आज अमेरिकन डलरको मूल्य कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । 
            
युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०९ पैसा कायम गरिएको छ । 
    
अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५४ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१  पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६९ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा कायम गरिएको छ । 

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ १६ पैसा र बिक्रीदर ४७७ रुपैयाँ १२ पैसा कायम गरेको छ । 

बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ र बिक्रीदर ३८६ रुपैयाँ ५९ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ६१ पैसा रहेको छ । 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
                
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचन: आसन्न निर्वाचनप्रति मधेस प्रदेशका मतदातामा बढी उत्साह

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा बढी उत्साह देखिएको पाइएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले गरेको निर्वाचन सर्वेक्षणमा विगतको तुलनामा मधेस प्रदेशका करिब ५५ प्रतिशत मतदातामा आगामी चुनावप्रति उत्साह देखिएको उल्लेख छ । जेनजी आन्दोलनका जगमा हुन लागेको यस निर्वाचनलाई विगतका निर्वाचनभन्दा भिन्न र विशिष्ट मानिएको जियोकका महासचिव कृष्णमान प्रधानले बताए । भदौ २३ गते भएको जेनजी आन्दोलनपछिको पहिलो निर्वाचन भएकाले पनि आममतदातामा ठुलो उत्साह रहेको महासचिव प्रधानले बर्ता । सोही प्रदेशमा निर्वाचनप्रति सबैभन्दा बढी ७९.२ प्रतिशत विश्वास रहेको सर्वेक्षण तथ्याङ्कले देखाएको छ । जियोकको सर्वेक्षणमा भनिएको छ, “नवयुवा पुस्ताले यस निर्वाचनलाई विगतको भन्दा फरक मानेका छन्, आममतदाता भने तोकिएको समयमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनेमा ढुक्क छन् ।” जियोकले करिब १०० जना मतदातामा गरेको सर्वेक्षणमा सहभागीमध्ये अधिकांश यही फागुन २१ गते हुने निर्वाचनबारे सचेत रहेको उल्लेख छ । सर्वेक्षणमा सहभागी मतदातामध्ये ३४ प्रतिशत राजनीतिक शक्तिबाट उच्च प्रभावित रहेको तथा ५० प्रतिशतमा मध्यम प्रभाव देखिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा जेनजी आन्दोलनको प्रभावले विगतको तुलनामा चुनावी नतिजालाई केही फेरबदल गर्ने अनुमान गरिएको छ । निर्वाचनको सफलतामा शान्ति, सुरक्षाको पाटोलाई चुनौतीका रूपमा पहिचान गरिए तापनि पछिल्लो समय बन्दै गएको चुनावी वातावरणले अन्य कुरालाई पन्छाउँदै लगेको संस्थाले जनाएको छ । तथापि राजनीतिक दलका कार्यकर्ताबिच हुनसक्ने विवादले केही स्थान विशेषमा भने छिटफुट रूपमा सुरक्षा चुनौती निम्तन सक्ने विषयलाई नकार्न नमिल्ने औँल्याइएको छ । सर्वेक्षणमा सहभागी २१ प्रतिशत मतदाताले आफ्नो मतको निर्णयमा सामाजिक सञ्जालको प्रभाव रहेको स्वीकार गरेको तथा लैङ्गिक रूपमा २४ प्रतिशत पुरुष र २१ प्रतिशत महिला प्रभावित देखिएको उल्लेख छ । प्रविधि प्रयोगमा मात्र होइन, नवयुवा पुस्ता सामाजिक सञ्जालबाट त्यति नै प्रभावित देखिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी तुल्याउन पैसा र पहुँचको दुरुपयोगलाई सबैभन्दा ठुलो चुनौतीका रूपमा औँल्याइएको छ । निर्वाचन सुरक्षामा भ्रामक सूचनाले पनि नकारात्मक असर पर्ने सक्ने भएकाले त्यसको समयमै रोकथाम गर्नेतर्फ ध्यान पुराउनुपर्नेमा जोड दिइएको छ । चुनावको मिति नजिकिँदै गर्दा निर्वाचनका लागि आवश्यक वातावरण बनेको, मतदातामा उत्साह बढेको, नयाँ राजनीतिक शक्तिको उदय सङ्केत देखिएको तथा निर्वाचनपछिको परिदृश्य र सुधारको सम्भावना प्रशस्त रहेको जियोकको प्रतिवेदनमा उल्लेख छ ।

ओलीकाे अन्तर्वार्ता लिन पुग्दा पत्रकार आचार्यमाथि सांघातिक आक्रमण

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार केपी शर्मा ओलीको अन्तर्वार्ता लिन पुगेको बेला पत्रकार अर्जुन आचार्यमाथि आक्रमण भएको छ । बिहीबार झापा झापा ५ का अन्य उम्मेदवारको अन्तर्वार्ता लिइसकेपछि आचार्य सहितको टोलीले ओलीको अन्तर्वार्ता लिन प्रयास गरेको थियो। यस क्रममा ओलीले नै अन्तर्वार्ताको लागि आफ्नो सचिवालय मार्फत कमल गाउँपालिकामा बोलाएपछि पुग्दा पत्रकार आचार्यमाथि आक्रमण भएको हो। । हाम्रोमत कार्यकारी सम्पादक तथा रातोपाटीका संवाददाता रहेका आचार्य सहितको टोली ओलीको घरदैलो अभियान चलिरहेको कमल गाउँपालिका ४ र ५ मा पुगेको थियो। जीवनचोकमा टोली पुग्दा पत्रकार आचार्यमाथि एमाले निकट भोलेन्टियर्स फोर्सका समूहले आक्रमण गरेको हो। पत्रकार आचार्यले भिडियो खिचिरहेको बेला मोबाइल खोसेर सो समूहले आचार्यमाथि मुक्का र बुट बजारेको थियो। आक्रमणबाट पत्रकार आचार्यको टाउको, अनुहार र ढाडमा समस्या देखिएको छ। आचार्यको चस्मा र मोबाइल भने आक्रमणकारीले नै लुटेका छन्। घटना भइरहँदा एमाले अध्यक्ष ओली केही मिटर अगाडि मात्रै घरदैलो अभियानमा थिए। उनको  साथमा सुरक्षाकर्मीको टिम पनि परिचालित थियो। तर,  पत्रकारमाथि आक्रमण हुँदा मात्र हैन, घटना भएको चार पाँच घण्टा बितिसक्दा पनि दोषीहरू पक्राउ परेका छैनन्। एमालेको घरदैलो अभियानमा केही महिलाले घन्टीमा भोट हाल्ने अभिव्यक्ति दिएपछि एमालेका कार्यकर्ताहरूले अश्लिल गालीगलज महिलाहरू माथि गरेका थिए। त्यही भिडियो खिच्ने क्रममा पत्रकार आचार्यमाथि आक्रमण भएको हो। उनीहरूले आचार्यको मोबाइल खोसेर भिडियो डिलिट गर्ने प्रयास गर्दा मोबाइलको लक नखुलेपछि सडकमा मोबाइल बजारेका थिए भने आचार्यमाथि निर्घात आक्रमण गरेका थिए। घटनापछि आचार्यलाई अपहरण गर्न उनीहरूले आफू सवार गाडीमाथि चढाउने प्रयास गरेका थिए। त्यसलाई भने एमालेकै केही कार्यकर्ताहरूले रोकेका थिए । पीडित आचार्यका अनुसार सो समूहले दमकमा पुगेर थप देखाइदिने धम्की समेत दिएका थिए भने आचार्य सहितका पत्रकार सवार रहेको गाडीमाथि पनि आक्रमणको प्रयास भएको थियो। घटनापछि असुरक्षित महसुस गर्दै आचार्यसहितको टोली विराटनगर फर्किएको छ । आचार्यको न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनको अनुहार सुन्नीएको छ भने ढाड र पाखुरामा निलडाम छ। टाउकोमा टुटुल्का देखिएको छ। आचार्यको प्रेसर बढेको र कमजोरी देखिएको भन्दै अस्पतालले थप परीक्षण भइरहेको जनाएको छ। घटनापछि एमालेका कार्यकर्ताहरूले फोन गरेर मोबाइल र चस्मा फिर्ता गर्ने बताएको भए पनि घटनाप्रति माफी नमागेको टोलीमा सहभागी पत्रकार रोहित दाहालले जानकारी दिएका छन् ।

निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो । सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिससमेतका आधारमा आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेध गरिएका कार्य हुन नदिने र कहीँकतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन निर्देश गरिएको छ । मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मतका सवारीसाधन निर्वाध चल्न सक्नेछन् । दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधन पनि सहज सञ्चालन हुनेछ ।  सार्वजनिक तथा निजी सवारीसाधन भने यही फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय भएको आयोगले जनाएको छ । मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत सञ्चालनको व्यवस्था मिलाइनेछ । अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर र बसोबास गर्ने होटेलसम्म ल्याउन सहज व्यवस्था गरिएको छ ।  घर बसोबास गर्ने होटेलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिनेगरी आवश्यक व्यवस्था मिलाइने आयोगले उल्लेख गरेको छ ।

पाेखराका एक रास्वपा नेताले छाडे दल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु राईले पार्टी छाडेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले "नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु हो" लेखेका छन् । राई अघिल्लोपटक कास्की निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाबाट प्रतिनिधिसभाको उमेदवार थिए । १० हजार ९४१ मत ल्याएर तेश्रो बनेका राई यसपटक पनि टिकटका आकांक्षी थिए । तर, सो क्षेत्रमा रास्वपा वरिष्ठ नेता बालेन साहनिकटका खडकराज पौडेलले टिकट पाए । त्यसपछि असन्तुष्ट बनेका उनले पार्टीले यसबारे केही सम्बोधन नगरेको बताए । सोझो र इमानदारले राजनीति गर्न नहुने र राजनीति र पार्टीको लागि समय खेर नफाल्ने बुझाई उनले फेसबुकमा उल्लेख गरेका छन् । “राजनीति भनेको सोझो र इमानदारीले गर्ने काम होइन रहेछ । आजबाट राजनीति र पार्टीको लागि १ कौडी पैसा र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन । स्वतन्त्र नगरिक भएर समाज सेवा मा लाग्नेछु,” उनले लेखेका छन् । के तपाईंसँग टिकटको लागि पैसा मागिएको हो ? भनेर हामीले उनलाई सोधेका थियौँ । उनले रकम नमागिएको तर, रास्वपा विधानअनुसार नचलेको बताए । “हामी पुराना मान्छेसँग मागिएन । हिजो टिकट किन्नुपर्दैन, नेता चिन्नुपर्दैन भनेर बोलिएको थियो । अहिले चाहिँ नेता चिन्नुपर्ने लाग्यो । पार्टी नै हाइज्याक भयो । रास्वपा अब रहेन । रास्वपामा यस्तो हुँदैनथ्यो । प्राइमरी इलेक्सन हुन्थ्यो । उमेदवारलाई राखिन्थ्यो । उपयुक्त, जान्नेलाई छान्ने भन्ने हुन्थ्यो," उनले भने, "अहिले त मिडियामा देखिएका पात्र मात्रै देखिए । नातावाद, कृपावाद हुँदैन भनिन्थ्यो, पार्टीवाद हाबी भयो । हामीलाई २५ हजार तिरेर उमेदवारी दिन लगाइएको थियो । प्राइमरी हुन्छ भनेर दियौँ । तर, हामीलाई सूचना जानकारी नदिई टिका लगाइदिनुभयो । समग्र पार्टीभन्दा रास्वपा पनि फरक रहेन ।”

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी  अन्तिम चरणमा छ । आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार, व्यवस्थापकीय कार्यतालिकाबद्ध र तोकिएको समयमा सञ्चालित छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भई ७७ वटै जिल्लामा पुगेको छ । केही सामग्री भने जिल्लामै व्यवस्थापन हुनेछ । निर्वाचन अधिकृतको कार्यालयबाट भने मतदान अधिकृतको जिम्मामा सबै सामग्री पठाइने आयोगले जनाएको छ । स्वीकृत कार्यक्रमअनुसार, मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम यही फागुन ३ गतेदेखि जारी छ । मतदाता शिक्षा फागुन १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुने जनाइएको छ । निर्वाचन आचारसंहिता अनुगमन एवं परिपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरूले सक्रिय रुपमा कार्यसम्पादन गर्दै आएका छन् । यही फागुन ४ गतेदेखि राजनीतिक दलहरूले चुनावको मुख्य प्रचारप्रसारका गतिविधि सुरुआत गरेका छन् 

निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री–वितरणमा रोक

महेन्द्रनगर । कञ्चनपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण एवं सेवनन रोक लगाएको छ । बिहीबार (फागुन १४) जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लाभर मदिरा बिक्री–वितरण एवं सेवनमा रोक लगाएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिए ।  उनका अनुसार, फागुन २१ गतेका लागि तोकिएको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मदिरा बिक्री–वितरण एवं सेवन निषेध गरिएको हो ।  “सभ्य, सुव्यवस्थित, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन जिल्ला सुरक्षा समिति प्रतिबद्ध छ,” उनले भने, “निर्वाचनको समयमा सार्वजनिक शान्ति सुरक्षा र सामाजिक सदभाव कायम राख्न यो निर्णय गरिएको हो, उल्लंघन गरे कारबाही हुन्छ ।” निर्वाचनको मिति नजिकिँदै जाँदा स्थानीय प्रशासनले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जिल्लाका विभिन्न स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी सुरक्षामा खटिएका छन् । नेपाली सेनाले गस्ती समेत गर्ने गरेको छ ।    

सवारीसाधनसहित १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा । प्रहरीले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा सवारीसाधनसहित १० लाख ६८ हजार ५० बराबरको मालसामान बरामद गरेको छ । झापा प्रहरीले बिहीबार बिहान बिर्तामोड नगरपालिका–८, गरामनीस्थित मदनपुर–विर्तामोड सडकखण्डमा जाँचका क्रममा भन्सार छलीका सामग्रीसहित सवारीसाधन नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुरबाट विर्तामोडतर्फ जाँदै गरेको डब्लू बी ७४ डब्लू १२९६ नम्बरको सुजुकी मारुती भ्यानलाई प्रहरी टोलीले जाँच गर्दा भन्सार छली गरी ल्याइएका विभिन्न मालसामान फेला परेका हुन् । उनका अनुसार उक्त सवारीसाधनमा अटो पार्टस्, हार्डवेयर सामग्री, इलेक्ट्रोनिक सामान तथा विभिन्न उपभोग्य वस्तु लोड गरी ल्याइएको अवस्थामा भेटिएको छ । बरामद गरिएका सामग्रीमध्ये हाइड्रोलिक जग सेट, डोर मेसिन, एक्सल मल्टिलक, पाइडल प्लेट, डिजेल पाइप, एलइडी लाइट, फ्लोर्न ग्यास, साइलेन्सर बुस, फ्युल गेजलगायत ५२ प्रकारका सामान रहेका छन् । बरामद गरिएको सवारीसाधन र मालसामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मेची भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

