बैतडीमा ज्वरोका कारण एकै घरका दुई किशोरको मृत्यु, गाउँ त्रासमा

बैतडी । बैतडीकाे पुरचौंडी नगरपालिका–१० महरागाउँमा ज्वरोका कारण एकै घरका दुई किशोरको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ। मृत्यु हुनेमा १३ वर्षीय बिनोद महरा र उनका १० वर्षीय भाइ विकास महरा रहेका छन्।

उच्च ज्वरो, बान्ता, जिउ तथा आँखा दुख्ने जस्ता लक्षण देखिएपछि दुवै दाजुभाइको मृत्यु भएको स्थानीयले बताएका छन्। दाजु बिनोदको गत सोमबार र भाइ विकासको आज बिहान मृत्यु भएको हो।

स्थानीयका अनुसार दुवैलाई अस्पताल लैजाने तयारी गरिए पनि गाडी नआउँदै तथा अस्पताल पुर्‍याउने क्रममा अवस्था गम्भीर बन्दै जाँदा ज्यान गएको हो।

गाउँभरि यस्तै लक्षण देखिएका अन्य बिरामीहरू समेत रहेको भन्दै स्थानीयले स्वास्थ्य सतर्कता बढाउन माग गरेका छन्। घटनापछि जिल्ला अस्पताल बैतडी र स्वास्थ्य चौकी पुरचौंडीबाट स्वास्थ्यकर्मीको टोली गाउँतर्फ प्रस्थान गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखले जानकारी दिएका छन्।

काठमाडौंमा रात्रिकालीन व्यवसाय सञ्चालनमा समयसीमा लागू

काठमाडाैं । काठमाडौंमा रात्रिकालीन व्यवसाय सञ्चालन समयलाई लिएर प्रशासनले नयाँ नियम जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले आगामी निर्णय नहुँदासम्म सबै प्रकारका रात्रिकालीन व्यवसायहरू राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने व्यवस्था लागू गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनाअनुसार फागुन १८ गतेदेखि यो नियम कार्यान्वयनमा आउनेछ। सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। सूचनामा उल्लेख भएअनुसार राति ९ बजेसम्म सञ्चालन भएका व्यवसायहरू त्यसपछि अनिवार्य रूपमा बन्द गर्नुपर्नेछ। अर्को औपचारिक निर्णय नहुँदासम्म यो नियम कायम रहने प्रशासनको स्पष्ट निर्देशन छ। प्रशासनले सम्बन्धित व्यवसायी तथा सरोकारवालाहरूलाई निर्णयको पालना गर्न आग्रह गर्दै सुरक्षा व्यवस्थामा सहयोग गर्न अपिल गरेको छ। निर्वाचन अवधिभर शान्ति–सुरक्षा सुदृढ बनाउन यो कदम महत्वपूर्ण रहेको बताइएको छ।

मोरङमा राजमार्ग किनारमा एक वृद्ध मृत फेला

माेरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित ठडिया चोकनजिक कवाडी संकलन गरेर जीवन गुजार्दै आएका एक वृद्ध मृत फेला परेका छन्। सुन्दरहरैँचा– ७ का स्थानीय ६५ वर्षीय लोकबहादुर भुजेल शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्। ठडिया चोकबाट करिब पाँच सय मिटर पूर्वतर्फ सडक किनारमा शुक्रबार बिहान करिब साढे ११ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ। मृतक भुजेलको दुवै खुट्टामा चोट देखिएको र घटनास्थलको अवस्था हेर्दा सवारीसाधनको ठक्करबाट मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। स्थानीयका अनुसार भुजेल एक्लै बस्दै आएका थिए। उनी प्लास्टिक, बोतल र कागज संकलन गरी कबाडीमा बिक्री गरेर जीविका चलाउँथे। वृद्धलाई दुर्घटना गरेर फरार भएको सवारीको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ।

