मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षको निधन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।‌चार महिनाअधि मस्तिष्क पक्षघात भएर थलिएका उनको सोमबार दिउँसो निधन भएको हो ।

नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले मंगलबार उनको अन्तिम संस्कार गरिने जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचनमा मत दिन विराटनगर आउँदा उनी बेहोस भएका थिए । उनलाई अर्धचेत अवस्थामा एक महिनायता ग्रामथानस्थित घरमै राखिएको थियो ।

उनी गम्भीर बिरामी परेपछि चार महिनादेखि उपाध्यक्ष गुणवर्तीदेवी थारूले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

बकर इद पर्वले सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास

काठमाडौँ । सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, समाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।  इस्लाम धर्मावलम्बीको पर्व बकर इद (अल अजहा) को अवसरमा आज शुभकामना सन्देश दिर्दै उनले विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो भन्दै बकर इदले आपसी सद्भाव र भाइचारा अभिवृद्धिमा टेवा पुग्ने बताए ।  सभामुख घिमिरेले नेपालको संविधानले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण, धार्मिक सांस्कृतिक स्वतन्त्रताको अधिकार प्रदान गरेको उल्लेख गरेका छन् । “सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको हाम्रो देशमा बकर इदले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्द्धन गरी मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु ।” शुभकामना सन्देशमा भनिएको छ । नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी रहेको छ । हरेक जातजातिका आफ्नै विशेषता बोकेका फरक–फरक चाडपर्व छन् । हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँअनुसार फरक संस्कार र संस्कृति हुन्छन् । उनले सनातनदेखि आस्थाको धरोहरको रूपमा रहेको हाम्रा चाडपर्व र त्यस चाडपर्वमा देखिने विविधताभित्रको एकता नेपालीपनको छुट्टै विशेषतायुक्त संस्कृति र संस्कार भएको बताए ।  सभामुख घिमिरेले बकर इद इस्लाम समुदायको सबैभन्दा महत्त्वपूर्ण र विश्वभरका मुस्लिमले मनाउने दोस्रो प्रमुख इस्लामिक चाड भएको भन्दै उक्त पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना व्यक्त गरेका छन् । 

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ रहेको छ । डलर शनिबारदेखि नै यही मूल्यमा कारोबार भइरहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा तोकिएको छ । आइतबार खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४० पैसामा कारोबार भएको थियो । आज, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २३ पैसाँ र बिक्री दर १६९ रुपैयाँ ९९ पैसा रहेको छ । आइतबार खरिद दर १६९ रुपैयाँ ५१ पैसा र बिक्री दर १७० रुपैयाँ २७ पैसा रहेको थियो ।  त्यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको छ । 

मुग्लिन–मलेखु सडकखण्डमा पहिरो, यातयात अवरुद्ध

भरतपुर । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।      सडक निर्माणका क्रममा खनेको ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए ।  उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

