आजकाे माैसम: चट्याङसहित वर्षाकाे सम्भावना
काठमाडौं । नेपालमा पश्चिमीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, आज (चैत १८) दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
कोसी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
राति, कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ । भोजपुर नगरपालिका–१२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो रहेको छ । उकालो–ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण गरिएको यो मार्गले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै यहाँको जनजीवनमा ठुलो परिवर्तन ल्याएको स्थानीय बताउँछन् । पहिले घण्टौँ पैदल हिँड्नुपर्ने ठाउँमा अहिले सवारीसाधन पुग्न थालेपछि स्थानीयवासीको दैनिकी सहज बनेको छ । यो सडक भोजपुरलाई दक्षिणी क्षेत्रसँग जोडेको छ । यस सडकको सबैभन्दा विशेषता भनेकै यसको नागबेली आकृति हो । माथिबाट हेर्दा लामो सर्पजस्तै घुमाउरो देखिने यो सडक दृश्यले फोटोग्राफी तथा भिडियो खिच्न रुचाउनेका लागि आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता तस्बिर तथा भिडियो व्यापक रूपमा साझा हुन थालेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको स्थानीयको भनाइ छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्र वरिपरि फैलिएको हरियाली वन, डाँडाकाँडा र तल बगिरहेको पिखुवा खोलाको मनोरम दृश्यले यात्रालाई अझ रमणीय बनाउने गर्दछ । बिहानको कुहिरो र साँझपखको सुनौलो घामले सडकलाई झन आकर्षक बनाउने भएकाले यहाँ पुग्ने पर्यटकले समय मिलाएर दृश्यावलोकन गर्ने गरेका छन् । स्थानीयका अनुसार यो सडकले कृषि उत्पादन बजारसम्म पुर्याउन सहजता ल्याएको छ । आलु, मकै, अदुवा, फलफूललगायत कृषि उपज ढुवानीमा सहज भएपछि किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । साथै, सडक सञ्चालनमा आएपछि यहाँको व्यापार–व्यवसाय पनि विस्तार हुन थालेको छ । सडक छेउमा विश्रामस्थल, दृश्यावलोकन स्थल (भ्यू प्वाइन्ट) निर्माण, सूचना बोर्ड जडान गरिएमा यात्रु तथा पर्यटकलाई सहजता हुने स्थानीयको भनाइ छ । आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचार गर्न सकिएमा भोजपुर–बेहेरे सडक केबल यातायात मार्गमा सीमित नरही प्राकृतिक सौन्दर्य अवलोकनका लागि देशकै एक आकर्षक गन्तव्यका रूपमा स्थापित हुनसक्ने स्थानीय जानकारहरूले बताउने गरेका छन् ।
आज महावीर जैनको २६२५औँ जन्म जयन्ती मनाइँदै
काठमाडौँ । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका महावीर जैनको २६२५औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उनको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर जैन तपस्यामा निस्कनुभएको विभिन्न जैन ग्रन्थमा उल्लेख गरिएको छ । करिब १२ वर्ष तपस्या गरेपछि उनले मानव समुदायलाई जैन दर्शन बाँडेका हुन् । नेपाल जैन परिषद्का अध्यक्ष सुशीलकुमार जैन शास्त्रीय मान्यताअनुसार २४ वटा तीर्थङ्कर जैन छन् । धर्मको बाटो देखाउने भएकाले तीर्थङ्कर नाम दिइएको हो । हिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने सन्देश महावीरले दिएका थिए । अरूलाई दुःख दिनु पनि हिंसा भएकाले अरूको उपकार गर्नु नै अहिंसा हुने महावीरको विचार छ । उनको उत्तर अध्याय सूत्र कृति चर्चित छ । जसको नेपाली अनुवाद मानव लिन केन्द्रका संस्थापक डा मणिभद्र मुनिजीले गरेका छन् । महावीरको जन्मजयन्तीका अवसरमा नेपाल जैन परिषद्लगायत विभिन्न सङ्घ संस्थाले कार्यक्रम आयोजना गरी यो दिवस मनाउने जनाइएका छन् ।
चैत १९ मा संसद अधिवेशन आह्वान