गए राती नेपाल–भारत सीमामा फेरि गयो भूकम्प

काठमाडौं । नेपाल–भारत (सिक्किम) सीमामा फेरि भूकम्प गएको छ । बिहीबार (फागुन १४) राति १० बजेर २५ मिनेट जाँदा भूकम्प गएको हाे । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।  यसअघि बिहीबार दिउँसो नेपाल–भारत सीमामा ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

झापा ।  जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । उनले परम्परागत खेती प्रणालीको तुलनामा मेसिनको प्रयोगमा जिल्लामा धानखेती गर्ने प्रचलन बढ्दै गएकाले रोप्नका लागि कतै बीउ तयार भइसकेको त कतै बीउ राख्ने काम भइरहेको बताए । जिल्लाका विभिन्न स्थानमा १० वटा धान रोप्ने मेसिन (ट्रान्सप्लान्टर)हरू रहेका छन् । प्रमुख विष्टका अनुसार गत वर्ष जिल्लामा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको भए तापनि यस वर्ष किसानहरूको आकर्षण मकैखेतीतर्फ बढेकाले १५ देखि २० प्रतिशतले धानखेतीको क्षेत्रफल घट्ने देखिएको हो । गत वर्ष चैते धानको मूल्य प्रतिमन (४० केजी) रु ७०० मात्र रहेकाले उचित प्रतिफल नपाउँदा किसानहरू निरास भई वैकल्पिक बालीतर्फ मोडिएका उनले बताए । उनले भने, “गत वर्षको मूल्यकै कारण किसानको चैते धानखेतीतर्फ खासै ध्यान गएन ।” धानको बीउ आपूर्ति गर्ने कम्पनीहरूले बीउसमेत यस वर्ष सोचेअनुरूप बिक्री गर्न नसकेको जनाएका छन् । जिल्लामा विशेषगरी हर्दिनाथ–१ जातको धान बढी लगाउने गरिए पनि यसपटक मोरङको आरजु राइस मिलले हर्दिनाथ–६ जातको धान प्रतिमन रु एक हजारमा खरिद गर्ने पूर्वसहमति गरेपछि किसानले उक्त जातको धान पनि लगाउन सुरु गरेका छन् । बिक्रीको सुनिश्चितता र तुलनात्मक रूपमा राम्रो मूल्य तोकिएकाले ‘हर्दिनाथ–६’ तर्फ किसानको चासो बढेको भए तापनि धेरैजसोले अझै ‘हर्दिनाथ–१’ लाई नै प्राथमिकतामा राखेको उनको भनाइ छ । त्यसैगरी, कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लामा ‘छरुवा धान’ प्रविधिलाई पनि प्रोत्साहन दिइएको छ । केन्द्रले हरेक वर्ष नयाँ स्थानहरू पहिचान गरी किसानलाई यो प्रविधि अपनाउन प्रोत्साहित गर्दै आएको छ भने पुराना किसानले आफैँ यसलाई निरन्तरता दिइरहेका छन् । छरुवा प्रविधिबाट धानको उत्पादन राम्रो हुने भए तापनि प्राविधिक पक्षमा ध्यान नदिँदा किसानलाई झार नियन्त्रणमा समस्या आउने गरेको प्रमुख विष्टको भनाइ छ । धानखेतीका लागि चाहिने रासायिक मलको जिल्लामा अभाव नरहेको उनले जानकारी दिए ।

एक सिट बाहेक नेकपाले अन्यत्र कतै पनि चुनावी तालमेल गर्दैन: प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब अन्यत्र कतै पनि चुनावी समीकरण नहुने स्पष्ट दाबी गर्नुभएको छ।  पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेकपा यसपटक आफ्नै एजेन्डा, आफ्नै संगठन र जनताको बलमा निर्वाचनमा जाने अडानमा अडिग रहेको बताउनुभयो। प्रचण्डले बाग्लुङमा जनमोर्चासँग भएको एक सिटको प्राविधिक तालमेललाई “अपवाद” का रूपमा व्याख्या गर्दै अन्य कुनै स्थानमा तालमेल वा गठबन्धनको सम्भावना नरहेको प्रस्ट पार्नुभयो। “हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं,” उहाँको भनाइ थियो, “जनताको विश्वास र हाम्रो राजनीतिक स्पष्टतामाथि हामीलाई पूरा भरोसा छ।” उहाँले पार्टीले दुई प्रकारका ‘अतिवादी प्रवृत्ति’ सँग दूरी कायम गर्ने नीति लिएको पनि दोहोर्‍याउनुभयो। २३ गतेको युवा हत्या प्रकरण र २४ गते सरकारी संरचनामा भएको विध्वंसलाई संकेत गर्दै उहाँले ती दुवै प्रवृत्तिसँग कुनै पनि हालतमा चुनावी तालमेल नगर्ने अडान रहेको बताउनुभयो। “नेकपा राष्ट्र, लोकतन्त्र र जनताको पक्षमा दृढतापूर्वक उभिएको शक्ति हो,” प्रचण्डले भन्नुभयो, “हामी हिंसा र अराजकतासँग जोडिने कुनै समीकरणमा जाँदैनौं।” बजारमा चलेका ‘महागठबन्धन’ वा अन्य समीकरणसम्बन्धी चर्चालाई उहाँले नियोजित भ्रम र ‘फेक न्यूज’ भन्दै पूर्ण रूपमा खारेज गर्नुभयो। पार्टीभित्र अन्यत्र तालमेल गर्ने विषयमा कुनै नीतिगत छलफल नै नभएको उल्लेख गर्दै उहाँले बाग्लुङबाहेक अन्यत्र सहकार्य नहुने स्पष्ट सन्देश दिनुभयो।  