झापा–५ मा रन्जित तामाङको पक्षमा युवाहरुकाे सक्रियता बढ्दै

झापा । झापा क्षेत्र नम्बर ५ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार रन्जित तामाङको पक्षमा युवहरुकाे  सक्रिय रूपमा प्रचार अभियानमा जुटेका छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै विभिन्न टोल–टोलमा उनीहरूले उल्लेखनीय सहभागितासहित प्रचार–प्रसार तीव्र पारेका हुन्। युवाहरू घरदैलो कार्यक्रम, कोणसभा तथा जनभेटघाटमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवारका योजना र प्रतिबद्धताबारे जानकारी गराइरहेका छन्। “युवाको आवाज, विकासको आधार” भन्ने नारासहित अघि बढेको अभियानमा शिक्षा, रोजगारी, महिला सशक्तिकरण तथा स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताइएको छ। अभियानमा सहभागी एक युवा भने, “हामी परिवर्तन चाहन्छौं। युवापुस्ताको भविष्य सुरक्षित गर्न सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक छ। त्यसैले हामी रन्जित तामाङलाई जिताउन मैदानमा उत्रिएका हौं।” उम्मेदवार तामाङले युवाशक्तिको साथप्रति आभार व्यक्त गर्दै निर्वाचित भए पारदर्शी र उत्तरदायी नेतृत्व दिने प्रतिबद्धता जनाएका छन्। उनले महिला सहभागिता बढाउने तथा निर्णय प्रक्रियामा युवाको भूमिका सुदृढ बनाउने योजना अघि सारेका छन्। स्थानीय बासिन्दाका अनुसार यसपटकको चुनावी माहोलमा युवतीहरूको सक्रिय उपस्थिति विशेष आकर्षणको विषय बनेको छ। निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा प्रचार अभियान थप तीव्र बन्दै गएको छ।

मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले सरोकार भएकाको ध्यानाकर्षण गराएको हो । फागुन २१ गते १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायी समेत)मा मतदान हुँदैछ । उक्त दिन निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त, ज्येष्ठ नागरिकलगायतका मतदातालाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि व्यवस्था मिलाउन आयोगले आह्वान गरेको हो । निर्वाचनको व्यवस्थापकीयकार्य आयोगबाट स्वीकृत कार्यतालिका बमोजिम निरन्तर जारी रहेको उल्लेख गर्दै आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सेवा सम्बन्धित मतदान स्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले  जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहमा आवश्यक सहयोगका लागि लेखी पठाइएको जानकारी उनले दिए । साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाइएको समेत आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न-गराउन आयोगले नेपाल सरकारलगायतका सरोकारवाला नियकासँग निरन्तर सहकार्य गर्दै निर्वाचनमा मतदाताको सार्थक सहभागिताका लागि मतदानको दिनभन्दा अघि र पछि गरी तीन दिन सार्वजनिक बिदाका लागि आयोगबाट सिफारिस भए बमोजिम नेपाल सरकारबाट निर्णयसमेत भइसकेको छ । मतदानको प्रक्रियालाई व्यवस्थित रूपमा सञ्चालन गर्न-गराउनका लागि तहगत सरकार र सरोकारवालासँगको सहकार्यको अवधारण अनुरुप आयोगले मतदान केन्द्र कायम रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, बडा कार्यालयलगायतका सरकारी संरचना र ती सरकारी संरचनामा रहेका भौतिक सम्पत्ति फागुन १९ गते मङगलबारदेखि फागुन २१ गते बिहीबारसम्म तीन दिनका लागि उपयोग गर्न सक्नेगरी व्यवस्था मिलाइदिन सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पत्राचार एवम् समन्वयका लागि सरकारलाई अनुरोध गरी गृह मन्त्रालयबाट सम्बन्धित निकायमा पत्राचारसमेत भइसकेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोगबाट भएको निर्णय र पत्राचार बमोजिमका आवश्यक सहयोगको व्यवस्था मिलाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई आयोगले आग्रह गरेको उनले बताए ।

