सोनम ल्होसार मनाउन ३ दिन सार्वजनिक विदा
काभ्रेपलाञ्चोक, पुष १६ । तामाङ समुदायको सांस्कृतिक पर्व सोनम ल्होसारका लागि काभ्रेका तेमाल र रोशी गाउँपालिकाले तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तामाङ जातिको बाहुल्यता रहेको सो गाउँपालिकाले आगामी माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले जानकारी दिए । उनले भने, “ल्होसारलाई उत्सवका रुपमा मनाउन गाउँपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिएका हौँ ।”
उनका अनुसार रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ । अध्यक्ष लामाले संविधानले स्थानीय सरकारलाई दिएको अधिकारको आधारमा ल्होसार पर्वमा सार्वजनिक विदा दिएको बताए । नेपाल सरकारले यस वर्षदेखि विभिन्न ल्होसार पर्वको बिदा कटौती गरेको थियो ।
तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले यो गाउँपालिकामा ८३ प्रतिशत तामाङ समुदायको बसोबास रहेको र तामाङ समुदायले सोनम ल्होसारलाई आफ्नो मुख्य सांस्कृतिक पर्वको रुपमा मनाउने भएकाले उक्त दिन बिदा दिइएको जानकारी दिए । रासस
राजधानीमा ‘गालिब उत्सव’ सम्पन्न
काठमाडौँ, पुस १४ । उर्दू एकेडेमी नेपालले उर्दूका सर्वकालिक महान कवि मिर्जा गलिबको २३९ औं जन्मजयन्तीको अवसर पारेर मुशायरा एवं गजल गायनको कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार राजधानीको नयाँ बानेश्वरस्थित कुंज थिएटरमा आयोजित उक्त कार्यक्रमको नाम ‘जश्न-ए-गालिब’ अर्थात गालिबको उत्सव राखिएको थियो । दुई चरणमा सम्पन्न उक्त उत्सवको पहिलो चरणमा आयोजित मुशायराको अध्यक्षता उर्दू एकेडेमी नेपालका अध्यक्ष इम्तियाज वफाले गरेका थिए । कार्यक्रमको संचालन प्रसिद्ध उर्दू शायर साकिब हारूनीले गरेका थिए । कार्यक्रममा चेतन कार्की, इम्तियाज वफा, साकिब हारूनी, खालिद मोहसिन, उद्योगपति वसन्त चौधरी, डा सनतकुमार वस्ती, शीतल कादम्बिनी, करुण थापा, जमशेद अन्सारी, स्वेता दिप्ती, कलीम अन्जुम, इजहार मिकरानी, साजिदा खान सकिना खान लगायतले आफ्ना रचना पढेका थिए । त्यस्तै उत्सवको दोस्रो चरणमा विभिन्न गायकहरूले मिर्जा गालिबका रचनाहरू आआफ्नो स्वरमा गाएर सुनाएका थिए । डा सनतकुमार वस्तीले संचालन गरेको उक्त कार्यक्रममा सङ्गीता प्रधान राणा, शैलेश सिंह, सुशील श्रेष्ठ, मनोहर थपलिया र किरण श्रेष्ठले गालिबका गजल गाएर सुनाएका थिए । कार्यक्रममा संगीतकार दीपक जंगम, न्ह्यु बज्राचार्य, साहित्यकार एवं सिनेनिर्माता प्रकाश सायमी, अभिनेत्री गौरी मल्ल लगायत नेपाली साहित्य, संगीत र कला क्षेत्रका थुप्रै हस्तीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहआयोजकका रूपमा महफिल-ए-काव्य उपासना, शुभारम्भ द म्युजिकल जर्नी र लेखन कुंज रहेका थिए ।
गजलकृति ‘निर्बन्ध आकाश’माथि अन्तरक्रिया सम्पन्न
