नेपाली कम्युनिष्ट पार्टीका नेता मातृका यादवको सांसद पद् कायम रहने सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमा तत्काल अन्तरिम आदेश जारी नगर्ने आदेश गरेको छ।
किशोरी साहले निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने माग गर्दै अन्तरिम आदेशसमेत माग गरेका थिए। तर, सर्वोच्चले उनको मागमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासको यो आदेशसँगै निर्वाचन आयोगको निर्णय हाललाई यथावत् रहने भएको छ। यसले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको घोषणा गर्ने निर्वाचन अधिकृतको कार्यालयको निर्णय सदर हुने भएको छ।
इरानद्वारा युएईका प्रमुख तीन बन्दरगाह खाली गर्न चेतावनी
एजेन्सी । इरान–अमेरिका–इजरायल युद्ध तेस्रो सातामा प्रवेश गर्दै गर्दा इरानले पहिलो पटक छिमेकी युएईका गैर-अमेरिकी सम्पत्तिलाई लक्षित गर्दै दुबईको जेबेल अली, अबुधाबीको खलिफा र फुजैराह बन्दरगाह आसपासका क्षेत्र तत्काल खाली गर्न चेतावनी दिएको छ । तेहरानले युएईका बन्दरगाह, डक तथा आश्रयस्थलहरू प्रयोग गरेर अमेरिकाले इरानको प्रमुख तेल निर्यात टर्मिनल खार्ग टापुमा आक्रमण गरेको आरोप लगाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकाले युएईका रस अल खैमाह तथा दुबई नजिकका स्थानबाट खार्ग र अबु मुसा टापुमा हमला गरेको दाबी गरेका छन् । इरानले आवादी क्षेत्रलाई निशाना नबनाउने सावधानी अपनाउने बताए पनि युद्धमा खाडी क्षेत्रतर्फ सयौं मिसाइल र ड्रोन प्रहार गरेको छ । चेतावनीपछि जेबेल अली र खलिफा बन्दरगाहमा आक्रमणको संकेत नदेखिए पनि फुजैराहमा इरानी ड्रोन अवरोध गर्दा खसेको भग्नावशेषले तेल पूर्वाधारमा आगलागी भएको छ, जसले केही तेल लोडिङ कार्य प्रभावित भएको छ । युएईका कूटनीतिक सल्लाहकार अनवर गर्गाशले देशले आत्मरक्षा अधिकार राख्दै विवेक र संयम अपनाइरहेको बताएका छन् । इरानको संयुक्त सैन्य कमाण्डले थप तेल पूर्वाधारमा आक्रमण भए क्षेत्रका अमेरिकी सम्बन्धित तेल, आर्थिक तथा ऊर्जा संरचनामा प्रतिआक्रमण गर्ने चेतावनी दिएको छ । अमेरिकी सेन्ट्रल कमाण्डले इरानको दाबीमा प्रतिक्रिया दिएको छैन ।
स्ट्रेट अफ होर्मुज अमेरिका र इजरायलका जहाजबाहेक अन्यका लागि खुला छ: इरान
एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा बन्द नभएको स्पष्ट पारेका छन् । यो महत्वपूर्ण समुद्री मार्ग अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको छ, अन्य देशका जहाजहरू सामान्य रूपमा आउजाउ गर्न सक्छन् । एक अन्तर्वार्तामा उनले भने, ‘स्ट्रेट अफ होर्मुज खुला छ, तर इरानमाथि हमला गर्ने वा दुश्मन राष्ट्रका जहाजलाई रोक लगाइन्छ । बाँकी देशका जहाज निर्बाध चल्न सक्छन् ।’ यद्यपि, सुरक्षा चिन्ताका कारण धेरै जहाजहरूले यो मार्ग प्रयोग गर्न अस्वीकार गरेका छन्, जसले विश्वव्यापी इन्धन आपूर्तिमा प्रभाव पारेको छ । उनले यो निर्णय जहाज कम्पनीहरूको भएको र इरानसँग प्रत्यक्ष सम्बन्ध नभएको बताए । केही तेल ट्यांकरहरू अझै पनि यो मार्गबाट आवतजावत गरिरहेका छन्, जसमा भारततर्फ जाँदै गरेका दुई जहाज पनि समावेश छन् । यसैबीच, अमेरिकाले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीपमा सैन्य लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला राख्न चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायतलगायत देशहरूलाई युद्धपोत पठाउन आह्वान गरेका छन् ।