बुटवलमा नेकपाको घरदैलो तीव्र, परिवर्तनको अभियानमा साथ दिन अपिल : बिश्वदीप

बुटवल । रुपन्देही क्षेत्र नं–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले शुक्रबार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो अभियानलाई तीव्रता दिँदै परिवर्तनको अभियानमा साथ दिन मतदातासँग अपिल गरेका छन्। सयौं नेता–कार्यकर्ताको सहभागितामा आयोजित भेटघाट कार्यक्रममा उनले सुशासन, विकास र समृद्धिका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको बताए। मोटरसाइकल र्यालीसहित विभिन्न चोक तथा टोलमा पुगेर मतदातासँग भोट माग्दै उनले रुपन्देही–२ मा तारा चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। उनले भने, “घरदैलो अभियान अन्तिम चरणमा पुगे पनि तपाईंहरूको दुःख–सुखमा साथ रहने हाम्रो प्रतिबद्धता अब सुरु हुँदैछ। यसपटक तारा चुनाव चिन्हमा मतदान गर्नुहोस्, हामी सदनबाट तपाईंका आवाज, समस्या र अपेक्षासँग प्रत्यक्ष जोडिनेछौं।” नेपाली कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले शुक्रबार वडा नं ३, ४, ५ र ६ का विभिन्न टोल–टोलमा पुगेर मतदाता भेटघाट गरेका छन्। उम्मेदवार पुग्न नसकेका स्थानमा स्थानीय कार्यकर्ताले घर–घरमै पुगेर समर्थन मागिरहेका छन्। निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’का अनुसार झण्डा, माइक, ब्यानर र प्रतिबद्धतापत्रसहित टोल–टोलमा पुगेर चुनावी एजेन्डा प्रस्तुत गर्ने कार्य जारी छ। निर्वाचन आचारसंहिताले तोकेको समयसीमासम्म घरदैलो अभियान निरन्तर सञ्चालन गरिने उनले बताए। संयोजक जीसीले पछिल्लो समय मतदातामा देखिएको उत्साह र सहयोगको प्रतिबद्धताले आफूहरू उत्साहित भएको उल्लेख गरे। शनिबार पनि वडा नं १२ र १३ मा बृहत् र्याली तथा घरदैलो कार्यक्रम सञ्चालन गरिने नेकपा बुटवल उपमहानगर समितिले जनाएको छ।

मतदानकै दिन साँझदेखि मतगणना सुरु गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोग ले यसपटक मतपेटिका संकलनको समय घटाएर मतदानकै दिन साँझदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ। मतदाताको नतिजा पर्खाइलाई छोट्याउने उद्देश्यले यस्तो रणनीति अपनाइएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो मतगणना सुरु गरी नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। “कतिपय स्थानमा आउन सक्ने अप्ठ्याराहरू अहिले नै पूर्ण रूपमा आँकलन गर्न सकिँदैन। तर साधारणतया समयमै मतगणना सुरु गर्न सकिन्छ भन्ने विश्वासका साथ आयोगले छिटो नतिजा सार्वजनिक गर्ने योजना बनाएको हो,” उनले भने। विगतका निर्वाचनका अनुभवलाई आधार मान्दै यसपटक मतपेटिका संकलन प्रक्रिया उल्लेख्य रूपमा छोट्याइने आयोगको तयारी छ। आयोगले मतदान हुनुअघि नै राजनीतिक दलहरूसँग समन्वय गरी मतगणनास्थल र आवश्यक व्यवस्थापन मिलाउने योजना अघि बढाएको जनाएको छ। मतदाताको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले ‘सद्भावनापूर्ण उद्देश्य’का साथ यस्तो योजना बनाएको प्रवक्ता भट्टराईले बताए। स्थानीय तहमा देखिन सक्ने प्राविधिक तथा व्यवस्थापकीय चुनौतीलाई ध्यानमा राख्दै अधिकतम दक्षताका साथ काम गर्ने लक्ष्य आयोगले लिएको छ। धेरैजसो निर्वाचन क्षेत्रमा जिल्ला सुरक्षा समितिसँगको समन्वयमा मतगणनास्थल तोकिसकिएको आयोगले जनाएको छ।

