अक्सिजन प्लान्ट विस्फोटबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।
गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।
घाइतेहरूको तत्काल उपचारको व्यबस्था मिलाउन पनि गृहमन्त्री खाणको निर्देशन छ । आज विहान करिव १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।
धरानमा सगठबन्धनबीच वडा तहसम्मै मिल्यो भागबण्डा
काठमाडौं । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धरान उपमहानगरपालिकामा चार दलीय गठबन्धनबीच प्रमुख उपप्रमुखसहित सबै वडामा भागबण्डा मिलेको छ । उपमहानगरमा प्रमुख,उपप्रमुख,वडाध्यक्ष,वडा सदस्य,कार्यपालिका सदस्य र नगरसभा सदस्य पदमा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बीच सहकार्य गरेर जाने सहमतिअनुसार ३० गते हुने चुनावका लागि वडा तहसम्मको सबै पदमा भागबण्डा मिलेको हो । जसअनुसार नेपाली काँग्रेसले प्रमुख सहित वडा नम्बर १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ को अध्यक्ष पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित वडा नम्बर ३, १५, १७ र २० को अध्यक्ष पाउने भएको छ । यसैगरी जनता समाजवादी पार्टीले वडा नम्बर १० र १९ पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउने गरी सहमति भएको छ । सहमतिपछि चार दलको संयुक्त वक्तव्यमा भनिएको छ, ‘धरानको समग्र विकास सबैको सहमतिमा गर्ने अठोटका साथ भएको यो गठबन्धनका सबै उमेदवारलाई विजयी गराइ नेपालको पुरानो ऐतिहासिक उपमहानगरपालिकाको समग्र विकासको अगुवाइ गर्ने कार्यमा सबै दल सम्बद्ध नेता कार्यकर्ता,आम मतदाता र सञ्चार क्षेत्रका सबै सञ्चारकर्मी साथीहरुलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौं ।’
संचालनमा आयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत्रुपमा सञ्चालन आएको छ । ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा हो । परियोजनासँग जोडिएका प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न सबैलाई विशेष धन्यवाद दिन चाहन्छौं ।” महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको जानकारी दिनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ । आजदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ । तथापि अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आन्तरिकतर्फ उडान सुरु भएको अप्रेसन रेडिनेश एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले जानकारी दिनुभयो । नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो । अहिले आएर हामीले अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा आजदेखि सुरु भयो भनेर घोषणा गरिसकेका छौँ ।” यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिकरुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन् । छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलको विश्वास छ । गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान ९क्यालिब्रेसन फ्लाइट० सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको सम्बद्ध अधिकारी बताउछन् । आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन् । नयाँ धावनमार्गबाट आज पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ । बिहान ७ः४५ बजे पहिलो उडान भरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूआतमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । टिआइएसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँ विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।