काठमाडौं । सरकारले चैत १९ मा संसद्को पहिलो अधिवेशन आह्वान गरेको छ । नवगठित सरकारले संघीय दुवै सदनको अधिवेशन आह्वान गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले चैत १९ दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्ररिपरिषद्ले लिएको बताए ।
कांग्रेसमा दुई समूहकाे समानान्तर गतिविधि पनि बढ्दो
काठमाडौं । आन्तरिक मतभेद र समानान्तर गतिविधिबीच नेपाली कांग्रेस १५औँ महाधिवेशनको तयारीमा औपचारिक रूपमा अघि बढेको छ। संस्थापन पक्षले स्पष्ट कार्यतालिका तय गर्दै तयारी तीव्र पारेको छ भने संस्थापनइतर समूह अझै पनि रणनीतिक मौनतामा देखिएको छ। कांग्रेसले २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। तर, उक्त निर्णयप्रति इतर पक्षले खुला समर्थन वा विरोध कुनै पनि स्पष्ट धारणा सार्वजनिक नगर्दा पार्टीभित्रको अन्योल अझ गहिरिँदै गएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले महाधिवेशन तयारीलाई तीव्र बनाइएको जानकारी दिँदै भने, “हामी महाधिवेशन सफल बनाउन केन्द्रित छौँ। पार्टीका सबै संयन्त्र त्यसैमा परिचालित भएका छन्।” नेतृत्व र वैधानिकताको विवाद महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वको वैधानिकतामाथि विवाद भने झन् जटिल बन्दै गएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिए पनि असन्तुष्ट समूह सर्वोच्च अदालत पुगेको छ। संस्थापनइतर पक्षका नेता श्याम घिमिरे भन्छन्, “अदालतले यो विवाद टुंग्याउनु अनिवार्य छ। कसको नेतृत्वमा महाधिवेशन गर्ने भन्ने नै मुख्य प्रश्न हो।” उनका अनुसार, सर्वोच्चको निर्णयपछि मात्र पार्टी स्पष्ट दिशामा अघि बढ्नेछ। “जसको पक्षमा फैसला आउँछ, महाधिवेशन त्यही नेतृत्वमा जान्छ,” उनले बताए। एकताको आवश्यकता, अन्तर्घातको आरोप निर्वाचनमा कमजोर नतिजापछि पार्टीभित्र एकताको आवश्यकता झन् टड्कारो रूपमा उठिरहेको छ। सह–महामन्त्री योगेन्द्र चौधरीले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै भने, “नेपाली कांग्रेस सबैको साझा घर हो। कसैलाई बाहिर राखेर पार्टी बलियो बन्न सक्दैन।” तर, उनले संस्थापनइतर पक्षप्रति असन्तुष्टि पनि प्रकट गरे। “आधिकारिकता स्वीकार गरेर चुनाव लडिसक्दा पनि भ्रम फैलाउने काम भइरहेको छ,” उनले भने, जसले अन्तर्घातको आशंका बलियो बनाएको संकेत गर्छ। सभापति दौड: आकांक्षी धेरै, समीकरण अनिश्चित महाधिवेशन नजिकिँदै जाँदा सभापतिका आकांक्षीहरूको सूची पनि लामो बन्दै गएको छ। संस्थापन पक्षभित्रै प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ भने इतर पक्षमा पनि नेताहरूबीच सहमति बन्न सकेको छैन। पूर्णबहादुर खड्का, शेखर कोइराला र कृष्णप्रसाद सिटौला जस्ता प्रभावशाली नेताहरू सभापति दौडमा देखिएका छन्। अन्ततः महाधिवेशन प्रतिनिधिहरूको मतले नै नेतृत्व तय गर्ने भए पनि, त्यसअघि शक्ति सन्तुलन कसरी मिल्छ भन्ने महत्वपूर्ण हुने देखिन्छ। समानान्तर गतिविधिले बढायो चुनौती पार्टीभित्रको विभाजन व्यवहारमै पनि देखिन थालेको छ। पछिल्लो समय दुवै पक्षले अलग–अलग कार्यक्रम, विज्ञप्ति र गतिविधि सञ्चालन गर्दै आएका छन्। पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारी प्रकरणमा समेत दुवै पक्षले छुट्टाछुट्टै धारणा सार्वजनिक गरेका थिए। त्यस्तै, चैत १४ गते संस्थापन पक्षले आयोजना गरेको संसदीय सचेतना कार्यक्रममा नवनिर्वाचित सांसदलाई स्वागत गरिएको थियो भने इतर पक्षले चैत १६ गते समान प्रकृतिको कार्यक्रम आयोजना गर्यो। महाधिवेशनअघि नै शक्ति परीक्षण समग्रमा, नेपाली कांग्रेस १५औँ महाधिवेशनको तयारीमा जुट्दा पार्टीभित्रको शक्ति सन्तुलन, वैधानिकताको विवाद र नेतृत्वको प्रतिस्पर्धा एकसाथ सतहमा आएका छन्। महाधिवेशन केवल संगठनात्मक प्रक्रिया मात्र नभई नेतृत्व र विचारको निर्णायक संघर्ष बन्ने संकेत देखिएको छ। अदालतको फैसला, आन्तरिक सहमति र शक्ति समीकरण—यी तीनै तत्वले अबको कांग्रेसको दिशा तय गर्नेछन्। महाधिवेशनअघि नै पार्टीभित्रको शक्ति परीक्षण झन् तीव्र हुने निश्चित देखिन्छ।
