गण्डकी प्रदेशमा एमालेलाई चार मन्त्रालय दिने तयारी

काठमाडौं । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकार मंगलबार विस्तार गर्नहुने भएको छ। कांग्रेस र एमालेबीच मन्त्रालय भागवण्डामा सहमति भएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार हुने भएको हो । 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार मन्त्री नियुक्त गरी शपथग्रहण गराउने तयारी गरेको कांग्रेस प्रदेश सभाका सदस्य महेश भट्टराईले दिनुभयो। उहाँका अनुसार ९ मध्ये कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय पाउनेछन्। 

एमालेले भौतिक, पूर्वधार तथा यातायात, कृषि पर्यटन, वन र स्वास्थ्य मन्त्रालय लिने भएको छ। कांग्रेसको भागमा परेका मन्त्रालयमा स्वतन्त्र सांसद राजीव गुरुङ र फणिन्द्र देवकोटालाई नियुक्त गर्ने तयारी भएको छ। 

संकटमा साथ दिएका गुरुङ र देवकोटालाई कांग्रेस कोटामै मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्री पाण्डेले गर्नुभएको हो ।

घोराहीमा पार्टी प्रवेश गर्ने युवाहरुलाई पूर्वमन्त्रीद्वारा स्वागत

दाङ । पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने युवाहरुलाई स्वागत गर्नुभएको छ। पार्टी  प्रवेशगर्नेहरुमा घोराही ६ बाट कांग्रेसका भक्तबहादुर डाँडी, घोराही १५ का रमेश पौडेल, घोराही १५ बाट कांग्रेसका बुद्धिराम चौधरी, घोराही १५ बाट राजु चौधरी, सोही वडाका रामु चौधरी, दिनेश चौधरी, बुद्धिराम चौधरी, सीता चौधरी, सज्जन चौधरी, जिवन चौधरीलगायत रहनुभएको छ । माओवादी केन्द्रले अघि सारेको भ्रष्टाचारबिरोधी अभियान मन पराएर आफूहरु सो पार्टीमा प्रवेश गरेको नवप्रवेशीहरुले बताएका थिए ।  नवप्रवेशीहरुलाई स्वागत गर्दै नेता शर्माले नयाँ नेपाल निर्माणको अगुवा पार्टी माओवादी केन्द्रले अब सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत जनताले चाहे जस्तो नयाँ नेपाल बनाउने बताउनुभयो । त्यसका लागि आम युवाहरुलाई पार्टीमा गोलबन्द भएर अघि बढ्न पनि उहाँले आह्वान गर्नुभयो ।

क्रियाशील महिला पत्रकारको अध्यक्षमा खड्का

काठमडौं । क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) को अध्यक्षमा रामकला खड्का चयन हुनुभएको छ । १२औँ साधारणसभा तथा सातौँ अधिवेशनबाट सर्वसम्मतिमा उहाँ अध्यक्ष चयन हुनुभएको हो। अधिवेशनले उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिताकुमारी लामा, सचिव रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दीपा आलेलाई चयन गरेको छ । त्यसैगरी विशेष सदस्यमा सङ्गीता लामा, सदस्यहरूमा अम्बिका राजथला, सोनी शर्मा, शोभा मानन्धर, सीता विके, रुपा खड्का र लक्ष्मी बस्नेत चयन हुनुभएको छ ।  सन् २००६ मा स्थापना भएको डब्लूडब्लूजेले स्वतन्त्र र जिम्मेवार प्रेसको वकालत गर्दै पत्रकार महिलाको हकहित तथा दक्षता अभिवृद्धिका लागि काम गर्दै आएको छ । संस्थाले महिला र सञ्चार क्षेत्रका नीति र कानुनलाई नजिकबाट अध्ययन एवं विश्लेषण गर्दै सम्बन्धित निकायलाई निरन्तर सुझाव दिँदै आएको छ । 