जनकपुरधामको प्रमुख र उपप्रमुखमा काँग्रेसले गर्यो उम्मेदवारको सिफारिस
धनुषा । गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जसपा नेपालको भाग परेपनि नेपाली काँग्रेसको नगर समितिले नगरप्रमुख र उपप्रमुख पदमा ३ जनाको नाम सिफारिश गरेको छ । बुधबार बसेको काँग्रेस नगर समितिको बैठकबाट नगरप्रमुख र उपप्रमुखका लागि नाम सिफारिश गरेको हो । काँग्रेस जनकपुरधाम नगर कार्यसमितिले नगरप्रमुख पदमा मनोजकुमार साह, किशोरी साह र राकेश बिक्रम साहको नाम सिफारिस गरेको छ । यस्तै उपप्रमुख पदमा इन्दिरा चौधरी, रुना झा र शान्ति बिष्ट घिमिरे को नाम सिफारिस गरिएको छ । यता जनकपुरधाम उपमहानगरपालिका जसपाको भाग परेको विषयको विरोध गर्ने बैठकबाट निर्णय गरेको नगर सभापति मनोजकुमार साहले जानकारी दिए ।
पत्रकारको श्रम अधिकारका लागि लडिरहने महासंघको प्रतिबद्धता
काठमाडौं । कान्तिपुर टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामबाट निष्काशन गरिएका पत्रकारको पुनर्बहाली लगायतको माग राखेर आन्दोलनरत नेपाल पत्रकार महासंघले सञ्चारसंवद्ध संघसंगठन र अधिकारकर्मीसँग अन्तरक्रिया आयोजना गरेको छ । पत्रकारको श्रम अधिकारका लागि लडिरहने महासंघले प्रतिबद्धता जनाएकाे छ । कार्यक्रममा पत्रकार दीपा दाहालले विगतमा कान्तिपुर रेडियोमा काम गर्दा आफुमाथि भएको यौनजन्य हिंसा र सोही घटनालाई आधार बनाएर आफूलाई कान्तिपुर टेलिभिजनबाट निकालिएको दाबी गरिन् । नेपाल पत्रकार महासंघमा भएको कार्यक्रममा उपस्थित सहभागीले पत्रकार दीपा दाहाल लगायतको न्यायका लागि महासंघले गरेको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दै आन्दोलनमा साथ रहने प्रतिवद्धता जनाइन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले टुंगोमा नपुग्दासम्म पत्रकारको श्रम अधिकारका लागि महासंघ लडिरहने बताए । उनले पत्रकार दीपा दाहाल लगायतको श्रमसम्बन्धी समस्या समाधान गर्न पटकपटक पत्राचार गर्दा समेत चासो नदिएका कारण मुद्दा किनारा नलाग्दासम्म आन्दोलन नरोकिने बताए । महिला मानवअधिकार रक्षकहरुको राष्टिय सञ्जाल एवं ओरेकका अध्यक्ष डा.रेणु अधिकारीले पत्रकार दीपा दाहालको घटनालाई प्रतिशोधका रुपमा नभएर पत्रकार महिलालाई न्याय दिलाउने गरी स्थापित गर्न आग्रह गरिन् । महासंघका उपाध्यक्ष उदय जीएमले श्रमजीवी पत्रकारको मुद्दाका सवालमा महासंघ एक्लै नभएको भन्दै यो आन्दोलनले पत्रकारलाई न्याय दिलाएर छोड्ने प्रतिवद्धता व्यक्त गरे। महासंघका महासचिव रोसन पुरीले सरकारबाट श्रमजीवी पत्रकारका नाममा सहुलियतपूर्ण ऋण लिने सवालमा कान्तिपुर मिडिया ग्रुप सबैभन्दा अगाडि भएपनि श्रमजीवी पत्रकारप्रति असहिष्णु रहेको बताएका थिए । उनले कान्तिपुर मिडियामा रहेको समस्या हल नहुँदासम्म महासंघको आन्दोलन नरोकिने बताए। नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकार महिलामाथि कार्य क्षेत्रमा हुने सबैखाले हिंसाका विरुद्ध एकजुट हुनुपर्ने बताए । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले महासंघले श्रमजीवी पत्रकारको सवालमा महासंघले थालेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सडकमै जान पनि आफ्नो संगठन पछाडि नहट्ने उल्लेख गरे । समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले आफ्नो संगठनले पीडित पत्रकारहरुको न्यायका लागि महासंघलाई सदैव साथ दिने प्रतिवद्धता जनाए । नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा पूर्व सूचना आयुक्त यशोदा तिम्सिनाले पत्रकार न्याय नपाउँदासम्म महासंघले आन्दोलन रोक्न नहुने भन्दै सम्बन्धित मिडियाका नेतृत्वकर्ताहरुसँगै महासंघले छलफल चलाउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य आस्था केसी, प्रगतिशिल पत्रकार संघका पूर्वअध्यक्ष नारायण शर्मा, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोेदर दवाडी, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, डब्लुडब्लुजेका अध्यक्ष संगीता लामा, फोनिजका अध्यक्ष गजुरधन राई, सञ्चारिक समूहका महासचिव बसन्ती बास्तोला, पूर्व कान्तिपुरकर्मी पुनम पौडेल लगायतले महासंघको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गरेका थिए। उनीहरुले श्रमजीवी पत्रकारहरुको श्रमअधिकारका लागि महासंघको आन्दोलनमा सदैव साथ दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले भोली मेलम्चीको सुरुङमा पानी पठाउने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी परिक्षणका लागि पठाउने भएका छन् । गत असारमा आएको बाढी पहिरोले क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजना स्थलको मर्मत भएपछि फेरी काठमाडौंमा पानी ल्याउन परिक्षण गर्न लागिएको हो । बाढी पहिरोले पु¥याएको क्षतिलाई ३ महिना लगाएर मर्मत गरिएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख बासुदेव पौड्यालले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘हामीले अस्थायी बाँध बाँधेका छौं, भोली सुरुङमा पानी पठाएर परिक्षण गर्न लागिएको हो । त्यसका लागि प्रधानमन्त्री मेलम्ची जाने कार्यक्रम रहेको छ ।’ प्रधानमन्त्री देउवाले बिहान सुन्दरीजलमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्ने र दिउसो मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलमा गएर पानी पठाउने कार्यक्रम राखिएको छ । यस वर्षको वर्षायामको बाढी पहिरोले आयोजना स्थलमा असर गरेपछि सरकारले चैत मसान्तसम्म मर्मत गरेर काठमाडौंमा पानी ल्याउने योजना बनाएर काम गरेको थियो । बाढी र पहिरोको कारण आयोजनास्थललाई माथिल्लो भागदेखि आएको ग्रेग्यानले ढाकेको थियो । आयोजना स्थलमा थुप्रिएको ग्रेग्यान हटाउने र अस्थायी बाँध बनाएपछि पुन काठमाडौंका लागि पठाउन लागिएको हो । गत वैशाखमा उद्घाटन भएपछि झन्डै २ महिना परिक्षणका रुपमा मेलम्चीबाट काठमाडौंमा पानी ल्याइएको थियो ।
ऋषि धमला भन्छन् : पत्रकार आचार संहिता बल्ल थाहा पाएँ, अब सुध्रन्छु
