यस्तो रहनेछ आजको मौसम

काठमाडौं । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । मधेस, वाग्मती, गण्डकी र कोसी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । 

मधेस, कर्णाली  र  सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । 

बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ ।

आज दुवै सदनको बैठक बस्दै

काठमाडौं  । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।  स‌सद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक सवा ३ बजेका लागि बोलाइएको छ।  सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन। 

डेंगी संक्रमितको संख्या १५ सय नाघ्यो

काठमाडौं ।देशभर डेंगी संक्रमितको संख्या एक हजार ५०० नाघेको छ। सन् २०२४ जनवरीयता जुलाई ११ सम्म एक हजार ५४४ जना संक्रमित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ। तीमध्ये जुलाईका ११ दिनमा १३२ संक्रमित थपिएका हुन्। यो वर्ष (सन् २०२४) मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ। जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५३८ जनामा संक्रमण देखिएको छ। जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १८३ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ। यस्तै, झापामा १२३, चितवनमा ९०, मकवानपुरमा ७०, तनहुँमा ५३, ओखलढुंगामा ५३ र डोटीमा ५० जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ। मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ।

सुरक्षा प्रमुखहरूसहित गृह सचिव चितवन प्रस्थान

काठमाडौँ । तीनवटै सुरक्षा प्रमुखहरूसहित गृह सचिव एकनारायण अर्याल चितवनतर्फ प्रस्थान गरेका छन्। चितवनको सिमलतालमा भएको दुई वटा बस र तिनमा सवार यात्रुहरूको खोजी कार्य जारी रहँदा गृह सचिव सुरक्षा प्रमुखसहित अवलोकनका लागि त्यसतर्फ लागेका हुन्। दुर्घटना स्थलमा भइरहेको खोजी कार्यको निरीक्षण गर्न गृह सचिव अर्यालसहित नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुत्तराज थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल तथा गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव डा. भीष्मकुमार भूसाल र नेपाली सेनाका अधिकारीसहित त्यतातर्फ लागेको हो । शुक्रबार बिहान वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । ५० जना बढी भन्दा बढी यात्रु रहेको अनुमान गरिएको सो बसमा सवार तीन जना पौडिएर बाच्न सफल भएका थिए । हराएका मध्ये ५ जनाको शव भेटिएको छ भने अन्यको खोजी कार्य जारी छ । गत शुक्रबारदेखि हराइरहेका बस र ती बसमा सवार यात्रुहरूको खोजीका लागि ५०० भन्दा बढी सुरक्षाकर्मी र २८ जना गोताखोर परिचालन गरिएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सुरक्षाकर्मीप्रति धन्यवाद व्यक्त, निवास र गाडी हस्तान्तरण

काठमाडौं। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गृह तथा परराष्ट्र मन्त्रालयमा हुँदा आफ्नो सुरक्षामा खटेका सुरक्षाकर्मीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । शुक्रबार संसदमा सरकारमाथिको विश्वासको प्रस्ताव पारित नभएपछि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई साँझ पुल्चोकस्थित मन्त्री निवासमा संक्षिप्त भेट र सम्बोधन गर्दै आ आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले शनिबार नै मन्त्री निवास छोडिसकेका छन् भने गाडी समेत बुझाए । 'काम कर्तव्यको आधारमा हामी फरक फरक जिम्मेवारीमा रहेता पनि, हाम्रो सम्बन्ध मानवतामा र समानतामा आधारित हुन्छ।' सम्बोधनका क्रममा उनले भने-'हामी सबै दाजुभाई, साथीभाई र परिवार हौं।'

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौँ। राष्ट्रिय सभाको बैठक स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचनाबाट दिइएको हो । आइतबार अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ। अर्को बैठक सोमबार बिहान ११ः३० बजे बस्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

सिमलताल पहिरोः गोलाघाटमा भेटियो चौथो व्यक्तिको शव

चितवन । पश्चिम चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटमा एक पुरुषको शव भेटिएको छ । नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०÷३५ वर्षको पुरुषको शव फेला परेको हो । शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइ वटा बसहरु त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरु मध्ये कुनै एक जना यात्रुको शव हुन सक्ने आशंका गरिएको छ । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिदैछ । शनिवार गोलाघाटमा १ र गैंडाकोटको थुम्सी नजिकै २ जनाको शव भेटिएको थियो । भेटिएका तीन वटै शवको सनाखत भइसकेको छ । उनीहरु मध्ये २ जना गणपति डिलक्सका र एक जना एन्जल डिलक्सका यात्रु रहेका प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री नियुक्त हुँदै ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार (आज)प्रधानमन्त्रीमा नियुक्त हुँदै छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन्। ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्न ५ बजेका लागि समय छुट्याएका छन् ।संविधानको धारा ७६ (२) बमोजिम नियुक्त गर्न नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन दिएका थिए। प्रधानमन्त्री नियुक्त भएपछि ओलीले शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए। पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गर्नेछन्। ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेस गरेका थिए। ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतलनिवास पुगेर दाबी पेस गरेका थिए। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए।

