स्वास्थ्यमन्त्रीसमक्ष प्रतिवेदन पेस
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमसमक्ष मन्त्रालय र मातहतका निकायहरूको सार्वजनिक खरिद व्यवस्थापनलाई थप पारदर्शी, मितव्ययी र नतिजामुखी बनाउन गठित उच्चस्तरीय कार्यदलले प्रतिवेदन बुझाएको छ ।
मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यदलले प्रतिवेदन मन्त्रीसमक्ष बुझाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । प्रतिवेदनमा खरिद गुरुयोजना, ई–जीपीको पूर्ण कार्यान्वयन र मन्त्रालयमा खरिद गरिएका उपकरणहरूको कम्तीमा पाँच वर्षको मर्मत सम्भार सम्झौता अनिवार्य गर्नुपर्ने जस्ता कुरा समेटिएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।
प्रतिवेदन बुझ्दै मन्त्री डा. गौतमले प्रतिवेदनमा समेटिएका सुझावहरूलाई कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन् । उनले स्वास्थ्य क्षेत्रको खरिद प्रणालीमा रहेका विगतका समस्यालाई समाधान गरी नागरिकले पाउने स्वास्थ्य सेवाको गुणस्तरमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको बताइन् ।
मन्त्रालयले मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. चुमनलाल दासको संयोजकत्वमा पूर्वसचिव सुरेश प्रधान, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका पूर्वनिर्देशक डा. भीमसिंह तिंकरी रहेको कार्यदल गठन गरेको थियो ।
जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर बर्सेनि बढ्दै गएपछि ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने भएको छ । आगामी चैत १ देखि ५ गतेसम्म जिल्लाभर जापनिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईँले बताए । अभियानअन्तर्गत जिल्लाभित्र रहेका ३५ वर्षमाथिका एक लाख ५० हजार बढी नागरिकलाई खोप लगाइने लक्ष्य राखिएको छ । “चालु आर्थिक वर्षमा मात्र जिल्लामा जापनिज इन्सेफलाइटिसका १५ सङ्क्रमित फेला परेका छन् । तीमध्ये ६ जनाको मृत्यु भइसकेको छ”, उनले भने, “सङ्क्रमण दर बर्सेनि बढ्दै जान थाले पछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) लाई मात्र लक्षित गरेर खोप अभियान सञ्चलन गर्न लागिएको हो ।” जिल्लामा रोगको जोखिम देखिँदै गएपछि यसको रोकथामका लागि खोप अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य अधिकृत प्रवीणकुमार खनालले बताए । उनका अनुसार अभियानमार्फत जिल्लाका आठ वटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिने छ । “लक्षित उमेर समूहका सबै नागरिकलाई नजिकको खोप केन्द्रमा गई अनिवार्य रूपमा खोप लगाउन जिल्लाका ३५ वर्ष उमेर र सो माथिका नागरिकलाई आग्रह गरेका छौँ”, उनले भने, “स्थानीय तह, स्वास्थ्य संस्था र सरोकारवाला निकायसँग सहकार्य गरी अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी गरेका छाैं।” नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा आर्थिक वर्ष २०७९/८० मा सात जनामा जापनिज इन्सेफलाइटिस पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसै गरी आव २०८०/८१ मा आठ जनामा सङ्क्रमण भएकामध्ये एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईँले जानकारी दिए । जापनिज इन्सेफलाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो । यी लामखुट्टेहरू मध्यम आकारका, खैरो रङको र पेटतिर भने सेतो चिह्न भएका हुन्छन्, तिनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन् । विशेष गरी धान बालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख वासस्थान हो, साउन, भदौ र असोजमा जापनिज इन्सेफलाइटिस बढी देखिने गर्दछ । यस रोगबाट धेरै व्यक्ति गम्भीर बिरामी नहुने गरे पनि केहीको गम्भीर अवस्था सृजना भई दिमागलाई नै असर गरी मृत्यु हुने गरेको प्रमुख चापागाईँले बताए । “यो रोग लाग्दा धेरैजसोलाई ज्वरो, झाडापखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने, टाउको दुखाई वा कमजोरी देखिन्छन्”, उनले भने, “यस रोगका खतराका लक्षण छारे रोग, प्यारालाइसिस र अचेत हुनु रहेको छ ।”
