बुटवलमा कम्युनिष्ट नेता पुष्पलालको शालिक तोडे एमाले समर्थकहरुले

बुटवल, मंसिर १६ । नेकपा एमाले निकट प्रदर्शनकारीहरुले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको शालिक तोडफोड गरेका छन् । एमालेले आफ्नो आदर्श मान्ने नेता पुष्पलालको शालिकमा रहेको हँसिया हथौडा समेत टुटेको छ ।

बुटवलका सबै चोकमा प्रदर्शनकारीहरुले टायर बालेका छन् । बुटवलको मुख्य चोक पुष्पलाल पार्कमा अवस्थित सहिद स्तम्भलाई घेरिएको पार्कको भौतिक संरचना पूर्ण रुपमा ध्वस्त हुँदासमेत प्रहरी नियन्त्रण गर्न सकेन ।

पुष्पलाल पार्कको उत्तर दक्षिण पूर्व पश्चिम चारैतिरबाट एक्कासी आन्दोलनकर्ताहरुलाई उक्साएर तोडफोड गरियो । बार सबै भाँचिए । सिमेन्ट र फलामका फिल्लरहरु उखालिए ।

तर यत्तिमा सान्त भएन आन्दोलनकारीले सहिद स्तम्भमा रहेको हसिया हतौडा अंकित झण्डा नफालेसम्म नछाड्ने भन्दै उग्र हुन थालेपछि प्रहरीले लाठीँचार्ज गरेको छ ।

सुरुमा एमालेनिकट अनेरास्ववीयूले नेतृत्व गरेको भनिएको आन्दोलनबाट विद्यार्थी नेता एकाएक गायब भएपछि उग्र बनेका केही अराजक झुण्डले प्रहरीलाई नै ढुंगामुडा गरेका छन् । नेतृत्व हराएपछि झनै उग्र बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

गोलपार्क, बुटवल बहुमुखी क्याम्पस गेट, पाल्पा बसपार्क, ट्राफिक चोक, पुष्पलाल पार्क, नेपालगन्ज रोड, मिलनचोक, बसपार्क, चौराहा, जैपते, खैरेनी लगायतका क्षेत्रमा आन्दोलनकारीहरु छन् । नारा जुलुससहित पुरै बुटवल नगर परिक्रममा गर्दै बुटवलस्थित नगरपालिका कार्यालय लगायतलाई घेरा समेत हालेका छन् ।

विहानै ३ बटा सवारीमाथि आगजनी भएका छन् विवाहको गाडीमा समेत तोडफोड भएको छ । बन्द भोली ३ बजेसम्मको लागी भने खुकुलो हुने संकेत देखिएको छ । भोली नै बुटवलको चौराहामा नेपाली कांग्रेसका नेता एवंम रक्षामन्त्री बालकृष्ण खाणँ, एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, त्यस्तै कांग्रेसका नेता चन्दबहादुर भण्डारी, एमालेका प्रदिप ज्ञवाली, जनमोर्चाका नेता एवंम अन्य दलका नेताहरुले संम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।