मिनेट पैदल हिँडेपछि झारवाङको छेउमा रहेको यस गुफामा पुगिन्छ। यसअघि गुफासम्म पुग्ने पदमार्ग थिएन, निगालोको झ्याङ समाएर गुफासम्म पुग्नुपर्ने अवस्था थियो। गुफा नजिकको झारवाङ खोलामा पुल पनि थिएन। तर, अहिले पाउद्वारकी पुर्जा रोकाले आफ्नी आमा जैसराले पाउने 'पेन्सन' बापतको रकम खर्चेर गुफासम्म जाने करिब ३०० मिटर पदमार्ग निर्माण गरिदिएकी छन्। उक्त पदमार्ग निर्माणमा पाउद्वारवासीले श्रमदान गरेका छन्। त्यस्तै, झारवाङदेखि गुफासम्म ५०० मिटर तार तानेर विद्युत् पनि विस्तार गरिएको छ। अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. तीन लाख बजेटबाट झारवाङ खोलामा आठ मिटर लामो ट्रस पुल निर्माण भएको छ। गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी पुनले उक्त गुफाभित्रका आकृतिहरू देखेर अनौठो महसुस भएको बताइन्। गुफाको विषयमा विस्तृत अध्ययन-अनुसन्धान गरेर धार्मिक र ऐतिहासिक तथ्यहरूको खोजी थालिएको पनि उनले बताइन्। त्यहाँका बासिन्दाले केही दिनअघि मात्रै उक्त गुफालाई 'पाउद्वार मुर्ताला धार्मिक गुफा' नामकरण गरेका हुन्।

