वैदेशिक रोजगारीबाट फर्कनेलाई च्यालेन्ज फण्डको व्यवस्था

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपाली तथा युवाहरुलाई लक्षित गरी च्यालेन्ज फण्ड स्थापना गर्ने बताएको छ ।

चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले नयाँ व्यवसाय सुरु गर्न चाहनेका लागि उक्त व्यवस्था गरिएको बताए । यसका साथै ठूला तथा मझौला उद्योगले स्टार्ट अपलाई सहयोग गर्ने व्यवस्था मिलाइने समेत उनले घोषणा गरे ।
स्टार्ट अब व्यवसायका लागि सुरुवाती पूँजी दिइने र स्वदेशी उत्पादन प्रोत्साहनका लागि विशेष कार्यक्रम ल्याउने समेत सरकारले बताएको छ । यसका लागि ३ अर्ब विनियोजन गरिएको छ ।

काठमाडौं महानगरका जनप्रतिनिधिको शपथ ग्रहण भोलि

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले सोमबार (भोलि)ं शपथ ग्रहण गर्ने भएका छन् । भोलि बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुनेछ । त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

विप्लव समूहको बैठक उदयपुरमा, फागुनमा महाधिवेशन गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा समुहको केन्द्रीय समिति बैठक उदयपुरमा जारी छ। गत १२ गते सुरु भएको बैठक केही दिन लम्बिने बताएको छ।   विप्लव समूह विभाजन भई धर्मेन्द्र बास्तोलाले नेकपा बहुमत गठन गरेपछि पहिलो पटक विप्लव समूहको बैठक बसेको हो। बैठकमा पार्टीको ९ औ महाधिवेशन फागुन १ गते गर्नेगरी छलफल चलेको एक नेताले बताए। यस्तै बैठकमा स्थानीय तह निर्वाचन समीक्षासहित आगामी कार्यदिशा र कार्ययोजनाका विषयमा छलफल भईरहेको बताएको छ।

गणतन्त्र समृद्ध बनाउन सबैलाई एकताबद्ध हुन उपराष्ट्रपति पुनको आग्रह

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै लैजानुपर्ने बताए । गणतन्त्र प्राप्तिका सबै दल एकताबद्ध भएर सङ्घर्षमा उत्रिएको उल्लेख गर्दै उनले गणतन्त्रलाई समृद्ध बनाउन पनि एकताबद्ध भएर लाग्नुपर्ने बताए । गणतन्त्रलाई समृद्ध बनाउन आजको दिनले सबैलाई प्रेरणा दिने उनको विश्वास छ । गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा बलिदानी दिने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उपराष्ट्रपतिले घाइते योद्धाको स्वास्थ्यलाभको कामनासहित उनीहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गरे । उनले गणतन्त्र प्राप्तिको सङ्घर्षका क्रममा बेपत्ता भएकाप्रति सम्मान व्यक्त गरे । गणतन्त्र प्रारम्भको १४ वर्षलाई नियाल्दा राजनीतिक तहमा ठूला–ठूला उथलपुथल भएको उल्लेख गर्दै उनले फलस्वरुप सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितका समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधान बनेको बताए । संविधानबमोजिम दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्मुखमा रहेको जनाउँदै उपराष्ट्रपतिले संविधानले महिला, आदिवासी जनजाति, दलित, मधेसी, अल्पसङ्ख्यक, उत्पीडित क्षेत्रका समुदायलाई थुप्रै अधिकार दिइएको बताए । राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा सकारात्मक प्रभाव नपारेसम्म परिवर्तनको संस्थागत र दिगोपनामा चुनौती रहिरहने भन्दै उनले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहमति, सहकार्य र राष्ट्रिय एकताका साथ अगाडि बढ्न आग्रह गरे । “यति गर्न सकियो भने जनताको जीवन परिवर्र्तन तथा देशको विकास र समृद्धिमा कुनै ढिला हुँदैन । यसबाट जनतामा उत्साह थपिनेछ र गणतन्त्रप्रति विश्वास बढ्नेछ”, उनले भने , “गणतन्त्रप्रति जनताको प्रगाढ विश्वास हुँदा मात्रै यसको रक्षाका लागि बलिदान भाव जागृत हुनसक्छ । यसतर्फ म सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”

गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने बताए । संविधानअनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै सभामुख सापकोटाले राज्य संयन्त्रमा भएका परिवर्तन सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन हुन आवश्यक रहेको बताए । गणतन्त्र दिवसका अवसरमा देश–विदेशमा रहनुुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुहुँदै गणतन्त्र दिवसले राष्ट्रहित, गणतन्त्र, संविधानसहित उपलब्धिको रक्षाका लागि एकजुट हुने प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध र जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरे । उनले गणतन्त्र प्राप्तिको लामो र कठिन सङ्घर्षमा घाइते तथा अपाङ्ग भएकाहरू एवं बेपत्ता योद्धाको बलिदानीभावको स्मरण र उच्च सम्मान व्यक्त गरे ।

महाराजगन्ज क्याम्पसमा विद्यार्थीबीच कुटाकुट, दुई जना घाइते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गत महारागगन्ज क्याम्पसमा अध्ययनरत विद्यार्थीको दुई टोलीबीच झडप भएको छ । शुक्रबार राति भएको आक्रमणबाट एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत सागर खड्का र वीरेन्द्रजंग कुँवर घाइते भएका छन् । आफूहरुमाथि छात्रबासमै बस्ने अर्को सिनियर टोलीले कुटपिट गरेको उनीहरुको आरोप छ । घाइते कुँवरको त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । खड्काको टाउको सामान्य चोट लागेको छ । कुँवरको भने पाखुरामा धारिलो वस्तुले प्रहार गरेको गहिरो चोट देखिन्छ । आफूमाथि आक्रमण भएपछि कुँवरले काठमाडौं प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका छन् । उनले एमबीबीएस अध्ययनरत सुलभ आचार्य, रमेश बलायर, सूर्यप्रकाश जोशी, शिव सिंह, विकास देव, सुरज भट्ट, सम्राट भट्ट र सुमित बोहराविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् । राति मादकपदार्थ सेवन गरेर छात्रवासमा आएका व्यक्तिहरुले सिसालगायत धारिलो वस्तुले प्रहार गरेको खड्काको आरोप छ । घाइते खड्काले घटनाबारे क्याम्पस प्रशासनलाई जानकारी गराउँदा प्रहरीमा जान भनेको तर प्रहरीले जाहेरी दर्ता गर्न नमानेको उनको गुनासो छ । महाराजगन्ज वृत्तका डिएसपी प्रमेश विष्टले भने पीडितको उजुरीको आधारमा घटना अनुसन्धान भइरहेको जानकारी दिए । आक्रमणबाट चोट लागेका व्यक्तिको घाउ जाँच गर्न पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । ‘घटनाको अनुसन्धानपछि कुन कसुरमा मुद्दा चलाउने स्पष्ट हुन्छ, अहिले घाइते भएका व्यक्तिको घाउ जाँच गरिएको छ,’ उनले भने । अर्को समूहले पनि आफूहरुमाथि आक्रमण बताएको तर यसबारे प्रहरीमा उजुरी भने नआएको डीएसपी विष्टले बताए ।

पोखरामा एकीकृत समाजवादीले जित्नु दुःखद : पृथ्वी सुब्बा गुरुङ

काठमाडौं । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पोखरामा एकीकृत समाजवादीले चुनाव जित्नु दुःखद भएको बताएका छन् । उनले पोखराकी उपमेयर मञ्जु गुरुङलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीलाई पोखरा टाउको उठाउने ठाउँ बनेकोमा एमाले चिन्तित बनेको बताए । गुरुङले निर्वाचनको मौन अवधिमा कुनाकुनामा लगेर गठबन्धनले पैसा बाँडेको आरोप समेत लगाए । उनले नेकपा (एकीकृत समाजवादी)लाई देशभर धेरै ठाउँमा पराजित गरेर अस्तित्वको संकटमा पारेको दाबी पनि गरे । तर, पोखरामा भने एकीकृत समाजवादीले टाउको उठाउने ठाउँ पाउनु दुःखद भएको उनले बताए । ‘एकीकृत समाजवादीलाई धेरै ठाउँमा पराजित गरेर उसको अस्तित्व संकटमा पारेका छौँ । तर, पोखरामा उसले शिर ठाडो पार्यो,’ उनले भने, ‘यो हाम्रा लागि दुःखद विषय हो ।’ गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले अन्य प्रदेशमा एमाले पराजय भए पनि गण्डकीमा भने आफ्नो साख जोगाउन सफल भएको दाबी गरे । उनले अन्य ६ वटा प्रदेशमा भने एमालेले साख गिराएको बताए । उनले भने, ‘अरू ६ वटा प्रदेशमा कतै पनि पुरानो विरासत कायम राख्न सकिएको छैन । तर, हामीले गण्डकीमा पुरानो विरासत कायम राख्न सकेका छौँ ।’ पोखरामा भएका कामको पनि प्रचार नगरिएको भन्दै उनले दुखेसो पोखेका छन् । फेवातालको सिमांकन, खानेपानी ल्याउने कामको सुरुवातलगायत महत्वपूर्ण काम भएको भए पनि त्यसको उचित प्रचार नगरिएको उनले बताए । देशव्यापी रूपमा प्रमुख र अध्यक्ष पदका उम्मेदवार धेरै पराजित भएको भन्दै उनले समीक्षा हुनुपर्ने बताए ।