प्याकेजमा समेटिँदै पोखरादेखि मुक्तिनाथसम्मका पर्यटकीय गन्तव्य
गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशले पर्यटन यातायातका माध्यमबाट पोखरादेखि हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय गन्तव्य समेट्ने भएको छ । पोखरादेखि मुस्ताङसम्मका धार्मिक पर्यटकीय गन्तव्यलाई यही चैत १ गतेदेखि पर्यटन यातायातका माध्यमबाट समेट्न लागिएको सङ्घका अध्यक्ष दुर्गादत्त दाहालले जानकारी दिए । गण्डकी प्रदेश धार्मिक पर्यटनको गन्तव्य भएको बताउँदै उनले यहाँको धार्मिक पर्यटनको प्रवर्द्धन र विकासलाई सङ्घले प्राथमिकतामा राखेको उनले बताए । पोखराबाट मुक्तिनाथसम्मका गन्तव्यलाई एउटै यात्रामा अवलोकन गर्न पाउने गरी सङ्घले सुलभ दरमा आकर्षक प्याकेजसहित मुक्तिनाथ दर्शनको सेवा सुरु गर्न लागेको कार्यक्रम संयोजक एवं सङ्घका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । पोखरादेखि मुक्तिनाथसम्म यात्राका क्रममा बाटोमा पर्ने धार्मिक पर्यटकीय गन्तव्यलाई एउटै प्याकेजमा समेट्न लागिएको उनले बताए । “हामीले पोखरादेखि मुक्तिनाथसम्मको दुई दिने प्याकेज तयार गरेका छौँ”, उनले भने, “पहिलो दिन पोखराबाट दृश्यावलोकन सहित पर्यटकहरू कुस्मा बजार, बागलुङ कालिका मन्दिर, गलेश्वर मन्दिर दर्शनका साथै तातोपानी, मार्फा गाउँ अवलोकन गर्दै जोमसोम पुग्नेछन् भने दोस्रो दिन जोमसोमबाट कागबेनी हुँदै मुक्तिनाथको दर्शन गरी पोखरा फर्कन्छन् ।” प्रयोग गरिने सवारीसाधनसँगै होटलको खाना र खाजाको अवस्थाअनुसार न्यूनतम दुई हजार ९९९ रुपैयाँदेखि तीन हजार ९९९, चार हजार ९९९ र पाँच हजार ९९९ रुपैयाँसम्मका प्याकेज निर्धारण गरिएको उनले जानकारी दिए । पछिल्ला समयमा देशका विभिन्न स्थानबाट आउने पर्यटकसँगै भारतीय पर्यटक र अन्य विदेशी मुलुकका पर्यटकहरू ठुलो सङ्ख्यामा मुक्तिनाथ पुग्ने गरेको संघका सल्लाहकार एवं पूर्वअध्यक्ष बोबरजङ्ग गुरुङले बताए । स्वदेशी एवं विदेशी पर्यटकको सुविधालाई दृष्टिगष्त गरी उक्त क्षेत्रमा सुरु गरिएको आकर्षक प्योकजसहितको कार्यक्रमले पर्यटकलाई सुविधा पुग्ने र यसले पर्यटकको आगमन बढाउने विश्वास लिइएको उनले बताए । उनका अनुसार सङ्घअन्तर्गत आबद्ध १२४ सदस्यहरूले विभिन्न सुविधा सम्पन्न पर्यटक सवारीसाधन सञ्चालन गर्दै आएका छन् ।
पर्वतमा अफ्रिकन स्वाइन: ४६ बङ्गुर मरे
पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बङ्गुरपालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतमा अहिलेसम्म उक्त रोगको सङ्क्रमणका कारण ४६ वटा बङ्गुर मरिसकेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुस्मा नगरपालिका क्षेत्रमा पालिएका केही बङ्गुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो हुने, खाना नखाने र अचानक मृत्यु हुने जस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो । नमुना सङ्कलन गरी गरिएको र्यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालयले जनाएको छ । थप पुष्टि गर्न नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, पोखरा पठाइएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए । कार्यालयले रोगको शङ्का देखिएको क्षेत्रमा अनुगमन बढाएको छ । साथै रोग फैलिन नदिन किसानलाई बङ्गुर पालनस्थल सफा राख्ने, फार्ममा नियमित रूपमा चुन, ब्लिचिङ पाउडर, फर्मालिनलगायतका औषधि प्रयोग गरी निसङ्क्रमण गर्ने, बिरामी बङ्गुरलाई छुट्टै राख्ने र फार्ममा जैविक सुरक्षा अपनाउन आग्रह गरिएको उनले बताए । शङ्कास्पद अवस्थामा बङ्गुरको नमुना प्रयोगशालामा परीक्षण गराउन, मरेका बङ्गुरलाई गहिरो खाडल खनेर गाड्न वा जलाउन, घरपालुवा बङ्गुरलाई जङ्गली बङ्गुरसँग सम्पर्क हुन नदिन तथा होटल वा भान्साबाट निस्कने फोहर खुवाउन नहुने उनले बताए । पर्वतका विभिन्न पालिकामा गरी ४० भन्दा बढी व्यावसायिक बङ्गुर फार्म रहेका छन् । अहिले सदरमुकाम आसपास यो रोग पुष्टि भएको र आवश्यक सतर्कता नअपनाएमा अन्य क्षेत्रमा सङ्क्रमण बढ्ने खतरा रहेकोले कृषकहरूलाई सचेत हुन आग्रह गरिएको छ ।
समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि
गाइघाट । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरकाअनुसार यस वर्ष जिल्लामा कूल पाँच हजार ४५५ मेट्रिकटन कोदो उत्पादन भएको छ । गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष जिल्लाको पहाडी क्षेत्रमा वर्षा राम्रो हुँदा कोदो उत्पादन बृद्धि भएको कृषि ज्ञान केन्द्र उदयपुरका सूचना अधिकारी अनु बिसीले जानकारी दिइन्। जिल्लाको पहाडी क्षेत्रमा पर्ने ताप्ली, उदयपुर गढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकासहित त्रियुगा नगरपालिकाका पहाडी क्षेत्र, बेलका, चौदण्डी गढी तथा कटारी नगरपालिकाका पहाडी क्षेत्रमा कोदो खेती हुँदै आएको छ । त्रियुगा नगरपालिका–१६ सुकौराका डम्बरबहादुर राईकाअनुसार गाउँमा धेरै जग्गा पाखोबारी रहेको र बाध्य भएर पनि कोदो खेती गर्नुपर्ने भएकाले उत्पादन राम्रो भएको हो । उहाँले युवा विदेश पलायन भइरहेपनि गाउँका बुढापाकले कोदो खेतीमा निरन्तरता दिइरहेको बताए । यस पटक पहाडी क्षेत्रमा वर्षा राम्रो भएको कारण कोदो उत्पादन बृद्धि भएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताउनुभयो । कृषि ज्ञान केन्द्रकाअनुसार उदयपुरमा हाल दुई हजार ७६५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ ।
मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह
काठमाडौँ । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ। विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ। विभागले मंगलबार एक अपिलमार्फत वायु प्रदूषण बढी भएको समयमा घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्न, आफ्ना सवारीसाधनको नियमित मर्मतसम्भार गर्न र फोहोर तथा बालीनालीका अवशेषहरु नजलाउने र जलाउने प्रवृत्ति सबैको पहलमा रोक्न अनुरोध गरेको छ । Laxmi sunrise bank त्यसैगरी, वन–जङ्गलमा डढेलो नलगाउने र लागिहालेमा तत्काल निभाउने प्रयास गर्न, निर्माण गतिविधिहरु गर्दा धुलो–धुवाँ नउड्ने व्यवस्था गर्न, उद्योग कलकारखाना सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्न विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सबैमा अनुरोध गरे। वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार सबै निकाय र आम नागरिकको सहकार्य र सकारात्मक प्रयास भएमा मात्र प्रदूषण न्यूनीकरण गर्न सम्भव र सहज हुने भएकाले त्यसका लागि सबैमा अनुरोध गरिएको उहाँले बताए। प्रदूषण बिहान–बेलुका समयमा उच्च हुने गरेको छ । चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएका कारण यो याममा वायु प्रदूषण हुने गरेको विभागको भनाइ छ।
मुलुकका विभिन्न भागमा पाँचजना मृत फेला
काठमाडौं । मुलुकका विभिन्न भागमा पाँचजना मृत फेला परेका प्रहरीले जानकारी दिएको छ । बागलुङको बागलुङ नगरपालिका-३, गहते बाँझोखेतस्थित खेतमा अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत फेला परेका छन् । प्रहरीका अनुसार उनले पर्वतको कुश्मा नगरपालिका-१ घर बताउने गरेका थिए । महोत्तरीको बर्दिबास नगरपालिका-३, राजाबासमा सोही ठाउँका २२ वर्षीय सुमन राना मगर मंगलबार मृत फेला परेका प्रहरीले जानकारी दिएको छ । त्यस्तै, कञ्चनपुरको वेदकोट नगरपालिका-७, हजारास्थित सडकमा नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । रूकुमपश्चिमको बाफिकोट गाउँपालिका-३, गरालागोठका निराजन वलीका छोरीहरू १४ वर्षीया उर्मिला वली र १२ वर्षीया कल्पना वली सोही गाउँपालिका-३, भाग्लेस्थित सानीभेरी नदीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।a
पोखरामा ६ टनभन्दा बढी मकैको बीउ अनुदानमा वितरण
