रारा विमानस्थलमा उडानको नयाँ कार्यतालिका सार्वजनिक

मुगु । रारा विमानस्थलमा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ।

नेपालगञ्जबाट हप्तामा चार पटक, आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान हुने व्यवस्था मिलाइएको हो । साथै, बिहीबारै नै सुर्खेतबाट पनि रारा विमानस्थलमा उडान हुने नेपाल एयरलाइन्सका रारा विमानस्थल स्टेशन इन्चार्ज नवीनकुमार बिष्टले जानकारी दिए।

नियमित उडान सुरु भएसँगै विशेषगरी बिरामी बोकेर बाहिर लैजानुपर्ने बाध्यता झेलिरहेका स्थानीयलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

खाडी जान लागेका कामदारका पीडा: भन्छन् सबैले भन्छन्- नआउ, नजाऊ जागिर खोसिने डर

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आएका लिवेक महतलाई साथीहरूले तुरुन्तै कतारा नआउनु सझुाव दिन्छन् । राम्रो आम्दानी भएको जागिर गुम्ने डरले बुटवलका २७ वर्षे महतले वैदेशीक रोजगार नगइ सुख छैन । युद्धको प्रवाह नगरी उहाँ दुई पटक रद्द भएको कतार यात्रा फेरि सुरु गर्दै छन् । उनी भन्छन्, “साथीले नआइज भन्छन्, नजाऊ जागिर खोसिने डर छ ।” उनी घर आएको एक हप्तामा अमेरिका–इजराइल र इरान बिचको युद्ध सुरु भएको थियो । सुरुमा डर लागे पनि परिवार चलाउने आधार गुमाउन नचाहेको उनले सुनाए । होटलमा सेफको जागीर गरेर उनले मासिक दुई लाख आम्दानी गर्छन् । जुन रकम उनले घर चोखो पठाउँछन् । गाउँमा बस्दा जति सुकै मिहिनत गरे पनि खाएर सकिने र बचत नहुने हुँदा विदेशै आयस्रोतको गतिलो गन्तव्य रहेको उनले सुनाए । यही मार्च २५ तारिखमा कतार प्रस्थान गर्न लागेका उनले भने, “जे त होला भनेर जाँदै छु, यहाँ बसेर के गर्नु आम्दानी छैन ।” युद्धको प्रभावलाई बेवास्ता गर्दै रोजागरमा जाने युवाहरूको बाध्यता छन् भने विदेशमा भएका कहिले घर फर्किने भन्ने प्रतिक्षामा छन् । कतारको एक कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत सुरवीर लामाले घर फर्किने मन बनाएको थुप्रै भयो । फर्किने अवस्था नरहेको उनकी श्रीमती रुमा लामाले बताइन् । छोराछोरीसहित काठमाडौँमा बसेकी काभ्रेपलाञ्चोककी रुमाले श्रीमानलाई फर्किनु भने पनि घरको स्थितिले गर्दा फर्किन नमानेको बताइन् । उनी भन्छिन्, “घर आएर छोराछोरी र तिमीलाई कसले पाल्छ ? बाध्यताले त्यही बस्नुभएको छ ।” रुमाका अनुसार दुई छोराछोरीको पढाइ खर्च र घर बनाउने सपनाले उनलाई खाडीमा जोखिम मोलेरै भए पनि मजदुरी गर्दै गरेको सुनाइन् । साउदी अरबमा १२ वर्षदेखि मजदुरी गर्दै आएका विशाल गैरेले सरकारले केही दिनदेखि रोकेको श्रम स्वीकृति खुलेकामा खुसी भए । श्रम स्वीकृत रोकिँदा काम गर्न जान नपाइने हो कि भन्ने चिन्ताले सताएको बताए । उनले भने, “उता गए, ज्यानको डर यता बसे परिवार पाल्न नसकिने डर । गरिबलाई जतासुकै डरै डर छ ।” यता नेपाल बिदामा आएका जोखिम मोलेरै भए पनि काममा फर्किन चाहन्छन् भने उता विदेशमा भएकाहरू आर्थिक मन्दी बढ्दै गएको र आफू सुरक्षित नभएको बताउँदै घर फर्किन चाहन्छन् । कुबेतको एक क्याफेमा कामदार रहेका विमल (नाम परिवर्तन) राईले मिलेसम्म स्वदेश फर्किन चाहन्छन् । अहिले सबै सामान्य जस्तो देखिन्छ तर, एयरपोर्ट र तेल खानीतिर बम हान्दा आफूलाई जोखिमपूर्ण महसुस भएको उनले बताए ।  “फर्किन पाए भने जागिरै छोडेर आउन तयार छु”, उनी भन्छन्, “कम्पनीहरू बन्द हुँदैछन्, आर्थिक सङ्कट देखिन थालेको छ ।” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका (पश्चिम एसिया) युद्धको प्रभावका कारण सुरक्षालाई ध्यानमा राख्दै साउदी अरेविया, युएइ, कतार, कुबेत, बहराइन, ओमन, इराक, यमन, जोर्डन, लेवनान, टर्की र इजराइलसहित देशमा श्रम स्वीकृति स्थगन गरेको थियो । वैदेशिक रोजगार विभागमा चैत ३ गते रोकिएको श्रम स्वीकृति खुला भएपछि वैदेशिक रोजगारमा पुनःजाने श्रमिकको चाप बढेको छ । विभागको वैदेशिक श्रम स्वीकृति शाखाका निर्देशक खीलराज राईले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दैनिक हजारदेखि एक हजार १०० सम्म रहेको जानकारी दिए । वैदेशिक रोजगार व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष सुजित श्रेष्ठका अनुसार रोजगारीमा जानु र सुरक्षित भएर बस्नु अहिले युद्धक्षेत्र ग्रस्त कामदारहरूको चुनौती छ । उनका अनुसार नेपाल सरकारले यस्तो बेलामा सुरक्षाको केन्द्रलाई चनाखो गरी हेर्ने र नागरिकको काम गर्ने अधिकारको सुरक्षा सन्तुलित भएर दायित्व पूरा गर्नुपर्ने देखिन्छ । श्रमिकहरूको दबाबका कारण खुलाउँदै र वैदेशिक रोजगार विभागको माग अनुसार परराष्ट्र मन्त्रालयले चैत ३ सिफारिस गरे बमोजिम श्रम मन्त्रालयले स्थगन गरिएको श्रम स्वीकृति खुला गरिएको जनाएको छ । विज्ञप्ति नै जारी गरेर मन्त्रालयले स्थगन भएका मुलुकहरूमध्ये साउदी अरेविया, युएइ, कतार, ओमान, यमन, जोर्ड, टर्कीमा कार्यरत नेपाली श्रमिकलाई र बिदामा नेपाल आई पुनः उल्लेखित देशहरूमा रोजगारीका लागि फिर्ता हुन चाहने नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यद्यपी सरकारले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान देशमा भने श्रम स्वीकृति स्थगन रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार बिदामा घर आएका र रोजगारमा पुनःजान चाहने नेपाली कामदारका लागि भनेर निश्चित देशमा श्रम स्वीकृति दिएको छ । घर फर्किन चाहनेसँगै श्रम गर्न पुनःविदेश जाने नेपालीको भावना सम्बोधन गर्न आवश्यक देखिएको उनले सुनाए । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले छुट्टीमा विदेशबाट घर आएका नेपाली कामदारले समयमा जान नसेकमा रोजगार गुम्ने हुँदा उनीहरूलाई मात्रै पुनः श्रम स्वीकृति दिने निर्णय गरिएको बताए । प्रवक्ता क्षेत्रीले युद्ध प्रभावित क्षेत्रमा रहेका नेपाली कामदारले अति आवश्यक भए मात्रै घर आउने नभए जहाँ छन् त्यही सुरक्षित रहन आग्रह गरे । “अवस्था सामान्य हुँदैछ, जहाँ हो त्यही सुरक्षित बस्न आग्रह गरेका छौँ”, उनले भने । परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार रु १७ लाख २९ हजार नेपाली खाडी मुलुकमा श्रमिक छन् ।

म्याग्दीमा रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ ।  गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव भनिने सुकमन विकको गैयाभाट जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको भनेर दाहसंस्कार गर्ने तयारी भएको थियो । घटनाको बारेमा जानकारी पाएपछि मृतकको घरमा पुगेको प्रहरी टोलीले शवलाई परीक्षणका लागि बेनी अस्पताल ल्याएको थियो ।  शव परीक्षण प्रतिवेदन र घटनाको सुक्ष्म अनुसन्धानका क्रममा एक महिनापछि दानाका २२ वर्षीय प्रकाश विकले सौरवको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । “शनिबार पक्राउ परेका प्रकाशले प्रारम्भिक बयानमा सौरवको हत्या गरेको स्वीकार गरेका छन्,” उनले भने, “मदिरा सेवनपछि भएको विवादले हत्याको रूप लिएको प्रकाशले स्वीकारेका हुन् । पारिवारिक सम्बन्धका कारण हत्याको घटना लुकाउने प्रयास भएको बुझिएको छ ।”  ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि प्रकाशलाई हिरासतमा राखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । 

होर्मुज जलमार्ग पार गर्ने जहाजबाट इरानले लिन्छ २० लाख डलर शुल्क !

