कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गिद्धका गुँडको अनुगमन सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको अवस्था तथा गुँडको स्थितिबारे जानकारी लिन दोस्रो चरणको अनुगमन अघि बढाएको हो ।
निकुञ्जको तारापुर, हिरापुर तथा बाहिरी क्षेत्र लालझाडीलगायतका स्थानमा गुँड अनुगमनका लागि टोली परिचालन गरिएको सङ्घका वरिष्ठ चराविज्ञ हिरुलाल डगौराले बताए । हालसम्म अनुगमन गरिएका क्षेत्रमा गिद्धका गुँड सन्तोषजनक अवस्थामा रहेको पाइएको उनले बताए।
उनका अनुसार सुदूरपश्चिममा गिद्धको पहिलो चरणको अनुगमन गत जनवरीमा गरिएको थियो । त्यस क्रममा १२० वटा गुँड अभिलेख भएका थिए । दोस्रो चरणको अनुगमनमा गुँडको सङ्ख्या बढेको पाइएको छ । गिद्धको सङ्ख्या पनि विगतका तुलनामा क्रमशः वृद्धि हुँदै गएको छ ।
कञ्चनपुरमा मुख्यतः डङगर गिद्ध, सानो खैरो गिद्ध, राज गिद्ध, सुन गिद्ध, हिमाली गिद्धलगायत प्रजाति पाइने गरेका छन् । तीमध्ये सानो खैरो गिद्ध अत्यन्त सङ्कटापन्न अवस्थाका मानिन्छन् भने अन्य केही प्रजाति सङ्कटापन्न वा जोखिमको अवस्थामा छन् ।
प्रकृतिको कुचिकारका रूपमा चिनिने गिद्धको संरक्षणका लागि बासस्थान सुधार, गुँड बनाउने रुखको संरक्षण तथा जनचेतना अभिवृद्धि गरिँदै आएको छ । गिद्धका लागि हानिकारक मानिएको डाइक्लोफेनाक औषधिको प्रयोग नियन्त्रण तथा पशु औषधि पसलको अनुगमनले पनि सकारात्मक प्रभाव पारेको जनाइएको छ ।
कञ्चनपुर र कैलालीमा अनुगमन सम्पन्न भएपछि बैतडी र डडेल्धुरामा पनि गिद्धका गुँडको अनुगमन गरिने कार्यक्रम रहेको छ । तेस्रो चरणको अनुगमन आगामी ‘मार्च’मा गरिने चराविज्ञ डगौराले जानकारी दिए।
प्रतिनिधिसभा निर्वाचन: एक हजार ६१ वटा उजुरी फर्छ्यौट
काठमाडौँ । जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फर्छ्यौट भएको छ । प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् । प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए । प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठुला तुल ब्यानर र झन्डा प्रयोग गरेको रहेको आयोगले जनाएको छ । यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको उजुरी पनि परेको छ । त्यस्तै, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झन्डा टाँगेको, अनुमति नलिएका सवारी साधन प्रयोग गरेको लगायतका छन् ।
प्रसारण लाइन निर्माणका लागि रुख पोल हटाउन अनुमति
तनहुँ । तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणका लागि नौ हजार १२७ रुख पोल हटाइने भएको छ । आयोजनाको प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा पर्ने ९२.७ हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार पाउनुका साथै त्यहाँ रहेका नौ हजार १२७ रुख पोल हटाउन अनुमति पाएको हो । मन्त्रिपरिषद्को निर्णय बमोजिम आयोजनाको दमौली भरतपुर २२० केभी प्रसारण लाइनको टावर निर्माण र मार्गधिकारमा चितवन र तनहुँ जिल्लामा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका बोटबिरुवा हटाउन तनहुँ हाइड्रोपावर लिमिटेड र वन तथा भूसंरक्षण विभागबिच हालै सम्झौता भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उक्त सम्झौता कार्यान्वयनका लागि डिभिजन वन कार्यालय चितवनमा पत्राचार गरिसकिएको भण्डारीले बताए । उक्त निर्णय नहुँदा प्रसारण लाइन निर्माणमा समस्या भइरहेको थियो । यस प्याकेजको निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड भारतले दमौली भरतपुर २२० केभी ३३ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७८ वटा टावरहरूको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न गरिसकेको छ । यस प्याकेजको समग्र प्रगति ७५ प्रतिशत रहेको भण्डारीले बताए । तनहुँ जलविद्युत आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको छ । प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५४ प्रतिशत प्रगति भएको भण्डारीले बताए । मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङलगायतका संरचनाको निर्माण कार्य सकिएको छ । मुख्य बाँध निर्माणका लागि सेती नदीलाई विसं २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो । विसं २०८१ जेठमा मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण कार्य सकिएको जनाइएको छ । प्याकेज २ अन्तर्गत विद्युत् गृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । यस अवधिसम्म भूमिगत संरचना निर्माणका लागि खन्नेकार्य सम्पन्न गरी अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भएको भण्डारीले बताए । विद्युत् गृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायतका संरचनाको मुख्य कङ्क्रिटिङकार्य सम्पन्न भएको यस प्याकेजको प्रगति ७३ प्रतिशत रहेको छ । भण्डारीका अनुसार विद्युत्गृहको सिभिलकार्य करिब सम्पन्न भएको छ भने इलेक्ट्रोमेकानिकलकार्य जारी छ । विद्युत् गृहमा छाना लगाउने, पानी फाल्नेलगायतका काम भइरहेका छन् ।
