बिसु पर्व : परिवार पुनर्मिलन, सांस्कृतिक निरन्तरता र नयाँ उर्जाको चाड

काठमाडौं । ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ ।

नयाँ वर्षको सुरुवातसँगै वैशाख १ गते मनाइने बिसु पर्व केवल चाडमात्र नभई पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीक बन्दै गएको छ । वर्षभरि देशविदेशमा रहेका आफन्त एक दिन भए पनि घर फर्कनुपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । भारतबाट फर्कनेहरूको घुइँचो बढ्दा विशेष गरी पहाडी क्षेत्रका बासिन्दाको संख्या उल्लेख्य छ ।

बिसु पर्वका अवसरमा नयाँ लुगा लगाउने, आफन्त र परिवारसँग भेला भएर मिठोमसिनो परिकार खाने तथा वर्षभरिका सुखदुःख साटासाट गर्ने चलन छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्वअध्यक्ष हरिप्रसाद जोशीका अनुसार घरघरमा मासु, मालपुवा, खीर, लाउन (पुरी), बटुक, माणा लगायत मौलिक परिकारहरू तयार पारिन्छन् । यी परिकारहरू केवल खानाका लागि मात्र नभई पुस्तौँदेखिको परम्परा र सामूहिक जीवनशैलीको प्रतीक हुन् ।

बिसुको अर्को महत्वपूर्ण पक्ष बिहानै ब्रह्ममुहूर्तमा स्नान गर्ने हो । ‘बिहान नुहाएपछि रोगव्याध हट्ने र शरीर शुद्ध हुने जनविश्वास छ भने ननुहाए विष लाग्ने मान्यता पनि प्रचलित छ,’ जोशीले बताए । स्नानपछि देवदर्शन गर्ने, मान्यजनबाट टीका ग्रहण गर्ने र परिवारसँग बसेर परिकार खाने चलनले धार्मिक आस्था र पारिवारिक सम्बन्धलाई मजबुत बनाउँछ ।

सिस्नो लगाउने मौलिक चलन यो पर्वको सबैभन्दा रोचक पक्ष ‘सिस्नो लगाउने’ चलन हो । देवर–भाउजुबीच रमाइलोका रूपमा सिस्नो लगाएर ठट्टा गर्ने यो परम्पराले परिवारभित्र हाँसो, माया र नजिकपन बढाउँछ । स्थानीय संस्कृतिका जानकार तर्कराज भट्टका अनुसार यसले शरीरका विकार हटाउने, जाडो कम गर्ने र बाथजस्ता रोगबाट बचाउने विश्वास गरिन्छ ।

ज्योतिषीय दृष्टिले बिसुलाई ‘अकाट्य’ वा ‘अपुच्छय’ दिन मानिन्छ । यस दिन विवाह, व्रतबन्ध, गृहप्रवेशलगायत कुनै पनि शुभकार्यका लागि साइत हेर्नु आवश्यक पर्दैन ।

बिसुलाई वर्षभरिका चाडपर्वको समापन र नयाँ वर्षको स्वागत गर्ने दिनका रूपमा पनि लिइन्छ । यस दिन पुराना दुःख, असफलता र थकानलाई बिदाइ गर्दै नयाँ उर्जा र आशासहित जीवन अघि बढाउने सांस्कृतिक सन्देश दिइन्छ ।

आधुनिक जीवनशैली र बसाइँसराइका कारण केही परम्पराहरू ओझेलमा पर्दै गए पनि बिसु पर्वको मूल भावना — परिवारप्रतिको माया, सामाजिक सहकार्य र सांस्कृतिक निरन्तरता — अझै जीवन्त रहेको जानकारहरू बताउँछन् ।

विक्रम संवत् २०८३ आजदेखि सुरु, देशभर नयाँ वर्षको हर्षोल्लास

काठमाडौँ । आजदेखि विक्रम संवत् २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुवातको रूपमा लिइने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकअर्कामा शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ मनाइँदै छ । संसारभर नयाँ वर्षलाई विशेष पर्वको रूपमा मनाउने प्रचलन छ । नेपालमा पनि वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइँदै आएको छ । सबैभन्दा पुरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित मानिन्छ । आज सोही संवत्को पहिलो दिन हो । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिन हो । यसलाई वैशाख सङ्क्रान्ति वा मेष सङ्क्रान्तिका रूपमा पनि चिनिन्छ । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत र वैज्ञानिक भएको जानकारहरू बताउँछन् । सूर्य मेष राशिमा प्रवेश गर्दा पुरानो वर्ष समाप्त भएर नयाँ वर्ष लाग्ने भएकाले यसलाई वैज्ञानिक आधार भएको मानिन्छ । नयाँ वर्षको अवसरमा हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी नयाँ योजनासहित सङ्कल्प गर्ने गर्दछन् । परम्परागत चलन आज बिहानै नुहाउने, घरआँगन सफा गर्ने, मठमन्दिरमा पूजाआराधना र दर्शन गर्ने, मीठो खाने र इष्टमित्रसँग भेटघाट गरी शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । विश्वभर रहेका नेपालीहरूले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । भक्तपुरमा आज बिस्का जात्रा मनाइँदै छ भने तराई क्षेत्रमा सहलेश फूल फुल्ने भएकाले पनि यस दिनको छुट्टै महत्व छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत उच्च व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गर्दै नेपाली जनताको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ । शुभ नयाँ वर्ष २०८३ !

नेपालमा पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालको मौसमी प्रणालीमा अहिले पश्चिमी वायु र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा यी दुवै वायु प्रणालीको आंशिक प्रभावका कारण मौसममा फेरबदल आएको हो। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली छ भने अन्य पहाडी भूभागमा आंशिक रूपमा बादल लागेको छ। तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहेको छ। आज (सोमबार) को पूर्वानुमान देशका हिमाली भेगमा बादलको प्रभाव बढी रहने र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानहरूमा तथा अन्य हिमाली भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। तराई क्षेत्रमा भने घाम लाग्ने र मौसम सफा रहने छ। हिमाली क्षेत्रमा सम्भावित वर्षा र हिमपातले तापक्रम केही घट्न सक्ने भएकाले स्थानीयवासी तथा पर्यटकहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सम्पत्ति विवरण : आम्दानी पुष्टि हुने आधार छैन

काठमाडौँ  – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित वर्तमान सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम पेस गरिएको यो विवरण अनुसार प्रधानमन्त्रीदेखि अधिकांश मन्त्रीहरूको सम्पत्ति औसत नेपाली नागरिकको तुलनामा कयौं गुणा बढी देखिएको छ। केवल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी (बादी) को सम्पत्ति भने अत्यन्त साधारण रहेको छ। उनीबाहेक अन्य सबै मन्त्रीसँग जग्गा, बैंक ब्यालेन्स, सुनचाँदी र अन्य चलअचल सम्पत्ति उल्लेख्य मात्रामा रहेको विवरणमा उल्लेख छ। मन्त्री सीता वादीले आफ्नो सम्पत्ति विवरणमा २० वटा कुखुरा, एउटा कुकुर, स्कुटर, तीनवटा ल्यापटप, दुईवटा मोबाइल, ५० हजार नगद, श्रीमान्‌सँग संयुक्त रूपमा १५ लाख बैंक बचत, सुर्खेतमा ८९.६५ वर्ग मिटर जग्गा र विवाहको उपहारस्वरूप प्राप्त १८ तोला सुन तथा १५ तोला चाँदी उल्लेख गरेकी छन्। उनीसँग कुनै ऋण वा दायित्व छैन। अन्य मन्त्री तथा प्रधानमन्त्रीको विवरणमा भने ठूलो मात्राको बैंक ब्यालेन्स, जग्गाजमिन र गरगहना देखिएको छ। उदाहरणका लागि: प्रधानमन्त्री बालेन्द्र शाहको नाममा बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ (स्रोत : सामाजिक सञ्जालबाट आम्दानी) रहेको छ। श्रीमती सविना काफ्लेको नाममा १९० तोला सुनचाँदी तथा हिराका गरगहना (पैत्रिक सम्पत्ति), आमा ध्रुवदेवी शाहको नाममा धनुषामा १.२ बिघा जग्गा र बुबा रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको उल्लेख छ। काठमाडौँमा पनि उनीहरूको नाममा जग्गा छ। अधिकांश मन्त्रीले आफ्नो सम्पत्तिको स्रोत पैत्रिक सम्पत्ति र व्यावसायिक/पेशागत आम्दानी भनेका छन्। तर, यी दाबीको पुष्टि हुने कुनै स्वतन्त्र आधार वा प्रमाण विवरणमा उल्लेख गरिएको छैन। राष्ट्रिय सतर्कता केन्द्रमा पठाइने यो विवरणलाई भ्रष्टाचार निवारण ऐनले अनिवार्य गरेको छ। तर, सार्वजनिक रूपमा यो विवरण मात्र आत्मघोषणा हो। यसको थप जाँचबुझ वा प्रमाणीकरणको जिम्मेवारी सम्बन्धित निकायको हुने जनाइएको छ। सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण नियमित रूपमा सार्वजनिक गर्ने प्रचलनलाई पालना गर्दै यो विवरण वेबसाइटमार्फत उपलब्ध गराएको हो। विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ। यो सम्पत्ति विवरणले वर्तमान सरकारका नेतृत्वकर्ताहरूको आर्थिक हैसियतबारे चर्चा बढाएको छ। औसत नेपाली नागरिकको वार्षिक आय र सम्पत्तिको तुलनामा मन्त्रीहरूको धन उल्लेखनीय रहेको देखिन्छ भने मन्त्री सीता वादीले भने आफ्नो साधारण जीवनशैलीको प्रतिबिम्ब प्रस्तुत गरेकी छन्।

आज सोमबारका लागि विनियमयदर निर्धारण, कुन विदेशी मुद्राको भाउ कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिद दर १४८ रुपैयाँ ०७ पैसा र बिक्री दर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ। अन्य प्रमुख मुद्राहरूको विनिमय दर (खरिद–बिक्री): मुद्रा (Currency Unit) खरिद दर (Buy) बिक्री दर (Sell) INR (भारतीय रुपैयाँ) 100 160.00 160.15 USD (अमेरिकी डलर) 1 148.07 148.67 EUR (युरो) 1 173.54 174.24 GBP (बेलायती पाउन्ड) 1 199.33 200.14 CHF (स्विस फ्राङ्क) 1 187.63 188.39 AUD (अष्ट्रेलियन डलर) 1 104.57 104.99 CAD (क्यानेडियन डलर) 1 106.98 107.41 SGD (सिंगापुर डलर) 1 116.23 116.70 JPY (जापानी येन) 10 9.30 9.33 CNY (चिनियाँ युआन) 1 21.69 21.77 SAR (साउदी रियाल) 1 39.46 39.62 QAR (कतारी रियाल) 1 40.62 40.78 THB (थाई बाट) 1 4.62 4.64 AED (युएई दिर्हाम) 1 40.31 40.47 MYR (मलेसियन रिङ्गिट) 1 37.34 37.50 KRW (कोरियन वन) 100 9.97 10.01 SEK (स्वीडिश क्रोनर) 1 15.98 16.05 DKK (डेनिस क्रोनर) 1 23.23 23.33 HKD (हङकङ डलर) 1 18.91 18.98 KWD (कुवेती दिनार) 1 483.26 485.22 BHD (बहारीनी दिनार) 1 392.76 394.35 OMR (ओमानी रियाल) 1 385.10 386.66 राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्छ। अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने छ।