नेपाललाई बंगलादेशले दियो १०७ रनको लक्ष्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको लक्ष्य दिएको छ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालले बंगलादेशलाई १९.३ ओभरमा १०६ रनमै अलआउट बनाएपछि १०७ रनको लक्ष्य पाएको हो । बंगलादेशका साकिब अल हसने सर्वाधिक १७ रन बनाए । नेपाली टिमका कप्तान रोहितकुमार पौडेलबाट एलबीडब्लूको धरापमा पर्नुअघि साकिबले २२ बलमा दुई चौका प्रहार गरे । महमदुल्लाह र रिसाद हुसैनले समान १३ रन थप्दा लिटोन दास र तक्षिन अहमेदले १२ र १० रन जोडे । यसबाहेक, बंगलादेशका अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन । बंगलादेशविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालबाट कुल ६ बलर प्रयोग भएका थिए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सन्दीप लामिछानले समान दुई विकेट लिए । रोहित र सन्दीपले पहिलो पटक ट्वान्टी–२० विश्वकपमा विकेट लिएका हुन् । बंगलादेशका जाकेर अली र तान्जिम हसन साकिबलाई बोल्ड गरेका सन्दीप यो खेलसँगै नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिने पहिलो बलरसमेत बने । सन्दीपले ५४औँ खेलमा यो कोशेढुंगा पार गरेका हुन् ।  सन्दीप अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा दोस्रो सबैभन्दा छिटो १०० विकेट लिने बलरसमेत बने । उनीभन्दा अघि अफगानिस्तानका राशिद खानल ५३ खेलमा १०० विकेट लिएका थिए । विश्वकपमा नेपाल र बंगलादेश दोस्रो पटक प्रतिस्पर्धामा आएका हुन् । यसअघि नेपालले बंगलादेशविरुद्ध पहिलोपटक सन् २०१४ को ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । बंगलादेशमै भएको खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो ।  जारी प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बन्दा तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । समूह ‘डी’मा तीन खेलबाट एक अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ । तीन खेलबाट चार अंक जोडेको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ ।  प्रतियोगिताबाट नेपाल बाहिरिसक्दा बंगलादेश भने जित निकाल्दै सुपर–८ मा प्रवेश गर्ने लक्ष्यमा हुनेमा । प्रतियोगिताको आगामी यात्रा निश्चित गर्न बंगलादेशमाथि जितको दबाब छ ।

काठमाडौंसहित केही स्थानमा वर्षा, यस्तो रहनेछ दिनभरको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै, बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ । अहिले काठमाडौं उपत्यकासहित देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । महाशाखाका अनुसार आज दिउँसो बागमती, कोशी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । बागमती, कोशी, र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी, आज राति बागमती, कोशी, मधेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।

असार ६ देखि प्रथम चितवन जिल्ला विद्यालय स्तरीय छात्रा भलिबल हुँदै

भरतपुर । प्रथम चितवन जिल्ला विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ चितवनको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता असार ६ देखि ८ गतेसम्म हिमालय दण्डपाणी न्यौपाने मावि भरतपुर १३ को खेल मैदानमा हुने संघका महा-सचिव रमेशचन्द्र विकले जानकारी दिए । प्रतियोगितामा चितवन जिल्लाभरका विद्यालय अन्तर्गतका छात्राहरुको टोली सहभागी हुनेछन् । तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित २० हजार रुपैयाँ तथा उपविजेताले दश हजार रुपैयाँ प्राप्त गर्नेछ । असार ५ गतेसम्म सहभागी टिमको टुङ्गो लाग्ने र सोही दिन खेल तालिका सार्वजनिक गरिने उनले विकले बताए । चितवन जिल्ला भित्र रहेका प्रतिभावान छात्रा खेलाडीहरुको प्रतिभा प्रष्फुटन तथा पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको संघका कार्यबाहक अध्यक्ष गंगालाल लामाले बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई जिल्लाका तर्फबाट विभिन्न प्रतियोगितामा पठाउने लक्ष्यसमेत रहेको अध्यक्ष लामको भनाइ छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।  