काठमाडौं । होर्मुज जलमार्गबाट भएर जाने केही जहाजहरूबाट इरानले करिब २० लाख डलर लिने गरेको खुलासा भएको छ । एक इरानी सांसदले आइतबार यस्तो बताएका हुन् । इरानी संसदको ‘राष्ट्रिय सुरक्षा तथा वैदेशिक नीति समिति’का सदस्य अलाउद्दिन बोरुजेर्दीले ४७ वर्षपछि इरानले उक्त जलसन्धिमा सार्वभौमसत्ताको नयाँ अवधारणा स्थापित गरेको बताए । इरानी सञ्चारमाध्यमहरूका अनुसार, एक टेलिभिजन कार्यक्रममा उनले इरानले अहिले निश्चित जहाजहरूबाट मार्ग प्रयोग गरेबापत २० लाख डलर शुल्क लिने गरेको बताए । “जलमार्ग पार गर्ने केही जहाजहरूबाट २० लाख डलर पारवहन शुल्क संकलन गर्नुले इरानको शक्ति झल्काउँछ,” बोरुजेर्दीले भनेका थिए । मार्चको सुरुदेखि नै इरानले अधिकांश जहाजहरूका लागि होर्मुज जलमार्ग बन्द गरिदिएको छ । यो विश्वकै एक प्रमुख तेल पारवहन मार्ग हो । यहाँबाट सामान्य अवस्थामा दैनिक करिब २ करोड ब्यारेल तेल र विश्वव्यापी तरल प्राकृतिक ग्यास व्यापारको करिब २० प्रतिशत हिस्सा ओसारपसार हुने गर्दछ । यो बन्द हुँदा ढुवानी र बीमा लागत बढेको छ । जसका कारण तेलको मूल्य बढेको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य कारबाही सुरु गरेदेखि क्षेत्रीय तनाव लगातार बढिरहेको छ । यस युद्धमा अहिलेसम्म तत्कालीन सर्वोच्च नेता अली खामेनीसहित १३ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको बताइएको छ । इरानले इजरायलका साथै जोर्डन, इराक र खाडी मुलुकहरूमा ड्रोन र मिसाइल आक्रमण गरी प्रतिशोध लिइरहेको छ । इरानले यी आक्रमण अमेरिकी सैन्य संरचनाहरूलाई लक्षित गरी गरिएको दाबी गरेको छ । जसका कारण पूर्वाधारमा क्षति पुग्नुका साथै विश्वव्यापी बजार र उड्डयन क्षेत्र प्रभावित भएको छ ।

आज विदेशी मुद्रा विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (चैत ९)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०० रुपैयाँ ४६ पैसा, स्विस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९० रुपैयाँ ६६ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा, सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७० पैसा र बिक्रीदर ११७ रुपैयाँ १६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४० रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २ पैसा र बिक्रीदर १६ रुपैयाँ ८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १७ पैसा र बिक्रीदर २३ रुपैयाँ २७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ०२ पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३९० रुपैयाँ २३ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आजकाे माैसम: देशका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, सोमबार (चैत ९) दिउँसो देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । राति, देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

राप्ती नदीमा अनुमति विना माछा मार्ने ७० जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न मुद्दाका गत साउनदेखि हालसम्म १२८ जनालाई पक्राउ गरेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार पक्राउ पर्नेमा सबैभन्दा धेरै अवैध रूपमा माछा मार्ने रहेका छन् । निकुञ्जले राप्ती नदीमा अवैध रूपमा माछा मार्ने ७० जनालाई पक्राउ गरी कारबाही गरेको हो । यस्तै गैँडा मुद्दाका तीन, सालक मुद्दाका पाँच, निउरो टिप्ने ११, अवैध रूपमा घाँस दाउरा गर्ने ३० जना, पन्छी मार्ने एक जना, बिनाअनुमति राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने चार र अन्य चार जनालाई पक्राउ गरी कारबाही गरिएको हो । यस अवधिमा कार्यालयले विभिन्न चार किसिमका मुद्दा अदातलमा दर्ता गराएको छ । सालकसम्बन्धी मुद्दा दुई, सवारीसाधनको ठक्करबाट गैँडा घाइते मुद्दा एउटा, गैँडालाई करेन्ट लगाएर मारेको एउटा मुद्दा अदातलमा दर्ता गरेको उनले जानकारी दिए । निकुञ्जले यस आर्थिक वर्षमा नौवटा मुद्दा फैसला गरेको छ । उहाँका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका २६ र यस वर्ष दर्ता भएको एउटा मुद्दामध्ये नौवटाको फैसला भएको छ । अहिले १८ मुद्दा चालु अवस्थामा छ । चालु अवस्थामा रहेका मुद्दामध्ये सातवटा वनसम्बन्धी मुद्दा र ११ वटा मुद्दा वन्यजन्तुसँग सम्बन्धित छन् ।

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, स्वास्थ्य सेवा र पठनपाठनको व्यवस्थित सुविधा नहुँदा कैदी बन्दीले समस्या भोग्नुपरेको बताएका छन् । एडभोकेसी फोरम नेपालका क्षेत्रीय संयोजक अधिवक्ता बसन्त गौतमले कारागारमा कैदीबन्दी क्षमताभन्दा बढी हुनु मानवअधिकार उल्लङ्घनको गम्भीर समस्या भएको उल्लेख गर्दै आधारभूत स्वास्थ्य सेवा, सरसफाइ, शौचालय सुविधा, न्यायिक प्रक्रिया तथा शिक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने बताए । त्यसैगरी सो टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको पनि अनुगमन गरेको छ । सो हिरासतमा अहिले ६१ जना थुनुवा छन् । केही थुनुवाको म्याद थप नभइ अनुसन्धानका क्रममा रहेको अवस्था भेटिएको एडभोकेसी फोरमका संयोजक गौतमले जानकारी दिए । अनुगमन टोलीले कारागारमा रहेका कैदीबन्दीको आधारभूत मानव अधिकार, स्वास्थ्य, सरसफाइ र न्यायिक प्रक्रियामा देखिएका चुनौतीको विस्तृत अध्ययन हुनुपर्नेमा जोड दिएको छ । टोलीले कारागार व्यवस्थापन, कैदीबन्दीको दैनिक जीवनयापन र आधारभूत मानव अधिकार पनि नरहेको उल्लेख गरेको छ । इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले थुनुवाहरूको आधारभूत मानव अधिकार, स्वास्थ्य सेवा र खानाको गुणस्तर सुनिश्चित गर्न आग्रह गरे । नौवस्ता कारागारमा हाल ६९१ जना कैदीबन्दी छन् । अनुगमन टोलीले कैदीबन्दीहरूको आवास क्षमता बढाउनुपर्ने, भीडभाड व्यवस्थापन, स्वास्थ्य बिमा पहुँच, न्यायिक सूचना प्रवाह र शिक्षा, धार्मिक अभ्यासको व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने निष्कर्ष निकालेको संयोजक गौतमको भनाइ छ ।

