एक वर्षमा ७५४७ विपद घटना, ४९० जनाको ज्यान गयो

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि चैत २४ गतेसम्मको एक वर्षमा देशभर ७ हजार ५ सय ४७ वटा विपदका घटना भएका छन् ।

यी घटनाबाट १३ हजार ५ सय ४ परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने ४ सय ९० जनाको ज्यान गएको छ । ३८ जना बेपत्ता भएका छन् र १ हजार ९ सय ६५ जना घाइते भएका छन् ।

सबैभन्दा बढी आगलागीका घटना भएका छन् । एक वर्षमा ३ हजार ६ सय ५२ वटा आगलागी भएका छन्, जसमा १ सय ४ जनाको मृत्यु भएको छ र ४ हजार १ सय ८२ परिवार प्रभावित भएका छन् ।

बाढीका ३ सय २८ घटनामा ३९ जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता छन् । पहिरोका ६ सय २१ घटनामा ७६ जनाको मृत्यु भएको छ । चट्याङबाट ४८ जनाले ज्यान गुमाएका छन् ।

अमेरिका र इरानबीच युद्धविरामका लागि सहमति, इजरायल पनि तयार, वार्ता अब पाकिस्तानमा

एजेन्सी । अमेरिका र इरानबीच युद्धबिरामको सहमति भएको छ । यसका लागि इजरायल पनि तयार भएको छ । पाकिस्तानमा अब वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  अमेरिका र ईरानबीचको तनावपूर्ण स्थितिमा अचानक राहतको खबर आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल ईरानमाथि सैन्य कारबाही रोक्ने घोषणा घोषणा गरेका छन् ।  यो युद्धविराम दुई हप्ताका लागि लागू हुनेछ र इजरायल पनि यसमा सहमत भएको छ । ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै लेखेका छन् ।, “मैले ईरानमाथि बमबारी र हमला दुई हप्ताका लागि स्थगित गर्न सहमति जनाएको छु ।” उनले यसलाई व्यापक युद्धविरामतर्फको महत्वपूर्ण कदम भनेर वर्णन गरेका छन् । यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेनाध्यक्ष आसिम मुनीरसँगको कुराकानीपछि लिइएको हो । उनीहरूले प्रस्तावित हमलालाई रोक्न आग्रह गरेका  थिए ।  मुख्य शर्त र समझदारी ट्रम्पले स्पष्ट पारेका छन् कि यो युद्धविराम सशर्त छ । ईरानले स्ट्रेट अफ होर्मुज (हर्मुज जलडमरु) फेरि खोल्नुपर्नेछ । यो जलमार्ग विश्वको तेल आपूर्तिको करिब एक-पाँचौं हिस्सा ओसारपोसार हुने महत्वपूर्ण मार्ग हो । ट्रम्पले यसलाई तनाव घटाउने आवश्यक कदम बताएका  छन् । उनले यो “दुवै पक्षबाट हुने युद्धविराम” हुने बताएका  छन् , जसमा दुवै पक्ष पछाडि हट्ने अपेक्षा गरिएको छ । ट्रम्पले दाबी गरेका छन् कि अमेरिकी सैन्य लक्ष्यहरू पहिले नै हासिल भइसकेका छन् र तेहरानसँगको वार्ता निर्णायक मोडमा पुगिसकेको छ । उनका अनुसार, ईरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको छ, जसलाई वार्ताको लागि व्यावहारिक आधार मानिएको छ । धेरैजसो महत्वपूर्ण मुद्दाहरूमा पहिले नै सहमति भइसकेको छ र दुई हप्ताको अवधिले समझदारीलाई अन्तिम रूप दिन मद्दत गर्नेछ । पृष्ठभूमि र घटनाक्रम यो घोषणा ट्रम्पले सेट गरेकाे डेडलाइन सकिनुअघि केही मिनेट मात्र पहिले आएको हो । यसअघि ट्रम्पले ईरानको सम्पूर्ण सभ्यता नष्ट हुने धमकी दिएका थिए, जसलाई परमाणु हमलाको चेतावनीका रूपमा पनि हेरिएको थियो । अमेरिकाभित्रै पनि उनकाे व्यापक आलोचना भएको थियो । अहिले यो अचानक परिवर्तनले विश्वभर राहत सिर्जना गरेको छ । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि दुई हप्ताको युद्धविराम स्वीकार गरेको र पाकिस्तानको इस्लामाबादमा शुक्रबारदेखि वार्ता सुरु हुने जनाएको छ । ईरानका विदेशमन्त्रीले आगामी दुई हप्तामा ईरानी सेनासँगको समन्वयमा होर्मुज जलडमरुबाट जहाजहरूलाई सुरक्षित आवतजावत गर्न दिने बताएका छन् ।  आगामी चरण यो दुई हप्ताको युद्धविरामले दुवै पक्षलाई स्थायी समझदारीतर्फ अघि बढ्ने मौका दिनेछ । तर, यो युद्धको पूर्ण समाप्ति नभई अस्थायी व्यवस्था मात्र हो । पाकिस्तानमा हुने वार्ताले कति सफलता हासिल गर्छ र अमेरिका-ईरान कुन-कुन मुद्दामा सहमत हुन सक्छन् भन्ने कुरा हेर्न बाँकी छ । यो घटनाक्रम मध्यपूर्वको शान्तिका लागि सकारात्मक संकेत मानिएको छ, तर दीर्घकालीन समाधानका लागि थप कूटनीतिक प्रयास आवश्यक छ ।