जिल्ला प्रशासनद्वारा मदिरा बिक्री वितरणमा रोक

हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताए । शुक्रबार जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा निर्वाचन सम्पन्न भई मत परिणाम घोषणा नभएसम्म जिल्लाभर बिक्री वितरणका साथै सेवन गर्न नपाइने जारी विज्ञप्तीमा उल्लेखीत गरिएको छ । आसन्न निर्वाचनलाई शान्त र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । प्रशासनको यो कार्यलाई अवज्ञा गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजीम कारबाही गरिने भएको सहायक प्रमुख जिल्ला अधिकारी चन्दले बताए । जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवाला तथा सर्वसाधारणलाई सूचनाको पालना गर्न आग्रह गरेको छ ।

बाँके–१ मा वैकल्पिक राजनीतिक शक्तिको उभार, नेकपाका नरेन्द्र पाण्डे (जेम्स) केन्द्रमा

बाँके । बाँके निर्वाचन क्षेत्र नं. १ मा यस पटकको चुनावी प्रतिस्पर्धा परम्परागत शक्तिहरूको मात्रै होइन, वैकल्पिक राजनीतिक धारको उभारको रूपमा पनि हेरिन थालिएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) प्रति बढ्दो आकर्षणले क्षेत्रको चुनावी समीकरण नयाँ दिशातर्फ मोडिएको संकेत दिएको छ। पछिल्ला दिनहरूमा घरदैलो अभियान, साना–ठूला जनभेटघाट र समुदायस्तरीय छलफलमा देखिएको सहभागिताले पाण्डेको उम्मेदवारीलाई केवल औपचारिक प्रतिस्पर्धाभन्दा माथि उठाएर परिवर्तनको एजेन्डासँग जोडेको छ। स्थानीय युवाहरू रोजगारी र स्वरोजगारका स्पष्ट योजनाप्रति उत्साहित देखिएका छन् भने कृषक, व्यवसायी र श्रमिक वर्गले सुशासन र पारदर्शिताप्रतिको प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएका छन्। सीमावर्ती क्षेत्रको सुरक्षा, कृषि उत्पादनको बजारीकरण, साना उद्यमको प्रवर्द्धन र सार्वजनिक सेवामा सुधार जस्ता विषयलाई प्राथमिकतामा राख्दै पाण्डेले विकासको बहसलाई नीतिगत आधारमा केन्द्रित गर्ने प्रयास गरेका छन्। उनको अभियानमा देखिएको संगठनात्मक सक्रियता र मतदातासँग प्रत्यक्ष संवादको शैलीले पनि प्रभाव पारिरहेको बताइन्छ। “हिजो व्यवस्था बदल्यौं, अब अवस्था बदल्ने अभियान” भन्ने नारासहित अघि बढिरहेको यो अभियानलाई समर्थकहरूले वैकल्पिक सोच र कार्यशैलीको अभ्यासका रूपमा चित्रित गरेका छन्। चुनावी परिणाम जे आए पनि बाँके–१ मा यस पटक विचार, नीति र कार्यक्रममाथि केन्द्रित बहसले लोकतान्त्रिक अभ्यासलाई थप जीवन्त बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

झापामा कार र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

झापा । बिर्तामोड नगरपालिका–४ कञ्चनजंघा स्कुलनजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए । पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । खड्काका अनुसार, मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कार चालक बिर्तामोड नगरपालिका–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए ।

आकर्षक पर्यटकीय गन्तव्य बन्दै च्याङ्ग्रे क्षेत्र

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो क्षेत्र पर्यटनको रोजाइँमा परेको हो । पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई गाउँपालिकाले संरक्षणसँगै पर्यटकलाई लक्षित गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । पर्यटकलाई लक्षित गरेर यहाँ दुई वटा साना पानीबोटसमेत सञ्चालनमा ल्याइएपछि पर्यटकको आवागमन झनै बढेको हो । पर्यटकलाई लक्षित गरेर ‘पञ्चकन्या स्मृति उद्यान (पार्क) निर्माण गरिएको छ भने आउने पर्यटकका लागि अन्य संरचनासमेत निर्माण भएका छन् । च्याङ्ग्रे पोखरीको संरक्षणसँगै यहाँ घुम्न आउने आन्तरिक पर्यटक बढेको गाउँपालिकाले जनाएको छ । यो क्षेत्रलाई दिगो पर्यटन पूर्वाधारका रूपमा विकास गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । उद्यानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न वृक्षरोपण, फलैँचा, विश्रामस्थल निर्माणलगायतका पूर्वाधार विकासका कामहरू निरन्तर रूपमा अगाडि बढाइरहेको छ । स्थानीय तहले पोखरी तथा उद्यानलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै शैक्षिक अवलोकन स्थलका रूपमा पनि विकास गर्ने योजना बनाएको छ । पोखरी नजिकै रहेको पञ्चकन्या मन्दिर पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । पोखरीको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न आन्तरिक पर्यटकहरू आउने गरेको स्थानीयबासी सावित्रा फुयालले बताए । परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने र दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामाकरण गरिएको स्थानीयवासीको कथन छ । परापूर्वकालदेखि नै पोखरीको पानी जुनसुकै खडेरीमा पनि नसुक्ने स्थानीयवासीको भनाइ छ । यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रे बजारसमेत लाग्ने गरेको छ । विश्राम गर्न घुम्न डुल्न, तस्बिर लिन र दृश्यावलोकनको भरपुर आनन्द लिन आन्तरिक पर्यटक यहाँ आउने गरेको स्थानीयवासी राम पुलामी मगरले बताए । यसको संरक्षणपछि यहाँको पर्यटनमा टेवा पुगेको उनको भनाइ छ । विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तजनको जमघट हुने स्थानीयवासीको भनाइ छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको यो स्थानको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न सके आर्थिक रूपमा समेत टेवा पुग्ने स्थानीयवासीहरूको विश्वास छ ।

नेकपासहित ४३ दलले बुझाए निर्वाचन आयोगमा घोषणापत्र

काठमाडौं । निर्वाचन आयोगमा ४३ राजनीतिक दलले मात्र चुनावी घोषणापत्र बुझाएका छन् । हालसम्म ४३ दलले घोषणापत्र बुझाएका आयोगको कानुन तथा राजनीतिक दल महाशाखाले जनाएको छ । जसअनुसार राष्ट्रिय जनमोर्चा, संयुक्त नागरिक पार्टी, समावेशी समाजवादी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नागरिक उन्मुक्ति पार्टी, नेपाल, त्रिमुल नेपाल, जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेशनले घोषणापत्र बुझाइसकेका छन् । त्यस्तै, नेपाल जनता पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी), राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेशनल रिपब्लिक नेपाल, एकल चुनाव चिह्न बस भएका दलले चुनावी घोषणापत्र बुझाएका छन् । त्यसैगरी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) को घोषणापत्र आयोग पुगेको छ । राष्ट्रिय जनमुक्ति पार्टी, उज्यालो नेपाल पार्टी, नागरिक सर्वोच्चता पार्टी, नेपाल, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनादेश पार्टी, नेपाल, जय मातृभूमि पार्टी, नेपालका लागि नेपाली पार्टीले घोषणापत्र आयोगमा बुझएका छन् । नेपाल मातृभूमि पार्टी, जनता समाजवादी पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाली श्रमदान संस्कृति पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनमत पार्टीको घोषणापत्र आयोगमा दर्ता भएको छ । यता, मितेरी पार्टी, नेपाल, सार्वभौम नागरिक पार्टी, पिपुल फस्ट पार्टी, नेपाली जनता दल, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), जनप्रिय लोकतान्त्रिक पार्टीको घोषणापत्र आयोगमा पुगेको छ । नेकपा एमालेसहितका केही दलले घोषणापत्र सार्वजनिक गरेका छन् । तर, आयोगमा बुझाएका छैनन् । आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाएर मात्र चुनावी प्रचारमा जान दलहरूलाई निर्देशन दिएको थियो । यही फागुन ४ गतेदेखि चुनावी प्रचारप्रसार सुरु गरिएको हो । निर्वाचन आचारसंहिताको दफा ३७ मा दल र उमेदवारले घोषणापत्र बुझाउनुपर्ने उल्लेख छ । प्रत्येक वर्ष त्यसको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने उल्लेख छ । तर, दलहरूले चुनावी घोषणापत्र बुझाउनै अटेर गरेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६१ चुनाव चिह्नबाट ६५ दल प्रतिस्पर्धामा छन् । समानुपातिकर्फ ६६ दल छन् ।

