कर्णालीमा सवारी दुर्घटनाको ग्राफ उकालोमा: सात वर्षमा ८४२ को ज्यान गयो

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो सात वर्षमा सवारी दुर्घटनाको संख्या निरन्तर बढ्दो क्रममा देखिएको छ। यस अवधिमा भएका पाँच हजार ४६५ सवारी दुर्घटनामा परी ८४२ जनाले ज्यान गुमाएका छन्।

कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार भौगोलिक विकटता, साँघुरा तथा जोखिमपूर्ण सडक र चालकको लापरबाही दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन्।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा २६५ सवारी दुर्घटना भएका थिए। त्यसपछि दुर्घटनाको संख्या क्रमशः बढ्दै गएको छ-०७७/७८ मा ३८३, ०७८/७९ मा ४९९, ०७९/८० मा ६८४, ०८०/८१ मा १,४४६ र ०८१/८२ मा १,२३८ दुर्घटना भएका छन्। चालु आर्थिक वर्ष ०८२/८३ को माघसम्म मात्रै ९५० दुर्घटना भइसकेका छन्, जसले दुर्घटनाको जोखिम झनै बढिरहेको संकेत गर्छ।

मानवीय क्षतिको हिसाबले पनि अवस्था चिन्ताजनक छ। आर्थिक वर्ष ०७६/७७ मा ९७ जनाको मृत्यु भएकोमा ०७७/७८ मा ९८, ०७८/७९ मा १८०, ०७९/८० मा १३१, ०८०/८१ मा ११२, ०८१/८२ मा १३९ र चालु आवको माघसम्म ८५ जनाको ज्यान गएको छ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालले सवारी दुर्घटना न्यूनीकरण सामूहिक जिम्मेवारी भएको बताए। “दुर्घटनाको सम्पूर्ण दोष ट्राफिक प्रहरीलाई मात्र दिने प्रवृत्ति गलत हो,” उनले भने, “सडक प्रयोगकर्ता, चालक र यातायात व्यवसायी सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे मात्र दुर्घटना नियन्त्रण सम्भव हुन्छ।”

उनले यातायात व्यवसायीलाई सुरक्षित सवारी सञ्चालनमा ध्यान दिन र यात्रु सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरे। साथै, ट्राफिक व्यवस्थापनमा विगतका कमजोरी सुधार गर्दै आगामी दिनमा प्रभावकारी कार्ययोजना लागू गर्ने तयारी रहेको पनि उनले जानकारी दिए।

आज कस्ताे रहला देशभरकाे माैसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार, बुधबार (चैत ११) दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा  मौसम मुख्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । राति, सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।  कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

झापामा आमामाथि कुटपिट गर्ने छोरा पक्राउ

झापा । झापामा पारिवारिक हिंसासम्बन्धी दुई छुट्टाछुट्टै घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भद्रपुर नगरपालिका–८ क्याम्पस मोडमा आफ्नै वृद्ध आमामाथि निर्घात कुटपिट गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३७ वर्षीय यशिस घिमिरे रहेका छन्। उनले आफ्नी ७९ वर्षीया आमा चन्द्रमाया घिमिरेमाथि सोमबार दिउँसो कुटपिट गरेका थिए। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय झापाले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। कुटपिटबाट घाइते भएकी वृद्ध आमाको उद्धार गरी उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। यसैबीच, बिर्तामोड नगरपालिका–५ मा ६ वर्षीय बालकलाई कुटपिट गरी घाइते बनाएको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा २५ वर्षीया सुमित्रा लामगादे रहेकी छन्। प्रहरीका अनुसार उनले गत शनिबार आफ्नै छोरा रुक्सन लामगादेलाई निर्घात कुटपिट गरेकी थिइन्। बालकको शरीरका विभिन्न भागमा निलडाम तथा चोटपटक देखिएपछि सुनगाभा बोर्डिङ स्कुलले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई जानकारी गराएको थियो। प्रहरी टोलीले आरोपित आमालाई नियन्त्रणमा लिएको छ। घाइते बालकलाई हजुरबुबाको साथमा उपचारका लागि आशा मेडिकल पठाइएको छ। पक्राउ परेकी महिलालाई क्षितिज सुधार केन्द्रमा राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

