२३ जनाबाट करोड बढी ठगी गर्ने फरार पाेखरेल पक्राउ

काठमाडौं, मंसिर १६  । बैंकलाई नै ठगी गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करोडौं रकम ठगी गरी फरार रहेका नवलपरासी बर्दघाट नगरपालिका–६ बसाई सराई गरेका प्युठान तोर्वाङ–६ चिस्वाङका ३८ वर्षीय ईश्वरीप्रसाद पोख्रेललाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौं महानगरपालिका कमलपोखरीबाट बिहिबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

२३ जनाबाट करोडबढी ठगी
पोखरेलले सन्दीप दर्नाल, भिमबहादुर दर्जी, शान्ती राई समेत २३ जनालाई इजरायल पठाउने भन्दै १ करोड ५ लाख लिएका थिए । त्यस्तै, सुदीपराज पन्तलाई दक्षिण कोरिया पठाउने भन्दै ३ लाख लिएको, रोजन लामालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने भनी २ लाख ५० हजार लिएर पोखरेल फरार रहेका थिए ।

उनी भारतको लखनउमा बस्दै आएको पीडितको जानकारीपछि महानगरीय अपराध महाशाखाको विशेष टोलीले खोजतलास गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गर्न सफल भएको हो ।

यस्ता छन् पोखलका कर्तुत
२०६७ सालमा नबिल बैंक र किष्ट बैंकलाई ठगी गरेको मुद्दामा अदालतबाट २ वर्ष कैद र २ लाख २९ हजार रुपैयाँ जरीवाना फैसला भएको थियो । २०७२ सालमा बाँके जिल्ला अदालतबाट ठगी मुद्दा दर्ता भई पुर्पक्ष भइरहेको थियो ।

उनले धेरै व्यक्तिहरुलाई करोडौ ठगी गरे पश्चात अमेरिका जानको लागि प्रकृया गरिरहेको, विभिन्न बेरोजगार युवायुवतीलाई प्रलोभनमा पारी ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हाल उनी भारत लखनउमा बस्दै मोटरपार्टस सप्लायर्स सम्बन्धी काममा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।