आजकाे विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (फागुन १६) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६३ पैसा, स्विस फ्रयांक एकको खरिददर १८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६९ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १८ पैसा र बिक्रीदर २१ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९५ पैसा र बिक्रीदर २३ रुपैयाँ ०४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
निर्वाचनभर जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने
धनुषा । नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द रहने जनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामद्वारा आज जारी सूचनाअनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्तिसुरक्षा प्रत्याभूति गराउने उद्देश्यले फागुन १९ गते मङ्गलबारदेखि फागुन २१ गते बिहीबारसम्म (तीन दिन) भङ्गाहा-जनकपुर-जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहने जनाइएको हो । उक्त अवधिमा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरेको छ । साथै फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख गरिएको छ । रेल सेवा बन्द रहने अवधिमा यात्रुलाई वैकल्पिक यातायातको व्यवस्था गर्न कम्पनीले अनुरोध गरेको छ ।
बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम
नेपालगन्ज । बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयले आज यहाँ आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो । कार्यालयका प्रमुख टेकबहादुर शाहीले अस्थायी मतदाताका निम्ति जिल्लामा तीन अस्थायी मतदान केन्द्रसमेत निर्धारण गरिएको जानकारी दिए । निर्वाचन क्षेत्र नं १ को बैजापुरस्थित नौवस्ता कारागार, निर्वाचन क्षेत्र नं २ को बाँके कारागार र कर्मचारीका लागि रामलिला मैदानमा अस्थायी मतदान केन्द्र निर्धारण भएको उनले बताए । अस्थायी मतदाताले तोकिएका अस्थायी मतदान केन्द्रबाट समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउँछन् । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार तथा प्रदेश सरकारको स्वामित्व र नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी, वृद्धाआश्रममा बसेका व्यक्तिलाई अस्थायी मतदाताका रूपमा मानिएको छ । कार्यालय प्रमुख शाहीले निर्वाचनको करिब सबै तयारी पूरा गरिएको र शनिबारदेखि सबै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पठाउने कार्य सुरु हुने जानकारी दिए । “अब करिब १० प्रतिशत काम बाँकी छ । जिल्लाका तीनै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पठाउने काम १७ गतेसम्म जारी रहन्छ । जिल्लामा परिचालन हुने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिमसमेत सम्पन्न भइसकेको छ”, उनले भने । जिल्लामा १३९ मतदानस्थल, ४०० मतदान केन्द्र र तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् ।
फागुन २१ पछि देशको नेतृत्व नेकपाले सम्हाल्ने छ: प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ मा हुने निर्वाचनपछि देशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सम्हाल्ने दृढ विश्वास व्यक्त गर्नुभएकाे छ। उहाँले देशको राजनीतिक दिशा परिवर्तन गर्ने ऐतिहासिक अवसरका रूपमा यस निर्वाचनलाई लिनुपर्ने बताउनुभयाे। नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको निर्वाचन सामान्य शक्ति परीक्षण नभई देशको भविष्य निर्धारण गर्ने निर्णायक मोड भएको उल्लेख गर्नुभयाे। “हामी सुरुदेखि नै देशको समस्या समाधानको उपाय निर्वाचन नै हो भन्ने अडानमा थियौँ। आज सबै राजनीतिक शक्तिहरू निर्वाचनमै केन्द्रित भएका छन्। यो हाम्रो राजनीतिक लाइनको विजय हो,” उहाँले भन्नुभयाे। प्रचण्डले विगतका अन्योल, अस्थिरता र सत्ता–केन्द्रित समीकरणको राजनीतिले देशलाई निकास दिन नसकेको उल्लेख गर्दै अब स्पष्ट जनमतमार्फत स्थिर, सक्षम र जनमुखी नेतृत्व आवश्यक