बालश्रमिकको सामाजिक सुरक्षामा जोड

काठमाडौ‌, मंसिर २२ । मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने वन क्षेत्रमा कार्यरत श्रमिकको बारेमा अहिलेसम्म कुनै कानुनी व्यवस्था नभएको भन्दै सरोकारवालाहरुले चिन्ता र चासो व्यक्त गरेका छन् ।

देशको कुल जनसङ्ख्याको ७४ प्रतिशत मानिस कृषि र वन क्षेत्रमा निर्भर छन् ।

विश्व वन्यजन्तु कोषको सहयोगमा राष्ट्रिय जनवकालत मञ्च नेपालले आज यहाँ आयोजना गरेको वन क्षेत्रमा श्रमिकको अधिकार नीति र अभ्यास विषयक गोष्ठीका वक्ताहरुले वन श्रमिकले न्यून ज्यालामा जोखिमपूर्ण काम गर्नुपर्ने, नयाँ प्रविधिको अभाव, तालिम, ज्ञान नहुनु, कमजोर स्वास्थ्य र सरसफाइ तथा सेवा सुरक्षाको अभावले गर्दा उनीहरुको जीविकोपार्जनमा सुधार आउन नसकेकाले राज्यले उचित कानुनी व्यवस्थाको साथै विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

गोष्ठीमा वन तथा भूसंरक्षण मन्त्रालयमा सहसचिव डा.महेश्वर ढकालले वन क्षेत्रबाट मध्यम तथा उच्च वर्गका व्यक्तिले प्रसस्त लाभ लिए पनि श्रमिकले भने न्यूनतम ज्यालामा काम गर्नु परेकाले समुचित प्रतिफल बाँडफाँडको व्यवस्था हुनुपर्ने धारणा राखे  ।

डब्लुडब्लुएफका निर्देशक सन्तोषमणि नेपालले वन श्रमिकको कामलाई मर्यादित र उनीहरुलाई स्वस्थ वातावरणमा माग गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिँदै प्रमुख दुई ट्रेड युनियनको साझेदारीमा देशका १० जिल्लामा नमुनाको रुपमा बालश्रमिकको पक्षमा काम गरिएको जानकारी दिएका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेसकी उपाध्यक्ष रमा पौडेलले नेपालको श्रम क्षेत्रमा एक करोड २० लाख श्रमिक संलग्न रहे पनि जम्मा २० लाख श्रमिक मात्रै विभिन्न ट्रेड युनियनमा आबद्ध रहेको उल्लेख गर्दै वन क्षेत्रमा रहेका झन्डै पाँच लाख श्रमिकको अधिकारलाई नयाँ श्रम ऐनमा समावेश गर्न लागिएको जानकारी दिए।

वन वातावरण श्रमिक सङ्घका अध्यक्ष विष्णु ज्ञवालीले वन क्षेत्रमा संलग्न श्रमलाई मर्यादित नगरिएसम्म दिगो विकास र हरित रोजगारी सिर्जना हुन नसक्ने बताएको छ ।

नाफानका अध्यक्ष भोला भट्टराईले वनसँग सम्बन्धित विद्यमान ऐन कानुनहरुमा वन श्रमिकका पक्षमा भएका व्यवस्था अपर्याप्त रहेको भन्दै ठूलो संख्यामा रहेका वन श्रमिकको पक्षमा संस्थाले वकालत गर्दै जाने बताए।

वन विशेषज्ञ कृष्ण पोखरेलले वन श्रमिकको वर्गीकरण गरी कानुनीरुपमा उनीहरुको सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिएका छन् ।