भाेजपुर पौवादुङमाका किसान उद्यममा जोडिँदै

भोजपुर । पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । परम्परागत निर्वाहमुखी कृषिमा सीमित रहेका किसान अहिले क्रमशः व्यावसायिक पशुपालनतर्फ उन्मुख हुँदै नियमित आम्दानी गर्ने बाटोमा अघि बढेका छन् । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको गाईबाट उत्पादन भएको दूध बिक्री गर्दै किसानले गाउँमै आयआर्जन गर्न थालेका छन् । यसले वैदेशिक रोजगारी र बाह्य आयस्रोतमा निर्भरता घटाउँदै स्थानीयस्तरमै रोजगारी सृजना गर्ने वातावरण तयार पारेको छ । श्यामशिलाका किसान निमदोर्ची शेर्पा यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेमध्ये एक हुन् । उनका अनुसार अनुदानमा प्राप्त एक माउ गाईबाट अहिले मासिक रु आठदेखि १० हजारसम्म आम्दानी भइरहेको छ । पहिले दूध बेच्ने चलन नै थिएन, गाईपालन पनि घरायसी प्रयोजनमै सीमित थियो । अहिले व्यावसायिक रूपमा गाईपालन गर्दा राम्रो आम्दानी हुने रहेछ भन्ने बुझाइ आएको छ । अब थप गाई पालेर व्यवसाय विस्तार गर्ने योजना छ । गाउँपालिकाले श्यामशिला, तिवारीभञ्ज्याङ र च्याङ्ग्रे गरी तीन वडामा ३९ उन्नत जातका गाई वितरण गरेको थियो । दूध उत्पादन बढेसँगै बजार व्यवस्थापनको आवश्यकता महसुस भएपछि श्यामशिलामै दुग्ध सङ्कलन तथा प्रशोधन गर्ने सानो उद्योग सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेको दूध यही उद्योगमा लगेर बिक्री गर्दै आएका छन् । यसले उनीहरूलाई सहज बजार सुनिश्चित गरेको शेर्पा बताउँछन् । गत आर्थिक वर्षमा ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले रु ५० लाख बजेट विनियोजन गरेर गाई वितरण गरेको हो । किसानलाई दीर्घकालीन रूपमा उद्यमशीलतामा जोड्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । उनका अनुसार वितरण गरिएका गाईको नियमित अनुगमन, स्वास्थ्य परीक्षण र प्राविधिक सहयोगसमेत उपलब्ध गराइँदै आएको छ । “गाई वितरण मात्रै गरेर हुँदैन”, उपाध्यक्ष राईले भनिन्, “त्यसलाई दिगो बनाउन आवश्यक सहजीकरण पनि उत्तिकै आवश्यक हुन्छ । त्यसैले गाउँपालिकाले किसानलाई तालिम, प्राविधिक सेवा र अन्य आवश्यक सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ ।” उपाध्यक्ष राईका अनुसार चालु आर्थिक वर्षमा पनि गाउँपालिका र किसानको लागत साझेदारीमा करिब रु ३० लाख बराबरको गाई वितरण कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकाले गाई वितरणसँगै किसानलाई उन्नत जातको घाँस, घाँस उत्पादनसम्बन्धी तालिम तथा घाँस काट्ने ‘च्याप कटर’जस्ता उपकरण पनि वितरण गर्दै आएको छ । यसले पशुपालनलाई व्यवस्थित र उत्पादनमुखी बनाउन सहयोग पुगेको छ । दूध उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै किसानको जीवनस्तर उकास्ने लक्ष्यसहित ‘दुग्ध मिसन कार्यक्रम’ सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । “गाउँपालिकाले थालेको यो अभियानले सकारात्मक परिणाम दिन थालेको छ”, अध्यक्ष राईले भने, “किसान गाउँमै बसेर आम्दानी गर्न थालेका छन् । आगामी दिनमा यसलाई अझ विस्तार गरिनेछ ।” यस्तै, पौवादुङमा–१ का वडाध्यक्ष राजेन्द्र तामाङका अनुसार स्थानीयस्तरमा उत्पादन भएको दूध अहिले भोजपुर सदरमुकामसम्म पुग्न थालेको छ । श्यामशिलामा मात्र २१ किसानलाई गाई वितरण गरिएको छ । उत्पादन बढेसँगै व्यापारी गाउँमै आएर दूध किन्ने गरेका छन् । यसले किसानलाई थप हौसला मिलेको छ । बजारसँगको पहुँच विस्तार हुँदै जाँदा यहाँको दुग्ध उत्पादनले व्यावसायिक रूप लिन थालेको छ । विगतका वर्षहरूमा गाउँपालिकाले उन्नत जातको भैँसी वितरण कार्यक्रम पनि सञ्चालन गरेको थियो । गाई, भैँसी वितरणसँगै उत्पादन भएको प्राङ्गारिक मलको सदुपयोग गराउने लक्ष्यले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन भइरहेका गाउँपालिकाले जनाएको छ । पशुपालन तथा कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै स्थानीय अर्थतन्त्र मजबुत बनाउन योजनाबद्ध रूपमा काम थालिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । ग्रामीण क्षेत्रमा आयआर्जनको स्रोत विस्तारसँगै आत्मनिर्भरता प्रवर्द्धन गर्न कृषिका कार्यक्रमलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

मुस्ताङमा हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन् । शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रलगायतका विभिन्न स्थानमा भारी हिमपात भएको हो । घरपझोङ र थासाङ गाउँपालिकामा भने उच्च लेकमा हिमपात भयो भने, बस्ती क्षेत्रमा वर्षा भएको हो । शुक्रबार राति परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्रसहित घरपझोङ र थासाङ क्षेत्रका उच्च लेकका चरन क्षेत्र पूरै हिउँले ढाकिएका छन् । मुक्तिक्षेत्र र माथिल्लो मुस्ताङमा बस्तीमा हिमपात भएकाले खेतीयोग्य भूभाग सबै हिउँले ढाकिएका छन् । घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमाथि ठुलो चरन क्षेत्र रहेको उच्च लेक सेताम्मे हिउँले ढाकिएको छ । घरपझोङ–५ ठिनीका पशुपालक किसान च्याङबहादुर थकालीले हिउँले ठिनी गाउँमाथिको भ्रप्सा, यारुझो भ्यूटावर, नमखुलेक र तिलिचो पदमार्गको मेसोकोन्दो पास पूरै सेताम्मे भएको जानकारी दिए । पछिल्लो समय जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्दा उच्च लेकका चरन क्षेत्रमा घाँस अभाव हुने गरेकामा यस वर्षको हिउँले स्थानीय पशुपालक किसानलाई राहत मिलेको च्याङबहादुर थकाली बताउँछन् । हुरीबतासबिनाको हिउँ परेकाले चरन क्षेत्रमा पूरै हिउँले ढाकिँदा पर्याप्त मात्रामा पशुचौपायाका लागि घाँस पलाउने उनको भनाइ छ । मुस्ताङमा विगत तीन वर्षदेखि निरन्तर अनुकूल समयमा हिउँ नपर्दा चरन क्षेत्रमा घाँस अभाव हुनाले पशुपालन व्यवसाय नै सङ्कटमा पर्न थालेको उनको भनाइ छ । जलवायु परिवर्तनका कारण उच्च लेकमा जमिनको तापमान वृद्धि हुँदा हिमनदी र पानीका मुहान सुक्दै जान थालेकाले उच्च लेकमा अनधिकृत घाँस पलाउने गर्दा पशुचौपायालाई असर पुर्‍याउने गरेको किसान थकालीले उल्लेख गरे । त्यसैगरी, अनुकूल समयमा हिमपात भएकाले चरन क्षेत्रमा पर्याप्त घाँस हुने भएकाले हिउँ चितुवाको आहारा प्रजाति बस्ती नझर्ने भएकाले वन्यजन्तुको जोखिमसमेत कम हुने किसान थकालीको भनाइ छ । यस्तै, यस वर्षको अनुकूल हिमपातले यहाँका कृषि पेसा अपनाउँदै आइरहेका किसानलाई पनि ठुलो राहत पुर्‍याएको छ । अनुकूल समयमा परेको हिउँ लामो समयसम्म स्थिर रहने भएकाले खेतीयोग्य जमिनको भित्री तहसम्म रिचार्ज भई सिञ्चित हुने भएकाले हिउँदयामको हिउँ किसानका लागि बरदान भएको थकालीले सुनाए । खेतबारीमा उत्पादन हुने रैथाने उवा, जौ, गहुँ र हरियो तरकारी रोपण गरिएको छ, स्याउको पनि फूल फुल्ने बेला हुँदैछ, उनले भने, यसपटक लगातार छ पटकसम्म परेको हिउँले पूरै जमिनलाई चाहिने आवश्यक तत्त्व प्राप्त भइसकेको छ, स्याउको फूल फुल्ने बेला हिउँ नपरोस् ।” अनुकूल समयमा परेको हिउँले अन्नबाली र फलफूलखेतीमा लाग्ने विभिन्न रोग कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्ने भएकाले हिउँ अन्नबाली र फलफूल उत्पादनका लागि अर्ग्यानिक विषादी भएकाले यहाँका किसान उत्साहित भएको उनले जनाए । मुस्ताङमा पर्यटकीययाममा जारी सिजनको छैटाैँ पटक हिमपात भएकाले मुस्ताङ भ्रमण गर्ने पर्यटक पनि उत्साहित भएको पाइएको छ । किसान थकालीले पर्यटकयाममा मुस्ताङमा हिमपात भएकाले हिउँ हेर्न र हिउँ खेल्ने उद्देश्यसहित मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने दाबी गरे ।

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि यातायात सेवा प्रभावित भएको हो । हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकेर बीच बाटोमै फसिरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । “पानी रोकिए पनि सडक सुधार हुनसकेको छैन, हिलो र लेदोका कारण सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ”, उनले भने “पूर्वबाट पश्चिम जाने सवारीसाधन उकालोमा चिप्लिएकाले सञ्चालन हुनसकेका छैनन् भने पश्चिमबाट पूर्वतर्फ जाने सवारी भने केही मात्रामा सञ्चालन भइरहेका छन् ।” तीन दिनदेखि सडक अवरुद्ध हुँदा यात्रु र चालकहरू बाटोमै अलपत्र परेका छन् । लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारीसाधन सडकमा रोकिँदा गन्तव्यमा पुग्न ढिलाइ भएको छ । दाउन्ने खण्डमा सडक विस्तारको काम जारी रहेकाले सामान्य वर्षामा समेत सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । अवरुद्ध सडक खुलाउन मर्मत तथा सुधारको प्रयास भइरहेको आयोजनाले जानकारी दिएको छ । यसैबिच, नारायणघाट–बुटवल सडक योजना कार्यालयले चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० देखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । हाल साना तथा आकस्मिक सेवाका सवारीसाधनसमेत प्रभावित भएका छन् ।

धुलिखेल–खावा सडक स्तरोन्नति सुरु

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउन शनिबार रातिदेखि दुई हप्ता सडक बन्द गरेको हो । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन यही चैत ७ देखि २० गतेसम्म रातिको समयमा साँझ ६ः०० देखि बिहान ५ः०० बजेसम्म यातायातका साधान बन्द गरिएको हो । साथै, उक्त अवधिभर टिपरलगायत मालवाहक सवारीसाधनलाई भने पूर्णतः रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताए । उनका अनुसार चार किलोमिटर दूरीको उक्त सडकखण्डमध्ये चैतमा २.५ किलोमिटर र आउँदो वैशाखमा बाँकी पक्की गरिसक्ने लक्ष्य लिइएको छ । उक्त सडकखण्डमा सुरुमा ‘सिटीभी’ हाल्ने र त्यसपछि लक्ष्यअनुसार पक्की बनाउँदै लगिने योगेशले बताए । लामो समयसम्म निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि विभिन्न स्थानमा कटिङको कामबाट पुनः स्तरोन्नति कार्यलाई तीव्रता दिइँदै आइएको हो । कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सीएनएवान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । हाल साना संरचना तथा टेवा पर्खाल निर्माणका काम भइरहेको जनाइएको छ । चिसो मौसमका कारण सडकमा सतह (सर्फेस)को काम नभएको र चिसो कम हुँदै गएपछि पक्की बनाउने योजना बनाइएको योगेशले बताए । उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको ‘स्लोप मेन्टेन’ र अन्य बाँकी सानातिना काम गरिने योगेशको भनाइ छ । सात मिटर चौडाइको बन्ने उक्त सडकखण्को सडकमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिने छ । यसैबीच निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यलयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । उसले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो । उक्त सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरीनाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकका रूपमा रहेको छ । उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबीएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनाएको छ ।

इरानद्वारा इजरायलमा भीषण क्षेप्यास्त्र हमला: अरादमा ठूलो क्षति, ८८ घाइते

एजेन्सी । इरानले इजरायलमा भीषण हवाई हमला गरेको छ । इजरायलको दक्षिणी सहर अरादमा इरानको क्षेप्यास्त्र प्रहारबाट ठूलो भौतिक क्षति पुगेको छ । इजरायलको आपत्कालीन सेवा म्यागेन डेभिड एडोमका अनुसार आक्रमणमा परी ८८ जना घाइते भएका छन् । जसमध्ये १० जनाको अवस्था गम्भीर, १९ जना मध्यम र ५५ जना सामान्य घाइते छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणलाई ‘धेरै कठिन साँझ’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अभियानमा हाम्रो भविष्यका लागि यो साँझ कठिन छ । मैले सबै मन्त्रालयहरूलाई आवश्यक सहयोग प्रदान गर्न निर्देशन दिएको छु ।’ उनले आपत्कालीन टोलीको प्रशंसा गर्दै होम फ्रन्ट कमान्डको निर्देशन पालना गर्न आग्रह गरेका छन् र शत्रुविरुद्ध आक्रमण जारी रहने बताएका छन् । अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित शीर्ष नेताहरूको हत्या गरेपछि दुवै पक्षबीच निरन्तर युद्ध चलिरहेको छ । इरानमा हालसम्म ३,१८६ जनाको मृत्यु भएको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ । यस युद्धमा इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र आईआरजीसीका प्रवक्ता अली मोहम्मद नैनी पनि मारिएका छन् । यसैबीच आईआरजीसीको कुड्स फोर्सका प्रमुख कमान्डर ब्रिगेडियर जनरल इस्माइल कानीले शनिबार पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिँदै शीर्ष नेताहरू मारिए पनि आन्दोलन कमजोर नहुने दाबी गरेका छन् ।