एमालेको वर्तमान पद्धति र हठलाई जनताले पूर्ण रूपमा अस्वीकार गरे: सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान सञ्चालन पद्धति, कार्यशैली र हठलाई जनताले मतपत्रमार्फत पूर्ण रूपमा अस्वीकार गरेको बताएका छन् । निर्वाचन परिणामलाई षड्यन्त्र वा अन्तर्घातको नाम दिएर नेतृत्व उम्किन नमिल्ने उनको भनाइ छ । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पाण्डेले ४०–५० हजारको ठूलो मतान्तरलाई अन्तर्घातको सामान्य आरोप लगाउनु जनताको विवेकको अपमान भएको तर्क गरे । ‘यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार नेतृत्वसँग कति बाँकी छ ?’ उनले प्रश्न गरेका छन् । पाण्डेले अब पार्टीको समग्र संरचना र कार्यशैली नै ‘रिसेट’ गर्नुपर्ने आवश्यकता औंल्याउँदै पुरानै सोच र शैलीमा अडिग रहे थप संकटमा पर्ने चेतावनी दिएका छन् ।
आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर एकको खरिद १४७.६४, बिक्री १४८.२४
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार, मार्च १५, २०२६) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर (१): खरिद १४७.६४ रुपैयाँ, बिक्री १४८.२४ रुपैयाँ युरोपियन युरो (१): खरिद १६९.२८, बिक्री १६९.९७ बेलायती पाउण्ड (१): खरिद १९५.७५, बिक्री १९६.५४ स्विस फ्रांक (१): खरिद १८७.४८, बिक्री १८८.२४ अस्ट्रेलियन डलर (१): खरिद १०३.९८, बिक्री १०४.४० क्यानेडियन डलर (१): खरिद १०७.९९, बिक्री १०८.४३ सिङ्गापुर डलर (१): खरिद ११५.३३, बिक्री ११५.८० जापानी येन (१०): खरिद ९.२६, बिक्री ९.३० चिनियाँ युआन (१): खरिद २१.४१, बिक्री २१.५० भारतीय रुपैयाँ (१००): खरिद १६०.००, बिक्री १६०.१५ अन्य प्रमुख मुद्राहरूमा साउदी रियाल (१): ३९.३५/३९.५१, कतारी रियाल (१): ४०.५०/४०.६६, युएई दिराम (१): ४०.१९/४०.३६, मलेसियन रिङ्गेट (१): ३७.४९/३७.६४ आदि तोकिएका छन् । केन्द्रीय बैंकले यो दर आवश्यकतानुसार संशोधन गर्न सक्ने तथा वाणिज्य बैंकहरूले फरक दर लागू गर्न सक्ने जनाएको छ । अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न सकिन्छ ।
पश्चिमी न्यून चापको प्रभावमा देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने अन्य भागमा आंशिक बादल छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी/हिमाली क्षेत्रमा सामान्य बादल लाग्नेछ । हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागका केही स्थानमा साथै तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको पनि सम्भावना रहेको छ । राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी/हिमाली क्षेत्रमा सामान्य बादल लाग्नेछ । हिमाली भागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्छ भने कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ ।
बरहथवामा स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ घाइते
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरमा शुक्रबार साँझ स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डिएल–९सी–जेड ०७७७ नम्बरको स्कारपियोले बिहे जन्तीका व्यक्तिहरूलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका बरहथवा–९ निवासी करिब ५० वर्षीय नारायण जर्गा मगरको नगर अस्पताल बरहथवामा उपचारका क्रममा मृत्यु भएको छ । घाइते हुनेमा रौतहटका कमल पटेल (७०), बन्धना पटेल (४५), बरहथवाका रुपेश मण्डल (१८), प्रतिमाकुमारी पटेल (१५), दिलीप राय (१९), चन्दन पासवान (२३), दीपिका जैसवाल (१२), रामजी राय (२०), मुकेश राउत (२३), रामनारायण ठाकुर (५५) र गुलाबकुमारी मण्डल (४५) रहेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ र उनीहरूको बरहथवाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि स्कारपियो चालक बरहथवा–१२ लौकठ निवासी करिब ४० वर्षीय नरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
आज यी क्षेत्रमा पानी पर्नेछ भने उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । नेपालमा पश्चिमी वायु र पूर्वी भू–भाग नजिकको तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । हाल बागमती र गण्डकी प्रदेशका साथै कोशी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने बाँकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशको पहाडी क्षेत्रका केही स्थान र बागमती प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लाग्ने र बाँकी भागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ । आज राति देशको हिमाली भू–भागमा सामान्यतया बादल लाग्ने र बाँकी भागमा आंशिक बादल लाग्ने छ । हिमाली क्षेत्रका थोरै स्थान तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
अमेरिकी डलरको भाउ ह्वात्तै बढ्यो, अन्य विदेशी मुद्राको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मार्च १४, २०२६) का लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । मुख्य मुद्राहरूको खरिद तथा बिक्री दर निम्नानुसार छ : अमेरिकी डलर : खरिद १४७.६४, बिक्री १४८.२४ युरोपियन युरो : खरिद १६९.२८, बिक्री १६९.९७ बेलायती पाउण्ड स्ट्रलिङ : खरिद १९५.७५, बिक्री १९६.५४ स्विस फ्रयाङ्क : खरिद १८७.४८, बिक्री १८८.२४ अष्ट्रेलियन डलर : खरिद १०३.९८, बिक्री १०४.४० क्यानेडियन डलर : खरिद १०७.९९, बिक्री १०८.४३ सिङ्गापुर डलर : खरिद ११५.३३, बिक्री ११५.८० जापानी येन (१०) : खरिद ९.२६, बिक्री ९.३० चिनियाँ युआन : खरिद २१.४१, बिक्री २१.५० साउदी रियाल : खरिद ३९.३५, बिक्री ३९.५१ कतारी रियाल : खरिद ४०.५०, बिक्री ४०.६६ युएई दिराम : खरिद ४०.१९, बिक्री ४०.३६ मलेसियन रिङ्गेट : खरिद ३७.४९, बिक्री ३७.६४ भारतीय रुपैयाँ (१००) : खरिद १६०.००, बिक्री १६०.१५ अन्य मुद्राहरूमा पनि यस्तै दर तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुन सक्छ । अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइट हेर्न सकिन्छ ।
एनआरएनएको १२औँ विश्व सम्मेलन आजदेखि काठमाडौंमा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आज शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटनपछि साँझदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । अध्यक्ष पदमा बेलायतका डा. हेमराज शर्मा र अमेरिकाका रविनराज बज्राचार्य मुख्य प्रतिस्पर्धी छन् । अर्का उम्मेदवार रोविनप्रसाद शेरचनले डा. शर्मालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन् । दुवै उम्मेदवारले आफ्नो प्यानलसहित मत मागिरहेका छन् तर सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी छ । वर्तमान अध्यक्षद्वय बद्री केसी र महेश कुमार श्रेष्ठले अध्यक्ष तथा महासचिवजस्ता मुख्य पदमा सहमतिको अधिकतम प्रयास भइरहेको बताएका छन् । निर्वाचनमा विश्वभरका ४ हजार २ सय ८६ प्रतिनिधिले