रहेको बताउनुभयाे। उहाँका अनुसार नेकपाले प्रस्तुत गरेको वैचारिक स्पष्टता, राष्ट्रिय स्वाधीनताको पक्षमा अडान र जनजीविकासँग प्रत्यक्ष जोडिएको कार्यक्रमका कारण जनताको भरोसा बढ्दै गएको छ। उहाँले सर्वदलीय सरकार, संसद् पुनर्स्थापना जस्ता मुद्दा अहिले राजनीतिक एजेन्डाबाट हराइसकेको उल्लेख गर्दै भन्नुभयाे, “देश नै अहिले नेकपाको लाइनमा आएको छ। हामीले उठाएका एजेन्डा आज राष्ट्रिय बहसका विषय बनेका छन्। यो हाम्रो वैचारिक र राजनीतिक नेतृत्वको प्रमाण हो।” एमालेसँग १० सिटमा चुनावी तालमेल हुन लागेको भन्ने प्रचारप्रति उहाँले स्पष्ट अस्वीकार गर्नुभयाे। “हामी कसैसँग गोप्य वा अपारदर्शी तालमेलमा छैनौँ। नेकपा आफ्नै शक्ति, आफ्नै एजेन्डा र आफ्नै जनआधारमा अग्निपरीक्षामा होमिएको छ,” उहाँले भन्नुभयाे। उहाँले निर्वाचन निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भए नेकपालाई पहिलो शक्ति बन्न कसैले रोक्न नसक्ने दाबी गर्नुभयाे। “जनताको मन जित्ने पार्टीलाई कुनै शक्ति रोक्न सक्दैन। हामी जनताको घरदैलोमा छौँ, जनताको एजेन्डासँग छौँ,” उहाँले जोड दिनुभयाे। प्रचण्डले पार्टीका नेता–कार्यकर्तालाई युद्धस्तरमा चुनावी अभियान सञ्चालन गर्न निर्देशन दिँदै संगठन सुदृढीकरण, मतदाता शिक्षण र घरदैलो कार्यक्रमलाई तीव्र बनाउन आग्रह पनि गर्नुभएकाे छ। उहाँका अनुसार नेकपाको लक्ष्य केवल सरकार बनाउनु मात्र नभई देशमा राजनीतिक स्थिरता, आर्थिक रूपान्तरण र सामाजिक न्याय सुनिश्चित गर्नु हो। “हाम्रो उद्देश्य सत्ता होइन, परिवर्तन हो। देशलाई समृद्धि र सुशासनको नयाँ चरणमा लैजानु नै हाम्रो संकल्प हो,” उहाँले भन्नुभयाे। फागुन २१ को निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गर्दै उहाँले जनतालाई ढुक्क भई नेकपालाई साथ दिन आह्वान गर्नुभयाे। “अबको नेतृत्व स्पष्ट छ। जनताको समर्थन र भरोसाले नेकपाले देशको नेतृत्व सम्हाल्नेछ,” उहाँले आत्मविश्वासका साथ भन्नुभयाे।
देशभर मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने
काठमाडौँ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा कर्मचारी खटाउने भएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताए । मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरु कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ । निर्वाचनका लागि निर्वाचन सामग्री र मतपत्र बिहीबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ ।
धनुषा–१ मा मतदाताको साझा आवाज: अधिकार, पहिचान र विकासका लागि मातृकालाई तारामा मतदान
धनुषा । मधेसको राजनीतिक परिदृश्य र स्थानीय विकासका मुद्दाहरूले यतिबेला धनुषा क्षेत्र नम्बर १ को चुनावी माहोललाई तात्तिएको बनाएको छ। धुलाम्य सडकदेखि सिँचाइ र खानेपानीको अभावसम्मका समस्याबीच मतदाताहरूले आफ्नो प्रतिनिधिबाट ठोस समाधानको अपेक्षा गरिरहेका छन्। यस क्षेत्रमा मतदाताहरूको साझा धारणा छ-मधेसको अधिकार, पहिचान र राष्ट्रिय राजनीतिमा प्रभावकारी आवाज उठाउन सक्ने नेतृत्व आवश्यक छ। धेरै स्थानीय बासिन्दाका अनुसार, दशकौँदेखि क्षेत्रको मुद्दालाई केन्द्रसम्म पुर्याउँदै आएका मातृकाप्रसाद यादवको अनुभव र राजनीतिक सक्रियता यस निर्वाचनमा प्रमुख आधार बनेको छ। चुनावी अभियानका क्रममा बस्ती–बस्ती पुग्दा स्थानीयले मुख्य रूपमा खानेपानी, सिँचाइ, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। एक वृद्ध मतदाता भन्छन्, “हाम्रो समस्या बुझ्ने र आवाज बुलन्द गर्ने नेतृत्व चाहिएको छ। काम गरेर देखाएको अनुभव भएको व्यक्ति आवश्यक छ।” कृषकहरूका अनुसार खेत सुक्खा हुनु र पर्याप्त सिँचाइ सुविधा नहुनु अहिलेको प्रमुख चुनौती हो। यसबारे उम्मेदवार यादवले जनतासँगको संवादमा राज्यको सम्बन्धित निकायमार्फत समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “यो क्षेत्रको विकास र जनताको सामूहिक भावनालाई राज्य संयन्त्रसम्म पुर्याएर व्यावहारिक समाधान खोज्नु मेरो प्राथमिकता हो।” यस निर्वाचन क्षेत्रमा एमालेका रामचन्द्र मण्डल, जसपा नेपालका दीपक कार्की तथा रास्वपाका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्। राष्ट्रिय राजनीतिमा विभिन्न दलहरूको चर्चा रहे पनि स्थानीय मतदाताहरूले व्यक्तिगत नेतृत्व क्षमता, संघर्षको इतिहास र क्षेत्रसँगको सम्बन्धलाई मुख्य आधार बनाइरहेका छन्। झण्डै दुई दर्जन कम्युनिस्ट घटकहरू मिलेर बनेको राजनीतिक धारबाट अघि बढेका यादवले आफ्ना पुराना सहकर्मी तथा समर्थकहरूलाई एकताबद्ध गर्दै चुनावी अभियानलाई सशक्त बनाएका छन्। पूर्व माओवादी पृष्ठभूमिका नेता–कार्यकर्ताहरू समेत एक ढिक्का भएर अभियानमा सक्रिय रहेको देखिन्छ। धनुषा–१ को चुनावी माहोलले के संकेत गर्छ भने मतदाताहरू केवल भाषण होइन, परिणाम खोजिरहेका छन्। अधिकार, पहिचान र विकासका मुद्दालाई सँगसँगै अघि बढाउने नेतृत्वप्रति जनताको अपेक्षा बलियो बनेको छ। यस क्षेत्रको आगामी राजनीतिक निर्णयले स्थानीय विकासको दिशामा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ। मतदाता भनिरहेका छन्- अब अधिकार, पहिचान र विकासका लागि मातृका प्रसाद यादवलाई जिताउन तारमा मतदान गर्नै पर्छ।
रुपन्देही-२ मा निराशाको भीडमा आशा जगाउँदै विश्वदीप
बुटवल । मतदानको दिन नजिकिँदै गर्दा मतदाताले निर्वाचन परिणामले ल्याउने सम्भावित आशाका क्षणहरूको प्रतीक्षा गरिरहेका छन् । तर मतदानको बाकसमा आशा र निराशाबीचको असन्तुलन कैद हुने जोखिम पनि उत्तिकै देखिन्छ । रुपन्देही क्षेत्र नं– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ ले आसन्न निर्वाचनले गतिहीन र अस्थिर समाजलाई गतिशील र स्थिर बनाउने अवसर दिने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार आशावादले नै व्यक्ति, समाज र राष्ट्रको सुखद र सुन्दर भविष्यको खाका कोर्न सक्छ । ‘यतिबेला नेताहरूले केही गर्न सकेनन्, अब केही गर्न सकिँदैन भन्ने डरलाग्दो भाष्य बनाइएको छ,’ उनले भने, ‘यहाँ केही हुँदैन, केही गर्न सकिँदैन भन्ने धारणा चिर्न आवश्यक छ । यसमा मेरो भूमिका रहनेछ ।’ उम्मेदवार पाण्डेले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन् । नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ती प्रतिबद्धताहरू कार्यान्वयन गर्न सकिए समाजमा विद्यमान निराशा धेरै हदसम्म कम हुने उनको दाबी छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कलकारखाना र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर जनताको सपना साकार पार्ने उद्देश्य रहेको उनले बताए । ‘पुरानै सोच, पुरानै परम्परा, पुरानै नियम र पुरानै व्यवहारबाट जनताको आशा हुर्काउन सकिँदैन । देशलाई एकताबद्ध गर्दै टुक्रिएका मनहरू जोड्न मेरो अधिकतम पहल रहनेछ,’ उनले भने । उनका अनुसार विगतमा आशा र भरोसा गरिएका नेतृत्व तथा दलहरूले अपेक्षाअनुसार काम नगर्दा जनतामा निराशा बढेको हो । निराशावाद बढ्नुको एउटा कारण नेताहरूको जीवनशैली र व्यवहार पनि रहेको उनले टिप्पणी गरे । देशको वर्तमान अवस्थाका पछाडि थुप्रै कारण रहे पनि मुख्य समस्याका रूपमा भ्रष्टाचार, कुशासन, बेरोजगारी, महँगी, नातावाद र कृपावाद रहेको उनले औँल्याए । राज्यका सामु देखिएका चुनौतीलाई कानुनी रूपमा सम्बोधन गर्न र दबाब सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । नागरिकले अहिले आर्थिक, राजनीतिक र सामाजिक जीवनमा परिवर्तनको अपेक्षा गरिरहेका छन् । जनतासँगको प्रत्यक्ष अन्तरक्रिया, सुझाव र आक्रोशबाट आफूले उनीहरूको मनोभावना अझ राम्रोसँग बुझ्ने अवसर पाएको उनले बताए । चुनावी व्यस्तताका कारण सबै कुरा विस्तृत रूपमा जनतासमक्ष राख्न नसकिएकाले मिडियामार्फत आफ्ना एजेन्डा प्रस्तुत गर्नुपरेको उनको भनाइ छ । उनले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै देशको विकास सम्भव हुनेमा जोड दिए । ‘निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढे मात्रै विकास सम्भव छ । जनतामा अझै पनि परिवर्तनको तृष्णा छ, त्यो मर्न दिनु हुँदैन,’ उनले भने । आशा जगाउने जिम्मेवारी निर्वाचनपछि आउने नेतृत्वको भएको पनि उनले स्पष्ट पारे । आगामी मतदान र त्यसपछि आउने नयाँ नेतृत्वसँग नागरिकले आशा र भरोसा जोडिरहेका छन् । उनीहरूले त्यस्ता जनप्रतिनिधि चाहेका छन्, जसले विकासको नेतृत्व गर्दै आशा जगाउन सकोस् । बाध्यतावश जन्मभूमि छाडेकाहरूलाई आत्मविश्वाससहित गाउँ फर्किने वातावरण बनाउनुपर्ने आवश्यकता पनि औँल्याइएको छ । त्यसैले धमिलिएको राजनीतिक वातावरणलाई सफा गर्ने आँट, जाँगर र जोश बोकेको नेतृत्वलाई मतदानमार्फत विजयी बनाउनु मतदाताको ऐतिहासिक जिम्मेवारी हो । सपना रोप्ने र हुर्काउने अवसरमा ध्यान नदिए ती सपनाहरू पूरा हुन सक्दैनन् । मतदाताले भीडमा नभई असल र सक्षम प्रतिनिधि पहिचान गरी निर्णय लिनुपर्ने समय आएको छ ।
सहिद परिवारसँग विवादपछि रास्वपा गोरखाका चुनावी कमान्डर आचार्य लखेटिए
गोरखा। सहिद कोपिला कुमाल (दीपा) का पिता गोरेबहादुर कुमालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा गोरखा क्षेत्र नम्बर–२ का चुनावी कमान्डर हरिशरण आचार्यप्रति असन्तुष्टि जनाएका छन्। रास्वपाका सभापति रवि लामिछाने गोरखा आएका दिन गोरखा नगरपालिका–१२ मा आयोजित घरदैलो कार्यक्रमका क्रममा सहिद परिवार र आचार्यबीच विवाद भएको बताइएको छ। स्थानीयका अनुसार घरदैलोका बेला सहिद परिवारले आचार्यप्रति आक्रोश व्यक्त गरेका थिए। हरिशरण आचार्य तत्कालीन जनयुद्धका समयमा माओवादी आन्दोलनसँग सम्बद्ध नेता हुन्। पछि उनी नयाँ शक्ति पार्टीमा आबद्ध भई डा. बाबुराम भट्टराई निकट रहेर २०७४ सालमा गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए। पछिल्लो समय भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन्। सहिद कोपिला कुमालका पिता गोरेबहादुर कुमालले भोट माग्न पुगेका आचार्यप्रति आक्रोश व्यक्त गर्दै ‘मेरो छोरी फिर्ता ल्याइदिनुहोस्’ भनेको बताइएको छ। उनका अनुसार तत्कालीन समयमा आचार्यसहितका नेताहरूको आग्रह र प्रेरणामा उनकी छोरी माओवादी आन्दोलनमा होलटाइमर बनेकी थिइन्। पछिल्लो समय नेताहरूले बारम्बार पार्टी परिवर्तन गरेकोप्रति उनले असन्तुष्टि जनाएका छन्। “आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउन सबै एकजुट हुनुपर्ने बेला नेताहरूले हरेक दिनजसो पार्टी फेरिरहेका छन्,” उनले भने। यही कारण आफूले आपत्ति जनाएको उनको भनाइ छ। यता रास्वपाका नेता हरिशरण आचार्यले भने घटनालाई अतिरञ्जित गरिएको दाबी गरेका छन्। उनले कुनै किसिमको दुर्व्यवहार वा आफूलाई ‘लखेटिएको’ अवस्था नरहेको स्पष्ट पारे। “म आन्दोलनबाट उदाएको नेता हुँ, यो सबैलाई थाहा छ। पछिल्लो समय माओवादी पार्टीको अवस्था र रूपान्तरणबारे शुभेच्छुकहरूले प्रश्न उठाउनु स्वाभाविक हो। सोही सन्दर्भमा सामान्य छलफल मात्र भएको हो,” आचार्यले प्रतिक्रिया दिए।
रास्वपा–एमालेबीच भित्री चुनावी तालमेल, झापा-५ मा रबि पक्षले बालेन समूहलाई धाेका दिँदै
काठमाडौँ । आगामी निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच दाङ-२, झापा-५ र चितवन-२ मा भित्री चुनावी तालमेल भएको भएकाे छ। सार्वजनिक रूपमा सहकार्य नगर्ने अडान राख्दै आएका दुवै दलबीच जिल्लागत रूपमा ‘गिभ एण्ड टेक’ को समझदारी भएको दाबी गरिएको हाे। दुवै पार्टीका स्रोतहरूका अनुसार दाङमा एमालेका उम्मेदवारलाई सघाउने गरी रास्वपाले आफ्नो भूमिका सीमित बनाउने सहमति भएको बताइएको छ। केही निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निष्क्रिय बस्ने वा अप्रत्यक्ष समर्थन गर्ने रणनीति अपनाइएको बताइएकाे छ। यस्तै, चितवनमा भने रास्वपाका उम्मेदवारलाई जिताउन एमालेले आफ्नो संगठनात्मक शक्ति परिचालन गर्ने सहमति भएको चर्चा छ। झापा ५ मा पनि एमालेकै केपी शर्मा ओलीलाई भित्री रुपमा सघाउने भित्री तयारी भएकाे स्राेतकाे भनाइ छ । त्यसमा रास्वपाका रबि पक्षले केपी शर्मा ओलीलाई भित्री रुपमा सघाउने तयारी भएकाे रास्वाप स्राेतकाे दाबी छ। यता एमालेले रास्वपाका सभापित रबि लामिछानेलाई चितवन-२ मा सघाउने अनि दाङ-२ एमालेकै महासचिव शंकर पाेखरेललाई सघाउने भित्री र गाेप्य तयारीका सहमति भएकाे स्राेतकाे भनाइ छ। नैतिकता र प्रतिबद्धतामाथि प्रश्न रास्वपाले हालसम्म आफूलाई वैकल्पिक तथा पुराना शक्तिसँग सहकार्य नगर्ने राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ। तर सत्ता र सिटको समीकरणका लागि पुरानै दलसँग ‘अघोषित’ समझदारी गरेको आरोप लागेपछि पार्टीको नैतिक अडानमाथि प्रश्न उठ्न थालेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, सार्वजनिक रूपमा एक धारणा प्रस्तुत गर्ने तर भित्री रूपमा फरक रणनीति अपनाउने प्रवृत्तिले मतदातामाझ विश्वासको संकट निम्त्याउन सक्छ। त्यस कारण देशकाे भरपर्दाे शक्ति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रहेकाे सुझाव राजनीतिक विश्लेषकहरूकाे छ। रास्पपाका कार्यकर्तामाझ अन्योल यस विषयले दुवै दलका तल्लो तहका कार्यकर्ताहरूमा अन्योल सिर्जना गरेको बताइन्छ। विशेष गरी रास्वपाका समर्थकहरूले सामाजिक सञ्जालमार्फत पार्टीको पूर्वघोषित प्रतिबद्धतासँग यस्तो कदम गलत भएकाे बताएका छन्। झाप-५ रास्वपाका बालेन शाह पक्ष अब नेकपाका रञ्जित तामाङकाे लागि सहयाेग गर्न सुझाव दिन थालेका छन् । रास्पवाका सभापति रबिपक्षले धाेका दिएकाे बालेन समूहकाे निर्षकर्ष रहेकाे बालेन समूहकाे स्राेतकाे भनाइ छ।
जेन्जी आन्दोलन: युग परिवर्तनको हुंकार कि सत्ताको ‘डिजाइन’?
काठमाडौँ । भदौ २३ मा राजधानीबाट सुरु भएको ‘जेन्जी’ युवा आन्दोलनले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ। भ्रष्टाचार र बेरोजगारीविरुद्ध हजारौँ युवाको सडक उपस्थिति देखिए पनि आन्दोलनको ‘ब्याक–एन्ड’ मा सत्ताको नयाँ अङ्कगणित तयार पारिएको थियो कि भन्ने गम्भीर बहस सुरु भएको छ। पात्र परिवर्तन कि प्रणाली सुधार? आन्दोलनको उत्कर्षसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की लाई अन्तरिम सरकारको नेतृत्व सुम्पिने चर्चा र काठमाडौंका मेयर बालेन शाह लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने राजनीतिक हलचलले प्रश्न थप चर्किएको छ। आलोचकहरूको तर्क छ— “यदि आन्दोलनको अन्त्य नै निश्चित पात्रलाई सत्तामा पुर्याउने थियो भने, यो व्यवस्था सुधार होइन, पात्र परिवर्तनको खेल मात्र हो।” गृह मन्त्रालयको साँचो कसको हातमा? आन्दोलनपछिको शक्ति–सन्तुलनमा बालेन निकट सल्लाहकारलाई गृह प्रशासनको जिम्मेवारी दिन खोजिएको चर्चा बाहिरिएपछि ‘स्वतन्त्र’ भनिएको आन्दोलन निश्चित समूहको स्वार्थमा त केन्द्रित भएन? भन्ने प्रश्न उब्जिएको छ। केही नामहरूको मन्त्रीका रूपमा सिफारिस र तयारीले आन्दोलनको पवित्रतामाथि नै प्रश्नचिह्न खडा गरेको छ। मुद्दा, सहानुभूति र चुनावी गणित बीबीसीको विश्लेषणलाई उद्धृत गर्दै राजनीतिक वृत्तमा दुई रणनीतिक उद्देश्यबारे चर्चा छ । १. मुद्दा राफसाफको अस्त्र: सहकारी प्रकरणलगायत कानुनी विवादमा तानिएका रवि लामिछाने का मुद्दालाई ‘राजनीतिक प्रतिशोध’ को रूपमा प्रस्तुत गर्दै फिर्ता लिन दबाब सिर्जना गर्ने प्रयास। २. २०८४ को चुनाव २०८२ मा? निर्धारित समयभन्दा दुई वर्ष अगाडि निर्वाचन गराएर स्थापित दलविरुद्ध बढेको ‘एन्टि–इस्ट्याब्लिसमेन्ट’ लहरको फाइदा उठाउने रणनीति। विश्लेषकहरू भन्छन्— “भावनात्मक उभारको समयमा चुनाव गराउनु सधैँ रणनीतिक चाल हुन्छ।” जनता सडकमा, स्वार्थ सत्तामा? सडकमा उत्रिएका युवाहरूको मूल एजेन्डा स्पष्ट थियो— भ्रष्टाचार अन्त्य र रोजगारीको सुनिश्चितता। तर नेतृत्व तह र पर्दापछाडिको शक्ति समीकरणले आन्दोलनलाई सत्ता–केन्द्रित मोड दिएको आरोप लागिरहेको छ। एक राजनीतिक विश्लेषकको टिप्पणी छ— “यदि लक्ष्य आफ्ना मान्छेलाई मन्त्री बनाउने र चुनावको मिति हेरफेर गर्ने हो भने, यसलाई जनआन्दोलन भन्दा ‘सत्ताको म्युजिकल चेयर’ भन्नु उपयुक्त होला।” निर्णायक प्रश्न भदौ २३ को विद्रोहले पुराना शक्तिलाई चुनौती दियो। तर यसबाट उदाएका नयाँ पात्र र उनीहरूको कार्यशैलीले आन्दोलन साँच्चै ‘युग परिवर्तन’ को पाइला हो कि केही सीमित व्यक्तिको सत्ता–यात्राको सर्टकट मात्र हो भन्ने प्रश्न जीवितै छ। यसको वास्तविक उत्तर आगामी निर्वाचनले दिनेछ-जनताको मतले। त्यसकाे लागि नेपाली कम्युनिस्ट पार्टी राेज्नु बिकल्प छैन । जनताले राेज्नु पर्ने अवस्था आएकाे छ ।
सङ्खुवासभाको समृद्धिका लागि आशाको विकल्प: सरिता थापा खड्का लाई किन मत?
