संसद्‌मा खेलकुदमन्त्री नआएपछि...

काठमाडौं । प्रतिनिधिसभा बैठकमा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको खोजीको भएको छ । मंगलबारको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफल गर्ने कार्यतालिकामा उल्लेख छ । सोहीअनुरुप सांसदहरुले मन्त्रालयगत खर्च कटौती प्रस्ताव पेस गरिरहेका थिए । 

सोही क्रममा कांग्रेस सांसद रामहरि खतिवडाले खेलकुदमन्त्रीको खोजी गरे । उनले मन्त्रालयगत बजेटमा उठेको प्रश्नको जवाफ मन्त्रीले दिनैपर्ने भन्दै अनिवार्य उपस्थितिबिना बैठकअघि बढ्न नसक्ने बताए । 

उनले बैठक स्थगन गरेर मन्त्री आएपछि बैठक अघि बढाइनुपर्ने माग राखे । त्यसपछि सभामुख देवराज घिमिरेले खेलकुद मन्त्रालयसम्बन्धी छलफल कार्यसूचीबाट हटाए ।

फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्यलाई माओवादीले कारबाही गर्ने

गण्डकी । फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलका सदस्य फणिन्द्र देवकोटालाई सो दलले कारबाही गर्ने भएको छ। संसदीय दलको ह्वीप उल्लङ्घन गरेकाले उहाँलाई कारबाहीको प्रकृया अगाडि बढाइएको माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । “प्रकृया पूरा भएपछि सभामुखलाई कारबाहीको सूचना दिन्छौँ”, उनले भने, “संसदीय दलको निर्णय विपरीतको क्रियाकलाप गरेपछि उनलाई कारबाही गर्नुपर्ने अवस्था आएको हो ।” नेपाल समाजवादी पार्टी (नेसपा)मा आबद्ध देवकाटा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा–२ (क) बाट निर्वाचित भएका थिए । राजनीतिक दल फरक रहेपनि प्रदेशसभामा उनी माओवादी केन्द्रको संसदीय दलको सदस्यका रुपमा रहेका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ मा दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिनसक्ने तर जुन दलले बढी सिट प्राप्त गर्छ त्यही दलका नाममा एउटा मात्र संसदीय दल गठन हुने व्यवस्था छ । यसैबीच नेपाल समाजवादी पार्टीका प्रवक्ता कृष्णा शर्माले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई दिएको विश्वासको मत संविधानसम्मत् भएको दाबी गरे । “निर्वाचनपश्चात निर्वाचन आयोगले उहाँलाई नेपाल समाजवादी पार्टीको विजयी सांसदका रुपमा प्रमाणपत्र र परिचयपत्र दिएको हो । निर्वाचन आयोगमो अभिलेखमा समेत नेपाल समाजवादी पार्टीका प्रदेशसभा सदस्य भनेर उल्लेख गरेको अवस्था छ । तसर्थ गण्डकी प्रदेशसभामा पार्टीले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी विश्वासको मत दिएको हो”, विज्ञप्तिमा भनिएको छ ।

बस र पिक अप ठोकिँदा १ को मृत्यु ८ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस  पिक अप ठोकिँदा १ जनाको मृत्यु भएको छ । मङ्गलवार बिहान ५ः३० बजे काठमाडौँबाट  सुर्खेत जाँदै गरेको क.प्र.०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठक्कर खाएका थिए । घटनामा परी पिक अप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताए । ठक्कर पछि पिकअपमा च्यापिएका बढईको २ घण्टा पछि उद्धार गरिएको थियो । घाइतेहरू लाई उपचारको लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताए । 

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन २०७९–८० तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, अर्थमन्त्री वर्षमान पुनले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव तथा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल तथा सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

एसईईको नतिजा असार दोस्रो साताभित्र

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ। परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अंकभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए। उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अरू कार्य तीव्र गतिमा भइरहेको बताए। “हामीले उत्तरपुस्तिका परीक्षण र अंक अभिलेखको काम सकेका छौँ । प्राविधिक त्रुटि नदेखिए केही दिनअगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ। कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौँ,” उनले भने । उनले ५२ परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारी समेत दिए। गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरिएको थियो । बोर्डले यो वर्ष त्योभन्दा १४ दिनअगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको उनले बताए । उनले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नजिता सार्वजनिक गरिने जानकारी दिए। यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनैपर्ने अन्यथा ‘फेल’ भएसरह मानिने उनले बताए। गत चैत १५ गतेदेखि सुरु भएको यो वर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन्। रासस

