आज मध्यरातिदेखि मौन अवधि सुरु: के–के गर्न पाइँदैन ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज मध्यरातिदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारले आज मध्यराति १२ बजेसम्म मात्र औपचारिक रूपमा निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । त्यसपछि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि मौन अवधि लागू हुनेछ, जसको कडाइका साथ पालना गर्न आयोगले सबै सरोकारवालालाई आग्रह गरेको छ ।

आयोगले मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म मौन अवधि कायम रहने स्पष्ट पारेको छ । यस अवधिमा निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारका प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी तथा अन्य राजनीतिक गतिविधि सञ्चालन गर्न पाइँदैन । मौन अवधिको मुख्य उद्देश्य मतदातालाई स्वतन्त्र, निष्पक्ष र दबाबरहित वातावरणमा मतदान गर्ने अवसर प्रदान गर्नु हो ।

के–के गर्न पाइँदैन ?

निर्वाचन आयोगका अनुसार मौन अवधिमा निम्न गतिविधिहरू पूर्ण रूपमा निषेध गरिएका छन्–

कुनै पनि राजनीतिक दल वा उम्मेदवारले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्न पाइँदैन ।

निर्वाचन प्रचारप्रसारका सामग्री छाप्न, वितरण गर्न वा प्रदर्शन गर्न पाइँदैन ।

सभा, सम्मेलन, र्‍याली, अन्तरक्रिया, छलफल, कार्यशाला वा गोष्ठी आयोजना गर्न निषेध गरिएको छ ।

सामाजिक सञ्जालमार्फत कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्ने, सन्देश पोस्ट गर्ने वा शेयर गर्ने कार्य गर्न पाइँदैन ।

अनलाइन, छापा, रेडियो, टेलिभिजन वा अन्य कुनै सञ्चारमाध्यमबाट पनि प्रचारप्रसार गर्न वा मत प्रभावित पार्ने सामग्री प्रकाशन–प्रसारण गर्न निषेध गरिएको छ ।

त्यसैगरी मतदान हुने दिनको ४८ घण्टाअघि नै मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल तथा उम्मेदवारका प्रचार सामग्री हटाइसक्नुपर्ने व्यवस्था छ । मतदान केन्द्र आसपास कुनै प्रकारको चुनावी गतिविधि, झण्डा प्रदर्शन, पर्चा वितरण वा भेला गर्न पाइँदैन ।

आचारसंहिता उल्लङ्घन भए के हुन्छ ?

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा तोकिएको आचारसंहिता विपरीत कुनै दल वा उम्मेदवारले गतिविधि गरेको पाइएमा कडा कारबाही गरिनेछ । आचारसंहिता उल्लङ्घन भएको अवस्थामा सम्बन्धित उम्मेदवारको मनोनयनसमेत रद्द हुन सक्ने आयोगले चेतावनी दिएको छ । यसले मौन अवधिको नियमलाई थप गम्भीर र बाध्यकारी बनाएको छ ।

आयोगले सबै राजनीतिक दल, उम्मेदवार, तिनका समर्थक तथा शुभेच्छुकलाई मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । कुनै पनि प्रकारको अनावश्यक प्रचार, दबाब वा प्रभाव पार्ने गतिविधि नगर्न र निर्वाचनको स्वच्छता कायम राख्न सहयोग गर्न आयोगको अपिल छ ।

मौन अवधिको महत्व

मौन अवधि निर्वाचन प्रक्रियाको महत्वपूर्ण चरण हो । यस अवधिमा मतदाताले अन्तिम निर्णय लिन स्वतन्त्र वातावरण पाउँछन् । राजनीतिक दलहरूको प्रचार–अभियानबाट उत्पन्न हुने प्रभाव र दबाबलाई नियन्त्रण गर्दै निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले यो व्यवस्था गरिएको हो ।

आयोगले सबैलाई नियमको सम्मान गर्दै जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ । मौन अवधि सुरु भएसँगै अब मतदान सम्पन्न नहुन्जेलसम्म कुनै पनि राजनीतिक गतिविधि नगर्न सचेत गराइएको छ ।

