रेनु दाहालद्वारा मतदान गर्दै मतदातालाई योग्य उम्मेदवार छान्न आग्रह
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रेनु दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित सुन्दरबस्ती स्कुलबाट मतदान गर्नुभयो ।
नेकपाबाट चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रहनुभएकी दाहाल सुन्दरबस्ती स्कुल मतदान केन्द्र पुगेर मतदान गर्नुभएको हो ।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘भयरहित ढंगबाट, निष्पक्ष रूपमा जनताले आफ्नो अमूल्य मतदान गर्ने दिन हो । मैले पनि मतदान गरेँ । म धेरै उत्साहित छु । खुसी छु ।’
उहाँले थप्नुभयो, ‘आफ्नो अमूल्य मत योग्य उम्मेदवारलाई दिनुहोस् । योग्य व्यक्ति छान्नुहोस् । खासगरी काम गर्न सक्ने, कामबाट प्रमाणित भएको र इमानदार जनप्रतिनिधि छान्ने अधिकार तपाईंहरूको हातमा छ । त्यसका कारण आफ्नो भाग्य र भविष्यको फैसला गर्ने अधिकारलाई विवेकको प्रयोग गर्नुहोस् । यसलाई आवेगमा आएर हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नहोस् ।’
कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा कालीकोटमा मतदान
सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मतदान गर्नुभयो । नेकपाबाट कालीकोटमा उम्मेदवारसमेत रहनुभएका शाहीले चौथो पटक चुनावी मैदानमा उत्रनुभएको छ । उहाँ कालीकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलद्वारा अछाममा मतदान
अछाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले मतदान गर्नुभयो । आफ्नै गृह जिल्ला अछामको साँफेबगर नगरपालिका वडा नम्बर ६, भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयबाट बिहान ७ बजेर २ मिनेटमा उहाँले मतदान गर्नुभएको हो । उहाँ अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन 'अनन्त'द्वारा मतदान
रोल्पा । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा उम्मेदवार वर्षमान पुनले मतदान गर्नुभयो । उहाँले रोल्पाको बाल उदय माध्यमिक विद्यालय, मदिचौरबाट मतदान गर्नुभएको हो । पुन यसअघि पनि रोल्पा क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । उहाँ रोल्पाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक नेपालद्वारा रौतहटमा मतदान
रौतहट । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मतदान गर्नुभयो । उहाँले रौतहटको गौर नगरपालिकामा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ रौतहटबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।
नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन : प्रचण्ड
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको बताउनुभयो । चितवन–३ मा पर्ने भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले नयाँ र पुराना नभएर सही र गलत भन्ने भाष्य बनाउनुपर्नेमा जोड दिनुभयो । ‘नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन,’ संयोजक प्रचण्डले भन्नुभयो, ‘नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनुपर्यो ।’ उहाँले दलहरूको योजना र कार्यक्रमका आधारमा नयाँ–पुरानो भन्नुपर्नेमा पनि जोड दिनुभयो । ‘सबैसँग म अपिल गर्छु, यो सवाल नयाँ र पुरानाको हुँदै होइन । सही र गलतको हो,’ प्रचण्डले भन्नुभयो, ‘कसको योजना के, कार्यक्रम के भनेर हेर्नुपर्छ । त्यसको आधारमा नयाँ–पुरानो भन्ने हुने हो ।’ संयोजक प्रचण्डले राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा कुन दल छ भनेर पनि हेर्नुपर्ने बताउनुभयो । उहाँले सबैले विवेक प्रयोग गरेर सहीको पक्षमा उभिनुपर्ने पनि जोड दिनुभयो । ‘नयाँ र पुरानो भन्ने भाष्य जसरी बनाइएको छ, त्यो देश र लोकतन्त्रको हितमा छैन,’ प्रचण्डले दोहोर्याउँदै भन्नुभयो, ‘सबैले आफ्नो विवेकको प्रयोग गरौं । सहीको पक्षमा उभिऔं ।’
