प्राधिकरणका तीन सञ्चालकविरुद्ध ऊर्जालाई चाहियाे स्पष्टीकरण

काठमाडौँ, मंसिर १७ । पदीय मर्यादा विपरीत गतिविधि गरेको भन्दै नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यलाई ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणको सुधार प्रक्रियामा अवरोध गरेको तथा विद्युत्भार कटौती अन्त्य गर्ने काममा समेत लगातार अवरोध गरेको पाइएपछि सञ्चालक समितिका सदस्यहरु मनोजकुमार मिश्रा, लक्ष्मणकुमार अग्रवाल र सुरज लामिछानेलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

प्राधिकरणको बोर्ड बैठकको माइन्युटमा लामो समयसम्म हस्ताक्षर नगर्ने, संस्थालाई आर्थिक नोक्सानी हुने अवस्था हुँदा पनि निर्णय गर्न आनाकानी गरेको, अनधिकृत रुपमा बोर्ड बैठकको निर्णय भनी झुटा कुरा सञ्चारमाध्यममार्फत सार्वजनिक गरेकाले संस्थाको मर्यादा, हित र अन्य दैनिक कारबाहीमा समेत प्रभाव पारेकाले सात दिनभित्र कारबाही गर्नुनपर्ने भए चित्त बुझ्दो कारणसहित उपस्थित हुन मन्त्रालयले तीनैजना सञ्चालकलाई भनेको छ ।

मन्त्रालयले बिहीबार नै उनीहरुलाई पत्र पठाएको थियो । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा सचिव अनुपकुमार उपाध्यायले संस्थाको गरिमा, मर्यादा जोगाउन स्पष्टीकरण पत्र काटिएको बताए। प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले कार्यभार सम्हालेपछि सुरु भएको विद्युत्भार कटौतीमुक्त गर्ने अभियानमा समेत उनीहरुले खुलेर साथ नदिएको आरोप लाग्ने गरेको छ ।

यही मङ्सिर १० गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत उनीहरुले अवरोध गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले केही जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा सञ्चालकत्रयले अवरोध गरेको बताइन्छ । तर सञ्चालक समिति सदस्य मिश्राले भने गैरकानुनी रुपमा कम्पनी खोल्न लागिएकाले आफूहरुले त्यसको प्रतिवाद गरेको बताए ।

विद्युत्भार कटौतीमुक्त अभियानमा समेत आफूहरुलाई सहभागी नगराइएको र हचुवाको भरमा अभियान बढाएको उनको भनाइ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सोलु करिडोर प्रसारण लाइनमा अनियमितता गरेको भन्दै सञ्चालकत्रयलाई हटाउन नेपाल सरकारलाई निर्देशन दिएको थियो ।

सञ्चालक समिति सदस्यबाट आफूहरुलाई हटाएको भन्दै सञ्चालकत्रयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले ऊर्जाको निर्णय गलत भएको भन्दै सञ्चालकको पक्षमा नै निर्णय गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नागरिकलाई सहज रुपमा विद्युत् सेवा उपलब्ध गराउन लागिपर्ने बताए ।

फरार बलात्कारी पक्राउ

बुटवल, मंसिर १७ । एक किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रुपन्देहीबाट जेल सजाय पाई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका– ९ दीपनगरका ४० वर्षीय किसनबहादुर क्षेत्रीलाई बिहीबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए । उनी विरुद्ध जबर्जस्ती करणी र जबर्जस्ती चोरी मुद्दा रहेको छ ।