महासंघका पूर्वअध्यक्ष आचार्यसहितको रिटमा सर्वोच्चद्वारा श्रमजीवी पत्रकारका लागि ऐतिहासिक फैसला

काठमाडौं  । श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण तथा सामाजिक सुरक्षाका लागि महत्वपूर्ण मानिएको मुद्दामा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ । नेपाल पत्रकार महासंघको तर्फबाट पूर्व अध्यक्ष गोविन्द आचार्य तथा कानूनी डेक्स प्रमुख अधिवक्ता भक्ति राम घिमिरे निवेदक रहेर दायर गरेको रिटमा चैत २३ गते सर्वोच्च अदालतले रिट जारी गर्ने गरी फैसला सुनाएको हो । श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ को दफा १७ बमोजिम प्रत्येक सञ्चार प्रतिष्ठानले लोककल्याणकारी विज्ञापन, विज्ञापन तथा नाफाको रकमबाट श्रमजीवी पत्रकार तथा कर्मचारीहरूको हकहितका लागि कल्याणकारी कोष खडा गर्नुपर्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न अदालतले निर्देशन दिएको छ । यो फैसलासँगै अब प्रत्येक सञ्चार प्रतिष्ठानले विज्ञापनबाट प्राप्त रकमको १० प्रतिशत र नाफाको ५ प्रतिशत रकम कल्याणकारी कोषमा जम्मा गर्नुपर्नेछ । उक्त कोष श्रमजीवी पत्रकार तथा कर्मचारीहरूको स्वास्थ्य, सुरक्षा, अवकाश, उपदानलगायत हितमा प्रयोग हुनेछ । उक्त रिट मुद्दामा नेपाल पत्रकार महासंघको तर्फबाट अधिवक्ता भक्ति राम घिमिरे, अधिवक्ता लोचन भट्टराई र अधिवक्ता अस्मिता चापागाईं ले बहस गर्नुभएको थियो । यो फैसलालाई पत्रकार महासंघले लामो समयदेखि माग गर्दै आएको श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन तर्फको ठूलो उपलब्धिका रूपमा हेरेको छ । धेरै सञ्चार गृहहरूले अहिलेसम्म दफा १७ अनुसार कोष खडा नगरेको गुनासो थियो, जसले पत्रकार तथा कर्मचारीहरूको आर्थिक तथा सामाजिक सुरक्षालाई प्रभावित पारिरहेको थियो । अब सञ्चार प्रतिष्ठानहरूलाई यो कोष खडा गर्न र नियमित योगदान गर्न बाध्यकारी हुने भएको छ । कोषको सञ्चालन तथा उपयोग सम्बन्धमा थप नियमावली वा निर्देशिका जारी हुन सक्ने अपेक्षा गरिएको छ । नेपाल पत्रकार महासंघले यो फैसलाको पूर्ण कार्यान्वयनका लागि निरन्तर निगरानी गर्ने जनाएको छ । यो निर्णयले मिडिया क्षेत्रमा व्यावसायिकता र श्रमिक अधिकारलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

धार्मिक पर्यटकीयस्थल मालिका जोड्ने तेस्रो सडक मार्ग खुल्यो

म्याग्दी । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल मालिका धुरी तीनतर्फबाट सडक सञ्जालमा जोडिएको छ । समुद्री सतहदेखि तीन हजार ४०० मिटर उचाइमा रहेको मालिका मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा अवस्थित छ ।  मङ्गला गाउँपालिका–२ हिदीदेखि मालिकाको फेदीमा रहेको जुगेदेउराली जोड्ने सडकको मार्ग खुलेपछि यातायातको साधन प्रयोग गरेर मालिका जाने भक्तजन र पर्यटकका लागि तेस्रो विकल्प बनेको हो । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि बिम बाइन्दफाँट हुँदै मालिका जोड्ने सडक विसं २०८० र रघुगङ्गा गाउँपालिकाको ठाडाखानी हुँदै मालिकाको फेदीसम्म विसं २०८१ मा सडक पुगेको थियो । मङ्गला गाउँपालिका र हिदीका बासिन्दाहरुको साझेदारीमा हिदीदेखि सुर्ती चढाउने डाँडा, गिद्रे देउराली, धौलेखर्क हुँदै मालिकाको फेदीमा रहेको जोगी देउराली जोड्ने चार किलोमिटर ५०० मिटर दूरीको सडकको मार्ग खुलेको निर्माण समितिका अध्यक्ष थमप्रसाद पुनले बताए । “गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ३० लाख बजेटबाट ठेक्कामार्फत हिदीदेखि सुर्ती चढाउने डाँडासम्म दुई किलोमिटर ५०० मिटर सडकको मार्ग खुलेको थियो”, उनले भने, “हिदीका बासिन्दा र स्वदेश तथा विदेशमा रहेकाहरुबाट चन्दा सहयोग जुटाएर सुर्ती चढाउने डाँडादेखि गिद्रे हुँदै जुगेदेउराली जोडिएको सडकको ग्रेड र घुम्ती मिलाउने काम भइरहेको छ ।” सडक सुधारको सबै काम सकिएपछि चन्दा सङ्कलन अभियान, आम्दानी र खर्च विवरण सार्वजनिक गरिने पुनले बताउनुभयो । हिदीबाट एक घण्टामै मालिका पुग्न सकिने उनले बताए । जोगी देउरालीसम्म गाडी चल्न थालेपछि बेनीदेखि हिदी हुँदै चार घण्टामा मालिका पुग्न सकिने भएको हो । पैदलयात्रा गरेर हिदीदेखि मालिका पुग्न चारदेखि पाँच घण्टा लाग्ने गरेको थियो । यातायातको सुविधा भएमा यात्राअवधी दुई घण्टामा छोटिने र यो सडक बेनीदेखि मालिका जोड्ने सबैभन्दा छोटो दूरीको हुने हिदीबासीको दाबी छ । मालिकाबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जन बढी हिमालहरुका साथै सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र वनजङ्गलको अवलोकन गन सकिन्छ । चण्डी, जेष्ठी र कार्तिक पूर्णिमामा विशेष दर्शन र पूजाआजा हुने यस मन्दिरमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । विसं १९१० देखि पूजाआजा हुन थालेको इतिहास रहेको मालिकामा कालिका, मालिका र जालपादेवीको मूर्ति रहेका छन् ।

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण मन्त्रालयलले हाललाई छ भाले र १२ पोथी गरी जम्मा १८ वटा कृष्णसार स्थानान्तरण गर्ने भएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रालयबाट गठित कार्यदलले पेस गरेको सम्भाव्यता र स्थलगत अध्ययन प्रतिवेदनको सिफारिस तथा विगतका सैद्धान्तिक निर्णय र स्वीकृत कार्ययोजनाका आधारमा सो निर्णय गरिएको जनाएको हो । मन्त्रालयले भनेको छ, “कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट चितवन जिल्लाको टिकौली क्षेत्रमा कृष्णसार स्थानान्तरण गर्ने निर्णय भएको छ । मन्त्रालयबाट यो निर्णय भएपश्चात् विभिन्न समाचार र प्रतिक्रियाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ । लोपोन्मुख कृष्णसार विसं २०३३ मा बर्दियाको खैरापुरमा नौ वटामा सीमित भएको थियो । तत्पश्चात् प्रभावकारी संरक्षणका कारण यसको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।” विश्वव्यापी अभ्यास र कार्यदलको सिफारिसका आधारमा कृष्णसार स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा कृष्णसारको सङ्ख्या वृद्धि गर्न विगतको दशकमा सदर चिडियाखाना र खैरापुरबाट समेत गरी ४२ वटा कृष्णसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा स्थानान्तरण गरिएको स्मरण गरिएको छ । त्यस कार्यबाट सङ्ख्या वृद्धि भई हाल खैरापुरमा समेत गरी नेपालको प्राकृतिक बासस्थानमा पाँच सयभन्दा बढी कृष्णसार पुगेको मन्त्रालयले जनाएको छ । “कुनै पनि वन्यजन्तुलाई निश्चित क्षेत्रमा मात्र सीमित गर्दा वंशाणुगत, वातावरणीय र अप्रत्याशित अवस्था सिर्जना भई एकैचोटी प्रजाति नै लोप हुनसक्ने जोखिम रहन्छ”, विज्ञप्तिमा भनिएको छ,“शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा छोटो अवधिमै कृष्णसारको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि हुनु सोही अभ्यासको परिणाम हो ।”

