प्रमुख तीन दलका नेताहरू छलफलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलगायत शिर्ष नेताहरुको वालुवाटारमा छलफल भैरहेको छ । 

शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको बिहीबार छलफल भएको हो। 

'शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।' प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।

पत्रकार महासंघको मनोनयन मिति सर्यो

काठमाडौं। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचनका लागि तोकिएको मनोनयन मिति २ दिन पर धकेलिएको छ। २२ गते हुने मतदानका लागि आज १३ गते मनोनयनको मिति तोकिएको थियो। केही आन्तरिक तयारी नपुगेको भन्दै निर्वाचन समितिले मनोनयन मिति पर सारेको छ। निर्वाचन समितिका अनुसार अब १५ गते मनोनयन हुनेछ। प्रदेश समितिका लागि भने १७ गते मनोनयन मिति राखिएको छ। मतदान भने जिल्ला, प्रदेश र केन्द्रको एकैदिन २२ गते गर्ने महासंघको तयारी रहेको छ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आज सचिवालय बैठक बस्दैछ । दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठानिक दस्तावेजको टुंगो लगाइने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । उनका अनुसार आजको बैठकमा पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्ताबेज अनुमोदन तथा प्रतिनिधिको नामावली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा हुनेछ । असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्नेछ । एकीकृत समाजवादीले आसन्न राष्ट्रिय महाधिवेशनमा करिब दुई सय स्वयंसेवक परिचालन गर्ने भएको छ । पार्टी निकट राष्ट्रिय खेलकुद महासङ्घ, मजदुर सङ्गठन र भूतपूर्व सुरक्षाकर्मीलाई समावेश गरी स्वयंसेवक परिचालन कमिटी गठन गरिएको हो । महाधिवेशन स्थलको व्यवस्थापन, सबै प्रतिनिधि तथा विशिष्ट नेताको सुरक्षा, प्रतिनिधिलाई आवाससम्म लैजाने र ल्याउने, भीड व्यवस्थापन, शुभकामना दिन आउने विभिन्न पार्टीका नेतागण, पर्यवेक्षकलगायतको सुरक्षा व्यवस्थापनलगायत कामको जिम्मा दिइएको कमिटी संयोजक केशव विष्टले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले मातहतका अन्य १३ कमिटीले गरेका सम्पूर्ण कामहरू महाधिवेशन केन्द्रित गर्न भनिएको छ । उक्त समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीले देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट गरेको छ । छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात् ९५ जना प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ। केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने जनाइएको छ ।

अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो ५७ रनको लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन मात्र जोड्यो। अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३–३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २–२ विकेट लिए। अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्। अफगानिस्तान पहिले न्युजिल्यान्ड, अस्ट्रेलिया र त्यसपछि बंगलादेशलाई हराउँदै सेमिफाइनल पुगेको थियो।   

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।  प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।  सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।  ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  त्यसैगरी आज बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउने, राष्ट्रियसभाका सचिवले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ ।  अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने र उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ । 

एसईईको नतिजा सार्वजनिक हुँदै

काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार (आज) बिहान सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने जानकारी दिए।  नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी पूरा भएको उनले बताए। नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ ।  २०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार  विद्यार्थी सहभागी भएका थिए । 

बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार १३ गते बिहीबार सन् २०२४ जुन २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६४ पैसा र बिक्री दर १६९ रुपैयाँ ४० पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६० पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

यस्तो हुनेछ आजको मौसम

काठमाडौं ।   हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको थोरै स्थानहरु साथै  कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै मधेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ | राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |

औषधि उद्योग तथा फार्मेसीको अनुगमन गर्न समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि उद्योग, फार्मेसी तथा औषधिसँग सम्बन्धित निकायहरूको स्थलगत अनुगमनका लागि समिति गठन गरेको छ। अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित समितिले जिल्लास्तरमा स्थलगत अनुगमन गर्नेछ। समितिले ती निकायहरूको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया तथा मापदण्ड, औषधिको गुणस्तर, समस्या र चुनौतीबारे स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ । समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ ।