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजको विनिमय दर (रुपैयाँमा) अमेरिकी डलर (USD) खरिद: १४८.०७ | बिक्री: १४८.६७ युरो (EUR) खरिद: १७३.४४ | बिक्री: १७४.१४ बेलायती पाउण्ड स्टर्लिङ (GBP) खरिद: १९९.०१ | बिक्री: १९९.८२ स्विस फ्राङ्क (CHF) खरिद: १८७.६१ | बिक्री: १८८.३७ अष्ट्रेलियन डलर (AUD) खरिद: १०४.६९ | बिक्री: १०५.११ क्यानेडियन डलर (CAD) खरिद: १०७.०३ | बिक्री: १०७.४६ सिङ्गापुर डलर (SGD) खरिद: ११६.२२ | बिक्री: ११६.६९ जापानी येन (JPY) १० खरिद: ९.३० | बिक्री: ९.३४ चिनियाँ युआन (CNY) खरिद: २१.६८ | बिक्री: २१.७७ साउदी अरेबियन रियाल (SAR) खरिद: ३९.४६ | बिक्री: ३९.६२ कतारी रियाल (QAR) खरिद: ४०.६१ | बिक्री: ४०.७८ थाइ भाट (THB) खरिद: ४.६१ | बिक्री: ४.६३ युएई दिराम (AED) खरिद: ४०.३१ | बिक्री: ४०.४७ मलेसियन रिङ्गेट (MYR) खरिद: ३७.३४ | बिक्री: ३७.५० दक्षिण कोरियन वन (KRW) १०० खरिद: ९.९८ | बिक्री: १०.०२ स्वीडिस क्रोनर (SEK) खरिद: १५.९९ | बिक्री: १६.०५ डेनिस क्रोनर (DKK) खरिद: २३.२१ | बिक्री: २३.३० हङकङ डलर (HKD) खरिद: १८.९० | बिक्री: १८.९८ कुवेती दिनार (KWD) खरिद: ४८३.१० | बिक्री: ४८५.०६ बहरaini दिनार (BHD) खरिद: ३९२.६५ | बिक्री: ३९४.२५ ओमानी रियाल (OMR) खरिद: ३८४.६० | बिक्री: ३८६.१६ भारतीय रुपैयाँ (INR) १०० खरिद: १६०.०० | बिक्री: १६०.१५ केन्द्रीय बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्नेछ। अद्यावधिक विनिमय दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने छ।

कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने तराई क्षेत्रको मौसम मुख्य रूपमा सफा रहेको छ। आज आइतबार कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित अन्य हिमाली भेगमा सामान्यतया बादल लाग्ने छ। कोशी प्रदेशको तराई र अन्य पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी तराईका क्षेत्रमा मौसम सफा रहने अनुमान छ। कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ। गण्डकी प्रदेशका पहाडी भूभाग र अन्य केही हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकोले मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।

अमेरिका र इरानबीच पाकिस्तानमा १५ घन्टा वार्ता, आज फेरि अर्को चरणमा वार्ता हुने

एजेन्सी। पाकिस्तानको राजधानी इस्लामावादमा इरान र अमेरिकाबीच चलिरहेको युद्धविराम वार्ता दोस्रो दिन आइतबार पनि लम्बिएको छ। ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले यो प्रत्यक्ष वार्ता १५ घण्टादेखि निरन्तर चलिरहेको जनाएका छन्। इरानी सरकारले पनि केही मतभेद बाँकी रहे तापनि वार्ता सकारात्मक रूपमा अघि बढिरहेको स्पष्ट पारेको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धले मध्यपूर्वलाई मात्र होइन, विश्व अर्थतन्त्रलाई नै ठूलो धक्का पुर्‍याएको थियो। तर, पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ मा दुई हप्ताको अस्थायी युद्धविराम लागू भएपछि यी वार्ता सुरु भएका हुन्। ४७ वर्षपछिको ऐतिहासिक आमनेसामने सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि पहिलो पटक दुई देशका उच्चस्तरीय नेताहरू प्रत्यक्ष वार्तामा बसेका छन्। अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन्। टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकफ पनि छन्। इरानी टोलीको नेतृत्व संसद् सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन् भने टोलीमा विदेशमन्त्री अब्बास अराघचीसहित अन्य उच्च अधिकारीहरू समावेश छन्। मुख्य एजेन्डा र विवादित विषयहरू इस्लामावादको सेरेना होटलमा प्राविधिक पक्षलाई अन्तिम रूप दिँदै वार्ता भइरहेको छ। शनिबार राति विशेषज्ञ टोलीहरूबीच घण्टौं लामो छलफलपछि लिखित प्रस्ताव र मस्यौदाहरू आदानप्रदान भएका थिए। दुवै पक्षका विशेषज्ञ समितिहरूले सुरक्षा, राजनीति, सैन्य, आर्थिक, कानुनी र आणविक मुद्दाहरूमा गहन छलफल गरेका छन्। तर, केही महत्वपूर्ण विषयमा अझै सहमति जुट्न सकेको छैन। इरानको आणविक कार्यक्रम, प्रतिबन्ध हटाउने, रोक्का राखिएका इरानी सम्पत्ति फिर्ता र लेबनानमा इजरायलको आक्रमण रोक्ने विषय मुख्य विवादका बिन्दु बनेका छन्। इरानले लेबनानमाथि इजरायलको आक्रमण तत्काल रोक्न माग गरेको छ। साथै, इरानले इजरायल र अमेरिकाका निर्णय एकअर्कासँग जोडिएको भन्दै वार्ता असफल भएमा जिम्मेवारी अमेरिकालाई पनि जान्ने चेतावनी दिएको छ। इरानी राष्ट्रपतिको अडान र मिनाबको स्मरण इरानी राष्ट्रपति मसुद पेजेस्कियनले सामाजिक सञ्जाल एक्समा लेख्दै प्रतिनिधिमण्डल देशको हित रक्षा गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। उनले वार्ताको नतिजा जे भए पनि सरकार जनताको साथमा उभिने स्पष्ट पारेका छन्। वार्ताका लागि इस्लामावाद पुगेपछि सभामुख गालिबाफले विमानभित्र रगत लत्पतिएका स्कुल झोला, जुत्ता र चार बालबालिकाको तस्बिर सेयर गर्दै मार्मिक सन्देश दिएका थिए। यो फेब्रुअरी २८ मा इरानको मिनाब शहरको प्राथमिक विद्यालयमा भएको आक्रमणको स्मरण थियो, जसमा १६८ जना बालबालिका र शिक्षकको ज्यान गएको थियो। इरानले उक्त आक्रमणको जिम्मेवारी अमेरिका र इजरायललाई दिएको छ। ट्रम्पको चेतावनी वार्ता सुरु हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता नभए इरानमाथि फेरि ठूलो आक्रमण गर्ने कडा चेतावनी दिएका थिए। उपराष्ट्रपति भान्सले पनि वार्ताबाट सकारात्मक नतिजा आउने अपेक्षा गर्दै इरानले अमेरिकासँग 'चलाखी' नगर्न चेतावनी दिएका छन्। यसैबीच, मध्यपूर्व शान्तिका लागि अर्को प्रयासस्वरूप आगामी अप्रिल १४ मा अमेरिकामा लेबनान र इजरायलबीच छुट्टै युद्धविराम वार्ता हुने भएको छ। आइतबारको विश्रामपछि इरान–अमेरिका वार्ताको अर्को चरण पुनः सुरु हुनेछ।

तपाईंहरूले बुझ्नुभएन कि के हो ? सम्पूर्ण छानबिनका लागि म तयार छु : पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताउनुभयो । शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पार्नुभयो । आफूमाथि हुने सबै छानबिनका लागि तयार रहेको बताउँदै प्रचण्डले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने जिकिर गर्नुभयो । ‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै पटक भनिसकेँ । तपाईंहरूले बुझ्नुभएन कि के हो ? सम्पूर्ण छानबिनका लागि म तयार छु,’ प्रचण्डले भन्नुभयो । वर्तमान सरकारको कार्यशैलीबारे सोधिएको प्रश्नमा प्रचण्डले अहिले नै टिप्पणी गर्ने बेला नभएको बताउनुभयो ।

सार्वजनिक जीवनमा रहेका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले कालोधनलाई वैध बनाउने गतिविधि आपराधिक भएको टिप्पणी गरेका छन् । शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले कालोधनलाई सेतो बनाउने कार्य रोक्नु सरकारको नियमित दायित्व भएको जिकिर गरे । ‘म आफैं अर्थमन्त्री हुँदा कानुन बनाएको हो । कालोधनलाई वैध बनाउन पाइँदैन, मनी लाउन्ड्रिङ गर्न पाइँदैन,’ पुनले भने, ‘सरकारले त्यसैअनुसारको संयन्त्र बनाएको छ । सम्पत्ति शुद्धीकरण नियन्त्रण र नियमन गर्न एउटा विभाग नै छ । यो अहिले मात्र होइन, नियमित काम हो ।’ उनले २०४८ सालपछि सार्वजनिक पदमा रहेका सबै उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । यसका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्दा अझ प्रभावकारी हुने उनको तर्क छ । ‘सम्पत्ति छानबिन गर्नुपर्छ भने २०४८ सालपछि सार्वजनिक जीवनमा रहेका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरौं,’ पुनले भने, ‘एक अर्कालाई आरोप लगाउनुभन्दा को कालोधन सेतो बनाउने रहेछ भन्ने थाहा हुन्छ । त्यसैले छानबिन होस् ।’