भौतिक तथा अनलाइन माध्यमबाट मतदान गर्नेछन् । केही पदहरूमा निर्विरोध निर्वाचन भइसकेको छ । जसमा उपाध्यक्ष (महिला) रोजिना प्रधान राई, सचिव (महिला) राधिका गुरुङ, कोषाध्यक्ष (महिला) संगीता मरहठ्ठा, अफ्रिका क्षेत्र संयोजक चक्रबहादुर थापा, ओसियाना क्षेत्र संयोजक दीपक शर्मा, मध्यपूर्व क्षेत्र संयोजक मनोजकुमार श्रेष्ठ आदि छन् । विश्वका ८० भन्दा बढी देशबाट प्रतिनिधि काठमाडौंमा उपस्थित छन् । सम्मेलनले वैदेशिक लगानी, नागरिकताको निरन्तरता तथा प्रवासी नेपालीका हकहितका मुद्दामा छलफल गर्नेछ । सहमति भए मुख्य पदाधिकारीसहित कार्यसमिति निर्विरोध चयन हुन सक्ने सम्भावना छ ।
काठमाडौंका यी क्षेत्रमा आज विद्युत् कटौती हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणको सूचनाअनुसार बानेश्वर वितरण केन्द्रअन्तर्गत गोठाटार र बत्तीसपुतली फिडरबाट वितरण हुने क्षेत्रमा ११ केभी लाइनको मर्मत तथा जीर्ण पोलको सुधार र नयाँ जडानका लागि बिजुली बन्द गरिनेछ । पेप्सीकोला, टाउन प्लानिङ लगायतका क्षेत्रमा बिहान ११:०० बजेदेखि दिउँसो १:३० बजेसम्म मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् आपूर्ति नियमित हुनेछ । उपभोक्तालाई पर्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
काठमाडौंसहित देशका मुख्य ठाउँमा ग्यासको अभाव, आपूर्ति नियमित रहेको निगमको दावी
काठमाडौं । मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीच जारी युद्धका कारण खाडी क्षेत्रको समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ प्रभावित भएसँगै नेपालमा खाना पकाउने ग्यासको आपूर्तिमा असर परेको छ । काठमाडौं, पोखरा, विराटनगर, भरतपुर, बुटवललगायत देशका मुख्य सहरमा ग्यास अभाव देखिएको छ । कतिपय डिपो बन्द छन् भने खुलेका ठाउँमा पनि सीमित मात्रामा ग्यास उपलब्ध छ । नेपाल आयल निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा भने आपूर्ति नियमित रहेको दाबी गरिएको छ । “हामीले मागअनुसार भारतबाट नियमित ग्यास आपूर्ति गरिरहेका छौं । अभाव भनेको उपभोक्ताको अनावश्यक त्रास र होर्डिङका कारण हो,”। तर बजारमा देखिएको लाइन र गुनासोलाई नियन्त्रण गर्न निगमले शुक्रबारदेखि नयाँ व्यवस्था लागू गरेको छ । शुक्रबारदेखि निगमले आधार सिलिण्डर ग्याँस बिक्री सुरु भएको जनाएको छ । निगमका अनुसार नेपाललाई मासिक रूपमा करिब ४५,००० सिलिन्डर ग्यास आवश्यक पर्छ । नेपाल पूर्ण रूपमा भारतबाट ग्यास आयात गर्छ । भारतमा पनि मध्यपूर्व युद्ध र केही रिफाइनरी मर्मतका कारण आपूर्ति प्रक्रिया प्रभावित भएको बताइएको छ । यसले विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको ढुवानीमा समस्या निम्त्याएको छ ।
दुबईको मुख्य व्यवसायिक केन्द्रमा इरानको आक्रमण
दुबई – दुबईको अल बदाआ क्षेत्रमा बिहीबार एक ड्रोन खसेको छ। उक्त ड्रोन शेख जायद रोडमा रहेको एक भवनको बाहिरी भागमा ठोक्किएको अधिकारीहरूले बताएका छन्। शेख जायद रोड दुबईको अन्तर्राष्ट्रिय वित्तीय केन्द्र (DIFC) नजिक पर्ने प्रमुख सडक हो। ‘मकाउ बिजनेस डटकम’ ले जनाएअनुसार, अमेरिका र इजरायलसँग सम्बन्धित आर्थिक केन्द्रहरूमा इरानले आक्रमण गर्ने धम्की दिएपछि यो घटना भएको हो। बुधबार अमेरिकी बैंक तथा अन्य कम्पनीहरूले आफ्ना कार्यालय बन्द गरी कर्मचारीहरूलाई बाहिर पठाएका थिए। दुबई मध्यपूर्वको प्रमुख वित्तीय केन्द्र हो। फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि दुबईले इरानी आक्रमणबाट प्रभाव भोगिरहेको छ। अधिकारीहरूका अनुसार, यो घटनामा कुनै क्षति वा घाइते नभएको बताइएको छ।