कोसी, वाग्मती र गण्डकी प्रदेशका यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी प्रदेशमा आंशिकदेखि मुख्यतया सफा रही एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी  र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी, मधेस, वाग्गमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रुको भएको पुष्टि

चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ स्थित नारायणी नदी किनारमा फेलापरेको शव सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए । “नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ,” प्रहरी नायब उपरीक्षक रिजालले भने । शव परीक्षणका निम्ति भरतपुर अस्पतालको शवगृहमा राखिएको उनले बताए । ऋषिपलले नेपालमा बसेर काम गर्दै आएका उनका दाइ सत्यपाल साहले बताए । सत्यपालले शनिबार बिहान फेलापरेको शव भाइ ऋषिपलको भएको पुष्टि गरे । भारतको मोतिहारी, राजमुनुवा घर भएका २८ वर्षीय ऋषिपल काठमाडौंको जोरपाटीबाट रौतहटको गौर जान गणपति डिलक्स चढेका थिए । काठमाडौंबाट आउँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो । वाग्मती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हामफालेर ज्यान जोगाउन सफल भएका छन् । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी दुई यात्रुवाहक बस त्रिशूलीमा खसेका थिए । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट वाग्मती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रुको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । एन्जल वीरगन्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौंबाट गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए । दुवै बसमा गरी करिब ६५ यात्रु रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए । बेपत्ता बस तथा यात्रुको शनिबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ । रासस

‘जनसंख्या वृद्धि नगरे १ शताब्दीमा देशको अस्तित्व नरहन सक्छ’