साइबर क्राइम बढ्दोः अपराध महाशाखा

काठमाडौँ,  मङ्सिर २२ । महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालबाट अपराध हुने सङ्ख्यामा वृद्धि आएको जनाएको छ । नेपालमा सामाजिक सञ्जालको विकाससँगै सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर अपराध गर्ने गरेको फेला पारेको हो । महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले अपरिचित व्यक्तिले आफ्नो मन नपरेको व्यक्तिको प्रतिष्ठालाई सिध्याउन अर्कोको नाममा नक्कली आइडी चलाउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२० देखि ३० वर्ष उमेरका मानिस बढी साइबर अपराधमा सक्रिय भएका छन् ।” महाशाखामा दैनिक साइबर अपराधका पाँचदेखि सातवटा घटना दर्ता हुने गरेको छ । महाशाखामा दर्ता भएका घटनामध्ये ९० प्रतिशत फेसबुकबाट हुने रहेको महाशाखाले जनाएको छ । महाशाखामा आर्थिक वर्ष २०७२÷७३ मा आठसय ३० र आव ०७३÷७४ मा चारसय ६६ अपराध दर्ता भएका छन् । तीमध्ये आव २०७२÷७३ मा १७ र आव २०७३÷७४ मा १५ मुद्दा दर्ता अदालतमा गएको र बाँकीलाई ब्लक गर्न या नयाँ आइडी बनाएर फेसबुकको प्रयोग गर्न लगाएको रायले बताउनुभयो । अपराधमा विद्यार्थी तथा गृहिणीदेखि जागिरेसम्म रहेको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले नचिनेका व्यक्तिलाई फेसबुकमार्फत साथी बनाउँदा साइबर अपराधका घटना बढेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जथाभावी सामाजिक सञ्जालमा लेख्ने वा अर्कोको नाममा आइडी बनाउने व्यक्तिलाई कडा कानुन बनाई कारबाही गरे मात्र यस्ता घटना घट्छ ।” खनालले सामाजिक सञ्जालको प्रयोगका लागि नेपालमा आफ्नै साइट बनाउनु जरुरी रहेको बताए । उनले साइबर अपराधका घटना कम गर्न छुट्टै निकाय आवश्यक रहेको उल्लेख गरे । रासस  

पर्वतमा दुई राप्रपाबीच एकता, अध्यक्षमा भुसाल

फलेवास (पर्वत),  मङ्सिर २२। राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई घटकबीच पर्वतमा एकता सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)बीच मङ्गलबार पार्टी एकता भएको हो । एकीकृत राप्रपाको अध्यक्षमा ठाकुर भुसाल सर्वसम्मतरुपमा चयन भएका छन । दुई पार्टीबीच एकता हुने क्रममा पुरानो राप्रपाका अध्यक्ष रणबहादुर क्षेत्री पार्टी नेता तथा जिल्ला संयोजक तथा पुरानो राप्रपा नेपालका अध्यक्ष ठाकुरप्रसाद भुसाल पार्टी अध्यक्ष भएका हुन् । यसैगरी, एकीकृत पार्टीको सहअध्यक्षमा ईश्वर गिरी, उपाध्यक्षमा प्रकाश पौडेल, सचिवमा दुर्गाप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा अशोक गुरुङ चयन भएका छन् ।  यस्तै, प्रवक्तामा ठाकुरबम मल्ल चयन भएका छन् । यसअघि भएको एकता भेलामा राप्रपाका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री भीमप्रसाद गौचन, केन्द्रीय सदस्यहरु कुलबहादुर गुरुङ, दिलप्रकाश कंँडेल, इच्छाबहादुर गुरुङ, दीपक कुँवर, तिलक रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मन्तव्यका क्रममा नेताले राप्रपालाई मुलुकको तेस्रो शक्तिका रुपमा स्थापित गर्ने उद्घोष गरेका छन्। उनीहरुले अब हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको मुद्दा चर्कोरुपमा उठ्ने दाबी गरेका छन् । रासस

