किशोरीलाइ मोटरसाईकलमा लिफ्टदिई बाटैमा बलात्कृत

बुटवल, बैशाख–५ । गएराती गुल्मीको छत्रकोट गाउँपालिकामा एक किशोरी बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले बीहिवार विहान पक्राउ गरेको छ ।

पाल्पाको तानसेन नगरपालिका–५ का ४१ वर्षीय हनुमान भन्ने अमिर मियाँले छत्रकोट गाउँपालिकाकी १५ बर्षिया किशोरीलाई गएराती बलात्कार गरेको आरोपमा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याईएको प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रहरी निरीक्षक खड्काका अनुसार पाल्पाबाट मोटरसाईकलमा गुल्मी तर्फ आउँदै गरेका मियाँले मोटरसाईकल रोकेर ति किशोरीलाई लिफ्ट दिई केही पर एकान्त स्थलमा लगेर बलात्कार गरेको आरोप लागेको छ । घटनाबारे अनुसन्धान भई रहेको खड्काले बताए ।

लिङ्ग घुमाउँदै फागूको बिदाई

भक्तपुर, चैत ६ । भीमसेनको लिङ्गको प्रतीकका रुपमा रहेको काठको लिङ्गलाई काँधमा बोकेर ब्रह्मायणी पुर्‍याई फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा शुरु भएको फागु अर्थात् होली पर्व बुधबार साँझबाट सम्पन्न भएको छ। भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि आज पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होलीलाई बिदाइ गरेका छन। भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रुपमा भीमसेनलाई पुज्दै होली पर्व मनाएको हो। सङ्गीतमा रमाउँदै यौन पर्वका रूपमा भक्तपुरका बासिन्दाले एक सातासम्म होली मनाएका हुन। भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झुण्ड्याएर यौन समागमका रूपमा एक सातासम्म प्रदर्शनमा राखिएको काठबाट निर्मित लिङ्गलाई आज साँझ मन्दिरबाट स्थानीयवासीले काँधमा बोकेर ब्रह्मायणी मन्दिर नजीकै हनुमन्ते खोलामा लगेर पखालेपछि होली पर्व विधिवत् रूपमा विसर्जन भएको हो। काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवं पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याएको थियो। भक्तपुरका संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू भनिने बताउछन। चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु शुरु परम्परा रहेको छ। घुमाएको लिङ्गलाई स्थानीयवासीले ढोग्ने र दान दक्षिणा दिने परम्परा छ। यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको छ। बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुण्ड्याइन्छ। झुण्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रूपमा संरक्षण गरिँदै आएको स्थानीयवासीको भनाइ छ। दक्षिण एशियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतकर्मीको भनाइ छ। चीर स्वायगू अर्थात् लिङ्ग झुण्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ। फागु पूर्णिमाको दिन आज मन्दिरबाट लिङ्ग निकाली काँधमा बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि विधिवत् रूपमा होली समापन भएको छ। छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेको प्रतिस्पर्धा चल्ने गर्दछ। रासस

स्काभेटर दुर्घट्नामा चालकको मृत्यु

ओखलढुंगामा, चैत ६ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका, ४ मा स्काभेटर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाकै १८ वर्षीय चालक जीवन श्रेष्ठ रहेको ओखलढुंगा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त दुर्घट्ना मंगलबार साँझ भएको हो । सडकबाट ८ सय मिटर तल खसेको स्काभेटरका चालकको अवस्था तत्काल पत्ता लाग्न सकेको थिएन । प्रहरीले हराइरहेका चालक श्रेष्ठको शव भीरमा अड्किइरहेको अवस्थामा बुधबार बिहान फेला पारेको बताएको छ । उनको शव भीरमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार विद्युतको पोल राख्न निर्माण स्थल खन्ने क्रममा ना १ क ७७९४ नम्बरको स्काभेटर भिरबाट खसेको हो। चालक श्रेष्ठको शव फेला परे पनि आफन्तले उठाउन मानेका छैनन् । उनीहरुले आयोजनाका ठेकेदार आएर बिमासहितको रकम र क्षतिपूर्ती नदिएसम्म शव नउठाउने अडान राखेका छन् ।