रोल्पाको क्रान्तिकारी माटोबाट उदाएकी गीता गहतराज : संघर्ष, साहस र समर्पणको कथा

रोल्पा। लुम्बिनी प्रदेशको ऐतिहासिक र राजनीतिक रूपमा सचेत जिल्ला रोल्पा यतिबेला फेरि एकपटक चर्चामा छ। कारण हुन्-क्रान्तिकारी धरातलबाट उठेर राष्ट्रिय राजनीतिमा पहिचान बनाएकी गीता गहतराज। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको समानुपातिक निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी ले उनलाई रोल्पाबाट उम्मेदवार बनाएको छ। त्यसयता जिल्लाभर उत्साह र अपेक्षाको लहर देखिएको छ। विभेदको भोगाइबाट विद्रोहसम्म वि.सं. २०३५ साल पुस १२ गते रोल्पा नगरपालिका–८, जङ्कोटमा जन्मिएकी गहतराज सामान्य दलित परिवारकी छोरी हुन्। पिता भानबहादुर विक र माता ज्यपुरी विकको काखमा हुर्किएकी उनले बाल्यकालमै वर्गीय र जातीय विभेदको तीतो अनुभव सँगालिन्। उनका अनुसार, त्यही अपमान र अभावले नै उनलाई विद्रोहको बाटो रोज्न प्रेरित गर्‍यो। “गरिब र उत्पीडितको पीडा नजिकबाट नदेखेको मान्छेले उनीहरूको मर्म बुझ्न सक्दैन,” उनी भन्छिन्। औपचारिक शिक्षा कक्षा ८ सम्म हासिल गरेकी गहतराज जीवनको व्यवहारिक पाठशालालाई नै ठूलो मान्छिन्। “सर्टिफिकेटभन्दा ठूलो कुरा जनताको सेवा गर्ने इच्छाशक्ति हो,” उनको विश्वास छ। दलित आन्दोलनबाट जनयुद्धसम्म गहतराजको राजनीतिक यात्रा वि.सं. २०४८ सालमा नेपाल दलित मुक्तिमोर्चा, रोल्पाको जिल्ला कोषाध्यक्ष बनेसँगै औपचारिक रूपमा सुरु भयो। २०४९ सालमा पार्टी सदस्यता लिएपछि उनी निरन्तर संगठनात्मक जिम्मेवारीमा सक्रिय रहिन्। वि.सं. २०५२ साल फागुन १२ गते सुरु भएको सशस्त्र जनयुद्धको भोलिपल्टैदेखि उनले पूर्णकालीन कार्यकर्ताका रूपमा जिम्मेवारी सम्हालिन्। २०५३ सालमा दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्य निर्वाचित भइन्। त्यसक्रममा एरिया कमिटी सदस्य र विशेष जनसरकार सदस्यजस्ता भूमिकामा रहेर उनले नेतृत्व क्षमताको परिचय दिइन्। सैन्य मोर्चामा निडर कमाण्डर जनयुद्धका कठिन वर्षहरूमा गहतराजले सैन्य मोर्चामा पनि सक्रिय भूमिका निर्वाह गरिन्। वि.सं. २०६० सालमा उनी कम्पनी कमाण्डर बनिन्। त्यसपछि कम्पनी कमिसार हुँदै बटालियन कमिसारसम्म पुगेर उनले दस्तालाई नेतृत्व दिइन्। सहयोद्धाहरूका अनुसार, उनी कठिन परिस्थितिमा पनि साहस र आत्मबल कायम राख्ने कमाण्डर थिइन्। “मृत्युलाई हत्केलामा राखेर हिँड्नुपर्थ्यो, तर जनताको मुक्तिको सपना ठूलो थियो,” उनी विगत सम्झिन्छिन्। केन्द्रीय राजनीतिसम्मको यात्रा दीर्घ राजनीतिक निरन्तरतापछि गहतराज हाल नेपाली कम्युनिस्ट पार्टी की केन्द्रीय सदस्य हुन्। पार्टीले उनको योगदानको मूल्याङ्कन गर्दै प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनाएको हो। यतिबेला उनी चुनावी अभियानका क्रममा रोल्पाका गाउँ–टोलमा पुगिरहेकी छन्। पार्टीको चुनाव चिन्ह ‘तारा’ लिएर घरदैलो अभियानमा सक्रिय गहतराजले विकास र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाएकी छन्। गहतराजका प्राथमिकतामा रहेका विषयहरू यस्ता छन्: महिला सशक्तिकरण: महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने विशेष कार्यक्रम। शिक्षा र स्वास्थ्य: गरिबका छोराछोरीलाई गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवा। पूर्वाधार विकास: दुर्गम बस्तीमा सडक र विद्युत् पहुँच विस्तार। दलित अधिकार: जातीय विभेदको अन्त्यका लागि कानुनी र सामाजिक अभियान। कृषि पेशामा आबद्ध गहतराज श्रमको सम्मानलाई विकासको आधार मान्छिन्। “विकास भनेको बाटो र पुल मात्र होइन, चेतना र जीवनस्तरको सुधार पनि हो,” उनको धारणा छ। आशाको प्रतीक रोल्पा नगरपालिका–८, जङ्कोटमै बसेर जनताको घरदैलोमा पुगिरहेकी गहतराज सरलता, इमानदारिता र संघर्षशील पृष्ठभूमिका कारण जनतामाझ लोकप्रिय छिन्। उनको उम्मेदवारीलाई धेरैले दलित, महिला र उत्पीडित समुदायको प्रतिनिधित्वका रूपमा हेरेका छन्। “यो लडाइँ मेरो व्यक्तिगत होइन, सम्पूर्ण उत्पीडित नेपालीहरूको पहिचान र अधिकारको लडाइँ हो,” उनी दृढ स्वरमा भन्छिन्। संघर्ष, समर्पण र साहसले भरिएको गीता गहतराजको जीवनयात्रा यतिबेला रोल्पाली जनतामाझ नयाँ आशा र भरोसाको सन्देश बनिरहेको छ।

रुकुमपूर्वको विकासका लागि एक मात्र विकल्प ‘प्रचण्ड’

रुकुमपुर्व । रुकुमपूर्वको समग्र विकास, अधुरा पूर्वाधार योजनाको पूर्णता, जनयुद्धकालीन मुद्दाको निष्कर्ष र जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने स्पष्ट कार्ययोजना पाँचकुने तारा चिन्हका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्र रहेकाे मतदाताहरुकाे भनाइ छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक तथा पूर्वप्रधामन्त्रीसमेत रहनु भएका ‘प्रचण्ड’ रुकुमपूर्वबाट चुनावी मैदानमा उत्रिएपछि मतदातामा आशाकाे दियाे बल्न सुरु भएकाे हाे।  उहाँले रुकुमपूर्वमा विशेष आर्थिक तथा पूर्वाधार प्याकेजदेखि लिएर कृषि, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्यसम्मको समेटिएको प्रतिबद्धताले रुकुमपूर्वका लागि एक मात्र विकल्प प्रचण्ड नै भएको सन्देश दिनुभएकाे छ।  ‘प्रचण्ड’ले रुकुमपूर्वलाई विकासको नयाँ उचाइमा पुर्‍याउने स्पष्ट खाका सार्वजनिक गर्नुभएकाे छ। विकासका हिसाबले तुलनात्मक रूपमा पछि परेको जिल्लालाई विशेष आर्थिक तथा पूर्वाधार प्याकेजमार्फत अग्रणी बनाउने उहाँको प्रमुख प्रतिबद्धता छ । जनयुद्धकालमा चुनवाङ बैठकबाट देशले शान्तिको मार्ग पहिल्याएजस्तै अब रुकुमपूर्वले देशलाई समृद्धिको मार्ग देखाउनुपर्ने उहाँकाे भनाइ छ। त्यसका लागि उहाँले मध्यपहाडी लोकमार्गको पूर्णता, सहिदमार्ग (थवाङ–महत–काँक्री–तक–हुकाम–मैकोट–दुले हुँदै शहरतारा–डोल्पा) निर्माण सम्पन्न गर्ने, टेन्डर भइसकेका मोटरेबल तथा झुलुङ्गे पुलहरू निर्धारित समयमै सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ। सानीभेरी, उत्तरगङ्गा, ढोरपाटन करिडोर, दुईखोली–चुनवाङ–रुकुमकोट–सिस्ने–डोल्पा सडक सञ्जाललाई पूर्णता दिने, तीनवटै पालिका केन्द्र र वडालाई पक्की सडकमार्फत जोड्ने योजना पनि उनको घोषणापत्रमा समेटनुभएकाे छ।  स्थानीय नदिनालाबाट लघु तथा मेघा जलविद्युत् उत्पादन, प्रत्येक वडामा केन्द्रीय प्रसारण लाइन विस्तार, ग्रिड स्थापना, सिँचाइ पूर्वाधार विस्तार तथा आधुनिक व्यावसायिक कृषि प्रणाली लागू गर्ने लक्ष्य उहाँकाे छ। पुथा–सिस्ने हिमशृङ्खला, ढोरपाटन सिकार आरक्ष, मगर सांस्कृतिक बस्ती र जनयुद्धका ऐतिहासिक स्थलको संरक्षणसहित पर्यटन प्रवर्द्धन गर्ने, यार्सागुम्बा र बहुमूल्य जडीबुटीको उत्पादन–प्रशोधन केन्द्र स्थापना गरी बजार सुनिश्चित गर्ने योजना पनि अघि सार्नुभएकाे छ। स्वास्थ्यतर्फ जिल्ला अस्पतालमा २४सै घण्टा विशेषज्ञ सेवा, आवश्यक उपकरण र प्रभावकारी उपचार सुनिश्चित गर्ने तथा शिक्षामा विद्यालय केन्द्रिकरण, विषयगत शिक्षक व्यवस्था र गुणस्तर अभिवृद्धिको नीति लागू गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ।  जनयुद्धको उद्गमथलोसमेत रहेको रुकुमपूर्वलाई प्रचण्डले  आफ्नो राजनीतिक पुनर्जन्मको थलो भएकाे बताउँदै आउनुभएकाे छ। विस्तृत शान्ति सम्झौताका जीवित हस्ताक्षरकर्ताको हैसियतले सहिद, बेपत्ता तथा घाइते परिवारका मुद्दालाई निष्कर्षमा पुर्‍याउने र द्वन्द्वकालीन सवालको राजनीतिक–कानुनी निरूपणमार्फत दिगो शान्ति सुनिश्चित गर्ने उहाँको अडान छ । लुम्बिनी प्रदेशले अर्गानिक जिल्ला घोषणा गरेको रुकुमपूर्वमा प्रमाणीकरण र बजार सुनिश्चित गरी ‘प्रिमियम ब्राण्ड’का रूपमा उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍याउने, टिम्मुर, स्याउ, सुन्तला, कागती, अन्नबाली र अर्गानिक तरकारीको ब्राण्डिङ गर्ने योजना अघि सार्नुभएकाे छ। मगर क्लस्टरलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्यताको विश्वव्यापी ब्रान्डिङ गर्ने, फलाम खानी उत्खनन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी जिल्लालाई ‘नमुना औद्योगिक जिल्ला’ बनाउने लक्ष्य पनि उहाँको घोषणापत्रमा समावेश छ । सहिदकाे रगतले लेखिएको संविधानको रक्षा, सङ्घीयताको सुदृढीकरण र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अडानसहित दाहालले रुकुमपूर्वलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।  फागुन २१ गते हुने निर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहे पनि समग्र विकासको स्पष्ट खाका, ऐतिहासिक जिम्मेवारी र कार्यान्वयन क्षमताका आधारमा रुकुमपूर्वका लागि एक मात्र विकल्प प्रचण्ड नै भएको आम मतदाताकाे बुझाइ छ। 