विद्यार्थी संगठनहरूलाई स्कुल–कलेजमा प्रतिबन्ध लगाउन पाइँदैन : नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकको निष्कर्षबारे जानकारी दिँदै भने, “जनसंगठनहरू, खासगरी विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो । यसले जनता र ट्रेड युनियनका अधिकारलाई कुण्ठित गर्छ । यो गलत हो । यस्तो गर्न पाइँदैन । हामी यसको विपक्षमा उभिन्छौं ।” सरकारले आफ्नो १०० बुँदे कार्यसूचीमा विद्यार्थी संगठनहरू खारेज गर्ने विषय उल्लेख गरेपछि विभिन्न राजनीतिक दल र संगठनहरूले विरोध जनाउँदै आएका थिए । नेकपाले पनि यो निर्णय गलत भएको ठहर गर्दै विद्यार्थी तथा जनसंगठनहरूको अधिकार रक्षाको पक्षमा उभिने स्पष्ट गरेको छ । नेता खतिवडाका अनुसार केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक आगामी ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यसबेला सार्वजनिक गरिने छन् ।

पार्टी एकीकरणको बाँकी काम एक हप्ताभित्र सम्पन्न गर्छौं : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले  पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्ने गरी पहल भइरहेको जानकारी दिएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश कमिटीले नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको क्यालेण्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै नेपालले त्यसको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए । उनले निर्वाचनमा कार्यकर्ताहरूको सक्रियता र इमानदारीबारे प्रश्न उठाउँदै आत्ममन्थन गर्न आग्रह गरे । ‘केन्द्रीय संयोजन कमिटी ४५ सदस्यीय छ । यो कमिटीले अब सात दिनभित्र बैठक बसेर छलफल गरी आफ्ना धारणा प्रस्तुत गर्नेछ,’ नेपालले भने, ‘राष्ट्रिय समस्या, देशले भोगिरहेका चुनौती, राजनीतिक संकट, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनले सामना गर्नुपरेका समस्याबारे सदस्यहरूले आफ्ना विचार राख्नुभएको छ । ती सबै विचारको मन्थन गरी हामी निष्कर्षमा पुग्ने छौं ।’ नेपालले कम्युनिष्टहरूले २००७ सालदेखि नै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै कम्युनिष्ट नै सच्चा देशभक्त भएको दाबी गरे । ‘अब एकताको भावनाका साथ एकीकृत पार्टीको रूपमा अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘हामी २६ वटा घटकसहित एकीकृत पार्टी निर्माणको प्रक्रियामा छौं ।’

जनताका अधिकार खोस्ने काम भए सडक र सदन दुवैबाट प्रतिवाद : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमाथि छेडखानी गरी जनताका अधिकार खोस्ने काम भए सडक र सदन दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिनु भएको छ ।  शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो ।  ‘हामीले सुरुदेखि नै स्पष्ट भनेका छौं कि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले संविधानभित्र रहेर रचनात्मक तथा सकारात्मक काम गरे हामीले त्यसलाई सकारात्मक रूपमा लिन्छौं,’ प्रचण्डले भन्नुभयो, ‘तर संविधानमाथि छेडखानी हुन थाल्यो, राष्ट्रिय हितमा आँच आउन थाल्यो वा जनताले प्राप्त गरेका हकअधिकार खोस्ने गतिविधि भए भने हामी सदनभित्र र सडकबाट पनि त्यसको विरोध गर्छौं ।’ प्रचण्डले विद्यार्थी र कर्मचारी ट्रेड युनियनका अधिकारमाथि प्रश्न उठाउन खोजिएमा सतर्क रहनुपर्ने बताउनुभयो । ‘जनताले लामो संघर्ष, ठूलो त्याग र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि कुनै पनि किसिमको छेडखानी हुन दिनुहुँदैन,’ प्रचण्डको भनाइ छ । प्रचण्डले संविधान संशोधनको विरोधी भने आफू नभएको स्पष्ट पार्नुभयो ।  ‘संविधान संशोधनका हामी विरोधी होइनौं,’ प्रचण्डले भन्नुभयो, ‘तर त्यो संशोधन महिलाहरूको अधिकार थप्न, जनतालाई थप अधिकार दिन र संघीयतालाई अझ बलियो बनाउनका लागि हुनुपर्छ, अधिकार खोस्नका लागि होइन ।’