मोरङ–१ मा कुशल लिम्बूको घरदैलो तीव्र, विकास र सुशासनको प्रतिबद्धता

माेरङ । मोरङ–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुलप्रसाद साम्बा (कुशल लिम्बू) ले चुनावी अभियानलाई तीव्रता दिँदै मतदातामाझ विकास, पारदर्शिता र जनउत्तरदायित्वको स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवारी दिएका लिम्बू यतिबेला उर्लाबारी, मिक्लाजुङ, लेटाङ र केराबारीका विभिन्न बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रममा सक्रिय छन् । घर–घरमा पुगेर स्थानीय समस्या र जनअपेक्षा सुन्ने क्रममा उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने योजना प्रस्तुत गरिरहेका छन् । लेटाङमा आयोजित घरदैलो कार्यक्रममा स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उनले भने, “राजनीति पदका लागि होइन, जनताको सेवा र परिवर्तनका लागि हो । मोरङ–१ को विकासलाई अब तीव्र गति दिनुपर्छ ।” लिम्बूले विगतमा प्रदेशसभा सदस्यका रूपमा काम गर्दा हासिल गरेको अनुभवलाई संघीय संसदमा उपयोग गर्दै क्षेत्रीय विकासलाई संस्थागत ढंगले अघि बढाउने प्रतिबद्धता जनाए ।पारदर्शी शासन, प्रभावकारी सेवा प्रवाह र रोजगारी सृजनालाई केन्द्रमा राखेर दीर्घकालीन योजना कार्यान्वयन गर्ने उनको भनाइ छ। चुनावी अभियानका क्रममा युवा, किसान, व्यवसायी तथा ज्येष्ठ नागरिकसँग अन्तरक्रिया गर्दै उनले विकासका अधुरा काम पूरा गर्ने र नयाँ सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने अठोट व्यक्त गरेका छन् । मतदाताहरूले पनि उनको सक्रियता, स्पष्ट दृष्टिकोण र जनतासँगको निरन्तर सम्पर्कलाई सकारात्मक रूपमा लिएका छन्। लोकतन्त्रमा मत नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै लिम्बूले भावनामा होइन, विवेकमा आधारित निर्णय गर्न आग्रह गरेका छन् । “देश र भविष्य पुस्ताको हितलाई केन्द्रमा राखेर सही नेतृत्व चयन गरौँ,” उनको आह्वान छ। मोरङ–१ मा कुशल लिम्बूलाई विकासप्रेमी, सक्रिय र प्रतिबद्ध उम्मेदवारका रूपमा हेरिँदै आएको स्थानीय कार्यकर्ताहरूको दाबी छ। चुनाव नजिकिँदै जाँदा उनको पक्षमा जनसमर्थन क्रमशः सुदृढ बन्दै गएको बताइएको छ।

युवाको न्याय र राष्ट्रको स्वाधीनताका लागि नेकपा दृढ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवाहरूले आयोजना गरेको प्रदर्शनलाई भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने जायज मागमा आधारित शान्तिपूर्ण आन्दोलनका रूपमा व्याख्या गर्नुभएको छ।  प्रशासनको स्वीकृतिमा सम्पन्न उक्त प्रदर्शनप्रति सुरुदेखि नै पार्टीले ऐक्यबद्धता जनाएको उल्लेख गर्दै उहाँले युवाहरूको आवाज लोकतन्त्रको जीवन्त संकेत भएको बताउनुभयो। प्रचण्डले विहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा यस्ताे बताउनु भएकाे हाे । उहाँले त्यस आन्दाेलनमा तत्कालिन सरकारद्वारा अपनाइएको बल प्रयोग र दमनको नीतिप्रति गम्भीर आपत्ति जनाउँदै २३ गतेको कारबाहीमा १९ जना युवाको ज्यान गएको सूचना प्राप्त भएको उल्लेख गर्नुभयो। ती युवाहरूलाई पार्टीले शहीद घोषणा गरिसकेको जानकारी दिँदै उहाँले “युवाहरूको रगतको मूल्य राज्यले चुकाउनैपर्छ” भन्ने दृढ अडान दोहोर्याउनुभयो।  उहाँका अनुसार जनताको मौलिक अधिकारको प्रयोगमाथि गरिएको आक्रमण लोकतान्त्रिक मूल्य–मान्यताविरुद्धको कदम हो। घटनापछि तत्काल सरकारको राजीनामा माग गरिएको र प्रमुख प्रतिपक्षको हैसियतमा अन्य प्रतिपक्षी दलहरूसँग बैठक आह्वान गरी संयुक्त दबाब सिर्जना गर्ने प्रयास गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो।  भ्रष्टाचार र दमनविरुद्ध साझा मोर्चा निर्माण गरेर अगाडि बढ्नु समयको आवश्यकता भएको उहाँको भनाइ थियो। सत्ताधारी शक्तिमाथि टिप्पणी गर्दै प्रचण्डले “दुई तिहाइको अहंकार र दम्भ” ले राज्य संयन्त्रलाई दुरुपयोग गरी भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाउनुभयो। उहाँले २३ गतेको घटनालाई “अतिवादी प्रवृत्ति” को परिणामका रूपमा चित्रण गर्दै राज्यद्वारा गरिएको हत्या अस्वीकार्य भएको बताउनुभयो।  साथै २४ गते आन्दोलनमा घुसपैठ गरी सरकारी संरचना, प्रहरी कार्यालय तथा नेताका निवासमा गरिएको आगजनीलाई अर्को “विध्वंसकारी अतिवाद” को संज्ञा दिँदै त्यस्ता गतिविधिको पनि स्पष्ट विरोध गर्नुभयो। “हत्या गर्ने र विध्वंस गर्ने दुवै प्रवृत्ति राष्ट्रको स्वाधीनता र जनअधिकारका विरुद्ध छन्,” उहाँले भन्नुभयो, “हामी यी दुवै अतिवादविरुद्ध उभिएका छौँ र शान्तिपूर्ण, जनमुखी राजनीतिक विकल्प निर्माणका लागि प्रतिबद्ध छौँ।” प्रचण्डको भनाइले नेकपा युवाहरूको न्याय, सुशासन र लोकतान्त्रिक अधिकारको पक्षमा स्पष्ट रूपमा उभिएको सन्देश दिएको छ। पार्टीले संयम, एकता र जनदबाबमार्फत राजनीतिक निकास खोज्ने रणनीति अघि सारेको बताउँदै उहाँले आन्दोलनलाई सकारात्मक रूपान्तरणतर्फ लैजान सबै लोकतन्त्रप्रेमी शक्तिलाई सहकार्यका लागि आह्वान गर्नुभयो।

