सारंगी रेटेरै हुर्काए नौ सन्तान
गोरखा, मङ्सिर २९ । गोरखाको मसेल गाविस–९ घ्याम्पेशाल ७१ वर्षिय लालबहादुर गन्धर्व दिनहुँजसो सबेरै सारङ्गीको धूनसँगै गीत गाएर सुनाउने ती व्यक्ति हुन् ।
धर्मराज थापाले गाएको ‘हाम्रो तेनजिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनले गाएर सुनाउँछन् ।
नौ वर्षको हुँदा सारङ्गी बजाउने सीप जानेका लालबहादुरले वृद्ध भइसके पनि यो कामलाई निरन्तरता दिइरहेका छन् । सारङ्गी रेटेरै नौ सन्तान, आफू र श्रीमतीको लालनपालन गर्नु कम्ती चुनौतीपूर्ण थिएन । लालबहादुरले हिम्मत हारेनन् । सन्तान हुर्काएर शिक्षादीक्षा दिए ।
अहिले छोराहरु विभिन्न पेसामा संलग्न छन्, तैपनि लालबहादुर सारङ्गी बोक्छन् र गीत गाउँछन् । उनले गीतमार्फत् समाचार, सूचना जनमानसमा पु¥याउन सहयोगी भूमिका निर्वाह पनि गरेका छन् । उनले रचना गरेको ‘किन दियो अल्छीको जन्म’ बोलको गीत रहेपनि रेकर्ड भएको छैन ।
नेपाली सेना, रेडियो नेपाललगायत विभिन्न ठाउँमा जागिरे अनुभव बटुलेका उनले भने, ‘सारङ्गी भिर्दै गीत गाउँदैमा जिन्दगीले नेटो काट्ने भो ।’
हातगोडा चलुञ्जेल सारङ्गी रेटेरै गीत गाउने धोको उनको छ । उनका जेठो छोरा एकबहादुर सारङ्गी बनाएर बिक्री गर्छन् । माइलो बलबहादुर कृषि पेसामा आबद्ध छन् भने साइला नेत्र बहादुरको निधन भइसक्यो ।
काइँला छोरा धु्रव गैससका जागिरे हुन् । अन्तरे छोरो सुब्बा व्यापार व्यवसाय गर्छन् भने जन्तरे छोरा बाबुराम सरकारी जागिरे हुन् । पानीमन्तरे छोरो कमल बस चालक छन् ।
ठूलो कान्छा छोरा ठाकुर सरकारी विद्यालयमा पढाउँछन् । कान्छो छोरा उदय नेपाली सेनामा जागिरे भएको लालबहादुरकी श्रीमती गाजली गन्धर्वले जानकारी दिइन् ।
विसं २०२२ मा रेडियो नेपालमा जागिरे हुँदा गन्धर्वले मासिक तीन सय रुपैयाँ पारिश्रमिक पाउँथे । तारन दल गुल्ममा जागिरे भएपनि उनले लामो समय जागिरलाई निरन्तरता दिएनन् ।
‘दसैं, तिहारमा गाउँ डुल्दा एकै दिनमा पाँच÷छ हजार रुपैयाँ पनि कमाएँ’ – लालबहादुरले भने । सारङ्गी रेटेर कमाएको पैसाले छोराहरु पढाउने, बिहान बेलुकी हातमुख जोर्ने कामका अलावा गन्धर्वले घ्याम्पेशालमा घरघडेरी पनि जोडेका छन् ।
‘आजभोलि कमाइ हुनै छाडेको छ,’ उनले भने– ‘बुढ्यौलीले छोएछ क्यारे भनेजस्तो स्वर आउँदैन, लामा गीत गाउन सक्दिनँ ।’ अहिले दिनहुँ रु चार/पाँच सय कमाइ हुने उनले बताए । उनका ११ नाति र ९ नातिनी छन् । उनले १७ वर्षको उमेरमा गाजलीसँग बिहे गरेका थिए ।
सारङ्गी रेटेर कमाएको पैसाले घर, व्यबहार चलाउन धौ–धौ परेपनि छोराछोरी हुर्काएर पढाउन सकेकामा गन्धर्व परिवार खुसी छन् । ‘भूकम्पले भत्काएको घर बनाउनुपर्ने छ,’ उनले भने – ‘संघर्ष गर्दैमा जीवन बित्ने रहेछ ।’
निर्दाेष व्यक्ति अन्यायमा नपरुनः प्रधानन्यायधीश कार्की
रत्ननगर (चितवन), २८ मङ्सिर । प्रधान न्यायाधीश सुशीला कार्कीले निर्दाेष व्यक्ति अन्यायमा नपर्ने गरी न्याय सम्पादन गर्न न्यायाधीशहरुलाई निर्देशन दिएकी छिन्। चितवनको सौराहामा सोमबारदेखि सुरु भएको ‘फौजदारी न्याय प्रणालीमा नागरिकको प्रतिरक्षासम्बन्धी अधिकार’ विषयमा भएको न्यायाधीशहरुको दुईदिने कार्यशाला गोष्ठीमा सम्बोधन गर्दै कार्कीले यस्तो निर्देशन दिएकी हुन् । सोमबार साँझ कार्यक्रम उद्घाटनपछि मन्तव्य राख्दै कार्कीले भनिन– “बरु १० जना दोषी छुटून्, तर एकजना पनि निर्दाेष नपरून्, यसतर्फ न्यायाधीशले ध्यान पु¥याउनुपर्छ ।” उgले अपराध गरेको हो/होइन भन्ने प्रमाणका आधारमा निर्दाेष मान्छे नपरोस् भनी विचारविमर्श गरेर छानबिन गर्नसमेत न्यायाधीशलाई आग्रह गरिन् । नारायणी अञ्चलका अदालतको स्थलगत भ्रमणका क्रममा प्रधानन्यायाधीश कार्की सोमबार चितवन आइपुगेकी हुन् । दिउँसो बारका पदाधिकारी तथा जिल्ला अदालत चितवनको कार्यक्रममा सहभागी भएकी कार्की सोमबार साँझ सौराहामा न्यायाधीश समाज नेपालले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी भएकि हुन् हो । कार्यक्रममा सङ्क्षिप्त मन्तव्यका क्रममा कार्कीले नेपालमा अनुसन्धानको पाटो कमजोर भएको दाबी गर्दै कहिलेकाहीँ न्यायाधीशहरु झुकावमा लागेको देखिएको जिकिर गरिन् । उनले प्रमाण जुटाउन अझै पनि नेपालमा आधुनिकीकरण नभएको उल्लेख गर्दै प्रहरी र सरकारी वकिलको अनुसन्धानसमेत फितलो रहेको दाबी गरिन् । “फौजदारी अभियोग लागेर जो अदालत आउँछन्, उनीहरुको अधिकार संरक्षण हुनुपर्छ”, कार्कीले भनिन । न्यायाधीशको यो गोष्ठीले मार्गनिर्देश गर्ने उनले विश्वास व्यक्त गरिन् । कार्यक्रममा सर्वाेच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले नेपालमा प्रमाण सिस्टम नमिलेको बताउँदै न्यायाधीशले विभिन्न आरोप र दबाब झेल्न बाध्य भएको प्रस्ट्याए । न्यायाधीश समाजका उपाध्यक्ष तथा सर्वाेच्चका पूर्वन्यायाधीश मोहनप्रकाश सिटौलाले न्यायालयमा बाह्य र आन्तरिक दबाब रहेको भन्दै न्यायाधीशमा अहिले मनोवैज्ञानिक त्रास रहेको तर्क गरे । कार्यक्रममा मन्तव्य दिँदै सर्वाेच्च अदालतका रजिस्ट्रार खिलकान्त पौडेलले यो छलफलले न्यायजगत् र न्यायका उपभोक्ताले फाइदा लिने बताउँदै विकसित नवीनतम अवधारणाका विषयमा न्यायाधीशले जानकारी लिने मौका मिलेको बताए । उक्त कार्यक्रमका संयोजक अजयशङ्कर झाले संविधानले ग्यारेन्टी गरेको विषयमा न्यायाधीशबीच गम्भीर मन्थनका लागि यो कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । मंगलबारसम्म सन्चालन हुने न्यायाधीशको कार्यशाला गोष्ठीमा मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी र रुपन्देहीमा रहेको उच्च अदालत र जिल्ला अदालतका ३६ जना न्यायाधीशको सहभागिता रहेको न्यायाधीश समाज नेपालका सचिव एवम् काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले जानकारी दिए । आज मोहनप्रकाश सिटौलाको नागरिकको प्रतिरक्षा र न्यायाधीस बाबुराम रेग्मीको मौन अधिकार विषयमा प्रस्तुत हुने कार्यपत्रमाथि छलफल हुने जनाइएको छ । रासस
लडेर एक मजदुरको मृत्यु
सुरुङ्गा (झापा), मङ्सिर २८। घर बनाउने क्रममा लडेर सोमबार झापामा एक मजदुरको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारीअनुसार बिर्तामोड नगरपालिका–७ स्थित बिजुली अफिस छेउमा सुरेश वंशलको घर बनाउने क्रममा छतबाट लडेर भारतको मुजाफर घर भएका १८ वर्षीय मजदुर आकाश साहको मृत्यु भएको हो । छतबाट लडेर घाइते भएका साहको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचारका लागि लगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
रङ्ग उद्योगमा आगलागी
मोरङ, मङ्सिर २७ । विराटनगर–९ स्थित पशुपति पेन्ट्स उद्योगमा आगलागी भएको छ । उद्योगको कार्यालयमा आज दिउँसो १२ बजे आगलागी भएको हो । प्रहरीका अनुसार कर्कटपाता लगाइएको कार्यालयको छानो चुहिन थालेपछि वेल्डिङ गरेर टाल्ने क्रममा आगलागी भएको थियोे । आगलागीमा परेर एउटा कम्प्युटर, ल्यापटप, एसी मेसिन, सिसी क्यामेरा र कार्यालयमा भएका अन्य सामान जल्दा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिएको छ । वारुणयन्त्र र प्रहरीको सहयोगमा एक घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
नेपालको शान्ति र प्रगतिको पक्षमा अमेरिका
काठमाडौं, मङ्सिर २७ । नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्ले अमेरिका नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको बताएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग आज गृहमन्त्रालयमा भएको भेटमा राजदूत टेप्लिज्ले उक्त कुरा बताएको हो । भेटमा गृहमन्त्री निधि र राजदूत टेप्लिसबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा कुराकानी भएको मन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । भेटमा नेपालको समसामयिक राजनीति र सङ्क्रमणकालीन न्याय एवम् यसको व्यवस्थापन सम्बन्धमा कुराकानी भएको थियो । सो अवसरमा गृहमन्त्री निधिले नेपालको विकासमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग हुने विश्वास व्यक्त गरेको थियो । राजदूत टेप्लिज्ले अमेरिकाको साथ नेपालमा विकासका लागि सधैँ रहने प्रतिबद्धता जनाएको दाहालले बताए ।
निजामतिको उमेर बढाउँदा क्रान्तिकारी आक्रोशित, विरोधमा उत्रने चेतावनी
काठमाडौं, मंसिर २७ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले निजामति कर्मचारीको उमेरहद बढाउन लागेकोमा आपत्ति जनाएको छ । सोमबार पशुपति क्याम्पसमा आयोजित कार्यक्रममा अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष रञ्जित तामाङले निजामती सेवामा विद्यमान ५८ वर्षे उमेरहद वढाई ६० वर्ष वनाउने प्रावधान युवा विद्यार्थीलाई कुनैपनि हालतमा स्विकार्य नहुने वताए। ‘हजारौं नव युवालाई निजामती सेवामा प्रवेश रोक लगाउने षड्यन्त्र स्वरुप आएको यो प्रावधान हामी किमार्थ स्विकार्दैनौं ’ उनले भने । सरकारले निजामती सेवा ऐन संशोधन गरी उमेरहद वढाएर ६० वर्ष वनाउन लागेको छ । ‘आजको युगमा नयाँ पुस्तालाई भित्र्याउन ५८ वर्ष समेत घटाउनुपर्ने स्थिति छ । भन्दै सामन्य प्रशासन मन्त्रालयले संसदमा दर्ता गर्न लागेको संशोधन विधेयक तत्काल नरोकिए आन्दोलनमा जाने चेतावनी उपाध्यक्ष तामाङले दिए।कार्यक्रममा अखिल (क्रान्तिकारी)का उपाध्यक्ष द्वय गंगाराम तिमल्सिना,पञ्चा सिंह लगायतले वोलेका थिए।कार्यक्रममा चर्चित गायक प्रमोद खरेलको विशेष प्रस्तुति रहेको थियोे ।
स्वास्थ्यमन्त्रीले गरे सामुदायिक अस्पतालको उद्घाटन
ललितपुर, मंसिर २७ । बज्रवाराही नगरपालिका–१० स्थित चापागाउँमा बज्रवाराहीमा सामुदायिक अस्पतालको स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज उद्घाटन गर्नुभएको छ । साविक रुपमा सञ्चालन हुँदै आएको बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा तथा स्रोत केन्द्रलाई रुपान्तरण गरेर सामुदायिक अस्पतालमा परिणत गरिएको हो । सो अवसरमा मन्त्री थापाले सामुदायिक अस्पताललाई जिल्ला अस्पतालका रुपमा लैजान सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जर्नाएको छ । अस्पताललाई आवश्यक पर्ने उपकरणका लागि उचित बजेटको व्यवस्था गर्नेसमेत उनको भनाइ थियो । उनले अस्पताललाई आवश्यक पर्ने नयाँ भवनको समेत शिलान्यास गरेको छ। नयाँ भवन निर्माणका लागि इमान्जुलियस लुथर्न चर्च अमेरिकाले रु एक करोड २६ लाख ७५ हजार सहयोग गरेको अस्पतालका डा कृष्णमान महर्जनले बताए । अस्पतालमा २५ श्यया क्षमता भएको उनले बताए । प्राप्त रकमले हाल अस्पताल सञ्चालनमा रहेको भवनको माथिल्लो तला थप र नयाँ एकतले भवन निर्माण हुने उनले बताए । सो अवसरमा राजनीतिक दलका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापालाईसोही स्थानमा जिल्ला अस्पताल स्थापनाका लागि ज्ञापनपत्र बुझाएको नेपाली काँग्रेस बज्रवाराही नगर कार्यसमितिका सभापति सुरज श्रेष्ठले बताएको छ ।
चिसोले कष्टकर बन्दै जनजीवन
लहान, मंसीर २७ । मौसम परिवर्तन भई एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरले चिसो बढेपछि बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घर बाहिर निस्कनसमेत समस्या भएको छ । अत्याधिक चिसोका कारण सिराहा जिल्ला अस्पतालसहित स्वास्थ्य संस्थामा दम, रुघाखोकी र निमोनियालगायतका बिरामीको चाप बढेको चिकित्सकले बताएका छन् । चिसो छल्न ठाउँठाउँमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ भने चिसोकै कारण सवारी साधनमा यात्रुको चाप घटेको छ । यात्रु नपाई कतिपय यात्रुबाहक बस ग्यारेजमा थन्क्याइएको छ भने कतिपय गाडीको समय तालिका परिवर्तन गर्नु परेको यातायात व्यवसायीले बताएका छन् । अर्कोतिर अत्यधिक चिसोका कारण विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि न्यून भएको छ । जाडो बढेका कारण न्यानो लुगाको बिक्रीमा एक्कासि वृद्धि भएको छ ।
अझैसम्म १३५ घरधुरी शौचालयविहीन
पाल्पा, मङ्सिर २७ । पाल्पा जिल्लामा करिब १३५ घरपरिवारमा अझै शौचालय निर्माण हुन सकेको छैन् । सन् २०१६ भित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने भनिए पनि १० गाविसका प्रत्येक घरमा शौचालयविहीन अवस्थामा घरपरिवार रहेपछि कार्यान्वयन गर्न थप समस्या भएको हो । जिल्लाको रामपुर नगरपालिकामा ७५, तानसेन नगरपालिकामा १० र सिद्देश्वर गाविसमा २५ घर परिवारमा शौचालय बनाउन बाँकी रहेको जिल्ला विकास समिति पाल्पाका कार्यक्रम अधिकृत विनोद नेपालले बताए। अन्य १० गाविसमा २५ वटा घरधुरीमा शौचालय निर्माण हुने बाँकी रहेको हो । मस्याम, ज्यामिरे, सोमादी, कसेनी, छहरा, फेक, तेल्घा, रिङ्गनेरह, जुठापौवा लगायतका गाविसमा शौचालय प्रत्येक घरमा निर्माण हुन नसक्दा खुला दिसामुक्त गाविस घोषणा हुन सकेको छैन । प्रत्येक घरमा शौचालय निर्माण हुन नसकेका गाविस अझै खुला दिसामुक्त गाविस घोषणा हुन नसकेका हुन । कार्यक्रम अधिकृत नेपालका अनुसार पुस महिनामा सबै गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गर्ने तयारीमा रहेको त्यसका लागि प्रत्येक घरमा शौचालय निर्माण कार्य भइरहेको छ । जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिले खुला दिसामुक्त घोषणा भइसकेका गाविसको अवस्था अध्ययन गर्ने र मस्याम, ज्यामिरे गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गर्ने जनायो । जिल्लाका अझै १० गाविसमा शौचालय निर्माण कार्य पूरा हुने बित्तिकै ती गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने तयारीमा रहेको छ । गाविसमा शौचालय निर्माण भएपछि जिल्लालाई समेत खुला दिसामुक्त गर्ने अभियान अन्तिम चरणमा पुगेको जिविसले जनाएको हो । जिल्लाका ५० गाविस खुला दिसामुक्त घोषणा भइसके पनि शौचालयमा नै दिसापिसाब गर्ने चलनको विकास हुन सकेको छैन । पानीको अभावका कारण खुला दिसामुक्त गाविस प्रभावहीन अवस्थामा रहेका छन् । ताहु गाविस–१ लाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्ने स्थलगत अध्ययनका लागि चार सदस्य समिति निर्माण गरेको छ । सिलुवा र वाकामलाङ गाविसलाई पूर्ण सरसफाइ गाविसका क्रियाकपाल सञ्चालन गर्ने सुआहारले अनुमति प्राप्त गरेको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले खुला दिसामुक्त जिल्ला घोषणा गर्दा राजमार्ग क्षेत्रमा सार्वजनिक शौचालय निर्माण कार्यलाई पहिलो प्राथमिकतामा पार्नुपर्ने बताए ।
‘ रामशरण महत जस्ता दलालले कांग्रेस बिगारे’: नेतृ सुजाता (भिडियो सहित)
नेपाली कांग्रेसकी नेतृ सुजाता कोईरालाले पार्टीकै नेता एवं पुर्वअर्थमन्त्री रामशरण महतलाई दलालको संज्ञा दिएकी छन् । उनले महत जस्तै नेताले कांग्रेस बिगारेको आरोप लगाउँदै पार्टीबाट निष्कासन गर्नु पर्ने बताईन । हेरौँ भिडियो
बर्दियामा बृृहत् हात्ती महोत्सव मङ्सिर २८ देखि
बर्दिया, मङ्सिर २७ । बर्दियाको ठाकुरद्वारामा चौथो बृहत् हात्ती महोत्सवको आयोजना हुने भएको छ । यही मङ्सिर २८ र २९ गते दुई दिने हात्ती महोत्सवको आयोजना बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले संयुक्तरुपमा गर्न लागेको हो । महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन मद्दत पुग्ने र महोत्सवमा वैदिक विधिअनुसार हात्ती पूजा समेतको सुरुवात गरिने जानकारी चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानमा अध्यक्ष हेमन्त आचार्यले बताए । पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको ठाकुरद्वाराको हात्तीसारमा हुन लागेको महोत्सवमा स्थानीय थारु संस्कृति, झाँकी र विभिन्न स्थानीय नाच समेत गरिने र आन्तरिक तथा बाह्य पर्यटकले स्थानीय थारु परिकारको आनन्द लिन सक्ने छन् । यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको बाघ गणनामा बाघको सङ्ख्या बढेर ८५ पुगे पछि यस निकुञ्ज क्षेत्रमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक सङ्ख्या पनि अत्यधिक रहेकाले यस महोत्सवमा पर्यटकको सङ्ख्या अझ बृद्धि हुने विश्वास गरिएको छ । रासस
बसको ठक्करबाट ३ वर्षीय बालिकाको मृत्यु
गाईघाट (उदयपुर), २६ मङ्सिर । रामपुर ठोक्सिला गाविस– ९ मा बसको ठक्करबाट आज तीन वर्षीया बालिकाको मृत्यु भएको छ । ना४ख ३०८१ नं को हिमाली यातायातको बसको ठक्करबाट तीन वर्षीया स्मृति श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक अमनलाल माझीले जानकारी दिनुभयो । घर नजिकै खेलिरहेकी श्रेष्ठलाई बसले ठक्कर दिएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको इप्रकाले जनाएको छ । बसका चालक केशव कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
प्रहरीको कुटाईका कारण चालकको मृत्यु भएको आरोप, बीटमा ढूँगामूढ़ा, बौद्द तनावग्रस्त
काठमाडौँ, २६ मङ्सिर । ट्याक्सी चालकको मृत्यु भएपछि आज दिनभर बौद्धको नयाँबस्ती क्षेत्र तनावग्रस्त भयो । दोलखा घर भई हाल काठमाडौँ, गोकर्णेश्वर बस्ने चालक राजकुमार लामाको गएराति मृत्यु भएपछि प्रहरीको कुटाइका कारण उनको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए । महानगरीय प्रहरी बिट, नयाँबस्तीअगाडि भेला भई उनीहरुले बिट र प्रहरीमाथि आक्रमण गरेका थिए । सो क्रममा बिट अगाडि रहेका बा २ ब ३७८३, बा ८० प ८६८३ र बा ९ प १२०५ नंको मोटरसाइकल आगजनी गरेको र बिटमा समेत ढुङ्गामुढा प्रहार गरी बिट क्षतिग्रस्त बनाएको प्रहरीले जनाएको छ । बिटमा आक्रमण भएपछि केही राउण्ड हवाई फायर गर्नुका साथै बिट तोडफोडमा संलग्न २५ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “रेस्टुराँ सञ्चालक र प्रहरीको मिलेमतोमा कुटाइका कारण चालकको मृत्यु भएको भन्ने हल्ला फैलाइयो, तर प्रहरीको यसमा संलग्नता छै्रन । उहाँले मृतक लामाकी श्रीमती र सालीले उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमा नै चालक लामाको मृत्यु भएको जानकारी दिनुभयो । नयाँबस्ती कुमारी मन्दिर नजिक सडकमा बेहोस भई लडिरहेको अवस्थामा लामालाई फेला पारी उपचारका लागि उनका आफन्तले लगेका थिए । प्रवक्ता कार्कीले चालक लामाको मृत्युबारे विभिन्न किसिमका अफवाह आउन थालेपछि यस सम्बन्धमा प्रहरीले आन्तरिकरुपमा छानबिन समिति बनाएको जानकारी दिनुभयो । रासस file photo –––––––––––
नेपाल राजपत्र २४ घन्टाभित्र वेबसाइटमा
काठमाडौं, मंसिर २६ । नेपाल राजपत्र प्रकाशन भएको २४ घन्टाभित्र वेबसाइटमा राख्ने कामको शुभारम्भ भएको छ । मुद्रण विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल राजपत्र वेबसाइटमा राख्दै छपाइ यन्त्र ल्याएर नोट र टिकट नेपालमै छाप्ने व्यवस्था मिलाउने तयारीमा मन्त्रालय लागेको जानकारी गराए । विसं १७७० देखि १८७६ सम्मको युद्धले नेपालको अर्थतन्त्रलाई ध्वस्त बनायो, यो समयसम्म नेपालको मुद्रा भारतको भन्दा माथि थियो, त्यसअघि यहाँ पाइने धातु युरोपको भन्दा राम्रो थियो, युद्धले भ्रष्टाचारभन्दा पनि छिटो गतिमा अर्थतन्त्रलाई बिगार्छ”, उनले भने । सूचना र सञ्चारका माध्यममार्फत कुनै पनि तथ्यलाई छिटो जानकारी गराएर डिजिटल नेपाल बनाउने अभियानमा सहयोगका लागि पहल गर्ने मन्त्री कार्कीको भनाइ थियो । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सुरक्षण मुद्रणका रुपमा विभागलाई स्तरोन्नति गरी रु दुई अर्ब वार्षिक बिदेसिनबाट बचत गर्न सकिने बताए । ुमुद्रणको परम्परागत प्रणालीमा सुधार गरेर सुरक्षण मुद्रणमा स्तरोन्नति गरी अर्थतन्त्रमा उपलब्धि गर्न सकिन्छ, विभागले व्यावसायिक बन्न प्रतिस्पर्धामा जानुपर्छु–उनले भने । राजपत्रलाई प्रकाशन भएको १२ घन्टामै वेबसाइटमा राख्न पहल गरिनुपर्ने सचिव थपलियाले बताए । विभागका महानिर्देशक शङ्कर अर्यालले विभागको स्तरोन्नति एवम् सुधारका लागि मन्त्रालयले स्रोतसाधनसहित ठोस निर्णय गरिदिनुपर्ने बताए । विसं २००८ देखि प्रकाशन सुरु भएको नेपाल राजपत्रलाई आजैदेखि प्रकाशन भएको २४ घन्टामै वेबसाइटमा राख्न थालिएको छ ।
ट्र्याक्टरले थिच्दा बालकको मृत्यु
सिन्धुली, मङ्सिर २६ । पिपलमाढी गाविसमा ट्र्याक्टरबाट खस्दा पिपलमाढी–१ घर भएका सातवर्षीय मनोज गोलेको आज घटनास्थलमै मृत्यु भएको छ । बालक ट्याक्टरबाट अचानक झर्दा उक्त ट्र्याक्टरको टेलरको चक्काले थिचिँदा मुत्यु भएको प्रहरीले बताएको छ । ढुङ्गा लिन मरिण खोलातर्फ जाँदै गरेको ना ५ त ३६३८ नं ट्याक्टरबाट खस्दा बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पिपलमाढी– १ श्रीपुर नरसरी सिसौघारीस्थित ती बालक झमझमेबाट चढेका थिए । चालक फरार रहेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बस दुर्घटनामा पाँचको मृत्यु
पाँचथर, मङ्सिर २६ । तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभिरमा आज बस दुर्घटनामा तीन जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी २३ जनाभन्दा बढी यात्री घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन । धरानबाट तेह्रथुमको औंसीडाँडातर्फ आउँदैै गरेको ना ४ ख २८६५ नंको बस गढीभिरको सडकबाट करिब दुई सय मि तल खसेको प्रहरीले जनाएको छ । नेपाली प्रहरी, सशस्त्र र स्थानीयवासीले घाइतेको उद्धार गरिरहेका छन् ।