सङ्खुवासभा । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सङ्खुवासभामा विकास, सुशासन र समावेशी नेतृत्वको बहस तीव्र बन्दै गएको छ। यही सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार सरिता थापा खड्का समृद्धिको स्पष्ट दृष्टि र प्रतिबद्धतासहित मतदातामाझ प्रस्तुत हुनुभएको छ। “तारा मा मतदान, समृद्धिको अभियान” भन्ने नारासहित उहाँले जिल्लाको दीर्घकालीन रूपान्तरणका लागि ठोस कार्ययोजना अघि सार्नुभएको छ। १) जलविद्युत, पर्यटन र कृषिमा समन्वित विकासको खाका सङ्खुवासभा प्राकृतिक स्रोत–साधनले धनी जिल्ला हो। खड्काले जलविद्युत् सम्भावनाको उच्चतम उपयोग, पर्यटन पूर्वाधार विस्तार र कृषिमा आधुनिकीकरणलाई एकीकृत रूपमा अघि बढाउने योजना सार्वजनिक गर्नुभएको छ। विशेषगरी अरुण करिडोरको स्तरोन्नति, ग्रामीण सडक सञ्जाल सुधार र बजार पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको छ। यसले रोजगारी सिर्जना र स्थानीय आम्दानी वृद्धि गर्ने अपेक्षा गरिएको छ। २) महिला र युवाको सशक्त प्रतिनिधित्व राजनीतिमा अर्थपूर्ण सहभागिताको माग बढिरहेका बेला सरिता थापा खड्का एक सशक्त महिला नेतृत्वका रूपमा उभिनुभएको छ। उहाँको उम्मेदवारीले महिला र युवाको आवाज संघीय संसदसम्म पुर्याउने विश्वास समर्थकहरूले व्यक्त गरेका छन्। नेतृत्वमा समावेशिता बढे विकासका प्राथमिकताहरू पनि व्यापक हुने तर्क गरिएको छ। ३) जनतासँग नजिक, समस्यासँग परिचित दीर्घ समयदेखि सामाजिक–राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी खड्का जिल्लाको भूगोल, चुनौती र सम्भावनासँग प्रत्यक्ष परिचित हुनुहुन्छ। शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीजस्ता आधारभूत सवालमा स्थानीय तहसँग सहकार्य गर्दै दिगो समाधान खोज्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ। ४) सामाजिक न्याय र समावेशी अर्थतन्त्रको दृष्टि नेकपाको नीति–सिद्धान्तअनुसार सामाजिक न्याय, समानता र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणतर्फ कदम चाल्ने उहाँको प्रतिबद्धता छ। पारदर्शिता, सुशासन र परिणाममुखी काममार्फत विश्वास जित्ने लक्ष्य उहाँले राख्नुभएको छ। सङ्खुवासभाको भविष्यलाई स्थिर, समावेशी र समृद्ध दिशातर्फ लैजान सक्षम नेतृत्व आवश्यक रहेको धारणा बढ्दो छ। यही अपेक्षाका बीच “तारा” चिन्हमा मतदान गरी सरिता थापा खड्कालाई विजयी गराउने आवाज गाउँ–गाउँमा सुनिन थालेको छ। “परिवर्तनका लागि साहस चाहिन्छ, र सङ्खुवासभाको परिवर्तनका लागि सरिता थापा खड्का आजको आवश्यकता हो।”
व्यवस्था बदल्ने शक्ति अब अवस्था बदल्ने अभियानमा
काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी अपिल सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल ले संयुक्त रूपमा जारी गरेको अपिलमा राष्ट्रिय स्वाधीनता, सुशासन, समृद्धि र आर्थिक–सामाजिक रूपान्तरणलाई मुख्य एजेन्डा बनाउँदै जनतालाई परिवर्तनको नयाँ अध्याय सुरु गर्न आह्वान गरिएको छ । २२ वटा कम्युनिष्ट तथा समाजवादी शक्तिहरूको एकीकरणबाट निर्माण भएको नेकपाले यस निर्वाचनलाई केवल सत्तापरिवर्तनको अवसर नभई नीतिगत र संरचनात्मक रूपान्तरणको ऐतिहासिक सम्भावनाका रूपमा चित्रण गरेको छ । अपिलमा उल्लेख छ, “हामी व्यवस्था बदल्ने शक्ति हौँ, अब जनताको अवस्था बदल्ने स्पष्ट दृष्टि, ठोस योजना र दृढ संकल्पका साथ मैदानमा उत्रिएका छौँ ।” विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै अब समृद्धि, समानता र आत्मनिर्भरतातर्फ निर्णायक कदम चाल्ने समय आएको पार्टीको ठहर छ । नेकपाले सुशासन र पारदर्शितालाई आफ्नो अभियानको केन्द्रमा राखेको छ । भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ को नीति अवलम्बन गर्ने घोषणा गर्दै उच्चस्तरीय शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति स्रोतको विस्तृत जाँच गरी अवैध ठहरिएमा त्यसलाई कानुनी प्रक्रियाअनुसार राष्ट्रियकरण गरिने उल्लेख छ । राज्यस्रोतको दुरुपयोग, कमिसनतन्त्र र नीतिगत भ्रष्टाचारको अन्त्य नगरी समृद्धि सम्भव नहुने भन्दै पार्टीले इमानदार र जवाफदेही शासन प्रणाली निर्माण गर्ने संकल्प दोहोर्याएको छ । वर्तमान निर्वाचन प्रणाली अत्यधिक खर्चिलो र जटिल बन्दै गएको उल्लेख गर्दै नेकपाले यसलाई सरल, कम खर्चिलो र राजनीतिक स्थिरता सुनिश्चित गर्ने ढाँचामा रूपान्तरण गर्ने प्रस्ताव अघि सारेको छ । जननिर्वाचित संविधानसभाबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिहरूको रक्षा गर्दै आवश्यक सुधार संवैधानिक प्रक्रियाबाट गर्ने धारणा अपिलमा प्रष्ट पारिएको छ । राजनीतिक अस्थिरता र सत्ताकेन्द्रित चलखेलबाट मुक्त स्थिर सरकार निर्माणका लागि जनमत निर्णायक हुने विश्वास पार्टीले व्यक्त गरेको छ । अर्थतन्त्रका क्षेत्रमा नेकपाले बेरोजगारी, तीव्र व्यापार घाटा, उत्पादनहीनता र महँगीलाई मुख्य चुनौतीका रूपमा पहिचान गरेको छ । आयातमुखी र उपभोगवादी ढाँचाबाट मुक्त भई उत्पादनमुखी, आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य पार्टीले राखेको छ । कृषि क्षेत्रमा आधुनिकीकरण, सिंचाइ विस्तार, भण्डारण र बजार सुनिश्चितता; उद्योग क्षेत्रमा राष्ट्रिय पूँजीको संरक्षण र प्रवर्द्धन; ऊर्जा क्षेत्रमा जलविद्युत्, सौर्य तथा वैकल्पिक ऊर्जाको अधिकतम उपयोग; तथा पर्यटन क्षेत्रमा प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाको समुचित विकासमार्फत रोजगारी सिर्जना गर्ने ठोस कार्यक्रम प्रस्तुत गरिएको छ । साथै, प्रगतिशील कर प्रणाली लागू गरी धनको न्यायोचित पुनर्वितरण गर्ने, साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने, श्रमिक अधिकारको रक्षा गर्ने र वैदेशिक रोजगारीमा जाने बाध्यता घटाउँदै स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्य अपिलमा उल्लेख छ । युवाशक्तिलाई उत्पादन र नवप्रवर्तनसँग जोड्दै उद्यमशीलता विकासका लागि विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि जनाइएको छ । ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ लाई दीर्घकालीन मार्गदर्शक सिद्धान्तका रूपमा अघि सार्दै नेकपाले सामाजिक न्याय, समानता र समावेशीतालाई आफ्नो राजनीतिक दर्शनको मूल आधार मानेको छ । जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय विभेदको अन्त्य गर्दै छुवाछुत, छाउपडी, बोक्सी प्रथा जस्ता कुप्रथाविरुद्ध कडा कानुनी र सामाजिक अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलाई मौलिक हकको रूपमा प्रभावकारी कार्यान्वयन गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने सेवा प्रणाली विकास गर्ने पार्टीको योजना छ । शिक्षा क्षेत्रमा वैज्ञानिक, प्राविधिक र रोजगारमुखी पाठ्यक्रम विकास; स्वास्थ्य क्षेत्रमा सर्वसुलभ र गुणस्तरीय सेवा विस्तार; तथा सामाजिक सुरक्षा योजनालाई थप प्रभावकारी र लक्षित बनाउने प्रतिबद्धता अपिलमा समेटिएको छ । संघीय संरचनालाई सबल बनाउँदै प्रदेश र स्थानीय तहलाई आवश्यक स्रोत, अधिकार र क्षमतासहित सशक्त बनाइने धारणा पनि व्यक्त गरिएको छ । राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा पार्टीको प्रमुख प्राथमिकतामा रहेको जनाउँदै असमान सन्धि–सम्झौताहरूको पुनरावलोकन, राष्ट्रिय हितविपरीत रहेका प्रावधानहरूको खारेजी तथा अतिक्रमित नेपाली भूमि फिर्ता लिन कूटनीतिक पहल सशक्त बनाइने उल्लेख छ । समानता, पारस्परिक सम्मान र अहस्तक्षेपको सिद्धान्तमा आधारित सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै छिमेकी तथा विश्व समुदायसँग मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने नीति पार्टीले अघि सारेको छ । अपिलको अन्त्यमा नेकपाले जनतालाई परिवर्तनको यात्रामा सहयात्री बन्न आग्रह गरेको छ । “हामीले व्यवस्था परिवर्तनको नेतृत्व गर्यौँ, अब समृद्ध र न्यायपूर्ण समाज निर्माणको जिम्मेवारी पनि लिन्छौँ,” अपिलमा भनिएको छ । फागुन २१ लाई इतिहासको नयाँ मोड बनाउँदै स्थिरता, सुशासन र समृद्धिको पक्षमा मतदान गर्न पार्टीले सम्पूर्ण मतदातासमक्ष हार्दिक अनुरोध गरेको छ ।
माैसम पूर्वानुमान: आज पनि वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ। आज दिउसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