पाल्पा अनिश्चितकालिन बन्द

रामपुर (पाल्पा),  मङ्सि र१७ । प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएका पाल्पाका संयुक्त युवा, तरुण तथा विद्यार्थी आन्दोलन समितिले आजदेखि अनिश्चितकालका लागि जिल्ला बन्दको आह्वान गरेका छन् । सरकारले प्रदेश नम्बर ५ बाट पाल्पालाई अलग्याएर प्रदेश नम्बर ४ मा राखेको भन्दै पाल्पामा विरोधस्वरुप आजदेखि अनिश्चितकालसम्मका लागि जिल्ला बन्दको आह्वान गरिएको हो । संयुक्त युवा, तरुण तथा विद्यार्थी आन्दोलन समिति, पाल्पाले सरकारले संविधान संशोधनको नाममा ५ नम्बर प्रदेशलाई टुक्रयाउने कुरा आफूहरुलाई मान्य नहुने भन्दै यसको विरुद्धमा विरोध गर्दै बिहीबार दिनभर जिल्ला बन्द गरिएको थियो । बन्दका कारण विद्यालय, विभिन्न सङ्घसंस्था, यातायातका सवारीसाधन, कलकारखाना, बजार, पसल, उद्योग सबै ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ । यहाँबाट बाहिरिने छोटो तथा लामो दूरीका सवारीसाधन नचल्दा यात्रु मर्कामा परेका छन् । समितिले पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम र रोल्पालाई तराईबाट अलग्याउन खोजिएको भन्दै बिहीबार साँझ ५ बजेसम्म जिल्ला बन्द गरेको र आजदेखि अनिश्चितकालसम्मका लागि जिल्ला बन्द गर्ने नेपाल विद्यार्थी सङ्घका जिल्ला सभापति कृष्णबहादुर आलेले जानकारी दिए । सरकारले मङ्गलवार संविधान संशोधनका लागि संसद् सचिवालयमा दर्ता गरेको मस्यौदामा प्रदेश नम्बर ५ लाई विभाजन गरी पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा र रुकुमलाई प्रदेश नम्बर ४ मा राख्न प्रस्ताव गरेको सीमाङ्कन हेरफेरप्रति पाल्पाका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यवसायी पनि आन्दोलनमा उत्रेका छन् । पूर्वी पाल्पाको रामपुर क्षेत्रमा भने बन्दको खासै प्रभाव परेको छैन । यहाँका नागरिकले न त विरोध न त समर्थन नै जनाएका छन् । रासस –––––  

प्रहरी जवानसहित पाँचजना जेल चलान

वीरगन्ज, मङ्सिर १७। जिल्ला अदालत पर्साले बिहीबार अपहरणको आरोप लागेका प्रहरी जवानसहित पाँचजनालाई दोषी ठहर गरी नौवर्ष कैद तथा जनही रु पाँच लाख ५० हजार जरिवाना गरिएको छ । पर्सा जिल्ला अदालतका आठ नं बेन्चका न्यायाधीश राजेन्द्र नेपालको इजलासले यस्तो फैसला गरेको हो । वीरगन्ज उपमहानगरपालिका–१९ नगवा बस्ने राजेशकुमार साहलाई अपहरण गरी रु चार लाख फिरौती लिएको कसुरमा उनीहरुलाई यस्तो सजाय गरिएको हो । पर्सा प्रहरीले २०७२ चैत २३ गते प्रहरी शाखामा कार्यरत अरविन्दकुमार सिंह र प्रहरी हवल्दार विनय सिंहले वीरगन्जका सुन व्यापारी राजेश साहलाई नियन्त्रणमा लिई एउटा होटलमा राखी फिरौती रकम असुल गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । यसैगरी, अदालतले हरपतगन्ज–८ का भगवान सिंह र चोर्ली–२ का दीपकसिंह राजपुत, सर्लाही अर्नाहा–५ का प्रहरी जवान अरविन्द सिंह, वीरगन्ज उपमहानगरपालिका–१८ का वृजेशकुमार सिंह, तथा सर्लाही धनुराका प्रहरी जवान विनय सिंहलाई अपहरण मुद्दामा सातवर्ष कैद र सङ्गठित अपराधविरुद्ध गरी नौवर्ष कैद सजाय सुनाएको छ । अभियुक्तलाई हाल वीरगन्ज कारागारमा राखिएको छ । रासस