अस्पताल सुधारको माग गर्दै १५ दिनदेखि अनशन

सप्तरी,  मङ्सिर २२ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आमरण अनशनमा बसेका छन् । उनको समर्थनमा मङ्गलबार राजविराजमा विद्यार्थीले ऐक्यबद्धता जनाउँदै प्रदर्शन ¥यालीसमेत गरेका थिए । सदरमुकाम राजविराजमा रहेका विभिन्न विद्यालय र कलेजका विद्यार्थीले तिवारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनका माग अविलम्ब सम्बोधन गर्नका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गरेका थिए । राजविराजस्थित महावीर चौकबाट निकालिएको ऐक्यबद्धता ¥याली नगरका विभिन्न भागमा परिक्रमापश्चात् अञ्चल अस्पतालमा आमरण अनशनमा बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष तिवारीको अनसनस्थल पुगेर ऐक्यबद्धता ¥याली समापन भएको सहभागी मुकेश यादवले बताए । अस्पतालको भौतिक सुधारसहित अस्पताल बालमैत्री बनाउनुपर्ने, अस्पतालमा भर्ना हुने रोगीलाई स्वस्थ, पेटभरि पोषिलो खाना उपलब्ध हुनुपर्ने, अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने, अस्पताल मूलगेट निर्माण हुनुपर्ने, अस्पतालमा नाक, कान, घाँटी, छाला रोग, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिस्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनुपर्ने, अस्पतालमा प्रसूति गृहलगायत निर्माणाधीन भवनको निर्माण कार्य अविलम्ब पूरा हुनुपर्ने र अस्पतालमा सरकारले उपलब्ध गराउने औषधि सूची अस्पताल परिसरमा राखिनुपर्ने माग राखिएको छ । त्यस्तै, आर्थिक वर्ष २०७२÷७३ मा अस्पताललाई प्राप्त भएको बजेट र सोको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको तत्काल छानबिन हुनुपर्ने, सुत्केरी र २८ दिन सम्मको शिशुको निःशुल्क उपचार हुनुपर्ने लगायतको माग लिएर तिवारी विगत १४ दिनदेखि आमरणलाई निरन्तरता दिएका छन् । रासस

बुटवल बन्द फिर्ता

तिलोत्तमा (रुपन्देही),  मङ्सिर २२। पाँच नम्बर प्रदेशका केही जिल्ला हेरफेर हुने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै एक हप्तादेखि बुटवलमा जारी बन्द आज साँझदेखि फिर्ता भएको छ । नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले आन्दोलनको स्वरुप परिवर्तन भएको भन्दै बन्दका कार्यक्रम फिर्ता लिइएको बताए । उनले संशोधन प्रस्ताव छलफल नहुँदासम्म बन्दका कार्यक्रम फिर्ता लिइएको बताए । एक हप्तादेखि बुटवलमा बन्द, हड्ताल हुँदा उद्योगी, व्यापारी, विद्यार्थीलगायत सर्वसाधारण मर्कामा परेका थिए । कपिलवस्तुः– संशोधन प्रस्तावको विरुद्धमा आन्दोलनमा उत्रिएको नेकपा (एमाले)लगायत राजनीतिक दलले आह्वान गरेको आनिश्चितकालीन कपिलवस्तु बन्द फिर्ता लिइएको छ । आज जिल्लाको वाणगङ्गामा बसेको सङ्घर्ष समितिको बैठकले बन्द हड्तालाई छाडेर आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ । आन्दोलनको स्वरुप मात्रै परिवर्तन भएको तर आन्दोलन भने नरोकिएको एमालेका जिल्ला अध्यक्ष एवम् सङ्घर्ष समितिका संयोजक झविलाल पोख्रेलले बताए। रासस

प्रमका स्वीकीय सचिव प्रकाश दाहालका बारेमा प्रकाशित समाचारविरुद्द मुद्दा !

काठमाँडौ, मंसिर २१ । प्रधानमन्त्री प्रचण्डका स्वीकीय सचिव प्रकाश दाहालका बारेमा प्रकाशित समाचारका विरुद्द नेपाल प्रेस काउन्सिलमा मुद्दा दर्ता भएको छ । दृष्टी साप्ताहिकमा प्रकाशित समाचार कपोकल्पित र भ्रम छर्ने भएको र यसले व्यक्तिको मर्यादामा गम्भीर आँच पुगेको ऊजुरीमा उल्लेख छ । दल बहादुर बिकका नाममा काउन्सिलमा दर्ता भाएको पत्रमा उक्त साप्ताहिक पत्रिकामा प्रकाशित समाचार अन्य आनलाइनमा समेत सार्वजनिक भाएकोले सामान्य कारवाहीले नहुने उल्लेख छ । पत्रमा मानहानि गर्ने उक्त समाचार प्रकाशित गरेकोमा सार्वजनिक रुपमा क्षमा माग्नु पर्ने मॉग गरिएको छ । साप्ताहिकले प्रहरीको आइजिपि नियुक्तिका लागी स्वीकीय सचिव प्रकाश दाहाल लगायत परधानमंत्रीका सल्लाहकारहरूले आर्थिक चलखेल गरेको आशयको समाचार प्रकाशित गरेको थियो । हेर्नुस ऊजुरी पत्र

