एकै रुखमा डेढ लाखको एभोकाडो
धनकुटा, पुस ११ । धनकुटाका एक कृषकले एउटै बोटबाट एक लाख रुपैंयाँ भन्दा बढीको एभोकाडो बेचेका छन् ।
धनकुटा नगरपालिका वडा नम्बर ४ स्कुल डाँडाका कृषक राजकुमार तामाङ्गको बारीमा लगाएको करिब २५ वर्षे पुरानो बोटमा एक लाख रुपैंयाँभन्दा बढीको एभोकाडो फलेको हो ।
उनको यस बोटमा करिब १० क्विन्टल भन्दा बढी एभोकाडो फलेको छ । अहिले कृषकले बारीमै प्रतिकिलो १ सय ५० रुपैंयाँभन्दा बढी पाउने गरेका छन् ।
यसरी यस बोटबाट करिब एक लाख पचास हजार रुपैंयाँ आम्दानी हुन्छ । गत बर्ष नै तामाङले यस बोटको फल एक लाख रुपैंयाँमा ठेक्का लगाएका थिए । इमेजखबरबाट
विद्युतसेवा सुचारु
बाजुरा, पुस ७ । गत मङ्सिर २५ गतेबाट अवरुद्ध त्रिवेणी साना जलविद्युत् सेवा शुक्रबार रातिबाट सञ्चालन भएको छ । २०० किलोवाट क्षमताको मेसिनको बेरिङमा आएको खराबीका कारण विद्युत् सेवा अवरुद्ध भएको थियो । करीब तीन दशकअघि विसं २०४६ मा निर्माण भएको साना जलविद्युत्को मेसिन पुरानो र जीर्ण भएका कारण बारम्बार समस्या आउने गरेको व्यवस्थापक दयाराम पण्डितले जानकारी दिए । हाल त्रिवेणी साना जलविद्युत् केन्द्रले १८०० बढी सेवाग्राहीको घरमा विद्युत् सेवा प्रवाह गरेको छ । नेपाल विद्युत् प्राधिकरणको नाममा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्र विगत १० वर्षदेखि त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएको छ ।
छुरा प्रहार गरी बाबुको हत्या
उर्लाबारी, मंसिर २८ । मोरङको विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा एक युवकले छुरा प्रहार गरी बाबुको हत्या गरेका छन् । छुरा प्रहारबाट ५० वर्षीय शशी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति मण्डलकी जेठी श्रीमतीका छोरा २५ वर्षीय आकाश र कान्छी श्रीमतीका छोरा २२ वर्षीय चुनुबीच घरायसी विषयमा भएको विवाद चुलिँदा चुनुले बाबुको हत्या गरेको बताइएको छ । छुरा प्रहारबाट गम्भीर घाइते शशीलाई उपचारका लागि नोबेल अस्पताल लगिएको र सो क्रममा बिहीबार राति उहाँको मृत्यु भएको हो । छुरा प्रहारबाट दाजु आकाशसमेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ । अभियुक्त चुनुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । रासस
मन पराएको केटासँग विवाह गर्छुभन्दा आमाले नै छोरीको हत्या गरिन् !
धनुषा, मंसिर २१ । आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेकी छन् । आफ्नी १६ वर्षीया छोरी सोनीकुमारी मण्डलको हत्या गरेको आरोपमा पक्राउ गरी उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । सोनीले आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको कुरामा विवाद बढ्दै जाँदा उनकी आमा राजकुमारीले रिसमा आएर आफ्नै छोरीको घाटी थिची हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । घटनामा परिवारका अन्य सदस्यकोसमेत संलग्नता हुनसक्ने भएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । रासस
राज्यमन्त्री चौधरीको घुडाको सफल शल्यक्रिया वीर अस्पतालमा
काठमाणडौ,मंसिर ३।कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीको घुडाको सफल शल्यक्रिया वीर अस्पतालको ट्रमा सेन्टरमा भएको छ । हिड्दा हिड्दै घुडा लक हुने समस्याले ग्रसित मन्त्री चौधरीले डाक्टरहरुको सल्लाहमा शल्यक्रिया गराएकी हुन । ट्रमा सेन्टरका वरिष्ठ डा.बिनोद सेरचनको टिमले सफल शल्यक्रिया गरेको राज्य मन्त्री चौधरीको स्वकीय सचिव ङामुङहाङ्ग मेनाङ्गबोले जानकारी गराएका छन्। घुडा ठोकिएर घुडाको लिगामेन्ट भित्रको कुरकुरे हाड च्यातिएकाले घुडा लक हुने गरेको डा बिनोद सेरचनले जानकारी दिएका छन्। हाल मन्त्री चौधरीको अवस्था सामान्य रहेको र २/३ दिन पछी अवस्था हेरेर डिस्चार्ज दिने डा सेरचनले बताएका छन ।
ईन्जिनियररिङ एसोसिएसनको सचिव पदमा लड्दै भट्ट
धनगढी, मंसिर ३ । नेपाल ईन्जिनियररिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिवमा लोकतान्त्रीक समूहबाट इन्जिनियर रोशन भट्टले उम्मेद्वारी दिएका छन् । विगत ७ बर्षदेखि निर्माण र ईन्जिनियररिङ क्षेत्रमा सक्रिय रहेका भट्टले यही मंसिर २८ गते हुने गइरहेको र्निवाचनमा नेपाल ईन्जिनियरिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिब पदका लागि उम्मेद्वारी दिएका हुन् । ईन्जिनियरिङ शिक्षालाई गुणस्तरी बनाउन, प्रदेशको विकासमा ईन्जिनियरिङ समुदायको सहाकर्य गर्न, ईन्जिनियरिङको हकहितका लागि सरकारसँग समन्वय गरि सुरक्षित र मर्यादित पेशा बनाउन सचिव पदमा उम्मेद्वारी दिएको भट्टले बताए । धनगढीको स्टेपिङ बोर्डिङबाट एसएलसी तथा नेपाल ईन्जिनियरिङ कलेज भक्तपुरबाट ईन्जिनियरिङ गरेका भट्ट राजेन्द्र निर्माण सेवाको प्रमुख कार्यकारी अधिकृत र आर।वि कन्सलटेन्सीको प्रबन्ध निर्देशक छन् । त्यस्तै, जिल्ला र प्रदेश निर्माण व्यावसायी संघको प्राविधिक सल्लाहाकार भट्ट नेपाल ईन्जिनियरिङ एसोसिएसन धगढीको च्याप्टरको पूर्व उपाध्यक्ष भइसकेका छन् । नेपाल ईन्जिनियरिङ एसोसिएसन सुदूरपश्चिम प्रदेशको सचिवमा उम्मेद्वारी दिएका भट्टले यसअघि विभिन्न संघ सस्थामा रहेर सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएका छन् ।
तिलकसिंह पेलाले गाए ‘मोरा साँवरा…!’
काठमाडौँ, कार्तिक २७ । लामो समय संगीत बजारबाट टाढा रहेका गायक-सङ्गीतकार तिलकसिंह पेलाले ‘प्रीत लगा के गयो रे…’ बोलको हिन्दी भाषाको गीत रेकर्ड गराएका छन् । ५० को दशकमा ‘आँसु’ गीती एल्बममा संग्रहित ‘लुकाउन खोज्दा पनि…’, ‘कुल्चेर मेरो फूल..’ जस्ता गीत गाएर चर्चामा आएका गायक तिलकसिंह पेला लामो समय शास्त्रीय संगीतको साधनामा व्यस्त रहेपछि ओझेलमा रहेका थिए । लगभग दुई दशकपछिको मौनता तोड्दै उनी फेरि नेपाली सांगीतिक बजारमा आउने तयारीमा जुटेका हुन् । मङ्गलबार राजधानीको अनामनगरस्थित म्युजिक नेपालको स्टुडियोमा पेलाले दुई गीत रेकर्ड गराए । उनले ‘निर्जन किनारसँग…’ र ‘प्रीत लगा के गयो रे मोरा साँवरा…’बोलका दुई गीत रेकर्ड गराएका छन् । यी दुवै गीतको रचना कृष्णसिंह पेलाले गरेका हुन् भने संगीत रचना गायक स्वयंको रहेको छ । दुबै गीतको संगीत एरेन्जको काम भने रिदम कँडेलले गरेका हुन् ।
बालिका बलात्कार आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ
धनगढी, कार्तिक २५ । कैलालीको धनगढीमा पाँच वर्षीया बालिका बलात्कार आरोपमा एकजना वृद्ध पक्राउ परेका छन् । साेही उप–महानगरपालिका-४ कि ५ बर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा उदयपुर गाईघाट ४ स्थायी घर भएका ६८ बर्षिय स्पन्दन राई पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शनिबार साँझ पक्राउ गरेको हो । केहि समय देखि धनगढीमा आफन्तको घरमा बस्दै आएका राईले शनिबार घरमा कोही नभएको समयमा बालिकालाई करणी गरेको आरोप लागेको छ । पीडित परिवारले प्रहरीलाई उजुरी गरेपछि प्रहरीले वृद्धलाई पक्राउ गरेको थियो । अहिले बालिकाको स्वास्थ्य परिक्षण गरिएको र त्यसको रिर्पोट नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभूषण तिमिल्नेसाले बताए ।
सांसदको गुनासो– राज्यले दिएको तलबले जीवनयापन गर्न गाह्रो
काठमाडौं, कार्तिक २५ । तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेको बेला राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने गरेको उनीहरु गुनासो गर्न थालेका छन् । अधिकांश सांसदले सचिवायले उपलब्ध गराएको खर्च कम भएको गुनासो गरेका छन् । प्रत्यक्ष निर्वाचितको तुलनामा समानुपातिक सांसदको खर्च अलि कमी हुने गरको छ । तर समानुपातिक सांसद भए पनि जनतासँग बढी घुलमिल गर्ने र जनताको समस्या सुन्नेको खर्च बढी हुने गरको छ । नेपाल समाचारपत्रबाट
२ सय दिन अगावै काम सक्ने ठेकेदारलाई ४४ लाख पुरस्कार
बझाङ, कार्तिक २५ । तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशनमा सूची तयार पारिएको छ । तर, बझाङमा भने यो सूचीसँगै ठेकेदारलाई सम्मान पनि गरिएको छ । बझाङका निर्माण व्यवसायी दल विष्ट तोकिएको समयअगावै काम पूरा गर्दा सम्मानित भएका हुन् । उनलाई स्थानीयवासीसँगै सरकारी कार्यालयले पनि सम्मान गरेका हुन् । निर्माण–व्यवसायी विष्टले बिकोई बिल्डर्स प्रालिमार्फत बझाङमा निर्माणको काम गरेका थिए । उनले बाउली गाड र सेतीनदीमा तटबन्ध निर्माणको काम तोकिएको समयभन्दा अगाडि नै पूरा गरेका हुन् । त्यस्तै, जिल्ला मालपोत कार्यालय र जिल्ला हुलाक कार्यालयको भवन पनि ठेक्काको म्यादअघि नै सम्पन्न गरेका छन् । ३ वर्षयता बझाङमा निर्माणको काम राम्रोसँग र छिटो पूरा गरेकाले उनलाई सम्मानित गरिएको जनाइएको छ । ‘धेरै निर्माण–व्यवसायीले ठेक्का ओगट्ने र काम नगर्ने गरेका थिए, मैले समयभन्दा अगाडि नै काम सम्पन्न गरेँ,’ निर्माण–व्यवसायी विष्टले भने, ‘यो सम्मानले अरू योजनाको कामलाई पनि तीव्रता दिन हौसला मिलेको छ ।’ अहिले ठेक्का पाएका योजनाहरू पनि तोकिएको समयभन्दा अगाडि नै सम्पन्न हुने गरी काम भइरहेको उनको भनाइ छ । उनले चैनपुर रिङरोड, जिल्ला अदालतदेखि चौराहसम्मको सडक र जिपपार्कदेखि जिल्ला प्रहरी कार्यालयसम्मको सडकको कालोपत्रेको काम गरिरहेका छन् । यस्तै, बझाङकै मटेला स्वास्थ्य चौकी ठेक्का पनि बिकोइ बिल्डर्समार्फत उनले नै गरिरहेका छन् । यी सबै गरी ३ करोड ७६ लाखका योजना छन् । नयाँ पत्रिकाबाट
दिल्लीबाट ४० नेपाली युवतीको उद्धार
बाँके, कार्तिक १९ । भारतबाट ४० जना नेपाली युवतीको उद्धार गरिएको छ । राजधानी नयाँ दिल्लीमा बेचिएका तीन जनासहित ४० जना नेपाली युवतीको उद्धार गरी सोमबार नेपाल ल्याइएको हो । उद्धार गरिएकामध्ये तीन जनालाई नयाँ दिल्लीको जीबी रोडबाट उद्धार गरिएको हो । अन्य ३७ जनालाई भने अवैध बाटो हुँदै खाडी मुलुक लैजान लागिएको अवस्थामा दिल्लीसँग जोडिएको उत्तरप्रदेशको गाजियाबादबाट उद्धार गरिएको हो । माइती नेपाल, माइती इण्डिया र भारतीय राजदूतावासले भारतीय सुरक्षा निकायको समन्वयमा युवतीहरुको उद्धार गरेका हुन् । सोमबार दिउँसो नेपालगञ्ज आइपुगेका उनीहरुमध्ये १५ जनालाई राजधानी पठाइएको र २१ जनालाई झापा पठाउने तयारी गरिएको माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाले जानकारी दिए ।
धनगढी उपमहानगरद्वारा तिहार तथा छठ मिलन कार्यक्रमको आयोजना
धनगढी,१९ कातिक । कैलालीको धनगढी उप-महानगरपालिकाको आयोजनामा पत्रकारसँंगको दिपावली तथा छठ मिलन कार्यक्रम सोेमबार सम्पन्न भएको छ । तिहारको पूर्व सन्ध्यामा उपमहानगरपालिकाले पत्रकारसँग शुभकामना आदानप्रदान गर्ने उद्देश्यले दिपावली तथा छठ मिलन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले पत्रकार नै समाजका पहरेदार भएको बताए । उनले उपमहानगरपालिकाले सञ्चालन गरिरहेका हरेक गतिविधीको निगरानी गरिदिन पत्रकारसँग आग्रह गरे । ‘धनगढी बजारमा मात्रै नभएर अन्य वडामा पनि हामीले थुप्रै काम गरेका छौं । भएका कामको बारेमा तपाइँहरु रचनात्मक सुझाव दिनुस् ।’ नगर प्रमुख वडले भने कार्यक्रममा बोल्दै उपमहानगरपालिका उपप्रमुख सुशिला मिश्र भटट्ले संघियता नौलो ब्यबस्था भएकाले जनप्रतिनिधी र कर्मचारी सिक्दै अगाडि बढिरहेको बताइन् । उप प्रमुख भट्टले आफुहरु रचनात्मक काम गर्न लागि परेको बताइन् । उनले मिडियाको साथ सहयोगबाट मात्रै धनगढीलाई समृद्ध नगर बनाउन सकिनेसमेत बताइन् । नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाहले बिशिष्ट किसिमका योजना बनाएर अघि बढे मात्रै नगरको विकास सम्भव हुने बताए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपसभापति उमिद बागचन्दले धनगढी उपमहानगरपालिका सूचनाको हकमैत्री बन्दै गएको बताए । नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगत साउँदले तिहारको मुखमा पत्रकार मिलन कार्यक्रम राखेर उपमहानगरपालिकाले राम्रो सुरुवात गरेको बताए । डब्लुडब्लुजे कैलालीकी अध्यक्ष उन्नती चौधरीले उपमहानगरपालिकाले आफ्ना गतिविधीमा महिला पत्रकारसँग सधै समन्वय गरेर गैरहेको बताइन् ।
प्रदेश न.३ का माझी समुदायलाई आवास निर्माणका लागि सरकारले जग्गा उपलब्ध गराउने
काठमाडौ,कार्तिक १८। प्रदेश न.३ का सामाजिक बिकास मन्त्री युवराज दुलालको विशेष पहलमा भुमी बिहिन माझी समुदायले भुमी प्राप्त गर्ने भएका छन्। सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा न ५ कोरालटारमा महा- बिनासकारी भुकम्पका कारण भुमी बिहिन भएका अल्पसंख्यक माझी जातिलाई सरकारले भुमी उपलब्ध गराउदै स्थानान्तरण गर्ने भएको हो। हाल प्रदेश न.३ अन्तर्गत रहेको सामाजिक बिकास मन्त्रालय एबम रास्ट्रीय पुनर्निर्माण प्राधिकरणको उच्च स्थरिय समितिको विशेष पहल पश्चात् तत्कालै ७३ घर परिवार अल्पसंख्यक माझी बस्तिले आभास निर्माणका निमित्त सरकार द्वारा लाभ प्राप्त गर्ने प्रकृया सुरु गरिएको मन्त्री दुलालले जानकारी दिएका छन्। “हामी यिनै भुमिहिन जनताको निमित्त अहोरात्र खटिएका छौ। तत्कालको लागि केही भुमिहिन जनतालाइ राहत मिले पनि यो प्रर्याप्त भने पक्कै छैन। म आफै यो विषयमा चिन्तित छु मैले मेरो चुनावी क्षेत्रमा चुनाव जित्नु पहिले नै उक्त कुराको प्रतिबद्धता समेत गरेको थिए।जबसम्म अल्पसंख्यक माझी बस्तिले आफ्नो भुमिमा बस्न पाइयो भनेर गौरव गर्ने छैनन् तबसम्म म आफुलाइ सफल भएको मान्ने छैन”मन्त्री दुलालको भनाइ छ। भुकम्पका कारण बिस्थापित भएका बाकी घर परिवारको लागि सरकार एबम त्यस अन्तरगतका सम्बन्धित निकायहरुमा आफुले पत्राचार गरि सकेको र आफ्ना क्याबिनेटका सम्पुर्ण सहयोगीहरुलाई समेत तनमनले काम गर्न निर्देशन दिएको मन्त्री दुलालले बताएका छन्।
बलात्कार आरोपमा ठूलोबुबा र हजुरबुबा पक्राउ
भक्तपुर, कार्तिक १७ । जिल्लाको चाँगुनारायण नगरपालिका-४ संगमटोलकी १३ वर्षीया बालिका आँखाले ठम्याउन सक्दिनन् । कानसमेत राम्रोसँग नसुन्ने उनी आफ्नो शरीरको ख्याल राख्न सक्दिनन् । आँखाले अक्षर ठम्याउन नसकेकै कारण उनी विद्यालयबाट निकालिइन् । कक्षा १ मा अध्ययनरत ती बालिका विद्यालयबाट निकालिएपछि दिनभर एक्लै घरमा बस्न बाध्य भइन् । अभिभावक ज्यालामजदुरीमा लागे । दिनहुँ घरमा एक्लै बसेको देखेका ठूलोबुबा र हजुरबुबा पर्ने दुई व्यक्तिको मनमा पाप पलायो । सुरुमा फकाए । पछि धम्क्याएर चार महिनादेखि दुई वृद्धाबाट पटकरपटक जबरजस्ती करणीमा परेको खुलेको छ । ‘ठूलोबुबाले जिस्क्याउँछ, झम्टिन्छ भन्दै रुन्थिन्,’ उनकी आमाले भनिन्, ‘ठूलोबुबाको त्यस्तो हर्कत कसरी बुझ्नु, सोचाइमा समेत थिएन । उल्टै छोरीलाई नै गाली गरें ।’ एक साताअघि छिमेकीले छोरीलाई घरभित्र तानेर लगेको देखेको र चिच्याएको सुनेपछि मात्र छोरी बलात्कृत भएको थाहा पाएको उनले बताइन् । शरीर सुन्निने, हिंड्न गाह्रो हुने हुन थाल्यो । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले अपांगता भएकी बालिकालाई बलात्कारको आरोपमा छुट्टाछुट्टै स्थानबाट दुई वृद्धालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका ४ संगमटोलका ७० वर्षीय श्यामबहादुर मिजार र सोही स्थानका ७० वर्षीय घटेरो सार्की छन् । ती दुवैले ललाइफकाइ छुट्टाछुट्टै स्थानमा लगेर शारीरिक अशक्त बालिकालाई बलात्कार गरेको पाइएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
टेलिफोन फ्रड, ‘नचिनेको विदेशी नम्बरबाट फोन आए कलब्याक नगर्नुस्’
काठमाडौं, कार्तिक १६ । तपाइँलाई छिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोस् केही अघिसम्म मोबाईल वा ईमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै नेपालीको उजुरी प्रहरी कार्यालयमा आउने गथ्र्यौ । अहिले यस्ता सन्देशका कारण ठगिने नेपाली नगण्य छन् तर, पछिल्लो समय अन्तर्राष्ट्रिय ठगहरुले नयाँ उपाय अपनाउन थालेका छन् । त्यो हो फोन ठगी टेलिफोन फ्रड । यो ठगीमा पीडित बन्न कुनै खातामा रकम जम्मा गर्नु पर्दैन, टेलिफोन कल उठाए वा कलब्याक गरे मात्रै पुग्छ । जापानी भाषामा वाङगिरी भनिने यस्तो तरिकाबाट प्रयोगकर्ता सजिलै ठगिन सक्छन् । जापानी भाषामा वाङगिरीका अर्थ हुन्छ घन्टी बनाउनु र छाड्नु । ठगहरुले विभिन्न देशका मोबाईल प्रयोगकर्तालाई यसैगरी झुक्याईरहेका हुन्छन् । प्रयोगकर्ताको मोबाईलमा एक घन्टी दिने र फोन काट्ने । प्रयोगकर्ताले उत्सुक भएर कल ब्याक गरे उनीहरुको मोबाईलबाट प्रसस्त रकम काटिन्छ । कान्तिपुर दैनिकमा खबर छ ।
खुकुरी प्रहार गरी युवकको हत्या
उर्लाबारी, कार्तिक ३ । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा शुक्रबार राति एक युवकको हत्या गरिएको छ । गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्काको घटनास्थलमै मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए। हत्या गर्ने विष्टलाई प्रहरीले खुकुरीसहित राति नै पक्राउ गरेको मृतकको शव उर्लाबारी–३ स्थित मङ्गलबारे अस्पतालमा परीक्षणका लागि राखिएको छ । -रासस


>
>
>