सिन्धुलीमा घरेलु तथा लैङ्गिक हिंसा वृद्धि

सिन्धुली,  मङ्सिर १७। सिन्धुलीमा घरेलु हिंसा बढ्दो मात्रामा रहेको छ । अहिलेसम्म घरेलु हिंसा भएको भन्दै पीडितबाट २० वटा उजुरी परेको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । अघिल्लो आर्थिक बर्षमा जम्मा ७९ वटा उजुरी परेकोमा यस आर्थिक बर्षको पहिलो चौमासिकमा २० वटा दर्ता भै सकेको महिला तथा वालवालिका सेवा केन्द्रले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली अन्तरगतको महिला तथा वालवालिका सेवा केन्द्रले विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको भएपनि ग्रामीण तथा शिक्षित परिवारबाटै घरेलु हिंसा बढ्दो मात्रामा रहेको छ । अहिलेसम्म झै–झगडा तथा कुटपिटमा १०, खाना लगाउन तथा घर खर्च नदिएकोमा ६, दुव्र्यवहारमा १, धाकधम्की र गालीगलौजमा ३ वटा उजुरी दर्ता भैसकेको सेवा केन्द्रले जनाएको छ । उजुरी परेका मध्ये झै–झगडा तथा कुटपिटमा ५ वटा उजुरी मिलापत्र भएको १ वटा अदालतमा गएको र ४ वटा उजुरीमा आवश्यक कारवाही गरिएको छ । यस्तै, खान लगाउन घर खर्च नदिएकोमा ६ वटा उजुरी परेको र ४ वटामा मिलापत्र र २ वटामा आवश्यक कारवाही भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सुभाषचन्द्र वोहोराले जानकारी दिनुभयो । दुव्र्यवहारमा एउटा उजुरी परेको र आवश्यक कारवाही भैसकेको उहाँको भनाई छ । धाकधम्की दिएको भनी परेको उजुरीमा २ मिला पत्र भएको र १ आवश्यक कारवाही गरिएको उहाँको भनाई छ । जिल्लामा घरेलुहिंसा बढेको भन्दै जिल्ला प्रहरी कार्यालय र महिला तथा वालवालीका सेवा केन्द्रले जिल्लाका ग्रामिण क्षेत्रमा विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ । अघिल्लो बर्ष ७० वटा उजुरीमा मिलापत्र गराएको र २ वटा मुद्दा अदालतमा गएको प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सो अवधिमा उजुरी दर्ता गराएर ७ जना भने सम्पर्कमा नआएको प्रहरीले बताएको छ । घरेलु हिंसा न्युनिकरण गर्न प्रहरीले स्थानीय सञ्चार माध्यमबाट सन्देशहरु प्रशारण गर्दै आएको जनाएको छ । यस्तै, समुदायस्तरमा लैंगिक हिंसा सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया, वृत्तचित्र प्रदर्शन, गाविसस्तरिय चेतनामूलक सडक नाटक प्रदर्शन, वडास्तरिय महिला समुहसंग अन्तरक्रिया तथा विद्यार्थी सचेतना कार्यक्रम पनि भैरहेको प्रहरीको भनाई छ । रासस ––––––  