काठमाडौं । सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपालको कार्यालयमा पुगेर पत्रकार आचार संहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले दिएको लिखित स्पष्टिकरण चित्त बुझ्दो नभएपछि सोमबार छलफलका लागि काउन्सिलले कार्यालयमा बोलाएको थियो । सञ्चारकर्मी धमलाले आफूलाई पत्रकार आचारसंहिताबारे ज्ञान नभएको र अब पालना गर्ने बताएका छन् । उनले आफूबाट कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधारेर जाने प्रतिबद्धता ब्यक्त गरेको प्रेस काउन्सिलका सुचना अधिकारी रामशरण बोहोराले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा भिडियो छायांकन गर्दै धमलाले देउवा बसेको स्थानमा जर्बजस्ती घुस्ने प्रयास गरेका थिए । सो सामग्री प्राइम टिभीबाट समेत प्रशारण भएपछि काउन्सिलले चैत २२ गते २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो । धमलाले बुझाएको लिखित स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै काउन्सिलको बैठकले सोमबार उनलाई छलफलका लागि बोलाएको हो ।
हेलिकप्टर प्रयोग गरी पर्यटकको उद्वार
काठमाडौं । हिमाली पदयात्राका क्रममा बिरामी परेका एक पर्यटकलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ । राहदानी नं ३३१६२३२२ इजरायली नागरिक ओेरेन जैव इडेनलाई डानेष्टिक एअरको हेलिकप्टरद्वारा रसुवाको चन्दनबारीबाट उद्धार गरी काठमाडौँ पु¥याइएको हो । हिमाली पदयात्राका क्रममा आइतबार गोसाइँकुण्डमा बिरामी परेका पर्यटकलाई आज बिहान मात्र उद्धार गरिएको चन्दनबारीस्थित होटल रेडपान्डाका ङवाङ फिन्जो तामाङले जानकारी दिए । चन्दनबारीमा उक्त होटलको मात्र हेलिप्याड छ । आइतबार उच्च भागमा दिनभर प्रतिकूल मौसमका कारण हेलिकप्टरले गोसाइँकुण्डको अवतरण गर्न नसकेपछि ती पर्यटकलाई स्थानीय होटल व्यवसायी समेतको सहयोगमा साँझ चन्दनबारी ल्याई आज काठमाडौँ पठाइएको बताइएको छ ।उद्धार गरिएका पर्यटकको अहिले काठमाडौँको कालोपुलस्थित स्वागन अस्पताल उपचार भइरहेको डानेष्टिक एअरका उडान प्रबन्धक दावा शेर्पाले बताए । दुईजना साथी मिलेर पदयात्रामा हिँडेका ती इजरायली पर्यटकमा शनिबार १४ हजार ३८० मिटरको उच्च भागमा गोसाइँकुण्ड पुगेपछि टाउको दुख्ने समस्या भएको थियो । उपचारपश्चात् ती पर्यटकको शारीरिक अवस्था सामान्य बन्दै गएको बताइएको छ । हिमाली पदयात्राका क्रममा कुनै पर्यटक बिरामी पर्दा वा यात्राको सहजीकरण गर्नु परेमा स्याफ्रुबेँसीस्थित पर्यटन प्रहरी एवं जिल्ला प्रहरी कार्यालयलाई खबर गरी दिन आग्रह गरिएको प्रहरीले जनाएको छ । रासस
पोखरीमा डुबेर सप्तरीमा ८ वर्षीय बालकको मृत्यु
जनकपुरधाम । सप्तरीमा पोखरीमा डुबेर आठ वर्षीय बालकको मृत्यु भएको छ । राजगढ गाउँपालिका–४ मा रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बिष्णुपुर गाउँपालिका–२२ सिमराहाका ईन्द्र देव यादवका छोरा देव राज यादव मामाघर राजगढ–४ गएका बेला नुहाउने क्रममा डुबेर घाइते भएका थिए । उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शवको पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सर्लाहीमा २०० बोरा चिनी बरामद
सर्लाही । भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ । भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिए । कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टि चिनी राखिएको अवस्थामा फेला परेको उनले जानकारी दिए । कन्टेनरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको भन्सार प्रमुख काफ्लेले बताए । कन्टेनरका चालकलाई रु तीन लाख धरौटीमा छाडिएको भन्सार कार्यालयले जनाएको छ । धान सर्लाहीको हरिवनमा लिएर जाँदै गरेको चालकले बयान दिए पनि चिनीका बारेमा केही नबताएको भन्सार कार्यालयले जनाएको छ । भारतीय कस्टम सोनबर्षा र सीमामा खटिएको भारतीय सुरक्षाकर्मी एसएसबीले जाँच पास गरेको कन्टेनरबाट उक्त परिणाम बराबरको चिनी बरामद गरिएको हो ।