झापा, पुस १४ । गजलकार भोजराज घिमिरेको छन्द/बहरबद्ध गजलकृति “निर्बन्ध आकाश”माथि अन्तर्क्रिया सम्पन्न भएको छ । झापाको दमकमा आयोजित अन्तर्क्रियामा युवागजलकार सुरेश सुवेदीले घिमिरेका गजलमा लय पक्ष अत्यन्त सशक्त भएको तर शिल्प पक्षमा परिष्कार गर्नुपर्ने धारणा राखे । उक्त कृति प्रयोगका रूपमा पनि लेखिएको बताउँदै सुवेदीले अवकाशपछिको जीवनमा छन्द/बहर जस्तो जटिल विषयमा अध्ययन गरेर सिर्जना गर्नु साँच्चै अनौठो भएको धारणा राखे। अर्का टिप्पणीकर्ता कवि, समालोचक शिव प्रणतले घिमिरेले आफूलाई गजलमै समर्पित गरिरहेका र गजलप्रतिको उनको लगाव लोभलाग्दो रहेको बताए। गजल आफैँमा जटिल विधा भएको र त्यसमाथि छन्द/बहरमा लेख्नु कठिन हुने भन्दै प्रणतले यस्तो कार्य साधनाबाट नडराउने मान्छेले मात्र गर्नसक्ने धारणा राखे। कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मंचका अध्यक्ष कवि/समालोचक घनेन्द्र ओझाले उक्त कृति पुराना सर्जकका लागि पाठ र नयाँ सर्जकलाई चुनौती भएको बताए। साधना र अध्ययन स्रष्टाका लागि अनिवार्य र अपरिहार्य कुरा रहेका भन्दै ओझाले उक्त कृतिका लागि घिमिरेलाई बधाई पनि दिए। प्रमुख अतिथि डा. भीम खतिवडाले घिमिरेले लामो प्रशासनिक जीवन, सामाजिक तथा पारिवारिक जीवनमा भोगेका, देखेका अनुभव र अनुभूतिलाई काव्यात्मक रूपले आफ्ना गजलमा उतारेका बताए। खतिवडाले आगामी दिनमा अझ सशक्त सिर्जना र कृतिको घिमिरेबाट अपेक्षा गरिएको पनि बताए। दमक क्याम्पस साहित्यिक विद्यार्थी मंच आयोजक रहेको घनश्याम पथिकले स्योजन गरेको उक्त कार्यक्रममा रोहित पराई, सुमन राई, रश्मि असफललगायतले गजलवाचन गरेका थिए।
एकै हप्तामा दुई दिन सार्वजनिक विदा
काठमाडौं, पुष १३ । यो (पुष) महिनामा दुई दिन सार्वजनिक विदा परेको छ । आइतबार १५ गते तमु ल्होसार र २२ गते तोल ल्होसार भएका कारण यो महिना दुई दिन विदा परेको हो । नेपालको लोकप्रिय एप्स ‘हाम्रो पात्रो’ का अनुसार उक्त मितिमा सार्वजनिक विदा परेको छ । यद्यपि गृहमन्त्रालयले आधिकारीरुपमा सूचना प्रकाशित गरेको छैन ।
अब बत्ती काटिनुअघि मोबाइलमा नोटिफिकेसन
काठमाडौं, पुष १३ । हिजोआज लोडसेडिङ खासै हुँदैन । तर, एक्कासी लाइन जाने समस्या भने यदाकदा छ । बिना जानकारी विद्युत् आपूर्ति बन्दा हुँदा आइपर्ने समस्यालाई विद्युत् प्राधिकरणले मोबाइल एप्लिकेसनको सहायताले हटाउने भएको छ । प्राधिकरणले अब विद्युत् काटिँदैछ भने त्यससम्बन्धी पूर्व जानकारी मोबाइलमा पठाउने व्यवस्था गरेको छ । प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धिलाई प्रयोग गरेर उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । यो समाचार कारोबार दैनिकमा छ ।
संघीय संसदको हिउँदे अधिवेशन जारी (लाइभ)
काठमाडौँ. पुस १३ । संघीय संसदको हिउँदे अधिवेशनमा आजको छलफल जारी छ । हेर्नुस लाइभ
बेलौरीमा तीन दिने माघी मेला आयोजना हुने