२३ जनाबाट करोड बढी ठगी गर्ने फरार पाेखरेल पक्राउ

काठमाडौं, मंसिर १६  । बैंकलाई नै ठगी गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करोडौं रकम ठगी गरी फरार रहेका नवलपरासी बर्दघाट नगरपालिका–६ बसाई सराई गरेका प्युठान तोर्वाङ–६ चिस्वाङका ३८ वर्षीय ईश्वरीप्रसाद पोख्रेललाई पक्राउ गरेको हो । उनलाई काठमाडौं महानगरपालिका कमलपोखरीबाट बिहिबार प्रहरीले पक्राउ गरेको जनाएको छ । २३ जनाबाट करोडबढी ठगी पोखरेलले सन्दीप दर्नाल, भिमबहादुर दर्जी, शान्ती राई समेत २३ जनालाई इजरायल पठाउने भन्दै १ करोड ५ लाख लिएका थिए । त्यस्तै, सुदीपराज पन्तलाई दक्षिण कोरिया पठाउने भन्दै ३ लाख लिएको, रोजन लामालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने भनी २ लाख ५० हजार लिएर पोखरेल फरार रहेका थिए । उनी भारतको लखनउमा बस्दै आएको पीडितको जानकारीपछि महानगरीय अपराध महाशाखाको विशेष टोलीले खोजतलास गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गर्न सफल भएको हो । यस्ता छन् पोखलका कर्तुत २०६७ सालमा नबिल बैंक र किष्ट बैंकलाई ठगी गरेको मुद्दामा अदालतबाट २ वर्ष कैद र २ लाख २९ हजार रुपैयाँ जरीवाना फैसला भएको थियो । २०७२ सालमा बाँके जिल्ला अदालतबाट ठगी मुद्दा दर्ता भई पुर्पक्ष भइरहेको थियो । उनले धेरै व्यक्तिहरुलाई करोडौ ठगी गरे पश्चात अमेरिका जानको लागि प्रकृया गरिरहेको, विभिन्न बेरोजगार युवायुवतीलाई प्रलोभनमा पारी ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हाल उनी भारत लखनउमा बस्दै मोटरपार्टस सप्लायर्स सम्बन्धी काममा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।

बुटवलमा कम्युनिष्ट नेता पुष्पलालको शालिक तोडे एमाले समर्थकहरुले

बुटवल, मंसिर १६ । नेकपा एमाले निकट प्रदर्शनकारीहरुले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको शालिक तोडफोड गरेका छन् । एमालेले आफ्नो आदर्श मान्ने नेता पुष्पलालको शालिकमा रहेको हँसिया हथौडा समेत टुटेको छ । बुटवलका सबै चोकमा प्रदर्शनकारीहरुले टायर बालेका छन् । बुटवलको मुख्य चोक पुष्पलाल पार्कमा अवस्थित सहिद स्तम्भलाई घेरिएको पार्कको भौतिक संरचना पूर्ण रुपमा ध्वस्त हुँदासमेत प्रहरी नियन्त्रण गर्न सकेन । पुष्पलाल पार्कको उत्तर दक्षिण पूर्व पश्चिम चारैतिरबाट एक्कासी आन्दोलनकर्ताहरुलाई उक्साएर तोडफोड गरियो । बार सबै भाँचिए । सिमेन्ट र फलामका फिल्लरहरु उखालिए । तर यत्तिमा सान्त भएन आन्दोलनकारीले सहिद स्तम्भमा रहेको हसिया हतौडा अंकित झण्डा नफालेसम्म नछाड्ने भन्दै उग्र हुन थालेपछि प्रहरीले लाठीँचार्ज गरेको छ । सुरुमा एमालेनिकट अनेरास्ववीयूले नेतृत्व गरेको भनिएको आन्दोलनबाट विद्यार्थी नेता एकाएक गायब भएपछि उग्र बनेका केही अराजक झुण्डले प्रहरीलाई नै ढुंगामुडा गरेका छन् । नेतृत्व हराएपछि झनै उग्र बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । गोलपार्क, बुटवल बहुमुखी क्याम्पस गेट, पाल्पा बसपार्क, ट्राफिक चोक, पुष्पलाल पार्क, नेपालगन्ज रोड, मिलनचोक, बसपार्क, चौराहा, जैपते, खैरेनी लगायतका क्षेत्रमा आन्दोलनकारीहरु छन् । नारा जुलुससहित पुरै बुटवल नगर परिक्रममा गर्दै बुटवलस्थित नगरपालिका कार्यालय लगायतलाई घेरा समेत हालेका छन् । विहानै ३ बटा सवारीमाथि आगजनी भएका छन् विवाहको गाडीमा समेत तोडफोड भएको छ । बन्द भोली ३ बजेसम्मको लागी भने खुकुलो हुने संकेत देखिएको छ । भोली नै बुटवलको चौराहामा नेपाली कांग्रेसका नेता एवंम रक्षामन्त्री बालकृष्ण खाणँ, एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, त्यस्तै कांग्रेसका नेता चन्दबहादुर भण्डारी, एमालेका प्रदिप ज्ञवाली, जनमोर्चाका नेता एवंम अन्य दलका नेताहरुले संम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