निर्वाचन आयुक्त मर्यादामा नबस्दा ठूलो संख्यामा मत बदर भयो : मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबस्दा ठूलो संख्यामा मत बदर भएको बताएका छन् । पोखरामा बुधबार आयोजित विजय सभामा बोल्दै नवनिर्वाचित मेयर आचार्यले निर्वाचन आयोगको बदनियत प्रष्ट देखिएको बताएका हुन् । ‘उहाँ (दिनेशकुमार थपलिया)को यहीखालको रवैया, यहीखालको गतिविधि र भाइबन्दी गर्ने हो भने पदमा बसिरहन नैतिक अधिकार छैन,’ आचार्यले भने, ‘उहाँले आफैँले आफैँलाई नैतिक अधिकार के हो भनेर सोध्न जरुरी छ ।’ आचार्यले निर्वाचन आयोगको रवैया ठिक नभएको भए आफूले २७ हजार बढी मतान्तरले चुनाव जित्ने र गठबन्धनतर्फबाट उपमेयरको पनि १६ हजार मतान्तर हुने दाबी गरे । अध्याँरो कोठामा बसेर षड्यन्त्रको जालो बुनिएको उनको आरोप छ । आचार्यले अबदेखि महानगरमा भाषण भन्दा पनि समृद्धि पोखरा बनाउने गरी काम सुरु हुने बताए । ‘कम महत्वका कार्यक्रममा समय बिताउने छैनौं, कसरी काम गर्नुपर्छ भनेर क्यूआर बनाउनेछौ,’उनले भने, ‘सबैबीच तालमेल नहुन सक्छ, त्यसैले यो महिनाभित्र करिब १० दिनमा सबै वडामा पुग्नेछौं, सबैको कुरा सुन्ने छौं ।’ आचार्यले अब कसरी काम अघि बढाउने भन्नेबारे क्लोज क्याम्प गर्ने पनि बताए । ३ दिन–२ रातको क्लोज क्याम्पमा पोखराका ३३ वटै वडाका वडाध्यक्ष, मेयर, उपमेयर, महानगरका प्रमुख प्रशासकीय अधिकृत, महानगरका विभिन्न विभागीय प्रमुखको मात्र उपस्थिति हुने र पोखरा बनाउन घनिभूत छलफल गर्ने उनले बताए । ‘सो कार्यक्रममा कसैको पनि मोबाइल बज्ने छैन,’ उहाँले थप्नुभयो, ‘हामी पोखराको विकासमा चिन्तन गर्नेछौं ।’ आचार्यले चुनावपछि गठबन्धनबाट आएका पदाधिकारीमात्र सीमित नभई यसबाहेकका दलबाट आएका पदाधिकारीलाई पनि समेट्दै अघि बढ्ने बताउनुभयो । महानगरभित्र आएर पार्टीका कुरा नगर्ने उहाँको भनाइ छ । पोखराको सभागृहबाट सुरु विजयी ¥याली महेन्द्रपुल हुँदै नयाँबजार पुगेको थियो ।