महानगरले बनाएको कंक्रिट संरचना पुरातत्व विभागले हटाउँदै
काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनाएको कंक्रिट संरचना पुरातत्व विभागले भत्काउन सुरु गरेको छ । विभाग अन्तर्गत हनुमानढोका दरबार हेरचार अड्डाका कार्यालयबाट शुक्रबार भत्काउन सुरु गरेको हो । संरचना हटाउन करिब दुई हप्ता लाग्ने जनाएको छ । पुरातत्व विभागले महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, अभियन्ता र स्थानीयहरूको उपस्थितिमा गत चैत्र १ गते संरचना रहेको नटबोल्ट काटेको थियो । झण्डा राख्न ३ फिट गहिरो ८ वटा कंक्रिटको आधार संरचनामा अनाधिकृत रूपमा महानगरले रातारात बनाएको थियो । विश्व सम्पदा क्षेत्रमा कुनै पनि नयाँ संरचना बनाउन नपाइने नियमका कारण कंक्रिट संरचना हटाएको अड्डाले जनाएको छ । अभियन्ता र स्थानीयले सम्पदाको संरक्षण गर्ने संस्था नै सम्पदा मास्न लागेको र जनताले तिरेको करको दुरुपयोग भन्दै क्षतिपूर्ति भराउन माग समेत गरेको छ ।
मकवानपुरको बागमती गाउँपालिकाका भूमिहिन दलितले पाए लालपूर्जा
मकवानपुर । संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तिब्र पारिएको छ । मकवानपुरको बागमती गाउँपालिकाको वडा नं. ४ मा भूूमिहिन दलितलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशभर रहेका सबै भूूमिहिनले जग्गा प्राप्त गर्ने गरी अभियान तिब्र पारिएको बताईन् । मन्त्री श्रेष्ठको एक वर्षभित्र देशभर रहेका सबै खालका भूमिहिनहरुले जग्गा प्राप्त गर्ने अभियान अगाडी बढिसकेको भन्दै सरकारले शुरु गरेको अभियानमा वास्तविक भूमिहिन कोहीपनि जग्गा पाउनबाट छुट्न नहुनेमा जोड थियो । मन्त्री श्रेष्ठले भुमिहिनलाई लालपूर्जा वितरण गर्ने क्रममा धेरै अबरोधहरु सिर्जना गर्ने काम भइरहेको भएपनि आफू संविधानमा व्यवस्था भएको भूमिहिनले एकपटक जग्गा पाउने हक कार्यन्वयन गर्न प्रतिबद्ध भएर लागेकै कारण परिणाम दिनेगरी काम गर्न सफल भएको बताईन् । मन्त्री श्रेष्ठले सबै विधि र प्रक्रिया पुरा गरेर भूूमिहिनलाई लालपूूर्जा वितरण गरिएको भन्दै सरकारमा जोसुुकै आएपनि अब यो लालपूूर्जा कसैले खोस्न नसक्नेमा ढुुक्क हुन समेत सबैलाई आग्रह गरिन् । कार्यक्रममा भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का लगायत जिल्ला भूमि आयोगका पदाधिकारी सहभागि थिए । बागमती गाउँपालिकामा आज ३ भूूमिहिन दलित घरपरिवारलाई लालपूर्जा वितरण गरेर शुरु गरिएको अभियान अन्र्तगत लगत संकलन र विभिन्न वडामा रहेका भूूमिहिन दलिहरुकालागि जग्गा नापजाँचको काम भइरहेको छ । यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहिन दलित घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ । यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नं २ का ४६ भूमिहिन दलित घरपरिवारलाई बुुधवार लालपूूर्जा वितरण गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय संहालेपछि ४ महिनाको अवधिमा देशका विभिन्न गाउँब्लकमा रहेका २० हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ ।