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डद्वारा चितवनमा मतदान, आजै रुकुमपूर्व जाने
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले चितवनबाट मतदान गर्नुभयो । क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल, शान्तिपुरबाट उहाँले मतदान गर्नुभएको हो । यो क्षेत्रमा उहाँकी छोरी तथा भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार रहनुभएको छ । प्रचण्डले भने आफैंलाई मत दिन पाउनुभएन । उहाँ यसपटक रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ । उहाँ आज नै आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने तयारी रहेको सचिवालयले जनाएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पनि प्रचण्डले मतदान गर्नुभएकै मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
मतदानका लागि करिब ८ लाखले छाडे काठमाडौँ उपत्यका
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि गृहजिल्ला पुगेर मतदान गर्न करिब आठ लाख सर्वसाधारणले काठमाडौँ उपत्यका छाडेका छन्। निर्वाचनको अवसरमा ठूलो संख्यामा यात्रु बाहिरिएका हुन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार बुधबार दिउँसोसम्म सात लाख ९० हजार व्यक्तिले उपत्यका छाडेका छन्। उनका अनुसार हिजोसम्म सात लाख ५० हजारले उपत्यका छाडेका थिए भने मतदान प्रयोजनका लागि थप ४० हजार व्यक्ति आज बाहिरिएका छन्। फागुन १ गतेदेखि बुधबार दिउँसोसम्म कुल सात लाख ९० हजार जना आ–आफ्नो गृहजिल्लातर्फ प्रस्थान गरेको तथ्यांक छ। बिहीबार देशभर एकै चरणमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ। ‘जेनजी’ आन्दोलनपछिको यो निर्वाचन भएकाले राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। विदेशमा बस्ने धेरै नेपाली नागरिक पनि मतदानका लागि स्वदेश फर्किएका छन्।
२४ घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी
काठमाडौं । निर्वाचन आयोगले मतपेटिका संकलन सम्पन्न भएको २४ घण्टाभित्रै मत परिणाम सार्वजनिक गर्ने जनाएको छ। निर्वाचन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतगणनालाई तीव्र र व्यवस्थित ढंगले अघि बढाइने स्पष्ट पारे। भण्डारीका अनुसार दुर्गम तथा पहुँचमा कठिनाइ हुने स्थानबाट मतपेटिका संकलन गर्न आवश्यक परे हेलिकप्टरको प्रयोगसमेत गरिनेछ। “छिटो हुन नसक्ने ठाउँमा हेलिकप्टरमार्फत पनि मतपेटिका ल्याउने व्यवस्था मिलाएका छौँ,” उनले भने, “मतपेटिका प्राप्त भई गणना सुरु गरेपछि २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्छौँ।” उनले प्रत्यक्षतर्फको मत परिणामसँगै समानुपातिकतर्फको परिणाम पनि सकेसम्म चाँडो सार्वजनिक गरिने जानकारी दिए। आयोगले मतगणना प्रक्रियालाई पारदर्शी, विश्वसनीय र समयबद्ध बनाउन सबै आवश्यक तयारी पूरा गरिसकेको दाबी गरेको छ। यसअघि गरिएको प्रतिबद्धताअनुसार नै परिणाम सार्वजनिक गरिने उल्लेख गर्दै भण्डारीले मतदातामा धैर्यता र विश्वास कायम राख्न आग्रह गरेका छन्।
निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी, काठमाडौं जिल्ला शाखाले बिहीबार (फागुन २१) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकासहित अन्य १० पालिकाका विभिन्न ३० मतदान केन्द्रमा चार/चार जना स्वयंसेवकले सेवा प्रदान गर्नेछन् । साथै, ती स्वयंसेवकको अतिरिक्त शाखाले एम्बुलेन्ससहित सातजनाको अलग टोली पूर्वतयारी अवस्थामा राखेको छ । जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले मतदान केन्द्रमा आकस्मिक प्राथमिक उपचार सेवा उपलब्ध गराउनुपर्ने स्थिति सिर्जना हुनसक्ने अवस्थालाई मध्यनजर राखी स्थानीय रूपमा प्राथमिक उपचार टोली तथा सामग्रीहरू पूर्वतयारी गरिएको जानकारी दिए । उनले भने, “प्राथमिक उपचार स्वयंसेवकले तत्काल प्राथमिक उपचार सेवा आवश्यक पर्नेलाई सेवा प्रदान गर्नेछन् ।” यसका लागि जिल्ला शाखाले प्राथमिक उपचार स्वयंसेवकहरूका लागि अभिमुखीकरणसमेत आयोजना गरेको थियो । अभिमुखीकरणमा प्राथमिक उपचार पुनर्ताजगी, सुरक्षित पँहुच, मनोसामाजिक सहयोग र मनोवैज्ञानिक प्राथमिक उपचारलगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको छ । शाखाले स्वयंसेवकहरूलाई मानवीय सेवाका विभिन्न गतिविधिहरू सञ्चालनमा परिचालन गर्दै आएको छ ।
सल्यानका दुई मतदान केन्द्रमा शतप्रतिशत महिला कर्मचारी, महिलामैत्री अभ्यासको नमुना
सल्यान। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सल्यानमा दुई मतदान केन्द्रलाई पूर्ण रूपमा महिलामैत्री बनाइएको छ। शारदा नगरपालिका–२, खलंगास्थित बालमन्दिरमा रहेको मतदानस्थलका ‘क’ र ‘ख’ केन्द्रमा मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म सबै जिम्मेवारी महिलाले सम्हाल्ने व्यवस्था गरिएको हो। नमुना मतदान केन्द्रका रूपमा स्थापित यी केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मी सबै महिला मात्र परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीले जानकारी दिए। उनका अनुसार महिला सहभागिता र नेतृत्वलाई व्यवहारमै उतार्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। महिलामैत्री मतदानस्थलको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक पूर्ण चन्दको नेतृत्वमा महिला सुरक्षाकर्मी परिचालन गरिएको छ। मतदान केन्द्र ‘क’मा रिताकुमारी थारू र ‘ख’मा सरस्वती थापा मतदान अधिकृतका रूपमा खटिएका छन्। जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्रकुमार चन्दका अनुसार ‘क’ केन्द्रमा ८९६ र ‘ख’ केन्द्रमा ९४८ गरी कुल १ हजार ८४४ मतदाता रहेका छन्। सहायक मतदान अधिकृत निमाकुमारी रोकायले महिला कर्मचारी मात्र परिचालित केन्द्रमा काम गर्न पाउँदा गर्व र उत्साह महसुस भएको बताइन्। “हामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्नेछौँ,” उनले भनिन्। स्थानीय प्रशासनले मतदान शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भएको जनाएको छ। महिलाको सक्रिय नेतृत्वसहित सञ्चालन हुने यी केन्द्र सल्यानमा समावेशी अभ्यासको सशक्त उदाहरणका रूपमा हेरिएको छ।
सर्लाही–३ का रास्वपा उम्मेदवार पनि कालोसूचीमा
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाही–३ बाट उम्मेदवार बनाएका नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ। कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार उनलाई २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको छ । कालोसुची हालसम्म कायम रहेको छ। सूचीमा उनको नाम ८९६३५ नम्बरमा रहेको छ। कलवार उम्मेदवारी मनोनयनको अघिल्लो दिन रास्वपामा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेकै दिन उनलाई उम्मेदवार बनाइएको थियो। यसअघि धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी कालोसूचीमा रहेको आधारमा निर्वाचन आयोगले खारेज गरिसकेको छ। आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी रद्द गरिएको बताएका छन्। कलवारको बारेमा भने आयोगले कुनै निर्णय आयोगले गरेको छैन । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार कालोसूचीमा रहेका व्यक्ति उम्मेदवार हुन अयोग्य ठहरिन्छन्। सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले कलवार कालोसूचीमा रहेको विषयमा अनुसन्धान भइरहेको बताएका छन्। २०७४ सालमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका नरेन्द्र साह कलवार २०७९ मा टिकट नपाएपछि जनमत पार्टीमा गएका थिए। त्यसपछि पुनः एमाले फर्किए पनि यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि टिकट नपाएपछि रास्वपामा प्रवेश गरी उम्मेदवार बनेका हुन्।
ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र
ललितपुर । बिहीबारका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर दुई स्थानमा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले सामानुपातिकतर्फको मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्दै ललितपुरको नख्खु कारागार र नमूना मच्छेन्द्र माध्यामिक विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको छ । ललितपुरमा जम्मा दुई हजार ४९ जना अस्थायी मतदाता कायम भएका छन् । निर्वाचनमा खटिएका कर्मचारीले भने सम्बन्धित मतदान केन्द्रमा नै सामानुपातिकतर्फको मतदान गर्न पाउनेछन् । नख्खु कारागारमा रहेका कैदीबन्दी, त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीले सोही स्थानबाट समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगको निर्देशिकाअनुसार अस्थायी मतदातालाई समानुपातिकतर्फ मात्र मतदानको अधिकार रहने व्यवस्था छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ललितपुरमा कुल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन् । जसमध्ये एक लाख ३१ हजार ५४९ महिला र एक लाख ३७ हजार ७०७ पुरुष मतदाता रहेका छन् । जिल्लाभर १३१ मतदानस्थल तथा ३१८ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ ।
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर चिनिने पिपीआर रोगको सङ्क्रमण पुष्टि भएको छ । पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको परीक्षणअनुसार कैलालीको धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाबाट सङ्कलित नमूनाको नतिजा ‘पोजेटिभ’ आएको हो । प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार व्यावसायिक फार्म र स्थानीय किसानले पालेका बाख्रामा पिपीआरको सङ्क्रमण देखिएको छ । अनुसन्धानका क्रममा भारतबाट क्वारेन्टाइन प्रक्रिया पूरा नगरी अवैध रूपमा ल्याइएका बोकाहरूबाट सङ्क्रमण फैलिएको पुष्टि भएको जनाइएको छ । वरिष्ठ पशु चिकित्सक जोशीले गैरकानुनी रूपमा नेपाल भित्र्याइएका ती बोकाबाटै स्थानीय बथानमा पिपीआरको विषाणु सरेको हुनसक्ने बताए । सीमानाकामा हुने स्वास्थ्य जाँचलाई छलेर ल्याइएका पशुका कारण अहिले स्वस्थ बाख्रासमेत जोखिममा परेका छन् । पिपीआर अत्यन्त सङ्क्रामक विषाणुजन्य रोग भएकाले छोटो समयमै ठूलो सङ्ख्यामा फैलिन सक्ने र उच्च मृत्युदर निम्त्याउन सक्ने खतरा रहेको पशु प्राविधिकहरू बताउँछन् । यस अवस्थालाई मध्यनजर गर्दै पशु सेवा कार्यालय र प्रयोगशालाले किसानलाई जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन आग्रह गरेका छन् । नयाँ पशु खरिद गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गराउन र कम्तीमा २१ दिनसम्म छुट्टै राखेर मात्र पुरानो बथानमा मिसाउन सुझाव दिइएको छ । खोरमा रहेका बाख्रामा कडा ज्वरो आउने, मुखमा घाउ देखिने, आँखा–नाकबाट पानी बग्ने वा झाडापखाला लाग्नेजस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकको पशु प्राविधिक वा भेटेरिनरी अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ । अवैध पशु ओसारपसारका कारण देखिने यस्ता महामारीले समग्र पशुपालन क्षेत्रलाई नै गम्भीर असर पार्ने भएकाले सीमावर्ती क्षेत्रमा निगरानी कडा पार्नुका साथै किसान स्वयं सचेत हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।