पाल्पामा टिपर दुर्घटनामा मृतकको संख्या चार पुग्यो

पाल्पा । माथागढी गाउँपालिका–७ रहबासमा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । लु २ ख ४५२५ नम्बरको खाली टिपर झडेवाबाट चुनढुंगा खानीतर्फ जाँदै गर्दा सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित चार जना गम्भीर घाइते भएका थिए । घाइतेहरूलाई लुम्बिनी मेडिकल प्रभास लगिएकामा तीन जनाको घटनास्थल नजिकै मृत्यु भएको थियो । थप उपचारका लागि भैरहवाको मेडिकल कलेज पुर्‍याइएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले बताएका छन् । मृत्यु हुने अन्य तीन जना अर्घाखाँचीको शीतगंगा–४ सिद्धाराका २६ वर्षीय चालक चिन्ता बहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली थिए ।

आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर एकको खरिद १४९.६४, बिक्री १५०.२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मार्च २२, २०२६) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर (१): खरिद १४९.६४ रुपैयाँ, बिक्री १५०.२४ रुपैयाँ युरोपियन युरो (१): खरिद १७३.१२, बिक्री १७३.८१ बेलायती पाउण्ड (१): खरिद २००.३८, बिक्री २०१.१९ स्विस फ्रांक (१): खरिद १९०.०१, बिक्री १९०.७७ अस्ट्रेलियन डलर (१): खरिद १०५.८९, बिक्री १०६.३१ क्यानेडियन डलर (१): खरिद १०९.०४, बिक्री १०९.४८ सिङ्गापुर डलर (१): खरिद ११७.०१, बिक्री ११७.४८ जापानी येन (१०): खरिद ९.४३, बिक्री ९.४७ चिनियाँ युआन (१): खरिद २१.७३, बिक्री २१.८२ भारतीय रुपैयाँ (१००): खरिद १६०.००, बिक्री १६०.१५ अन्य प्रमुख मुद्राहरू: साउदी रियाल (१): ३९.८५/४०.०१ कतारी रियाल (१): ४०.९४/४१.११ युएई दिराम (१): ४०.७४/४०.९१ मलेसियन रिङ्गेट (१): ३७.९८/३८.१४ कुवेती दिनार (१): ४८८.०६/४९०.०२ केन्द्रीय बैंकले यो दर आवश्यकतानुसार संशोधन गर्न सक्ने तथा वाणिज्य बैंकहरूले फरक दर लागू गर्न सक्ने जनाएको छ । अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न सकिन्छ ।

सक्रिय वर्षा प्रणाली कमजोर, आजदेखि घाम लाग्ने र मौसम सफा हुँदै

काठमाडौं । गत शुक्रबारदेखि सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणाली आजबाट कमजोर भएको छ । यससँगै मौसममा उल्लेख्य सुधार आएको छ र देशभर घाम लाग्ने क्रम सुरु भएको मौसमविदहरूले बताएका छन् । पश्चिमी प्रणाली सुदूरपश्चिमबाट सुरु भई क्रमशः पूर्वतिर सर्दै कोशी प्रदेशबाट बाहिरिसकेको छ । हाल लुम्बिनी प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद उज्जल उपाध्यायका अनुसार शनिबार रातिदेखि नै बादल हट्न थालेको छ । वर्षाका कारण वायु प्रदूषण घटेको र हिमालको दृश्य स्पष्ट देखिने अवस्था छ । उनले भनेका छन्, ‘ढुक्कले लुगा धुनुस्, मज्जाले सुक्छ । हिमाल हेर्नुस्, स्वच्छ हावामा सास फेर्नुस् । आउने केही दिन यस्तै रहनेछ ।’ हाल प्रि–मनसुन अवधि भएकाले दिनभर घाम लागे पनि साँझपख बादल लाग्ने, मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हुरी चल्ने सम्भावना रहन्छ । मौसमविदहरूले चट्याङ र हुरीबाट सावधान रहन सुझाव दिएका छन् ।