प्रचण्डद्वारा संकटकाबीच लोकतान्त्रिक निकासको आह्वान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक असहजतालाई लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिँदै निर्वाचन नै देशलाई निकास दिने एकमात्र वैधानिक र जिम्मेवार विकल्प भएको स्पष्ट पार्नुभएको छ।  बिहीबार पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उहाँले मुलुक गम्भीर मोडमा उभिएको उल्लेख गर्दै अब अन्योल, द्वन्द्व र अस्थिरताको चक्र तोड्ने माध्यम जनताको अभिमत मात्रै भएको बताउनुभयो। प्रचण्डले आगामी निर्वाचन सामान्य परिस्थितिको नियमित अभ्यास नभई विशिष्ट र जटिल अवस्थाको ऐतिहासिक राजनीतिक परीक्षा भएको उल्लेख गर्नुभयो। “यो निर्वाचन देशको भविष्यको दिशानिर्देश गर्ने निर्णायक मोड हो,” उहाँले भन्नुभयो, “यसलाई सफल बनाउनु सम्पूर्ण समाजको सामूहिक जिम्मेवारी हो।” जेनजी आन्दोलनप्रति समर्थन, दमनप्रति कठोर आपत्ति प्रचण्डले २३ गते जेनजी युवाहरूले गरेको प्रदर्शन भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने जस्ता जायज मागमा आधारित रहेको स्पष्ट पार्नुभयो। ती प्रदर्शनहरू प्रशासनको स्वीकृतिमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै उहाँले सुरुदेखि नै पार्टीले युवाहरूको आवाजलाई समर्थन गर्दै आएको बताउनुभयो। तर, सरकारद्वारा अपनाइएको बल प्रयोग र दमनको नीतिप्रति उहाँले तीव्र असन्तुष्टि व्यक्त गर्नुभयो। २३ गतेको सरकारी कारबाहीमा १९ जना युवाको ज्यान गएको स्रोतहरूबाट आएको जानकारी उल्लेख गर्दै उहाँले ती युवाहरूलाई पार्टीले शहीद घोषणा गरेको जानकारी दिनुभयो। “युवाहरूको रगतको मूल्य राज्यले चुकाउनैपर्छ,” उहाँले दृढ स्वरमा भन्नुभयो। घटनापछि तत्कालै सरकारको राजीनामा मागिएको र प्रमुख प्रतिपक्षको हैसियतमा प्रतिपक्षी दलहरूको बैठक बोलाएर संयुक्त दबाब सिर्जना गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो। ‘दुई तिहाइको दम्भ’ र दुई अतिवादविरुद्ध स्पष्ट अडान प्रचण्डले सत्ताधारी शक्तिमाथि “दुई तिहाइको अहंकार र दम्भ” ले भ्रष्टाचारलाई संरक्षण गरेको र असहमति दमन गरेको आरोप लगाउनुभयो। उहाँले २३ गतेको हत्या काण्डलाई “अतिवादी प्रवृत्ति” को रूपमा चित्रण गर्नुभयो भने २४ गते आन्दोलनमा घुसपैठ गरी सरकारी संरचना, प्रहरी कार्यालय र नेताका निवासमा आगजनी गरिनु अर्को “विध्वंसकारी अतिवाद” भएको टिप्पणी गर्नुभयो। “हत्या गर्ने र विध्वंस गर्ने दुवै प्रवृत्ति राष्ट्रको स्वाधीनता र जनअधिकारका विरुद्ध छन्,” उहाँले भन्नुभयो, “हामी यी दुवै अतिवादविरुद्ध उभिएका छौँ।” परिवर्तनकारी राष्ट्रवादी शक्तिको दाबी संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक लोकतन्त्रको रक्षा तथा विकास पार्टीको आधारभूत प्रतिबद्धता भएको उल्लेख गर्दै उहाँले पार्टीलाई राष्ट्रिय एकता र संवैधानिक उपलब्धिको रक्षाकर्ताका रूपमा प्रस्तुत गर्नुभयो। झन्डै दुई दर्जन वामपन्थी तथा देशभक्त शक्तिहरू एकीकृत भएर निर्माण भएको नेपाली कम्युनिस्ट पार्टी अहिलेको निर्वाचनमा परिवर्तनकारी राष्ट्रवादी शक्तिको रूपमा उभिएको उहाँको दाबी थियो। उहाँका अनुसार यस निर्वाचनमा हत्या गर्ने अतिवाद, विध्वंसकारी अतिवाद र परिवर्तनकारी राष्ट्रवादी शक्ति-यी तीन प्रवृत्तिहरूबीच मुख्य प्रतिस्पर्धा हुनेछ। आत्मसमीक्षा र सुशासनको प्रतिबद्धता प्रचण्डले पार्टीले आफ्ना कमजोरीहरूको निर्मम आत्मसमीक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “हामीले विगतका त्रुटिबाट पाठ सिकेर अगाडि बढ्नेछौँ,” उहाँले भन्नुभयो। सुशासन, सामाजिक न्याय र समृद्धि पार्टीको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै उहाँले कृषि आधुनिकीकरण, उद्योग प्रवर्द्धन, उत्पादन र उत्पादकत्व वृद्धि, पर्यटन विस्तार तथा ऊर्जा विकासमार्फत राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउने स्पष्ट योजना रहेको बताउनुभयो। भ्रष्टाचारको पूर्ण नियन्त्रण र सामाजिक विभेदको अन्त्यलाई प्राथमिक चुनावी एजेन्डा बनाइएको उहाँले दोहोर्‍याउनुभयो। गठबन्धनबिनै जनताको भरोसामा अन्य दलहरू अन्तरिम सरकार वा संसद पुनःस्थापनाको बहसमा अल्झिएका बेला आफ्नो पार्टीले सुरुदेखि निर्वाचनकै पक्षमा अडान लिएको उल्लेख गर्दै उहाँले जनतासँग प्रत्यक्ष जाने नीति नै सही भएको बताउनुभयो। उहाँले यसपटक कुनै पनि दलसँग समीकरण वा गठबन्धन नगरेको स्पष्ट पार्नुभयो। “हामी आफ्नै एजेन्डा, आफ्नै शक्ति र जनताको बलमा चुनाव लड्छौँ,” उहाँले भन्नुभयो। बागलुङमा एक सिटका लागि जनमोर्चासँग मात्र तालमेल भएको र अन्यत्र कुनै गठबन्धन नभएको जानकारी दिँदै सामाजिक सञ्जालमा फैलाइएका ‘महागठबन्धन’ सम्बन्धी चर्चालाई नियोजित भ्रम र फेक न्यूज भन्दै खारेज गर्नुभयो। संवैधानिक सुधार र प्रणाली परिमार्जनको संकेत प्रचण्डले निर्वाचनपछि संविधान संशोधनमार्फत शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आवश्यक परिमार्जन गर्ने स्पष्ट संकल्प व्यक्त गर्नुभयो। हालको प्रणालीले स्पष्ट बहुमत दिन कठिन भएको र ‘त्रिशंकु संसद’ बन्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै स्थिर सरकार र प्रभावकारी शासनका लागि सुधार अपरिहार्य भएको बताउनुभयो। जेनजी युवाहरूले उठाएका पहिचान, अधिकार र सहभागिताका मुद्दाहरूलाई संविधानमै सम्बोधन गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। परिणाम जे भए पनि स्वीकार निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि त्यसको जस्तोसुकै परिणाम आए पनि स्वीकार गर्ने पार्टीको अडान दोहोर्‍याउँदै उहाँले लोकतन्त्रमा जनताको फैसला अन्तिम हुने बताउनुभयो। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय-सेना र प्रहरी-को महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै कर्मचारीतन्त्र र न्यायालयले पूर्वाग्रहविहीन ढंगले राष्ट्रहितमा काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी बीच केन्द्रित हुने देखिन्छ। संकटलाई अवसरमा बदल्ने सन्देश प्रचण्डको सम्बोधनले वर्तमान संकटलाई लोकतान्त्रिक अभ्यासमार्फत अवसरमा रूपान्तरण गर्ने स्पष्ट राजनीतिक सन्देश दिएको छ। आत्मसमीक्षा, सुधार, संवैधानिक परिमार्जन र आर्थिक रूपान्तरणको प्रतिबद्धतासहित निर्वाचनमा जाने घोषणाले उहाँले आफ्नो पार्टीलाई स्थायित्व, सुशासन र राष्ट्रिय स्वाभिमानको वाहक शक्तिका रूपमा प्रस्तुत गर्नुभएको छ। देश असहज परिस्थितिमा उभिएको यस घडीमा उहाँको सन्देशले राजनीतिक ध्रुवीकरणभन्दा माथि उठेर जनताको मतमार्फत समाधान खोज्नुपर्ने आवश्यकता पुनः स्मरण गराएको छ। लोकतान्त्रिक मार्ग, राष्ट्रिय एकता र समृद्धिको लक्ष्य-यिनै तीन आधारमा अघि बढ्ने प्रतिबद्धतासहित प्रचण्डले राष्ट्रलाई भरोसाको नयाँ संकेत दिनुभएको छ।  