देशभर थन्किए ३६ लाख राष्ट्रिय परिचयपत्र
काठमाडौं। छापिएका राष्ट्रिय परिचयपत्रमध्ये करिब ३६ लाख कार्ड अझै वितरण हुन सकेका छैनन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग का अनुसार माघ मसान्तसम्म ७५ लाख ३४ हजार ९६४ थान परिचयपत्र छापिएकोमा ३९ लाख ३२ हजार मात्रै वितरण भएको छ। बाँकी ३६ लाख २ हजार ५२६ थान कार्ड गोदाममै थन्किएको अवस्थामा छन्। विभागका अनुसार हालसम्म १ करोड ९८ लाख ७२ हजार १८२ जनाको विवरण संकलन भइसकेको छ। आर्थिक वर्ष २०७५/७६ देखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको भए पनि वितरण दर भने अपेक्षाअनुसार बढ्न सकेको छैन। अत्यावश्यक तथा विभिन्न सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि विवरण संकलन तीव्र बनेको छ, तर भौतिक कार्ड लिने सेवाग्राहीको संख्या तुलनात्मक रूपमा कम देखिएको विभागको भनाइ छ। विभागका सूचना अधिकारी तुलसीप्रसाद दाहालका अनुसार परिचयपत्र नम्बर प्राप्त भएपछि धेरै सेवा लिन सकिने भएकाले सेवाग्राहीहरू कार्ड लिन खासै उत्साहित नभएको हुन सक्छ। “परिचयपत्र नम्बरबाटै राहदानी, प्यानलगायतका सेवा लिन सकिन्छ, त्यसैले कार्ड लिन व्यक्तिगत रूपमा उपस्थित हुनुपर्ने झन्झटमा धेरै जाँदैनन्,” उनले भने। यद्यपि, विभागले कार्ड वितरणलाई अभियानका रूपमा अघि बढाएको र हाल कार्ड अभावको समस्या नरहेको उनले स्पष्ट पारे। गत माघ महिनामा मात्र २ लाख ३९ हजार ८९० जनाको विवरण संकलन गरिएको छ। सोही अवधिमा ३९ हजार २५३ कार्ड छापिएका छन् भने ६७ हजार ७१५ परिचयपत्र वितरण गरिएको विभागले जनाएको छ। विवरण संकलन र कार्ड वितरणबीचको अन्तरले व्यवस्थापन तथा सेवाग्राहीको प्राथमिकतामा देखिएको फरक झल्काउने विभागको विश्लेषण छ। हाल १२ वटा सेवा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्ध भइसकेका छन्। थप सेवा र निकायसँग प्रणाली जोड्ने प्रक्रिया जारी रहेको विभागले जनाएको छ।
रास्वपाको षड्यन्त्रमा पर्सा-२ का उम्मेदवार मनाेज चाैधरी पक्राउ
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फका नेकपाका उम्मेदवार मनोज चौधरीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएपछि नेकपाले यसलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को षड्यन्त्र भएको आरोप लगाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चौधरी सवार गाडीमा ‘वमजस्तो देखिने शंकास्पद वस्तु’ राखिएको सूचना प्राप्त भएपछि प्रहरीले जाँच गरेको थियो। जाँचका क्रममा उक्त वस्तु फेला परेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। तर, नेकपाले उम्मेदवारलाई नियोजित रूपमा फसाउन गाडीमा शंकास्पद वस्तु राखी प्रहरीलाई झुटो सूचना दिइएको दाबी गरेको छ। पार्टीका नेताहरूले यस घटनालाई रास्वपाले रचेको राजनीतिक षड्यन्त्र भएको आरोप लगाएका छन्। नेकपाले निष्पक्ष छानबिनको माग गर्दै घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने जनाएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा भएको यस घटनाले पर्सा–२ को चुनावी वातावरण थप तनावग्रस्त बनेको छ। प्रहरीले अपुष्ट हल्ला नफैलाउन र संयमित रहन सबै पक्षसँग आग्रह गरेको छ।