सप्तरीमा घुससहित विद्युत् प्राधिकरण कन्चनपुरका प्रमुख पक्राउ

सप्तरी । नेपाल विद्युत् प्राधिकरण कन्चनपुरका प्रमुख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  प्राधिकरण कन्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासलाई  एक लाख ४० हजार घुससहित पक्राउ गरेको हो। काम गरिदिएबापत सेवाग्राहीसँग  एक लाख ४० हजार घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको र अन्यको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इटहरी कार्यालयले जनाएको छ।

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ। बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल निर्माणका लागि ठेक्का आह्वान गरेको हो । प्रदेश सरकारअन्तर्गत कै १२ पुल निर्माणाधीन छन् । कूल निर्माण हुने पुलमध्ये १२ वटा पुल क्रमागत योजनाको रुपमा अघि बढाइएको र सात वटा नयाँ निर्माण गर्न बोलपत्र आह्वान गरिएको सो कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर वीरेन्द्रकुमार बज्राचार्यले जानकारी दिए। उनका अनुसार तेमाल गाउँपालिका–५ मा रोशीखोला गिम्दीबेशी पुल, रोशी गाउँपालिका वडा नम्बर ५ र ६ जोड्ने पोटाखोला पुल, धुलिखेल नगरपालिका–१ र २ जोड्ने चाम्रेखोला पुल निर्माणका लागि यही चैत दोस्रो साता बोलपत्र आह्वानमार्फत प्रक्रिया अघि बढाइएको छ। त्यसैगरी यसवर्ष पुल निर्माण सुरु गर्न नमोबुद्ध नगरपालिका–७ मा दाप्चाखोला पक्की पुल, नमोबुद्धकै दाप्चाखोला पक्की पुल, पनौती नपा–३ स्थित घ्याल्कुखोला मोटर पुल र भैँसेपाटी महेन्द्रज्योति पनौती जोड्ने ल्याखुनखोला पुलको बोलपत्र आह्वान गरिएको छ।

काठमाडौं र नवलपरासीमा दुईजना मृत फेला

काठमाडौं । काठमाडौं र नवलपरासी (पूर्व)मा दुईजना व्यक्ति मृत फेला परेका छन् ।  काठमाडौं महानगरपालिका–३२ कोटेश्वर खरिबोट डेरा गरी बस्ने हाल वतन नखुलेका अन्दाजी ६५ वर्षीय श्याम श्रेष्ठ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।  यस्तै, नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका–१७ झहरे खोला बस्ने ५५ वर्षीया तुलसी विक मृत फेला परेकी छिन् । उनी सोही नगरपालिका–१७ झहरेघाटस्थित नारायणी नदीमा सोमबार मृत फेला परेकी प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

झापाकाे पूर्वीनाकाबाट २४ बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका सबै पुरुष रहेका बताए । लामो तथा छोटो दुरीका यातायातका साधनमा चढाउन, होटेलमा बास बसाउन र अस्पतालहरूमा उपचारका लागि लगिदिन भन्दै जबर्जस्ती यात्रु तानातान गर्नेहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको खड्काले जानकारी दिए । बिचौलियाले दुःख दिएको भनेर यात्रुबाट गुनासो आएपछि सोमबार बिहानैदेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नाकाको बसपार्क, बजार र भन्सार आसपासमा निगरानीका लागि प्रहरी परिचालन गरेको थियो । 

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (चैत २४)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २२ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८६ रुपैयाँ ११ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ १९ पैसा, सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ५९ पैसा र बिक्रीदर २१ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७५ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर ४० रुपैयाँ ६२ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ पाँच पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५ रुपैयाँ ८४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९५ पैसा र बिक्रीदर २३ रुपैयाँ पाँच पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ चार पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८६ रुपैयाँ सात पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ७६ पैसा कायम गरेको छ । ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ५३ पैसा रहेको छ  । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आजकाे माैसम: केही भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार, आज (चैत २४) दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोसी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।  राति, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुूपश्चिम प्रदेशलगायत वाग्मती र कोसी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरू तथा वाग्मती र कोसी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