जेनजी आन्दाेलनकाे छानबिन प्रतिवेदन सार्वजनिक नहुनु गलतः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक  पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन पटक–पटक सारिँदै जानु उचित नभएको बताउनुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजकसमेत रहनुभएका प्रचण्डले बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै आयोगको कार्यप्रक्रियामा भएको ढिलाइले जनविश्वासमा नकारात्मक असर पर्ने बताउनुभयो । उहाँले प्रतिवेदन समयमै सार्वजनिक हुनुपर्ने धारणा राख्दै भन्नुभयो, “आयोगको प्रतिवेदन समयमा नै आउनुपर्थ्यो । एकपटक सारियो भने कामको चाप वा अन्य कारणले हुन सक्छ भन्ने बुझ्न सकिन्छ । दुईपटकसम्म पनि केही जटिलता देखिएको होला भन्न सकिन्छ । तर तीनपटक सारेर अझ चुनावपछि मात्रै ल्याउने भन्ने कुरा सही होइन ।” प्रचण्डले दोषी पहिचान गरी कारबाहीको प्रक्रिया अघि बढाउन ढिलासुस्ती गर्न नहुने बताउनुभयो । “दोषी ठहर गरेर कानुनी कारबाही अघि बढाउनुपर्थ्यो । ढिलासुस्ती गरेर समय सार्दै जानु र चुनावपछि मात्र गर्ने भन्नु उचित होइन,” उहाँले भन्नुभयो । उहाँले छानबिन आयोगहरू निष्पक्ष, प्रभावकारी र समयसीमाभित्र काम गर्नुपर्नेमा जोड दिँदै पारदर्शिता र जवाफदेहिताको मापदण्ड कमजोर हुन नहुने बताउनुभयो । संवेदनशील विषयमा सत्यतथ्य सार्वजनिक गर्न ढिलाइ हुँदा पीडित पक्षमा निराशा बढ्ने र राज्यप्रति अविश्वास पैदा हुने उहाँको भनाइ थियो । प्रचण्डले लोकतान्त्रिक अभ्यासमा छानबिन प्रक्रिया विश्वसनीय र परिणाममुखी हुनुपर्ने उल्लेख गर्दै जनताको चासो र सरोकारलाई केन्द्रमा राखेर काम गर्न सबै निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले न्याय र सुशासनको पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने स्पष्ट सन्देश दिनुभएको छ ।

मतदातासँग नेकपाकाे विशेष आह्वान: व्यवस्था र अवस्था  रूपान्तरण लागि ‘पाँचकुने तारामा’ मतदान