एमाले अध्यक्ष ओलीलाई पितृशोक परेकामा संयोजक प्रचण्डद्वारा दु:ख व्यक्त
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले फेसबुकमार्फत यो समवेदना सार्वजनिक गर्नुभएको हो। प्रचण्डले भन्नुभयो, “नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका बुवाको निधनले दुःखी बनाएको छ।” उहाँले थप्नुभयो, “बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केपी जी लगायत शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।”
मध्यपूर्वको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि प्रभावित
काठमाडाैं । फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि नराम्ररी प्रभावित भएका छन् । क्षेत्रीय अस्थिरता, सुरक्षाको चिन्ता र हवाई क्षेत्र बन्द हुँदा दर्जनौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरू स्थगित, रद्द वा अन्योलमा परेका छन् । विशेषगरी फुटबल क्षेत्रमा यसको प्रभाव उल्लेख्य देखिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो क्यालेन्डरअन्तर्गत पश्चिम क्षेत्रका सबै खेलहरू तत्कालका लागि स्थगित गरेको छ । यसमा एएफसी च्याम्पियन्स लिग एलाइट, एएफसी च्याम्पियन्स लिग टु र एएफसी च्यालेन्ज लिग जस्ता प्रतियोगिता समावेश छन् । साउदी अरब, कतार, यूएई, इरान र कुवेतका क्लबहरू सहभागी हुने खेलहरू रोकिनुका साथै क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर जस्ता चर्चित टोलीहरू पनि प्रभावित भएका छन् । इरानको घरेलु ‘पर्सियन गल्फ प्रो लिग’ अनिश्चितकालका लागि निलम्बन गरिएको छ भने विदेशी खेलाडीहरू धमाधम देश छोडिरहेका छन् । दक्षिण कोरियाली डिफेन्डर ली की–जे तेहरानस्थित आफ्नै दूतावासमा शरण लिएर स्वदेश फर्कन सफल भएका छन् । युद्धको प्रभाव फुटबलमा मात्र सीमित छैन । कतारमा मार्च २७ मा हुने तय भएको स्पेन र अर्जेन्टिनाबीचको बहुप्रतिक्षित ‘फाइनलिसिमा’ खेल पनि अन्योलमा परेको छ । कतार फुटबल एसोसिएसनले घरेलु खेलहरू स्थगित गरेपछि उक्त खेल हुने सम्भावना कमजोर बनेको छ । यस्तै, संयुक्त अरब इमिरेट्समा हुने फुजैराह ओपन टेनिस प्रतियोगिता पनि सुरक्षाका कारण रद्द गरिएको छ । खेल तालिका अस्तव्यस्त बनेपछि विभिन्न खेल संघहरू अहिले प्रतियोगिता सञ्चालनभन्दा पनि खेलाडीहरूको सुरक्षा र उद्धारमा केन्द्रित भएका छन् ।
सात महिनामा रेमिट्यास ३९ दशमलव ८ प्रतिशतले वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आव २०८२/८३ को सात महिना (२०८२ माघसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात दशमलव प्रतिशतले बढेको थियो । गत माघ महिनामामा मात्र रु एक खर्ब ९८ अर्ब आठ करोड बराबर विप्रेषण भित्रिएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ३७ अर्ब ५० करोड रहेको थियो । गत माघ मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई आठ अर्ब ८६ करोड पुगेको छ । यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु नौ खर्ब ८६ अर्ब ३४ करोड रहेको थियो । त्यस्तै, यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४५ हजार १५३ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख २७ हजार ४२४ रहेको राष्ट्र बैंकले जनाएको छ ।