युवा लक्षित सबै कार्यक्रम एउटै छाता भित्र ल्याउनु पर्छ : मन्त्री अथक
काभ्रेपलान्चोक । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले युवा स्वरोजगार तथा सिप सिकाउने सरकारका छरिएका कार्यक्रमलाई एउटै छाता भित्र ल्याउनुपर्ने बताएका छन् । छरिएका कार्यक्रम र बजेटले लाखौं बेरोजगार युवाहरुलाई सिप सिकाउन र स्वरोजगार बनाउन नसकिने उल्लेख गर्दै मन्त्री अथकले प्रधानमन्त्री कार्यालय मातहत तथा अन्य मन्त्रालयसँग रहेका युवा लक्षित कार्यक्रम एउटै छातामा ल्याउनु पर्ने बताएका हुन् । युवा तथा साना ब्यावसायी कोषको आयोजनामा कर्मचारीहरुको २ दिने क्षमता अभिवृद्धि तालिम कार्यक्रमको आज काभ्रेको धुलिखेलमा उद्घाटन गर्दै मन्त्री अथकले त्यसका आफुले पहल गरिरहेको बताए । त्यसका लागि कानुनी हिसाबले गर्नुपर्ने काम अघि बढाउन निर्देशन दिदै मन्त्री अथकले भने,“ म आईसकेपछि स्वरोजगार सृजना गर्न र गरिबी निवारणका लागि केही बहसको सुरुवात भएको छ । युवा स्वरोजगार कोष, गरिबि निवारण कोष, प्रधानमन्त्री स्वरोजगार कोष उस्तै प्रकृतिका कोष छन् । यीनीलाई एउटै छातामा ल्याएर काम गर्न मैले पहल गरिरहेको छु । एउटै लक्ष र कार्यभार भएका एउटै प्रकृतिका फरक फरक निकाय बनाउनु भन्दा एउटै छाता भित्र ल्याउनु उचित हुन्छ ।” मन्त्री अथकलले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सम्म यस्ता प्रकृतिका निकायलाई एउटै छाता मुनि ल्याउने प्रयास गर्ने बताए । मन्त्री अथकले भने , “सरकारको नीति तथा कार्यक्रम तथा बजेट निर्माणका बेलासम्म निचोडमा पुर्याउने प्रयास गरिरहेको छु । स्वरोजगार तालिम वा स्वरोजगार बैंक, तालिमका लागि पनि त्यही बनाएर कानुनी रुपले कोषलाई बलियो बनाउनु पर्ने आवश्यकता छ । यसमा कोषले आवश्यक प्रकृया अघि बढाओस म सहयोग गर्न तयार छु ।” युवा स्वरोजगार कोषले नेपाली युवालाई विदेश जानबाट रोक्न अहिले पनि ८४ हजार युवालाई स्वरोजगार बनाएको बताएको छ ।
२० देशमा सिफारिस भए राजदूतहरू (नामसहित)
काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ सिफारिसमा परेका छन्। चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ सिफारिसमा परेका छन् भने नेकपा एकीकृत समाजवादीको कोटामा रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि केशवराज पोखरेल, मलेसियाका लागि डिल्ली पौडेल सिफारिस भएका छन् । जनता समाजवादी पार्टीका नवराज सुवेदी साउदी अरव, दानवहादुर तामाङ दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाल स्पेन, बाशुदेव मिश्र श्रीलंका, शान्ता रिजाल इजरायल, ज्योति प्याकुरेल दक्षिण कोरिया, प्रा.डा रामशुरज राय यादव डेनमार्क र नरेश विक्रम ढकालको देश अहिले खुलाइएको छैन । यता परराष्ट्र सेवाबाट घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ यादव ९पासपोर्ट विभागका डिजि०, शशिल कमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफले, दुर्गा बहादुर सुवेदीलाई राजदूतमा सिफारिस गरिएको छ । उनीहरूको पनि देश खुल्न सकेको छैन ।
संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउँछु : कानुनमन्त्री बन्दी
