सर्लाही–४ मा नेकपाकाे लहर: उम्मेदवार डा. रजनीश रायको पक्षमा जनसमर्थन बढ्दै
सर्लाही । सर्लाही क्षेत्र नं. ४ को राजनीतिक माहोल यतिबेला नयाँ परिवर्तनतर्फ उन्मुख देखिएको छ। दशकौँदेखि पुराना दल र स्थापित अनुहारहरूको दबदबा रहेको यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार तथा युवा चिकित्सक डा. रजनीश रायप्रति जनताको आकर्षण र समर्थन निरन्तर बढ्दै गएको छ।
स्थानीय मतदाताहरूका अनुसार विकास, पारदर्शिता र जनपक्षीय नेतृत्वको अभावले क्षेत्रका समस्या ज्यूँका त्यूँ रहेका छन्। यही अवस्थामा जनताको सेवामा समर्पित भावनासहित चिकित्सकीय पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका डा. रायले परिवर्तनको सशक्त विकल्प प्रस्तुत गरेका छन्। उनी पुरानो बेथिति हटाएर सुशासन र जनउत्तरदायी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएका हुन्।
जनताको विश्वास जित्दै अघि बढ्दै
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, पारदर्शी प्रशासन र जवाफदेही नेतृत्वलाई मुख्य एजेन्डा बनाएका डा. रायले क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजना अघि सारेका छन्। स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी जस्ता आधारभूत क्षेत्रको सुधार नै आफ्नो प्राथमिकता रहेको उनले स्पष्ट पारेका छन्।
चिकित्सकको अनुभवलाई सामाजिक सेवासँग जोड्दै उनले क्षेत्रका नागरिकलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएका छन्। विशेषगरी उखु किसान तथा श्रमजीवी वर्गका समस्यालाई संसदको रोष्ट्रमसम्म पुर्याएर दीर्घकालीन समाधान खोज्ने उनको प्रतिबद्धता रहेको छ।
युवा नेतृत्व र विकासको नयाँ दृष्टिकोण
युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने तथा विदेश पलायन रोक्ने योजना पनि उनको प्राथमिकतामा रहेको छ। स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै दिगो विकासको मोडेल लागू गर्ने उनको दृष्टिकोणले मतदाताहरूमा सकारात्मक प्रभाव पारेको बताइन्छ।
“अबको छनोट काम गर्ने नेतृत्व र पुरानो बेथितिबीचको हो। सर्लाही–४ ले अब विकास र समृद्धिको बाटो रोज्नुपर्छ,” डा. रायले जनतासँगको भेटघाटका क्रममा बताउँदै आएका छन्।
तारा छापमा मतदानको अपिल
नेकपा समर्थक तथा स्थानीय कार्यकर्ताहरूले क्षेत्रको विकास र परिवर्तनका लागि तारा छापमा मतदान गरी डा. रजनीश रायलाई विजयी गराउन आग्रह गरिरहेका छन्। मतदाताहरू अब आश्वासन होइन, परिणाम चाहन्छन् भन्ने भावना प्रबल बन्दै गएको छ।
सर्लाही–४ मा देखिएको यो राजनीतिक उत्साहले आगामी निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र रोचक बनाएको छ।
आज पनि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधरणतया बादल तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहको छ। आज दिउसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। देशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका समेत एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग सहित बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौँ । देशका विभिन्न भागमा गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, चितवन, कञ्चनपुर, सिरहा, मकवानपुर, डडेलधुरा र कैलालीबाट उनीहरुलाई पक्राउ गरिएको हो । अभियुक्तहरुबाट चिकित्सकको सिफारिसमा मात्र पाइने विभिन्न किसिमका औषधि र लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो । यसैबिच, गस्तीमा रहेको प्रहरीले गोरखा, ताप्लेजुङ र कपिलवस्तुमा तीन जनाको शव फेला परिएको जनाइएको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन : ८ जनालाई कारबाही
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण सोधेको छ । राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भएको तथा छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेद्वार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको छ । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण सोधिएको छ । देशभरबाट हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटा किनारा लगाइएको आयोगले जनाएको छ । सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेशबाट प्राप्त भएका छन् ।
अरुण नदीको बेलीब्रिज भाँचियो
सङ्खुवासभा । यहाँको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको हो । सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । ठूला सवारीसाधन तार्ने क्रममा पुल गाडीसहित भाँचिएको हो । बेलीब्रिज भाचिँदा नुम सेदुवा सडकखण्डको भित्री सडकमा प्रदेश–०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ । ट्रक नदीमा खसेर दुर्घटनामा हुँदा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए । घाइते चालकको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपश्चात् काठमाडौँ लैजाने तयारी भइरहेको छ । निर्माणाधीन कासुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको लोवेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको हो । अरुण नदीको बेलीब्रिज भाँचिएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आवतजावत ठप्प बनेको छ । यसमार्ग हुँदै मकालु बेसक्याम्प जानेआउने गरिन्छ । पुल भत्किँदा स्थानीय, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ । उक्त पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन समन्वय भइरहेको छ । विशेषगरी कासुवा हाइड्रोपावरसँग मर्मतसम्भारका विषयमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरूप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट नेपाल सरकारलाई देहायबमोजिमका सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सिफारिस गरिएको उल्लेख गरिएको छ । आयोगले दमकल, एम्बुलेन्स, शववाहन खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक पर्नेछैन । दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पताल सेवाका सवारीसाधन (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न) पास आवश्यक नपर्ने आयोगले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म) लाई पनि कुनै पास जरुरी नपर्ने स्पष्ट पारिएको छ । त्यस्तै, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधनले पनि निर्बाध सञ्चालन हुन सक्नेछन् । नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारीसाधन (परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानवअधिकार आयोगबाट अनुगमन र पर्यवेक्षणका लागि प्रयोग गर्ने सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुन सक्नेछन् । यस्तै, निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रतिनिधि रहेको एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना भई जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी हुनुपर्ने सवारी पाससमेत सोही डेस्कबाट जारी भइरहेको स्पष्ट पारिएको छ ।
गण्डकीमा १७ अस्थायी मतदान केन्द्र निर्धारण
गण्डकी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका ११ जिल्लामा कुल १७ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । गोरखा, पर्वत, म्याग्दी, तनहुँ, कास्की र बागलुङमा दुई–दुईवटा र नवलपुर, स्याङ्जा, मनाङ, मुस्ताङ र लमजुङमा एक–एकवटा अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख नारायण ढकालले जानकारी दिए । गण्डकी प्रदेशमा अस्थायी मतदाता २१ हजार ६९३ जना रहेका छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र कारागारका कैदीबन्दीलगायत अस्थायी मतदातामा समावेश छन् । अस्थायी मतदाताले ताकिएको अस्थायी मतदान केन्द्रबाट समानुपातिकतर्फ मत दिन पाउने प्रदेश निर्वाचन अधिकारी ढकालले बताए । गण्डकी प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता छन् । प्रदेशमा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गर्न झन्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन गरिने भएको छ । तीमध्ये १४ हजार ३५० कर्मचारी र सात हजार ६५ स्वयंसेवक रहनेछन् । गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा ३० स्वतन्त्र उम्मेदवारसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये २९ महिला र २०५ पुरुष उम्मेदवार रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मुस्ताङका दश मतदान केन्द्र संवेदनशील
मुस्ताङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङका ३९ मतदान केन्द्रमध्ये १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ । भौगोलिक विकटता तथा मतदाता सङ्ख्याका आधारमा यहाँका १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको हो । यहाँका १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको भए पनि संवेदनशील सूचीमा राखिएका मतदान केन्द्रको नामावली सुरक्षा दृष्टिकोणका कारण सार्वजनिक गर्न अप्ठ्यारो हुने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताइन् । “जिल्ला सुरक्षा समितिले यहाँका केही मतदान केन्द्रलाई विविध कारणले पहिचान गरी संवेदनशील सूचीमा राखेका छौँ, ती संवेदनशील मतदान केन्द्र गोप्य नै राखेका छौँ, हामीले ती मतदान केन्द्रलाई विशेष प्राथमिकतामा राखेर सबै खाले सुरक्षा प्रबन्ध मिलाइरहेका छौँ”, प्रजिअ शर्माले भनिन् । अन्य सबै मतदान केन्द्रको अवस्था सामान्य रहेको जनाइएको छ । निर्वाचन सुरक्षाका लागि मुस्ताङका सबै मतदान केन्द्रको सुरक्षा प्रबन्धका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै ३१२ जना निर्वाचन प्रहरीलाई कार्यस्थलमा खटाइसकिएको छ । त्यसैगरी, निर्वाचनमा खटिने २१६ जना कर्मचारी जनशक्तिलाई पनि फागुन १८ गतेसम्म मतदान सामग्रीसहित कार्यस्थलमा खटाइने कार्यतालिका रहेको जनाइएको छ । उच्च उचाइको मतदान केन्द्रहरूमा खटाइने सुरक्षा र कर्मचारी जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सुरक्षा सतर्र्कता अपनाइएको छ । नेपाल प्रहरीबाट माथिल्लो मुस्ताङका मतदान केन्द्रमा खटिने सुरक्षा र निर्वाचन गराउने जनशक्तिको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै लोमान्थाङमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ भने लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकालगायत सबै वडाका स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीलाई तयारी अवस्थामा राखिएको छ । मुस्ताङमा उच्च उचाइका २१ मतदान केन्द्रमा लेक लाग्ने समस्यासँग सम्बन्धित पाँच प्रकारका औषधि पनि पठाइसकिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । उनका अनुसार माथिल्लो मुस्ताङका छ मतदान केन्द्र, लोघेकर दामोदरकुण्डका १० मतदान केन्द्र र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका छ मतदान केन्द्रमा लेक लाग्ने सम्भावना रहेकाले त्यहाँका मतदान केन्द्रमा पोर्टेबल अक्सिजन क्यानसहित पाँच प्रकारका प्राथमिक उपचारका औषधिको व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताए । त्यसैगरी, निर्वाचन सुरक्षाका लागि फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म नेपाल–चीन सीमानाका पूर्ण रूपमा बन्द गरिने भएको छ । निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न शुक्रबार रातिदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुँदासम्म जिल्लामा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । यस्तै, फागुन २० गते बुधबार रातिदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुँदासम्म अतिआश्यक सवारीसाधनबाहेक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्नमा रोक लगाएको छ ।
सडक पहुँचसँगै लसुन खेतीमा आकर्षित
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान यति बेला व्यावसायिक लसुन खेतीतर्फ आकर्षित हुँदै गएका छन् । विगतमा घरायसी प्रयोजनका लागि मात्र सीमित रहेको लसुन खेती अहिले आम्दानीको स्रोतका रूपमा विकास हुँदै गएको हो । ग्रामीण सडक सञ्जाल विस्तार भएसँगै उत्पादन गरिएको लसुन सहज रूपमा बजारसम्म पुग्न थालेपछि किसानले व्यावसायिक खेतीलाई प्राथमिकता दिन थालेका हुन् । मझौलेकी किसान विजया लुइँटेलले हाल करिब दुई रोपनी क्षेत्रफलमा लसुन खेती गरिरहेकी छिन् । सडक पहुँच सहज भएसँगै व्यापारी गाउँमै पुगेर लसुन सङ्कलन गर्न थालेपछि बजारको चिन्ता हटेको उनको भनाइ छ । “पहिले उत्पादन बिक्री गर्न बजारसम्म लैजान कठिन हुन्थ्यो, अहिले सडक पुगेपछि व्यापारी घरमै आउँछन्, मूल्य पनि राम्रो पाइन्छ”, लुइँटेलले भनिन् । उनका अनुसार गत वर्ष लसुन प्रति किलो रु २०० सम्ममा घरबाटै बिक्री भएको थियो । उत्पादन लागत तुलनात्मक रूपमा कम र बजार मूल्य आकर्षक भएकाले राम्रो आम्दानी लिन सकिएको थियो । “गाउँमा धेरै किसान व्यावसायिक रूपमा लसुन खेतीमा जुटेका छन्”, उनले भनिन्, “मैले पनि बिस्तारै क्षेत्रफल बढाउँदै लगेकी छु ।” स्थानीय किसानका अनुसार मझौलेको माटो र हावापानी लसुन खेतीका लागि उपयुक्त छ । राम्रो उत्पादन हुने र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले पनि लसुन खेती सुरक्षित बालीका रूपमा स्थापित हुँदै गएको छ । पछिल्लो समय छिमेकी बजार तथा जिल्ला बाहिरबाट पनि माग आउन थालेको किसानको भनाइ छ । मनग्य आम्दानी लिन सकिने भएकाले साना किसानका लागि पनि लसुन खेती लाभदायक बन्दै गएको छ । परम्परागत अन्नबालीको तुलनामा नगदे बालीतर्फ आकर्षण बढ्दै जाँदा गाउँको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको देखिन्छ । स्थानीय तहले कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ व्यवस्थापन तथा प्राविधिक सहयोगलाई प्राथमिकता दिँदै आएको जनाएको छ । सडक पूर्वाधार विस्तार र बजार पहुँच सुनिश्चितताले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएको जनाइएको छ । यसरी पूर्वाधार विकाससँगै कृषिमा व्यावसायिक सोच विस्तार हुँदै जाँदा मझौलेका किसान आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् । लसुनखेतीबाट प्राप्त आम्दानीले घरपरिवारको दैनिकी सुधार्नुका साथै ग्रामीण क्षेत्रमा बसाइँसराइ रोक्न पनि सहयोग पुग्ने उनीहरूको विश्वास छ ।
धनुषामा किसानबाट ११ हजार क्विन्टल धान खरिद
धनुषा । यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेस प्रदेश कार्यालय जनकपुरधामले विगत तीन महिना महोत्तरी र धनुषाका किसानबाट ११ हजार ६६५ क्विन्टल धान खरिद गरेको छ । कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार महोत्तरी र धनुषा जिल्लाका ३०० किसानबाट रु चार करोड २३ लाख २४ हजार मूल्य बराबरको धान खरिद गरिएको हो । साथै कार्यालयको गोदाम भरिएपछि अहिले धान खरिद गर्न रोक्का गरिएको छ । प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसाका दरले धान खरिद गरिएको हो । गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरिएको थियो । यस वर्ष धान बिक्रीका लागि धनुषा र महोत्तरीका ठुलो सङ्ख्यामा किसानले धान बेचेको सो कार्यालयका सहायक प्रबन्धक गङ्गाप्रसाद साहले जानकारी दिए । बजार मूल्यभन्दा यस कार्यालयबाट धान खरिद मूल्य अत्यधिक भएकाले धान बिक्री गर्ने किसान अत्यधिक रूपमा आएका थिए । कम्पनीले प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको छ । स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट ५५ क्विन्टलसम्म धान खरिद गरिएको सहायक प्रबन्धक साहले बताए । धानको भुक्तानी भने सरकारले किसानको बैंक खातामै पठाउने व्यवस्था गरेको छ । धान बिक्री गर्ने किसानमध्ये धनुषा लक्ष्मीनिया गाउँपालिका, नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका किसान बढी रहेको उनले बताइन् । यस वर्ष कार्यालयले १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । तर धान राख्ने ठाउँ कमीका कारण धान किन्न बन्द गरेको थियो । धान खरिदअघि गुणस्तर परीक्षण गर्ने गरिएको र गुणस्तरीय धान मात्र खरिद भइरहेको कार्यालयको गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिले जानकारी दिइन् ।
दक्षिण इरानको हर्मोज्गान प्रान्तमा ७० जनाको मृत्यु
काठमाडौं । दक्षिण इरानको हर्मोज्गान प्रान्तको मिनाब र जास्कमा भएका आक्रमणहरूमा कम्तीमा ७० जनाको मृत्यु भएको । ९० भन्दा बढी घाइते भएको हर्मोज्गान मेडिकल साइन्सेजका प्रमुखलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार एजेन्सी ‘फार्स’ले जनाएको छ । यद्यपि, यी संख्याहरूको स्वतन्त्र रूपमा तत्काल पुष्टि हुन सकेको छैन । इरानको सरकारी समाचार एजेन्सी ‘इरना’ले शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको बताएको छ । प्रवक्ता अली फरहादीले उक्त एजेन्सीलाई बताए अनुसार आज विद्यालयमा तीनवटा मिसाइल आक्रमण गरिएको थियो । उनले यस आक्रमणमा थप ६३ जना घाइते भएको जानकारी दिए । प्रवक्ताले अन्य सम्भावित पीडितहरूको खोजीका लागि विद्यालयको भग्नावशेष हटाउने कार्य भइरहेको बताएका छन् । इरानी विदेशमन्त्री अब्बास अरागचीले विद्यालयमा भएको आक्रमणको उचित जवाफ दिने चेतावनी दिएका छन् । विदेशमन्त्री अरागचीले ती पीडितहरू सबै निर्दोष बालबालिका भएको बताएका छन् ।
नेपालीलाई तत्काल सहायता र सुरक्षित व्यवस्थापन गर्न एनआरएनएको आग्रह
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा विकसित घटनाक्रमले इजरायल, इरान, कतार, कुवेत, यूएई, बहराइनलगायत देशमा बसोबास गरिरहेका नेपालीको सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको एनआरएनएले बताएको छ । मध्यपूर्वका देशमा रहेका १९ लाखभन्दा बढी नेपालीको सुरक्षा मुख्य प्राथमिकतामा राखी आवश्यक कदम चाल्नु जरुरी रहेको एनआरएनएले जनाएको छ । इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशमा रहेका नेपालीलाई सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न एनआरएनएको आग्रह छ । “अत्यावश्यक बाहेक बाहिर ननिस्कनुहोस् र सुरक्षित स्थानमै बस्नुहोस्,” एनआरएनएले भनेको छ, “अनावश्यक यात्रा नगर्नुहोस् तथा स्थानीय अवस्थाबारे निरन्तर जानकारी राख्नुहोस् ।” राष्ट्रिय समन्वय परिषद्हरू, गैरआवासीय नेपाली संघको सचिवालय, स्थानीय नेपाली समुदाय, नेपाली राजदूतावास र सम्बन्धित निकायहरूसँग नियमित सम्पर्कमा रहन एनआरएनएले अनुरोध गरेको छ । हालको अवस्था सामान्य नभएसम्म इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा यात्रा नगर्न भनेको एनआरएनएले भनेको छ । “नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न गैरआवासीय नेपाली संघ अनुरोध गर्दछ,” एनआरएनएले भनेको छ, “यसका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग सहकार्यका लागि समेत तत्पर रहेको जानकारी गराउँदछौँ ।”
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (फागुन १७) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६३ पैसा, स्विस फ्र्यांक एकको खरिददर १८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६९ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १८ पैसा र बिक्रीदर २१ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९५ पैसा र बिक्रीदर २३ रुपैयाँ ०४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेनई मारिएको ट्रम्पको दाबी, पुष्टी हुन बाँकी
काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेनई मारिएको दाबी गरेका छन्। पछिल्ला दिनहरूमा इरान–इजरायल तनाव उत्कर्षमा पुगेका बेला ट्रम्पको यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय राजनीति थप तरंगित बनेको छ। खामेनेई मारिएको भन्ने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका अपुष्ट रिपोर्टबारे प्रतिक्रिया दिँदै ट्रम्पले अमेरिकी टेलिभिजन नेटवर्क एनबिसी न्युजसँगको कुराकानीमा भने, “हामीलाई लाग्छ कि त्यो खबर सही हो।” उनले दाबीको आधार खुलाएनन्, तर अमेरिका र इजरायलको संयुक्त कारबाहीले इरानको नेतृत्व तहमा ठूलो क्षति पुगेको संकेत गरे। ट्रम्पका अनुसार पछिल्ला हवाई आक्रमणहरूमा इरानका उच्च तहका सैन्य तथा राजनीतिक अधिकारीहरू मारिएका छन्। उनले इरानको निर्णय प्रक्रियामा ‘गंभीर प्रभाव’ पर्ने दाबी गर्दै भने, “त्यहाँको नेतृत्व संरचनामा ठूलो रिक्तता देखिएको छ।” यद्यपि उनले खामेनेईको मृत्यु पुष्टि गर्ने ठोस प्रमाण सार्वजनिक गरेका छैनन्। उता इरान सरकारले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन। तेहरानस्थित सरकारी सञ्चारमाध्यमहरूले खामेनेईको अवस्थाबारे कुनै स्पष्ट जानकारी सार्वजनिक नगरेका छैनन्। केही विश्लेषकहरूले ट्रम्पको अभिव्यक्ति मनोवैज्ञानिक दबाब सिर्जना गर्ने रणनीति हुन सक्ने बताएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार यदि खामेनेईको मृत्यु पुष्टि भयो भने त्यसले मध्यपूर्वको शक्ति सन्तुलनमा गहिरो प्रभाव पार्न सक्छ। इरानको राजनीतिक संरचनामा सर्वोच्च नेताको भूमिका निर्णायक हुने भएकाले उत्तराधिकारी चयन प्रक्रिया, सुरक्षा संयन्त्र र क्षेत्रीय नीतिमा ठूलो फेरबदल हुन सक्ने आँकलन गरिएको छ। यसैबीच, वासिङ्टन र तेलअविवबीचको सुरक्षा सहकार्य थप सुदृढ भएको संकेतहरू पनि देखिएका छन्। ट्रम्प प्रशासनले इरानमाथि कडा नीति अपनाउँदै आएको सन्दर्भमा पछिल्लो दाबीलाई त्यसैको निरन्तरताका रूपमा हेरिएको छ। यद्यपि अन्तर्राष्ट्रिय समुदायले भने संयमित प्रतिक्रिया दिएको छ। संयुक्त राष्ट्रसंघ तथा युरोपेली देशहरूले दाबीको स्वतन्त्र पुष्टि हुनुपर्नेमा जोड दिएका छन्। विश्वसनीय स्रोतबाट आधिकारिक पुष्टि नभएसम्म खामेनेईको अवस्थाबारे अनिश्चितता कायमै रहने देखिन्छ। हालसम्म ट्रम्पको दाबीबाहेक खामेनेई मारिएको पुष्टि गर्ने कुनै स्वतन्त्र वा आधिकारिक प्रमाण सार्वजनिक भएको छैन। त्यसैले यो विषय अन्तर्राष्ट्रिय स्तरमै चासो र प्रतीक्षाको केन्द्र बनेको छ।
निर्वाचनको मुखमै रास्वपाका १४ नेताको सामूहिक राजीनामा
काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई काठमाडौं–५ मा ठूलो धक्का लागेको छ। पार्टीका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जना नेताले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा पत्रमा उनीहरूले प्रतिनिधिसभा उम्मेदवार छनोट प्रक्रियाको आवरणमा आर्थिक अनियमितता भएको आरोप लगाएका छन्। साथै, बेथिति सुधार र सुशासनको नारासहित स्थापना भएको पार्टी उल्टै अनियमितता र अपारदर्शितातर्फ उन्मुख भएको दाबी गरिएको छ। लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने आकांक्षामा आघात पुगेको भन्दै उनीहरूले पार्टीका स्थानीय गतिविधिप्रति असन्तुष्टि जनाउँदै तत्कालैबाट राजीनामा दिएको उल्लेख गरेका छन्। राजीनामा दिनेहरूमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बूढानीलकण्ठ नगरपालिका–३ का नगर प्रतिनिधि राम श्रेष्ठ र जया श्रेष्ठ, वडा नम्बर ४ का सदस्यहरू समिप घले र कवि थापा मगर रहेका छन्। त्यस्तै, वडा नम्बर ७ की पदाधिकारी प्रतिभा सेढाईं र सदस्य किरण थापा, टोखा क्षेत्रका सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सृजना बस्नेत र शोभा सुवेदी तथा वडा नम्बर ४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटीले पनि राजीनामा दिएका छन्। यसअघि प्रतिनिधिसभा सदस्यका पूर्व उम्मेदवार प्रणय राणाले पनि रास्वपा परित्याग गरिसकेका थिए। उनी पुनः नेपाली कांग्रेस मा फर्किएका छन्। राजीनामा दिने १४ जना नेता राणा निकट मानिन्छन्।
सिन्धुपाल्चोक-२ मा युवराज दुलाल: घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
सिन्धुपाल्चोक । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यसैक्रममा नेकपाका उम्मेदवार युवराज दुलाल “शरद” विकासको निरन्तरता, स्थायित्व र परिणाममुखी कार्यान्वयनलाई मुख्य एजेन्डा बनाउँदै घरदैलो अभियानमा सक्रिय रूपमा जुटेका छन्। पछिल्ला दिनमा उनी गाउँ–टोल, बस्ती र बजार क्षेत्रमा पुगेर प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रयासरत छन्। औपचारिक आमसभाभन्दा प्रत्यक्ष भेटघाटलाई प्रभावकारी माध्यम मान्दै दुलाल मतदातासँग साक्षात्कार गरिरहेका छन्। साना अन्तरक्रियात्मक कार्यक्रममार्फत स्थानीयका गुनासा, सुझाव र अपेक्षा सुन्दै उनले आफ्ना योजनाबारे स्पष्ट धारणा राखिरहेका छन्। “जनताको विश्वास जित्ने आधार प्रत्यक्ष संवाद नै हो,” उनले एक कार्यक्रममा भने, “घोषणापत्रमा सीमित नभई कामको निरन्तरता र परिणाम देखिनुपर्छ।” घरदैलो अभियानका क्रममा देखिएको स्थानीय उत्साहले उनलाई जितको नजिक पुर्याएको समर्थकहरूको दाबी छ। दुलालले यसअघि सुरु गरिएका पूर्वाधार योजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। ग्रामीण सडक स्तरोन्नति, खानेपानी आयोजनाको विस्तार, सिँचाइ व्यवस्थापन तथा कृषि उत्पादनको बजार सुनिश्चितता उनका प्राथमिक एजेन्डा हुन्। कृषकलाई उत्पादनमै सीमित नराखी बजार र मूल्य सुनिश्चिततासम्म जोड्ने नीति आवश्यक रहेको उनको भनाइ छ। स्थानीय तहमा सुरु भएका कतिपय अधुरा योजनालाई समयमै सम्पन्न गरिने आश्वासन पनि उनले दिएका छन्। कोरोना महामारीका कठिन दिनदेखि भूकम्प तथा बाढीपहिरो जस्ता विपद्का बेला उनले खेलेको भूमिकालाई मतदाताले उच्च मूल्यांकन गरिरहेका छन्। राहत व्यवस्थापन, पुनःनिर्माण पहल र प्रभावित परिवारसम्म प्रत्यक्ष पुगेर सहयोग जुटाउने कार्यले उनलाई “विकासवादी नेताको पहिचान” दिलाएको स्थानीय बताउँछन्। विपद् व्यवस्थापनमा सक्रिय उपस्थितिले उनको नेतृत्व क्षमताप्रति जनविश्वास थप बलियो बनेको विश्लेषण गरिएको छ। युवालाई स्वरोजगार र उद्यमशीलतामा प्रवर्द्धन गर्ने विशेष कार्यक्रम ल्याउने तयारीसमेत उनले सार्वजनिक गरेका छन्। वैदेशिक रोजगारीलाई मात्र विकल्प मान्ने प्रवृत्तिमा परिवर्तन ल्याउँदै स्थानीय स्रोत, सीप र सम्भावनाको उपयोगमार्फत रोजगारी सिर्जना गर्ने उनको योजना छ। “युवालाई अवसर दिन सके गाउँमै सम्भावना छ,” उनले भने, “सीप, लगानी र बजारलाई जोड्ने स्पष्ट योजना आवश्यक छ।” उनले अघि सारेको “विकासको बाकस” अवधारणालाई यसपटक थप परिमार्जित र विस्तारित ढाँचामा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। दीर्घकालीन योजना, पारदर्शी बजेट व्यवस्थापन र नियमित अनुगमनमार्फत परिणाममुखी विकास सुनिश्चित गरिने उनको दाबी छ। प्रदेश तहमा जिम्मेवारी सम्हालिसकेको अनुभवलाई संघीय स्तरमा उपयोग गर्दै क्षेत्र नम्बर २ लाई नमूना विकास क्षेत्र बनाउने लक्ष्य उनले अघि सारेका छन्। घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले रोजगारी, कृषि उपजको उचित मूल्य, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा मुख्य प्राथमिकता भएको बताएका छन्। दुलालले ती विषयलाई नीतिगत प्राथमिकतामा समेट्ने आश्वासन दिँदै “विकासलाई नारामा होइन, नतिजामा देखाउने” प्रतिबद्धता दोहोर्याएका छन्। उता, अन्य उम्मेदवारहरू पनि सक्रिय बन्दै जाँदा चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। विकासको निरन्तरता, विपद्मा गरेको कामको मूल्यांकन र प्रत्यक्ष जनसम्पर्क अभियानका आधारमा युवराज दुलाल “शरद” क्षेत्र नम्बर २ मा बलियो दाबेदारका रूपमा उभिएको समर्थकहरूको दाबी छ। चर्किंदो चुनावी माहोलबीच मतदाताको अन्तिम निर्णयले सिन्धुपाल्चोक–२ को आगामी राजनीतिक तथा विकासीय दिशा तय गर्नेछ।