चितवनमा बर्ड फ्लु १८ हजार लेयर्स कुखुरा नष्ट
चितवन । भरतपुर महानगरपालिका-४ स्थित एक व्यावसायिक लेयर्स फार्म र लोकल कुखुरा फार्मका कुखुरामा बर्डफ्लु पुष्टि भएको छ। बर्डफ्लु संक्रमण पुष्टि भएपछि १९ हजार लेयर्स नष्ट गरिएको पशु सेवा कार्यालय प्रमुख प्रभात न्यौपानेले जानकारी दिए । यस्तै ९०० लोकल कुखुरा पनि नष्ट गरिएको उनले बताए । चितवनमा २०७८ पछि हाल बर्डफ्लु देखिएको हो । ''चितवनमा २०७८ पछि यस वर्ष मात्रै बर्डफ्लु देखिएको छ । घरमा पालिएका पन्छीको नियमित परीक्षण गराउन हामी आग्रह गर्छौँ,'' उनले भने । २०७८ सालमा जिल्लामा करिब आठ लाख कुखुरा नष्ट गरिएको थियो । जिल्लाका अन्य स्थानमा बर्डफ्लु पुष्ट नभए पनि जोखिम भने कायमै रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख विजयकुमार श्रेष्ठले बताए ।
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
दाङ । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङबाट चुनावी प्रतिस्पर्धामा रहेका ६० उमेदवारमध्ये १० जनाले अझै चुनावी खर्चको विवरण बुझाएका छैनन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार, खर्च विवरण नबुझाउनेमा निर्वाचन क्षेत्र नं १ बाट उमेदवार बनेका आम जनता पार्टीका सीताराम यादव छन् । त्यस्तै, निर्वाचन क्षेत्र नं २ बाट उमेदवार बनेका जनता समाजवादी पार्टीका ढुण्डीराज थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतीक अधिकारी, नागरिक उन्मुक्ति पार्टी नेपालका झरेन्द्रबहादुर खत्री, आमजनता पार्टीका कृष्णबहादुर सुनार र स्वतन्त्र उमेदवार पदमप्रसाद पाण्डे रहेका छन् । त्यसैगरी, दाङ निर्वाचन क्षेत्र नं ३ बाट जनता समाजवादी पार्टी नेपालका शोभा डाँगी, मितेरी पार्टी नेपालका सन्तोष सिंह, नागरिक उन्मुक्ति पार्टीका महेश चौधरी र स्वतन्त्र उमेदवार भागीराम चौधरी रहेका कुँवरले जानकारी दिए । सूचना अधिकारी कुँवरका अनुसार, निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार उमेदवारले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर कुनकाे कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (चैत १७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९० रुपैयाँ २३ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०४ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०९ रुपैयाँ २२ पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८८ पैसा तोकिएको छ । NMB Bank जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाई भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा तोकिएको छ । त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २९ पैसा र बिक्रीदर २३ रुपैयाँ ३८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
आजकाे माैसम: केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना, अन्यमा मौसम सफा हुने
काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, मंगलबार (चैत्र १७) दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । राति, कोशी प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसीलगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सहज रूपमा श्रम स्वीकृति दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ । पूर्व प्रस्थान अभिमुखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य दृश्य सामाग्री निर्माण गरी डिजिटल माध्यममा उपलब्ध हुने व्यवस्था गरिने भएको छ । अभिमुखीकरण तालिम पनि पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित बनाइने जनाइएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गर्न अभियान सञ्चालन गर्ने, श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ । श्रमाधान योजनालाई आन्तरिकीकरण गर्दै श्रमाधान कल सेन्टरलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउने तथा औद्योगिक प्रतिष्ठानहरुमा जोखिम मूल्याङ्कन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धन गर्ने, उत्पादन र उद्यमशीलता प्रवर्द्धन गरी आन्तरिक रोजगारी सिर्जना गर्ने र थप पाँच मुलुकसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषद्को यही चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची माथि छलफल भएको मन्त्रालयले उल्लेख जनाएको छ । छलफलमा श्रम तथा रोजगारको क्षेत्रलाई व्यवस्थित, मर्यादित एवम् सुरक्षित बनाउन तथा श्रमिकको हकहितको संरक्षण गर्न सरकारबाट स्वीकृत कार्यसूचीमा रहेका सम्बन्धित विषयमा तत्काल कार्ययोजना तयार गरी कार्यान्वयन गर्न मन्त्री साहले मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए । वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, न्यूनतम् ज्यालाको सुनिश्चितता, कार्यस्थल सुरक्षा, कार्य वातावरण र स्वास्थ्य सुरक्षाको अवस्था अध्ययन गरी वैदेशिक रोजगारीको न्यूनतम् मापदण्ड तयार गर्ने, रोजगारी सिर्जनाका लागि सहयोग पुग्ने गरी सीप विकास तालिम प्रदान गरी रोजगारमा आबद्ध गर्ने विषयमा समेत छलफल भएको थियो । त्यसैगरी सबै प्रदेशमा निजी क्षेत्रसँगको सहकार्यमा सीप मेला सञ्चालनको तयारी गर्ने, आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने, सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउने, वैदेशिक रोजगारीका नाममा हुने गरेका ठगी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने योजना मन्त्रालयले अगाडि सारेको छ ।
आज मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सङ्केत देखिएको छ । यस्तै, मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईका क्षेत्रमा भने आंशिक बदली रहने र पहाडी भेगमा बादल लाग्ने क्रम जारी रहनेछ ।
पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड
गण्डकी । पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास गर्न सकिनेमा आइतबार पोखरामा आयोजित कार्यक्रममा जोड दिइएको छ । नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा होटल सङ्घ पोखरा नेपालले आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताहरूले तीन क्षेत्रलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ को अवधारणाअन्तर्गत पर्यटन प्रवर्द्धन गर्न सकिने बताएका थिए । पर्यटन बोर्डका प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा, लुम्बिनी र चितवनलाई सिल्भर ट्रयाङ्गलको रूपमा अगाडि बढाउन सकिने धारणा राखे । पोखरालाई पर्यटनको मुख्य केन्द्रका रूपमा विकास गरी लुम्बिनी र चितवनलाई समेटेर पर्यटन तथा व्यावसायिक आदानप्रदान र प्रवर्द्धनका गतिविधि सञ्चालन गर्न सकिने उनले बताए । कार्यक्रममा होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, सङ्घका पोखरा अध्यक्ष लक्ष्मण सुवेदी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारी, सङ्घका कोषाध्यक्ष नेत्रप्रसाद पौडेललगायतले पोखरा, लुम्बिनी र चितवनको पर्यटकीय साझेदारीमा जोड दिए ।