मकवानपुरमा १ सय ७१ किलो गाँजासहित एकजना पक्राउ

 मकवानपुर । इलाका प्रहरी कार्यालय मनहरीले १ सय ७१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।  मनहरी गाउँपालिका-९ खरङगास्थित हरियाली सामुदायिक जंगलको भित्री बाटोमा २० वर्षीय अक्कल स्याङ्तानलाई उक्त परिमाणको गाँजा सहित प्रहरीले  पक्राउ गरेको हो । भाबरबाट मनहरीतर्फ आउँदै गरेको बा १३ च २०१४ नम्बरको गाडी जाँच गर्दा २७ वटा प्याकेटमा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका अक्लल नै उक्त साधन चलाइरहेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली । कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । खेतमा गहुँ, मसुरोलगायत अन्नबाली पाकेर भित्र्याउने समय भएकाले मौसम बदलीले नष्ट हुने भन्दै किसान चिन्तित बनेका हुन् । कैलालीको कैलारी गाउँपालिका-७ का महावीर चौधरीले दुई बिघा खेतमा गहुँ र एक बिघा खेतमा मसुरोको खेती गरेका छन् । उनको खेतमा गहुँ पाकेर भित्र्याउने बेलामा भएको छ भने मसुरो केही पाकेको र केही फूल फुल्ने अवस्थामा छ । हिजोआज मौसम छिनछिनमा फेरबदल भइरहेकाले कतै पानी परेर भित्र्याउने बेला भएको अन्नबालीमा नोक्सान हुन्छ की भन्ने मनमा एक किसिमको चिन्ता हुने गरेको बताए । “केही दिनअघि मात्रै पानीसँगै आएको हावाहुरीले गहुँ र मसुरोमा केही क्षति पुर्याएको थियो”, उनले भने, “हिजोआज पनि त्यस्तै भइरहेको छ, मौसम एकनाश नभएकाले मनमा चिन्ता छ ।” कहिले घाम लाग्ने त कहिले बादल लागेर पानी पर्ने अवस्थाले खेतमा पाकेको गहुँबालीमा असर पर्ने डर बढेको यहाँका स्थानीय किसान नन्दराम साउँदले बताए । मौसम एकनाशको छैन कतिबेला पानी, हावाहुरी आउँछ कुनै ठेगान नभएकाले पाकेको बालीमा नोक्सान पुर्‍याउने भन्ने डर किसानमा मनमा छ । पछिल्ला केही दिनयता कैलालीमा मौसममा आएको आकस्मिक फेरबदलले यहाँका किसान चिन्तित बनेका छन् । गहुँ भित्र्याउने समयमा मौसम अस्थिर बनेपछि यहाँका किसानलाई बाली जोगाउन सकस परेको छ । बेमौसमी वर्षा र हावाहुरीले गहुँबाली ढल्ने, भाँचिने तथा खेतमै बिग्रिने हो कि भन्ने किसानका मनमा डर देखिएको हो ।