होली मनाउन घर हिँडेका युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु

धादिङ, चैत ६ । होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको बुधबार धादिङको बेनीघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकल र हेटौडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४११४ नं.को ट्रक बेनीघाट रोराङ गाउँपालिका ५ बेनीघाट गोमती पुलमा एक आपसमा ठोक्किँदा पोखरा महानगरपालिका वडा नं.२३ का २० वर्षीय दिपक पुन मगरको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएकोमा उपचारका लागि काठमाडौंतफ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

रवि लामिछाने विरुद्ध ठगी र चेक बाउन्सको मुद्दा लगाउने ईशाको तयारी

काठमाण्डौ,चैत ५। पत्रकार तथा चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रबि लामिछाने पूर्व पत्नी ईशा लामिछानेलाई ठगी गरेको भन्दै बिबादमा तानिएका छन् । पूर्व पत्नी ईशासँग डिभोर्स गर्दा भएको सहमती र सम्झौता पालना नगरी पूर्व पत्नीलाई मानसिक तनाब दिईएको भन्दै ईशाले रबिलाई ठगी र चेक बाउन्सको मुद्दा लगाउने भएकी छिन् । डिभोर्स गर्दा रबिले अमेरिकामा भएको घरको ऋण तिरिदिने भनेर सम्झौता गरे पनि अहिले आएर नतिर्ने बताएका छन् । ईशाको एक्लो कमाईले ऋण तिर्न गार्हो भए पछी ईशाले उक्त घर बेच्ने निर्णय गरेकी छिन् । ‘त्यहाँको पैसा केही पनि तिर्न सक्दिन, तिमीहरु जे गर्नु पर्छ गर’ भन्ने म्यासेज रबिले छोरीलाई पठाएको ईशाले बताईन् । पटक पटक फोन गर्दा रबिले नउठाउने गरेको र छोरी मार्फत पैसा पनि नदिने खबर पठाउने गरेको छ। अहिले रबिले छोरीहरुलाई पनि संपर्क नगर्ने र छोरीहरुले फोन गर्दा पनि नउठाउने गरेको ईशाले बताईन् । टेलिभिजन न्युज २४ मार्फत रबिले ईशालाई सबैथोक दिएर छोडपत्र गरेको दाबी गरेका थिए । छोडपत्रको कागजमा रबिले अमेरिकामा भएको घर ईशालाई दिने र उक्त घरको बाँकी रहेको ऋण तिरिदिने सम्झौता गरेका थिए । रबिले ईशालाई चेक मार्फत भुक्तानी दिएको भए पनि उक्त चेकमा पैसा नभएको र पैसा दिन पनि नसक्ने बताए पछि ईशा थप तनाबमा परेकी छिन् । केस फाईल गर्नको लागि ईशा छिट्टै नै नेपाल आउने भएकी छिन् । छोडपत्र बमोजिमको शर्त पालना नगरे रबिलाई मुलुकी ऐन अन्तर्गत समेत कारबाही हुन सक्नेछ ।

बैतडीको पाटन विमानस्थल निर्माणको काम सुस्त

बैतडी, चैत ४ । बैतडीको पाटन विमानस्थलको कालोपत्रे कार्य यही चैतभित्र सिध्याउने भनिएको भए पनि अझै काम सुरु समेत हुनसकेको छैन । यस अघि गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल कालोपत्रे गर्ने कार्य थालनी नहुँदा स्थानीय बासिन्दा निराश बनेका छन् । ग्याल्वा च्यामलिङ जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा माटो काट्ने, सम्याउनेलगायतका काम सकिएको नागरिक उडड्यन प्राधिकरणका इञ्जिनीयर कविता भट्टले बताइन् । विमानस्थललाई स्तरोन्नति गर्ने कार्यअन्तर्गत अब कालोपत्रेको काम मात्रै बाँकी छ । उनले भनिन्, “विमानस्थल निर्माण शुरु भएपछि इन्धनको अभाव, बेलाबेलामा हुने बन्दा हड्ताल र निर्माण कम्पनीको पनि केही लापरवाहीका कारण समयमै सम्पन्न हुन नसकेको हो ।” विसं २०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनःनिर्माणको काम शुरु भएको थियो । शुरुको सम्झौताअनुसार असारमा काम सक्नुपर्ने भएपनि सम्झौता सकिएको आठ महीना हुँदा पनि विमानस्थल कालोपत्रे हुन सकेको छैन् । पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ । मूल्य अभिवृद्धि करबाहेक रु ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ । पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम शुरु भएर विसं २०३५ देखि हवाई सेवा शुरु भएको थियो । २०५२ सालदेखि भने विमानस्थल बन्द रहेको छ । पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । विसं २०५८ मा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो । पाटन विमानस्थल सञ्चालन भएमा दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सजिलो हुने पाटनका स्थानीय लोकेन्द्रप्रसाद पन्तले बताए । पश्चिम टुडेबाट