पिछडा वर्ग महासंघले सुरु गर्यो अनिश्चितकालीन रिले अनशन

काठमाडौँ, मंसिर २१ । सरकार र नेपाल पिछडा वर्ग महासङ्घबीच पटक पटक भएका सम्झौता कार्यान्वयन नभएको जनाउँदै महासङ्घले पिछडा वर्ग उत्थान विकास समितिको कार्यालय चाकुपाटमा अनिश्चितकालीन रिले अनशन सुरु गरेको छ । महासङ्घले समितिको केन्द्र र जिल्लामा सम्बद्ध समुदायलाई उपेक्षा गरी गरिएका नियुक्ति खारेज गर्नुपर्ने र संविधान संशोधन प्रस्तावमा पिछडा वर्गलाई पनि समावेश गर्नुपर्ने माग गरेको छ । त्यस्तै पिछडा वर्गलाई समावेशी आयोगबाट हटाई छुट्टै आयोग गठन गर्नुपर्ने, लोकसेवा आयोगबाट हुने नियुक्तिमा ३३ प्रतिशत आरक्षण व्यवस्था गर्नुपर्ने, मगही, भोजपुरी र अवधि भाषाको सांस्कृतिक सङ्ग्रहालय स्थापना गर्नुपर्ने, संविधानमा भएको व्यवस्था अनुसार संवैधानिक निकायमा महासङ्घको सिफारिस अनुसार नियुक्ति गर्नुपर्ने, पिछडा वर्गमा पर्ने सम्पूर्ण जातजातिलाई सूचीकृत गर्नुपर्नेलगायत १५ बुँदे माग राखिएको छ । नेपाल सरकार र पिछडा वर्गबीच विसं २०६४ मा तीनबुँदे, २०६५ पाँचबुँदे, विसं २०६६मा चारबुँदे, २०६८ मा तीनबुँदे, २०६९मा छबुँदे र २०७२ दुईबुँदे सम्झौता भएको बताइएको छ । ती सम्झौताको पालना सरकारले नगरेको महासङ्घको आरोप छ । महासङ्घका अध्यक्ष गजेन्द्र ठाकुरले सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउँदै भने, सरकार सहमति र सम्झौता गर्छ, तर कार्यान्वयन गर्दैन । अध्यक्ष ठाकुरले सरकारले समयमा नै आफ्ना मागको सम्बोधन नगरेमा देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए । नेपालका खासगरी २२ जिल्लामा पिछडा वर्गको बसोवास छ । विसं २०६८ को तथ्याङ्कानुसार १८ प्रतिशत जाति पिछडा वर्गका छन् ।

क्यान्सरपीडित चौधरीलाई सहयोगका लागि आग्रह

काठमाडौँ, मंसिर २१ । कैलालीका ३२ वर्षीय नारायण चौधरी क्यान्सर रोगले पीडित पथरैया आर्थिक सहयोगका लागि आग्रह गरेका छन् । आफू सुकुम्वासी परिवारको भएको र उपचारका लागि रकमको अभाव भएकाले मानवीय रुपमा आर्थिक सहयोगका लागि सबैसँग चौधरीले आग्रह गरेका छन्। विगत एक वर्षदेखि क्यान्सरको उपचारको क्रममा धेरै ऋण लागेको उनले बताएका छन् । सहयोग गर्न चाहनेले नारायण चौधरीको एभरेस्ट बैङ्कको खाता नम्बर ०२३००५०१२०१२२६ र हिमालयन बैङ्कको खाता नम्बर ००६०२३५५४५००१५ मा रकम जम्मा गर्न सक्नेछन् । सुरुमा भारतको लखनउमा उपचार गराउनुभएका चौधरीले हाल भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएको छ । उनले भने– ‘भारतमा गरेको शल्यक्रिया असफल भएपछि अहिले फेरि नेपालमा शल्यक्रिया गराएको छु, पैसा नहुँदा उपचारमा निकै समस्या परिरहेको छ । स्नातकोत्तरसम्मको अध्ययन गरेका चौधरीले राजधानीका कलेजमा अध्यापन गराउँदै आएको छ ।

कमल थापाको प्रश्न– ‘आफैँले जारी गरेको संविधान कार्यान्वयन गर्नु पर्दैन ?’