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण

काठमाडौं । विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ। यो बिचमा धेरै ब्यतिहरुले सगरमाथा आरोहणको विभिन्न कृतिमान (रेकर्ड)हरु बनाउदै आएका छन्। यस्तैमा सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चीन तर्फबाट सगरमाथाको चुचुरोमा छोटो समयमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन्। निमाले यही  मे २४ तारिखको बिहान १०ः०५ बजे चीन तर्फबाट सगरमाथाको छोटो समयमा सफल आरोहण गरेकी क्लाइबालय ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । क्लाइबालय  निर्देशक मिङ्माले नै उनलाई सगरमाथा चढ्नका लागि आवश्यक बन्दोबस्तीका सामानहरु ,लाग्ने सम्पूर्ण शुल्कहरुको साथै अरु खर्चको ब्यबस्था गरिदिएका हुन्  । वि.स.२०४५ साल जेठमा सोलुखुम्बुको नाम्चे–५ साम्देमा जन्मेकी निमाले सन् २०१९ देखि ट्रेकिङ क्षेत्रमा काम गर्दै आएकी र यसअघि उनले  लोबुचे पिक, आइल्याण्ड पिक र रामदुङ पिकको सफल आरोहण गरिसकेकी छिन् । १० दिनमै सगरमाथाको चुचुरोमा पुग्छु, रेकर्ड राख्छु भन्ने केही त्यस्तो योजना नरहेको र सगरमाथाको चुचुरोमा १० दिनमा पाइला टेकेर ११ औं दिनमा सगरमाथा आधार शिविरमा आइपुगेको शेर्पाले बताइन् । नेपालीहरुको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँ(नयाँ कीर्तिमान राख्ने भए पनि पछिल्लो समय निमा जस्तै निडर ब्यतित्वहरुले गर्दा नेपालीहरुले पनि रेकर्ड राख्न सफल भएका छन् । 

भरतपुर महानगरपालिद्धारा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम दिएको छ।उत्पादनलाई प्राथमिकता दिदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो । महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरुको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौशी खेती, पञ्चेबाज बजाउने, मादल तथा खैजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिएको छ। यस्तै प्लम्बिङ, कृषि, बेकरी, सरफ, साबुन, भाडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन,  झुम्का, माला, नेक्लेश तथा चुरा बनाउने, ड्राईभिङ,एड्भान्स सिलाई कटाई, कुक र होमेस्टे, इलेक्ट्रिसियन, सेनेटरी प्याड बनाउनेलगायतका तालिम हो। तालिमहरु एक दिने देखि ४ महिनासम्म सञ्चालन भएको महानगरले जनाएको छ। श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले निःशुल्क तालिमलाई जोड दिइएको बताइन्। अहिले यहाँका उद्योग, कलकारखाना लगायतका ठाँउमा भारतलगायत अन्य देशबाट दक्ष नागरिक ल्याउनुपर्ने बाध्यता रहेको उनले बताइन्।तालिमको व्यवस्था गरिने युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको प्रमुख दाहालको भनाइ रहेको छ ।महानगरले आगामी आर्थिक वर्षमा निःशुल्क तालिम दिने कार्यक्रमलाई वृद्धि गर्दै लैजाने पनि जनाएको छ ।

एघार महिनामा ४४ प्रतिशत पुँजीगत खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ । यस अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२ दशमलव सात प्रतिशत बराबर बजेट खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि सरकारले कूल रु.१७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा रु.११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकामा जेठ मसान्तसम्ममा रु.आठ खर्ब २२ अर्ब ८० करोड ९३ लाख बराबर खर्च भएको छ। पुँजीगत शीर्षकमा सरकारले रु.तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबरको बजेट विनियोजन गरेकामा जेठ मसान्तसम्ममा रु.एक खर्ब ३४ अर्ब ९७ करोड ९२ लाख बराबर मात्रै खर्च भएको छ। पुँजीगत शीर्षकमा हालसम्म खर्च भएको यो रकम सुरुआती लक्ष्यको ४४ दशमलव ६८ प्रतिशत बराबर मात्रै हो। वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि रु. तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकामा ७२ दशमलव सात प्रतिशत अर्थात् रु दुई खर्ब २३ अर्ब ५० करोड ८८ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकको बजेट सरकारी ऋणको साँवाब्याज तिर्नमा खर्च हुने गरेको छ। यो अवधिसम्मको सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ६४ दशमलव १५ प्रतिशत बराबर मात्रै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ। चालु आर्थिक वर्षका लागि सरकारले रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु.नौ खर्ब ४४ अर्ब ५८ करोड ९४ लाख बराबर खर्च भएको छ। सोमध्ये, कर राजस्व शीर्षकमा रु. १३ खर्ब पाँच अर्ब ४९ करोड ९६ लाख बराबर असुली गर्ने सरकारी लक्ष्य रहेकामा हालसम्म ६३ दशमलव पाँच प्रतिशत अर्थात् रु.आठ खर्ब २९ अर्ब तीन करोड ९२ लाख बराबर सङ्कलन भएको छ।  गैरकर राजस्वतर्फ सरकारले रु एक खर्ब १७ अर्ब छ करोड २१ लाख बराबर उठाउने लक्ष्य राखेकामा हालसम्म वार्षिक लक्ष्यको ७७ प्रतिशत अर्थात् रु। ९० अर्ब एक करोड बराबर मात्रै सङ्कलन भएको देखिन्छ। चालु आर्थिक वर्षका लागि सरकारले रु. ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेको थियो। हालसम्म उठेको वैदेशिक अनुदानको अवस्था हेर्दा वार्षिक लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् रु.दुई अर्ब ७५ करोड ८० लाख बराबर मात्रै सङ्कलन भएको देखिन्छ। मुलुकको अर्थतन्त्रमा सुधार हुन नसक्नुमा सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र कमजोर रहेको भन्दै आलोचना भइरहँदा पुँजीगत खर्चको अवस्था कमजोर देखिनु, चालु र वित्तीय व्यवस्था शीर्षकको खर्च बढ्दै जानु, लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसक्नु तथा वैदेशिक अनुदान उठाउन नसक्नु प्रमुख समस्याका रूपमा देखिएका छन्।

घट्यो नेप्सेसँगै कारोबार पनि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १७.०४ अंकले घटेको छ। यस दिन नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। नेप्से परिसूचक ०.८० प्रतिशतले घटेर २०९५.२५ विन्दुमा बन्द भएको छ। गएको बिहीबारको तुलनामा कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो दिनको तुलनामा एक अर्ब रुपैयाँ कमको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। आइतबार पाँच अर्ब ४७ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। बिहीबार ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको थियो। नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यो कम्पनीको सेयर मूल्य ६० रुपैयाँ १० पैसाले वृद्धि भएर ६६१ रुपैयाँ १० पैसा कायम भएको छ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ।६४ कम्पनीको सेयर मूल्य बढेको छ । १७७ कम्पनीको सेयर मूल्य घटेको छ। ६ कम्पनीको सेयर मूल्य स्थिर छ। कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ। बाँकी समूहको परिसूचक घटेको छ।

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १६०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार छापावाल सुन तोलामा एक लाख ४१ हजार २०० रुपैयाँ र  तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बगरलाई पर्यटकिय शहर बनाए अभिशाप भयो : भरत थापा

काठमाडौं। मधेस प्रदेश घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ बनेको भरत ताल। जहाँ बोटिङ गर्न, पिकनिङ मनाउन र रमाइलो गर्नका लागि हजारौं पर्यटयक आउँने उक्त ताल निर्माणमा पहल गरेको सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापाविरुद्ध अख्तियारमा मुद्दा दायर गरिएको छ । आफु गल्ती नगरेको राम्रो काम गर्न खोज्दा अख्तियार मार्फत दुख दिन खोजिएको बताउँदै आएका थापा हाल सो मुद्दाका कारण निलम्बनमा परेका छन्। बागमती नगरपालिका वडा नं. ४ र १२ को १ सय २१ बिघामा फैलिएको तालमा बोटिङ गर्न र पिकनिक मनाउनका लागि दैनिक हजारौं पर्यटक आउने गरेका छन्। पछिल्ला दिनमा छिमेकी भारतबाट समेत यहाँ ठूलो संख्यामा पर्यटक आउने गरेका छन्।३० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गरेको  छ । मेयर थापाले भने अख्तियारद्धारा दायर मुद्दा आफुमाथिको प्रतिशोध भएको बताउँदै आएका छन् । उनले बगरलाई पर्यटकिय शहर बनाएकोमा अभिशाप भएको विचार व्यक्त गरेका छन् । साथै, उनले काम नगर्ने ,कागज मिलाउने सम्मानित हुने तर काम गर्नेहरु अपमानित हुनुपर्दो रहेछ भन्दै दुःख व्यक्त गरेका छन् । साथै उनले सामाजिक संजाल फेस्बुकमा आफुले दुःख पाए पनि बान्चुन्जेल सबैलाई खुसी बनाउने प्रयन्ना गर्ने समेत बताएका छन् ।  अख्तियारद्धारा दायर मुद्दाबारे उनले भनेका छन् । बगरलाई पर्यटकिय शहर बनाईयो अभिशाप भयो  काम नगर्ने ,कागज मिलाउने सम्मानित हुन्छन  काम गर्ने हरु अपमानित हुनुपर्दो रहेछ  सबैमा सम्मान व्यक्त गर्दछु  मैले दुःख पाए पनि म बान्चुन्जेल सबैलाई खुसी बनाउने प्रयन्ना गर्ने छु  जानकारीको लागि  १.डिपिआर (DPR)सम्बन्धमा  मिति २०७५ चैत्र २ गते कार्यपालिकाले सर्बसम्मत रुपमा बागमती नदी उकाश जग्गाको क्षेत्रफल १५० बिगाह जग्गा उपयोग गरी माछा पोखरी निमार्ण गर्ने गरि ईम्पेरिकल ईन्जिनियरिगले तयार गरेको म्एच्स्वीकृत गरेको र ईजि।पी प्रणाली बात बोलपत्र आब्हान गरी निर्माण कार्य गरिएको। मिती २०७६ असार १० गतेको कार्यपालिकाको निर्णयले उत्खनन हुने नदि जन्य पदार्थको ब्यवस्थापन कार्ययोजना, बिक्रि कार्ययोजना,बजेट ब्यवस्थापन कार्ययोजना स्वीकृत गरेको  २.डिपिआरमा तोकिए भन्दा बढि कसरि उत्खनन गरियो  पहिला माछा पालनको मात्र उद्देश्य रहेकोमा बोटिंग लगाएर पर्यटन गतिविधि समेतको सम्भावना देखिएकोले थप गहिराई गर्ने गरी कार्यपालिकाले निर्णय गरेको । मार्ग इन्जिनियरिंग कन्सलटेन्सीले पेश गरेको डिटेल इन्जिनियरिंग स्टडि फोर इन्कीमेन्ट अफ डेप्थ को आधारमा यार्यपालिकाले  मिति २०७९ पौष २३ गते थप गहिराई कायम गर्ने निर्णय गरेको । आयोजनाको स्कोप र आवश्यकता बढेको कारण कार्यपालिका बाट प्राविधिक प्रतिबेदनको आधारमा निर्णय गरि थप गहिराई कायम गरिएको। ३.आईई (IEE )स्वीकृत सम्बन्धमा व्यवस्थापन परामर्श तथा अध्ययन केन्द्र परामर्श दाताले तयार पारेको जिल्ला समन्वय समितिबाट आईई (IEE ) स्वीकृत भए पछि मात्र उत्खनन कार्य भएको  जिल्ला समन्वय समितिबाट प्राप्त आईई फर्जि होईन। स्वीकृत भएको आईई (IEE)हो , आईई(IEE) छलफलमा सागरनाथ वन परियोजनाको समेत रेन्जर दिपेन्द्र महत्व को प्रतिनिधित्व रहेको ताल निर्माणाधिन अवस्थामा रहेको र  EIA  गर्ने प्रकृयामा रहेको वातावरणीय प्रभाव मुल्यांकनका कतिपय कार्यहरु भईरहेको ,वातावरण संरक्षण ऐनले आयोजना निमार्णको चरणमा समेत वातावरणीय प्रभाव मुल्यांकन गर्न सकिने व्यवस्था गरेको । वातावरणीय प्रभाव मुल्यांकन क्रममा आएका सुझावहरु समेटेर थप अगि बढ्न सकिने अवस्था छ । ४.केन्द्रसंग अनुमति नलिई पानीको उपयोग गरिएको विषय पानी उपयोग सम्बन्धि स्पष्ट कानुनी व्यवस्था नरहेको  हाल सम्म पनि तहगत सरकारबीच कसरी नदिहरु जल उपयोग गर्न सकिन्छ स्प्रष्ट कानुनी व्यवस्थापन नरहेको निमार्णधिन अवस्थामा रहेकोले परिक्षणको लागि स्थानीय सिचाई व्यबस्थापनलाई असर नपर्ने गरी बागमती सिचाई आयोजनाबाट छोडेको पानीको प्रयोग गरिएको  आयोजनाको पूर्णतासँगै पानी सम्बन्धि विषयको कानुनी तथा न्यायीक निरुपण हुने गरी कार्यसंन्चालन गरिने छ । पानी को उपयोग पश्चात पुर्ण नदि तर्फ नै पानी छोडिने प्रणालीको ब्यबस्थापन गरिएको अवस्था छ । पानीलाई पोखरीमा र पोखरीलाई सिंचाई (Water to pond ,pond to irrigation)प्रणाली व्यवस्थापन पनि विकल्प रहेको छ । जलस्रोत ऐन २०४९ संसोधन २०७५ को दफा १०९क० प्रदेश तथा स्थानीय तहले जलस्रोतको उपयोग वा विकास गर्न सक्ने र स्थानीय तहले जलस्रोत सम्बन्धि कानुन बनाई लागु गर्न सकिने व्यवस्था भएको तथा स्थानीय सरकार संन्चालन ऐन २०७४ को परिच्छेद ३ दफा १२(२)ट (१)ध (१)र दफा ११ (४) को ड.(१)मा जलउपयोग ,सिचाई र खाने पानी सम्बन्धि स्थानीय नीति कानुन मापदण्ड योजना कार्यान्वयन अनुगमन र नियमन गर्ने काम कर्तब्य र अधिकार स्थानीय तहको रहेको हुदा जिल्ला जतस्रोत अन्य निकाय बाट स्वीकृत नलिएको  ५.सागरनाथ वन विकास परियोजनाको जग्गाको विषय यसमा हाम्रो स्प्रष्ट धारणा छ। सागरनाथ वन परियोजनाको जग्गा होइन ,बुढी बागमति नदी उकास जग्गा हो। बगर को रुपमा थियो सागरनाथ वन परियोजनाले कुनै वृक्षा रोपण पनि  नगरेको खालि नदिको बहाव क्षेत्र बगरको रुपमा रहेको जमिनको स्थानीय सरकारको हैसियतले उपयोग गरियको हो , जग्गा बिबादको  बिषयमा पालिका न्यायलयमा समेत जाने प्रकृयामा रहेको। उत्त बगर क्षेत्रमा पोखरीको साथै पोखरीमा रहेको पांगो माटो उपयोग गरि करिब ९० बिगाह जग्गामा दश हजार आंपका बिरुवाहरु रोपी नगर बगैचा समेत निर्माण गरियको छ। बागमती नदीसंगै जोडिएको उपयोगमा आउन नसकेको जग्गालाई उत्पादन र पर्यटन र रोजगारीसंग जोडिएको हो । यो स्थानीय तहको नमुना काम होइन र ।आज रोजगारीको शिल शिलामा लाखौ युबा बिदेशिनु परेको छ ।कमजोर उत्पादन प्रणालीको कारण आयातमा निर्भर रहनु परेको छ।हाम्रो देशमा कयौ नदि उकास जग्गाहरु छन।स्थानीय सरकार संन्चालन ऐनले सार्वजनिक जग्गाको संरक्षण तथा ब्यवस्थापन गरि आय आर्जन गर्न सक्ने बाटो खुल्ला गरेको छ । लाखौ युवाहरु विदेशिनु परेको छ। तिनी हरुलाई स्वदेशमा राख्ने उत्पादन बृदि गर्ने तथा रोजगारी सिर्जना गर्ने जिम्मेवारी स्थानीय तहको पनि हो । बिकास भनेको उत्पादन र रोजगारी हो ।