विद्यालयमा पाठ्यपुस्तक वितरणबारे अनुगमन सुरु

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तकको उपलब्धताबारे अनुगमन सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको यही चैत १९ गतेको निर्णय बमोजिम केन्द्रले अनुगमन सुरु गरेको हो । समितिले केन्द्रका पाठ्यक्रम तथा सामग्री शाखाका प्रमुख निमप्रकाश सिंह राठौरलगायत सम्बद्ध निकायका सम्पर्क व्यक्तिलाई आउने गुनासो र सूचना सङ्कलन गरी वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । प्रमुख राठौरले पाठ्यपुस्तक अभाव भएमा मानव स्रोत विकास केन्द्रलगायत पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका केन्द्रीय कार्यालयलगायत प्रादेशिक कार्यालयका जिम्मेवार व्यक्तिलाई सूचित गर्न आग्रह गरिएको जानकारी दिए । नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ गतेदेखि सुरु हुँदैछ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मुद्रण गरिएका पाठ्यपुस्तक यही चैत १६ गतेदेखि बिक्री वितरण सुरु गरेको छ ।

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा २३ वर्ष प्राध्यापन गरेका प्राडा ई भगवानदास मानन्धरले विकास गरेको काचाल्का (डिस्क्रेट इरिगेट सिस्टम) सिँचाइ प्रविधि अहिले चितवनको भरतपुर–१६, विजयनगरमा चर्चाको विषय बनेको छ। सन् १९९३ मा विद्यावारिधि गर्ने क्रममा रुसमा विकास भएको यो प्रविधिलाई मानन्धरले नेपालको माटो सुहाउँदो बनाएर आफ्नै ४ कट्ठा जग्गामा सुन कागती खेतीमार्फत प्रमाणित गरेर देखाएका छन्। सामान्यतया कुलोबाट वा ट्याङ्कीबाट सिधै पानी लगाउँदा धेरै खेर जाने र बिरुवालाई आवश्यकताभन्दा बढी वा कम पानी हुने समस्या हुन्छ। तर काचाल्का प्रविधिले बिरुवालाई चाहिने ठिक्क मात्रामा पानी वितरण गर्छ। ढिकिच्याउ जस्तै गरी दायाँ-बायाँ ढल्किने स-साना डब्बाहरू प्रयोग गरिने यो प्रणालीमा एउटा डब्बा भरिएपछि मात्र अर्कोमा पानी जान्छ, जसले गर्दा पानीको बर्बादी हुँदैन। झट्ट हेर्दा सामान्य सतह सिँचाइ जस्तो देखिए पनि यो प्रविधिको सिँचाइ दक्षता ९३ प्रतिशत र पानी वितरणको समानता ९५ प्रतिशतसम्म रहेको मानन्धरको दाबी छ। लामो समय क्याम्पसमा विद्यार्थीलाई यो प्रविधि पढाए पनि व्यवहारमा कसैले लागू नगरेपछि उनी आफैँले जागिर छाडेर किसानको भूमिकामा फर्किएका हुन्। इटलीको मान्तोभामा समेत सफल परीक्षण भइसकेको यो प्रविधि थोपा वा स्प्रिङकलर सिँचाइभन्दा सस्तो र टिकाउ छ।  किसानले आफैँ मर्मत गर्न सक्ने र माटोको बनावट अनुसार पानी नियन्त्रण गर्न मिल्ने भएकाले यसलाई व्यावसायिक कृषिको मेरुदण्ड मानिएको छ। अहिले मानन्धरले आफ्नै लगानी र श्रममा यो प्रविधिलाई किसानको घरदैलोसम्म पुर्‍याउने अभियान सुरु गरेका छन्, जसले सिँचाइमा हुने श्रम र खर्च दुवै घटाउने विश्वास गरिएको छ।

नयाँ शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय

काठमाडाैं । सरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। मन्त्रिपरिषद्का निर्णय सुनाउँदै पोखरेलले भने, ‘आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने।’ यसअघि नयाँ शैक्षिक सत्र वैशाख पहिलो साताबाट सुरु हुने गरेको थियो। बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने तथा शैक्षिक संस्थाबाहेकका कार्यालयको समय ९ देखि ५ बजेसम्म तोक्ने निर्णय पनि भएको छ।