चुनावी प्रचारप्रसारको अन्तिम दिन: नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

काठमाडौँ । २१ फागुनको चुनाव आउन ४ दिन मात्रै बाँकी रहँदा नेपाली कम्युनिष्ट पार्टीका नेता, तथा कार्यकर्ताहरु आ–आफ्नो वडा तथा टोल टोलमा केन्द्रीत भएका छन् । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा प्रचारप्रसार तथा घरदैलो गर्न पाइदैनँ ।  प्रचारप्रसारको अन्तिम दिन नेकपाका नेता तथा कार्यकर्ताहरु आ–आफ्नो वडा तथा टोलहरुमा केन्द्रीत भएर पार्टीलाई जिताउनका लागि सक्रिय भएका हुन् । दिनप्रतिदिन नेकपाको पक्षमा माहोल बन्दै गइरहेको नेताहरुले बताउँदै आएका थिए । चुनावी प्रसारप्रसारको अन्तिम दिनमा आइपुग्दा नेकपाको पक्षमा देशभर जनलहर सिर्जना भएको नेताहरुको भनाई छ ।  नेकपाका नेता अग्नि प्रसाद सापकोटाले प्रचारप्रसारको अन्तिम दिनसम्म आइपुग्दा नेकपा पहिलो पार्टी बन्ने अवस्थामा पुगेको बताए ।  ‘देशभरको अवस्था हेर्दा नेकपाको पक्षमा जनलहर देखिएको छ । मतदाताको माया र अपेक्षा नेकपाप्रति नै देखियो । हामी पहिलो पार्टी बन्नेछौँ ।’ उनले भने । आज दिनभर नेकपाले देशभर घरदैलो र मतदाता भेटघाट कार्यक्रम राख्ने जनाइएको छ । पार्टीले सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरु निर्वाचन सम्पन्न नभएसम्म अनिवार्य रुपमा आफ्नो निर्वाचन क्षेत्रमा परिचालन हुन विशेष निर्देशन नै जारी गरेको थियो । नेकपाले पार्टी र जनवर्गिय संगठन, मोर्चाका सबै सदस्य निर्वाचनमा मतदान गर्न अनिवार्य रुपमा उपस्थित हुन पनि भनेको छ ।

धनुषा–१ का मतदाता भन्छन् : मातृका यादवको विकल्प छैन

धनुषा । धनुषा क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेसँगै मतदाताहरूले स्पष्ट शब्दमा भनिरहेका छन्–“मधेसको अधिकार र राष्ट्रिय राजनीतिमा प्रभावकारी हस्तक्षेप गर्न सक्ने नेता मातृकाप्रसाद यादवको यहाँ विकल्प छैन।” घरदैलो अभियानका क्रममा बस्ती–बस्तीमा पुग्दा स्थानीयवासीले विकास, प्रतिनिधित्व र आफ्ना भावनाको सम्बोधन हुने नेतृत्वको अपेक्षा व्यक्त गरेका छन्। उनीहरूको साझा गुनासो छ– “जितेर जानेहरूले बजेट त ल्याउलान्, तर हाम्रा भावना कसले बुझ्ने?” स्थानीय मतदाताहरू यसपटक केवल जनप्रतिनिधि होइन, एक बलियो अभिभावकको खोजीमा रहेको देखिन्छ। एक वृद्ध मतदाताले भने, “हामीलाई केन्द्रमा गएर डराउने होइन, हाम्रो हकका लागि दृढतापूर्वक आवाज उठाउने नेता चाहिएको छ। त्यो सामर्थ्य मातृकाजीमा छ।” प्रचार अभियानका क्रममा उम्मेदवार यादवसँग भेटघाट गर्दा मतदाताहरूले विशेषगरी खानेपानी र सिँचाइको अभावलाई प्रमुख समस्याका रूपमा उठाएका छन्। “खेतहरू सुक्खा छन्, धारामा पानी छैन,” स्थानीय कृषकहरूको यो पीडा सुन्दा यादव भावुक बनेका थिए। उनले मतदातालाई आश्वस्त पार्दै भने, “मधेसी जनताको सामूहिक विकास र अधिकार नै मेरो प्राथमिकता हो। म पदमा रहँदा होस् वा नरहँदा, यस क्षेत्रको सुख–दुःखमा सधैँ साथमा छु र रहनेछु।” उनले यी समस्यालाई राज्यको मूलधारसम्म पुर्‍याएर समाधानका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। यस क्षेत्रमा एमालेका रामचन्द्र मण्डल, जसपा नेपालका दीपक कार्की तथा रास्वपाका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्। राष्ट्रिय राजनीतिमा रास्वपाको लहर चर्चामा रहे पनि धनुषा–१ मा भने मातृका यादवको व्यक्तिगत राजनीतिक पृष्ठभूमि, संघर्ष र प्रभाव नै मुख्य प्रतिस्पर्धी आधार बनेको देखिन्छ। झण्डै दुई दर्जन कम्युनिस्ट घटकहरू मिलेर बनेको नेकपाका उम्मेदवार यादवले यसपटक आफ्ना पुराना असन्तुष्ट सहकर्मी तथा पूर्व माओवादी धारका नेता–कार्यकर्तालाई समेत गोलबद्ध गर्न सफल भएका छन्। उनीहरू यतिबेला यादवलाई जिताउन एकताबद्ध रूपमा सक्रिय छन्। सामन्तवादविरुद्ध संघर्षको नारा बोकेर राजनीतिमा प्रवेश गरेका मातृका यादवका लागि यो निर्वाचन केवल अंकगणितको प्रतिस्पर्धा मात्र होइन, मधेसी पहिचान र अधिकारको निरन्तर संघर्षको एउटा महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।