सागरनाथ बन परियोजनाको जग्गा हो भने किन उपयोग गर्न नसकेको ,किन उत्पादन र रोजगारी सिर्जना गर्ने र वातावरण संरक्षणका कार्यहरु गर्न नसकेको ,यसले राज्यलाई के हानि नोक्सानी गर्यो  बिबाद होईन बरु बिकासको लागि हातेमालो गर्न सरोकारवाला सबै निकायलाई अनुरोध गर्दछु। नमुना काम गरौ यस्तै हुन्छ भने स्थानीय सरकारले अब कुनै रचनात्मक कार्य गर्छन जस्तो मलाई लाग्दैन। ६.परिमाण सम्बन्धमा पोखरी बाट उत्खनन भएको परिमाण निम्न बमोजिम छ १९पोखरी (प्रथम खण्ड)२०३३२८१.२५घ.मिटर २९पोखरी (दोस्रो खण्ड)१८३२५४९९५०घ.मि. कुल उत्खनन परिमाण ९३८६५८३०.७५ घ.मि. बल्किंग फ्याक्टरको लागि इन्जिनियरिंग मेटरियल टेस्टिंग ल्यावोरेटरी एण्ड रिसर्च सेन्टर प्रा।लि।बाट ल्याब परीक्षण गरिएको। ७.हालका दिन सम्म उत्खनन भएको परिमाण ब्यवस्थापन १.बिक्रि  ८५६६८२.७९ घ.मि. २.उपयोग  ११२४७१९.९०७ घ.मि. ३.भण्डारण  २१०९३६३.३७ घ.मि.  कुल जम्मा  ४०९०७६६.०७ घ.मि. उत्खनन भएको सम्पूर्ण परिमाणको विषयमा प्राविधिक प्रतिवेदन तयार गरिएको छ।कम लागत मा पालिकाको आयोजनाहरु सम्पन गर्ने प्रयोजनको लागि  त्यसबाट उत्खनन भएको परिमाणहरूको उपयोग गरिएको छ । ८.परिमाण किन फरक परेको होला ४७ लाख घन मिटर उत्खनन नभयको बल्किंग सहित ३८ लाख ६५ हजार ८ सय बाकी बिक्रि तथा भण्डारण गरि राखिएको अवस्था छ । पोखरी खन्दा ढुगां गिटी बालुवा मात्र नभई निमार्ण  आयोजनामा प्रयोग नहुने पांगो माटो लाई बगर क्षेत्रमा प्रयोग गरि आंप बगैचा निमार्ण गरिएको आवस्था छ, सबैले अनुगमन गर्न सकिन्छ । स्पष्ट रहेको अबस्था  उप्त पोखरी निमार्ण गर्दा उत्खनन कार्य जन सहभागितामा राज्यको लगानि र खर्च बिना उत्खनन गर्दा आएका सामाग्रीहरु ढुवानी गरी भण्डारण समेत गरिएको छ । चलन चल्ती दर रेट अनुसार राज्यको खर्च गरेर उप्त कार्य गर्नु परेको भए खनेर ढुवानि गर्न मात्र ७५ करोड भन्दा बढी लाग्ने थियो । यो सबै स्थानीय सहभागितामा जुटाइयो, राज्यको खर्च भएन। दोस्रो खण्ड पोखरी नापी गर्दा सम्मानित आयोगले हाम्रो पुरानो वेन्च मार्क तथा पुरानो जमिन लेबल बारेमा कुनै समन्वय नगरेको । ९.आयोजनाको औचित्य आयोजना सम्पन्न पश्चात पालिक आत्म निर्भर हुने रोजगारी सिर्जना हुने। बहुउदेश्यीय माछा पोखरीको रुपमा बिकास भइरहेको हाल परिक्षण कालमा प्रत्यक्ष तथ अप्रत्यक्ष रुपमा रोजगारी सिर्जना भएको,देश बिदेशबाट पर्यटकहरु आगमन हुने गरेको । पर्यटन क्षेत्रबाट समेत राजश्व संकलन भइ प्रदेश सरकार र स्थानीय सरकार बिच बाडफांड भइ रहेको जमिन मुनिको पानीको रिचार्जको  काम गरेको दक्षिण तर्फका इनारहरुमा पानी रिचार्ज भई पानी को  सतह माथी आउन थालेको । माछा पालनको लागि अध्ययन भई रहेको ठुलो स्केलमा माछा उत्पादन गरि खाद्य शुरक्षामा  समेत सकारात्मक योगदान दिन सक्ने तथा  आयात प्रतिस्थापन गर्न सकिने ।   १०.अन्तमा सविधानको  मर्म  र भावना अनुकुल तहगत सरकारको सहलगानीमा आयोजना संन्चालन भएको संघीयता अनुकुलनको लागि तहगत सरकार बिच समन्वय साझेदारी र सह अस्तित्वको शिध्दान्तको अवलंवन गरिएको  अवस्था छ ।   स्थानीय तहले आफ्ना संम्भावनाका क्षेत्रहरु तथा तुलनात्मक लाभका क्षेत्रहरु पहिचान गरेर अगि बढ्न सक्दैनन भने  साचो अर्थमा संघीयलाको अर्थ रहन्छ। यो यथार्थलाई सबै मनन गर्नु पर्दछ ।                           अभिवादन !  