पश्चिम एसियामा युद्ध विस्तार भएसँगै इन्धनको मूल्यमा उच्च वृद्धि
काठमाडौँ । पश्चिम एसियामा विकसित भइरहेको तनावपूर्ण अवस्थाले विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पार्न थालेको छ। हुथी विद्रोही द्वारा इजरायल माथि पहिलो पटक प्रत्यक्ष आक्रमण गरिएपछि क्षेत्रीय द्वन्द्व थप चर्किएको छ। यस घटनाले लामो समयदेखि जारी रहेको इरान–इजरायलबीचको टकरावलाई खुला युद्धतर्फ धकेल्ने संकेत देखिएको विश्लेषकहरू बताउँछन्। सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र उछाल देखिएको छ। ब्रेन्ट क्रुड को मूल्य प्रति ब्यारेल २.८१ प्रतिशतले बढेर ११५.७३ अमेरिकी डलर पुगेको छ भने वेस्ट टेक्सस इन्टरमिडिएट (WTI) को मूल्य पनि ३.१४ प्रतिशतले वृद्धि भई १०२.७७ डलर कायम भएको छ। ऊर्जा बजार विश्लेषकहरूका अनुसार यो वृद्धि केवल तत्कालीन तनावको प्रतिक्रिया मात्र नभई आगामी आपूर्ति अस्थिरताको संकेत पनि हो। सुरक्षा दृष्टिले संवेदनशील मानिने क्षेत्रमा युद्ध फैलिँदै जाँदा तेल आपूर्ति श्रृंखलामा अवरोध आउन सक्ने जोखिम बढेको छ। विशेषगरी खाडी क्षेत्र विश्वकै प्रमुख तेल आपूर्ति केन्द्र भएकाले यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष असर पार्ने देखिन्छ। यदि द्वन्द्व अझै चर्किँदै गएमा मूल्य अझै बढ्ने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका छन्। यसैबीच, इजरायली रक्षा बल ले इरानको राजधानी तेहरान का विभिन्न स्थानमा शक्तिशाली विस्फोट गराएको जनाएको छ। ती आक्रमणहरू मुख्यतया रणनीतिक र पूर्वाधार लक्षित रहेको बताइएको छ। इरानको ऊर्जा मन्त्रालय का अनुसार विद्युत् पूर्वाधारमा क्षति पुगेपछि तेहरान र अल्बोर्ज प्रान्त का केही भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। यद्यपि, प्राविधिक टोलीको सक्रियतापछि अधिकांश क्षेत्रमा पुनः सेवा सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। उता इजरायलतर्फ पनि क्षति पुगेको छ। इजरायलको औद्योगिक क्षेत्र नियोत होभभ मा मिसाइलको छर्राले भीषण आगलागी भएको छ, जसले केही उद्योगहरूमा उत्पादन अवरुद्ध भएको बताइएको छ। आपतकालीन सेवाहरूले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् भने क्षतिको विवरण संकलन भइरहेको छ। युद्धको प्रत्यक्ष असर नागरिक जीवनमा पनि देखिन थालेको छ। सञ्चारकर्मीहरू जोखिममा परेका छन् भने शैक्षिक गतिविधि समेत प्रभावित भएका छन्। लेबनान मा इजरायली हवाई आक्रमणमा ज्यान गुमाएका तीन पत्रकारको अन्त्येष्टिमा सयौँ मानिसको सहभागिता देखिएको छ, जसले जनआक्रोशलाई झनै बढाएको छ। त्यस्तै, अमेरिकी विश्वविद्यालय लेबनान ले सुरक्षा कारण देखाउँदै भौतिक कक्षा स्थगित गरी अनलाइन माध्यमबाट पठनपाठन सुरु गरेको जनाएको छ। खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरू पनि जोखिममा परेका छन्। कुवेत र साउदी अरब मा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा आक्रमणका कारण आंशिक क्षति पुगेको खबर सार्वजनिक भएको छ। यद्यपि, अमेरिका ले यसबारे औपचारिक रूपमा विस्तृत प्रतिक्रिया दिएको छैन। यसबीच कूटनीतिक प्रयासहरू पनि जारी छन्। पाकिस्तान का विदेशमन्त्रीले इरान र अमेरिकाबीच संवादको ढोका अझै बन्द नभएको बताएका छन्। उनका अनुसार क्षेत्रीय शान्ति कायम गर्नका लागि वार्ता नै एकमात्र विकल्प हो र अन्तर्राष्ट्रिय समुदायले त्यसतर्फ ध्यान दिनु आवश्यक छ। विश्लेषकहरूका अनुसार यदि द्वन्द्व अझै व्यापक बन्दै गएमा यसले केवल पश्चिम एसिया मात्र नभई विश्व अर्थतन्त्रमा गम्भीर असर पार्नेछ। इन्धनको मूल्यवृद्धिले विकासोन्मुख देशहरूमा मुद्रास्फीति बढ्ने, यातायात र उत्पादन लागत महँगिने तथा सर्वसाधारणको जीवनयापनमा थप दबाब पर्ने निश्चित छ। त्यसैले विश्व समुदायले तत्काल हस्तक्षेप गरी युद्ध नियन्त्रणतर्फ कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ।