कास्की । पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ । महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ एक हजार १०० किलो, अरुण–२ जातको बीउ तीन हजार १०० किलो र मनकामना–३ जातको बीउ दुई हजार १० किलो वितरण गरिएको छ । प्रतिकिलो रु ११० पर्ने मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । अनुदानमा बीउ वितरणका लागि महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेकामा निवेदन दिएका ५०० भन्दा बढी किसानलाई बीउ उपलब्ध गराइएको उनले जानकारी दिए। महानगर क्षेत्रमा करिब छ हजार हेक्टरमा मकैखेती हुने गरेको उनले बताए ।
शुक्लाफाँटामा बाघ गणना शुरु, ५८० क्यामेराले निगरानी
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलबारदेखि बाघ गणना औपचारिक रूपमा सुरु भएको छ । राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा, लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघहरूको गतिविधि र संख्या मापन थालिएको निकुञ्जले जानकारी दिएको छ । निकुञ्जले शुक्लाफाँटा–लालझाडी–जोगबुडालाई दुई–दुई किलोमिटरका २६० ग्रिडमा विभाजन गरी गणना सञ्चालन गरिरहेको छ । यसअघि ४३ पाटेबाघ फेला परेका शुक्लाफाँटामा यो काम प्रत्येक वर्ष निरन्तर भइरहेकाे छ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकका सानो क्षेत्रमा सबैभन्दा बढी बाघ भएको क्षेत्र मानिन्छ । पर्याप्त आहार प्रजातिका कारण यहाँ बाघहरूको संख्या अन्य निकुञ्जभन्दा बढी रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीका अनुसार, बाघ गणनाका लागि ५८० स्वचालित क्यामेरा जडान गरिएका छन् र ७७ जनाको प्राविधिक टोली खटाइएको छ । उनले भने, “यी क्यामेरा र टोलीको सहायताले बाघहरूको वास्तविक संख्या र व्यवहारको विस्तृत अध्ययन गर्न सकिनेछ ।”
देशभर लागुऔषधसहित १४ जना पक्राउ
काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट मधुवन नगरपालिका–७ शुक्रबस्ती बस्ने गौरव पुनमगर, झापाको कमल गाउँपालिका–६ गुवाबारीबाट सोही गाउँपालिका–६ बस्ने लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी सुनसरी, इनरुवा नगरपालिका–४ बाट सोही उपमहानगरपालिका–१८ का जेम्स राई र सोही उपमहानगरपालिका–१७ का सिद्धार्थ चौधरी पक्राउ परेका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका–५ बाट सोही नगरपालिका–७ डाँडापातु बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट राक्सिराङ गाउँपालिका–६ धुसराङ बस्ने सन्त सिंह लामा र सोही गाउँपालिका–२ बस्ने सन्तवीर मोक्तानलाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने प्रतिक चौधरीलाई कैलालीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–१९ धामी चोकबाट सोही उपमहानगरपालिका–१९ बस्ने बिवेक चौधरी, सोही उपमहानगरपालिका–१२ जुगेडा बस्ने नमराज बराइली र छत्र बहादुर विक पनि लागुऔषधसहित पक्राउ परेका छन् । यसैगरी, कैलाली, लम्कीचुहा नगरपालिका–१ अमौरीबाट जानकी गाउँपालिका–२ परागिपुर बस्ने रमेश दर्लामी मगरलाई प्रहरीले पक्राउ गरेको छ । बाँके, कोहलपुर नगरपालिका–११ सिद्धनगर डेरा गरी बस्ने गोबिन्द सुनार पनि पक्राउ परेका छन् । कास्की, पोखरा महानगरपालिका–९ शान्तिवनबाट सोही ठाउँ बस्ने सुनिल कमरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
रुकुमपश्चिममा विवाहमा गएका दुई बालिकाको शव फेला, एक बेपत्ता
रुकुमपश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, भाग्लेनजिकै सानीभेरी नदीमा मंगलबार (फागुन २६) दुई बालिकाको शव फेला परेको छ । उनीहरूसँगै गएकी एक बालिका बेपत्ता छिन् । बेपत्ता बालिकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँफिकोट गाउँपालिका–३, गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्लेनजिकै सानीभेरी नदी किनारामा फेला परेको रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए । उनका अनुसार, १२ वर्षीया सपना ओलीको खोजी भइरहेको छ । उर्मिला र कल्पनाको शव ५०० मिटर दूरीको अन्तरमा फेला परेको हो । उनीहरू सोमबार (फागुन २५) छिमेकीको विवाहमा गएका थिए । घर फर्कने क्रममा नदीले बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले बताए ।