काठमाडौं । नेपाली शासक र राजनीतिक दलहरु सत्ताको दाउपेचमा अल्झिदै गर्दा देशका जनसंख्या घट्दै गएको र यसबाट देशको भविष्यमा गम्भिर संकट बढ्ने विज्ञहरुले आँकलन गरेका छन् ।  शनिबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा वक्ताहरुले स्रोत, साधन र साध्यको मुख्य आधार जनसंख्यामा आईरहेको कमिले नेपालको अस्तित्व धरापमा पर्ने चिन्ता व्यक्त गरेका हुन् । दर्शन चिन्तक प्रा.डा. गोपिलाल न्यौपानेले जनसंख्या वृद्धि गर्ने दिशातिर नगए अबको १ शताब्दी पछि नेपालको अस्तित्व नरहने खतरा रहेको बताए । न्यौपानेले अहिले पनि पञ्चायतकालिन जनसंख्या नीतिले निरन्तरता पाउनुले देशको भविष्य भयाबहउन्मुख रहेको दाबी गरे । न्यौपानेले डेढ–डेढ अरब जनसंख्या भएको उत्तरी बिशाल चिन र दक्षिणतिरको भारतको बीचमा नेपालको जनसंख्यामा त्यति नै मात्रामा अन्तर हुनु र त्यसलाई सन्तुलन गर्नेतिर तत्काल सोच्नु पर्ने धारणा राखे । देश राजनीतिक अस्थिरताको भूमरीमा फस्नु, राजनीतिक दलहरु सत्ता दाउपेचमा रुमलिनुको परिणाम सदियौंदेखि गरिबी र पछौटेपनामा गज्रनु परेका भन्दै उनले भने, “कुनै कुराको अध्ययन–अनुसन्धान नगरी सबै सधैं हावाको भरमा हरेक कुरा चलाउनुको परिणाम हामी ‘सुनको थालमा भिख मागिरहेका छौं’ ।” देशको जनसंख्या बढ्नुपर्ने अनुपातमा नबढेर हरेक दशकमा घटिरहेकोप्रति चिन्ता व्यक्त गर्दै, त्यसको मुख्य समस्या जनसंख्या नियन्त्रण नीति भएको उनले बताए । काठमाडौं जस्तो राजधानी सहरमा पनि विश्वमा सबैभन्दा कम जनघनत्व (३९५ प्रति वर्ग किलोमिटर) हुनु दुर्भाग्य भएको न्यौपानेको तर्क छ । उनले भने, “कहिले सडकपेटी सफा गर्ने बहाना, कहिले सुकुम्बासी त कहिले पार्किङको कारण देखाउँदै मान्छे लखेटिएको छ, अनि कसरी बन्छ देश ।”  “भक्तपुरमा ३,६३१, सिंगापुरमा ८,४३०, ढाकामा १० हजार प्रति वर्ग किलोमिटर जनघनत्व हुँदा काठमाडौंको ३ सय ९५ मात्रै छ, अनि कसरी जनसंख्या ज्यादा भयो ?” न्यौपानेले प्रश्न गरे । जनसंख्याविद नवराज थापाले देशको जनसंख्या घटि र बढीसँग भन्दा पनि त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा मुख्य सरोकारको विषय भएको बताए । नेपालमा वर्तमान जनसंख्याको तथ्याङ्क अनुसार जन्मदर र मृत्यूदर घट्न गएको र निर्भर भन्दा काम गर्ने(उत्पादनशील) उमेरका जनसंख्याको हिस्सा बढी भएपनि देशको राजनीतिक अस्थिरताको कारण त्यसको समुचित उपयोग नहुनु दर्भाग्य भएको थापाले बताए । थापाले अघिल्लो जनगणनाको तुलनामा पछिल्ला दशकमा जनसंख्या वृद्धिदर घट्दै गएको र वृद्ध–बृद्धाहरुको संख्यामा वृद्धि हुने र उत्पादनशील जनशक्ति विदेश पलायन हुनुले देशको भविष्य संकटउन्मुख रहेकोप्रति चिन्ता व्यक्त गरे । विश्वमा हाल ८ अरब भन्दा बढी जनसंख्याको बसोबास भइरहँदा, विकसित देशहरुमा १६ प्रतिशत र कम विकसित देशहरुमा ८४ प्रतिशत रहेको छ । त्यसैगरी एसियामा विश्व जनसंख्याको करिब ५९ प्रतिशत जनसंख्या रहेको छ । ती मध्ये भारत र चीनमा सर्बाधिक जनसंख्याको बसोबास छ ।  नेपालमा २ करोड ९२ लाख रहँदा भारत र चीनसँग नेपालको डेढ अरबको अन्तर हुँदा नेपालले सन्तुलित जनसंख्या नीति अबलम्बन गर्नु पर्ने थापा सुझाउँछन् । नेपालले बेलैमा जनसंख्यालाई समान वितरण र ठूला मुलुकहरुसँग त्यसको सन्तुलन कायम नगरे नेपाली नश्लको भविष्यमा खडेरी पर्नुका साथै विदेशीको हातमा देश जानेप्रति सोच्नुपर्नेमा थापाको जोड छ ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार २९ गते शनिबार सन् २०२४ जुलाई १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार निरन्तर बढेर  शनिबार बेलायती पाउण्डको बिक्री दरले १७३ रुपैयाँ पार गरेको छ। अमेरिकी डलर र कतारी रियल घट्दा युरो भने बढेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ८९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ८८ पैसा र बिक्री दर १७३ रुपैयाँ ६६ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यी स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मुलुकका विभिन्न स्थानमा वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध छ । आज सूर्योदय बिहान ५ बजेर १७ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।

प्रधानमन्त्रीको पक्षमा ६३ मत, विपक्षमा १९४ मत

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वास मागेका थिए । बैठकमा उनले लिएको विश्वासको मतको  पक्षमा ६३ मत, विपक्षमा १९४ मत परेको हो। 

यस्तो छ वीरगन्जबाट काठमाडौं आउँदै गरेको बसमा सवार बेपत्ता यात्रुको विवरण

काठमाडौं । प्रहरीले वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेशको ०३–००६ ख १५१६ नम्बरको बसमा सवार यात्रुको विवरण सार्वजनिक गरेको छ ।  चितवन प्रहरीका अनुसार राति भरतपुर महानगरपालिका–२९ नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा आएको पहिरोमा परेर बेपत्ता बसमा सवार २४ जनाको विवरण सार्वजनिक गरेको हो । बस चालक जवाहिर महतो, बसका सञ्चालक राजेन्द्र केसी, यात्रुहरू वीरगन्ज महानगर–१४ का प्रकाश, अरवीन्द्र दुवे, हरिचन्द्र पण्डित, मुसहर्वा बाराका प्रमानन्द जी, सालिम मिया, रैजुल आलम, रामनगरी पर्साका कुलदिप, हृदयनारायण राउत छन् । चौधरी थरका सहचालकको नाम खुलेको छैन ।  भारतीय नागरिक अंसारी जी, सान्तोष ठाकुर, सुरेन्द्र साह, आदित मिया, सुनिल र सहनवाज आलम छन् ।  सातजनाको भने विवरण खुल्न बाँकी छ । 

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

भरतपुर । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए। उनका अनुसार इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुइतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सिमलतालमा दुइतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए। सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजीकार्य जारी छ। अहिले बस र यात्रुको खोजीका लागि धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्।