मधेस प्रदेशका एसईई केन्द्रभित्र मोबाइल निषेध, फेला परे जफत
जनकपुर । मधेस प्रदेश सरकारले एसईई परीक्षार्थीलाई परीक्षा केन्द्रमा मोबाइल लान निषेध गरेको छ । शिक्षामन्त्री रानी शर्माले परीक्षार्थीले निर्देशन अवज्ञा गर्दै मोबाइल लगेमा जफत गर्ने बताएकी छिन् । ''यदि कुनै परीक्षार्थीले मोबाइल साथमा ल्याएको पाइएमा सो मोबाइल जफत गरी नष्ट हुनेछ,'' उनको भनाइ छ । विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा कुनै पनि लापरबाही नगर्न उनले आग्रह गरेकी छिन् । परीक्षालाई मर्यादित बनाउने उनले सरोकारवाला पक्षलाई निर्देशन दिइन् । मन्त्री तिवारीले परीक्षा केन्द्रहरूको सुरक्षा व्यवस्थापन, प्रश्नपत्रको गोपनीयता र अनुगमनलाई प्रभावकारी बनाउने विषयमा अभिभावको समेत सहयोग माग गरिन् । प्रदेशभरका सबै जिल्लामा सम्बन्धित निकायबीच समन्वय गरी परीक्षा निष्पक्ष, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउन आवश्यक तयारी तीव्र पारिएको सो मन्त्रालयका उपसचिव उज्ज्वल पोखरेलले बताए ।
कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य
सुर्खेत । कर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको सभामुख नन्दा गुरूङले बताइन् । यस अधिवेशनमा १० बैठक बसेका थिए । माघ १८ बाट सुरु भएको अधिवेशन चैत १५ सम्म चलेको थियो । यस अवधिमा १३ घण्टा ४२ मिनेट बैठक बसेको छ । उक्त अधिवेशनमा दुई विधेयक पारित भएको छ भने एक विधेयक टेबुल गरिएको छ । मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक चैत १०मा पेस गरेका थिए । उक्त विधेयक चैत १५ मा सर्वसम्मत पारित गरिएको हो । प्रदेशसभाले कर्णाली प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक पनि बहुमतले पारित गरेको छ । चैत १० को बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक पारित गरेको थियो । यस अधिवेशनमा सामाजिक विकासमन्त्री भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ संशोधन विधेयक प्रस्तुत गरेका थिए । चैत १५ को बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ । यस अधिवेशनको चैत ६ को बैठकले सांसद हिक्मत बहादुर विष्टले पेस गरेको संकल्प प्रस्तावलाई सर्वसम्मतरुपमा स्वीकार गरेको थियो । उनले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट पहाडी तथा दुर्गम जिल्लामा नियमित हवाई सञ्चालन गर्ने सम्बन्धमा संकल्प प्रस्ताव पेस गरेका थिए ।
आज एक अमेरिकन डलरकाे खरिद दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (चैत १६)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९६ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९३ पैसा तोकिएको छ । NMB Bank जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ २२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २३ रुपैयाँ ४१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ २७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २१ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