नेकपा ६ महिनाभित्र महाधिवेशन गर्ने तयारीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र संगठन सुदृढीकरण र एकताको दिशामा महत्वपूर्ण पहल स्वरूप केन्द्रीय कार्यसंयोजन समितिको बैठक सोमबार पेरिसडाँडामा बस्दै छ । पार्टीलाई अझ एकीकृत, सशक्त र प्रभावकारी बनाउने लक्ष्यका साथ बैठकले ठोस रणनीति तय गर्ने अपेक्षा गरिएको छ । समितिका संयोजक पुष्पकमल दाहाल तथा सहसंयोजक माधवकुमार नेपाल को नेतृत्वमा बस्ने बैठकमा पछिल्लो निर्वाचनको बृहत् समीक्षा गर्दै आगामी कार्यदिशा निर्धारण गरिनेछ । साथै, पार्टी एकतालाई अन्तिम रूप दिने, संगठनात्मक समायोजनलाई तीव्रता दिने र तल्ला तहसम्म एकताको सन्देश प्रवाह गर्ने विषयमा गहन छलफल हुने जनाइएको छ । बैठकका एजेन्डामा वर्तमान राजनीतिक परिस्थिति विश्लेषण, निर्वाचन समीक्षा प्रतिवेदन, पार्टी पुनर्गठन, जनवर्गीय संगठनको सुदृढीकरण, सरकार र संसद्मा पार्टीको प्रभावकारी भूमिका, तात्कालिक कार्ययोजना तथा विविध विषयहरू समेटिएका छन् । यी विषयहरूले पार्टीलाई वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा मजबुत बनाउने विश्वास गरिएको छ । ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समितिमा वरिष्ठ तथा अनुभवी नेताहरूको सक्रिय सहभागिता रहनेछ । यसले अनुभव, ऊर्जा र समन्वयको सन्तुलनमार्फत पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने आधार तयार गर्ने अपेक्षा गरिएको छ । विशेषगरी, बैठकले आगामी ६ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने स्पष्ट रोडम्याप तय गर्ने तयारी गरेको छ । त्यसअघि पार्टीका तल्ला तह र जनवर्गीय संगठनहरूको एकता सम्पन्न गरी क्रमशः अधिवेशनहरू सञ्चालन गरिने योजना रहेको छ । पार्टी नेतृत्वले यस प्रक्रियालाई केवल संगठनात्मक एकता मात्र नभई वैचारिक स्पष्टता, जनआधार विस्तार र समृद्ध नेपालको लक्ष्यतर्फ अघि बढ्ने ऐतिहासिक अवसरका रूपमा लिएको छ । यसले नेपाली वाम आन्दोलनलाई नयाँ ऊर्जा, दिशा र स्थायित्व प्रदान गर्ने विश्वास नेताहरूले व्यक्त गरेका छन् ।

इन्धन उत्पादन कोटा बढाउन ओपेक प्लस सहमत

भियना । इन्धन उत्पादक सदस्य राष्ट्रहरूको संगठन ओपेक प्लस आइतबार पुनः तेल उत्पादन कोटा बढाउन सहमत भएको छ । इरानमा चलिरहेको युद्ध र इरानले मध्यपूर्वमा गरेका आक्रमणले त्यहाँका इन्धन प्लान्टमा क्षति पुगेको छ । जसले विश्व बजारको करिब पाँच भागको करिब एक भाग (२० प्रतिशत) इन्धन आपूर्ति हुने स्ट्रेट अफ होर्मुजबाट आवतजावतमा इरानले लगाएको प्रतिबन्धका कारण विश्व बजारमा ऊर्जाको मूल्य आकासिएको छ । प्रमुख तेल उत्पादक साउदी अरब र रुस र तेहरानको आक्रमणको मार खेपिरहेका खाडी मुलुकहरू सम्मिलित ओपेक प्लसले मेदेखि प्रतिदिन दुई लाख छ हजार ब्यारेलको उत्पादन समायोजन लागु गर्ने निर्णय गरेको छ । इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणपछि इरानले खाडी मुलुकका नागरिक पूर्वाधारमा आक्रमण गर्ने चेतावनी बारम्बार दिँदै आएको छ । अमेरिकाले स्ट्रेट अफ होर्मुजलाई सोमबारसम्ममा जहाजहरूको आवागमनका लागि खुला नगरे नयाँ चरणको थप आक्रामक कारबाही थाल्ने चेतावनी दिएको छ ।