वीर अस्पतालमा जनशक्ति व्यवस्थापन गरी सेवा सुचारु गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले वीर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमवार बसेको बैठकले विर अस्पतालमा रहेको आई.सी.यू, सी.सी.यू वेड, भेन्टीलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सुचारु हुने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो। त्यस्तै देशका संघीय अस्पतालमा रहेको आई.सी.यू., सी.सी.यू अवस्था अध्ययन गरी आवश्यक सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्ने निर्णय पनि समितिले गरेको छ। बैठकले स्वास्थ्य क्षेत्रको सुधार एवम् सेवा प्रभावकारिता र गुणस्तर सुधारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिए। त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ओ एण्ड एम सर्वेक्षण अगाडि बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि भएको उनले बताए। सभापति थापाका अनुसार समितिले अपरेशन थिएटरहरुलाई २४ सैँ घण्टा व्यवस्थापन गर्न समेत निर्देशन दिएको छ। त्यसैगरी समितिले वयलपाटा अस्पताल अछामको सञ्चालन तथा व्यवस्थापनमा कठिनाई भएको भन्दै यस आर्थिक वर्षमा विशेष अनुदानको व्यवस्था गर्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। सभापति थापाले उपत्यकाका वीर अस्पताल, पाटन अस्पताल, टिचिङ अस्पतालको अवस्था र सेवा प्रवाहको समितिले अनुगमन गर्ने निर्णय भएको जानकारी दिए। त्यसैगरी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको मागको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्रीसँग छलफल गर्ने पनि निर्णय गरिएको छ ।

नेप्से परिसूचक बढ्यो

काठमाडौँ। यो सातामा कारोबारको पहिलो आइतबार चार दशमलव ५९ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोस्रो दिन आठ दशमलव ९० अङ्कले बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४२ प्रतिशतले बढेर दुई हजार ८२ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड १६ लाख ३४ हजार छ सय १८ कित्ता शेयर ७१ हजार नौ सय ४८ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४९ करोड छ लाख नौ हजार सात सय ८२ बराबरको कारोबार भएको छ । बैङ्किङ समूह शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ९३, जीवन बीमा शून्य दशमलव २४, म्युचुअल फन्ड तीन दशमलव ७४, व्यापार समूह दुई दशमलव ०३ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज विकास बैङ्क समूह शून्य दशमलव ३६, वित्त एक दशमलव २१, जलविद्युत दुई, लगानी शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव ६२ र निर्जीवन बीमा समूह एक दशमलव २८ प्रतिशतले बढेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने जानकी फाइनान्स कम्पनी लिमिटेड आठ दशमलव ६७ र बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव २९ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. ४१ करोड ८७ लाख ६३ हजार दुई सय छ बराबरको छ लाख २७ हजार छ सय ७६ कित्ता शेयर किनबेच भएको छ ।

राष्ट्र बैंकका तथ्यांक:  ३.०१ प्रतिशतले घट्यो मूल्यवृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि १० महिनामा ३.०१ प्रतिशतले घटेको दाबी गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार २०८१ वैशाखमा वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिना यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत थियो। समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ । यस अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ। घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क १२.२६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको .४६ प्रतिशतले बढेको छ । सञ्चार उपसमूहको वार्षिक विन्दूगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ । २०८१ वैशाखसम्म काठमाडौं उपत्यकाको वार्षिक विन्दूगत उपभोक्ता मुद्रास्फीति ४.३०, तराईको ४.३२, पहाडको ४.७० र हिमालको ४.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.६८, ७.१५, ७.५७ र ७.१२ प्रतिशत रहेको थियो ।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सीआईबीको प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्च अदालतले प्रमाण झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश भएको रिट निवेदक अधिवक्ता अनुपम भट्टराईले जानकारी दिए ।  उनका अनुसार लामिछानेको सचिवालयले समाचार आएका आधारमा खण्डन गर्दै पठाएको पत्रसमेत झिकाउन सर्वोच्चले आदेश दिएको छ । 

रामप्रसाद सुवेदी स्विट्जरल्याण्डका लागि आवासीय राजदूत नियुक्त

काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्डका लागि नेपाली आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गरेका छन् । सुवेदीलाई सान मारियो देशको गैर आवासीय राजदूतसमेत बनाइएको छ । यस्तै, हालका संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई ल्याटिन अमेरिकी मुलुक निकारागुआको गैर आवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