आजका लागि कृषिउपजको थोक मूल्य कति ?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २४, आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ३५, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ६०, तिते करेला प्रतिकिलो रु १६०, लौका प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु २००, घिरौँला प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु १५, पालुङ्गो प्रतिकेजी रु ६०, चमसुर प्रतिकिलो रु ६०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, ब्रोकाउली प्रतिकिलो रु ३५, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु २५०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २८०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २३०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १७०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २१०, अङ्गुर (कालो) प्रतिकिलो रु ३२०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु २८०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १३०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु २००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
गुराँस हेर्न बागलुङमा रायराँयकोट
बागलुङ । बागलुङको रायराँयकोट यतिबेला चर्चामा छ। गुराँसको जङ्गलबिच रहेको धार्मिक तथा पर्यटकीयस्थल रायराँयकोटमा पूर्वाधार थपिएसँगै त्यहाँ पुग्ने पर्यटक बढेका हुन् । रायराँयकोटमा सडक, विद्युत्लगायतका पूर्वाधारको विकास भएको छ भने सत्तल पनि निर्माण भएको हो। रायराँयकोट पञ्चकोटसँग जोडिएकाले पनि पर्यटक आकर्षित गर्न सहज भएको हो । बागलुङ नगरपालिका–७ बौलुङमाथिको डाँडामा रहेको रायराँयकोट आसपासको क्षेत्र गुराँसले ढकमक्क भएको स्थानीय लालबहादुर गौतमले बताए । यहाँ वैशाख र जेठमा स्थानीय समुदायले वर्षादेवका रुपमा समेत पूजाआजा गर्दै आएका छन्। बागलुङ नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट यहाँको पूर्वाधार निर्माणमा सहयोग आएको छ । अहिले त्यहाँ सडक पुगेकाले सहज भएको छ । स्थानीय गौतमले भने, “पदमार्ग, खानेपानी, शौचालय र सत्तलजस्ता धार्मिक पूर्वाधारहरु निर्माण भएका छन्, अहिले गुराँससँग फोटो खिच्ने, टिकटक बनाउने र हिमशृङ्खला हेर्न यहाँ आउने बढेका छन्।” गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयअन्र्तगत रायराँयकोटमा अहिलेसम्म रु २० लाखको पूर्वाधार निर्माण भइसकेको छ । मन्दिरको छाना छाउने, पुरानो घण्टी संरक्षण, सत्तल निर्माण, पर्खाल निर्माण र मैदान बनाइएको छ । यस्तै पञ्चकोटदेखि संसारकोट पुग्ने पदमार्ग निर्माणका लागि रु ५० लाख बजेट सङ्घीय सरकारबाट आएको छ ।
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुगमन पुनः सुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकै पटक १७ वटा फर्ममा अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि सुजल टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले थप १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द भएको छ । अस्पतालको एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राही मर्कामा परेका छन् । अस्पतालको एक्स–रे उपकरणमा समस्या आउँदा पाँच दिनदेखि एक्स–रे सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । निर्वाचनका कारण बनाउनका समय लागेको बताउँदै एक्स–रे मा समस्या आएको उपकरण बनाउनका लागि काठमाडौँ पठाइसकिएको अस्पताल प्रशासनले जनाएको छ । एक्स–रे सेवा नियमित सञ्चालनमा आउने स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक कमल थानीले जानकारी दिए । पटकपटक एक्स–रे सेवा र सिटीस्क्यान बिग्रँदा प्रतिष्ठानको चर्को आलोचना हुने गरेको छ ।