१०० रुपैयाँ भन्सार कडाइ: सीमामा सास्ती, जनजीवन अस्तव्यस्त

जनकपुरधाम । नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार अनिवार्य गर्ने सरकारी कडाइले मधेसका सीमावर्ती बासिन्दाको दैनिक जीवन नै प्रभावित बनेको छ। विवाह, व्रतबन्धजस्ता शुभकार्यको सिजन सुरु भएसँगै किनमेलको चाप बढ्ने समयमा आएको यो निर्णयले सर्वसाधारण थप मारमा परेका छन्। सीमावर्ती क्षेत्रका नागरिकहरू वर्षौंदेखि दैनिक उपभोग्य वस्तुका लागि भारतीय बजारमा निर्भर छन्। नुनदेखि लत्ताकपडासम्म सस्तोमा पाइने भएकाले सीमापारि किनमेल गर्ने परम्परा जस्तै बनिसकेको छ। तर अहिले १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने कडाइले उनीहरूको जीवनशैलीमै असर पारेको छ। गौशाला नगरपालिका–कान्तिबजारकी सुनिता महतो भन्छिन्, “सस्तो पाइन्छ भनेर पारि जान्छौं, रहरले होइन। अहिलेको नियमले त बचत गर्न खोज्दा झन् थप खर्च बढ्यो।” उनीजस्तै दैनिक ज्यालादारी गर्ने र न्यून आय भएका वर्ग सबैभन्दा बढी प्रभावित भएका छन्। सम्सी गाउँपालिकाकी मञ्जुदेवीको गुनासो उस्तै छ। “आम्दानी उस्तै छ, खर्च बढ्दै गएको छ। १०० रुपैयाँभन्दा माथि सबैमा भन्सार तिर्नुपर्छ भने कसरी धान्ने?” उनी भन्छिन्। सीमासँग जोडिएको सामाजिक सम्बन्धमा समेत यसले असर पार्न थालेको स्थानीयको भनाइ छ। सोनमा गाउँपालिकाकी लक्ष्मी देवी भन्छिन्, “माइतीबाट ल्याउने सामानमा पनि अब भन्सार तिर्नुपर्छ भन्ने सुन्दा नै दुःख लाग्छ।” व्यापारमा असर, तस्करी बढ्ने चिन्ता स्थानीयहरूका अनुसार यस्तो कडाइले वैधानिक किनमेल घटाएर उल्टै तस्करी बढ्ने जोखिम छ। सम्सीका विनोद साह भन्छन्, “धनीलाई असर पर्दैन, गरिब नै पिल्सिन्छ। यस्तो नियमले झन् अवैध बाटो बढ्न सक्छ।” जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पनि नीति अव्यावहारिक भएको टिप्पणी गर्छन्। उनका अनुसार बजार व्यवस्थापन नगरी कडाइ मात्र गर्दा स्थानीय अर्थतन्त्रमा नकारात्मक असर पर्छ। “नेपालमै सबै सामान सस्तो र सहज छैन। विकल्प नदिई कडाइ गर्नु ठीक होइन,” उनले भने। भारतीय बजार सुनसान, नेपाली बजारमा चाप कडाइपछि भारतीय सीमावर्ती बजारहरूमा चहलपहल एकाएक घटेको छ। महोत्तरीको सम्सी र कनमा बजार अहिले सुनसानजस्तै बनेका छन्। एक भारतीय व्यापारी भन्छन्, “पहिले नेपाली ग्राहक नै मुख्य थिए, अहिले व्यापार लगभग ठप्प भयो।” यता, बर्दिबासलगायत नेपाली बजारमा भने ग्राहकको भीड बढेको छ। यसले स्थानीय व्यापारलाई केही राहत दिए पनि उपभोक्ता सन्तुष्ट छैनन्। उपभोक्ताहरूले मूल्य बढेको, विकल्प सीमित भएको र केही व्यापारीले कालोबजारी सुरु गरेको गुनासो गरेका छन्। भन्सार संरचना नै कमजोर मधेस प्रदेशमा जनकपुर, जलेश्वर, सर्लाही, गौर, वीरगञ्ज, राजविराज, सिरहा र ठाँडी गरी आठ भन्सार कार्यालय छन्। तर धेरै नाकामा सहज पहुँच छैन। पत्रकार तथा अभियन्ता किशोर मण्डल भन्छन्, “१०० रुपैयाँको सामानमा भन्सार लगाउने तर भुक्तानी गर्ने संरचना नहुने—यो कसरी व्यवहारिक हुन्छ?” सरकारको दाबी: ‘नियम नयाँ होइन’ वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टका अनुसार यो व्यवस्था नयाँ नभई पुरानै हो, अहिले कार्यान्वयन कडाइ गरिएको मात्र हो। उनका अनुसार यसले आन्तरिक बजार प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकालले पनि “कसैलाई दुःख दिने नियत नभएको” स्पष्ट पारेका छन्। प्रहरीका अनुसार केन्द्रको निर्देशनअनुसार मात्र कडाइ गरिएको हो। नीति पुनरावलोकनको माग नेपाल–भारत खुला सीमा संवाद समूहले भने १०० रुपैयाँको सीमा अव्यावहारिक भएको भन्दै नीति संशोधनको माग गरेको छ। समूहले घरायसी सामानमा छुट, धार्मिक यात्राका लागि ४८ घण्टासम्म भन्सारमुक्त सुविधा र तस्करी नियन्त्रणका लागि छुट्टै रणनीति आवश्यक रहेको जनाएको छ। सीमावर्ती क्षेत्रमा लागू गरिएको १०० रुपैयाँ भन्सार कडाइले अपेक्षित रूपमा राजस्वभन्दा बढी जनअसन्तुष्टि जन्माएको देखिन्छ। स्थानीय बजारमा आंशिक लाभ देखिए पनि उपभोक्ताको पीडा, महँगी र सामाजिक सम्बन्धमा परेको असरले सरकारमाथि नीति पुनर्विचारको दबाब बढ्दै गएको छ।

आजकाे माैसम: पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा बढ्दो गर्मी

काठमाडौँ । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यस मौसमी प्रणालीका कारण देशका विभिन्न भू-भागमा बदली, वर्षा र हिमपातको स्थिति सिर्जना भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ। सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका साथै कोशीको तराई भागमा पनि आंशिक बादल लागेको छ। यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात भइरहेको छ। देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहेको देखिन्छ। सोमबारको मौसम पूर्वानुमान हेर्दा कोशी प्रदेश लगायत अन्य पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने क्रम जारी रहनेछ। तराईका भू-भागमा पनि आंशिक बदलीको सम्भावना छ। कोशी र गण्डकीका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ। यता पहाडमा वर्षाको सम्भावना रहँदा तराई र बेसी क्षेत्रमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ। मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरू, उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना छ। बढ्दो तापक्रम र तातो हावा चल्न सक्ने भएकाले यी क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७५ रुपैयाँ २६ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३८ पैसा, स्विस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८० पैसा, सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७७ पैसा र बिक्रीदर २१ रुपैयाँ ८५ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाई भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६ रुपैयाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३६ पैसा र बिक्रीदर २३ रुपैयाँ ४५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९५ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ४९ पैसा तोकेको छ ।  यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

उदयपुरमा झन्डै तीन करोडमा निर्माण भएको कोभिड अस्पताल अलपत्र

उदयपुर । कोभिड–१९ महामारीका कठिन समयमा उदयपुरका सयौँ नागरिकको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको चौदण्डीगढी नगरपालिका–६ साताधारेस्थित कोभिड अस्पताल अहिले प्रयोगविहीन बन्दै गएको छ । पर्याप्त पूर्वाधार, उपकरण र संरचना हुँदाहुँदै पनि सञ्चालन अभावका कारण अस्पताल लथालिंग अवस्थामा पुगेको हो ।  स्विजरल्याण्ड सरकारको एक करोड ५० लाख रुपैयाँ र उदयपुरका आठ स्थानीय तहको एक करोड २० लाख रुपैयाँ गरी कुल २ करोड ७० लाख लागतमा निर्माण गरिएको अस्पतालमा करिब १ हजार १ सय संक्रमितको सफल उपचार गरिएको थियो ।  निर्माणपछि २०७७ पुस ६ गते तत्कालीन कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपालका लागि स्विजरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरले संयुक्त रूपमा उद्घाटन गरेर सञ्चालनमा ल्याएका थिए।अस्पतालमा एक पोर्टेबल भेन्टिलेटर, ४० बेड तथा साना–ठूला गरी ३० अक्सिजन सिलिन्डरलगायत आवश्यक स्वास्थ्य सामग्री उपलब्ध छन् । तर महामारी नियन्त्रणमा आएपछि यसको वैकल्पिक प्रयोगबारे स्पष्ट योजना नबन्दा अस्पताल प्रयोगविहीन बन्दै गएको हो । हाल अस्पताल परिसर झाडीले ढाकिन थालेको छ भने संरचना संरक्षण अभावमा क्रमशः जीर्ण बन्दै जाने जोखिम बढेको छ । हाल चौदण्डीगढी नगरपालिकाले वर्षमा एक पटक सञ्चालन गर्ने आँखा शिविर बाहेक यहाँ नियमित स्वास्थ्य सेवा सञ्चालन हुन सकेको छैन । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय अभावका कारण अस्पताललाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने पहल नहुनु दुःखद भएको स्थानीयवासीको भनाइ छ । मदन भण्डारी लोकमार्गसँग जोडिएको यस अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न सके दैनिकजसो हुने सडक दुर्घटनाका घाइतेलाई तत्काल उपचार सेवा उपलब्ध गराउन सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् । तर आवश्यक नीति, बजेट र निर्णय अभावले यस्तो सम्भावना व्यवहारमा आउन सकेको छैन । महामारीका बेला वरदान सावित भएको अस्पताल आज प्रयोगविहीन बन्नु सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोगमाथि गम्भीर प्रश्न उठेको स्थानीय अगुवा अन्जनी अधिकारी बताउँछन् । उनले भने, ‘समयमै आवश्यक निर्णय गरी अस्पताललाई नियमित स्वास्थ्य सेवासँग जोड्न नसकिए करोडौँ रुपैयाँको लगानी पूर्ण रूपमा नष्ट हुने खतरा बढ्दै गएको छ ।’ उनले स्थानीयवासीले स्पष्ट जिम्मेवारी निर्धारण गर्दै अस्पताललाई ट्रमा सेन्टर वा बहुउद्देश्यीय स्वास्थ्य केन्द्रका रूपमा तत्काल सञ्चालनमा ल्याउन माग गरेका पनि गरेका छन् ।   चौदण्डीगढी नगरपालिकाकी उपमेयर मणीकादेवी दुलालले अहिले पालिकाकाले त्यही अस्पतालबाट आँखा शिविर लगायत सेवाहरु सञ्चालन गर्दै आइरहेको र अस्पतालमा भएका उपकरणहरुलाई प्रयोग गरेर दैनिक रुपमा सञ्चालनको तयारी गरिरहेको जानकारी दिइन् । उनले भनिन्, ‘हामीले समय सयमा नगरप्रहरी परिचालन गरेर झाण्डीहरु पनि फडानी गरिरहेका छौँ । अस्पतालको जग्गामा विवाद छ । टुंग्याउनु पर्ने छ । त्यो नगरपालिकाको स्थायी संचरना हो । त्यसलाई हामीले जीर्ण बन्न दिने छैनौँ ।’  