निजी वनको दिगो व्यवस्थापन अति आवश्यक : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघले नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले बढ्दो बसाइँसराई, महत्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तिब्र चाहना र आवश्यकता जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतीहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए। उनले  वातावरण संरक्षण र वनको दिगो विकासका चुनौतीहरुलाई अवसरका रूपमा परिणत गर्नका लागि सरोकारवाला बीचको सहकार्य, समन्वय र सहभागिताको आवश्यकता निर्विकल्प रहेको पनि बताए। उनले खेर गइरहेको निजी आवादी जमिनमा हरियाली बनाउन छिटो, छरितो बढ्ने विरुवाहरुको वृक्षारोपण अभियान सञ्चालन गरी जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्न सकिने बताए। उनले भने, ‘निजी वनको दिगो व्यवस्थापन अति आवश्यक छ। मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्दछ। बढ्दो बसाईंसराई, महत्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण,जनताको पूर्वाधार विकासप्रतिको तिब्र चाहना र आवश्यकता जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतिहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भइ अघि बढ्नुपर्दछ।ु उपराष्ट्रपति यादवले जलवायु परिवर्तनको असर न्युनीकरण तथा अनुकूलनका लागि निजी वनले पुर्‍याएको योगदानको समीक्षा र मूल्यांकन हुन जरुरी रहेको बताए।

गृहमन्त्री लामिछानेको निलम्बन माग गरिएको रिट न्यायाधीश शर्मा र श्रेष्ठको इजलासमा

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निलम्बन माग गरिएको रिट न्यायाधीशहरू डा. मनोज शर्मा र तीलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । सहकारी ठगीमा कतै पनि उजुरी र अभियोजन नरहेको भन्दै महान्यायाधीवक्ता कार्यालयले अनधिकृत रूपमा पत्र दिएपछि अधिवक्ता अनुपम भट्टराईले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।  गृहमन्त्रीविरुद्ध प्रहरीमा उजुरी नै नभएको र ठगीमा संलग्न नरहेको भन्दै दिएको पत्रले गृहमन्त्री लामिछानेलाई कानुनी दायित्वबाट उन्मुक्ति दिएको भन्दै पत्र बदर गर्न माग गरिएको छ।उनले सहकारीमा ठगीमा संलग्न रहे अथवा नरहेको अनुसन्धानका लागि गृहमन्त्री पदमा रहँदा बाधा हुनेभन्दै उनलाई निलम्बन गरी अनुसन्धानका लागि प्रधानमन्त्रीका नाममा आदेश जारी गर्न पनि रिटमा माग गरेका छन्।  यसअघि न्यायाधीश श्रेष्ठको इजलासले रविविरुद्धको उजुरी ल्याउन आदेश जारी गरेको थियो। कास्की प्रहरीमा रविविरुद्ध उजुरी परेको छ। बुटवलको सुप्रिम सहकारीबाट पनि लामिछानेले अनधिकृत रूपमा दुई करोड रुपैयाँ लिएको उल्लेख भए पनि उनलाई विपक्षी नबनाई मुद्दा दायर भएको छ।

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा नै कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

राष्ट्रिय छन्द कविता प्रतियोगितामा बाराकी सरु बस्नेत प्रथम

भरतपुर। भरतपुरमा आयोजित राष्ट्रिय कविताको प्रथम पुरस्कार बाराकी सरु बस्नेतले जितेकी छन् । नवसाहित्य मञ्जरी भरतपुर १३, चम्पानगरले ‘देशका लागि युवाको खाँचो’ विषयमा देशभरबाट सङ्कलित दुई सय कवितामध्ये निर्णायकहरुको मूल्याङ्कनपछि उत्कृष्ट ९ कविता छनोट गरेर शनिबार सर्जकलाई भौतिकरुपमै उपस्थित गराएर अन्तिम प्रतिस्पर्धा गराएको थियो। लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके/हवेली) मा भएको अन्तिम प्रतियोगितामा बस्नेत प्रथम हुदाँ नुवाकोटका कृष्णप्रसाद पौडेल दोश्रो र दाङ्गका हरिप्रसाद पौडेल तेस्रो भए । सुनसरीका मुक्ति पोखरेल र बाँकेका पदमावती रिजालले सान्त्वना पुरस्कार प्राप्त गरेको नवसाहित्य मञ्जरीको सचिव रमना अधिकारीले जानकारी दिईन् । उनका अनुसार प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना दुई जनाले जनही ५ हजार रुपैयाँ पुरस्कार एवं प्रमाणपत्र प्राप्त गरेका छन् ।  विजयीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडीले पुरस्कार हस्तान्तरण गरेका थिए । कविता मूल्यांकनका लागि वरिष्ट साहित्यकार छन्दवादी कवि हरिप्रसाद रिमाल, गौंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्द विनोदी र वरिष्ट साहित्यकार केशवराज भट्टराई आमोदी सहितको  तीन सदस्यीय मूल्यांकन समिति बनाइएको थियो ।  कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको तर्फबाट सदस्य रामहरी श्रेष्ठ, अमर न्यौपाने, भरतपुर महानगरपालिका प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, कवी प्रा.डा.देवी नेपालको सहभागिता रहेको थियो ।  आयोजक संस्थाका अध्यक्ष सूर्यमणि रेग्मीले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउँदै मौलिक साहित्यको प्रवद्र्धन, प्रचारप्रसार तथा प्रतिभाको पहिचान र उत्प्रेरणाका लागि प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रमलाई गीतकार विष्णुबाबु देवकोटाले सहजीकरण गरेका थिए ।

