अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं आएपछि
काठमाण्डौं । अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर एमसिसीसँग जोडेर विभिन्न किसिमका चर्चा गरेकाे सामाजिक संजाल तिर देखिएको छ ।
विमानस्थल स्रोतका अनुसार शुक्रबार काठमाडौं आएको कार्गो जहाज अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री लिएर आएको थियो ।
आज आएको जहाजले सधैं झैं कूटनीतिक निकाय र दूतावासका सामग्री लिएको आएको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थल स्रोतका अनुसार यस्तो जहाज यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गरेको थियो ।
विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएर जहाज पौने १२ बजे फर्किसकेको छ।
रत्ननगरमा मोवाइल पत्रकारिता तालिम सुरु
रत्ननगर। चितवनको रत्ननगरमा पत्रकारहरुको लागि मोवाइल पत्रकारिता तालिम सुरु भएको छ । उपमेयरसंग पत्रकार कार्यक्रम अन्तर्गत रत्ननगर नगरपालिकाको आयोजनामा दुई दिने तालिम सुरु भएको हो । प्रविधिको उच्चतम प्रयोग गरी तत्काल नागरिकलाई सुचना प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै मेयर नारायण वनले पत्रकारहरुको क्षमता बृद्धि गर्दै उनीहरुलाई थप व्यवसायिक बनाउन तालिम आयोजना गरिएको बताए । मेयर वनले नगर विकासमा भएका राम्रा कुराहरुलाई प्राथमिकता दिन र हुन नसकेका कुराहरुलाई सचेत गराउने गरी समाचार प्रकाशित गर्नु पत्रकारको जिम्मेवारी रहेको बताए । उपमेयर विमला दुवाडीले मल्टिमिडियाको क्षेत्रमा पत्रकारहरुलाई दक्ष बनाउन तालिम आयोजना गरिएको भन्दै नागरिकलाई सुसुचित बनाउने काममा पत्रकारहरु जिम्मेवारी पूर्वक लाग्नुपर्ने बताइन । कार्यक्रममा मोवाइलबाट अनलाइन सञ्चार माध्यममा समाचार प्रकाशित गर्ने तरिका,भिडियो सम्पादन,फोटो इडिटिङ,भाषा सम्पादन,भिडियो छायाङ्कन,अडियो मिक्सिङ कला लगायतको विषयमा प्रशिक्षण दिइएको छ । विविसी एक्सन मिडियाका पूर्व सम्पादक भूवन तिमिल्सिनाले तालिममा प्रशिक्षण दिएका हुन । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,सामाजिक विकास समितिका संयोजक तथा वडाध्यक्ष केशब आचार्य,महिला विकास अधिकृत दीपा घिमिरे लगायतले मन्तव्य राखेका थिए । तालिममा पूर्वी चितवनलाई कार्यक्षेत्र बनाएर काम गर्ने २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
पूर्ण रुपमा स्मार्ट हट्यो लकडाउन
काठमाण्डौं । एक महिना लामो स्मार्ट लकडाउन आजदेखि पूर्ण रुपमा हटेको छ। कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै जारी गरिएको बन्दाबन्दी खुलेसँगै आजदेखि शैक्षिक संस्थादेखि रात्रिकालीन व्यवसायसम्म सञ्चालनमा आउने भएका छन्। रेस्टुरेन्ट, डान्स बार लगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुनेछन् । डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी राति १० बजेसम्म सञ्चालन हुन दिने कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस थियो। सिसिएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई गत साता सिफारिस गरेको थियो । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको छ । त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस गरिएको छ ।
नेपालमै पहिलो पटक साइकल लिएर प्याराग्लाइड