काठमाडौं । गोविन्दप्रसाद शर्मा कोइरालाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति विद्या भण्डारीबाट सपथग्रहण गरेलगत्तै मन्त्री कोइरालाले मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । मन्त्रालयको पदभार ग्रहण गर्दै उनले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानूनहरु सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने बताएका छन्। नवनियुक्त मन्त्री कोइरालाले अन्तरिम संविधानले अगाडि सारेका कुराहरुमध्ये संक्रमणकालीन न्यायसँग सम्बन्धित केही कामहरु बाँकी रहेको र त्यसलाई टुंग्याउने जिम्मेवारी आफूले पाएको बताए । नवनियुक्त मन्त्री कोइरालाले भने, “हिजो म फरक भूमिकामा थिएँ । आज राज्यको तर्फबाट ती कामहरु पूरा गर्ने जिम्मेवारीमा पुगेको छु । मन्त्रालयले गर्नसक्ने कुरा हामी गर्दछौं। अन्तरिम संविधानपछिको जुन नयाँ संविधान बनायौं । त्यो संविधान बनाउँदा के प्रतिज्ञाहरु भएको थियो, अन्तरिम संविधानले अगाडि सारेका कुराहरुमध्ये संक्रमणकालीन न्यायसँग सम्बन्धित केही कामहरु बाँकी थिए । त्यसलाई सम्पन्न गर्ने दायित्व राज्यको हो ।’ नवनियुक्त मन्त्री कोइरालाले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिवादित भएका सिद्धान्त, अन्तर्राष्ट्रिय कानूनका व्यवस्थाहरु, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा अघि सारेका प्रस्तावनाहरु लगायतका कुरालाई हेरी कानून संशोधन गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
स्वरोजगार श्रमिकले दिए आन्दोलनमा उत्रने चेतावनी
काठमाडौं । नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले काठमाडौं महानगरपालिकाले ठेकेदार माधवप्रसाद काफ्ले सँगको मिलेमतोमा सहरी सेवा केन्द्र रत्नपार्कमा रहेका स्वरोजगार श्रमिकहरूमाथि ज्यादती गरेको आरोप लगाएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले महानगरको आतंक बन्द नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । गत कार्तिक ११ गते काठमाडौं महानगरपालिकाले दिएको पसल बन्द गर्ने निर्देशनलाई व्यापारीहरुले पालना गरेर वार्तापछि २ वर्ष म्याद थप्ने कुरा भएपनि चैत २१ गते व्यापारीहरूलाई कुनै जानकारी नै नदिईकन ९ वटा सटर भत्काइनु र ४ वटामा तालाबन्दी गर्नु खेदजनक कार्य भएको संगठनको भनाई छ । कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष कुमार सापकोटाले आफैले रोजगारी सिर्जना गरेर सटर तथा सडक व्यापार गरेका श्रमिकहरुलाई राज्यले पटक–पटक धरपकड गर्न खोज्नु दुःखद् रहेको बताए । साथै, उनले सरकारले श्रमिकहरुलाई नजरअन्दाज गरे कडा सडक आन्दोलन गर्न बाध्य हुने भन्दै श्रमिकहरुलाई श्रम गरेर खान दिनुपर्ने बताए । राष्ट्रिय स्वरोजगार व्यवसायी संघका केन्द्रीय अध्यक्ष लीलाबहादुर दाहालले गरिबी उन्मूलन गर्छु भन्ने सरकारले आफ्नो व्यापार तथा व्यवसाय गरेर बसेका व्यवसायीमाथि अवरोध सिर्जना गर्नु आपत्तिजनक विषय भएको बताए । एकीकृत ट्रेड युनियन महासंघ नेपालका सचिव प्रेमबहादुर कार्कीले सडकमा बसेर व्यापार गर्ने कसैको रहर नभएको भन्दै राज्यले कानून बनाएर सडक व्यापारीहरूलाई व्यवस्थापन गर्नुपर्ने धारणा राखे । उनले काठमाडौं महानगरपालिकाले ठेकेदारसँगको मिलेमतोमा स्वरोजगार श्रमिकमाथि आतंक मच्चाएको भन्दै महानगरको यस कार्यप्रति महासंघको ध्यानाकर्षण भएको बताए । राज्यले श्रमिकहरुलाई तर्साउने कार्य जारी राखे महासंघ मूकदर्शक भएर नबस्ने बरु सशक्त संघर्षमा उत्रिने पनि उनले चेतावनी दिए ।