उच्च शिक्षा शीघ्र कार्यान्वयन गर्न सुझाव

काठमाडौँ, मङ्सिर १६। व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समिति अन्तर्गतको ‘शिक्षा उपसमिति’ ले उच्च शिक्षा नीति शीघ्र कार्यान्वयन गर्न सुझाव दिएको छ । सांसद प्रा.डा गणेशमान गुरुङको संयोजकत्वमा गठित ११ सदस्यीय उपसमितिले तयार गरेको प्रतिवेदन मूल समितिमा प्रस्तुत गर्दै सो नीति कार्यान्वयन भए उच्च शिक्षामा देखिएका विकृति समाधान हुने उल्लेख छ । सो प्रतिवेदन संशोधनसहित आज पारित गर्दै समितिले आगामी सोमाबारको बैठकमा शिक्षामन्त्रीलाई आमन्त्रण गरी निर्देशन दिने सभापति रञ्जु कुमारी झाले जानकारी दिएको छ । उपसमितिका संयोजक गुरुङले आवश्यकता र नक्साङ्कनका आधारमा नयाँ विश्वविद्यालय खोल्ने प्रक्रियाको थालनी र शिक्षा क्षेत्रमा कुल बजेटको कम्तीमा २० प्रतिशत छुट्याउने व्यवस्था गर्नसमेत सुझाव दिइएको छ भने । ‘राज्यमाथिको आर्थिक भार घटाउन र जनशक्ति छनोटमा एकरूपता ल्याउन हाल सञ्चालनमा रहेका विश्वविद्यालय सेवा आयोग/पदपूर्ति समितिको विघटन र सबैका लागि विश्वविद्यालय सेवा आयोग गठन गरिनुपर्दछ’ – उपसमितिले दिएको प्रतिवेदनमा उल्लेख छ । उपसमितिले वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याउन, शिक्षक–विद्यार्थीको राजनीति अन्त्य गर्न, अनुदान वितरण न्यायिक बनाउन मनलागी र मनपरी दिइने सम्बन्ध अन्त्य गर्नका लागि स्वायत्त बोर्ड गठन गर्नसमेत सुझाव दिएको छ । बैठकमा सांसद गिरिराजमणि पोखरेल, राजेन्द्र पाण्डे र बद्री पाण्डेलगायतले प्रतिवेदन कार्यान्वयनमा जोड दिएको थियो ।

अनरत डा.केसीका मागप्रति सम्पादकहरूले जनाए ऐक्यबद्धता

काठमाडौं, मंसिर १६ । मेडिकल शिक्षाका बेथितिविरुद्ध आमरण अनसनमा बसिरहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा. डा.गोविन्द केसीका मागप्रति देशका विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले ऐक्यबद्धता जनाएका छन्। बिहीबार दिउँसो केसीको अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेर नेपालका दैनिक, टेलिभिजन, साप्ताहिक र अनलाईनका सम्पादकहरुले डा.केसीका आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्। सम्पादकहरुले डा.केसीले निष्ठाको संघर्ष गरेको भन्दै उनको बिग्रँदो स्वास्थ्यप्रति चिन्ता व्यक्त गरे। अमरण अनसन १९ औं दिन पुग्दासम्म उनका मागको सुनुवाइ नभएपछि सम्पादकहरुले त्रिवि शिक्षण अस्पताल पुगेर डा.केसीलाई भेटेका हुन्।