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो । कञ्चनजङ्घा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त समय मानिन्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसीछिरिङ शेर्पाका अनुसार पछिल्लो एक महिनामा १६५ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । वर्षमा दुई पटक प्रमुख पर्यटकीय याम मानिन्छ । पहिलो चैतदेखि जेठसम्म र दोस्रो असोजदेखि मङ्सिरसम्म रहेको उनले जानकारी दिए । गत वर्ष पहिलो याममा मात्रै ७५० विदेशी पर्यटक यहाँ आएका घुन्सा चेकपोस्टले जनाएको छ । कञ्चनजङ्घा आधार शिविर पुग्न दुई प्रमुख पदमार्ग प्रयोग हुँदै आएका छन् । पाँचथरको गणेशचोक हुँदै सिरिजङ्घा गाउँपालिका भएर र काठमाडौँबाट हवाईमार्ग हुँदै सुकेटार विमानस्थल पुगेर फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी आधार शिविर पुग्न सकिन्छ । पर्यटकलाई लक्षित गर्दै कञ्चनजङ्घा पदमार्गमा सानाठूला गरी ५२ वटा होटल सञ्चालनमा रहेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा करिब रु सात करोडभन्दा बढी लगानीमा ‘सिङ्गी नामजोंग होटल’ सञ्चालनमा आएको छ । समुद्री सतहबाट तीन हजार ५०० देखि चार हजार ५०० मिटर उचाइसम्म रु एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेका घुन्सा चेकपोस्टका पर्यटन सहायक शेर्पाले जानकारी दिए । उनका अनुसार अन्य होटलहरूमा पनि करिब रु ८० लाखभन्दा बढी लगानीका छन् । सदरमुकाम फुङ्लिङ बजारमा पर्यटक लक्षित गरी ठूला लगानीका होटलहरू सञ्चालनमा आएका छन् । पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित बनेका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्रका स्थानीय समुदायको मुख्य जीविकोपार्जन पर्यटन, होटल व्यवसाय र पशुपालनमा आधारित छ । घुन्सा, फले र याम्फुदिन क्षेत्रका अधिकांश घरपरिवार पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएका पर्यटन सहायक शेर्पाले बताए । उनका अनुसार कोही होटल सञ्चालन गरेर स्वरोजगार बनेका छन् भने कोही पर्यटक मार्गदर्शक वा सहयोगीका रूपमा आयआर्जन गर्दै आएका छन् । खेतीपातीका सम्भावना कम भएकाले पछिल्लो समय युवापुस्ता पशुपालनभन्दा पर्यटन व्यवसायतर्फ आकर्षित देखिएका उनको भनाइ छ । सन् १९५५ मे २५ मा कञ्चनजङ्घाको पहिलो आरोहण भएको इतिहास छ । विगतमा फुङ्लिङबाट पैदल यात्रा गर्दा करिब २४ दिन लाग्ने यस क्षेत्रको भ्रमण अवधि अहिले छोटिएर ११ देखि १६ दिनमा दुवै आधार शिविर पुगेर फर्कन सकिन्छ । यस क्षेत्रमा चैत, वैशाख, जेठ तथा असोज, कात्तिक र मङ्सिरमा पर्यटकको चाप बढी हुने गर्दछ । हिमाल आरोहण भने मुख्यतः वैशाख र जेठमा हुने पर्यटन सहायक शेर्पाले जानकारी दिए । यहाँ जापान, जर्मनी, अष्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेनलगायत देशबाट पर्यटक आउने गरेका छन् । साथै भारत र चीनबाट पनि कम सङ्ख्यामा पर्यटक भ्रमण तथा आरोहणका लागि आउने गरेका छन् ।

शनिबार खोटाङ र उदयपुरमा भारी वर्षा

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा शनिबार पनि देशका विभिन्न जिल्लामा वर्षा भएको छ । खोटाङ र उदयपुरमा भने १२ घण्टामै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागमा अहिले राति ९ः३० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा खोटाङको भैँसे लामीडाँडा स्टेशनमा ७५.२ मिलिमिटर र उदयपुरको गढीमा ४९.६ मिलिमिटर वर्षा भएको छ । अन्य विभिन्न ३५ जिल्लाहरूमा पनि वर्षा भएको छ । विभागका अनुसार धनकुटामा ३०.८, कास्कीमा २३.६, पर्वतमा १९, ललितपुरमा २०.६ र काभ्रेमा १६.२ मिलिमिटर वर्षा भएको छ । अन्य धेरै स्थानमा हल्का वर्षा भएको छ । उता तराई क्षेत्रमा भने तापक्रम बढिरहेको विभागले जनाएको छ । विभागका मौसमविद् सरोज पुडासैनीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा भइरहँदा तराई क्षेत्रमा तातो बढिरहेको बताए । यो क्रम अझै केही दिन रहने जनाइएको छ । विभागबाट प्राप्त विवरणअनुसार आज सबैभन्दा बढी अधिकतम तापक्रम नेपालगन्जमा ३९, दिपायलमा ३८.८ र धनगढीमा ३८।२ डिग्री तापक्रम मापन भएको छ । काठमाडौँमा अधिकतम तापक्रम २८.४ डिग्री रहेको छ । वैशाख ६ गते कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको विभागले शनिबार साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