अखिल क्रान्तिकारीमा ३३ पदाधिकारी र २४३ केन्द्रीय सदस्य बनाउने प्रस्ताव

काठमाडौँ । नेकपा माअ‍ोवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारीले ३३ पदाधिकारी र २४३ जना केन्द्रीय सदस्य बनाउने प्रस्ताव तयार गरेको छ । जम्बो पदाधिकारीसहित केन्द्रीय समिति बनाएको आरोप खेपेको अखिल क्रान्तिकारीले सानो कमिटी बनाउने गृहकार्य थालेको हो । आगामी असोज २ देखि ५ गतेसम्म हुने संगठनको महाधिवेशनका लागि पदाधिकारी र केन्द्रीय सदस्य चुस्त दुरूस्त बनाउन विधान मस्यौदामार्फत प्रस्ताव गरिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले जानकारी दिए । ‘हामीले संगठनलाई सानो आकारमा बनाएर चुस्त बनाउने प्रयास गरेका हौँ, यसका लागि संगठनमा छलफल सुरू भएको छ, यसका लागि विधान सम्मेलन मार्फत संगठनको विधान फाइनल हुने छ त्यसपछि २३ औं राष्ट्रिय सम्मेलनबाट कार्यन्वयनमा जानेछ, यो सम्मेलनको निर्वाचनबाट कमिटी चुस्तदुरुस्त हुने अपेक्षा लिएका छौँ,’ उपध्याक्ष रावलले भने । अहिले नयाँ विधानमा सबै समूदाय र लिंगको समेत प्रतिनिधित्व हुने गरी प्रस्ताव तयार गरेको रावलको दाबी छ । प्रस्तावित विधान मस्यौदाअनुसार पदाधिकारीमा एक अध्यक्ष, नौ उपाध्यक्ष, एक महासचिव, नौ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्ष हुने छन् ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ । निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः रु एक सय ६०.५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः रु एक सय ५१।५०, एक सय ५३ र एक सय ५४ तोकेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर रु.एक सय ३२ कायम गरिएको छभने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई सूचीकृत गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएकाले स्थानीय बजारमा पनि समायोजन गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ ।

सभापति देउवाले भने -'यो गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताए। शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  कार्यक्रममा बोल्दै सभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताए। क्याप्टेन थापा सबैलाई सहयोग गर्ने व्यक्ति भएको भन्दै प्रशंसा गरे। उनले क्याप्टेन थापा प्रधानमन्त्री ओली निकटको व्यक्ति भनेर चिनिने भए पनि थापा सबैलाई सहयोग गर्ने मान्छे भएको उल्लेख गरे।

मार्क्सवादी ज्ञान केन्द्रको अध्यक्षमा पुनः तिमिल्सिना

काठमाडौं। माक्र्सवादी ज्ञान केन्द्रको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा शनिबार काठमाडौंमा उपलब्ध ज्ञान केन्द्रका आजीवन सदस्यहरू काठमाडौंमा र काठमाडौं बाहिर रहेका सदस्यहरू भर्चुअल माध्यमबाट एकसाथ भेला भई साधारण सभा सम्पन्न भएको हो। सभाले पुनः तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। ज्ञान केन्द्रको वरिष्ठ उपाध्यक्षमा इन्द्रराज भट्टराई, उपाध्यक्षमा रेशमकुमार अधिकारी, महासचिवमा हुमनाथ न्यौपाने ‘सुदीप’, उपमहासचिवमा दुस्यान्त भट्टराई, सचिवमा सागर अधिकारी र कोषाध्यक्षमा राधिका ओझा चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा भीमप्रसाद सुवेदी, भूपनारायण यादव, त्रिविक्रम ज्ञवाली, सीता कडरिया, टीका ओली, डा. शंकर खतिवडा, आस्था घिमिरे, राजुराम सार्की भुल, मीनादेवी नेपाल र लक्ष्मण गुरुङ चयन हुनुभएको छ ।  सभाले ज्ञान केन्द्रका विभाग प्रमुख र प्रदेश अध्यक्ष समेत चयन गरेको छ। कोशीमा सीता कडरिया, मधेशमा भूपनारायण यादव, बागमतीमा सागर अधिकारी, गण्डकीमा भीम सुवेदी, लुम्बिनीमा गेहेन्द्र ढकाल, कर्णालीमा जयशंकर धिताल र सुदूरपश्चिममा राजुराम सार्की भुल प्रदेश अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष तिमिल्सिनाले ज्ञान केन्द्रले वैचारिक कामलाई अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँ कार्यसमितिले माक्र्सवादी विचार निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास उहाँले दिलाउनुभयो । तिमिल्सिनाले माक्र्सवादी ज्ञान केन्द्रप्रतिको अपेक्षा र भरोसालाई मर्न नदिने प्रतिबद्धता जनाउनुभयो । भेलामा पूर्व मन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेतृ रेखा शर्माले कम्युनिस्ट राजनीतिक दलहरूले नयाँ पुस्तालाई गहिरो ढंगले राजनीतिकरण गर्न नसकेको र माक्र्सवादी दर्शन र वैचारिक रूपमा उभ्याउन नसकिरहेको अवस्थामा माक्र्सवादी ज्ञान केन्द्रको प्रयास निकै सह्रानीय रहेको बताएकी छन्। माक्र्सवादी विचार, राजनीति, संस्कार, संस्कृतिप्रति आस्थावान् व्यक्तिहरूलाई जोडेर अगाडि बढिरहेकोमा उनले खुसी व्यक्त गर्नुभयो । ‘माक्र्सवादको लक्ष्य हासिल गर्न विचार निर्माण आवश्यक छ। मानिसहरूलाई सचेत बनाउनुपर्नेछ। कम्युनिस्ट आदर्श र दर्शन अनुकूल आचरण र व्यवहार सञ्चालनको विषयमा सचेत गराउनुपर्नेछ,’उहाँले भन्नुभयो, ‘विज्ञानप्रविधिको विकाश र बदलिँदो परिस्थिति अनुसारको माक्र्सवाद कस्तो हुने र कसरी ग्रहण गर्ने भन्ने विषयमा एउटा निष्कर्ष निकाल्नु पर्नेछ। यसतर्फ तपाईँहरूको प्रयासहरू केन्द्रित हुने र सफलता हासिल गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु।’ भेलामा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता प्रमेश हमालले माक्र्सवाद निरन्तर विकास हुँदै गएको सामाजिक विज्ञान भएकोले माक्र्सवादी दर्शनबारे सिकाइको प्रक्रियालाई अझ परिपक्व बनाएर लैजानुपर्ने बताउनुभयो । सिकाइको कुरामा नयाँ पुस्तासँग आफूहरूमा निराशा रहेको उल्लेख गर्दै उहाँले मुलुकमा सर्वहारा वर्गको हकहितलाई स्थापित गर्न र नेपाली विशेषताको समाजवाद निर्माण गर्न माक्र्सवादको अध्ययन गर्न जरुरी रहेको बताउनुभयो । नेपाल अनुकूलको समाजवादी कार्यक्रमको ढाँचा निर्माणनिम्ति रणनीति तयार गर्ने दिशामा छलफल र बहसलाई केन्द्रित गर्नुपर्ने आवश्यकता उनले औँल्याउनुभयो । ‘माक्र्सवादी विचार भाववादी मात्र होइन। माक्र्सवादीहरू व्यवहारवादी हुन्छन् । उनीहरू प्रयोगबाट निष्कर्षमा पुग्छन्,’ उहाँले भन्नुभयो, ‘माक्र्सवादी दर्शन र आदर्श अनुरूपको समाज रूपान्तरणको कुरा कुनै भाववादी होइन। बस्तुवादी कुरा हो। समाजवाद रूपान्तरण कुनै काल्पनिक कुरा होइन। यो वास्तविक कुरा हो । त्यस कारण हामीले समाजवादी कार्यदिशा र कार्यक्रमलाई समृद्ध बनाउनुपर्छ। नेपाली विशेषताको समाजवाद निर्माण गर्न अझ बढी काम गर्नुपर्छ।’ माक्र्सवाद सिक्ने र प्रयोग गर्ने विषयमा नयाँ पुस्ता अग्रसर हुनुपर्नेमा नेता हमालले जोड थियो।  नेपालमा वामपन्थी दलहरुबीच एकता आवश्यक भएपनि तत्काल सम्भव नरहेको बताउनुभयो । उहाँले विचार र कार्यक्रममा एकरूपता कायम गर्दै एकताको पक्षमा परिस्थिति विकसित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । माक्र्सवादी दर्शन र विचार निर्माणमा माक्र्सवादी ज्ञान केन्द्रको प्रयास अर्थपूर्ण रहेको भन्दै उहाँले त्यसलाई अझ गहिरो गरी अगाडि बढाउन शुभकामना समेत दिनुभयो ।  

आज राष्ट्रिय पुस्तकालय दिवस मनाइदै

काठमाडौं । आज १७औँ राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । हरेक वर्ष भदौ १५ गने यो दिवस मनाइँदै आएको छ । विसं २०६५ सालदेखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । दिवसका अवसरमा दुई साता अघिदेखि नै सरकारी एवं गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम सुरु भएको छ । सरकारले पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा। दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । मूल समारोह समितिले यस वर्षको पुस्तकालय दिवसको नारा निरन्तर शिक्षाका लागि पुस्तकालय तय गरेको छ । यही नाराका आधारमा आज पुस्तकालय दिवसको मूल कार्यक्रम गरिनेछ ।कार्यक्रममा पुस्तकालय दिवससम्बन्धी स्मारिका सार्वजनिक गरिनेछ । मूल समारोहको कार्यक्रममा उत्कृष्ट पुस्तकालय र पाठकलाई पनि सम्मान गर्ने गरी तयारी छ । शिक्षा मन्त्रालयको २०७८–७९ को सर्वेक्षणले देशभर नौ सय २८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहेको देखाएको थियो । 

मुख्य सचिवको बढुवामा असन्तुष्टि जनाउँदै सचिव ज्ञवालीको राजीनामा

काठमाडौँ । मुख्य सचिव बढुवामा असन्तुष्टि जनाउँदै सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिनुभएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले चौथो नम्बरका सचिव एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्तिको निर्णय लिएसँगै सबैभन्दा वरिष्ठ सचिव ज्ञवालीले राजीनामा दिनुभएको हो । सरकारले आफूभन्दा कनिष्ठलाई नियुक्त गरेपछि ज्ञावालीले राजीनामा दिएको स्रोतले बताएको छ ।  वरिष्ठताको आधारमा आफूलाई मुख्य सचिव बनाउने छनक नपाएपछि उहाँ बुधवार दिउँसोदेखि नै कार्यालय जानुभएको थिएन । बिहीबार ज्ञवालीले राजीनामा नै दिनुभयो । ज्ञवाली राष्ट्रिय योजना आयोगमा सचिव हुनुहुन्थ्यो। ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिनेश भट्टराई तेस्रो वरीयताका सचिव हनुहुन्छ । ज्ञवालीको कार्यकाल यही २२ गते सकिँदै थियो । मन्त्रिपरिषद्ले उनको राजीनामा बिहीबार नै स्वीकृत गरिसकेको छ । 

प्रधानमन्त्रीको विरोध गरेको भन्दै युवा थुन्नु निरंकुश चरित्र : अखिल(क्रान्तिकारी)

काठमाडौं । परिवर्तनका पक्षधर युवाहरुलाई पक्राउ गरी हिरासतमा राख्नु निरंकुश चरित्र भएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।  शान्तिपूर्ण धर्ना, जुलुस, विरोध प्रदर्शन गर्न पाउनु नागरिकको संबैधानिक अधिकार भएको बताएको छ । गौरापर्व मनाउन टुडिखेल पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली  र पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवालाई विरोध गरेको नाममा परिवर्तनका पक्षधर केही युवाहरुलाई पक्राउ गरि हिरासतमा राखिएको घटनाप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति मार्फत जनाउनुभएको छ । विज्ञप्तिमा भनिएको छ -'आफ्नो संबैधानिक अधिकार प्रयोग गरे बापत युवाहरुलाई बिनाकारण हिरासतमा राखेर सरकारले आफ्नो निरंकुश चरित्र जनतासामु उदाङ्गो पारेको छ । सरकारको उक्त निरंकुश र असंवैधानिक रवैयाको घोर निन्दा एवं भत्सर्ना  गर्दछौं।दलाल सरकारका विरुद्ध युवाहरुले विरोध गरेकै कारण लगाईएको झुटा मुद्दा तत्काल खारेज गरी विना शर्त हिरासतमा भएका युवाहरूलाई २४ घण्टा भित्र रिहाई गर्नको निम्ति अखिल (क्रान्तिकारी) जोडदार माग गर्दछ। यदी पक्राउ गरिएका युवाहरुलाई विना सर्त तत्काल रिहाई नगरे हाम्रो संगठन चरणवद्ध आन्दोलनमा उत्रने जानकारी यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहान्छौं।'

प्रधानमन्त्रीद्धारा सामाजिक सञ्जालबाटै मुख्यसचिवलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त बनाउन निर्देशन दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकबाट अर्याललाई बधाई दिंदै प्रधानमन्त्रीले नागरिकलाई चुस्त सेवा दिन र विकास आयोजनालाई अगाडि बढाउन पनि निर्देशन दिनुभएको हो । ‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ’, उनले भनेका छन्, ‘सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो।’ प्रधानमन्त्रीले अधिकारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुने सुझाव प्रधानमन्त्री ओलीको छ ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहीबार सुनको मूल्य १ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

काठमाडौं । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि चोरीको उद्देश्यले अपार्टमेन्टमा पुगेका बोबिसिंह शाहले गोली हानेको खुलासा भएको छ। अदालतको विवरणमा लुटपाटको उद्देश्यले बोबिसिंह मुनाको अपार्टमेन्टमा पुगेको र सोहि क्रममा गोली हानेर हत्या गरेको उल्लेख गरिएको छ। अब बोबीसिंहलाई सेप्टेम्बर ३ मा अदालतमा उपस्थित गराइने र मुनाको हत्या बाहेक गैरकानुनी हतियार राखेको मुद्धा समेत चलाइने  भएको छ । गैर कानुनी हत्याको मुद्धामा उनलाई सेप्टेम्बर ५ मा अदालतमा उपस्थित गराइने भएको छ। ५१ वर्षीय शाहलाई प्रहरीले तस्बिर सार्वजनिक भएपछि प्राप्त सूचनाका आधारमा ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको थियो। शाह मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्बिर सार्वजनिक गरेको थियो। 

पाँचथरको विस्फोटमा परेका दुई बालबालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ ५ प्राङबुङमा भएको विस्फोटमा परेका दुई बालबालिकाको मृत्यु भएको छ । एकै परिवारका दाजु बैनीको मृत्यु भएको हो । घाइते दुई वर्षीया प्रिन्सा साँवाको उपचारका लागि लैजाँदै गर्दा इलाममा र उनको दाइ ११ वर्षीय दिप्सन साँवाको उपचारका क्रममा बी एण्ड सी अस्पताल झापामा मृत्यु भएको प्रहरी जनाएको छ । अर्का घाइते पवन राईको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । विस्फोटको कारण उनीहरूको शरीर जलेको छ । बिहीबार दिउँसो विस्फोट भएको थियो । ग्रिनेट विस्फोट भएको प्रारम्भिक अनुमान छ । सोही स्थानमा अर्को शंकास्पद बस्तु पनि फेला परेको छ । नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । शंकास्पद बस्तु डिस्पोज गर्ने र नयाँ हो कि पुरानो बस्तु विस्फोट भएको हो त्यसको अनुसन्धान हुने पाँचथरका डीएसपी हेमन्त भण्डारीले जानकारी दिनुभयो ।

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

काठमाडौं ।  सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डिसी)लाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्मा पठाइएको थियो। ती मध्ये डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको हो । डिसी फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी हुनुहुन्छ । उहाँले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनय सुरु गर्नुभएको हो ।

भयावह बन्दै डेंगुः पाँच हजारमा पुष्टि, तीन जनाको मृत्यु

काठमाडौं । देशका ७५ जिल्लाबाट पाँच हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी )को तथ्याङ्क अनुसार ७५ जिल्लाबाट पाँच हजार ५८९ जनामा डेंगु पुष्टि हुनुका साथै तीन जना सङ्क्रमितको मृत्यु भएको छ  । दुई जिल्लामा पाँच सयभन्दा बढिमा सङ्क्रमण पुष्टि भएका छन् । तनहुँमा एक हजार ६७, कास्कीमा ५३६ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ । यसैगरी, चितवनमा ४८६, काठमाडौँमा ४६६, पर्वतमा ३१७, गोरखामा २०८, झापामा १६०, मकवानपुरमा १११, भोजपुरमा ९६, पाल्पामा ९४ जनामा डेंगु पुष्टि भएको छ ।  प्रदेश अनुसारमा बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । बागमती प्रदेशमा एक हजार ४८६, गण्डकी प्रदेशमा दुई हजार ४४०, कोशी प्रदेशमा ७४९, लुम्बिनी प्रदेशमा ४१८, सुदूरपश्चिम प्रदेशमा ३३४, मधेश प्रदेशमा ५६ जनामा डेंगु पुष्टि भएको छ ।