काठमाडौँ, मङ्सिर २१ । राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखण्डताका लागि दलहरुका नेतृत्व एकताबद्ध हुन नसके देश नियन्त्रणबाट बाहिर जाने आशङ्का गरे । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले संविधान जारी भएको करिब १५ महिना भए पनि कार्यान्वयनमा समस्या देखिएकाले सबै दल जिम्मेवार भई समस्या समाधानका लागि अगाडि बढ्नुपर्ने सुझाव दिए । यथास्थितिमा विधेयक स्विकार्न नसकिने बताउँदै उनले भने–“विधेयकमा समावेश गरिएका अधिकांश विषयवस्तु तथा दफा राष्ट्रको हितमा छैनन् । ” अध्यक्ष थापाले विधेयकप्रति मधेसी मोर्चा असन्तुष्ट तथा प्रमुख प्रतिपक्षसहित केही दलका साथै प्रदेश नं ५ का जनता आन्दोलनमा रहेकाले सरकारले विकल्प खोज्नुपर्नेमा जोड दिए । अध्यक्ष थापाले निर्धारित समयभित्र तीन चरणको चुनाव गराउनुपर्ने संवैधानिक बाध्यता रहेको तर मधेसी मोर्चाको सहभागिताबिना चुनाव गर्न कठिन रहेको स्पष्ट गरे । रासस

लैङ्गिक विभेद अन्त्य गर्नुपर्नेमा जोड

काठमाडौँ, मंसिर २१ । शिक्षा क्षेत्रमा देखिएको लैङ्गिक विभेद अन्त्य गर्नुपर्नेमा सहभागी एकमत छन् । शिक्षामा लैङ्गिक समतामा मन्त्रालयबीच समन्वय गर्नका लागि आयोजना गरिएको दुईदिने ‘छात्रा शिक्षा तथा लैङ्गिक समता’ सम्बन्धी राष्ट्रिय सम्मेलनमा सहभागीले लैङ्गिक विभेद अन्त्य गरी छात्राको शिक्षामा गुणस्तर ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा शिक्षा विभागका निर्देशक मित्रमणि गर्तौलाले सम्मेलनमा आपसी समन्वय गरी छात्रामा देखिएको लैङ्गिक विभेद हटाउन सबै मन्त्रालय सहमत भएको बताएको छ। उनका अनुसार जिल्लास्थित ‘बालिका शिक्षा तथा लैङ्गिक समविकास सञ्जाल’ लाई अझै प्रभावकारी बनाउने निर्णय सम्मेलनले गरेको छ । डोटी जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौडेलले स्थानीय तहका बासिन्दालाई अगाडि सारेर नै लैङ्गिक विभेद हटाउन सकिने बताएको छ । सम्मेलनमा शिक्षामा लैङ्गिक समतासम्बन्धी काम गर्ने शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा समाजकल्याण, युवा तथा खेलकुद र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा लैङ्गिक समतासम्बन्धी काम गर्ने १६० कर्मचारीको सहभागिता थियो ।

स्थानीयको सहयोगमा बन्यो आश्राङमा प्रहरी चौकी

ललितपुर मंसिर २१ । ललितपुरको आश्राङ गाविसमा स्थानीयको सहयोगमा अस्थायी प्रहरी चौकी निर्माण गरिएको छ । जिल्लाको दक्षिण भेगमा मकवानपुरसँग जोडिएको आश्राङमा शान्ति प्रक्रिया आएपछि प्रहरी चौकी पूनस्थापना भए पनि भाडाको घरमा बस्दै आएको थियो । स्थानीयको सहयोगमा महानगरीय प्रहरी वृत्त चापागाउँले आश्राङ ३ मा प्रहरी चौकी निर्माण गरेको हो । महानगरीय प्रहरी कार्यालयका एआइजी प्रतापसिंह थापाले एक कार्यक्रमका बीच उक्त प्रहरी चौकीको उद्घाटन गरेका छन्। सामूदायिक बनले उपलब्ध गराएको जग्गामा स्थानीयले श्रमदान गरेर सो चौकी बनाएका हुन्। माओवादीले सुरु गरेको जनयुद्धको बेलामा विस्थापिथत भएको प्रहरी चौकी शान्ति स्थापना भएपछि पून बस्न थालेका थिए । निरीक्षणका क्रममा भाडामा प्रहरीहरु भत्किन लागेको घरमा बसेको र आफूले पहल गरी सो चौकी बनाइएको चापागाउँ प्रहरीका डिएसपी श्यामकुमार राईले बताए। आश्राङमा रहेको प्रहरी चौकीले आश्राङ र प्युटार गाविसमा सुरक्षा प्रदान गर्छ। ललितपुरको चापागाउँबाट सवारी साधनमा तीन घण्टामा पुग्न सकिने आश्राङमा आफ्नै भवन बनेपछि प्रहरीहरु खुशी भएका छन् । भवन बनाउन सहयोग गर्नेहरुलाई एआइजी थाले सम्मान गरेका थिए ।