प्रचण्डलाई किन जिताउने ?

कमल गिरी/अध्यक्ष, प्रेस सेन्टर नेपाल हिजो जनयुद्ध गलत थियो भन्नेहरू आज गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक अधिकार मज्जाले भोग गरेका छन्। ती अधिकार कसको बलिदान, कसको संघर्ष र कसको नेतृत्वले ल्याएको हो ? भुल्नुभयो ? प्रचण्डलाई हराउने हो भनेर हौसिनेहरूले के बिर्सनुभएको छ भने, प्रचण्ड हारेपछि सबैभन्दा बढी खुसी हुने को हुन् ? गणतन्त्र घाँडो ठान्ने, धर्मनिरपेक्षता नचाहने, समावेशी अधिकार सधैं विरोध गर्नेहरू। उनीहरूकै खुसीका लागि तपाईं प्रचण्ड र उहाँले नेतृत्व गरेको पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई हराउन लाग्नुभएको हो ? जनजाति, दलित, मधेशी, महिला, पिछडिएका वर्ग र क्षेत्र, तपाईंहरूले पाएको अधिकारको महत्व नेपाली कम्युनिस्ट पार्टीका तारा चिन्हले हार्दा मात्र थाहा हुनेछ। किनकि ती अधिकार खोसिन थालेपछि मात्र तपाईंलाई प्रचण्डको महत्व याद आउनेछ। तर त्यतिबेला ढिलो भइसकेको हुनेछ। हिजो एमाले र कांग्रेसले नचाहेर पनि प्रचण्डकै नेतृत्वमा गणतन्त्र आयो, संविधान बन्यो, समानुपातिक अधिकार स्थापित भयो। पछिल्लो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा भ्रष्टाचारका फाइल खोल्न थाल्दा एमाले–कांग्रेस मिलेर सरकार ढालेनन् ? उनीहरू भ्रष्टाचारीका संरक्षक हुन् कि सुशासनका पक्षधर ? इतिहास साक्षी छ। अब कुरा गरौँ नयाँ शक्ति र रास्वपाको। यिनीहरूसँग विचार छैन । सिद्धान्त छैन । इतिहासबोध छैन । समाजवाद र पुँजीवाद एउटै हुन् भन्नेहरू, धनी र गरिब उस्तै हुन् भन्नेहरू, “पुरानो सबै खराब र नयाँ सबै राम्रो” भन्ने नाराबाजीबाहेक यिनीहरूसँग गहिरो राजनीतिक दृष्टि नै छैन । जातीय व्यवस्था उन्मूलनको एजेन्डा कहाँ छ ? महिला मुक्तिको योजना कहाँ छ ? आदिवासी जनजातिका भाषा र सभ्यता जोगाउने कार्यक्रम कहाँ छ ? ८० लाख युवालाई विदेशिनबाट रोक्ने नीति कहाँ छ ? उद्योग र आत्मनिर्भर अर्थतन्त्रको खाका कहाँ छ ? शासकीय स्वरूपको खाका छ ? यिनीहरूसँग के छ भने, कांग्रेस र एमालेको कुशासनप्रतिको जनआक्रोशलाई पूँजी बनाउने कला मात्र। तर आक्रोश विकल्प होइन; नीति र दृष्टि चाहिन्छ। त्यसैले नेपाली कम्युनिस्ट पार्टी न गोली हानेर युवाको हत्या गर्ने पक्ष हो, न सिंहदरबार, संसद् र अदालत कब्जा गरेर जलाउने पक्ष हो। नेपाली कम्युनिस्ट पार्टी त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक राज्य व्यवस्थाको संस्थापक हो। नेपाली कम्युनिस्ट पार्टी त सुशासन, सामाजिक न्याय र समृद्धिसहितको समाजवादको पक्षपाती हो। अब ३ दिन मात्र बाँकी छन्। सोच्नुस्, विचार गर्नुस्। जनताका अधिकारसँगै राष्ट्रियता, स्वाभिमान र राष्ट्र निर्माणको दिशा सुरक्षित राख्ने क्षण यही हो। सबै वर्ग र क्षेत्रको समान अधिकार जोगाउन स्पष्ट एजेन्डा, वैचारिक दृढता र एकताबद्ध शक्ति आवश्यक हुन्छ। इतिहासले पटक–पटक देखाएको छ। एजेन्डाविहीन शक्तिहरू क्षणिक रूपमा चम्किए पनि दीर्घकालीन रूपमा दिशा दिन सक्दैनन्। त्यसैले अधिकार र भविष्य जोगाउने हो भने भावनाले होइन, गम्भीर विचारले निर्णय गर्नुस्। अब निर्णय गर्नुस्, नाममा हैन, इतिहासले रेकर्ड राख्ने एजेन्डामा ध्यान दिँदै प्रचण्ड नेतृत्वको नेकपालाई बहुमतसहित पहिलो पार्टी बनाउने मौका नगुमाउनुस्। तारा चिन्ह रोज्नुहोस्।

प्रचण्डको स्पष्ट सन्देश: अतिवादविरुद्ध, स्थायित्व र समृद्धिको नयाँ अध्याय लागि ‘तारा’मा मतदान