पाल्पामा जीप दुर्घटना, नौजना घाइते

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन्। निस्दी गाउँपालिका-४, स्थित झ्याङ्लिङ् सडक खण्डमा आइतबार बिहान सवा ४ बजेतिर दुर्घटना भएको हो। होराइजन डेन्टल रामपुर अस्पताल सञ्चालित भीरपानी डेन्टल शिविरमा गई फर्किने क्रममा बा १५ च ५९४ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए।  घाइतेमध्ये जीप चालकसहित चारजनाको अवस्था मध्यम छ। उनीहरूलाई रामपुर अस्पतालबाट थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको छ अन्य पाँचजनाको अवस्था सामान्य छ।  घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

मनकामना केबुलकार ५० दिन बन्द हुने

काठमाडौं । गोरखाको मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा।लि।ले एक सूचना जारी गर्दै यही असार ३१ गतेदेखि असोज १० गतेसम्मका लागि सेवा बन्द हुने जनाएको हो । प्रा.लिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले केबुलकार मर्मत संभार र स्तरोन्नतीका लागि सेवा बन्द गर्नुपरेको जानकारी दिए । सो अवधिमा केबुलकारको डिजिटल प्रणालीको स्तरोन्नति र केबुल तार फेर्ने कार्य हुनेछ ।

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन् । उनी आफ्ना समकक्षी डा फ्यांक–वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उनकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको संघीय परराष्ट्रमामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गरेको बर्लिनस्थित नेपालको राजदूतावासले आज जनाएको छ । राष्ट्रपति पौडेलका साथ परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू छन् । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि सोमबार औपचारिक भेटवार्ताको कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ । विसं २०४३ पछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण हो । नेपाल र जर्मनीबीच २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको सम्बन्ध  आपसी समझदारी र सहयोगका आधारमा प्रगाढ बन्दै गएको छ । राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्कन कार्यक्रम छ ।