कञ्चनपुर, पुस १३ । ञ्चनपुरको बेलौरी नगरपालिकामा थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले तीन दिने माघी मेलाको आयोजना हुने भएको छ । थारु कल्याणकारणी सभा बेलौरी नगर समितिको आयोजना तथा बेलौरी नगरपालिकाको सह आयोजनामा पुस २७ गतेदेखि २९ गतेसम्म बेलौरीको खुला मञ्चमा ‘थारु एकता हमार शान, शिक्षा भाषा, संस्कृति पौरहैती लैजिना हमर अभियान’ भन्ने मूल नाराका साथ प्रथम बेलौरी माघी मेला २०७५ आयोजना हुने भएको हो । मेलाको पहिलो दिन रक्तदान कार्यक्रम र थारु जातिको परिकार रहनसहनका साथै वेषभूषासम्बन्धी १५ वटा सांस्कृतिक कक्ष राखिने प्रचारप्रसार समितिका संयोजक कृष्ण गुम्बा चौधरीले जानकारी दिए । थारु जातिको परम्परागत कला संस्कृत झल्किने झाँकी, मघौटा नाच, मुङ्हरवा नाच, झुम्रा नाच, थारु नृत्य, थारु र गैर थारु राष्ट्रिय कलाकारको प्रस्तुति रहने प्रचारप्रसार समितिका संयोजक चौधरीले बताए । उनका अनुसार मेला सम्पन्न गर्नका लागि रु पाँच लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको छ । मेला १० हजारभन्दा बढीले अवलोकन गर्ने बताइएको छ । रासस
मोटरसाइकल सर्भिसिङ गराउन गएका वडा अध्यक्ष ११ दिनदेखि सम्पर्क विहीन
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) ११ दिनदेखि सम्पर्कविहीन रहेका छन । पुस २ गते मालारानी २ डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाईकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्क विहिन भएका हुन । गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन नसकेको र खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए । अध्यक्ष भुसालको खोजी गरिदिन उनका दाजु जीवलाल भुसालले पत्रकार समक्ष पनि आग्रह गरेका छन् । अध्यक्ष भुसालले चलाउने गरेको मोटरसाइकल सन्धिखर्क ग्यारेजमा बनाउन दिएर त्यसतर्फ लागेका र मोबाइलसमेत बसमा खसालेकोले मोबाइल बसचालक मार्फत घरमा पठाइएको जनाइएको छ । वडा सचिव गंगाराम चौधरीसंग मंसिर २९ गते फोनमा सामान्य भनाभन भएको थियो । सचिव चौधरीसंग प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र प्रहरी नायब उपरीक्षक नवराज मल्लले सोधपुछ गरेको बताइएको छ । वडा अध्यक्ष भुसालको खोजीका निम्ति सम्पुर्ण संयत्र प्रयोग गरिएको र अनुसन्धान समेत भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए । इमेजखबर
विभिन्न आरोपमा ४ जना पक्राउ
मङ्गलबारे, पुस १२ । इलामको सन्दकपुर गाउँपालिकाकी एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । गत शनिबार घरमै गई जबर्जस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्दकपुर गाउँपालिका–४ का ३० वर्षीय सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४ बुधबारे निवासी २७ वर्षीय उत्तम श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूमाथि अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । यसैगरी जिल्ला अस्पताल इलाममा कार्यरत कर्मचारीहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले माईजोगमाई गापा–४ की सामना लिम्बू र इलाम नगरपालिका–९ का २२ वर्षीय राजन राईलाई पक्राउ गरेको छ । ड्यूटीमा रहेका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले उनीहरूलाई राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान शुरू गरिएको उपरीक्षक श्रेष्ठले बताए । प्रहरीले अस्पतालका कर्मचारीको नाम गोप्य राखेको छ । रासस
दाइजोविरुद्ध मुस्लिम महिलाहरूको प्रदर्शन
विराटनगनर, पुस ११ । बिराटनगरका मुस्लिम महिलाहरुले बुधबार दाइजोविरुद्ध ऱ्याली निकालेका छन् । इस्लामी सङ्घ नेपालको आयोजनामा ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’ भन्ने नारासहित उनीहरूले ऱ्याली निकालेका हुन् । इस्लामी सङ्घ नेपालले दाइजो विरुद्धको १० दिने देशव्यापी अभियान संचालन गरिरहेको छ । उक्त ऱ्याली नगरका मुख्य मुख्य भागको परिक्रमापश्चात् जिल्ला प्रशासन कार्यालयअगाडि आएर कोणसभामा परिणत भएको थियो । मुस्लिम समुदायका महिला तथा युवायुवती सहभागी रहेको ऱ्यालीमा सहभागीले ‘छोरीलाई दाइजो होइन शिक्षा देऊ’ ‘छोरीलाई पैतृक सम्पत्तिमा अंश देऊ’लगायत महिला अधिकारका पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए । संस्थाका प्रदेश अध्यक्ष मौलाना जुल्फिकार अलीले छोरीलाई दाइजो सट्टा शिक्षा दिई योग्य बनाउनुपर्नेमा जोड दिँदै दाइजोका कारण महिलालाई यातना दिनु मानव सभ्यता विपरीत कार्य रहेको बताए । इस्लामी सङ्घको देशव्यापीरुपमा दाइजोविरुद्ध अभियानअन्तर्गत विराटनगरमा जनचेतनामूलक ऱ्याली निकालिएको समितिका सदस्य मोहम्मद अफजल हुसैन गुल्जारले जानकारी दिए । रासस
सरकारी वकिल कार्यालयमा मुद्दाको चाप
काठमाडौँ, पुस ११ । ‘वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको नेपालका सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन ३० बँुदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । यही पुस ८, ९ र १० गते सम्पन्न भएको दोस्रो राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रमा नेपालको संविधानमा व्यवस्था गरिएकोबाहेक सबै प्रकारका सरकारवादी मुद्दाको अभियोजन सरकारी वकिलबाट गर्ने गरी संविधान र संहितामा गरिएका व्यवस्थासँग मेल खाने गरी संशोधन गर्न सरकारसँग माग गरिएको छ । पाँच वर्षमा सरकारी वकिलले प्रतिनिधित्व र प्रतिरक्षा गर्नुपर्ने मुद्दाको सङ्ख्या ४० प्रतिशतले वृद्धि भएको हुँदा सरकारकी वकिलको दरबन्दीमा पुनरावलोकन गर्नुपर्ने माग घोषणापत्रमा उल्लेख छ । सरकारी वकिलको दरबन्दी ४५२ रहेकोमा हाल ४०० कार्यरत छन् । मुलुकी अपराध संहितामा नयाँ कानून तथा नयाँ कार्यविधिले सरकारी वकिलको कार्यक्षेत्रलाई निक्कै विस्तार गरेको र गम्भीर प्रकृतिका मुद्दाको सङ्ख्या पनि क्रमशः बढिरहेकोले सोहीअनुरुप जनशक्ति र पूर्वाधार तयार गर्नुपर्ने आवश्यकता घोषणापत्रले उल्लेख गरेको छ । मुलुकी अपराध संहिता अपराध संहिताले बहुक्षेत्रीय क्षेत्राधिकारको व्यवस्था गरी क्षेत्राधिकार विस्तार गरेको सन्दर्भमा सोको प्रभावकारी कार्यान्वयनका लागि सपुर्दगी र पारस्परिक कानूनी सहायता प्राप्त गर्न सकिने गरी आवश्यक प्रबन्ध गर्न सरकारसँग प्रक्रिया अगाडि बढाउन पनि घोषणापत्रमा आग्रह गरिएको छ । फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन अपराधको अनुसन्धान र अभियोजन वस्तुगत र वैज्ञानिक प्रमाणमा आधारित गर्न र प्रमाणको वैज्ञानिक परीक्षण गर्न अनुसन्धानकर्ताको पहुँचमा प्रयोगशालाको विस्तार र आधुनिकीकरण गरी विश्वसनीयता अभिवृद्धि गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ । फौजदारी न्याय प्रशासनका लागि अनुसन्धान र अभियोजनबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुँदा अनुसन्धान अधिकृतको स्वायत्तता र विशेषज्ञताको सम्मान गर्दै अभियोजनकर्ताबाट अनुुसन्धान प्रक्रियाको वैधतामा प्रश्न उठ्न नसक्नेतर्फ विशेष ध्यान दिुनपर्ने घोषणापत्रमा उल्लेख छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनले गरेको व्यवस्था मुताविक प्रोवेसन, प्यारोल, सामुदायिक सेवा, खुला कारागार तथा पीडित राहत कोषजस्ता नवीन मान्यतालाई प्राथमिकतापूर्वक कार्यान्वयनमा आउने अपेक्षासमेत सम्मेलनले राखेको छ । पछिल्लो समयमा विवादको विषयसँग सम्बद्ध नभएका सरकारी निकायलाई समेत विपक्षी बनाउने प्रचलन बढ्दै गएको हुँदा कुनै निर्णय वा काम कारवाही नगरिकनै मुद्दाको प्रक्रियामा सहभागी हुनुपर्ने अवस्थाले न्यायालय एवं अन्य सरोकारवाला निकायको कार्यबोझमा अनावश्यक विस्तार गरेको छ । रासस
पाकिस्तानी सेनाको आक्रमणमा परी २ गोर्खा सैनिकको मृत्यु
काठमाडौं, पुस ११ । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाको सुवेदार पदमा कार्यरत दुई नेपालीहरु मारिएका छन् । उनीहरू भारतीय राज्य जम्मु र कश्मीरमा कार्यरत थिए । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा-९, तुलसीपुरका सुवेदारद्वय गमरबहादुर थापा र रमन थापाको भारतको कुपवाडा जिल्लामा परेको आक्रमणमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ । शुक्रबार पाकिस्तानको स्नाइपर आक्रमणमा परेका थापाद्वयको निधन श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने क्रममा भएको हो । ४२ वर्षीय गमरबहादुर सन् १९९३ मा २ र ८ गोर्खा राइफल्समा भर्ती भएका थिए । भारतीय सञ्चार माध्यमले पाकिस्तानले युद्धविराम भंग गर्दै हमला गरेको जनाएका छन् ।
हिँसा नियन्त्रण गर्न अचम्मको जुक्ति ; जनताका हतियार किन्दै प्रहरी !
वासिङटन, पुस ११ । हिंसात्मक घटनाहरू बढ्दै गएपछि संयुक्तराज्य अमेरिकाको बाल्टिमोर प्रहरीले अचम्मको जुक्ति निकालेको छ । प्रहरीले आमजनतासँग रहेका रकेट लन्चर समेतका झण्डै दुई हजार थान हातहतियार खरिद गरेको हो । गत साता सञ्चालित तीन दिने अभियानका क्रममा गैरकानुनी समेतका हातहतियार खरिद गरिएको प्रहरीले जनाएको छ । यस सहरमा लगातार चार वर्षदेखि बर्सेनि ३०० जनाभन्दा बढी व्यक्तिको एकअर्का विरुद्ध आक्रमणबाट मृत्यु भएको छ । एकजना प्रहरी प्रवक्ताले प्रहरी अधिकृतहरुले एक हजार ८६० वटा हातहतियार सङ्कलन गरेको जानकारी दिए । नगरका मेयरले ट्वीट गरी एउटा रकेट लन्चर समेत बरामद भएको जनाएका छन् । अधिकारीहरूले ठूलो म्यागजिन लाग्ने हतियारको २५ डलर, ह्यान्डगन र राइफलको १०० डलर, अर्ध स्वचालित राइफलको २०० डलर र स्वचालित राइफलको ५०० डलर दिने घोषणा गरेका थिए । बाल्टिमोर नगर परिषदका अनुसार यो अभियानका लागि दुई लाख ५० हजार डलर बजेट व्यवस्था गरिएको थियो । तर स्थानीय “बाल्टिमोर सन” अखबारले उक्त कार्यक्रम समय, रकम र स्रोतको बर्बादी भनी टिप्पणी गरेको छ । प्रहरी प्रमुख गेरी गटलले नगर निवासीसँग बन्दुक नै नभएको अवस्थामा बन्दुकको प्रयोगबाट हुने हत्या र हिंसात्मक घटनाहरुमा स्वतः कमी आउने बताए । स्वास्थ्य अधिकारीहरुका अनुसार, संयुक्तराज्य अमेरिकामा सन् २०१७ मा हातहतियारको प्रयोगबाट झण्डै ४० हजार मानिसको मृत्यु भएको थियो । अमेरिकी संविधानको दोस्रो संशोधनले मानिसलाई हतियार राख्न पाउने अधिकार दिएको छ, र अमेरिकी एक तिहाई घरपरिवारमा हातहतियार रहेको छ । पछिल्लो पल्ट विद्यालयलाई समेत बन्दूकधारीहरूले सजिलै निसाना बनाउन थालेपछि बन्दूक राख्न पाउने या नपाउने भन्ने बहस फेरी सुरु भएको छ । अमेरिकामा बन्दुक अधिकार पक्षधर राष्ट्रिय राइफल संघले हतियार राख्न पाउनु जनताको संविधान प्रदत्त अधिकार भएकाले यस माथि कुनै पनि प्रकारको रोक लाग्न नहुने जिकिर गर्दै आएको छ । स्वयम् राष्ट्रपति ट्रम्प हतियार राख्न पाउनुपर्ने विचारका समर्थक हुन् । एजेन्सी
भूकम्पले क्षतिग्रस्त ५२ विद्यालय भवन निर्माण शुरु
दमौली, पुस ११ । भूकम्पले क्षति पुगेको तनहुँ जिल्लाका ५२ विद्यालयको भवन निर्माण शुरु भएको छ । २०७२ साल वैशाख महीनामा आएको भूकम्पबाट क्षति पुगेको जिल्लाको विभिन्न ठाउँका ५२ विद्यालयको नयाँ भवन निर्माण शुरु भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले जिल्लाका ५२ क्षतिग्रस्त विद्यालय भवन निर्माणका लागि रु २३ करोड चार हजार ४९६ बजेट विनियोजन गरेको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका प्रमुख सूर्यप्रसाद रानाभाटले पुनःनिर्माणका लागि छनोट भएका विद्यालयलाई भवन निर्माणका लागि केही प्रतिशत रकम पेश्कीस्वरुप दिइसकिएको जानकारी दिए । उनले पुनःनिर्माण हुने सबै विद्यालयको ले–आउट कार्य सम्पन्न भई प्रायः विद्यालयमा जगको काम भइरहेको जानकारी दिए । चालू आवमा व्यास नगरपालिकाको आठ, भानु नगरपालिकाको १२, शुक्लागण्डकी नगरपालिकाको छ, भिमाद नगरपालिकाको छ, बन्दीपुर गाउँपालिकाको तीन, रिसिङ गाउँपालिकाको चार, आँबुखैरेनी गाउँपालिकाको तीन, देवघाट गाउँपालिकाको चार, घिरिङ गाउँपालिकाको पाँच र म्याग्दे गाउँपालिकाको एक विद्यालय भवन पुनःनिर्माण हुने कार्यान्वयन एकाइ तनहुँले जनाएको छ । चालू आवमा प्राप्त कार्यक्रम अनुसार समयमा नै पुनःनिर्माण प्रस्ताव माग गरी स्थलगत निरीक्षणपश्चात् भूकम्पको क्षति र विद्यार्थी सङ्ख्याको आधारमा विद्यालय पुनःनिर्माण गर्न छनोट गरिएको आयोजनाका इञ्जिनीयर अनिल श्रेष्ठले जानकारी दिए । उनका अनुसार विद्यालयको पुनःनिर्माण विद्यालय व्यवस्थापन समितिले नै गर्नुपर्ने कार्यविधिमा उल्लेख भएकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र आयोजना कार्यान्वयन एकाइबीच सम्झौता गरिएको छ । २० विद्यालय भवन पुनःनिर्माण भूकम्पले तनहुँको २९१ विद्यालय भवन क्षति भएको थियो । जसमध्ये हालसम्म २० वटा विद्यालय भवनको मात्रै पुनःनिर्माण सम्पन्न भएको छ । आव २०७३-७४ मा ११ वटा र आव २०७४-७५ मा नौ वटा विद्यालय भवनको पुनःनिर्माण गरिएको इञ्जिनीयर श्रेष्ठले बताए । बीस विद्यालय भवनको लागि रु सात करोड ७१ लाख ४८ हजार ९६४ बजेट खर्च भएको छ । रासस
सामाजिक सुरक्षा भत्ता वितरण
तनहुँ, पुस ११ । तनहुँको व्यास नगरपालिका कार्यालयले आर्थिक वर्ष २०७४-७५ मा रु ११ करोड ३३ लाख ७५ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले एकल महिला, विधवा, लोपोन्मुख, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता, दलित ज्येष्ठ नागरिक र अन्य ज्येष्ठ नागरिकलाई गरी उक्त भत्ता रकम वितरण गरेको हो । नगरपालिका मातहतमा रहेका १४ वटा वडाका ६ हजार ७५० जनालाई उक्त रकम वितरण गरिएको नगरपालिकाका पञ्जिकाधिकारी विष्णुकुमार जोशीले जानकारी दिए । उहाँका अनुसार वडा न. १ मा २८२, वडा नं २ मा २३९, वडा नं ३ मा १३६, वडा नं ४ मा २४७, वडा नं ५ मा ५१७, वडा नं ६ मा ५९०, वडा नं ७ मा ५०९, वडा नं ८ मा ४२४, वडा नं ९ मा ५९३, वडा नं १० मा ७३०, वडा नं ११ मा ८२३, वडा नं १२ मा ६२६, वडा नं १३ मा ४९८ र वडा नं मा ४३३ जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता लिएका हुन् । त्यसैगरी नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ को प्रथम चौमासिकमा ६ हजार ९३९ जनालाई रु तीन करोड ९५ लाख ५३ हजार ६०० सामाजिक सुरक्षा भत्ता वितरण गरेको सूचना अधिकारी गोकर्णराज वाग्लेले बताए । नगरपालिका कार्यालयले तय गरेअनुरुप अतिअशक्तलाई मासिक रु ६००, लोपोन्मुख र पूर्ण अशक्तलाई मासिक रु दुई हजारका दरले र अन्यलाई मासिक रु एक हजारका दरले सामाजिक सुरक्षा भत्ता रकम उपलब्ध गराइएको उनले जानकारी दिए । ७० वर्ष नाघेका सबै ज्येष्ठ नागरिकलाई खाइपाइ आएको भत्ता रकमसहित औषधि उपचारवापत मासिक रु एक हजार थप गर्ने व्यवस्था गरिएको छ । रासस
त्रिसठ्ठी जनालाई न्यानो कपडा वितरण
बाजुरा, पुस ११ । जिल्लामा मौसम परिवर्तन भएसँगै चिसो बढ्दै गएको छ । चिसोबाट बच्नका लागि बाजुराको बडीमालिका नगरपालिका–७ मा मङ्गलबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । नगरपालिकाको उक्तमा रहेका आठ टोलका ४० वृद्धवृद्धालाई कम्मल, वितरण गरिएको छ भने यसैगरी सोही वडाका २३ बालबालिकालाई ज्याकेट र सुरुवालसमेत वितरण गरिएको वडा सदस्य धनलाल पाध्यायले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार वडामा रहेका जिल्ली, माउलेख, सिराडी, पोखरा, रजातोली, ढम्कने गरी आठ टोलका ज्येष्ठ नागरिक वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको वडा सदस्य पाध्यायले बताए । बडीमालिका नगरपालिका–७ को सहयोग र समाजसेवी दयाराम अग्रवालको समन्वयमा ६३ जनालाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष पाध्यायको भनाइ रहेको छ । न्यानो कपडा वितरण कार्यक्रममा अध्यक्ष पाध्यायले वडापालिकाकोे सक्रियता, समाजसेवी दयाराम अग्रवाल र विभिन्न सहयोगी संस्थाको सहयोगबाट न्यानो कपडा वितरण गरिएको बताए । वडाध्यक्ष पाध्यायका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा वडाका दलित, पिछडिएका र जनजाति गरी १३५ परिवारलाई धुवाँरहित चुलो वितरण गरिने छ । उहाँले हरेक वर्ष वडामा रहेका वृद्धवृद्धा र बालबालिकालाई वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । रासस