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने आम निर्वाचनलाई देशको राजनीतिक दिशानिर्देशन गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रित गर्दै निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ।  निर्वाचनको पूर्वसन्ध्यामा जारी भिडियो सन्देश र विभिन्न सार्वजनिक सम्बोधनमार्फत उहाँले सुशासन, स्थायित्व र समृद्धिको स्पष्ट रोडम्याप प्रस्तुत गर्दै जनतासँग ताजा जनादेश माग्नुभएको हो। प्रचण्डले देश ‘जेन्जी’ आन्दोलनपछिको अस्थिर र अनिश्चित राजनीतिक अवस्थाबाट गुज्रिरहेको स्मरण गर्नुभयो। सडक आन्दोलन, असन्तुष्टि र अविश्वासको वातावरणबीच लोकतान्त्रिक निकासका रूपमा निर्वाचनमा जाने निर्णय ऐतिहासिक आवश्यकता भएको उहाँको भनाइ छ। अन्तरिम सरकार गठनका लागि सहजीकरण गर्नु र ताजा जनादेशका लागि अडान लिनु आफ्नो दलको जिम्मेवार कदम भएको उहाँले उल्लेख गर्नुभयो। “देशलाई अन्योलबाट लोकतान्त्रिक प्रक्रियातर्फ ल्याउन हामीले सहजीकरण गर्‍यौं,” उहाँले भन्नुभयो, “अब जनताले नै अन्तिम निर्णय दिने समय आएको छ।” उहाँका अनुसार निर्वाचनमार्फत राजनीतिक स्थिरता र स्पष्ट जनादेश प्राप्त भएमा विकास र सुशासनको मार्ग प्रशस्त हुनेछ। सुशासन व्यक्तिबाट होइन, विधिबाट आफू प्रधानमन्त्री हुँदा सुशासनको थालनी गरिएको दाबी गर्दै प्रचण्डले स्पष्ट रूपमा भन्नुभयो—सुशासन कुनै व्यक्तिको सदिच्छाले होइन, संस्थागत सुधार र विधिको शासनमार्फत सम्भव हुन्छ। “व्यक्ति बदलिँदा नीति बदलिनु हुँदैन; प्रणाली बलियो बनिनुपर्छ,” उहाँको भनाइ थियो। उहाँले आफ्नो कार्यकालमा ठूला भ्रष्टाचार काण्डहरू उजागर गरिएको, शक्तिशाली गिरोह र बिचौलिया समूहहरूलाई कानुनी दायरामा ल्याउने प्रयास गरिएको तथा प्रशासनिक सुधार अघि बढाइएको बताउनुभयो। सुशासनको कदमले प्रभावित स्वार्थ समूहहरूले राजनीतिक गठजोडमार्फत अवरोध सिर्जना गरेको आरोप पनि उहाँले लगाउनुभयो। प्रतिपक्षमा रहँदा पनि सडक र सदन दुवैबाट कुशासन, दम्भ र अहंकारविरुद्ध संघर्ष जारी राखिएको उहाँको दाबी छ। “हामी सत्ता होस् वा प्रतिपक्ष, विधि र सुशासनको पक्षमा उभिएका छौं,” उहाँले भन्नुभयो। दुई अतिवादको खतरा प्रचण्डले देश दुई प्रकारका ‘अतिवाद’को जोखिममा रहेको बताउनुभयो। पहिलो, जनताको निराशा र आक्रोशलाई भड्काएर अराजकता, हिंसा र अनिश्चयतर्फ धकेल्ने प्रवृत्ति। दोस्रो, दलाल–विचौलिया र यथास्थितिवादी शक्तिहरूको संरक्षणमा टिकेको कुशासन। यी दुबै प्रवृत्तिले लोकतान्त्रिक उपलब्धि कमजोर पार्ने र राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने खतरा रहेको उहाँको भनाइ छ। “एकातिर व्यवस्था उल्ट्याउने उग्र सोच, अर्कोतिर परिवर्तन रोक्ने यथास्थितिवाद—यी दुबै देशका लागि हानिकारक छन्,” उहाँले उल्लेख गर्नुभयो। यी दुबै अतिवादसँग जुधेर देशलाई स्थायित्व र समृद्धिको दिशामा लैजान सक्ने शक्ति वाम आन्दोलन मात्र भएको उहाँको दाबी छ। वाम पुनर्गठन र एकताको पहल संयोजक प्रचण्डले वाम आन्दोलन पुनर्गठनको प्रक्रियामा रहेको बताउँदै पच्चीसभन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरूबीच संवाद र सहकार्य बढाइएको जानकारी दिनुभयो। विभाजनबाट एकता, आरोप–प्रत्यारोपबाट आत्मसमिक्षा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्कने अभियान सुरु भएको उहाँको भनाइ छ। उहाँले नेपाली कम्युनिस्ट पार्टीलाई वाम आन्दोलनको केन्द्रका रूपमा अघि बढाइएको बताउँदै सबै प्रगतिशील शक्तिहरू एउटै ध्रुवमा आउनुपर्ने धारणा राख्नुभयो। संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थाको रक्षा वाम शक्तिको साझा जिम्मेवारी भएको उहाँले जोड दिनुभयो। सामाजिक न्याय र समावेशिताको एजेन्डा प्रचण्डले आगामी कार्यदिशामा सामाजिक न्यायलाई केन्द्रमा राखिएको बताउनुभयो। महिलालाई नेतृत्व तहमा पुर्‍याउने, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमका नागरिकको अधिकार व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। श्रमिक–किसानका अधिकार संरक्षण, सामाजिक सुरक्षा विस्तार र गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राखिने उहाँको भनाइ छ। “धनी–गरिबबीचको खाडल घटाउने संकल्पका साथ हामी अघि बढेका छौं,” उहाँले भन्नुभयो। उत्पादनमुखी अर्थतन्त्र र रोजगारी युवालाई विदेशिन बाध्य पार्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको प्रचण्डले बताउनुभयो। कृषि र उद्योगबीच समन्वय गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण, साना तथा मझौला उद्योग प्रवर्द्धन, नवप्रवर्तन र प्रविधिमा आधारित उद्यमशीलता विकासलाई प्राथमिकता दिइने उहाँले उल्लेख गर्नुभयो। “हिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्,” उहाँले भन्नुभयो। आर्थिक आत्मनिर्भरता र राष्ट्रिय उत्पादन वृद्धि नै दीर्घकालीन समृद्धिको आधार हुने उहाँको धारणा छ। डिजिटल सुशासन र सेवा प्रवाह प्रचण्डले डिजिटल सुशासनमार्फत पारदर्शिता कायम गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो। सरकारी सेवा लाइनमा होइन, मोबाइल र अनलाइन प्रणालीमार्फत नागरिकसम्म पुर्‍याउने योजना रहेको उहाँले बताउनुभयो। स्वास्थ्य, शिक्षा र आधारभूत सेवामा सबैको समान पहुँच सुनिश्चित गरिने, भ्रष्टाचार अन्त्यका लागि कानुनी तथा संरचनागत सुधार गरिने उहाँको भनाइ छ। सन्तुलित र स्वाभिमानी विदेश नीति अवलम्बन गर्दै राष्ट्रिय हितलाई सर्वोपरि राखिने उहाँले स्पष्ट गर्नुभयो। छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग समतामूलक सम्बन्ध कायम गर्दै विकास साझेदारीलाई प्रभावकारी बनाइने उहाँको योजना छ। हिंसाविरुद्ध कडा सन्देश भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाप्रति टिप्पणी गर्दै प्रचण्डले ती घटना अस्वीकार्य भएको बताउनुभयो। लोकतान्त्रिक प्रक्रियामा हिंसाको कुनै स्थान नभएको उल्लेख गर्दै उहाँले मतदानमार्फत गलत प्रवृत्तिलाई जनताले दण्ड दिने विश्वास व्यक्त गर्नुभयो। ‘तारा’मा मतदानको आह्वान अन्त्यमा उहाँले मतदातालाई आफ्नो दलको चुनाव चिन्ह ‘तारा’मा मतदान गर्न आग्रह गर्नुभयो। फागुन २१ लाई स्थायित्व, सुशासन र समृद्धिको नयाँ अध्याय सुरु गर्ने दिनका रूपमा स्मरणीय बनाउन अपिल गर्दै उहाँले निराशालाई आशामा र आक्रोशलाई निर्माणमा बदल्न आग्रह गर्नुभयो। “जनताको मत नै सबैभन्दा ठूलो शक्ति हो,” उहाँले भन्नुभयो, “विधिको शासनमार्फत सुशासन स्थापना गर्न र देशलाई स्थायित्वतर्फ लैजान फागुन २१ मा ऐतिहासिक निर्णय गरौं।” यसरी, प्रचण्डको स्पष्ट सन्देश सुशासनको संस्थागत आधार निर्माण, अतिवादविरुद्ध लोकतान्त्रिक स्थायित्व, सामाजिक न्याय, उत्पादनमुखी अर्थतन्त्र र वाम एकताको पुनर्गठनमा केन्द्रित देखिएको छ। अब जनताको निर्णयले आगामी राजनीतिक यात्रा तय गर्नेछ।