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

काठमाडौँ । इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । सोमबार काठमाडौँमा पत्रकार भेटघाटमा महोत्सव आयोजक समितिका संयोजक सनम राईले ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको बताए। करिब ४० किलोमिटर लामो उक्त पदमार्गले माईपोखरीदेखि जौबारीसम्मका विभिन्न पर्यटकीयस्थललाई जोड्छ । यस मार्गमा रेडपाण्डासहित विभिन्न प्रजातिका चरा, वन्यजन्तु, जैविक विविधताको अध्ययन–अवलोकन गर्न सकिन्छ । सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा महोत्सव आयोजना हुनेछ । आयोजकका अनुसार रेडपाण्डा पदयात्राको अनुभव, जङ्गल सफारी, चराहरूको दृश्यावलोकन महोत्सवका मुख्य आकर्षण रहनेछन् । यस्तै, यहाँका १८ प्रजातिको गुराँसको अध्ययनका साथै आदिवासी जनजातिको संस्कृतिसमेत नियाल्न पाइनेछ । विश्वको अग्लो सगरमाथासहित ६० भन्दा बढी हिमशृङ्खला, सयौँ प्रजातिका चराको अवलोकन गर्न सकिने संयोजक राईले बताए । महोत्सवमा आन्तरिक र बाह्य १० हजार पर्यटक सन्दकपुर भित्र्याउने आयोजकको लक्ष्य छ । महोत्सव आयोजक सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले यस महोत्सवले पालिकाका प्रमुख गन्तव्यहरूको समेत प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यसअघि २०८० चैत २७ देखि वैशाख १ गतेसम्म पहिलो र २०८१ चैत २० देखि २३ गतेसम्म दोस्रो रेडपाण्डा महोत्सव आयोजना गरिएको थियो । रेडपाण्डाको माध्यमबाट पूर्वी नेपालको वनजङ्गल पर्यटनलाई चलायमान बनाउने उद्देश्य रहेको जनाइएको छ । झापाको चारआलीबाट ७५ किलोमिटरको दूरीमा इलाम बजार र त्यहाँबाट १८ किलोमिटर यात्रा गरेपछि सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्र पुग्न सकिन्छ । त्यहाँको पर्यटन सूचना केन्द्रको सहयोगमा यहाँका पर्यटकीय गन्तव्यको यात्रा गर्न सकिन्छ ।

नयाँ सांसदले स्वकीय सचिव नपाउने

काठमाडौं । नवनिर्वाचित सांसदहरूले सपथ ग्रहण गरी संसद् प्रवेशको तयारी गरिरहेका बेला उनीहरूले ‘स्वकीय सचिव’ सुविधा भने पाउने छैनन्। मन्त्रिपरिषद्को पूर्वनिर्णय यथावत् रहेसम्म उक्त सुविधा लागू नहुने भएको हो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले मितव्ययिता अपनाउँदै सांसदहरूको स्वकीय सचिव सुविधा खारेज गरेको थियो। अब उक्त निर्णय सच्याउने वा कायम राख्ने जिम्मा नयाँ सरकारको हुनेछ। प्रतिनिधिसभामा बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा सरकार बन्ने तयारी भइरहेका बेला यस विषयमा पुनर्विचारको बहस सुरु भएको छ। रास्वपाका नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने तयारीमा छन्। संसद् सचिवालयका अनुसार सभामुख र राष्ट्रियसभाका अध्यक्षबाहेक अन्य सांसदहरूलाई हाल स्वकीय सचिव सुविधा उपलब्ध छैन। प्रवक्ता एकराम गिरी का अनुसार सरकारको निर्णयअनुसार सुविधा कटौती कार्यान्वयन भइसकेको छ। यसबीच, केही सांसदहरूले ‘स्वकीय सचिव’को सट्टा ‘रिसर्चर’ वा ‘सहयोगी’ राख्ने प्रस्ताव अघि सारेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गुरु बराल ले नीति निर्माणमा सहयोगी आवश्यक हुने बताए भने राष्ट्रिय प्रजातन्त्र पार्टी का नेता ज्ञानेन्द्र शाही ले सबै तहका सुविधा कटौती गर्नुपर्ने धारणा राखेका छन्।