पक्राउ परेका कलाकार सागर लम्साल 'बले' हाजिर जमानीमा रिहा

काठमाडौं। अभद्र व्यवहारको कसुरमा पक्राउ परेका बले भनिने कलाकार सागर लम्साल हाजिर जमानीमा छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई शुक्रबार साँझ परिवारको जिम्मामा छाडिएको छ। ‘उहाँलाई आवश्यक परेको बेला उपस्थित हुने गरी हाजिर जमानीमा छाडिएको छ,’ एसपी भट्टराईले बताए। प्रहरीले गत शनिबार बिहान उनलाई पक्राउ गरेको थियो। अभद्र व्यवहार गरेको भन्दै उजुरी परेका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। तर, उजुरीकर्ता को हो र कहाँ अभद्र व्यवहार भएको हो भन्ने विषयमा प्रहरीले अझै खुलाएको छैन। गत शुक्रबार बिहान अमेरिकामा बस्दै आएकी एक युवतीले सागर लम्सालविरुद्ध बलात्कारको आरोप लगाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। त्यसको भोलिपल्ट शनिबार प्रहरीले उनलाई पक्राउ गरेको थियो। यद्यपि, जिल्ला प्रहरी परिसर काठमाडौंले लम्सालविरुद्ध जबरजस्ती करणी (बलात्कार) सम्बन्धी कुनै औपचारिक जाहेरी नपरेको स्पष्ट पारेको छ।

के कानूनी लडाइको तयारीमा छन् पूर्वप्रधानमन्त्री देउवा ?

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । देउवा दम्पती स्वास्थ्य उपचारका लागि हाल विदेशमा छन् । आरजु राणाले विदेशबाटै ह्वाट्सएपमार्फत वरिष्ठ अधिवक्ताहरूसँग कानुनी परामर्श लिइरहेकी छन् । पक्राउ पुर्जीपछि देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ । सरकारले उनीहरू नेपाल नफर्किए ‘रेड नोटिस’ जारी गर्ने तयारी गरेको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले देउवा दम्पतीले स्वदेश फर्केर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएका छन् । गत फागुनमा विदेश गएका देउवा दम्पतीको नेपाल फर्किने मिति अझै टुङ्गो लागेको छैन । बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै देउवाले आफूहरूले कानुनबमोजिम सम्पत्ति विवरण पेश गरेको बताएका छन् । उनले भ्रामक प्रचार नगर्न पनि अपिल गरेका छन् । देउवा दम्पतीले विदेशबाटै मुद्दामा कानुनी लडाइँ लड्ने रणनीति बनाइरहेको स्रोतले जनाएको छ ।

अमेरिकाबाट ४८ जना नेपाली डिपोर्ट, दुई महिनामा २३१ जना फर्काइए

काठमाडौं । अमेरिकाले हालै ४८ जना नेपाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकाले अप्रिल ७ मा चार्टर्ड उडानमार्फत यी ४८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । डिपोर्ट भएकाहरू सबै पुरुष रहेका छन् । प्राप्त तथ्यांकअनुसार सोमबार डिपोर्ट भएकामध्ये २ जना ग्रिन कार्ड बाहक रहेका छन् । यसैगरी, २३ जनासँग कुनै वैध ट्राभल डकुमेन्टसमेत नभएको अध्यागमन विभागका स्रोतले जानकारी दिएका छन् । डिपोर्ट भएका दुई जना ग्रिन कार्डबाहकमध्ये एक जना ‘ड्रिङ्क एन्ड ड्राइभ’ (मापसे) मुद्दामा पक्राउ परेका थिए भने अर्का ग्रिन कार्डबाहक डिपोर्ट हुनुको कारण खुलेको छैन । सन् २०२६ को दुई महिनामा २३१ जना डिपोर्ट अध्यागमन विभागका अनुसार सन् २०२६ को पहिलो दुई महिनामा मात्र २३१ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । विभागका तथ्यांकअनुसार फेब्रुअरी महिनामा मात्र १३० जना डिपोर्ट भएका थिए । फेब्रुअरीमा डिपोर्ट हुनेमा १२४ जना पुरुष र ६ जना महिला थिए । फेब्रुअरीमा चार्टर विमानमार्फत मात्र ९५ जना फर्काइएका थिए, जसमध्ये ३ जना महिला थिए । त्यस्तै, जनवरी महिनामा १०१ जना डिपोर्ट भएका थिए । जसमध्ये ४ जना महिला र बाँकी सबै पुरुष थिए । जनवरीमा एकै पटक ८० जना नेपाली चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए । डिसेम्बर २०२५ मा एकै दिन ७५ जना (६९ पुरुष र ६ महिला) डिपोर्ट भएका थिए । ट्रम्पको दोस्रो कार्यकालमा ७१८ जना डिपोर्ट राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि हालसम्म कुल ७१८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । डिपोर्टेसन प्रक्रिया तीव्र : नेपाली दूतावास अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले डिपोर्टेसन प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले ट्राभल डकुमेन्ट नभए पनि विद्युतीय प्रमाणीकरण (इलेक्ट्रोनिक भेरिफिकेशन) मार्फत यात्रा सम्भव रहेको जानकारी दिए । ट्राभल डकुमेन्ट नहुँदा प्रक्रिया कसरी अघि बढ्छ भन्ने प्रश्नमा आरणले भने, “धेरै अवस्थामा डकुमेन्ट नभएको जस्तो देखिए पनि वास्तवमा त्यस्तो हुँदैन । पहिले जारी भएको डकुमेन्टको म्याद सकिएको हुन सक्छ । यस्तो अवस्थामा पनि विद्युतीय प्रमाणीकरणबाट यात्रा गर्न मिल्छ ।” दूतावासले डिपोर्ट हुने व्यक्तिहरूको विवरण प्रमाणित गरी सम्बन्धित मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गरेर नेपाल पठाउने प्रक्रिया अघि बढाउने गरेको उनले बताए । किन बढ्दै छ डिपोर्टेसन ? कार्यवाहक राजदूत आरणका अनुसार डिपोर्टेसन बढ्नुका मुख्य कारणहरूमा एसाइलम (शरणार्थी) आवेदन अस्वीकृत हुनु, भिसा खारेज हुनु, गैरकानुनी रूपमा काम गर्नु र विभिन्न कानुनी उल्लङ्घन रहेका छन् । “अध्यागमन अदालतले ‘फास्ट ट्र्याक’ मा मुद्दा टुङ्ग्याइरहेको छ । लामो समयदेखि पेन्डिङ रहेका केसहरू छिटो निष्कर्षमा पुग्दा डिपोर्ट हुने संख्या बढेको हो,” उनले भने । उनका अनुसार दक्षिण अमेरिका र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति लगभग शून्यमा झरेको छ । यसले नेपालीहरूलाई मानव तस्करी र आर्थिक ठगीबाट जोगाउन सहयोग पुगेको छ । ग्रिन कार्ड वा नागरिकता प्राप्त गरे पनि कानुन उल्लङ्घन गरेमा त्यस्ता सुविधा खारेज गरी डिपोर्ट हुन सक्ने जोखिम रहेको उनले स्पष्ट पारेका छन् । नक्कली विवाह, झुटो विवरण पेस गर्ने जस्ता गतिविधिमा संलग्न भए कडा कारबाही हुने चेतावनीसमेत उनले दिएका छन् ।