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ का सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय राजनीतिक दिशालाई स्पष्ट मार्गदर्शन गर्ने गरी विस्तृत राजनीतिक अपिल सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालद्वारा जारी उक्त अपिलमा मुलुकको स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण, सुशासन, आर्थिक–सामाजिक रूपान्तरण तथा वैज्ञानिक समाजवादको आधार निर्माणलाई प्रमुख एजेन्डाका रूपमा अघि सारिएको बताइएकाे छ। अपिलमा नेपाल इतिहासदेखि नै कुनै पनि विदेशी शक्तिको अधीनमा नरहेको र भविष्यमा पनि स्वाधीन राष्ट्रका रूपमा अघि बढ्ने स्पष्ट धारणा व्यक्त गरिएको छ । बाह्य हस्तक्षेपका गतिविधिहरूप्रति सचेत रहँदै राष्ट्रिय हितलाई सर्वोपरि राखेर परराष्ट्र नीति सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्याइएको छ । पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्र तथा पारस्परिक सम्मान र लाभका आधारमा सबै मित्र राष्ट्रसँग सम्बन्ध सुदृढ गर्ने नीति पार्टीले अघि सारेको छ । साथै नेपालसँग भएका असमान सन्धि–सम्झौताहरूको पुनरावलोकन तथा राष्ट्रिय हितविपरीत रहेका प्रावधानहरू खारेज गरी अतिक्रमित भूमि फिर्ता गर्ने दिशामा कूटनीतिक र कानुनी पहल गर्ने प्रतिबद्धता अपिलमा उल्लेख छ । राष्ट्रिय एकता, सुरक्षा र सार्वभौमसत्ताको संरक्षणलाई पार्टीले मूल प्राथमिकतामा राखेको छ । लोकतान्त्रिक प्रणालीको सुदृढीकरण र प्रणालीगत सुधार अपिलमा उल्लेख गरिएको छ कि संघीयता, समानुपातिक–समावेशी प्रतिनिधित्व र बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको उपलब्धि हो । यस प्रणालीविरुद्ध हुने कुनै पनि षड्यन्त्रलाई परास्त गर्दै यसलाई थप सुदृढ र स्थिर बनाउने नेकपाको अडान रहेको छ । निर्वाचन प्रणाली अत्यधिक खर्चिलो, जटिल र अस्थिर सरकार निर्माणतर्फ उन्मुख रहेको भन्दै पार्टीले यसलाई सरल, पारदर्शी र कम खर्चिलो बनाउने आवश्यकतामा जोड दिएको छ । स्थिर सरकार, प्रभावकारी नीति कार्यान्वयन र विकास निर्माणलाई गति दिन प्रणालीगत सुधार आवश्यक रहेको अपिलमा उल्लेख छ । संविधान जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको ऐतिहासिक दस्तावेज भएकाले यसलाई संरक्षण गर्दै आवश्यक परिमार्जन संविधानकै प्रक्रियाअनुसार गर्न सकिने धारणा पार्टीले राखेको छ । संविधानको पुनरावलोकन, शासकीय स्वरूपलगायतका विषयमा गम्भीर समीक्षा गरी समयानुकूल सुधार अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ । सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कठोर अभियान नेकपाले सुशासन र पारदर्शितालाई आधुनिक लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने घोषणा गरेको छ । सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने तथा अवैध रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता अपिलमा उल्लेख छ । कमिसनतन्त्र, ढिलासुस्ती, कालोबजारी, मिटरब्याज शोषण र वित्तीय क्षेत्रका विकृतिविरुद्ध कडा कानुनी तथा संरचनागत सुधार गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । राज्यका सबै अङ्गहरू शक्ति पृथकीकरणको सिद्धान्तअनुसार स्वायत्त र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा पार्टीले जोड दिएको छ । सङ्घीयताको मर्मअनुरूप स्थानीय तहसम्म प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने, जनताको घरदैलोमै प्रशासनिक सेवा पुर्‍याउने र विकास योजनामा जनसहभागिता अभिवृद्धि गर्ने लक्ष्य अपिलमा समेटिएको छ । सामाजिक न्याय, समानता र विभेदविरुद्ध अभियान समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक तथा भौगोलिक विभेद अन्त्य गर्न नेकपाले विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । जातीय छुवाछुत, छाउपडी, बोक्सी प्रथा र अन्य कुरीतिविरुद्ध कानुनी मात्र होइन सामाजिक जागरणमार्फत पनि परिवर्तन ल्याउने अठोट व्यक्त गरिएको छ । समान अवसर, सामाजिक सुरक्षा, महिला सशक्तीकरण र उत्पीडित समुदायको अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै समतामूलक समाज निर्माण गर्ने प्रतिबद्धता अपिलमा समेटिएको छ । आर्थिक रूपान्तरण र स्वाधीन अर्थतन्त्र निर्माण अपिलमा नेपालको प्रमुख आर्थिक समस्या उत्पादनको कमी, बेरोजगारी, व्यापार घाटा, वैदेशिक ऋण वृद्धि र परनिर्भर अर्थतन्त्र रहेको उल्लेख छ । यी समस्याको समाधानका लागि कृषि उत्पादन वृद्धि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग विकास, ऊर्जा उत्पादन विस्तार, पर्यटन प्रवर्द्धन र निर्यातमुखी रणनीति अवलम्बन गर्ने पार्टीको योजना छ । प्रगतिशील कर प्रणालीमार्फत राज्यकोष सुदृढ गर्ने, वित्तीय क्षेत्रमा संरचनात्मक सुधार गर्ने तथा लक्षित वर्ग केन्द्रित कार्यक्रम सञ्चालन गरी गरिबी न्यूनीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । युवा रोजगारी सिर्जना, सीप विकास तथा स्वदेशमै उत्पादन र स्वरोजगारलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाइने उल्लेख छ । वैज्ञानिक समाजवादको दीर्घकालीन लक्ष्य नेकपाले आफ्नो अन्तिम लक्ष्य नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहेको स्पष्ट पारेको छ । उत्पादनका साधनमाथि सामूहिक स्वामित्व, सबै नागरिकका लागि शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत आवश्यकता सुनिश्चित हुने प्रणाली निर्माण गर्ने उद्देश्य राखिएको छ । आर्थिक–सामाजिक रूपान्तरणका व्यापक महाअभियान सञ्चालन गर्दै समाजवादको आधार निर्माण गर्न पार्टी प्रतिबद्ध रहेको अपिलमा उल्लेख छ । विगतका कमी–कमजोरीप्रति आत्मालोचना गर्दै सुधारसहित अगाडि बढ्ने तथा “व्यवस्था हामीले बदल्यौँ, अब अवस्था पनि बदल्ने छौँ” भन्ने मूल नारालाई व्यवहारमा उतार्ने संकल्प गरिएको छ । मतदातासँग विशेष आह्वान अपिलको अन्त्यमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले आगामी निर्वाचनमा तारा चुनाव चिन्हमा मतदान गरी परिवर्तन र रूपान्तरणको अभियानलाई सशक्त बनाउन आम मतदातासँग हार्दिक अपिल गरेका छन् । अपिलकाे पुरा पाठ प्रतिनिधि सदस्य निवार्चन–२०८२ नेपाली कम्युनिष्ट पार्टीको अपिल आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,  यही २०८२ फागुन २१ मा प्रतिनिधि सदस्यको निर्वाचन हुन गइरहेको छ। यस अवसरमा हामी सर्वप्रथम यहाँहरू सबैमा हार्दिक अभिवादन गर्दछौँ। आज हामीले उपयोग गरिरहेका हकअधिकारहरू प्राप्त गर्नका निम्ति सङ्घर्ष गर्ने क्रममा आफ्नो जीवनको आहुति दिनुहुने ज्ञात–अज्ञात सम्पूर्ण आदरणीय शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। घाइते, अपाङ्ग र बेपत्ता योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ। मुलुकको लोकतान्त्रिक आन्दोलन एवं कम्युनिष्ट आन्दोलनका सबै अग्रज नेताहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ। हामी पहिले विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीको रूपमा क्रियाशील थियौँ। अहिले बाइस वटा कम्युनिष्ट तथा समाजवादी पार्टी र समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी बनाएका छौँ र तारा चिन्ह लिएर तपाईँहरूमाझ आएका छौँ। यहाँहरूसमक्ष हामी निम्न प्रतिबद्धताहरू जाहेर गर्दछौँ : ★ अहिले मुलुकमा जुन खालका बाह्य हस्तक्षेपकारी गतिविधि भएका छन्, त्यसबाट इतिहासमा कहिल्यै कुनै विदेशी शक्तिको अधीनमा नरहेको हाम्रो राष्ट्रको स्वाधीनता र स्वाभिमानमा आँच आउन सक्ने खतरा महसुस भएको छ। नेपाल कम्युनिष्ट पार्टी आफ्नो स्थापना कालदेखि नै नेपाल राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता सम्पन्नता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ। आज पनि हामी हाम्रो राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका निम्ति त्यही दृढताका साथ उभिने प्रतिबद्धता जाहेर गर्दछौँ। ★ अहिले मुलुकमा संघीयता र समानुपातिक एवं समावेशी सहभागिताजस्ता मौलिक विशेषतासहितको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली कायम छ। यो प्रणाली नेपाली जनताले लामो बलिदानी सङ्घर्ष गरेर स्थापना गरेको प्रणाली हो। अहिले यसका