जीपी कोइरालाको जन्म जयन्ती : प्रधानमन्त्रीद्धारा फोटो प्रदर्शनी अवलोकन

काठमाडौं ।गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित क्रान्ति देखि शान्ति सम्म ऐतिहसिक फोटो प्रदर्शनी अवलोकन  गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु।

nullnullnullnull

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। सभापति देउवाको निवास बूढानीलकण्ठमा केहीबेरअघिबाट बैठक बसिरहेको हो । शनिबार साँझ देउवा(ओलीको बालकोट भेटपछि सत्ता समीकरण फेरिनसक्ने चर्चाबीच बोलाइएको कांग्रेसको बैठकलाई चासोका साथ हेरिएको छ ।  

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशीलाई नियुक्त

काठमाण्डौँ ।  पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त भएका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबार बसेको बैठकले जोशिलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । खुल्ला प्रतिस्पर्धाबाट जोशी छनौट भएको मन्त्रालयले जनाएको छ ।शिक्षा क्षेत्रको नेतृत्वदायी भुमिकामा रहेर झन्डै दुई दशकको अनुभव बटुलेका जोशीले आजै सपथ लिएका छन्। नवनियुक्त कार्यकारी निर्देशक जोशीले पछिल्लो कार्यविधि अनुसार आफू छनौट हुन सफल भएको भन्दै आफूले अब सबै पक्षसँग समन्वय गरेर आफूले सिकेका, जानेका कुराहरु अनुसार त्याहाँको बस्तु स्थिति अनुसार अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  उनले पशुपति विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र भएकाले त्यसलाई थप शसक्त बनाउने र विकासमा एउटा ईट्टा थप्ने आफ्नो प्रयत्न हुने बताए। पछिल्लो समय पशुपति विकास कोशको कार्यकारी निर्देशक  नियुक्ति प्रक्रियालाई लिएर आलोचना हुने गरेकोमा यो पटक मन्त्री तामाङको निर्देशनमा खुल्ला प्रतिस्पर्धा बाट नियुक्त गरिएको हो । केही समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा यहीँ जेठ २३ गते  कोषको कार्यकारी निर्देशकमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेगरी कोशले आवेदन माग गरेको थियो ।  पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो । जोशीले आजै पदभार ग्रहण गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकसँग छलफल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीन मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ मा प्राप्त संशोधनबारे उहाँले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । मन्त्रालयमा सोमबार भएको उक्त छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का महेश बर्तौला र नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डेसँग मन्त्री भण्डारीले छलफल गरेका थिए । सो क्रममा उनले लगानी सहजीकरण सम्बन्धी कानुन लचकताका साथ संसद्बाट पास गर्न प्रमुख सचेतकहरूसँग आग्रह गरे। लगानीमैत्री वातावरण बनाउन सबै राजनीतिक दलको सहयोग आवश्यक रहेकाले सहयोगका लागि मन्त्री भण्डारीले उनीहरूलाई आग्रह गरे। कांग्रेसका प्रमुख सचेतक लेखकले आफ्नो पार्टीका संशोधनकर्ता सांसदहरूसँग छलफल गरेर सहजीकरणको वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो । उनले लगानी सहजीकरणका लागि केही बुँदा संशोधन गर्न आवश्यक रहेको बताए । एमालेका प्रमुख सचेतक बर्तौलाले उद्योग कलकारखाना स्थापनाको विषय सबै दलको साझा ऐजेण्डा भएकाले सत्ता पक्ष र विपक्ष नभनीकन दलीय स्वार्थभन्दा माथि उठेर कानुन निर्माणमा जुट्नुपर्ने बताए। केही जटिल बुँदामा संशोधन आवश्यक रहेको उनको भनाइ थियो ।  माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संशोधन प्रस्ताव राख्नु उचित भए पनि समय अभावका कारण नगरी नहुने विषय मात्र संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए। छलफलका क्रममा वनसँग सम्बद्ध निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा जग्गा हदबन्दीका विषयमा संशोधन जरुरी रहेको औँल्याइएको थियो । उक्त छलफलमा सरोकारवाला मन्त्रालयका सचिवसमेत सहभागी थिए । रासस

६० किलो सुन तस्करीमा महरा र पुनको संलग्नता छैन : सीआईबी

काठमाडौं । ६० किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नदेखिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। सुन तस्करीको दोस्रो चरणको अनुसन्धानबारे जानकारी दिन सोमबार आयोजित पत्रकार भेटघाटका क्रममा सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले बताए । ज्ञवालीले ६० किलो सुन तस्करीमा महरा र दिपेशको संलग्न नभएको जानकारी गराएका हुन्। “६० किलो सुन तस्करीको अनुसन्धानमा कृष्णबहादुर महरा र दिपेश पुनको संलग्न भेटिएन । भेप प्रकरणको अनुसन्धान अझै जारी छ,” एआईजी ज्ञवालीले भने । 

सुनको मूल्य २०० रुपैयाँ बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।  आज चाँदी भने आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँ कारोबार भएको थियो । 

प्रतीक थापाविरुद्ध आजबाट थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध आजबाट थुनछेक बहस हुने भएको छ। गत शुक्रबार पक्राउ परेको प्रतीकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । थापाविरुद्ध यसअघि नै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको मुद्दा दर्ता भइसकेकाले उनलाई थुनछेक बहसका लागि जिल्ला अदालत पेश गरिएको हो। आइतबार समय अभाव भएका कारण हुन नसकेको थुनछेक बहस आज हुन लागेको हो। प्रतीकलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा २४ वर्ष कैद माग दाबी गरिएको छ। त्यसअघि उनलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो। रामबहादुर थापा गृहमन्त्री हुँदा प्रतीक स्वकीय सचिव थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्य आरोपीहरु पक्राउ परेपछि उनी फरार रहँदै आएका थिए। भुटानी शरणार्थी प्रकरणमै पक्राउ परेका अर्का आरोपी बेचन झालाई भने जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ। गत वर्ष शरणार्थी प्रकरण सतहमा आएदेखि फरार रहँदै आएका झालाई भारतबाट पक्राउ गरी गत शुक्रबार काठमाडौं ल्याइएको बुझिएको छ। झाले सोही गिरोहका रामशरण केसीबाट दुई करोडको चेक लिएको प्रमाण प्रहरीले फेला पारेको थियो।

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बस्नेछ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

यी स्थानमा धेरै वर्षाको सम्भावना

काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । केही प्रदेशमा भारी र केहीमा धेरै भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा  भारी वर्षाको सम्भावना छ ।  कासी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । भारी र धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।  विभागका अनुसार बिहानैदेखि देशका केही स्थानमा वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । विभागले दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।  विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । कम्तीमा अबको चार दिन देशभर मनसुन सक्रिय रहँदा धेरै स्थानमा वर्षाको सम्भावना छ । 

मुलुकमा शान्ति स्थापना गर्न माधवजीको महत्वपूर्ण भूमिका छ : देउवा

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्ति स्थापना गर्न र संविधान निर्माणमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै माधव नेपालले देशको राजनीतिमा महत्वपूर्ण योगदान दिएको बताए । उनले भने, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण यसै संविधान मार्फत् मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नको लागि महत्वपूर्ण एजेण्डा हुन् । यो व्यवस्थाप्रति नेकपा एसले महत्वपूर्ण भूमिका खेलेको छ ।’

देशको आर्थिक समृद्धिमा सबै दल एकठाउमा आउनुपर्छ : रवि लामिछाने

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा आम जनता र नेताहरूको प्राथमिकता एउटै विषयमा नभएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै लामिछानेले आम जनता र राजनीतिक दलका नेताहरूको प्राथमिकता एकै नभएको बताएका हुन् ।उनले देशमा राजनीतिक परिवर्तन भएर, संविधान बनेर, सबै किसिमका अधिकार प्राप्त भएपछि पनि आम जनताको चाहना अनुसार काम हुन नसकेको बताए। उनले शीर्ष नेताहरुबीच जनताको चाहना अनुसारको काम गर्न नसकेको बताए ।उनले राजनीतिक समस्या समाधान गर्न सबै दल एक ठाउँमा आए जस्तै देशको आर्थिक विकास गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए ।उनले देशको विकास गर्न सबै नेताहरू एक ठाउँमा आउन आव्हान समेत गरेका छन् ।

समाजवादी शब्द जति प्रिय लाग्छ उतिकै डर पनि लाग्छ : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेकपा एकीकृत समाजवादी पार्टीको नाम प्रिय र पवित्र लाग्ने बताएका छन्। साथै उनले यो शब्दप्रति उत्तिकै डर पनि लाग्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले नेकपा एकीकृत समाजवादी नामअनुसार शब्द थेग्न सक्छ या सक्दैन भनेर डर लाग्ने गरेको बताएका हुन् ।  उनले समाजवादी पार्टीहरूले भन्ने एउटा र गर्ने अर्कै भएको भन्दै त्यस्तो अवस्थामा ती शब्दहरूको अर्थ के हुने भनेर आफैलाई समेत प्रश्न गरे।    ‘तपाईहरुलाई अनौठो लाग्ला तर मलाई तपाईहरुको पार्टीको मन पर्छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी। कम्युनिस्ट शब्द पनि धेरै प्रिय र पवित्र लाग्छ । समाजवादी शब्द पनि उतिकै प्रिय लाग्छ’, उनले भने, ‘जति पवित्र र ठुलो लाग्छ त्यति नै डर पनि लाग्छ।’ उनले पुँजीवादी क्रान्तिविना समाजवादी चरणमा प्रवेश गर्न सकिन्छ भनेर प्रश्न समेत गरे ।

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । सोमबार (भोलि) दिउँसो ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी उनले बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिसँगै म्याद सकिएका भातृसंस्थाको आयु थप्ने वा नेतृत्वमा नयाँ व्यक्ति नियुक्त गर्ने भन्ने विषयमा छलफल गरिने मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

लालीगुँरास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौँ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुरस्थित लालीगुँरासका अध्यसहित चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य ६१ वर्षीय कमदबाबा जोशी प्रधान रहेका छन् । सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भन्ने विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्‍याएको उनीहरूमाथि आरोप छ । बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेकोमा २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो ।  मुद्दा दर्ता भएसँगै संस्थाका अध्यक्ष तथा अन्य सदस्यहरू फरार रहेकोमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार काठमाडौँको विभिन्न स्थानहरूबाट पक्राउ गर्न सफल भएको थियो । चारै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

सर्लाहीको हरैयामा मकैबारीमा महिलाको शव फेला, घटना शङ्कास्पद

सर्लाही। सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा एक महिलाको हत्या भएको छ। स्थानीय ठगा रायकी श्रीमती ४५ वर्षीया कृष्णादेवी रायको हत्या भएको हो।  कृष्णादेवीको शव शनिवार राति अबेर घरदेखि करिब पाँच सय मिटर पूर्व आफ्नै मकैबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  महिलाको शव फेला परेकोबारे शनिवार राति ९ः३० बजे प्रहरीमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले मृतक महिलाको शरीरमा चोटपटक देखिएकाले घटना शङ्कास्पद रहेको बताए।  परिवारका सदस्यका अनुसार कृष्णादेवी घाँस काट्न भनी शनिवार अपराह्न ४ बजेपछि घरबाट खेततर्फ गएकी थिइन्। साँझ अबेरसम्म पनि घर फर्किएर नआएपछि श्रीमानसहित छरछिमेकी खोज्न मकै खेतमा जाँदा उनको शव फेला परेको हो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। 

संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन् । संसद् दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताएका छन् । संसद् अविच्छिन्न र जनप्रतिनिधिको जीवन्त अभ्यास गर्ने थलोका रूपमा रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा देशको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको सन्देशमा बताएका छन् । संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको अभिमत छ । मुलुकको संसदीय इतिहास अन्य देशको तुलनामा नयाँ नभएको जनाउँदै सभामुखले नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका नै नपाएको सन्देशमा उल्लेख गरेका छन् । संसद् दिवसले संसदीय लोकतन्त्रको प्रवर्द्धन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । रासस