एमालेद्धारा हार स्वीकार : चुनाव हार्नुको मूख्य कारण अन्तरघात

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते भएको स्थानीय तह चुनावमा एमालेकाे हार स्वीकार गरेका छन् । उनले पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन्। बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताएका हुन्। ‘अरू पार्टीका कारण होइन ‍यसपटक एमालेमा अन्तरघात भयो। यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत्‌ रूपमा समीक्षा गरिनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने , ‘चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं। भकाभक उपमेयर जित्ने, मेयर हार्ने भन्ने हुँदैन।’ ओलीले माधव नेपालको पार्टीमा समेत यस्तो अन्तरघात नभएको बताए। ‘अरू पार्टीमा नभएको यस्तो अन्तरघात हाम्रो पार्टीमा मात्रै कसरी भयो हामीले खोज्नुपर्छ,’ ओलीले बैठकमा भने,‘अर्को कारण राज्यसत्ताको चरम दुरूपयोग भयो। केही ठाउँमा हाम्रा साथीहरूको हत्यासम्म भयो। लोकतन्त्रको चीरहरण गर्ने काम भयो। त्यसले पनि हाम्रो मतमा प्रभाव पार्‍यो।’ वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। अब काठमाडौं महानगरसहित ६ पालिकामा मात्र अन्तिम परिणाम आउन बाँकी छ। एमाले यसपालि दोस्रो दल बनेको छ। २०७४ को चुनावमा २९४ पालिका जितेको एमाले यसपालि २०३ पालिका मात्रै मेयर –अध्यक्ष जितेको छ। चुनावी परिणामपछि ओलीले पहिलो पटक बुधबार यसबारे प्रतिक्रिया दिएका हुन्।

२५ आवश्यक सेवामा हड्ताल गर्न निषेध

काठमाडौं । सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ। जेठ १० गते बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो। बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकामा सञ्चालन हुने साइबर सेक्युरेटी लिडरसिप प्रोग्राम तथा ट्रेनिङमा सहभागी हुन नायब महान्यायाविधवक्ता टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णय भएको बताए। त्यस्तै सरकारले अमेरिकाको हवाईस्थित होनलुलुमा जेठ १८ देखि २० गतेसम्म आयोजना हुने कन्प्रिहेन्सिभ सेक्युरिटी कोर्समा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकति प्रदान गर्ने निर्णय गरेको छ। प्रवक्ता कार्कीले आउँदो जेठ १८ देखि २५ गतेसम्म भारतमा आयोजना हुने हाई लेभल नेपाल स्टडी मिसन टु इन्डिया अन राइट टु फुड एन्ड फुड सर्भिरेन्टी एक्ट कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपंक्षी विकास मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय भएको पनि जानकारी दिए। त्यस्तै सरकारले आगामी जेठ २९ देखि असार ५ सम्म जर्मनी, बेल्जियम र फ्रान्समा लर्निङ एन्ड नलेज सेयरिङ अन युरोपियन कोअप्रेटिभ सिस्टम एन्ड गुडप्राक्टिसेस अन एग्रिकल्चर फ्रुट एन्ड भिजिटेबल कोअप्रेटिभ्स मार्केट डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत प्रदान गर्ने, रूवाण्डाको किगालीमा जेठ २३ गतेदेखि असार २ गतेसम्म आयोजना हुने वर्ल्ड टेलिकम्युनिकेसन डेभलपमेन्ट कन्फरेन्समा भाग लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई स्वीकृत दिने निर्णयसमेत गरेको छ। प्रवक्ता कार्कीले लोकसेवा आयोगको सिफारिस बमोजिम नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा तथा नियुक्ति पदस्थापना गर्ने निर्णय गरेको पनि बताए।

माओवादीले जनप्रतिनिधिलाई एकै ठाउँमा प्रशिक्षण दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई एकै ठाउँ राखेर प्रशिक्षण दिने भएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले आगामी जेठ १८ र १९ गते स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो ।   उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित विशेषज्ञले प्रशिक्षण दिने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । नेकपा माओवादीले स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये १२१ स्थानीय तहमा जित हासिल गरेको छ । अघिल्लो स्थानीय तहको चुनावमा जितेका ३ दर्जनभन्दा बढि स्थानीय तह गुमाएपछि माओवादीले जनतामा प्रभावकारी काम कसरी गर्ने र आफ्नो पकड कायम राखिरहने भन्ने बारे प्रशिक्षण गर्न लागेको हो । माओवादीले यसपटकको स्थानीय तह चुनावमा नयाँ पालिकाहरु थपेपछि पुराना पालिकाहरु गुमाएको छ ।