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक सञ्जालमार्फत जोडिएको छ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तकसेरा गाउँ सिधा सडक सञ्जालले जोडिएको हो । दुबै जिल्लाबाट सडक निर्माण गर्दै आएको हुँदा निसेलढोर नजिकै रहेको मनिमर्फेस भन्ने स्थानमा जोडिएको ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिए । लामो समयदेखि रोकिएको काम ढोरपाटन सिकार आरक्ष कार्यालयले अनुमति दिएपछि सडक जोडिएको उनको भनाइ छ । सडकले दुई जिल्ला जोडेपछि अब पश्चिम बागलुङ र पूर्वी रुकुमको यात्रा छोटिएको छ । यसभन्दा अगाडि नै बुर्तिबाङ बजारदेखि निसेलढोर जोडिएको थियो । एक दशकअगाडि निसेलढोर सडकले जोडिए पनि त्यसभन्दा माथि पुग्न सकेको थिएन । बुर्तिबाङ–ढोरपाटन ३१ किलोमिटर र ढोरपाटन–तकसेरा ३७ किलोमिटर रहेको वडाध्यक्ष घर्ती मगरले बताए । उनले भने, “अब बुर्तिबाङदेखि ६८ किलोमिटर दूरी पार गरेपछि तकसेरा पुग्न सकिने छ, यसभन्दा अगाडिसम्म तकसेराका स्थानीय मध्यपहाडी लोकमार्ग हुँदै रुकुमको काँक्रीबाट लामो दूरीको यात्रा गर्नुपर्ने अवस्था थियो, ढोरपाटन हुँदै सडक जोडिएपछि दूरी छोटियो ।” ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले लामो समयको प्रयासपछि ढोरपाटन–तकसेरा सडक जोड्न सफल भएको बताउनुभयो । सिकार आरक्षले अनुमति नदिँदा धेरै वर्षदेखि सडक निर्माण रोकिएकामा बल्ल निर्माण पुरा भएको उनको भनाइ छ । निसेलढोर तिरबाट सडकको ‘ट्र्याक’ खोल्न चालु आर्थिक वर्षमा रु १२ लाख ५० हजार विनियोजन गरिएको थियो । सोही बजेटले सडक निर्माण सम्पन्न गरिएको हो । अब तकसेरावासीलाई बागलुङसहित पोखरा र काठमाडौँसम्म पुग्न छोटो हुने र स्थानीय उत्पादन बजारीकरण गर्न सहज हुने उनको भनाइ छ ।

सिन्धुलीकाे हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । स्थानीय ४५ वर्षीय वीरबहादुर राईले आफ्नै घरमा ४६ वर्षीया श्रीमती रिता राईमाथि बन्चरो प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । घटनाबारे जानकारी हुनासाथ प्रहरी सहायक निरीक्षक नरेशकुमार रायको नेतृत्वको टोलीले वीरबहादुरलाई पक्राउ गरेको हो । हत्या गर्नुको कारण हालसम्म खुलेको छैन । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक अशोककुमार यादवको नेतृत्वमा टोली खटिएको छ । घटनास्थल प्रहरी चौकी हरिहरपुरगढीबाट करिब ४ किलोमिटर पूर्व तथा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट करिब ३२ किलोमिटर पश्चिममा पर्दछ ।

इरानको प्रतिशोधात्मक आक्रमणले मध्यपूर्वका सात राष्ट्रमा क्षति

तेहरान । संयुक्त अमेरिका र इजरायलको संयुक्त आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि इरानले मध्यपूर्वका विभिन्न मुलुकमा रहेका अमेरिकी सैन्य अखडा र रणनीतिक केन्द्रहरूमा भीषण प्रतिशोधात्मक आक्रमण जारी राखेको छ।  इरानी आक्रमणका कारण बहराइनको मनामास्थित मिना सलमान बन्दरगाह नजिकैको समुद्री केन्द्रमा ठूलो आगलागी भएको छ। बहराइनको गृह मन्त्रालयले यसलाई इरानी आक्रामकताको संज्ञा दिँदै नागरिक रक्षा टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको पुष्टि गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा उक्त क्षेत्रबाट बाक्लो धुवाँको मुस्लो निस्किएको देखिन्छ। यसैबिच, इराकको राजधानी बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको अमेरिकी सैन्य आधार शिविर 'भिक्टोरिया बेस' मा दुईवटा ड्रोनमार्फत आक्रमण गरिएको छ। सुरक्षा स्रोतका अनुसार एउटा ड्रोन आधार शिविरभित्रै खसेको थियो भने अर्कोलाई खसालिएको थियो।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणमा मारिएका तीन अमेरिकी सैनिकको मृत्युको बदला लिने प्रतिज्ञा गर्दै आगामी दिनमा थप मानवीय क्षति हुन सक्ने चेतावनी दिएका छन्। उनले इरानी जनतालाई इस्लामिक गणतन्त्रको शासन सत्ता ढाल्न र विद्रोह गर्न समेत आह्वान गरेका छन्। द्वन्द्वको बाछिटा छिमेकी मुलुकहरूमा पनि तीव्र रूपमा फैलिएको छ। इजरायलको बेइत शेमेश सहरमा इरानी मिसाइल खस्दा ९ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन्।  सिरियाको दमासकस नजिकै ऐन तेर्मामा इरानी मिसाइलको भग्नावशेष खस्दा एकै परिवारका बाबु र तीन छोरी घाइते भएका छन्। इरानले कतार, बहराइन, जोर्डन, ओमान, कुवेत, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका विमानस्थल, आवासीय भवन र होटलहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ। खाडी मुलुकहरूले इरानी आक्रमणको प्रतिकार गर्ने र आफ्नो रक्षा गर्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच, बेलायती प्रधानमन्त्री कीर स्टार्मरले इरान विरुद्धको रक्षात्मक आक्रमणका लागि अमेरिकालाई आफ्ना सैन्य आधार शिविरहरू प्रयोग गर्न अनुमति दिएका छन्। 

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम

नवलपरासी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लामा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लाको कावासोती नगरपालिका–२, मा रहेको शिव नमूना माविमा एउटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा खटिएका कर्मचारीको हकमा सम्बन्धित केन्द्रबाटै मतदान गर्नेछन् । मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरुलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था छ । सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारका थुनुवा र कैदी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्र्मी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम अस्थायी मतदाता नामावलीमा समावेश हुने गर्दछ ।  आसन्न निर्वाचनका लागि दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कूल दुई लाख ६८ हजार ५२६ मतदाता रहेका छन् । जस अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदाता ६५ हजार ९८२, महिला मतदाता ७१ हजार ९८ र अन्य एक गरी कूल एक लाख ३७ हजार ८१ मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तर्फ पुरुष मतदाता ६३ हजार ७२ ,महिला मतदाता ६८ हजार ३७० र अन्य मतदाता तीन जना गरी कूल एक लाख ३१ हजार ४४५ मतदाता रहेका छन् । नवलपुरमा ११४ वटा मतदानस्थल र ३११ मतदान केन्द्र रहेका छन् । एउटा अस्थायी मतदान केन्द्र रहेको छ । सबै मतदान स्थलमा गरी कूल एक हजार ८७९ कर्मचारी परिचालन गरिएको छ ।

सहकारी पीडित भन्छन्-“रास्वपालाई मत दिने मन छैन”

पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितहरूले सहकारी ठगी प्रकरणमा स्पष्ट समाधान नदिएसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत नदिने सन्देश दिएका छन्। उनीहरूले सहकारी ठगीको मुद्दामा राजनीतिक दलहरू गम्भीर नदेखिएको आरोप लगाउँदै ठोस प्रतिबद्धता र कार्ययोजना माग गरेका छन्। पीडित नन्दबहादुर थापाले सहकारीको रकम फिर्ता गराउने नाममा पटक–पटक आश्वासन दिइए पनि कार्यान्वयन नभएको बताए। “जीबी राईलाई ल्याएर दुई दिनमै सावाँ–ब्याज फिर्ता गर्छु भनियो। दुईपटक गृहमन्त्री हुँदा पनि केही भएन,” उनले भने, “हामीलाई अब झुटा आश्वासन होइन, व्यवहारिक समाधान चाहिन्छ।” पृथ्वीचोकका व्यवसायी मंगलप्रसाद खड्गीले चुनावको बेला मात्रै नेता–कार्यकर्ता घरदैलोमा आउने र पछि बिर्सने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। उनले सूर्यदर्शन सहकारीमा व्यक्तिगत र संस्थागत गरी २६ लाख रुपैयाँ गुमाएको बताए। “अब रास्वपाका नेताहरु विश्वास गर्ने आधार छैन,” उनले भने। प्रेमबहादुर रानाले ३३ लाख रुपैयाँ गुमाएको उल्लेख गर्दै २५ वर्षको शिक्षण र नर्सरी व्यवसायबाट कमाएको रकम डुबेको दुखेसो पोखेका छन्। पोखरा–१३ आर्बाका गोपी दाहालले पनि ६ लाख रुपैयाँ ६ वर्षदेखि फिर्ता नपाएको बताए। “घोषणापत्रमा लेखेर मात्रै हुँदैन, कार्यान्वयन चाहिन्छ,” उनले भने। सहकारीपीडित संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठले राजनीतिक दलहरूले पीडितको भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गरेको आरोप लगाए। “सहकारी ठगीको ट्याग लागेको कसैलाई पनि मत दिनुहुन्न,” उनले भने, “हामीलाई पीडित बनाउनेलाई बरु मतै हाल्दिनँ।” उनीहरूले रवि लामिछानेले चितवनमा सहकारी ठगीको प्रमाण मागेको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन्। रास्वपाले चितवनमा आयोजना गरेको चुनावी सभामा लामिछानेले आफूमाथि लागेको आरोपमा प्रमाण मागेपछि पीडितहरू आक्रोशित बनेका हुन्। सूर्यदर्शन सहकारीको एक अर्ब ५१ करोड रुपैयाँ अपचलन भएको आरोपमा मुद्दा दायर भएको छ। १८ हजार ७०० बचतकर्तामध्ये एक हजार १५७ जनाले मात्रै किटानी जाहेरी दिएका छन्। सरकारी अनुसन्धानअनुसार केही व्यक्तिको नाममा व्यक्तिगत बिगो कायम गरिएको छ भने गोर्खा मिडियामा समेत रकम गएको उल्लेख गरिएको छ। पीडितहरूको माग छ—राज्यले नीतिगत रूपमा राहत कार्यक्रम ल्याओस्, दोषीलाई कारबाही होस् र बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरियोस्। अन्यथा, आगामी निर्वाचनमा आफूहरू रास्वपासहित सहकारी ठगीमा मुछिएका व्यक्तिलाई मत नदिने उनीहरूको स्पष्ट चेतावनी छ।

देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।  आयोगको स्वीकृत कार्यक्रमअनुसार यही फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा देशभरका ७५३ स्थानीय तहका सबै वडामा आइतबार सम्पन्न भएको हो । हरेक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको थियो । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदाताको घरदैलोमा पुग्न सक्ने र आमनागरिकबीच भिजेका इमान्दार स्वयम्सेवकका कारण यो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताइन् । उनले महिला स्वास्थ्य स्वयम्सेविकाको योगदानको प्रशंसा गर्दै लक्षित कार्यक्रम सफल भएको उल्लेख गरिन् ।  मतदाता शिक्षा प्रदान गर्न स्वास्थ्य स्वयम्सेविकालाई २०७९ को आम निर्वाचनदेखि जिम्मा दिन थालिएको थियो । यसपटक पनि यस प्रयोजनका लागि उनीहरुलाई नै जिम्मेवारी दिइएको थियो । आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रका माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिइएको आयोगले जनाएको छ ।  मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरणसमेत गरेको थियो ।  मतदाता शिक्षा सम्पन्न गरी स्वयंसेवकले आयोगमा प्रतिवेदन बुझाउने जनाइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन यही फागुन २१ गते हुँदै छ ।

विचारबिना विकास र समृद्धिख असम्भव: जगन्नाथ खतिवडा

धरान । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य जगन्नाथ खतिवडाले विचारबिना विकास र समृद्धिख सम्भव नभएको बताएका छन् । नेकपाले आइतबार धरानमा आयोजना गरेको चुनावी सभामा खतिवडाले देश बनाउने पार्टी नेकपा भएको बताए । "देश बनाउन लहड र भेलमा होइन, चेतना र विचारमा आधारित राजनीति चाहिन्छ," उनले भने । खतिवडाले धरान कुनै बेला शिक्षा, संस्कृति, खेलकुद, धार्मिक पर्यटन र व्यापारको केन्द्र भएको स्मरण गरे । उनले धरानको पुनर्जीवन, पुनर्ताजगी र पुनर्निर्माण आवश्यक भएको बताए । "धरानलाई पुनर्जीवन दिन सक्ने नेतृत्व अहिलेको मुख्य आवश्यकता हो," उनले भने ।

वार्ताबाट समस्या समाधान खोज्न विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको सन्देश

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्याको समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेकी छन् । उनले भनिन्, “युद्धग्रस्त क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सतर्कता अपनाउन अनुरोध गर्दछु । साथै, नेपाल सरकारलाई आफ्ना नागरिकको सुरक्षाको लागि आवश्यक पहल तथा तयारी गर्न म ध्यानाकर्षण गराउँदछु ।” उनले फागुपूर्णिमा (होली) पर्वको पावन अवसरमा आज शुभकामना व्यक्त गर्दै यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी सम्पूर्ण मतदाताले आफ्नो विवेक प्रयोग गर्दै मतदान प्रक्रियामा सक्रिय सहभागिता हुने विश्वास पनि व्यक्त गरेकी छन् । नेपालमा राजनीतिक स्थिरता, दिगो शान्ति र लोकतान्त्रिक प्रणालीको रक्षा र सुदृढीकरणका लागि आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन एउटा महत्त्वपूर्ण अवसर हुने पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ । रङ्ग, उत्साह र उल्लासले भरिएको यस पर्वले सम्पूर्ण नेपालीहरूबिच आपसी प्रेम, सद्भाव र सहिष्णुताको भावनालाई सशक्त बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उनको विश्वास छ । भण्डारीले सत्य, न्याय र सदाचारको विजयको सन्देश बोकेको फागुपूर्णिमा पर्वले समाजमा विद्यमान विकृति, विसङ्गति तथा नकारात्मक प्रवृत्तिहरूको अन्त्य गर्दै सभ्य, शान्त र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरित गरोस् भन्ने कामना पनि गरेकी छन् ।

यस वर्षको ‘महामूर्ख’को उपाधि मधेसका सभामुख यादवलाई

जनकपुर । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवलाई होरी पर्वका अवसरमा मिथिला नाट्य कलापरिषद्ले आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा यस वर्षको ‘महामूर्ख’को उपाधि प्रदान गरिएको छ । सोमबार जनकपुरधाम उपमहानगरपालिका तथा जनक मन्दिरको सह–आयोजनामा गरिएको होरी महोत्सव तथा महामूर्ख सम्मेलनअन्तर्गत जनकपुरधाममा दुई दिने महामूर्ख सम्मेलनमा सभामुख यादवलाई सो उपाधि प्रदान गरिएको हो । सभामुख यादवलाई मिथिला नाट्यकला परिषद्का अध्यक्ष सुनिल मल्लिक, पूर्वअध्यक्ष प्रमेश झा, सुनिल मिश्रलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सोही कार्यक्रममा आधुनिक शिक्षामा योगदान दिएबापत राकेश कर्णलाई वैशाखानन्द, मैथिली अभियानी विभा झालाई तिलविखनी, कानुन व्यवसायी विपिनकुमार झालाई लवरसट्का, पत्रकार एवं साहित्यकार हिमांशु चौधरीलाई जी हजुरिया सम्मानले सम्मानित गरिएको छ । कवि एवं साहित्यकार दिगम्बर झा दिनमणिलाई पोना पण्डित, शिक्षासँगै संस्कार दिने निजी विद्यालयका सञ्चालक विश्वलाल सिंहलाई पटमूर्ख, जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख अञ्जु पाण्डेलाई मनतोरिया, न्युरो सर्जन डा विजय राउतलाई विसखोपडा, उद्योगपति प्रदीप चौधरीलाई तरघुस्ताले सम्मानित गरिएको छ । महामूर्ख सम्मेलनमा ह्यान्डबलका खेलाडी पवन कर्णलाई बज्रकिट, सुन व्यवसायी पवन ठाकुरलाई डपोरशङ्ख, मिथिला चित्रकार राजकुमारी मण्डललाई तरघुस्की, युवा लव अधिकारीलाई लोढाशङ्कर तथा नेपाल टेलिभिजनका मैथिली समाचार वाचक दीपक कर्णलाई लम्बोदर सम्मानले सम्मानित गरिएको छ । कार्यक्रममा बोल्दै सभामुख रामआशिष यादवले महामूर्खको उपाधिले सम्मानित हुन पाएकामा खुसी व्यक्त गर्दै मिथिला नाट्यकला परिषद्ले मिथिलाको कला, संस्कृति र संस्कारलाई जीवन्त राखेकामा खुसी व्यक्त गरे । महामूर्ख सम्मेलनमा दिगम्बर झा दिनमणि, पुनम झा मैथिल, पत्रकार सन्तोष कर्ण, विजयदत्त मणिसहितका कविले होरीमा आधारित कवितावाचन गर्नुभएको थियो । कार्यक्रममा मिथिला नाट्यकला परिषद्का कलाकारहरूले दोकान नाटक क्षणिकाका साथै विभिन्न प्रकारका होरीका गीतहरू गाएका थिए ।