निम्बस एजुकेसनद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग

कैलाली, चैत ३ । जिल्लाको धनगढी स्थित निम्बस एजुकेसन एन्ड ट्रेनिङ सेन्टरले दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । निम्बस एजुकेसन धनगढीका सञ्चालक हेमन्त बोहराले कार्यालयको तर्फबाट दृष्टि फाउन्डेसनलाई साढे १० हजार बराबरको अत्यावश्यक खाद्यान्न सहयोग गरेका छन् । सञ्चालक बोहराले ४ बोरा चामल, २० किलोग्राम नुन, तेल ५ लिटर, २० ओटा ब्रस, साबुन, कोल्गेट, महिला प्याड २० वटा, चाउचाउ १ कार्टुन, दाल ५ किलो, सोडा ५ किलो गरी साढे १० हजार बराबरको सामग्री फाउन्डेसन सञ्चालीका कल्पना भट्टलाई हस्तान्तरण गरे । सञ्चालनमा रहेको दृष्टि फाउन्डेसनले मानसिक सन्तुलन गुमाएका २० जना महिला, यौन हिंसामा परेका, सहाराविहीन भएका र अन्य हिंसामा परेका महिलालाई फाउन्डेसनले आश्रय दिइरहेको छ । फाउन्डेसन सञ्चालन भएदेखि मानसिक सन्तुलन गुमाएका पाँच जनालाई पुनस्र्थापना गरिएको सञ्चालिका भट्टले जानकारी दिइन् । हाल फउन्डेसनमा चन्द्रा तिरुवा र ललिता चौधरीले स्वयम् सेवकका रूपमा मानसिक सन्तुलन गुमाएका महिलालाई हेरचाह गरिरहेको सञ्चालिका भट्टले जानकारी दिइन् ।

विद्यार्थीले नै जब शिक्षकलाई खुकुरी देखाए….

नवरपरासी । नवलपरासीको एउटा विद्यालयमा शिक्षक एवम् पूर्वप्रधानाध्यापक खुकुरी देखाउँदै विद्यालय पुगेपछि विद्यालयमा त्रास छाएको छ । विद्यालयका प्रधानाध्यापकबाट राजिनामा दिन परेपछि आक्रोशमा आएका जितबहादुर चौधरीले बुधबार एक्कासी खुकुरी लिएर विद्यालय पुगेका थिए । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका २ हरपुर माविमा पूर्वप्रधानाध्यापक समेत रहेका चौधरी विद्यालयमा श्रीमती र छोरीसहित होहल्ला गर्दै नयाँ शिक्षकमा नियुक्त भएका सेवरी हरिजनसँग विवाद गर्न पुग्दा विद्यालयका अन्य शिक्षकहरुले प्रतिवाद गर्दा उनले कक्षाकोठामै श्रीमतीसँग रहेको झोलाबाट खुकुरी झिकेका थिए । उनले लिएको खुकुरी खोस्ने क्रममा एकजना विद्यार्थीको हातमा चोट पनि लागेको स्थानीयले बताएका छन् । पूर्वप्रधानाध्यापक एवम् हालका शिक्षकसमेत रहेको चौधरीले कक्षाकोठामै खुकुरी देखाएर ताण्डव गर्न थालेपछि उनलाई नियन्त्रणमा लिन प्रहरी नै विद्यालय हाता भित्र पुग्नु परेको थियो । विद्यालय व्यवस्थापन समितिको निर्णय विरुद्ध दुई नयाँ शिक्षक नियुक्तिका विषयलाई सदर गर्न नखोजेका चौधरीले सोही विषयमा विवाद चर्कदै गएपछि उनलाई समितिले प्रधानाध्यापकबाट हटाएर करार शिक्षक दिनेश कुमार गुप्तालाई निमित्त प्रधानाध्यापकको जिम्मा दिएको थियो । यो समाचार राजधानी दैनिकले छापेको छ ।

जब पूर्व प्रेमीकाले नै अश्लिल तस्बिर पठाइन्…..

काठमाडौं, फागुन २५ । गएको महिना अर्को घटना महाशाखामा आयो। कीर्तिपुरमा डेरा बस्ने २२ बर्से युवक पूर्वप्रेमिकाबाट पीडित थिए। एक युवतीसँग फेसबुकमै उनको चिनजान भयो। युवती राजधानीको एउटा एजुकेसन कन्सल्टेन्सीमा काम गर्थिन्। दुवै कहिले गोदावरी त कहिले थानकोट पार्क घुम्न गए। उनको डेरामा शारीरिक सम्पर्क पनि भयो। दुवैले सहमतिमै यौन क्रियाकलापका फोटो खिचेका थिए। युवकले अर्कैसँग विवाह गरे। त्यसको एक सातापछि प्रेमिकाले उनीसहित पत्नीको फेसबुकमा पहिलेका नग्न तस्बिर पठाइन्। दम्पती प्रहरीमा पुगे। प्रहरीले ती युवतीलाई पक्राउ गर्‍यो। उनको एउट मात्र गुनासो थियो। बिहेपछि पनि युवकले उनलाई बिहे गर्छु भन्दै डाँकर बारम्बार यौन सम्पर्क राखेपछि तस्बिर पठाएको बताइन्। गोपनीयताका लागि मुद्दामामिला नगर्ने बताएपछि प्रहरीले उनीहरूलाई सम्झाइबुझाइ गरेर छाड्यो। यस्तै, राजधानीको एउटा कलेजमा स्नातक तह अध्ययनरत एक युवती शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा छट्पटाउँदै थिइन्। फेसबुक म्यासेन्जरमा उनका पूर्व ब्वाइफ्रेन्डले पठाएको सन्देश ज्यादै उच्छृंखल थियो। सुरुमा दुवैबीच राजीखुसीमा शारीरिक सम्पर्क भयो। युवकको आर्थिक स्थिति बुझेपछि उनले परिवारकै सल्लाहमा अर्को युवकसँग बिहे गरिन्। बिहे भएको केही दिनमै उनका पतिको फेसबुक म्यासेन्जरमा पूर्वप्रेमीले पहिलेका शारीरिक सम्पर्कका तस्बिर पठाए। दैनिकजसो म्यासेन्जरमा उत्छृंखल फोटो आउन थालेपछि पतिसहित उनले प्रहरी गुहारे। प्रहरीले पूर्वप्रेमीलाई पक्राउ गर्‍यो। उनी प्रहरीसँग भन्दै थिए, ‘मलाई छाडेर अर्कैसँग बिहे गरेपछि रिस थाम्न नसकेर फोटो पठाएको हुँ।’ प्रहरीले ती युवकलाई विद्युतीय अपराधमा मुद्दा दर्ता गर्न परिसर पठाएको छ। सीआईबी र महाशाखामा यस वर्ष माघसम्म परेका उजुरीमध्ये फेसबुकका २५३, यूट्युबका १९, अनलाइन वेबपेजका १०, इमोका ९, इन्स्टाग्रामका १० र ट्विटरका ३ छन्। महाशाखामा परेका उजुरीमध्ये यी दुई घटना फेसबुक दुरूपयोगका प्रतिनिधि मात्र हुन्। कलेज ड्रेसमै दैनिक ७–१० युवायुवती फेसबुक दुरूपयोगका उजुरी गर्न महाशाखा पुग्छन्। महाशाखामा दर्ता भएकामध्ये अधिकांश उजुरीमा १६ देखि २५ वर्ष उमेर समूहका युवा संलग्न छन्। फेसबुक र म्यासेन्जरमार्फत नग्न र अर्धनग्न तस्बिर साटासाट गर्ने, उत्छृंखल सन्देश पठाउने घटना पछिल्ला दिन बढेका छन्। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

सिरहामा बोक्सी आरोपमा जिउँदै जलाउने प्रयास

सिरहा, माघ २६ । सिरहामा एक महिलामाथि बोक्सीको आरोपमा कुटपिट गरी जिउँदै जलाउने गरिएको घटना बाहिर आएको छ । जिल्लाको नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी ४५ वर्षीया बौवावती महतोमाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको रहस्य बाहिर आएको हो । छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै उनी कुटिएकी हुन्। घरमा गाईबस्तुलाई घाँसपानी गरिरहेका बेला बिहीबार अपराह्न हुल बाँधर आएका छिमेकीले लछारपछार गर्दै कुटपिट गरेको पीडित बौवावतीले बताइन्। कुटपिटबाट उनको शरीरका विभिन्न ठाउँमा निलडाम पर्नुका साथै चोटपटक लागेको छ। घटनाबारे जानकारी पाएर पनि इलाका प्रहरी कार्यालय मिर्चैयाले दोषीलाई पक्राउ गरेको छैन। लिखित जाहेरी नआएको कार्यालको जिकिर छ। स्थानीय अमिरी सदायका १९ वर्षीय छोरा सुजितकुमार सदायलाई भूतप्रेत लगाएको आरोप लगाउँदै सुजितकी आमा, दिदीबहिनी लगायतले लछारपछार पार्दै चौतारामा पुर्‍याई कुटपिट गरेको बौवावतीले सुनाइन्।

मञ्चमै ढलेका गाउँपालिका अध्यक्ष नेम्वाङको निधन

इलाम, माघ २६ । मञ्चमै ढलेर बेहोस भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको निधन भएको छ । पाँचथरको घुर्बिसेमा आयोजित एक कार्यक्रममा सहभागी भएकै अवस्थामा अचानक ढलेका नेम्वाङलाई उपचारका लागि इलाम अस्पतालतर्फ ल्याउने क्रममा निधन भएको सहयोगी मनिचन्द्र चेम्जोङले जानकारी दिए । इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पवनजंघ रायमाझीका अनुसार अस्पतालमा आउँदा नेम्वाङको मुटुको चाल र रक्तसञ्चार बन्द भइसकेको थियो। घुर्बिसे पञ्चमीमा आयोजित तीनदिने क्षमता विकास तालिमको समापन कार्यक्रममा सहभागी भएका उनी मन्तव्य राखेर आसनमा नपुग्दै ढलेका थिए । नेम्वाङ नेपाली कांग्रेसबाट निर्वाचित हुन्।

अत्तरियामा युवकको हत्या गर्ने मुख्य अभियुक्तसहित ४ जना पक्राउ

धनगढी, माघ ७ । कैलालीको अत्तरियामा गत शनिवार युवक हत्याको मुख्य अभियुक्तसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शनिवार साँझ अत्तरियामा आयोजित भैरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवबाट फर्किने क्रममा गोदावरी नगरपालिका १ का २० वर्षीय अरुण भट्टको धारिलो हतियार प्रहार गरी हत्या गर्ने र सघाउनेलाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो। पक्राउ पर्नेका मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ का २१ वर्षीय विनोद ऐरले भट्टलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले बताए। डेबिट ऐरले मुख्य अभियुक्तलाई मोटरसाइकलमा राखेर भगाएको, मन्जु चौधरी र लोकेश खत्रीले आफ्नो डेरामा लुकाएको आरोपमा पक्राउ गरिएको तिम्सिनाले जानकारी दिए। उनीहरु चारै जनालाई आइतवार राती धनगढीमा रहेको मन्जु चौधरी र लोकेश खत्रीको डेरामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो। पुरानो रिसइबीका कारण भट्टको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । देशसंचारबाट  

प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)

काठमाडौँ, माघ ७ । प्रतिनिधिसभाको आजको बैठक भर्खरमात्र सुरु भएको छ । हेर्नुस लाइभ :

आर्सेनिकयुक्त पानी पिउन बाध्य नेपालगंजका जनता !

बाँके, माघ ७ । बाँकेको नेपालगंज उपमहानगरपालिका २३ भज्जुपूर्वा गाउँका बसिन्दा अहिले पनि आर्थिक अभावका कारण आर्सेनिकयुक्त पानी पिउन  बाध्य छन् । नेपाल एक्रा एजुकेशनल फाण्डेशनले भज्जुपूर्वाका स्थानीयहरु संग गरेको छलफलमा स्थानीय रियाज अन्सारीले आर्थिक अभावका कारण आरसेनिक युक्त पानी पिएर जीवन यापन गरी रहेको बताए । उनले गाँउमा विगतमा केही संस्थाहरुले धारा जडान गराए पनि पानीको गुणस्तर मापन नगरी २० फूट गहिराइमा नै ह्याण्डपम्प जडान गरेकोले उक्त पानीबाट हरेक वर्ष बालबालिकाहरु बिरामी पर्ने गरेको बताए । भज्जुपूर्वाका रहिसले स्थानीय सरकार बने पनि आफूले अनुभूति गर्न नपाएको बताए । उनले वडाबाट प्रदान गर्ने धारा समेत २० फूटमा जडान गर्ने गरिएकोले उक्त धाराको पानी समेत स्वास्थ्यका लागि हनिकारक रहेको बताए । छलफलमा सहभागि रहेका मुस्लिमहरुले आफूहरुका लागि स्वच्छ खानेपानीको व्यवस्था गरिदिन नेपाल एक्रा एजुकेशनल फाउण्डेशन संग माग गरेका थिए । एक्राले पानीको समस्याको सामना गरीरहेका व्यक्तिहरुका घरमा जडान गर्दै आएको छ । एक्राले बाँकेको जानकी गाँउपालिकामा ५१,डुडुवागाँउपालिकामा १७ घरमा धारा जडान गरेको कार्यक्रम संयोजक पवन सिहले बताए । नेपाल एक्रा एजुकेशनल फाउण्डेशनका अध्यक्ष शक्ति कुमार बंशकारले भज्जुपूर्वा मानव बिकासमा पछाडि पर्नुमा सुरक्षित पानी र सरसफाई सेवाको अभावका कारण मानिसहरुको अकालमा ज्यान जाने गरेको बताउँदै स्वच्छ पानीका लागि एक्राले पहल गर्ने बताए । उनले स्थानीय निकाय सँग समन्वय गरेर भज्जुपूर्वामा केही महिना भित्र नै धारा जडान गर्ने बताएका छन् ।

ठमेलको डान्सबारमा कुटपिट, २ जना पक्राउ

काठमाडौं, माघ ६ । राजधानी स्थित ठमेलको एक डान्सबारमा कुटपिट भएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको छ । ललितपुर सातदोबाटो घर भएका ४३ वर्षीय दिल गुरुङ र सुनाकोठी बस्ने ३२ वर्षीय निराजन महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । ठमेलस्थित चाहाना डान्सबारभित्र उनीहरुले तारकेश्वर नगरपालिका–६ गोलढुङ्गा बस्ने ३५ वर्षीय मोहन पुरुवाल र काठमाडौं मनमैजु बस्ने सिन्धुपाल्चोकका २८ वर्षीय रामकृष्ण भण्डारीलाई कुटपिट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मन्थलीमा बस दुर्घटना एकको मृत्यु २५ घाइते

काठमाडौ,माघ ६।रामेछापको मन्थली १ मच्छेडाँडीमा बस दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन। ओखलढुंगाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको अरनिको यातायात सेवा समितिको बा ४ ख ४२१० नम्बरको बस आइतबार दिउँसो पल्टिएर दुर्घटना भएको हो। ओरालोमा गुडिरहेको बस अकस्मात कच्ची सानो सडकमा चढ्ने बित्तिकै पल्टिएको थियो। चालकले ब्रेक फेल भएकाले कालोपत्रे सडकबाट उकालो सानो बाटोमा बस चढाएको अनुमान प्रहरीले गरेको छ। घाइतेहरुलाई तामाकोशी सहकारी अस्पतालमा लगिएको छ।केही गम्भिर घाइतेहरुलाई काठमाडौं पठाइएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवका अनुसार मृतकको पहिचान हुन सकेको छैन। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।