पोखरा । विश्व साइकल यात्री अजित बराल पोखराको आकाशमा साइकल लिएर उडेका छन् । पोखरा महानगर पालिका वडा न.–६ लेकसाइडमा बसोवास गर्ने अजित पोखरालाई साइकल सिटी बनाउनु पर्ने बताउछन् । संसारका ७० बढी देशमा साइकलमा घुमिसकेका बरालले पोखराको आकाशमा साईकलसँगै उडेर पोखरालाई साइकल सिटि बनाउन यसो गरेको बताए । उनले भने यसले सबैलाई पोजेटीभ म्यासेज जाओस भनी साइकल लिएर उडेको हुँ । स्वास्थ्यको लागी साइकल चलाउनु पर्छ। नेपालमै पहिलो पटक साइकल लिएर प्याराग्लाइड गर्ने अजितलाई जोखिम मोलेर विष्णु नामका एक प्याराग्ईडरले उडाएका थिए ।
चितवनको रत्ननगर वडा नं ७ वालमैत्री तथा वालश्रम मुक्त घोषणा
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ७ लाई वालमैत्री तथा वालश्रम मुक्त घोषणा गरिएको छ । बालमैत्री स्थानीय सासन कार्यान्वयन निर्देशिक २०७८ अनुरुप ५१ वटा सुचक पुरा गरी सो वडालाई शुक्रवार बालमैत्री घोषणा गरिएको हो । वालमैत्री घोषणा हुने सो वडा सातौ हो । यस अघि वडा नं ३,५,१०,१४,१५ र १६ लाई वालमैत्री वडा घोषणा गरिसकिएको छ । १६ वटा वडा मध्ये बाँकी रहेका ९ वटा वडालाई बालमैत्री तथा वालश्रम मुक्त घोषणा गरी चैत महिना भित्र समग्र नगरलाई नै वालमैत्री नगर घोषणा गर्ने तयारी रहेको मेयर नारायण वनले बताए । वडालाई वालमैत्री तथा वालश्रम मुक्त घोषणा गर्नुपूर्व बालश्रम मुक्त,वाल विवाह,बहुविवाह,पूर्ण खोप,जन्मदर्ता लगायतका ५१ वटा सुचक पुरा गरिएको छ । सौराहामा आयोजित एक औपचारिक कार्यक्रमका बीच वागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले वालमैत्री घोषणा गरेका हुन । कार्यक्रममा मन्त्री श्रेष्ठले मेयर नारायण वन र वडाध्यक्ष लालबहादुर भट्टलाई वडा वालमैत्री भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । घोषणा कार्यक्रममा वडा भित्रका वालक्लवलाई खेलकुदका सामाग्री हस्तारण समेत गरिएको छ । वालमैत्री वडा घोषणा गर्नुपूर्ण वडा भित्र रहेका वालश्रमिकको उद्दार गरी उनीहरुलाई शिक्षा,अभिभावकको आयआर्जनको लागि सीपमुलक तालिम तथा सामाग्री सहयोग,पूर्ण खोप,जन्मदर्ता लगायतका कामहरु गरिएको वडाध्यक्ष भट्टले बताए । वालमैत्री वडा कार्यान्यवनको लागि सो वडाले पञ्तबर्षीय रणनीतिक कार्ययोजना बनाएको छ । कार्ययोजनामा वडा भित्र विकास निर्माणका काम गर्दा वालमैत्री बनाउने,वालवालिकाको विकासको लागि प्रयाप्त बजेट विनियोजन गर्ने,वालश्रम भए नभएको विषयमा निरन्तर अनुगमन गर्ने लगायतको विषय समाबेश गरिएको वडाध्यक्ष भट्टले बताए । कार्यक्रममा वडा भित्रको परिचय सहित वालवालिकाको स्थितिपत्र पुस्तकको विमोचन समेत गरिएको थियो । कार्यक्रममा मेयर वनले बालमैत्री नगर घोषणा गर्नुपूर्व वालवालिकालाई लक्षित गरी वडा नं ८ मा वाटर किङडमको प्रक्रिया सुरु भइसकेको बताए । दुई महिना भित्र कुनै पनि हालतमा नगरलाई वालमैत्री घोषणा गर्ने वटमलाईन रहेको भन्दै उनले वाँकी रहेका वडाहरुलाई एकमुष्ट घोषणा गरी नगरलाई वालमैत्री घोषणा गरिने बताए । उपमेयर विमला दुवाडीले अन्य नगरबाट अबलोकन गर्न आउने गरी रत्ननगरलाई नमुना वालमैत्री नगर बनाउने बताइन । मन्त्री श्रेष्ठले विकास निर्माणको लगवा वालवालिकाको बृद्धि विकास,उनीहरुको अधिकार सुनिश्चितताले मात्र समग्र विकासले सार्थकता पाउने बताए । सामाजिक रुपान्तरणको एउटा महत्वपूर्ण अंग वालवालिका रहेको भन्दै उनले बालबालिका माग र उनीहरुको समस्या सामधान गर्न प्रदेश सरकार तयार रहेको बताए । वालमैत्री पूर्वाधार निर्माण गर्न सके नेपाल अन्तराष्टिय मोडलको बन्ने उनको भनाई छ । कार्यक्रममा रत्ननगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्मा,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,संघका पूर्व अध्यक्ष तथा बाल संरक्षण तथा वालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक ज्ञानबहादुर विसुराल, नेकपा एमाले जिल्ला कमिटी सदस्य विन्दा कार्की, महिला विकास अधिकृत दीपा घिमिरे,नगर स्तरीय वाल क्लवकी अध्यक्ष रोनिसा घिमिरे,बाघमारा वनका अध्यक्ष जित बहादुर तामाङ,रेवान सौराहाका महासचिव सुर्यबहादुर रिमाल,वडा सदस्य सोमबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए । वडाध्यक्ष भट्टको अध्यक्षतामा भएको कार्यक्रममा वडा स्तरीय वालक्लवकी अध्यक्ष अस्मिता भट्टले स्वागत मन्तव्य तथा वडा सचिव पदम सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम उद्घाटन हुनुपूर्व सौराहामा सचेतनामुलक शोभायात्रा समेत निकालिएको िथयो ।
पशुपतिनाथ मन्दिर खुलेसँगै,बढ्यो भक्तजनको चहलपहल
काठमाण्डौं ।पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिएको छ । मन्दिर कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो हप्तादेखि बन्द रहेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौको यही माघ २३ गतेको आदेश अनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च,लगायतका स्थलमा जनस्वास्थ्य मापदण्डपालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भए अनुसार आज बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गरेको हो । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डपालना गरेर आजदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको कोषले जनाएको छ । कोरोना सङ्क्रमण तेस्रो लहरका कारण मन्दिर बन्द भएपछि माघ ५ गतेदेखि बिहीवारसम्म नित्य पूजामात्र हुँदै आएको थियो । तिन हप्ता पछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानै देखि भक्तजनको भिड लागेको छ । प्रशासनको आदेश अनुसार ५० ५० जना भक्तजनलाई स्वास्थ्य मापदण्ड पालना गरी मन्दिर प्रवेश गराइएको छ। महाशिवरात्रि नजिकिएपछि पशुपति क्षेत्रमा भक्तजनको चहलपहल पनि बढ्ने गर्दछ । यसवर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ। महाशिवरात्रिमा पशुपत क्षेत्रमा भक्तजनको भिड लाग्ने गरेको छ । शिवरात्रिमा पशुपतिको दर्शन गर्न नेपाल,भारत लगाएका विभिन्न मुलुकबाट हिन्दु दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।
हास्य कलाकार “पाँडे”लाई मातृ शोक
काठमाण्डौं । चर्चित हास्य कलाकार तथा निर्देशक अर्जुन घिमिरे “पाँडे”लाई मातृ शोक परेको छ । उनकी आमा विमला घिमिरेको शुक्रबार बिहान साढे दुई बजे ग्रिनसिटी अस्पतालमा निधन भएको हो । ६८ बर्षकी विमलालाई ९ महिना अगाडि मस्तिस्कघातको कारण ग्रिनसिटी अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा केही अप्रेसन गरिएको थियो । अप्रेसनपछि विमला कोमामा पुगेकी थिइन् । विमलाको आजै अन्त्येष्ठि गरिने परिवारले जनाएको छ । अजुनका साथी कुमार कट्टेल जिग्रीले श्रद्धान्जली दिदै भनेका छन् “प्रिय साथी मेरो सारथी अर्जुन घिमिरे “ पाडे “ ज्युको ममतामयी आमा को निधनको खबर ले स्तब्ध बनाएको छ आमाको चिर शान्तिको कामना गर्दछु। आमाको बैकुण्ठबास होस।शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् भन्ने कामना गर्दछु। ” तेस्तै, विमलाको निधनप्रति विभिन्न सेलिब्रेटीले सामाजिक संजाल मार्फत शोक ब्यक्त गरिरहेका छन् ।
धनुषामा ४ सय ६७ घर परिवारलाई लालपूर्जा वितरण
काठमाण्डौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई तिब्र बनाइएको बताएकि छन् । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गा.वि.समा रहेको गाउँब्लकमा रहेकाहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोहीपनि वास्तविक भूमिविहिन भूमि पाउनबाट बन्चीत हुन नपरोस भनेर अभियान नै सञ्चालन गरेर सरकारले लालपूर्जा वितरणको काम शुरु गरेको बताईन् । मन्त्री श्रेष्ठले जमिन भएर पनि लालपूर्जा नहुदा भूमिविहिन बनिरहेकाहरुको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै बास्तविक भूमिहिन कोही पनि भूमि प्राप्त गर्नबाट बन्चीत नहुन र गलत मान्छेले भूमि नपाउन भन्नेमा सवै चनाखो बन्नु पर्नेमा पनि जोड दिएकि थिईन् । मन्त्री श्रेष्ठले लालपूर्जाको अभावमा नागरिकता समेत प्राप्त नगर्ने र राज्यबाट प्राप्त हुने अधिकार उपभोग गर्न नपाइरहेको अवस्थाको अन्त्य हुनु पर्ने बताईन् । उनले भूमि विहिनहरुलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर सरकार अगाडी बढिरहेको भन्दै संविधानमा व्यवस्था भएको भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापनको काम समेत शुरु भइसकेकोले कोहि पनि भूमिहिान भएर बस्नु नपर्ने बताईन् । उनले राष्ट्रिय भूमि आयोगले हालसम्म २८ जिल्लामा काम शुरु गरिसकेको र ६८ स्थानीय तहसँग सम्झौता गरेर काम भइरहेको जानकारी दिईन् । यसै क्रममा यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउपालिका, चितवनको इच्छाकामना गाउँपालिका र सिरहाको गाउँब्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकि थिईन् । २०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुदा गाउँव्लकका रुपमा रही आफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिदै आएकि छन् ।
ट्याक्सीभित्र चालक मृतवस्थामा फेला
काठमाण्डौं । ललितपुरको लेलेमा ट्याक्सी भित्र चालक मृतावस्थामा फेला परेका छन् । बिहीबार बिहान पौने ११ बजेको समयमा बागमती गाउँपालिका वडा नम्बर ६ घर भइ तिलगंगा बस्ने ४८ वर्षीय वीरबहादुर बम्जन मृतावस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। गोदावरी नगरपालिका–५ स्थित लेले भञ्ज्याङको सडक छेउमा पार्किङ गरेको राखिएको बम्जनकै ट्याक्सीभित्र उनी मृतावस्थामा फेला परेका थिए । ट्याक्सीभित्र शव भेटिएपछि स्थानीयले गरेको खबरको आधारमा महानगरीय प्रहरी वृत्त चापागाउँबाट घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीले ट्याक्सी बाहिर विषको बट्टा भेटिएको छ भने हाल प्रहरी निरीक्षक राजेन्द्र थापाको कमाण्डमा ५ जनाको टोली खटिएर अनुसन्धानका लागि खटिएको छ ।
द्वन्द्वकालीन मुद्दा उचालेर सभामुखमाथी भएको आक्रमण, देशलाई द्वन्द्वतिर धकेल्ने उद्देश्यद्वारा प्रेरित : रमेश मल्ल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका युवा नेता रमेश मल्लले सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालीन मुद्दालाई उचालेर सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्रको गम्भीर अभिव्यक्ति भएको बताएको छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिब समेत रहेका मल्लले द्धन्द्धकालीन मुद्दालाई उचालेर सभामुखमाथी आक्रमण गर्नु प्रतिक्रियावादी षड्यन्त्रो गम्भीर अभिव्यक्ति भएको बताए । साथै उनले यस्तो कार्य शान्ति, संविधान र समृद्धिको नेपाली मौलिक बाटोलाई ध्वंस गर्ने, परिवर्तनको मार्गबाट देशलाई विचलित गराउने र मुलुकलाई बहुआयामिक द्वन्द्वतिर धकेल्ने उद्देश्यद्वारा प्रेरित भएको बताए । जनयुद्ध, जन(आन्दोलन, विस्तृत शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र हुदै नयाँ संविधानमार्फत संस्थागत हुदै गरेको नेपालको राजनैतिक परिवर्तनलाई ध्वस्त पार्न सुरु देखिनै एकथरी शक्तिहरु सकृय रहदै आएका तिनै शक्तिहरु अहिले सभामुख सापकोटामाथि खनिएको उनको निष्कर्ष छ । ‘जनप्रतिनिधिमूलक संस्थामाथि प्रहार गरेर जन्मिएको प्रतिगमनलाई परास्त गरि आज मुलुक पुनः निर्वाचनको प्रक्रिया हुदै शान्ति र संविधानलाई नयाँ उचाइमा क्रियाशिल गर्न सक्रिय रहेको बेला सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालीन मुद्दालाई उचालेर सम्माननिय सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्रको गम्भीर अभिव्यक्ति हो’, प्रचण्डका स्वकिय सचिब मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले यस्तो कार्य शान्ति, संविधान र समृद्धिको नेपाली मौलिक बाटोलाई ध्वंस पार्ने र मुलुकलाई बहुआयामिक द्वन्द्वतिर धकेल्ने उद्देश्यद्वारा प्रेरित भएको भन्दै सामान्य विषय नभएको पनि बताएका छन् । ‘मल्लले यो विषय सामान्य छैन । यो राष्ट्रिय सिमा भित्रबाट मात्र निर्देशित पनि छैन । यसले लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिलाई विभाजित गर्ने, क्रान्तिकारी जनसमुदायलाई अलगावमा पार्ने र देशलाई परिवर्तनको मार्गबाट पछाडी धकेल्न चाहने उदेश्यबाट प्रेरित छ भन्दै । यसबाट उत्पन्न हुने दुरगामी परिणामको आकलन गरि नियोजित रूपमा खडा गरिएका षडयन्त्रका तानाबानाको अझ बढी एकतावद्ध भै जमेर प्रतिवाद गर्न अपिल गरेका छन्।
भूमिहिनलाई जग्गाधनी पूर्जा दिने प्रक्रियामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले सहजीकरण गर्ने
काठमाडौँ। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले राष्ट्रिय भूमि आयोगको कामलाई सघाउन किसान परिचालन समिति निर्माण गरेको छ । महासंघले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा सहितको जग्गाधनी पूर्जा वितरण प्रक्रियामा सहयोग तथा सहजीकरण गर्नेछ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)माओवादी केन्द्रको जनवर्गिय संगठन हो महासंघले देशवयापी रूपमा भूमिहीनताको अन्त्य गर्नका लागि १ हजार १ सदस्यीय ‘सुकुम्बासी समस्या समाधानका लागि किसान परिचालन समिति’ गठन गरेको हो । आइतबार महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले एक वक्तव्य जारी गर्दै सुकुम्बासी समस्या समाधानका लागि महासंघले सहजीकरण गर्ने बताएका छन् । भूमिहीन तथा सुकुम्बासीको संविधानप्रदत्त अधिकार सुनिश्चित गर्दै सुकुम्बासी समस्या समाधान गर्न सहज होस् र देशव्यापी रूपमा भूमिहीनता सदासर्वदाका लागि समाप्त होस् भन्ने उद्देश्यका साथ यो परिचालन समिति बनाइएको कुरा महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए । महासंघले सरकारद्वारा गठित भूमि आयोगले सुकुम्बासी समस्या समाधानका निम्ति गम्भीरतापूर्वक काम गरेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन महासंघ भूमिका खेल्ने बताएको छ। प्रेस वक्तव्य नेपाली जनताको महान त्याग, तपस्या र बलिदान, दश वर्षे महान जनयुद्ध र ऐतिहासिक १९ दिने संयुक्त जनआन्दोलनको प्रतिफलस्वरूप स्थापित संविधान सभाद्वारा जारी गरिएको नेपालको संविधानमा व्यवस्था भएबमोजिम नेपालका श्रमजीवी किसानहरूको भूमिमाथिको स्वामित्व स्थापित गर्न र आवास विहीनहरूका लागि आवासको हक स्थापित गर्ने उद्देश्यका साथ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउने एवम् अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्न वर्तमान गठबन्धन सरकारबाट गठित राष्ट्रिय भूमि आयोगले आफ्नो काम तीव्रतापूर्वक अगाडि बढाएको छ । यसै सन्दर्भमा राष्ट्रिय भूमि आयोगले देशव्यापी रूपमा स्थानीय तहहरूसँग सम्झौता गर्ने र लगतको कम्प्युटर प्रविष्टि गर्ने काम अगाडि बढाएको छ भने मिति २०७८ माघ १८ गतेबाट पहिलो चरण अन्तर्गत देशका ६८ वटा स्थानीय तहहरूमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको नयाँ तथा छुट लगत संकलन गर्ने, लगत प्रविष्टि गर्ने, निवेदनको निस्सा दिने, जग्गा नापजाँच गराउने र जग्गा नापजाँच भइसकेकाहरूको चेकजाँच गरी लालपूर्जा वितरणको प्रक्रिया अगाडि बढाउने गरी कार्यक्षेत्र लगत संकलक तथा नापी प्राविधिकहरु खटाइसकेको छ। यो प्रक्रियामा सहभागी भई संविधान प्रदत्त अधिकार सुनिश्चित गर्न र नेपालबाट भूमिहीनताको अन्त्य गर्ने राष्ट्रिय अभियानमा सहभागी हुन देशभरका आम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अवयवस्थित बसोबासीहरुलाई हाम्रो संगठन अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र० हार्दिक आह्वान गर्दछ । देशका तीन वटै तहका सरकारहरूको सक्रिय सहभागितामा वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु नछुट्ने, कसैले गलत विवरण पेश गरी अनुचित लाभ नलिने तथा फेरि अर्को आयोग गठन गर्न नपर्ने गरी भूमिको न्यायोचित वितरणको काम तदारूकताका साथ सम्पन्न गर्न हामी तीन वटै तहका सरकारहरू, राष्ट्रिय भूमि आयोग, सम्पूर्ण सरोकारवाला निकायहरू र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौँ । भूमि प्राप्तिको यो राष्ट्रिय अभियानमा देशव्यापी रूपमा प्रत्येक वडा तथा स्थानीय तहहरूमा सक्रियतापूर्वक लागेर वास्तविक सुकुम्बासी, अव्यवस्थित बसोबासीहरु तथा किसानहरूलाई भूमि प्राप्त गर्ने अवसर प्रदान गराउन सहयोग, समन्वय तथा सहजीकरण गर्नका लागि हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता जाहेर गर्दै समग्र संगठन पंक्तिलाई विशेष अपिल गर्दछौँ। साथै, यो कार्यलाई केन्द्रीयस्तरबाट सहयोग, समन्वय र सहजीकरण गर्नरगराउनका लागि मिति २०७८ असोज १६ र १७ गते बसेको महासंघको केन्द्रीय समितिको बैठकले गरेको निर्णयबमोजिम मिति २०७८ माघ १५ गते बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले महासंघका अध्यक्ष क। चित्रबहादुर श्रेष्ठको संयोजकत्वमा निम्न कमरेडहरू सदस्य रहने तथा बाँकी सदस्यहरू पछि पूर्ति गर्ने गरी केन्द्रीयस्तरमा १००१ सदस्यीय ‘सुकुम्बासी समस्या समाधानका लागि किसान परिचालन समिति’ गठन गरेको जानकारी गराउँदछौँ।
भरतपुर महानगरले छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने
चितवन । भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाले महानगर भित्रका ७४ विद्यालयका छात्राहरुका लागि ४ लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड प्रदान गर्ने भएको छ । १ करोड १९ लाख ७४ हजार लागत अनुमानमा बिद्यूतिय बोल पत्र आवहन गर्दा घटि घटाउमा ९२ लाख ६३ हजार ३ सय ९९ रुपैयामा बोलपत्र सम्झौता भएर पहिलो चरणमा १ लाख ८० हजार प्याकेट महानगरमा उपलब्ध भई विद्यालयमा महानगरले वितरण गरिसकेको छ । पहिलो चरणमा आएको १ लाख ८० हजार प्याकेट लंकु स्रोत केन्द्र अन्त्रगतका ६ कक्षा माथी सन्चालन भएका १८ विद्यालयलाई छात्रा संख्याको आधारमा प्रति छात्रा १५ प्याकेटका दरले वितरण गरिएको छ । भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विद्यालयका प्रअ तथा प्रतिनिधिलाई प्याड हस्तान्तरण गरेकी हुन । अब दोस्रो चरणमा आउने प्याड अन्य विद्यालयहरुलाई हस्तान्तरण गरिने बताउँदै उपमेयर ठकुरीले यसको प्रयोग संगै फोहोरको ब्यवस्थापनमा ख्याल गर्न विद्यार्थीलाई आग्रह गरिन । महिनाबारी भएका बेला विद्यालय जान पनि छात्राहरुलाई असहज हुने भएकोले विद्यालयमै सेनेटरी प्याडको व्यवस्थापन गर्न सके छात्राहरुको विद्यालयमा निरन्तरता गराउन सहज हुने देखिएकाले महानगरले यो कार्यक्रम गरेको उनको भनाई छ । आफुहरुको पालामा सरकारले यस्तो सुबिधा नदिएकाले अहिले महानगरमा दुबै जना महिला जनप्रतिनिधि भएकाले छात्राहरुलाई यो सुबिधा दिनु पर्छ भन्ने विषयमा नगर प्रमुखको समेत बिगतका वर्ष देखिको चाहाना भएकाले आफुहरुले यो कार्यक्रम गरेको उनको भनाई थियो । यसको सहि प्रयोग र प्रयोग पछिको ब्यवस्थापन उचित तवरबाट गर्न उनको आग्रह थियो । भरतपुर माहानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले नगर प्रमुख रेनु दाहाल र उपप्रमुखको बिगतका वर्ष देखि वितरण गर्ने चाहाना रहँदा रहदै पनि प्रक्रियागत समस्याले गत वर्ष ५ लाख मुल्य भन्दा बढिको सामान वितरण गर्न नसकिएको र अहिले बेलैमा सार्वजनिक टेन्डर आवहान गरेर समयमै सामान खरिद गरेर वितरण गर्न सफल भएको बताए । यसको राम्रो संग व्यवस्थापन गरी छात्राहरुलाई हस्तान्तरण गर्न उनले बिद्यालयहरुलाई आग्रह गरे । एक छात्राका लागि १ वर्ष पुग्ने गरी प्याड बिद्यालयलाई हस्तान्तरण गरिएको पौडेलको भनाई छ । एक प्याकेटमा ८ वटा हुने र प्रति क्षात्रा २ प्याकेट सम्म एक मिहिनामा दिन सकिने पौडेलले बताए । पहिलो चरणमा १८ विद्यालयलाई वितरण गरिएको र बाकी विद्यालयका लागि प्याड आउना साथ वितरण गरिहाल्ने शैक्षिक प्रशासन महासखाका जिन्सि शाखा प्रमुख झलक श्रेष्ठले बताए । यो कार्यक्रमले छात्राहरुको मनोवल विकास र शैक्षिक विकासमा धेरै टेवा पुग्ने उनको भनाई छ ।
विश्वमा कोरोना जित्नेको संख्या ३१ करोड २६ लाख बढि, साढे ५७ लाख भन्दा धेरैले गुमाए ज्यान
काठमाडौं । विश्व कोरोना महामारीका कारण विश्व आक्रान्त बन्यो । यसबाट धेरै प्रभावित बने र कतिको मृत्यु समेत भयो । कोरोनाबाट साढे ५७ लाख बढिले ज्यान गुमाए । पछिल्लो २४ घण्टामा ८ हजार बढिको कोरोनाबाट मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५७ लाख ५१ हजार ५८४ पुगेको हो । वल्डोमिटरका अनुसार गत २४ घण्टामा २१ लाख ९६ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३९ करोड ३५ लाख ३६ हजार बढि भएको छ । यसैगरी २० लाख ४१ हजार संक्रमित निको भएसँगै कोरोना जित्नेको संख्या ३१ करोड २६ लाख नाघेको छ । अझै पनि ७ करोड ५१ लख सक्रिय संक्रमित रहेकामा ९१ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।
सहमति जुटाएर मात्रै एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का
राष्ट्रिय सहमति जुटाएर मात्रै एमसीसी पास वा फेल गरिने दाबी परराष्ट्रमन्त्री डा.नारायण खड्काले गरेका छन् । मन्त्री खड्काले २०६८ सालयता गठित सबै सरकारले एसीसीलाई अघि बढाएको बताउँदै सरकारमा हुँदा पास गर्न तम्सिने र विपक्षमा हुँदा गिजोल्ने काम भएको बताए । यो कुरा उदयपुरको चौदन्डिगढी नगरपालिकाको शनिवार उद्घाटन गर्ने क्रममा बताएका हुन् । उनले यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय चुनावको मिति तोक्नेसमेत बताए ।उद्घाटनपछि भोलिदेखि अौपचारिक रूपमा नयाँ भवनबाट कार्यालय सञ्चालनमा आउने भएको छ । यसअघि नगरपालिकाले तत्कालीन बेलटार गाउँविकास समितिको कार्यलय भवनबाट सेवा प्रदान गर्दै आएको थियोे । अपांग मैत्री,लिफ्ट सेवासमेत रहेको साँढे दुई तले नवनिर्मित भवनमा ५० जना अटाउने सभाकक्षसहित ४३ कोठा रहेको छ । करिब ६ करोड रूपयाँको लागतमा बनेको भवन निर्माण कार्यको जिम्मा वर्ल्ड वाइड रामसागर जेभी कम्पनी काठमाडौंले पाएको थियोे । सोही अवसरमा मन्त्री खड्काले १५ शैयाको आधारभूत अस्पतालको पनि शिलान्यास गरेका छन् । सो अस्पतालको लागत करिब १३ लाख रूपैयाँ रहेको छ । सो अवसरमा नगर प्रमुख खगेन्द्र राईले गाउँ गाउँमा सिंहदरबार नभएर जनताको दरबार बनाइएको बताए । उनले नीतिगत अस्पष्टता र राजनीतिक खिचातानीका कारण विकासका कामले गति लिन नसकेको दाबी गरे ।
स्याङ्जाबाट गैडाकोट दुलही लिन हिडेको कार पोखरामा दुर्घटना
काठमाण्डौं । स्याङ्जाबाट नवलपुरको गैंडाकोटमा दुलही लिन आएको कार पोखराको तालचोक सडकखण्डमा दुर्घटनामा परेको छ । बेहुला चढेको ग २ च ८५५२ नं.को कार लाई पछाडिबाट ग २ च ३११७ नं.को जीपले ठाेकेपछि दुर्घटनामा भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दुवै सवारी पोखरातर्फबाट एकै दिशामा जाँदै थिए । प्रत्यक्षदर्शीका अनुसार जीपले अगाडिको कारलाई पछाडिबाट ठक्कर दिई नालीमा पुर्याइदिएको हो । सिधा र सहज बाटो भएकाले ठूलो दुर्घटना हुनबाट टरेको छ । प्रहरीका अनुसार कारमा सवार बेहुला आँधिखोला ३ का २८ वर्षीय दीपक खत्री, कार चालक सोहि स्थानका ३६ वर्षीय डिल्लीराम सुवेदीसहित बेहुलाका बुवा, दिदीहरु सबै सकुशल छन् । दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
स्थानिय चुनावको चर्चासँगै स्थानिय गतिबिधिमा तिब्रता दिदै माओबादी केन्द्र स्याङ्जा
स्याङ्जा । स्थानिय चुनावको चर्चासँगै नेकपा(माओबादी केन्द्र)स्याङ्जाले आफ्ना गतिबिधिलाई तिब्रता दिदै लगेको छ । माओवादी केन्द हरिनास गाउँपालिका स्याङजाले गाउँपालिका पार्टी कार्यलय उद्घाटन तथा प्रशिक्षण् कार्यक्रम् सम्पन्न गरेको छ । केहि दिन अघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारी बिच स्थानिय चुनाव जेठ ४ गते गर्ने सहमति भएको थियो । त्यससँगै स्थानिय स्तरमा विभिन्न पार्टीहरुले गतिबिधि बढाउदै लगेका छन् । हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कार्णाली प्रदेशको विस्तारि बैंठकलाई सम्बोधन गर्दै कार्यकर्तालाई चुनाबको तयारीमा होमिन आग्रह गरेका थिए । त्यसँगै माओबादी केन्द्र स्याङ्जाले पनि जिल्लामा सक्रियता बढाएको छ । माओवादी केन्द हरिनास गाउँपालिका स्याङजाले गाउँपालिका पार्टी कार्यलय उद्घाटन तथा प्रशिक्षण् कार्यक्रम् राखेको थियो । कार्यक्रममा माओवादी केन्द्रकी संघिय सांसद अमृता थापा मगर, माओवादी केन्द्रका नेताहरु राजकाजी गुरुङ, शैलेन्द्र घिमिरे,जिल्ला संयोजक प्रकाश न्यौपाने लगायतको सहभागीता रहेको थियो । गाउँपालिका पार्टी कार्यलय उद्घाटन गर्दै सांसद थापाले स्याङ्जा जिल्ला माओबादी आन्दोलनको सम्भावना बोकेको जिल्ला भएको बताईन । स्याङ्जा सचेतहरुको जिल्ला भएकोले राष्ट्रियता र परिवर्तको वाहक शक्ति माओबादीलाई अब स्याङ्जाली जनसमुदायले अनुमोदन गर्ने विश्वास व्यक्त गरिन् । तेस्तै, कार्यक्रममा वक्ताहरुले गणतन्त्र,सविधानसभा,समावेशीता,संघीयता लगाएतका मुल राजनीति एजेन्डामा देश चलेको भन्दै अब स्याङ्जामा देशलाई आफ्नो एजेन्डामा हिडाउने माओबादी जनताको रोजाइमा रहेको बताएका थिए । जिल्लामा तेस्रो स्थानमा रहेको माओवादीले पछिल्लो समयराजनीतिक र सांगठनिक सक्रियता बढाउदै लगेको छ ।