विरुद्ध अनेक प्रकारका षड्यन्त्र भइरहेका छन्। हामी यस प्रणालीविरुद्धका सबै षड्यन्त्रहरूलाई परास्त गर्दै यसलाई सुदृढ र सुस्थिर बनाउँदै समाजवादी लोकतन्त्रको रूपमा विकास गर्न चाहन्छौँ। ★ लोकतन्त्रको सुदृढीकरण र विकासको सवाल स्थापित प्रणालीको स्थिरताको सवाल पनि हो। मुलुकको विकासका निम्ति लोकतान्त्रिक प्रणालीको स्थिरता जरुरी छ। अहिले हाम्रो स्थापित प्रणालीका विरुद्ध गतिविधि गर्दै मुलुकमा अस्थिरता सिर्जना गर्ने दुष्प्रयास भइरहेको छ। हामी त्यस प्रकारको दुष्प्रयासलाई परास्त गर्दै मुलुकमा स्थिरता कायम गरी लोकतन्त्रको सुदृढीकरण र विकासको यात्रामा अगाडि बढ्न दृढप्रतिज्ञ छौँ। ★ हाम्रो संविधान जननिर्वाचित संविधान सभाबाट निर्माण गरिएको संसारका उत्कृष्ट संविधानमध्ये एक हो। यसमा नेपाली जनताले लामो समयसम्म अनेक प्रकारका बलिदानपूर्ण सङ्घर्ष सञ्चालन गरेर प्राप्त गरेका अधिकारहरू दस्तावेजीकरण गरिएको छ। त्यसैले यो जनताले सङ्घर्ष गरेर प्राप्त गरेका अधिकारहरूको दस्तावेज हो। यसलाई खारेज गर्ने अधिकार कसैलाई पनि छैन। तथापि यो अपरिवर्तनीय दस्तावेज भने होइन। यसको कार्यान्वयन गर्दा देखापरेका समस्या समाधान गर्नका निम्ति यसमा आवश्यक परिमार्जन गर्न सकिन्छ, गर्नुपर्दछ। तर त्यसको प्रक्रिया स्वयं संविधानले निर्देश गरेबमोजिम हुनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता छ। संविधान कार्यान्वयनको गम्भीर समीक्षा एवं पुनरावलोकन गरेर त्यसबाट निस्किएका निष्कर्षका आधारमा शासकीय स्वरूपलगायत विभिन्न पक्षमा परिमार्जन गर्नुपर्दछ भन्ने हाम्रो दृढ अठोट रहेको छ। ★ अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो, जटिल र कुनै एक दलले बहुमत ल्याउन नसक्ने खालको छ। कुनै पनि दलको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ। हामी यस निर्वाचन प्रणालीलाई परिवर्तन गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ। त्यसमा हामी प्रतिबद्ध छौँ। ★ सुशासन र पारदर्शिता आधुनिक लोकतन्त्रका अपरिहार्य पक्ष हुन्। अहिले जनताले सुशासन र पारदर्शिता अनुभूत गरेका छैनन्। भ्रष्टाचार, कमिसनतन्त्र, अपारदर्शिता र ढिलासुस्ती क्यान्सरजस्तै फैलिरहेको छ। सङ्घीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान भएको छैन। हामी यस स्थितिमा परिवर्तन गर्नैपर्ने पक्षमा छौँ। भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अङ्गहरूको सञ्चालन र सङ्घीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने हाम्रो दृढप्रतिज्ञा छ । ★ एक उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरेर आजसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्दछ र भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्दछ भन्नेमा हामी प्रतिबद्ध छौँ। ★ हाम्रो समाजमा अहिले पनि वर्गीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विभेद, असमानता र उत्पीडन कायम छ। जातीय छुवाछुतजस्तो मानव मर्यादाको कलङ्कसमेत समाजमा अझै विद्यमान छ। छाउपडी र डाइनी–बोक्सीजस्ता कुरीति र अन्धविश्वास पनि विद्यमान छन्। यी सब सामन्ती व्यवस्थाका अवशेष हुन्। हामी सबै प्रकारको विभेदकारी व्यवहार, असमानता, उत्पीडन, कुरीति र अन्धविश्वासको अन्त्य गर्न चाहन्छौँ। त्यसका लागि प्रभावकारी कदम चाल्न प्रतिबद्ध छौँ। ★ उत्पादनको कमी र बेरोजगारी ठूलो समस्याका रूपमा रहेका छन्। यो समस्याको समाधान गर्न कृषि उत्पादनमा वृद्धि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास, औद्योगिक उत्पादनमा वृद्धि, ऊर्जा उत्पादनमा वृद्धि, व्यापार प्रवर्द्धन तथा पर्यटन उद्योगको विकास र पर्यटन आगमनमा वृद्धि गर्न विशेष योजना बनाएर काम गर्नुपर्ने पक्षमा छौँ। त्यसो गरेर नागरिकका लागि रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ, राष्ट्रिय आय वृद्धि गर्न सकिनेछ, खाद्यान्नमा आत्मनिर्भर हुन सकिनेछ र व्यापार घाटा कम गर्न सकिनेछ। ★ आयातआधारित राजस्व, निरन्तर बढ्दो व्यापार घाटा, चर्को बेरोजगारी, जनशक्तिको विदेश पलायन, वैदेशिक ऋणको निरन्तर वृद्धि, पुँजीगत खर्च कम हुने समस्या, महँगीको अचाक्ली वृद्धि, कालोबजारी, उत्पादनका साधनहरूमा दलाल पूँजीपतिहरूको नियन्त्रण, मिटरब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृति, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या हुन्। हामीले जबसम्म हाम्रो आफ्नै स्वाधीन अर्थतन्त्र निर्माण गर्न सक्दैनौँ, तबसम्म अर्थतन्त्रका उपर्युक्त समस्याबाट मुक्त हुन सकिँदैन र हाम्रो परनिर्भरता कायम रहन्छ। कृषि, औद्योगिक, पर्यटन, ऊर्जालगायत क्षेत्रमा उत्पादन वृद्धि गरेर परनिर्भरता कम गर्दै जानु र स्वाधीन अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो। यो कार्यभार वहन गर्नका निम्ति हामी दृढतापूर्वक अगाडि बढ्न प्रतिबद्ध छौँ। राज्यकोष बलियो बनाउन प्रगतिशील कर लगाइनेछ। वित्तीय क्षेत्रमा नीतिगत र संरचनागत सुधार गरिनेछ। गरिबीको अन्त्य गर्न लक्षित वर्ग र समुदायकेन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ। ★ प्राकृतिक सम्पदा र वातावरणको संरक्षण गर्दै दिगो विकासका लागि प्राकृतिक स्रोतको सदुपयोग गरिनेछ। विकासका योजना निर्माण गर्दा विपद्जन्य जोखिम र त्यसको व्यवस्थापनमा ध्यान दिने नीति अवलम्बन गरिनेछ। ★ हाम्रो लक्ष्य नेपाली विशेषताको वैज्ञानिक समाजवाद हो। वैज्ञानिक समाजवाद भनेको सबै जनताका निम्ति खाना, छाना र नाना तथा शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराइएको, उत्पादनका साधनमाथि सामूहिक स्वामित्व भएको र सामाजिक न्याय एवं समानतासहितको समाज व्यवस्था हो। वर्तमान नेपाली समाजमा आर्थिक–सामाजिक रूपान्तरणका व्यापक अभियान सञ्चालन नगरी त्यो अवस्था निर्माण गर्न सकिँदैन। त्यसैले हामी वर्तमान नेपाली समाजमा व्यापक रूपमा आर्थिक–सामाजिक रूपान्तरणका अभियान सञ्चालन गरेर समाजवादको आधार निर्माण गर्नुपर्दछ भन्ने पक्षमा छौँ। ★ देशमा भएको राजनीतिक परिवर्तनअनुरूप आर्थिक–सामाजिक रूपान्तरण हुन नसकेको हुँदा व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएन भन्ने भाष्य निर्माण हुन गयो। मुलुकमा विकास हुँदै नभएको त होइन, तर जति भयो त्यो पर्याप्त भएन। त्यसैले यो भाष्य बन्न गयो। यसलाई बदल्नुपर्छ। यसलाई बदल्न आर्थिक–सामाजिक रूपान्तरणका महाअभियान सञ्चालन गर्नु जरुरी छ। त्यो हामी गर्नेछौँ। मुलुकको आर्थिक–सामाजिक रूपान्तरण गरेर समाजवादको आधार निर्माण गर्नेछौँ। ★ हामी हाम्रो राष्ट्रिय हितलाई सर्वोपरि राखेर परराष्ट्र सम्बन्ध सञ्चालन गर्नेछौँ। हामी राष्ट्रहरूबीच समानता, अहस्तक्षेप, पारस्परिक लाभ र सम्मानलगायत पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनी मान्यताका आधारमा हाम्रा छिमेकीलगायत सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौँ र अरूले पनि हामीसँग तदनुरूपकै सम्बन्ध राखून् भन्ने चाहन्छौँ। हाम्रो परराष्ट्र नीति यही मान्यतामा आधारित हुनेछ। हामी यही नीतिअनुसार नेपालसँग भएका असमान सन्धि–सम्झौताहरू खारेज गर्न र नेपालको अतिक्रमित भूमि फिर्ता गर्न चाहन्छौँ। हामी राष्ट्रिय एकता र सुरक्षाको प्रवर्द्धन गर्दै मानवता र विश्व शान्तिको पक्षमा उभिनेछौँ। ★ हामीले विगतमा अनेक प्रकारका क्रान्तिकारी सङ्घर्ष सञ्चालन गरी मुलुकमा ठूलाठूला राजनीतिक परिवर्तन गरेका थियौँ। त्यसैले भन्न सक्छौँ कि व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्नेछौँ। अरूले गफ गर्ने हुन्, हामी काम गर्छौँ। जसरी व्यवस्था बदल्यौँ, त्यसैगरी अवस्था पनि बदल्नेछौँ। यो हाम्रो दृढ प्रतिज्ञा हो। यसमा हामी लागिपर्नेछौँ। विगतमा हाम्रा पनि कतिपय कमी–कमजोरी भएका होलान्। त्यसमा हामी आत्मालोचित छौँ र कमी–कमजोरीलाई सच्याएर अघि बढ्न प्रतिबद्ध छौँ। यहाँहरूसँग हाम्रो हार्दिक अपिल छ कि यस पटक तारा चुनाव चिन्हमा मतदान गरी हामीलाई व्यवस्था बदलेझैँ देशको अवस्था पनि बदल्ने अवसर प्रदान गर्नुहोस्। धन्यवाद। ............................ पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक  ............................ माधव कुमार नेपाल  सहसंयोजक