गोरखा मिडियामा रकम प्रवाह गर्ने सहकारीको विवरण माग

काठमाडौँ । सहकारीको रकम अपचलन, दुरुपयोग र हिनामिनाबारे छानबिन गर्न गठित विशेष छानबिन समितिले छानबिनका लगि तोकिएका अनुसूची २ का ९ वटा सहकारीको विवरण माग गरेको छ।  बुधबार बसेको समितिको बैठकले अनुसूची २ मा रहेका ९ वटा सहकारीका कागजात सम्बन्धित निकायबाट माग्ने निर्णय गरेको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए।  साथै बैठकले गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न सहकारीबाट प्रवाह भएको रकम सन्दर्भमा चासो केन्द्रित भएको सभापति थापाको भनाइ छ। उनले यसअघिका विभिन्न समितिहरूका प्रतिवेदनहरू प्राप्त भएको भन्दै ती प्रतिवेदनहरू समितिका सदस्यहरूलाई अध्ययनका निम्ति वितरण गरेको बताए।  सहकारीको समग्र विषयको अध्ययनलाई सम्पन्न गर्दै कार्यदेशले तोकिएअनुसार समितिले अध्ययन गरिरहेको भन्दै समिति सभापति थापाले सहकारीको घोटला प्रकरणको दुधको दुध पानीको पानी बनाउने बताए।

एसईईको नतिजा भोलि सार्वजनिक गरिदै

काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार (भोलि) बिहान सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बिहीबार बिहान नतिजा सार्वजनिक गरिने जानकारी दिए।  नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी पूरा भएको उनले बताए। नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ ।  २०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार  विद्यार्थी सहभागी भएका थिए । 

जलवीरेमा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन ।  नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उहाँले राससलाई बताए। 

असान्ज नजरबन्द मुक्तीको राष्ट्रसङ्घद्वारा स्वागत

काठमाडौं । संयुक्त राष्ट्र संघले मङ्गलबार विकिलिक्सका संस्थापक जुलियन असान्जको बेलायतमा नजरबन्दबाट रिहाइलाई “यस मुद्दालाई निश्चित रूपमा समाधान गर्ने महत्वपूर्ण कदम भनी प्रशंसा गरेको छ। असान्जले संयुक्त राज्यका अधिकारीहरूसँग निवेदन सम्झौतामा पुगेपछि अन्तिम अदालतको सुनुवाइको सामना गर्न तयार थिए, नजरबन्द मुक्तीले उनको वर्षौं लामो काराबास जिवनको अन्त्य गरेको थियो। “बेलायतमा नजरबन्दबाट जुलियन असान्जको रिहाइलाई स्वागत गरेको बताउदै संयुक्त राष्ट्रसङ्घको अधिकार कार्यालयकी प्रवक्ता लिज थ्रोसेलले अन्तिम निवेदन सम्झौता अझै स्वीकृतिको प्रतीक्षामा रहेको जनाएका हुन् । आफुहरुले बारम्बार यो विषय उल्लेख गरिसकेको जनाउदै उनले यो मुद्दाले लामो समय देखि मानव अधिकारको चिन्ताको श्रृङखला खडा गरेको बताए। प्रशान्त महासागरको उत्तरी मारियाना टापुको अदालतमा दायर गरिएको कागजात अनुसार असान्ज राष्ट्रिय रक्षा जानकारी प्राप्त गर्न र प्रसार गर्न षड्यन्त्रको एकल गणनामा दोषी ठहर गर्न सहमत भएका छन् । उनी बुधवार अदालतमा उपस्थित हुने छन् । असान्जको बढ्दो लामो नजरबन्दले पनि चिन्ताको छुट्टै मुद्दा खडा गरेको बताउदै थ्रोसेलले आउँदो दिनमा पनि घटनाक्रमको निरन्तर निगरानी जारी राख्ने बताए।

परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच भेटवार्ता

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधवार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्रबी श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भएको हो। भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको छ। भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताए। उपप्रधानमन्त्री श्रेष्ठले नेपालको विकासका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र आगामी दिनमा पनि विकासमा निरन्तरता दिन आग्रह गरे। साथै, नेपालसँगका विभिन्न सीमा नाकाहरु सुचारु गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ।