दैलेखको भैरवी गाउँपालिकामा काँग्रेस विजयी
काठमाडौं । दैलेखको भैरवीमा काँग्रेसले एमालेको गढ भत्काएको छ । त्यहाँ पालिकाको अध्यक्षमा काँग्रेसकी रिताकुमारी शाहीले ३९७६ मत ल्याएर विजयी भएकी छन् भने उपाध्यक्षमा पनि काँग्रेसकै देवी भण्डारीले ३३७४ मत ल्याएर विजयी भएका छन् ।
एमालेबाट अध्यक्षमा सर्वराज महताराले ३९६० मत ल्याएर पराजित हुन पुगे भने उपाध्यक्षमा एमालेले ३२२७ मत पाएको छ । एमालेबाट उपाध्यक्ष लडेकी पदमकुमारी विष्ट ०७४ मा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
स्याङजामा माओवादीले खोल्यो खाता विरुवा–३ को वडाअध्यक्षमा मनुकुमारी राना विजयी
स्याङजा । स्याङजा जिल्लाको विरुवा गाउँपालिका –३ राङ्भाङमा माओवादी केन्द्रकी उम्मेदवार मनुकुमारी राना वार्ड अध्यक्षमा विजयी भएकी छिन् । माओवादी केन्द्रले वडा अध्यक्ष जितेर स्याङ्जामा खाता खोलेको हो । आइतबार दिउँसो सार्वजनिक भएको मत परिणाम अनुसार उनले विजय हासिल गरेकी हुन् ।
बुद्ध एअरले ६ विमानस्थलबाट रात्रिकालीन उडान गर्ने
काठमाण्डौ । बुद्ध एअरले ६ वटा विमानस्थलबाट रात्रिकालीन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान अवतरण सुविधा भएका विमानस्थलहरू १८ घण्टा खुला राख्ने निर्णय स्वागतयोग्य भएको भन्दै बुद्धले ६ वटा विमानस्थलबाट रात्रिकालीन उडान गर्ने भएको हो । मे १५ तारिख अर्थात् जेठ १ गतेदेखि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमराबाट उडान गर्ने बुद्धले जनाएको छ । प्राधिकरणले स्वीकृत गरेको तालिकाको १३ प्रतिशत उडान राति ८ बजेपछि हुने बुद्धको भनाइ छ । दैनिक कामकाजमा व्यस्त यात्रुका लागि रात्रिकालीन उडानले सहजता प्रदान गर्ने र रात्रिकालीन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ । बुद्ध एअरले रात्रिकालीन उडान हुने गन्तव्यहरूमा त्यहाँको प्रदेश र स्थानीय सरकारसँग सार्वजनिक यातायातको सुविधाका लागि अनुरोध गरेको छ । यात्रुको थप आउजाउले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने बुद्ध एअरको दाबी छ । बुद्ध एअरले काठमाण्डौमा शेयर राइडिङ कम्पनी ुटुटलु सँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको जानकारी दिएको छ । अहिले काठमाण्डौबाहिर पोखरालाई हब बनाएर त्यहाँबाट अरू प्रदेशमा उडान गरिरहेको बुद्धले अब भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रूपमा सबै प्रदेशबाट जोड्न लागेको जनाएको छ । बुद्धले भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याइसकेको छ । चाँडै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना बुद्ध एअरको रहेको छ ।
निर्वाचन नजिकिएसँगै कुखुराको मासुको खपत पनि बढ्यो
काठमाडौं । निर्वाचन नजिकिएसँगै मोफसलका जिल्लाहरूमा कुखुराको मासुको खपत बढेको छ । वैशाख लागेसँगै देशभर ब्रोइलर कुखुराको मासुको खपत ३० प्रतिशतसम्म बढेको व्यवसायीहरुले बताएक छन् । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मोफसलका जिल्लाहरूमा कुखुराको मासुको खपत ह्वात्तै बढेको जानकारी दिएको छ । संघका अध्यक्ष जंगबहादुर बिसीले वैशाख लागेसँगै देशभर कुखुराको माग बढेको बताउँदै सबैभन्दा धेरै जिल्लाहरूमा खपत बढेको बताए । पछिल्लो एक सातायता झनै खपत बढेको उनको भनाइ छ । वैशाखअघि देशभर कुखुराको मासुको कुल माग ५ लाख ६० हजार किलो थियो भने वैशाख लागेसँगै माग ३० प्रतिशतले बढेर ८ लाख किलोभन्दा माथि पुगेको छ । यसमध्ये सबैभन्दा धेरै माग मोफसलका जिल्लाहरूमा बढेको उनको भनाइ छ । धेरैवटा जिल्लामा फैलिएको बर्डफ्लुका कारणले मासुको खपत घटेको थियो । तर, स्थानीय तहको निर्वाचन नजिकिएसँगै मासुको खपत र माग बढेको व्यवसायीहरूको भनाइ छ । हाल काठमाडौं उपत्यकामा दैनिक ५ लाख किलो र उपत्यका बाहिर ३ लाख किलो मासुको खपत भइरहेको छ । यस्तै, यतिबेला कुखुराको मासुको थोक मूल्य प्रतिकिलो ४३० रुपैयाँ छ । जुन, उपभोक्तासम्म पुग्दा कम्तिमा ४५० रुपैयाँ प्रतिकिलो हुन आउँछ । स्थानीय तहको निर्वाचनसँगै वैशाखमा बिहेको लगन धेरै हुँदा समेत मासुको खपत बढेको हो । यसैगरी, मूल्य बढेको समयमा किसानले ज्यूँदो कुखुराको मूल्य प्रतिकिलो ३१० रुपैयाँसम्म पाउन थालेका छन् ।
आज थप २१ जनामा कोरोना संक्रमण, १६ डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७ सय १८ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर १२७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
उपल्लो डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु
काठमाडौँ । उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका–७ का २४ वर्षीय सुनिल विक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिनुभयो । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर उनको मृत्यु भएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार विकको लेक लागेर मृत्यु भएको हो । मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।
श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धी, रेमिट्यान्स आप्रवाह भने घट्यो
काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट आप्रवाह हुने रेमिट्यान्स (विप्रेषण) ०.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको ९ महिनाको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा ०.६ प्रतिशतले रेमिट्यान्स आप्रवाह घटेको हो । यस अवधिमा नेपालमा विदेशबाट ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ भित्रिएको छ । जुन, गत वर्षको तुलनामा ०.६ प्रतिशतले न्यून हो । गत वर्षको यही अवधिमा रेमिट्यान्सको आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले घटेर अहिलेसम्म ६ अर्ब ५ करोड डलर भित्रिएको छ । गत वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतमा सीमित थियो । यस्तै चालू आर्थिक वर्षको ९ महिनामा रेमिट्यान्स आप्रवाह सामान्य गिरावट आएपनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको केन्द्रीय बैंकले जनाएको छ । अहिलेसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृत (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ह्वात्तै बढेको छ । अहिलेसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५६ हजार ३१ जना पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो सङ्ख्या ७४.९ प्रतिशतले घटेको थियो । यस्तै, वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृत लिने नेपालीको सङ्ख्या १९९.९ प्रतिशतले बढेको छ । अहिलेसम्म पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ६ हजार ६२९ पुगेको छ । गत वर्ष यस्तो स्वीकृति ६०.७ प्रतिशतले घटेको थियो ।
भरतपुर महानगरमा जनप्रतिनिधिको शून्य बेरुजु
चितवन । नेपालका छ वटा महानगरपालिका मध्ये भरतपुर महानगरपालिका आर्थिक पारदर्शीताको नमूना बन्न सफल भएको छ । प्रमुख पदमा पुनःउम्मेद्वारी दिएकी रेनु दाहालको अघिल्लो कार्यकाल जनप्रतिनिधिको व्यक्तिगत बेरुजु शून्य कार्यकाल बनेको छ । महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालकाअनुसार महानगर प्रमुखको आर्थिक इमान्दारिताका कारण महानगर व्यक्तिगत बेरुजुको समस्या नभएको हो । महानगर प्रमुख दाहालले आफु पनि आर्थिक क्रियाकलापमा स्वच्छता चाहने र अन्य जनप्रतिनिधिलाई पनि सोहीअनुसार काम गर्न निर्देशन दिने परिणामले उक्त समस्या सिर्जना नभएको लेखाप्रमुख अर्यालले दाबी गरे । आर्थिक पारदर्शीताको विषयमा जोड दिँदै उनले भने ‘अन्य महानगरपालिका जस्तो उम्मेद्वारले बेरुजु फछ्र्यौट गर्नु पर्ने अवस्था नै आएन् ।’ स्रोतका अनुसार भरतपुर महानगरपालिकामा जो जति जनप्रतिनिधिले पुनःउम्मेद्वारी दिएका छन् कसैको नाममा पनि बेरुजु भुक्तानी गरेर उम्मेद्वारी दिनुपर्ने अवस्था थिएन् । जवकी निर्वाचन आयोगले पुनःउम्मेद्वारी दिनको लागि पेस्की फछ्र्यौट गनुपर्ने, बेरुजु फछ्र्यौट गर्नुपर्ने प्रावधान राखेको थियो । भरतपुर महानगरपालिकाकी पूर्व प्रमुख रेनु दाहाल पाँचदलीय गठबन्धनको तर्फबाट पुनःनेकपा ९माओवादी केन्द्र०बाट प्रमुखमा र नेपाली कांग्रेस भरतपुर महानगर सभापति समेत रहेका चित्रसेन अधिकारी कांग्रेसबाट उपप्रमुख पदमा चुनावी प्रतिस्पर्धामा छन् । उम्मेद्वार दाहाल नेकपा (माओवादी केन्द्र)भरतपुर महानगर कमिटीको इञ्चार्ज समेत हुन् भने अधिकारी नेपाली काँग्रेस भरतपुर महानगर समितिको सभापति हुन् । निर्वाचन आयोगले व्यक्तिगत बेरुजु कायम रहे उम्मेदवारी नै रद्द हुने व्यवस्था गरेपछि निर्वाचनमा पुनःउम्मेदवारी दिने आकाँक्षी जनप्रतिनिधिले धमाधम बेरुजु फछ्र्यौट गरेका थिए । चार महानगर र पाँच उपमहानगरका जनप्रतिनिधिले मात्रै पाँच करोड बेरुजु फछ्र्यौट गरेको महालेखा परीक्षकको वेब साइटमा उल्लेख छ । महालेखा परीक्षकको कार्यालयकाअनुसार निर्वाचनआयोगले बेरुजु हुने जनप्रतिनिधिले पुनःउम्मेद्वारी दिन रोक लगाएपछि काठमाडौं, ललितपुर, विराटनगर र पोखरा महानगरपालिका तथा नेपालगन्ज, जनकपुर, इटहरी, कलैया र धरान उपमहानगरका जनप्रतिनिधिले चार करोड ९८ लाख ९८ हजार आठ सय ७८ रुपैयाँ व्यक्तिगत बेरुजु फछ्र्यौट गरेका थिए । काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यसहितका जनप्रतिनिधिले बैशाख ७ र ८ गते गरि एक करोड २७ लाख ४२ हजार बेरुजु फछ्र्यौट गरेका थिए । आफुु उक्त पदमा पुनः दोहोरिने मनसायमा रहेका र एमालेको स्थानीय कमिटीले आफ्नो नामसहित केन्द्रमा सिफारिस गरेपछि उनले बेरुजु फछ्र्यौट गरेका थिए । २०७८ चैत ३ गते प्रकाशित नेपाल राजपत्र खण्ड ७१ संख्या ५० भाग ५ मा निर्वाचन आचारसंहिता सम्बन्धी व्यवस्था छ । उक्त राजपत्रकोे परिच्छेद ९ दफा ४६ र ४७ मा उक्त व्यवस्था गरेको छ ।
पाल्पामा डुबेर भारतीय नागरिकको मृत्यु
पाल्पा । पाल्पाको तिनाउमा डुबेर एक जना भारतीय नागरिक मृत्यु भएको छ । तिनाउ गाउँपालिका वाड नं।३ ड्यामस्थित खोलामा पौडी खेल्न क्रममा डुबेर भारतीय नागरिक मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पौडी खेल्ने क्रममा भारतको गोरखपुरबाट घुम्न आएका अन्दाजी ३५ वर्षका अंकित श्रीवास्तवको मृत्यु भएको हो । श्रीवास्तवको डुब्नासाथ उद्धार गरे प्रादेशिक अस्पताल बुटवलमा ल्याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
धनगढी विमानस्थललाई दिल्लीको भन्दा राम्रो बनाउनुपर्छ : मन्त्री आले
कैलाली । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले धनगढी विमानस्थललाई दिल्लीको विमानस्थल भन्दा राम्रो बनाउनुपर्ने बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको गेटा विमान स्थल स्तरोन्नति र धनगढी कैलाश मानसरोवर दु्रत मार्गले निम्त्याउने अवसरहरुबारे अन्तरक्रिया कार्यक्रममा उनले विमानस्थलका लागि मन्त्रिपरिषद्बाट एक अर्ब बजेट विनियोजन भैसकेको बताएका हुन् । यस्तै, मन्त्री आलेले आफ्नै पहलमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक पर्यटन वोर्डको स्थापना गरेको समेत जानकारी दिए ।
हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय निजी शैक्षिक संस्थाले नमान्ने
काठमाडौं । हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र अध्ययन पठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरुले सरकारले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श नगरी अचानक अव्यवहारि निर्णय गरेको उनीहरुको गुनासो छ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थाहरुसँग बिना कुनै छलफल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय नमान्ने बताए। उनले हप्तामा दुईदिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र पढाएको नबुझ्ने उल्लेख गर्दै सरकारको निर्णय मान्न नसक्ने बताए । महासचिव भण्डारीले सरकारले दिने सर्वाजनिक बिदा पनि धेरै रहेको र सार्वजनिक बिदाको कटौती नगरी हप्ताको दुई दिन बिदा दिँदा पाठ्यक्रम पढाउन नसकिने स्पष्ट पारे । उनले सरकारले दुई दिन बिदा दिने कुराको वास्तविक कारण पनि नदिएकोले निजी शैक्षिक संस्था शनिवार बाहेकका दिनमा खुल्ने बताए । त्यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघका सचिव विष्णु पराजुलीले सरकारले निजी क्षेत्रसँग छलफल नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै आपत्ति जनाए । उनले कर्मचारीहरुलाई हेरेर सो निर्णय गरेको तर विद्यालयको हकमा त्यो लागू गर्न नसकिने बताए । सचिव पराजुलीले सरकारको हप्तामा दुई दिन बिदा दिने निर्णइ अव्यवहारिक भएको भन्दै निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुका लागि पनि दुई दिन बिदा दिने निर्णयले महत्व नराख्ने धारणा राखे। उनले समय बढाएर बिदा दिन सकिने कुराहरु आइरहे पनि विद्यार्थीहरुको मानसिक असर पर्ने गरी शैक्षिक गतिविधि गरिनु उचित नहुने बताए । सचिव पराजुलीले सरकारले सूचना निकालेर बन्द गर्नुपर्ने भन्दैमा शिक्षालाई मास्न नसकिने बताए । सचिव पराजुलीले शिक्षामा वार्षिक १३ करोड बढी खर्च हुन्छ भनेर हप्तामा दुई दिन बिदा गर्नु व्यवहारिक नभएको बताए । उनले कोरोनाबाट थला परेको शैक्षिक क्षेत्रलाई उठाउनु पर्ने बेला पुनः निरुत्साहीत हुने गरी निर्णय गर्नु दुर्भाग्यपूर्ण रहेको बताए ।
आगलागीबाट ध्वस्त मुक्तकमैया बस्ती सरकारले बनाउने
कैलाली । यहि वैशाख ११ गते आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविर सुदूरपश्चिम सरकारले निर्माण गरिदिने भएको छ । चालू आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरी आर्थिक वर्ष २०७९–०८० देखि बस्ती निर्माण गरिने भएको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार सो बस्तीको स्थलगत अनुगमन गर्दै यस्तो बताएका हुन्। उनले प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अग्नि पीडित मुक्तकमैया बस्ती निर्माण गरिने बताए । त्यस्तै, प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सो स्थानका मुक्तकमैयाले अझैसम्म पनि जग्गाको लालपूर्जा नपाएकाले लालपूर्जासहित घर निर्माण गरेर हस्तान्तरण गरिने बताए । प्रदेश सरकारले तत्काल पूर्ण रुपमा क्षति व्यहोरिरहेका सो बस्तीका मुक्तकमैयालाई ५० हजार रुपैयाँका दरले राहत दिने, त्यस्तै बर्खे खेतीको लागि धानको बिउ निशुल्क दिने प्रदेश सरकारले जनाएको छ । ७१ घरधुरी रहेको सो बस्तीमा वैशाख ११ गते दिउँसो खेतमा गहुँको नलमा लगाइएको आगो सल्किएपछि आगलागी भएको थियो । आगलागीबाट बस्तीका २७ घर पूर्णरुपमा जलेका थिए । सथै १२ घर आंशिक रुपमा र ३२ घरमा सामान्य क्षति भएको छ ।
माओवादीद्वारा सिन्धुपाल्चोकमा मतदाता रक्षा दल (भी फोर्स) गठन
काठमाडौं । नेकपा माओवादी सिन्धुपाल्चोकले मतदातालाई प्रभावित हुने गतिविधि रोक्न भी फोर्सै गठन गरेको छ । निर्वाचनको समयमा मतदातालाई प्रभावित गर्ने, धम्क्याउने तथा दबाब दिने कार्य रोक्नका लागि यो फोर्स गठन गरिएको हो । जिल्लाका तीन नगर र नौ गाउँपालिकामा युवा जमातलाई भेला गरी यस्ता फोर्स बनाइएका हुन । जिल्ला अध्यक्ष गोविन्द पराजुलीका अनुसार जिल्लाभरी एक बुथ २५ युथको नीति अनुसार वडादेखि पालिकास्तरमा झन्डै चार हजारभन्दा बढीको संख्यामा फोर्स गठन गरिएको हो । फोर्सले वडादेखि गाउँपालिका, नगरभर परिचालन भएर मतदाताको सुरक्षा गर्ने, मतदातालाई सहजीकरण गर्ने स्वयंसेवकको काम गर्ने उनले उल्लेख गरे । यो नित्तान्त जिल्लाकै मौलिक ‘पोलिसी’ रहेको उनले बताए । युवा जमात वाईसीएल संगठनलाई सक्रिय बनाउन यो फोर्स बनाइएको उनको जिकिर छ । ‘हामी कसैप्रति जाइलाग्दैनौं, आए बाँकी नराखिने भन्दै भी फोर्सले स्वच्छ र शान्तिपूर्ण निर्वाचनका पक्षमा काम गर्ने उनले बताए । निर्वाचनको समयमा माओवादी समर्थकमाथि आक्रमण हुन सक्ने, उनीहरुलाई बाटोमैं रोकिन सक्ने, गाउँटोलमा अवाञ्छित गतिविधि हुनसक्ने भएकोले यसविरुद्ध युवा परिचालन अनिवार्य रहेको उनको जिकिर छ ।
ललितपुरमा कांग्रेसले खोल्यो खाता
काठमाडौं । ललितपुरमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएसँगै नेपाली कांग्रेसले विजयको खाता खोलेको छ । जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ मा दलित महिला वडासदस्यमा नेपाली कांग्रेसकी रमा रम्तेलले मात्र उम्मेदवारी दर्ता गरेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम रम्तेललाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । स्थानीय तह निर्वाचनका लागि शुक्रबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर शनिबार चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन बैशाख ३० गते शुक्रबार हुँदैछ ।
केपी ओली भित्री रुपमा पुरै गलिसकेका छन् : वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले एमाले अध्यक्ष केपी ओलीले बाहिर जतिसुकै हुँङ्कार गरेपनि भित्री रुपमा पुरै गलिसकेको टिप्पणी गरेका छन् । मजदुर दिवसको उपलक्ष्यमा काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै पुनले स्थानीय चुनावमा ओली पराजित भइसकेको बताएका हुन् । स्थानीय अवश्यकताका आधारमा सत्ता गठबन्धनमा चुनावी तालमेल गरेको पुनले बताए । रोल्पा लगायत अधिकांश क्षेत्रमा ओलीले विप्लव लगायत राप्रपा, सिके राउतजस्ता शक्तिसँग तालमेल गरेको उनले बताए । ‘केपी ओली बाहिर जतिसुकै हुँङकार देखाएपनि भित्री रुपमा गल्नुभएको छ । उहाँ भित्री रुपमा पराजित भइसक्नु भएको छ, त्यो व्यवहारबाट पुष्टि हुन्छ ।’ पुनले भने, ‘लेनिन भन्छन् मान्छेहरु के भन्छन् त्यो महत्वपूर्ण हुँदैन । मान्छेले के गर्छन् ? त्यसको व्यवहार कस्तो छ रु भन्ने हो । उसले कोसँग संगत गर्छ ? भन्ने हो । मान्छेको बोलीबाट चिन्न सकिँदैन । उसलाई चिन्ने संगतबाट हो ।’ केपी ओलीले गरेका अधिकाश संगतहरु कम्युनिस्ट विरोधी, दक्षिणपन्थी अतिवादीसँग भएको पुनले दाबी गरे । ‘आज ओलीजीहरुको चुनावी तालमेल कम्युनिस्टहरुसँग छ ? वामपन्थी र प्रगतिशीलहरुसँग छ । उहाँको तालमेल दक्षिणपन्थी अतिवादीहरुसँग छ ? त्यो उहाँले आफै प्रष्ट पार्नुभएको छ, हामीले भन्दै पर्दैन ।’ पुनले भने, ‘ओलीजी दक्षिणपन्थी बाटोमा हुनुहुन्छ । प्रतिगमनको बाटोमा हुनुहुन्छ, त्यो तथ्यहरुले पुष्टी गरेको छ । उहाँले ठूला–ठूला कुरा गरेर केही हुँदैन । आमजनताले बुझेका छन् ।’ स्थानीय चुनावमा केपी ओली पराजित हुनु संविधान र लोकतन्त्रको रक्षा हुनुभएको बताए । ओली पराजित हुनु नै पुनः वामपन्थी शक्तिहरुको पुनः एकता गर्ने वातावरण बन्नु भएको बताए । ‘केपी ओली प्रवृत्तिले दुईपटक संसद विघटन गर्यो । संविधानमाथि प्रहार गर्यो । हामीले स्थापना गरेको मौलिक लोकतन्त्र, समावेशी चरित्रको लोकतन्त्रमाथि प्रहार गर्यो । प्रतिगामी कदम चालेपछि त्यो रोक्नका लागि गठबन्धन गरेका हौ’ पुनले भने, ‘तपाई हामी दशौं लाख जनता सडकमा उलिर्यौ । त्यसमा सहमत हुनेगरी एक हुँदै गयौं । सुरुका दिनमा काँग्रेस सहमत भएन आफ्नै ढंगले अघि बढ्यो । किनभने कम्युनिस्टहरु फुटेका छन् । त्यसबेला निर्वाचन भयो भने काँग्रेसले एक्लै बहुमत ल्याउँछ भन्ने भयो । दोस्रो पटक पनि संसद विघटन भएपछि यहाँ चुनाव हुँदै छैन भन्ने बुझ्यो । प्रतिगमनतिर देश गयो भन्ने बुझ्यो । त्यसपछि मात्रै हाम्रो मोर्चामा काँग्रेस पनि आयो ।’ लाखौं जनताको बलमा सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर संविधानको रक्षा गरेको पुनले बताए ।
ओली प्रवृत्तिले एमालेभित्रका इमान्दार कम्युनिस्ट क्रान्तिकारीको मन रोएको छ : वर्षमान पुन
काठमाडौं ।पुनले केपी ओली प्रवृत्तिले एमालेभित्रका इमान्दार कम्युनिस्ट क्रान्तिकारीहरुको मन रोएको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पुनले केपी ओली प्रवृत्तिले एमालेमा अन्याय गरेपनि चुपचाप बस्नु पर्ने बाध्यतामा पु¥याएको दाबी गरेका हुन् । ‘एमालेभित्रका इमानदार कम्युनिस्ट क्रान्तिकारी साथीहरुको मन रोएको छ । बढी गर्नुभयो र अर्घल्याई गर्नुभयो भन्ने सबैलाई थाहा छ बोल्न सक्ने अवस्था छैन ।’ पुनले भने, ‘त्यसैले हामीले एमालेमाथि प्रहार गरेका छैनौ केपी ओली प्रवृत्तिमाथि प्रहार गरेका छौं । सिंगो एमालेमाथि प्रहार गरेका होइनौ ।’ एमालेसँग यसअघि एकता गरेर चुनावमा गएकाले एमालेसँग भन्दा केपी ओलीप्रवृत्तिसंग सघर्ष गरेको बताए । केपी ओली प्रवृत्तिले मनोमानी गर्न थालेपछि आवश्यकताले काँग्रेससहित पाँच दलीय गठबन्धन बनाएको पुनले बताए । ‘ओलीजी दक्षिणपन्थी बाटोमा हुनुहुन्छ । प्रतिगमनको बाटोमा भएको तथ्यहरुले पुष्टी गरेको छ । उहाँले ठूला ठूला कुरा गरेर केही हुँदैन । आमजनताले बुझेका छन्’ पुनले भने ।