बन्दले जनजीवन कष्टकर

गुल्मी, मंसिर २१ । गत सातादेखि गुल्मीको प्रदेश नं.५ लाई टुक्र्याउन लागेको विरोधमा आयोजना गरिएको अनिश्चितकालीन बन्दको कारण जिल्लाको जनजीवन कष्टकर बन्दै गइरहेको छ । एक सातादेखि गुल्मी जिल्ला सदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रमा आन्दोलनकर्ताले दिनहुँ नाराबाजीसहित प्रदर्शन गर्दै विरोधमा उत्रिएपछि जिल्लाका सम्पूर्ण उद्योग तथा कलकारखाना ठप्प छन् । आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिने काम आज पनि जारी राखेका छन् । सवारी साधन सञ्चालन नहुँदा कार्यालयमा सेवा लिन आउने सर्वसाधारण समेत थप समस्यामा परेका छन् । सेवाग्राहीको उपस्थिति नहुँदा सरकारी कार्यालयमा दिनभर सुनसान हुने गरेको छ । सरकारले प्रदेश टुक्र्याउने गरी संसद् सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने संयुक्त आन्दोलन सङ्घर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताएका छन् ।

अर्घाखाँची बन्द फिर्ता

अर्घाखाँची, मंसिर २१ । सरकारले संविधान संसोधनमा पाँच नम्बर प्रदेशलाई टुक्र्याएको विरोधमा गरिएको अर्घाखाँची बन्द फिर्ता भएको छ । अर्घाखाँचीका राजनीतिक दलले मंगलबारदेखि शुक्रवारसम्मका लागि बन्द फिर्ता लिएका छन् । सन्धिखर्क–चुत्रावेशीमा पसल, शिक्षण संस्था, कलकारखना, उद्योग, यातायात सुचारु भएपछि जनजीवन सामान्य बन्दै गएको छ । संयुक्त संघर्ष समितिले आन्दोलनलाई फरक ढंगले लैजाने बताएको छ । ‘मंगलबार र बुधबार ५ नम्बर प्रदेश टुक्राउन पाइँदैन सन्देश दिने भित्ते लेखन र बोर्ड राख्ने कार्यक्रम तय गरेका छन् । एमाले लगायत उद्योगी व्यापारी सम्मिलित सयुक्त संघर्ष समितिले ‘मंगलबार र बुधवार जनताको मानव साङलो बनाएर सन्धीखर्कमा रहेको जिल्ला प्रशासन कार्यलय(सिडिओ) र सरकारी कार्यालय घेर्ने कार्यक्रम तय गरेका छन् । एमालेको अगुवाइमा सोमबार सन्धिखर्क टुँडिखेलमा बृहत विरोध सभा भएको थियो । सभामा गाउँ–गाउँबाट मानिसहरुलाई जानैपर्ने उर्दी जारी गरेर स्थानीयलाई उतारिएको थियो । सर्वसाधारणलाई अस्पताल जान सास्ती भएपछि बनदकै विरोधमा मानिस उत्रने सम्भावना देखेर बन्द फिर्ता भएको बताइएको छ । सरकारले संसोधन विधेयक संसदमा दर्ता गरेपनि त्यसबारेमा छलफल अगाडि बढेको छैन ।

आगलागीबाट पाँचलाखको क्षति

इनरुवा, मंसिर २१ । सुनसरीको हरिनगरा गाविस–२ सुपर मार्केट संचालन गरेको शिव चौरसीयाको कस्मेटिक पसलमा हिजो रातिआगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । राति करिब २ बजे अचानक बिजुली सर्ट भई आगलागी हुँदा पसलमा रहेका विभिन्न कस्मेटिक सामग्री पूर्णरुपले जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिएका छन् । घटनाका विषयमा स्थानीयले प्रहरी र अग्नी नियन्त्रकलाई बोलाए पनि दुई घन्टा ढिलो आएको र आज बिहान ४ बजेमात्र आगलागी नियन्त्रणमा आएको स्थानीय सुरज साहले बताएको छ । आगलागीलाई इनरुवा नगरपालिकाको बारुण यन्त्र र स्थानीयले नियन्त्रणमा लिएका थिए ।

दोलखामा १९ महिनामा २३ वटा मात्र विद्यालय निर्माण

दोलखा,  मङ्सिर २१। विद्यालयको पुनःनिर्माण हुन नसक्दा दोलखाका ३४३ विद्यालयमा अध्ययनरत विद्यार्थी अस्थायी शिक्षण केन्द्रमा नै रहेका छन् । जिल्लामा ३६६ वटा विद्यालय रहेकोमा भूकम्प गएको १९ महिना बिते पनि हालसम्म २३ वटा मात्र विद्यालय निर्माण भएका छन् । जिल्ला शिक्षा कार्यालय दोलखाका अनुसार दोलखामा ३७० विद्यालय रहेकामा गाभिएर ३६६ विद्यालय कायम भएको थियो । विसं २०७२ सालको विनाशकारी भूकम्पले २६० विद्यालयलाई पूर्णक्षति पुर्यायो भने ११० विद्यालयमा आंशिक क्षति पुगेको थियो । लामो समयसम्म पनि विद्यालय पुनःनिर्माण हुन नसक्दा बालबालिका अझै अस्थायी सिकाइ केन्द्रमा बस्न बाध्य छन् । अहिलेसम्म जिल्लामा सरकारी अनुदानबाट कुनै पनि विद्यालय बनेका छैनन् । विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर ३६६ विद्यालयमध्ये २३ वटा विद्यालय बनिसकेको र १२ वटा विद्यालय निर्माणाधीन अवस्थामा रहेको जिल्ला शिक्षा कार्यालयका प्रमुख नारायणकाजी काशिछवाले जानकारी दिनुभयो । काशिछवाका अनुसार २३ वटा विद्यालयका १४४ कक्षा कोठा निर्माणका लागि सिफारिस भइसकेको छ । पच्चीसवटा विद्यालय निर्माणका लागि एसियाली विकास बैंकले चासो देखाएको छ भने भारतीय राजदूतावासले १० वटा र चिनियाँ दूतावासले तीनवटा विद्यालय बनाउन सहयोग गर्ने बताएका छन् । बाँकी ३०८ विद्यालयका लागि मन्त्रालयमा नै अनुरोध गरेको जिल्ला शिक्षा कार्यालयले बताएको छ । रासस  

नयाँ शक्तिका पूर्व नेताले बाबुराममाथि गम्भीर आरोप, नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौं, मंसिर २० । नयाँ शक्ति पार्टीका पूर्व केन्द्रिय परिषद् सदस्य गोविन्दराज केसीको संयोजकत्वमा नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन । शनिबार आयोजित युवाहरुको भेलाले संयोजक सहित २५ सदस्य केन्द्रिीय समिति  रहने नयाँ पार्टी खोल्ने निर्णय  गरे । भेलाले नयाँ शक्ति पार्टी बाट अलग्गीएका नेता केसीको संयोजकत्वमा ‘प्रगतीशिल नेपाल पार्र्टी’ गठन गर्ने निर्णय गरेको संयोजक केसीले बताएका छन । नेता केसीले भने–‘यसअघि युवाहरुको भेलाले केन्द्रमा ९ सदस्य पार्टी आयोजक समिति निमार्ण गरेको थियो । हामीले शनिबार चार नम्बर प्रदेशमा भेला आयोजना गरेर थप निर्णय सहित पार्टी गठनको प्रकृया अघि बढाउने भएका छौ ।’ नयाँ शक्ति छाड्नुको कारणबारे प्रष्ट्याउदै उनले भने–‘बावुराम जीहरुको पार्टी दक्षिणपन्थि संशोधनवादको दिशामा विलिन हुने अवस्थामा पुग्यो,उहाँहरु दलाल र भष्टहरुलाई पार्टीमा केन्द्रित गर्ने अभियानमा लाग्नु भो, नाम मात्रको नयाँ शक्तिको काम भने पुरानै दिशामा केन्द्रित भएकाले पार्टी छोडेको हुँ । उहाँहरुले सुध्रिने संकेत नदेखेपछि युर्जाशिल युवाहरुको भेलाले छुट्टै पार्टी निमाण गर्ने निर्णय गरेका हुन ।’ _ शक्ती बृद्ध आश्रम भएको र भ्रस्टको सम्रक्षण केन्द्र बनेको अवस्थामा इमान्दार साथीहरु छोडदै हिंड्नु नयाँ नभएको उनको तर्क थियो । नयाँ शक्ती बाट राजिनामा दिनुको मुख्य कारण बाबुराम परिवारबादी ,संक्रिण र व्यक्तिबादी भएको भन्दै उनले १७००० नेपाली जनताको बलिदान ,त्याग र तपस्या माथि भारतीय एजेन्ट बनेर धोका दिएको आरोप लगाए । नयाँ शक्ती मौलिक पार्र्टी होइन ,बाबुराम दक्षिणपन्थी कित्तामा पुगेर बिलय भएको र बामपन्थी चरित्रका कुनै पनि नेता त्यहा अटन नसक्ने अवस्था आएकाले आफुले त्यस्तो निर्णय लिएको उनले बताए । बैदेसिक तथा गुप्तचर संस्थाबाट बाबुराम परिचालित भएको आरोप लगाउन पनि उनी पछी परेनन । उर्जाशिल युवाहरुको साथ लिदै अगाडि बढ्ने र विकास निर्माण र देशको संवृद्धीका निम्ती प्रगतीशिल पार्र्टी नेपाल खोलेर अगाडि बढेको उनले बताए । उनले आफ्नो पार्टी केहि अवधिमै गठन गरिने भन्दै अगाडि भने–‘हामीले विशेषत नेपालबाट भ्रष्टाचार मुक्त बनाउने अभियानलाई पार्टीको मुख्य कार्ययोजना बनाएर अगाडि बढ्ने भएका छौ । नेपालमा मौलाउदै गएको तमाम खाले भष्टाचारको अन्त्य गरी संवृद्ध नेपालको परिकल्पना हामीले गरेका छौ ।’ अबको निर्वाचनमा प्रगतिशिल नेपाल पार्र्टी वैकल्पिक शक्तीको रुपमा उदाउने गरी आन्तरिक तयारी भैइरहेको उनले बताएका छन । भारत,चिन लगायतका देशहरुमा विद्यार्र्थीको नेतृत्व केवल दक्ष विद्यार्र्थीले लिने गरेको तर नेपालमा भने टिके प्रणाली विकास भएको भन्दै प्रगतीशिल पार्र्टीले दक्ष नेतृत्वलाई मात्रै जिम्मेवारी दिने प्रणालिको विकास गर्ने समेत उनले बताए । को हुन गोविन्दराज केसी ? केसी यसअघि नयाँ शक्ति पार्टीका केन्द्रिय परिषद् सदस्य तथा वार्ता एवं संवाद समितिको चार नम्बर प्रदेशका संयोजक हुन । २०५५ सालबाट कम्यूनिष्ट आन्दोलनमा सहभागि भएका केसी तत्कालिन माओवादीले संञ्चालन गरेको जनयुद्धमा पनि सहभागि थिए । पार्टी खुल्ला राजनीतिमा आएसँगै सरस्वती क्याम्पस ठमेलबाट आफ्नो राजनीतिक सुढृण बनाउदै आएका केसी ,माओवादी पार्टी विभाजन अघि अखिल क्रान्तिकारी पि.एन क्याम्पस पोखराको अध्यक्ष थिए । त्यसपछि उनी अखिल क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारी सम्म पुगेका थिए । पछि पार्टीको विचार लाइनमा असन्तुष्ट हुदै तत्कालिन माओवादी नेता बाबुराम भट्टराईले नयाँ शक्ति गठन गरेपछि उनी त्यो लाइनमा क्रियाशील भएका हुन ।