बारामा चट्याङ लागेर एककाे मृत्यु

बारा । बारामा चट्याङ लागेर एक किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा जिल्लाको कोल्हवी नगरपालिका–५ सोनाभारका ३२ वर्षीय लुटावन चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । खेतमा काम गरिरहेका उनलाई चट्याङ लागेको हो । प्रहरीका अनुसार ठुलो हुरी बताससहित आएको वर्षाका क्रममा छठिघाट नजिकको खेतमा काम गरिरहेका बेला चौधरीलाई चट्याङ लागेको हो । चट्याङ लागेपछि उनी खेतमै ढलेका थिए । घटनास्थलमै गम्भीर घाइते भएका चौधरीलाई सँगै रहेका स्थानीयले तत्कालै घरतर्फ लगेका थिए ।  तर घर पुर्‍याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतक चौधरीका श्रीमती र दुई छोरा छन् ।

एकै दिन २४ घण्टामा विपद्का २० घटना

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न भागमा आगलागी, वन डढेलो र सर्पदंशका २० वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यी घटनाहरूमा कुनै मानवीय क्षति नभए पनि पाँचजना घाइते भएका छन् । लाखौँको धनमाल नष्ट भएको छ ।  रामेछापको खाँडादेवी गाउँपालिका–४ मा विद्युत सर्ट भई एकै घरमा १५ लाख बराबरको सुनचाँदी र नगद नष्ट भएको छ ।  सुनसरीको बराहक्षेत्र–७ मा भएको आगलागीमा ५ लाख ६० हजारको धनमाल जलेर नष्ट भएको छ । नवलपरासी (पश्चिम), पर्वत र झापामा पनि आगलागीले ठूलो क्षति पुर्‍याएको छ ।  रौतहटमा गुडिरहेको स्कार्पियो गाडीको इन्जिनमा आगलागी हुँदा गाडीमा क्षति पुगेको छ । गर्मी बढ्दै जाँदा वन डढेलोको जोखिम पनि बढिरहेको छ । मकवानपुर, नवलपरासी (पूर्व) र पाल्पाका विभिन्न सामुदायिक वनहरूमा डढेलो लागेको छ । प्राधिकरणको रिपोर्टअनुसार वन डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय र सुरक्षा निकायको सक्रियता रहँदै आएको छ । सर्पदंशका कारण झापा, पाल्पा र बर्दियामा तीनजना घाइते भएका छन् । कैलालीको टीकापुरमा खाना पकाउने क्रममा ७७ वर्षीया वृद्धा घाइते भएकी छिन् । सर्लाहीमा घोडाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  सुर्खेतमा वनमा चराउन लगिएका २१ मध्ये पाँच बाख्रा मृत र सातवटा घाइते अवस्थामा फेला परेका छन् ।  सबै घटनाहरूमा स्थानीय समुदाय, प्रहरी र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो । प्राधिकरणले आगलागी र डढेलोबाट बच्न सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (वैशाख ६)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९० रुपैयाँ ४१ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९३ पैसा, सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ नौ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ तीन पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १८ पैसा र बिक्रीदर १६ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४२ पैसा र बिक्रीदर २३ रुपैयाँ ५२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सल्यानमा जन्ती गएको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, १५ घाइते

सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा जन्ती बोकेकोे जीप दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नायव उपरीक्षक हेम बहादुर केसीले बताए । उक्त जीपमा १८ जना सवार थिए । 

आजकाे माैसम कस्ताे रहला ?

काठमाडौं । देशका अधिकांश स्थानमा तापक्रम बढ्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, तापक्रम बढेसँगै तराई भूभागमा आइतबार (वैशाख ६) ‘तातो दिन’ हुनेछ ।  “मधेस प्रदेशलगायत वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भूभागमा तातो दिन हुने सम्भावना छ,” विभागले भनेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लागेको विभागले बताएको छ । साथै, मधेस र कोसीको तराई भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मोौम मुख्यतया सफा रहेको छ । दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमाआंशिक बादल लाग्नेछ । कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको  सम्भावना छ ।  राति, देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल  लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।