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ ।  गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा उद्योगमा क्षति पुगेको छ । इँटा व्यवसायी समितिका जिल्ला अध्यक्ष रोम वलीका अनुसार बेमौसमी वर्षाले सुकाएर राखेका काँचो इँटामा क्षति पुर्याएको हो । सुकाउनका लागि राखेका इँटा पानीले भिजाएर माटोमा परिणत भएपछि व्यवसायी मारमा परेका छन् । अध्यक्ष वलीले जिल्लाको तुलसीपुर, घोराही र देउखुरी क्षेत्रमा रहेका प्रायः सबै इँटा उद्योगले ठूलो क्षति पुगेको बताए । हाल जिल्लाभरको क्षति विवरण सङ्कलन भइरहेको छ । प्रारम्भिक तत्थाङ्कअनुसार तुलसीपुर र घोराही क्षेत्रका २२ वटा उद्योगबाट मात्रै एक करोड रुपैयाँ बराबरको काँचो इँटा नष्ट भएको समितिका कोषाध्यक्ष केवल खत्रीले जानकारी दिए । देउखुरी क्षेत्रका आठवटा इँटा उद्योगमा पनि क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । हरेक इँटा उद्योगका पाँचदेखि छ लाखसम्म कच्ची इँटा नष्ट भएको जनाइएको छ । काँचो इँटा सुकाउने सुरक्षित व्यवस्था र प्रविधि नहुँदा आफूहरूका करोडौँ रुपैयाँ लगानी गरी सञ्चालन गरेका इँटा उद्योगको लगानी डुब्ने खतरा रहेको व्यवसायी बताउँछन् । हालसम्म प्राप्त विवरणअनुसार जिल्लाभर साढे सात करोड रुपैयाँभन्दा बढी क्षति भएको इँटा व्यवसायी समितिका कोषाध्यक्ष खत्रीले बताए । ती उद्योगमा तीन हजार मजदुर कार्यरत छन् ।

मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती सेवा समाजद्वारा सोमबार यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तर्क्रियामा स्वास्थ्य कार्यालयका अधिकृत मुलकचन्द राजवंशीले एक वर्षमा क्षयरोगबाट ३५ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । उनका अनुसार आव २०८०/८१ मा क्षयरोगबाट ३० जनाको मृत्यु भएको थियो भने चालु आवको हालसम्म ३५ जनाको मृत्यु भएको हो । जिल्लामा चालु आवको हालसम्म ९०९ क्षयरोगका सङ्क्रमित देखिएकामा गत आवमा एक हजार २२२ सङ्क्रमित फेला परेका थिए । मोरङका सुन्दरहरैँचा, पथरीशनिश्चरे, उर्लाबारी क्षेत्रमा क्षयरोगका सङ्क्रमित बढी फेला परेका छन् । सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निवारण गर्ने सरकारको लक्ष्य छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ नेपालमा मङ्गलबार विश्व क्षयरोग दिवस मनाइँदै छ । यस उपलक्ष्यमा मङ्गलबार मोरङको बूढीगङ्गास्थित विराट मेडिकल कलेजबाट क्षयरोग सम्बन्धमा जनचेतना जागृत गराउन प्रभातफेरीले टङ्कीसिनवारी नगरक्षेत्र परिक्रमा गरी कोणसभा गरिने कार्यक्रम तालिका रहेको सोही अवसरमा जानकारी गराइएको छ ।

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको सोमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका–२, निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भएको जानकारी दिए । उनका अनुसार, अभिभावक र आफन्तसँग पाथीभरा दर्शनमा आएका बालक फर्कने क्रममा बाटोमै अचानक बिरामी परेकामा तत्काल जिल्ला अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार, बालक निमोनियाबाट पीडित रहेको बुझिएको छ । 

आजकाे माैसम: कुन कुन भू-भागमा छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, मंगलबार (चैत १०) दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । "कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा साथै कोसी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ," विभागले भनेकाे छ ।   राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ  तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

हर्मुज संकट र तेल राजनीति : कसको भण्डार कति बलियो ?

काठमाडौं । स्ट्रेट अफ हर्मुज मा बढ्दो तनावले विश्व ऊर्जा बजारलाई गम्भीर रूपमा प्रभावित बनाएको छ । इरान ले उक्त समुद्री मार्गमा अवरोध सिर्जना गरेपछि तेल र ग्यास आपूर्ति अवरुद्ध हुँदै गएको छ, जसको प्रभाव विश्वभर देखिन थालेको छ । विश्वको करिब २० प्रतिशत पेट्रोलियम ढुवानी यही मार्गबाट हुने भएकाले यसको अवरोधले अन्तर्राष्ट्रिय बजारमा तीव्र उतारचढाव ल्याएको हो । हालै कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ, जुन युद्धअघि करिब ६५ डलरको हाराहारीमा थियो । संयुक्त राज्य अमेरिका ले स्ट्रेट अफ हर्मुज खुला राख्न कूटनीतिक पहल गरिरहेको छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ले अवरोध नहटे इरानका ऊर्जा केन्द्रमाथि ४८ घण्टाभित्र आक्रमण हुन सक्ने चेतावनी दिएका थिए । यसको जवाफमा इरानले आक्रमण भएमा इजरायल तथा गल्फ क्षेत्रका ऊर्जा संरचनामा प्रतिआक्रमण गर्ने चेतावनी दिएको छ । त्यसपछि साउदी अरब, इराक र कुवेत ले उत्पादन कटौती गर्दा आपूर्ति झन् प्रभावित बनेको छ । रणनीतिक भण्डार : संकटको ‘सेफ्टी भल्भ’ ऊर्जा आपूर्तिमा दबाब बढेपछि अन्तर्राष्ट्रिय ऊर्जा संस्था (आईईए) ले मार्च ११ मा रणनीतिक भण्डारबाट ४०० मिलियन ब्यारेल कच्चा तेल बजारमा पठाउने निर्णय गरेको छ । यो इतिहासमै सबैभन्दा ठूलो परिमाणको आपूर्ति हो । यसअघि सन् २०२२ मा आईईएका ३२ सदस्य राष्ट्रहरूले १८२ मिलियन ब्यारेल तेल बजारमा पठाएका थिए । रणनीतिक तेल भण्डार भनेको युद्ध, आपूर्ति अवरोध वा आर्थिक संकटका बेला प्रयोग गर्न सरकारले सुरक्षित रूपमा राखेको कच्चा तेल हो । आईईएका अनुसार विश्वभर यस्ता भण्डारमा करिब १.२ अर्ब ब्यारेल तेल रहेको छ, जसमा करिब आधा निजी क्षेत्रको स्वामित्वमा छ । आईईएको सदस्य नभए पनि चीन ले पनि ठूलो मात्रामा आफ्नै रणनीतिक भण्डार निर्माण गरेको छ । कसको भण्डार कति बलियो ?   संयुक्त राज्य अमेरिका करिब ४१५ मिलियन ब्यारेल कच्चा तेल भण्डारण क्षमता रहेको अमेरिकाले दैनिक ४.४ मिलियन ब्यारेलसम्म बजारमा पठाउन सक्छ । सन् १९७५ मा स्थापना गरिएको यसको भण्डार विश्वकै प्रभावशाली मानिन्छ । जापान करिब ४७० मिलियन ब्यारेल भण्डार रहेको जापानले संकटमा २५४ दिनसम्म स्वदेशी माग धान्न सक्छ । बेलायत करिब ३८ मिलियन ब्यारेल भण्डार रहेको बेलायतसँग करिब ९० दिनसम्मको माग धान्ने क्षमता छ । जर्मनी करिब ११० मिलियन ब्यारेल भण्डार रहेको जर्मनी युरोपको प्रमुख ऊर्जा भण्डारण राष्ट्रमध्ये एक हो । फ्रान्स करिब १२० मिलियन ब्यारेल भण्डार रहेको फ्रान्सले पनि ऊर्जा सुरक्षामा मजबुत आधार बनाएको छ । स्पेन करिब १५० मिलियन ब्यारेल भण्डार रहेको स्पेनले आपूर्ति संकटका बेला महत्वपूर्ण भूमिका खेल्न सक्छ । इटाली उल्लेख्य रणनीतिक भण्डार रहेको इटाली पनि युरोपेली ऊर्जा सुरक्षाको हिस्सा हो । हर्मुज क्षेत्रमा बढ्दो तनावले विश्व ऊर्जा सुरक्षालाई चुनौती दिएको छ । यस्तो अवस्थामा रणनीतिक तेल भण्डार नै विभिन्न देशका लागि संकट टार्ने मुख्य माध्यम बनेको छ । आगामी दिनमा तनाव झन् चर्किएमा यी भण्डारले कति समयसम्म विश्व बजारलाई धान्न सक्छन् भन्ने प्रश्न अहिले सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ ।

मनी लाउन्डरिङ बारे सूचना दिन गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले सन्दिग्ध वित्तीय लगानी तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी गतिविधि न्यूनीकरणका लागि सर्वसाधारण तथा सरोकारवालासँग सहयोगको अपिल गरेको छ। मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् द्वारा सूचीकृत व्यक्ति, समूह वा संगठनसँग सम्बन्धित हुन सक्ने वित्तीय गतिविधिबारे कुनै सूचना वा युक्तिसंगत आधार प्राप्त भएमा गोप्य रूपमा जानकारी उपलब्ध गराउन आग्रह गरिएको छ। त्यस्तै, कुनै व्यक्ति, संस्था वा निकायले आफ्नो कार्यसम्पादनको क्रममा अनाधिकृत वा शंकास्पद आर्थिक क्रियाकलाप गरेको देखिएमा त्यसबारे सूचना दिन पनि मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयका अनुसार यस्ता सूचनाहरू नजिकको जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रशासन कार्यालय वा प्रदेश समन्वय शाखामा उपलब्ध गराउन सकिनेछ। यो आग्रह सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ बमोजिम गरिएको मन्त्रालयले जनाएको छ।

आज अमेरिकी डलरसहित कुनकाे मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (चैत १०)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर, यूके पाउन्ड स्ट्रलिङ र स्वीस फ्रयांकको भाउ आज उकालो लागेको छ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा, स्वीस फ्रयांक एकको खरिददर १९० रुपैयाँ २५ पैसा र बिक्रीदर १९१ रुपैयाँ १ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९७  पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६ पैसा र बिक्रीदर ४१ रुपैयाँ २२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१ रुपैयाँ २ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २२ पैसा र बिक्रीदर २३ रुपैयाँ ३२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ७ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

विरामी परेर भारतको हिमाचलमा अलपत्र एक रोल्पाली बालकको उद्धार

खुमबहादुर सुनार भारतको हिमाचल प्रदेशस्थित अस्पतालमा उपचार नपाई जीवन–मरणको दोसाँधमा पुगेका रोल्पाका एक बालकलाई प्रवासमा रहेका नेपालीहरूको सक्रियता र सहयोगमा उद्धार गरी सकुशल स्वदेश फर्काइएको छ। रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका–७ हार्जङ निवासी १४ वर्षीय दुजमान परियार केही समयदेखि गम्भीर बिरामी भई भारतमा अलपत्र परेका थिए। आर्थिक अभावका कारण उपचार र स्वदेश फिर्ता दुवै चुनौतीपूर्ण बनेको अवस्थामा प्रवासी नेपाली समाज उनका लागि सहारा बनेको हो। चेन्नई नेपाली समाज (भारत), तमिलनाडु तथा पाण्डेचरी संयुक्त राज्य समितिका अध्यक्ष तथा सुनिल स्मृति गाउँपालिका–४ रोल्पा निवासी चन्द्र महराका अनुसार बालकको अवस्था बारे जानकारी प्राप्त हुनासाथ प्रवासी नेपालीहरू उद्धार अभियानमा जुटेका थिए। “विदेशी भूमिमा आफ्नो भन्ने कोही नभएको अवस्थामा एक बालक उपचार नपाएर छटपटाइरहेको खबरले हामीलाई निकै दुखी बनायो। त्यसपछि तत्कालै सहयोग अभियान सुरु गर्‍यौं,” महराले भने। उद्धार अभियान अन्तर्गत आर्थिक, भौतिक तथा नैतिक सहयोग जुटाउन सामाजिक सञ्जालमार्फत व्यापक अपिल गरिएको थियो। अभियानमा भारतस्थित नेपाली समाजसेवी हितु आशा पुनमगर र गणेश बुढा (करेन्ट) ले विशेष भूमिका निर्वाह गरेका थिए। उनीहरूले व्यक्तिगत समय र स्रोत खर्चेर सहयोग संकलनको नेतृत्व गरेका थिए। संकलित रकम पारदर्शी रूपमा व्यवस्थापन गरिएको जनाइएको छ। प्राप्त विवरणअनुसार— गणेश बुढाको खातामा संकलित रकम: रु २९ हजार ३९२, हितु आशा पुनमगरको खातामा संकलित रकम: रु २५ हजार ५०५, बालकका बुवालाई नगद हस्तान्तरण: रु ३० हजार गरी कुल रु ८४,८९७ संकलन भई उपचार तथा नेपाल फर्काउने खर्चमा प्रयोग गरिएको थियो। अध्यक्ष महराका अनुसार आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सुरक्षित रूपमा नेपाल फर्काइएको छ र उनी अहिले आफ्नै घरमा परिवारसँग छन्। वर्षौंदेखि भारतमा रोजगारी गर्दै आएका महराले व्यक्तिगत व्यस्तताका बाबजुद नेपालीहरूको दुःखमा साथ दिँदै आएको बताए। “विदेशमा कुनै पनि नेपाली नागरिक उपचार नपाएर अलपत्र पर्नु नपरोस् भन्ने नै हाम्रो उद्देश्य हो,” उनले भने। उनले सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गर्दै भने, “हामीसँग धेरै धन नभए पनि ठूलो मन छ। सानो–सानो सहयोगले ठूलो जीवन बचाउन सकिन्छ।” उद्धारमा संलग्न समाजसेवीहरूले यो अभियान नेपालीहरूबीचको एकता, सहकार्य र मानवीयताको उत्कृष्ट उदाहरण भएको बताएका छन्। उनीहरूका अनुसार सामूहिक प्रयासले ठूलो संकट टार्न सकिन्छ भन्ने यो घटनाले प्रमाणित गरेको छ। हाल दुजमान परियार पूर्ण रूपमा सुरक्षित घर फर्किसकेका छन्। उनको परिवारले सहयोगी सबैलाई भगवान् सरह सम्झँदै कृतज्ञता व्यक्त गरेको छ।

पश्चिम एसियाको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा

चितवन  । पश्चिम एसियाको बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा देखिएको छ । हवाई यात्रा महँगो र असुरक्षित भएपछि नेपाल घुम्न आउन लागेका धेरै पर्यटकले यात्रा रद्द गरेका छन् । भारत, चीन र अष्ट्रेलिया बाहेकका देशबाट यहाँको सौराहा क्षेत्रमा घुम्न आउने पर्यटकले यात्रा रद्द गरेको व्यवसायीहरू बताउँछन् । विगतका वर्षमा यतिबेला सौराहाका होटलहरू ८० प्रतिशत हाराहारी भरिने गरेको व्यवसायी बताउँछन् । उनीहरूको भनाइमा यस वर्ष यतिबेला २० प्रतिशत हाराहारी मात्र पर्यटक आएका छन् । निर्वाचनका कारण १५ दिन प्रभावित बनेको सौराहाको पर्यटन क्षेत्रमा त्यसलगत्तै मध्यपूर्वको द्वन्द्वको प्रभाव परेको हो । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताए । विगतका वर्षहरूमा यतिबेला होटलका ८० प्रतिशत कोठा भरिने गरेको भन्दै उनले यस वर्ष २० प्रतिशत हाराहारी मात्र कोठा भरेको जानकारी दिए । उनले भने, “द्वन्द्व भएका मुलुक बाहेकका देशहरूबाट पनि पर्यटकहरूले बुकिङ रद्द गरेका छन् ।” यो बेलामा चितवन राष्ट्रिय निकुञ्जमा ढड्डीहरू फाँडेर टाढासम्म देखिने भएकाले सजिलै वन्यजन्तु हेर्न सकिन्छ । “ठूला एजेन्सीहरूले अधिकांश बुकिङ रद्द गरेका छन्”, उनले भने, “आकाश असुरक्षित भएपछि को घुम्न आउँछ र ?” सङ्घका उपाध्यक्ष गुणराज थपलियाले नेपालीहरूसमेत अहिले घुम्न आउन छाडेको उल्लेख गर्दै द्वन्द्वको प्रभावका कारण भएको महँगी र ती देशमा भएका आफ्ना इस्टमित्रको चिन्ताले नेपालीलाई घुम्ने र रमाउने उत्साह नभएको बताए । जहाज भाडा अत्यधिक बढ्दा पनि अन्य मुलुकबाट समेत पर्यटक नआएको उनले जानकारी दिए । पर्यटन व्यवसायी सुमन घिमिरेले आफ्नो होटलमा बुकिङ भएका ५० प्रतिशत रद्द भएको बताउँदै अक्टोबर र नोभेम्बर तिरको स्थगित नभएको तर तत्काल द्वन्द्व रोकिएमा क्रमशः सुधार हुने उल्लेख गरे । द्वन्द्वका कारण मुख्य रुपमा युरोपियन, बेलायती, अमेरिकन, जर्मनलगायत देशका पर्यटकले यात्रा स्थगन गरेको उल्लेख गर्दै उनले मुख्य मौसमका रुपमा लिइने यो समयमा द्वन्द्व र निर्वाचनका कारण प्रभावित बनेपछि यो वर्ष समग्रमा पर्यटन व्यवसाय प्रभावित हुन पुगेको बताए । उनले भने, “अब एक महिना बाँकी छ । यो मौसम राम्रो हुने देखिएन ।” जहाँ जे हुँदा पनि पर्यटन क्षेत्र प्रत्यक्ष रुपमा प्रभावित हुने गरेको भन्दै उनले चिन्ता व्यक्त गरे । वनवास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेले मध्यपूर्व तनावका कारण पर्यटकहरूले बुकिङ रद्द गरेको बताए । यो मौसममा युरोपियनसहित विभिन्न देशबाट ठूलो सङ्ख्यामा पर्यटक आउने गरेको उल्लेख गर्दै उनले यस वर्ष द्वन्द्वका कारण प्रभावित बनेको बताए । मध्यपूर्वका देशहरूमा ट्रान्जिट लिएर आउने जहाजहरू रोकिएपछि पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित बनेको न्यौपानेको भनाइ छ । उनले भने, “युद्धले नेपालको हस्पिटालिटी क्षेत्रमा नराम्रो असर पर्यो ।” पर्यटन व्यवसायी सन्तोष गिरीले मुख्य मौसममा द्वन्द्व भएपछि प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको छ भन्दै नेपाल आउने पर्यटकहरूले प्रयोग गर्ने एयरलाइन्स र ट्रान्जिटका विमानस्थलहरू बन्द हुँदा टिकट काटेका पर्यटकले बुकिङ रद्द गरेको बताए । उनले भने, “द्वन्द्वको मारमा परेपछि घुम्न र रमाउन को आउने ।” सौराहामा १४८ वटा होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । यस क्षेत्रमा प्रत्यक्ष रुपमा ६ हजार ४०० ले रोजगारी पाएका छन् । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायीक वनमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीलगायतका दुर्लभ वन, वन्यजन्तु र चराचुरुङ्गी हेर्न यहाँ स्वदेशी र विदेशी पर्यटकहरू आउने गर्दछन् । यसका अतिरिक्त सौराहामा थारू संस्कृति पनि पर्यटकका लागि रुचिकर बन्दछन् । यसका साथै नेपालका विभिन्न सङ्घसंस्थाले पनि सौराहामा कार्यक्रम गर्न आउँदछन् भने भारतीयहरू विवाहका लागि पनि सौराहा आउने गर्दछन् । द्वन्द्वले सबैतिर प्रभाव पार्दा अन्य क्षेत्रसँगै यहाँको पर्यटन क्षेत्र पनि प्रभावित बनेको हो ।