अन्तरजातीय विवाह गर्ने दश जोडीलाई भरतपुर महानगरको सम्मान

चितवन। भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १० जोडीलाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ का नविन विक र कमला श्रेष्ठ, भरतपुर–११ का विवेक सुनार र अमिबका कार्की, भरतपुर–१६ सुशिल परियार र सुस्मिता बुढाथोकीको जोडी रहेका छन् । यस्तै भरतपुर–२५ का अविनास सुनार र मिना भुजेल, भरतपुर १४ विवस महतो र प्रतिभा सुनार, भरतपुर १४ कै पदम बहादुर विक र फुलमायाँ लावती, भरतपुर १५ का विनोद परियार र अरुणा राई, भरतपुर ६ का सुवास विक र मायाँ कुमालको जोडी रहेका छन् ।   उनीहरूलाई महानगरले आईतबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले विगत ४ वर्षदेखि सुरुवात भएको सम्मान कार्यक्रममा क्रमश जोडीको संख्या वृद्धि हुदै गएको बताइन्। भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताइन् । जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गरिन् । हिजोको समान्तवादी सोच, चिन्तत र प्रवृति आज पनि देखिने गरेको उनको भनाई छ । संविधानले जातीय विवेदलाई अपराधजन्य कार्य भनेर ठहर गरेपनि सोचे जति परिवर्तन हुन नसकेको उनको भनाई थियो । जनयुद्धको समयभन्दा अगाडि मान्छेले मान्छेलाई पशुजन्य व्यवहार गर्ने गरेको घटना स्मरण गर्दै प्रमुख दाहालले पहिलाकाके अवस्था निकै काहाली लाग्दो रहेको बताइन्। जनयुद्धको जगमा पाएका अधिकारलाई कार्यान्वन गर्न निरन्तर खबरदारी र संर्घष जारी राख्नुपर्ने उनको भनाई थियो । भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विषयमा फड्को मारेको र जात जातिमा हुने विवेद अन्त्यको लागि सम्मान कार्यक्रम गरिएको बताए। नेपालका ७५३ पालिका मध्ये भरतपुर महानगरले अन्तरजातीय जोडीलाई सम्मान गरी उदाहरणीय कार्य गरेको उपप्रमुख अधिकारीले बताए। कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले छुवाछुत समाजिक अन्धविश्वास रहेकाले यसको उन्मुलनको लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए। मानिसको दुई जात महिला र पुरुषमात्र भएकाले सबैले आत्मसम्मानसहित बाच्न पाउनुपर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। महानगरले यसअघि १३ जोडीलाई सम्मान गरिसकेको छ । महानगरले हालसम्म अन्तरजातीय विवाह गर्ने २३ जनालाई सम्मान गरिसकेको छ ।

रुकुम पश्चिमको नेपानेमा बोलेरो दुर्घटना, तीनजनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।  मुसिकोट नगरपालिका-१ खलंगा बाँफिकोट गाउँपालिकाको-४ छिनखेत जाँदै गरेको वर्ल्ड लिंक कम्युनिकेसनको डबल क्याप बोलेरो आइतबार बेलुकी साढे ९ बजे दुर्घटना भएको हो।  दुर्घटनामा चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ, बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय सौगात विक र सुर्खेत बराहताल गाउँपालिका-५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए। जिल्ला अस्पताल सल्ले पुर्‍याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्।  पश्चिमको बाँफिकोट गाउँपालिका-४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका-५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय टीकाराम खनाल घाइते भएका छन्। उनीहरूमध्ये सुजल र टीकारामको अवस्था गम्भीर छ। उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज ‘रेफर’ गरेको शाहीले जानकारी दिए। दिलीपको उपचार जिल्ला अस्पतालमै भइरहेको छ। प्रहरीका अनुसार गाडी सडकबाट करिब २०० मिटर भन्दा तल खसेको थियो। इन्टरनेट जडानको काम गरिरहेका उनीहरू बाँफिकोटको छिनखेत जाँदै थिए। बाँफिकोट क्षेत्रमा फाइबर नेट विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए।