असिनाले धानबाली सखाप

डोटी, असोज २६ । जिल्लाको जोरायल गाउँपालिका-१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ।असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी खेती नष्ट गरेको स्थानीयवासी मानबहादुर मल्लले जानकारी दिए ।

 

उनले भने ‘असिनाले पाक्नै लागेको धानबाली र तरकारी पूर्ण रूपमा नष्ट गरेको छ ।’ दसैंको मुखमा धानबाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । -रासस

भेडा-च्यांग्रामा चर्को कर, व्यापारी चकित !

कास्की, असोज २३ । मुस्ताङ, म्याग्दी र कास्कीका स्थानीय तहहरूले दसैंमा बेच्न ल्याइएका भेडा–च्यांग्रामा चर्को कर लगाएका छन् । मुस्ताङबाट पोखरासम्म च्यांग्रा ल्याउने क्रममा जिल्ला र स्थानीय तहपिच्छे विभिन्न ठाउँमा कर लिइएको हो ।     ‘मुस्ताङको घाँसामा प्रतिगोटा ५० र तातोपानीमा ३५ रुपैयाँ कर लिए,’ च्यांग्राका हुल लिएर हेम्जा आइपुगेका व्यापारी रमेश खडकाले भने, ‘म्याग्दीदेखि ट्रकले गोटाको एक हजार भाडा लियो। यहाँ आइपुग्न नपाउँदै ठेक्का परेको भनेर दिनको गोटाको १५ रुपैयाँ कर लाग्छ भनिरहेका छन्।’     अव्यस्थित कर प्रणालीले मर्कामा पारेको उनले गुनासो गरे। यहाँ त बिक्री हुन थालेपछि पैसा दिउँला भनेर ठेकेदारलाई पठाएँ,’ उनले भने, ‘दिनदिनै लाग्ने कस्तो कर हो यो ?’ कान्तिपुरमा खबर छ ।

दुधालु गोरु हेर्न आउनेको लर्को अझै घटेन !

सिन्धुपाल्चोक, असोज २१ । पहिले कहींकतै नदेखेको-नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ ।     पुरानागाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । दूधको थप ल्याब टेस्ट गर्न बाहिरी देश पठाउने तयारी गरिरहेका छौ, शेर्पाले भने, ‘दुधालु गोरुले सिन्धुपाल्चोकलाई चिनायो, त्यसको संरक्षणमा हामी लाग्नुपर्छ ।‘ हाल गाउँपालिकाले दूध दिने गोरुसँगै शिवमन्दिर निर्माण कार्ययोजना बनाइरहेको छ । कान्तिपुरमा खबर छ ।

बसमा पत्रकारलाई पनि आरक्षित सिट

काठमाडौं, असोज १९ । नेपालीको महान् चाड दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ ।     साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।     उपत्यकाभित्र लामो दूरीको सञ्चालन अनुमति पाएको उक्त कम्पनीका ४० सिट क्षमताका सबै बसमा सिट नं. १ र २ पत्रकार लागि छुट्याइएको छ ।     उक्त कम्पनीले अन्य बसहरूमा जस्तै महिला, ज्येष्ठ नागरिक, असक्त, बच्चा–आमा र अपाङ्गता भएका व्यक्तिका लागि पनि प्राथमिकताका साथ दुई–दुई सिट छुट्याएको बा५ख ६३९३ का चालक लीलाबहादुर कार्कीले जानकारी दिए ।     दक्षिणकाली र साँखुबाट एकैसाथ बिहान ४ः३० देखि साँझ ५ः३० सम्म प्रत्येक १५ मिनेटमा छुट्ने उक्त कम्पनीले तीनवटा रुटमा बस सञ्चालनको अनमुति पाएको छ ।     पहिलो रुटमा साँखु, जोरपाटी, चावहिल, कोटेश्वर बल्खु हुँदै दक्षिणकाली, दोस्रो रुट साँखु, जोरपाटी, चक्रपथ, कलङ्की, बल्खु हुँदै दक्षिणकाली र तेस्रो रुट साँखु, जोरपाटी, चावहिल, रातोपुल, ज्ञानेश्वर डिल्लीबजार, रत्नपार्क, त्रिपुरेश्वर, बल्खु हुँदै दक्षिणकालीसम्म कायम गरिएको छ । साँखुदेखि दक्षिणकालीसम्मको भाडा रु ९८ तोकिएको छ । -रासस

आम्दानी नभएका ६५ प्रतिशत नेपालीका हातमा मोबाइल

काठमाडौं, असोज १९ । औसत आयका हिसाबले शून्य आम्दानी भएका ६५ प्रतिशत नेपालीको हातमा मोबाइल रहेको देखिएको छ ।   औसतभन्दा बढी आम्दानी हुनेमध्ये ८५ प्रतिशत र औसतभन्दा कम आम्दानी हुने ८३ प्रतिशत नेपालीले मोबाइल बोक्ने गरेको देखिएको छ । मोबाइल बोक्नेमा भारत, पाकिस्तान, बंगलादेश, कम्बोडियाभन्दा पनि नेपाल अगाडि पाइएको छ ।   मोबाइल बोक्ने ५२ प्रतिशत नेपालीको हातमा स्मार्टफोन नेपालमा कुल मोबाइल प्रयोगकर्तामध्ये आधाभन्दा बढीले स्मार्टफोन प्रयोग गर्ने गरेको पाइएको छ । कुल नेपाली प्रयोगकर्तामा ५२ प्रतिशतले स्मार्टफोन, ४० प्रतिशतले आधारभूत फोन र ८ प्रतिशतले फिचरफोन प्रयोग गर्छन् ।     फोन प्रयोगकर्ता नेपालीमा ग्रामीण क्षेत्रमा ४७ प्रतिशत र सहरी क्षेत्रमा ५४ प्रतिशत रहेका छन् । प्रयोगकर्तामध्ये ५६ प्रतिशत पुरुष तथा ४८ प्रतिशत महिलाको हातमा स्मार्टफोन रहेको छ । स्मार्टफोन प्रयोगको हिसाबले नेपाल सर्वेक्षणमा समेटिएका १८ राष्ट्रमध्ये सातौं स्थानमा छ । जब कि २८ प्रतिशत भारतीय, २२ प्रतिशत पाकिस्तानी, २४ प्रतिशत बंगलादेशी र २८ प्रतिशत केन्यालीले मात्रै स्मार्टफोन प्रयोग गर्छन् ।   ६ प्रतिशत नेपाली सामाजिक सञ्जालबाट टाढा कुल जनसंख्याको ३४ प्रतिशत नेपाली इन्टरनेटको पहुँचमा रहेकोमा सामाजिक सञ्जाल चलाउनेको संख्या भने ३२ प्रतिशत रहेको छ । जसबाट इन्टरनेटको पहुँचमा रहेका ६ प्रतिशत नेपाली भने सामाजिक सञ्जालबाट टाढा छन् । नयाँ पत्रिकामा खबर छ ।

जादु देखाउँछु भनेर मुखमा पेट्रोल हाल्दा आगो लागेर एक किशोर घाइते

बैतडी, असोज १८ । जिल्लाको दशरथचन्द नगरपालिका–४, बुदखोलाका १३ वर्षीय सन्तोष तिरुवा आगोले जलेर घाइते भएका छन् ।     जादु देखाउँछु भन्दै मुखमा पेट्रोल हालेर आगो लगाउँदा सन्तोषको मुख र छाती जलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए ।     घाइते सन्तोषको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको उनले जानकारी दिए ।     घटना दिउँसो साढे तीन बजेतिर भएको उनले बताए । गाउँमा आफ्नै साथीहरुलाई जम्मा गरेर जादु देखाउँछु भनेर पेट्रोल मुखमा हालेर बालकले आफैले आगो लगाएको खुलेको प्रहरीले जनाएको छ ।

कैलालीमा बालिका बलात्कार आरोपमा एकजना पक्राउ

घोडाघोडी, असोज १५ । कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।   नगरपालिकाका बालिकालाई घरमा कोही नभएको मौका पारी जबर्जस्ती बलात्कार गरेको आरोपमा कञ्चनपुरको पुर्नवास नगरपालिका–७ का किरण विकलाई प्रहरीले पक्राउ गरेको हो ।   बालिकालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइएको र अभियुक्त किरण विकलाई अनुसन्धानका लागि जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख यक्षराज जोशीले जानकारी दिए । -रासस

शिक्षक हत्या आरोपमा चार पक्राउ

नुवाकोट, असोज १४ । दुप्चेश्वर गाउँपालिका –६ का शिक्षक ५० वर्षीय गणेशबहादुर पण्डितको हत्या गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ ।   शिक्षक पण्डितको शव शुक्रबार बेलुका स्थानीय बासबोटे जङ्गलमा भीरबाट लडेर शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले तिनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले जानकारी दिए । नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक पण्डितको घर नजीकैको भीरबाट खसेर ज्यान गएको हो ।   पक्राउ पर्नेमा २४ वर्षीय सुरजन तामाङ, ३१ वर्षीय राजकुमार तामाङ, ३६ वर्षीय दीपबहादुर तामाङ र १९ वर्षीय महेन्द्र तामाङ छन् । अभियुक्तविरुद्ध आज नै कर्तव्य ज्यान मुद्दा दायर गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । -रासस

श्रीरामको ‘तस्वीर’ सार्वजनिक

भक्तपुर, असोज १४ । गजलकार श्रीराम केसी ‘निशान्त’को गजल सङ्ग्रह ‘तस्वीर’ सार्वजनिक गरिएको छ । चमेरो बचत तथा ऋण सहकारी संस्थाले प्रकाशनमा ल्याएको उक्त गजल आइतबार बालकोटमा आयोजित कार्यक्रममा प्रदेश नम्बर नं ३ का प्रदेश सदस्य शशीजङ्ग थापाले सार्वजनिक गरेका हुन् । उनले मोतिराम भट्ट हुँदै शुरु भएको नेपाली गजल लेखनको यात्रा समृद्ध हुँदै गएको चर्चा गर्दै उक्त विधामा यस पुस्तकले पनि उचार्इ थपेको बताए । उक्त सहकारीका अध्यक्ष ई भीमसेन श्रेष्ठले स्रष्टालाई प्रेरणा दिन, पाठकलाई गजलको स्वाद चखाउन एवं समाज निर्माण अभियानमा सहकारीसँग जोड्न वार्षिक साधारणसभाको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको बताए । गजलकार निशान्तले समय–समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित गजललाई एउटै मालामा उन्दै नेपाली गजल विधाको समृद्धिमा टेवा पुर्याउने सोचका साथ उक्त पुस्तक प्रकाशित गरिएको बताए । रासस

एनजीओको २० अर्ब केमा खर्च ? राज्यलाई थाह छैन

काठमाडौं, असोज १२ । गैरसरकारी संस्था एनजीओले एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी भित्र्याए। त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ।   नेपालका ७ सय २३ एनजीओलाई २०७४-७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले अनुमति दिएको थियो। तिनको अनुगमन गर्ने काम पनि परिषद्कै हो। तर, ऊ चुपचाप बसेको छ।   ‘अर्बौं रकम विदेशवाट आइरहेको छ। त्यो कहाँ र कसरी खर्च भइरहेको छ भन्ने जानकारी नहुनु दुखद हो’, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले भने, ‘अब राज्यस्तरबाटै सशक्त संयन्त्र बनाएर एनजीओमार्फत आउने अर्बौं रकमको सदुपयोग सम्बन्धमा नियमित अनुगमन गर्न जरुरी छ।’ परिषद् उक्त मन्त्रालयअन्तर्गत पर्छ।   यसको अध्यक्ष मन्त्री हुन्छन् । एनजीओहरूले गएको आर्थिक वर्ष १ हजार १ सय ८१ योजना सञ्चालन गरेको कागज देखाएका छन्। त्यसका लागि विदेशबाट ल्याएको २० अर्ब २९ लाख ७४ हजार रुपैयाँ खर्चिएको दाबी गरेका छन्। अधिकांश गोष्ठी, सेमिनार र तिनको नक्कली तथ्यांक बनाएर बजेट सक्ने गरेको सरकारी अधिकारीहरू नै बताउँछन्। अन्नपूर्ण पोष्टमा खबर छ ।

मेयरले हाने लेखा अधिकृतलाई २ झापड !

महोत्तरी, असोज १२ । जिल्लाको भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले हिसाबकिताब नदिएको भन्दै आफ्नै कार्यालयका लेखा अधिकृत पवनकुमार अधिकारीलाई बुधबार कुटपिट गरेका छन् । कर्मचारी संगठनहरूले मेयरलाई कारबाही गर्न बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।   मेयर साहले गत आर्थिक वर्षको भुक्तानी माग गरेपछि आफूले नियमविपरीत हुने जानकारी गराउँदा कुटपिट गरिएको दाबी लेखा अधिकृत अधिकारीले गरे । ‘आर्थिक कारोबारजस्तो संवेदनशील विषयमा मेयरले नियमविपरीत गत आर्थिक वर्षको भुक्तानी माग गरेपछि मैले नमिल्ने जानकारी गराउँदा कुटपिट भयो,’ उनले भने । मेयरले आफूलाई ज्यान मार्नेसम्मको धम्की दिएको उनको दाबी छ ।   मेयर साहले भने गत आर्थिक वर्षको हिसाब पटक-पटक माग गर्दा पनि लेखा अधिकृतले नदिएको बताए । उनले भने, ‘बुधबार दुईजना वडाध्यक्ष तथा केही उपभोक्ता समितिका पदाधिकारीसमेत राखी उहाँलाई गत आर्थिक वर्षका हिसाब पारदर्शी गर्न आग्रह गर्दा अपशब्द प्रयोग गर्नुभयो, अनि मैले दुई झापड हानेको हुँ ।’ उनकै कारणले नगरपालिकाको खातासमेत रोक्का रहेको मेयर साहको दाबी छ ।   यता निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमितिले कर्मचारीलाई हातपात गर्ने मेयरलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई बिहीबार ज्ञापनपत्र बुझाएको छ । कारबाही प्रक्रिया अगाडि नबढे जिल्लाका सम्पूर्ण कार्यालयको आर्थिक प्रशासनसम्बन्धी कामकाज शुक्रबारदेखि बन्द गर्ने कर्मचारीहरूको चेतावनी छ ।   प्रजिअ उमेशकुमार ढकालले ट्रेड युनियनको ज्ञापनपत्र बुझेपछि नियमानुसार गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई निर्देशन दिएका छन् । ढकालले घटनाको सत्य–तथ्य पत्ता लगाई नियममा जे छ सोहीबमोजिम गर्न-गराउन निर्देशन दिएको बताए । नयाँ पत्रिकामा खबर छ ।

बालिकालाई बलात्कार गर्ने खानेपानीका कर्मचारी पक्राउ

दोलखा, असोज १२ । जिल्लाको तामाकोशी गाउँपालिकाकी ५ बर्षीया बालिका बलात्कार गरी फरार रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारी कमल बजगाई पक्राउ परेका छन् ।   २१ भदौमा घरमै खेलिरहेकी बालिका बलात्कार गरेर बजगाई फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय दोलखाको विशेष टोलीले विहीबार राजधानी काठमाडौंस्थित कोटेश्वरबाट बजगाईलाई पक्राउ गरेको दोलखाका प्रहरी प्रमुख डिएसपी वासुदेव पाठकले जानकारी दिए ।   जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार बालिकाको स्वास्थ्य परीक्षणबाट बलात्कार पुष्टि भईसकेको छ । तर, फरार रहेका बजगाईले विभिन्न ब्यक्ति प्रयोग गरी बलात्कारको मुद्धा फिर्ता गराउन र पैसा दिएर मिलाउन पीडित परिवारलाई ठुलो दबाब दिँदै आएका थिए ।   त्यस्तै, खानेपानी कार्यालयमा करारका कर्मचारी बजगाई पहुँचको धाक लगाई करार अवधि सकिए पनि जबर्जजस्त हाजिर गर्दै आएका थिए । नयाँ पत्रिकामा खबर छ ।

मध्य तथा सुदूरपश्चिममा अझै वर्षा हुने, बाढी र पहिरोबाट ११७ जनाको मृत्यु

काठमाडौं, असोज ११ । मुलुकको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै केही दिन वर्षा हुने सम्भावना रहेको हो । विभागका महानिर्देशक डा ऋषिराम शर्मा नेपालले पश्चिमी भागमा अझै पनि पानी परिरहेको बताए ।   पछिल्लो समय सुदूरपश्चिम तथा मध्यपश्चिममा परेको वर्षाका कारण सोही क्षेत्रका विभिन्न भाग डुबानमा समेत परेका छन् । विगतका वर्षको तुलनामा यस वर्ष धेरै वर्षा भएको विभागले जनाएको छ । नेपालमा पाँच महीनाको अवधिमा भारी वर्षा, बाढी र पहिरोका कारण ११७ जनाको ज्यान गएको छ ।   नेपाल सरकार गृहमन्त्रालय राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार वैशाखदेखि भदौसम्म भारी वर्षा, बाढी र पहिरोका कारण उनीहरुको ज्यान गएको हो ।   जसमा पहिरोका कारण ८३, बाढीका कारण १७ र भारी वर्षाका कारण १७ को ज्यान गएको छ भने १८३ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये ५९ पुरुष र ५८ महिला रहेका छन् । केन्द्रका अनुसार ३१० पहिरो, ८० बाढी र २४७ पटक भारी वर्षा भएको छ ।   यस्तै, बाढीमा तीन र पहिरोमा दुई हराइरहेका छन् । बाढीका कारण एक हजार ७८ परिवार, पहिरोका कारण ७३५ र भारी वर्षाका कारण ३५३ घरपरिवार प्रभावित भएको केन्द्रले जानकारी दिएको छ ।   यसैबीच, गृहमन्त्री रामबहादुर थापाले मङ्गलबार राष्ट्रियसभाको बैठकमा वैशाखदेखि भदौ १७ सम्म मुलुकका विभिन्न भागमा एक हजार ५८४ दुःखका घटना भएको बताउनुभएको थियो । उहाँले सोही बैठकमै ४४५ घटना बाढी र पहिरोका कारणमात्र भएको संसद्लाई जानकारी गराउनुभएको थियो ।   सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल नेपालको भू–धरातल कमजोर भएको कारण धेरै बाढी, पहिरो र भूक्षय हुने गरेको बताए । चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरोको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ । वर्षात्को पानी रोक्ने रुख कटान हुँदा सोझै जमीनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको छ । -रासस

भोजपुरमा बलात्कारी धामधम पक्राउ पर्दै

भोजपुर, असोज ११ । जिल्ला प्रहरी कार्यालय भोजपुरले बलात्कारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ ।   बलात्कारका घटना बढ्न थालेपछि अनुसन्धान तथा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरमा प्रमुख प्रहरी नायब उपरीक्षक केशव थेवेले बताए । प्रहरीले भोजपुरका साल्पासिलिछो गाउँपालिका-४ मेम्पाङकी पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा १६ वर्षीय सन्देश भनिने सविन राईलाई पक्राउ गरेको छ ।   राईले असोज ६ गते बालिकालाई करणी गरेको प्रहरीको भनाइ छ । त्यस्तै १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा भोजपुर नगरपालिका-१ डाँडा वोखिमका २५ वर्षीय मदन राईलाई पक्राउ गरेको छ । राईले असोज २ गते बालिकालाई पञ्चमाया राईको कोदोबारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ ।   भोजपुरको हतुवागढी गाउँपालिका-६ माटोखानी टोलबाट एक ४७ वर्षीय अपाङ्ग महिलालाई बलात्कार गरेको अभियोगमा स्थानीय २५ वर्षीय छत्रमान राईलाई पक्राउ गरेको छ । राईले असोज २ गते करणी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिए । -रासस

अधिवेशनको मुखमा प्रेस युनियनका ४२ सदस्यद्वारा सामूहिक राजीनामा

उर्लाबारी, असोज ११ । नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन् । युनियनको आठौं जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । शुक्रबार अधिवेशन हुँदैछ । युनियनको अध्यक्षमा पत्रकार भोजराज बस्नेतले दाबी गरेकामा आफूलाई अध्यक्षमा सर्वसम्मत चयन गर्न पहल गरे पनि सहमति हुन नसकेपछि उनको नेतृत्वमा ४२ सदस्यले राजीनामा दिएका हुन् । जिल्ला अध्यक्षमा पत्रकार कुमार लुइँटेलले पनि दाबी गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङको निर्वाचनका बेला अनन्त न्यौपानेलाई उम्मेदवार बनाउन बस्नेतलाई युनियनको अध्यक्षको जिम्मेवारी दिने भद्र सहमति भएपनि कार्यान्वयनकोे अवस्था नरहेकाले सामूहिक राजीनामा दिएको बस्नेतले बताए । उर्लाबारीका पत्रकार रुपेन्द्र शर्माले जिल्ला समितिमा ४० प्रतिशत सदस्य रहेको पूर्वी मोरङका पत्रकारलाई युनियनले उपेक्षा गरेकाले राजीनामा दिएको बताए । अब स्वतन्त्र रूपमा पत्रकारिता गरिन्छ, शेर्माले भन्नुभयो । शेर्माले केही दिनअघि नेपाली काङ्ग्रेसबाट निर्वाचित उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रेस संयोजकबाट राजीनामा दिएका थिए । जिल्लाको नेतृत्व सदरमुकाम बिराटनगर बाहिर दिन युनियनको नेतृत्व सहमत नभएकाले राजीनामा दिएको युनियनका जिल्ला सदस्य समेत तेजन खड्काले बताए । युनियनका जिल्ला अध्यक्ष मीनकुमार नवोदितले राजीनामा दिएका असन्तुष्ट सदस्यसँग छलफल गरेर सहमतिका साथ अघि बढ्ने बताए । -रासस

सरकारले अश्लील वेबसाइट बन्द गर्दै

काठमाडौं, असोज ६ । सरकारले यौनजन्य अश्लील सामाग्री प्रकाशन गर्ने वेबसाइट बन्द गराउने भएको छ । इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील समाग्रीमा सहज पहुँच हुँदा सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता वेबसाइट बन्द गराउन लागेको हो ।   सञचार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी त्यस्ता वेबसाइट बन्द गरउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ । नागरिक दैनिकमा खबर छ ।   मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार यौनजन्य अश्लील सामग्री आदनप्रदान प्रकाशन र प्रसारणलाई बन्देज लगाएको समेत उल्लेख गरिएको छ ।   मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२१ मा उल्लेख गरिएअनुसारका सामाग्री आएका वेबसाइट बन्द गराइने मन्त्रालयका प्रवक्ता मुकुन्द शर्माले बतए ।