यूरोपमा समलिङ्गीहरुको रेभ सेक्स पार्टीबाट मंकिपक्स फैलिएको दावी

काठमाडौं । यूरोपमा समलिङ्गीहरुबीच असुरक्षित यौन सम्पर्कबाट मंकिपक्स संक्रमण फैलिएको दावी गरिएको छ । हालैमात्र स्पेन र बेल्जियममा भएका दुई वटा रेभ पार्टीमा सहभागीमा यो संक्रमण देखिएको थियो । लागुपदार्थ र मदिराको सेवनसँगै संगीत, नृत्य र सेक्स समेत रहने रेभ पार्टीैमा जोखिमजन्य व्यवहार नै यूरोपमा संक्रमण फैलाउने मुख्य कारण भएको डा। डेभिड हेमनले बताएका छन् । उनी विगतमा विश्व स्वास्थ्य संगठनको आपतकालिन विभागका प्रमुख थिए । मिडियालाई दिएको एक अन्तर्वार्तामा उनले संक्रमित मानिसहरुसँग करिबी सम्पर्कबाट मंकिपक्स हुने र यौन सम्बन्धलाई यसलाई तीब्रता दिएको दावी गरेका हुन । मंकिपक्स संक्रमण पहिलोपटक१९५८ मा खोजिएको थियो । त्यो बेला अनुसन्धानका लागि राखिएको दुईवटा बाँदरमा दादुरा जस्ता बिरामीका लक्षण देखिएका थिए । मानिसमा भने यसको पहिलो घटना सन् १९७० मा कंगोमा ९ वर्षका बालकमा देखिएको थियो । लामो समयदेखि संक्रमणका अन्य घटना नदेखिएपनि अहिले भने अफ्रिकाबाट फर्केकाहरुमा संक्रमण देखिएको छ । हालसम्म संक्रमणका १३० भन्दा बढी घटना देखिएका छन् ।

एक महिनाभित्र पाठ्यपुस्तक छापिसक्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय तहको पाठ्यपुस्तक एक महिनाभित्र छापिसक्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । १ जेठदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि सरकारले विद्यार्थीलाई पाठ्यपुस्तक दिन सकेको छैन । यस विषयमा छलफल गर्न बुधबार शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रका अधिकारीलाई बोलाएको थियो । उनीहरुसँगको छलफलपछि समितिले छापिसकेका पुस्तक तत्काल वितरण गर्न पनि निर्देशन दिएको छ । समितिको बैठकमा जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक अनिल झाले ३५ लाख पुस्तक छाप्न बाँकी रहेको जानकारी गराएका थिए । सबै पुस्तक छापिसकेर मात्र वितरण गर्ने तयारी गरेकाले ढिलाइ भएको उनको भनाइ छ । कोरोना महामारी, स्थानीय तहको निर्वाचन र रुस युक्रेन युद्धका कारण भारतमा कागज अभाव भएको र भारतमै अभाव हुँदा नेपालमा पनि अभाव देखिएको महाप्रबन्धक यादवले बताए । उनले पुस्तक छाप्न अहिले कागज अभाव छ वा छैन भन्नेबारे केही खुलाएनन् ।

भारतद्धारा चिनी निर्यातमा रोक, नेपालमा कस्तो असर पर्ला ?

काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।   रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिए पछि विभिन्न मुलुकले त्यसको असरबाट आफ्नो मुलुकलाई बचाउन खाद्यान्न जोहोको निर्णय गरिरहेका छन् । केही दिन अघि भारतले फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा कर वृद्धिको निर्णय गरेको थियो । वाणिज्य विज्ञ रविशंकर सैजुका अनुसार भारतले लगाएको निर्यात रोकको असर नेपाली बजारमा पर्नेछ । नेपालको आन्तरिक उत्पादनले नपुग्ने भएकाले नेपाल(भारत लगायतका मुलुकमा चिनीमा परनिर्भर रहेको उनले बताए । नेपाल चिनी उद्योग संघले दिएका जानकारीअनुसार यो चालु आवमा नेपालमा ३ लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । तर, त्यसमा कति उपभोग भयो भन्ने विवरण कुनै सरकारी निकायसँग छैन् । चालु आर्थिक वर्षको वैशाखसम्म ४ अर्ब ८३ करोडको ९४ हजार ८४ मेट्रिकटन चिनी नेपालमा आयात भएको भन्सारको विवरणमा देखिन्छ ।

प्रदेश १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

विराटनगर । प्रदेश १ को प्रदेश सभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेका हुन् । उनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त दिन अधिवेशन आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन आह्वानसम्बन्धी सूचना उल्लेख छ ।

बढ्यो नेपाली क्रिकेट खेलाडीको तलब

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ । क्यान राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव बढेको हो ।   क्यानले राष्ट्रिय खेलाडीहरुलाई ए, बी र सी ग्रेडमा राखेको छ । सोही अनुसार मासिक पारिश्रमिक दिने गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरुको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाएको छ । त्यसै गरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजारले वृद्धि गरेको छ । त्रिवि क्रिकेट मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरिएको छ ।