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग सहित  बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा  बाँकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका समेत एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशका  हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागसहित बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र  गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका छन् । हालसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन् ।  निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्च सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैंक खाता खोल्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार निर्वाचनमा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले कार्यविधिअनुसार निर्वाचन प्रचारप्रसारका लागि खाता खोल्ने व्यवस्था गरिएको छ । सोही खातामार्फत आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोबार गर्न भनिएको छ ।

कालीकोटमा निर्वाचन अवधिमा ड्रोन उडाउन प्रतिबन्ध

कालिकोट । कालिकोटमा ‘रिमोटली प्वाइन्टेट एयरक्राप्ट’ (आरपीए) र ‘ड्रोन क्यामेरा’ उडाउन तीन दिनका लागि प्रतिबन्ध लगाइएको छ । यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर निर्वाचन भन्दा तीन दिनअघिदेखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि आरपीए र ड्रोन उडाउन प्रतिबन्ध लगाउने निर्णय जिल्ला सुरक्षा समितिले गरेको हो । सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा व्यक्तिगत र संस्थागत तवरबाट विभिन्न उद्देश्यहरू लिई आरपीए÷ड्रोनलगायत उपकरणको प्रचलन बढ्दै आएको र सुरक्षा अवस्थामा असर नपुग्नेगरी उडान, अनुमति र अन्य नियमनसम्बन्धी व्यवस्थालाई अद्यावधिक गर्न मानवरहित हवाई उपकरण आरपीए/ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५ जारी भई लागूसमेत भइसकेकाले निर्वाचन अवधिमा उडान गर्न प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए ।  निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी अनुमति लिई सञ्चालनमा रहेका ड्रोन प्रयोगकर्ताको हकमा निर्वाचन मितिभन्दा तीन दिन अगाडिदेखि निर्वाचन सम्पन्न नहुँदासम्म आरपीए/ड्रोन उडान प्रतिबन्ध लगाइएको उनले बताए । उनले निर्वाचन अवधिमा सुरक्षा निकायबाहेक अन्य व्यक्ति/संस्थालाई ड्रोन उडानमा रोक लगाउने निर्णय भएको र अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने उल्लेख गरे । 

दुई जिल्लामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु, चार जना मृत भेटिए

काठमाडौँ । गोरखा र सुनसरीमा शुक्रबार भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौँ, दाङ, मोरङ र काभ्रेमा चार जना मृत फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको इटहरी नगरपालिका–१० मा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सो स्थानका अजयकुमार चौधरीको मृत्यु भएको हो । गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित सडकमा बोलेरो दुर्घटना हुँदा त्यसका चालक नुवाकोटको विदुर नगरपालिका–६ का जैबहादुर तामाङको मत्यु भएको हो । पाशुपत क्षेत्रस्थित किरियापुत्री भवन नजिक परिचय नखुलेका एक पुरुष, मोरङको सुन्दरहरैचा नगरपालिका–७ का लोकबहादुर भुजेल, दाङको घोराही नगरपालिका–१३ का निकास घर्ती र काभ्रेको बनेपा नगरपालिका–६ मा डेरामा बसेका पाँचथरका धनबहादुर सुब्बालाई मृत भेटिएको हो ।