मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान् पक्राउ

काठमाडौं । मोरङमा शुक्रबार राति एक महिलाको आगो लगाएर हत्या भएको छ ।

शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वडा नं १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्केर आगो लगाई हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ ।

शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शुक्रबार राति घर जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरमा गम्भीर अवस्थामा रहेकी बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो ।

उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेशमा सत्तारुढ घटकले नै मुख्यमन्त्री फेर्न दबाब दिएपछि सरकारको नेतृत्व गर्दै आएको नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार सो पार्टीको बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौँमा बस्ने भएको हो । संसदीय दलको बैठकमा सहभागी हुनका लागि पार्टीका सबै सांसदलाई काठमाडौं बोलाइएको एक नेताले बताए । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे भने यसअघि नै काठमाडौं आइपुगेका छन् । शुक्रबार मुख्यमन्त्री पाण्डेले पार्टी नेतृत्वसँग छलफल गरेका थिए । उनले विगतमा आफूसहितले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै सत्ता हस्तान्तरणका लागि आफू तयार रहेको नेतृत्व तहलाई बताएका थिए । मुख्यमन्त्री पाण्डेकै पहलमा संसदीय दलको बैठकमार्फत सत्ता हस्तान्तरणका लागि मार्ग प्रशस्त गर्न लागिएको स्रोतले बतायो ।

इन्जिनियरिङ क्षेत्रलाई समृद्धिको डिस्कोर्समा सहभागी हुन अध्यक्ष सिंहको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले इन्जिनियरिङ क्षेत्रलाई समृद्धिको डिस्कोर्समा सहभागी हुन आग्रह गरेकी छन । अखिल क्रान्तिकारी इन्जिनियरङ क्याम्पस पुल्चोकद्वारा आयोजित राजनीतिक प्रशिक्षग कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले सो कुरा बताएकी हुन् । अध्यक्ष सिंहले स्थानीय तहको चुनावमा माओवादीले प्राप्त गरेको मतलाई सम्रक्षण गर्दै संघ र प्रदेशको चुनावमा परिचालित हुन समेत आग्रह गरिन् । कार्यक्रममा क्रान्तिकारीका महासचिव दिपेश पुन, उपाध्यक्ष द्वय जीपी मैनाली र तुकमान महरासहित सचिव द्वय प्रसुन कार्की र इ. नारायन बडालले पनि प्रशिक्षण दिएको स्ववियू सभापति रोशन थापाले जनाकारी दिए।

देउवा–नेपालबीच भेटः निजगढ विमानस्थल अवलोकन गर्न शीर्ष नेता जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । उक्त भेटमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेकपा समाजवादीका डा.बेदुराम भुसाल सहभागी थिए । भेटमा सहभागी नेकपा समाजवादीका महासचिव भुसालले खासगरी विकास निर्माणका बारेमा दुई नेताबीच कुराकानी भएको बताए । ‘विकास निर्माण र राष्ट्यि योजनाबारे छलफल भयो, अन्य राजनीतिक विषयमा धेरै कुराकानी भएन’ महासचिव भुसालको भनाइ छ । उनले वागमति प्रदेश सरकारका मुख्यमन्त्री फेरबदलबारे सामान्य कुराकानी भएपनि थप केही नभएको बताए । वागमतीका मुख्यमन्त्री फेर्न सत्तारुढ दलमै प्रयास भएका बेला प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीचको भेटवार्तालाई अर्थपुर्ण रुपमा लिइएको छ । यद्यपी नेताहरुले भने स्पस्ट केही खुलाउन चाहेका छैनन् । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरु निजगढ विमानस्थलको स्थलगत अवलोकन गर्न जाने भएका छन् । शुक्रबार प्रधानमन्त्री देउवा र नेकपा समाजवादीका अध्यक्ष नेपालबीच बालुवाटारमा भएको भेटवार्तामा तीनै दलका शीर्ष नेता शनिबार निजगढ विमानस्थलको स्थलगत अवलोकनमा जानेबारे कुराकानी भएको डा.भुसालको भनाइ छ ।

१७ गैँडा मारेपछि पक्राउ, जेलबाट छुटेर थप चार शिकार गर्ने पक्राउ

काठमाडौं । २१ गैँडा मारेको आरोप लागेका बमबहादुर प्रजा र राजकुमार पर्जा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बमबहादुर प्रजालाई बिहीबार राती धादिङको मलेखुबाट पक्राउ गरेको हो भने रामकुमार प्रजालाई मकवानपुरबाट पक्राउ गरेको हो ।   प्रहरीले प्रजा दोयलाई बिहीबार राती चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको हो। प्रजामाथि पछिल्लो पटक चार वटा गैँडा मारेको आरोप लागेको छ । २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०/२२ वर्षको माउ गैँडा र ३ वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै गैँडाको खाग झिकिएको अवस्थामा भेटिएको थियो । त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनमा थप दुई गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चार वटै गैँडाको शिकार बमबहादुर प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको निकुञ्जका सुचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए ।   १७ वटा गैँडा मारेपछि बमबहादुर २०६० सालमा पक्राउ परेका थिए । त्यति बेला उनले १७ वटा गैँडा मारेको स्वीकारेका थिए । जेलपछि छुटेपछि उनी पुन गैँडा शिकार र खाग तस्करीमा संलग्न भएका हुन् ।रामकुमार प्रजा पनि चोरी सिकारीमै १० वर्ष जेल सजाय भागेका व्यक्ति हुन ।

तत्कालका घटनाबाट प्रभावित भएर कानुनमा प्रभाव पार्ने प्रयास नगर्न कानुन मन्त्रीको आग्रह

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले तत्कालको घटनाबाट प्रभावित भएर कानुनमा प्रभाव पार्ने प्रयास नगर्न सांसदहरूलाई आग्रह गरेका छन् । तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्नु नेपालको सबैभन्दा ठूलो कमजोरी रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसो नगर्न सांसद र संसदीय समितिहरूलाई आग्रह गरे । शुक्रबार प्रतिनिधिसभा अन्तरगतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कानुन निर्माणमा गलत खालको प्रभाव पर्न नदिन लिगल थिङ्क टयाङ्क नै बनाएको उल्लेख गर्दै उसैले दिएको सुझावको आधारमा सरकार अघि बढ्ने पनि स्पष्ट पारे। संसदले मात्रै कानुन निर्माणमा प्रभाव पार्ने भए त्यो थिङ्क टयाङ्कको आवश्यक्ता नै नहुने उनको भनाइ थियो । ‘नेपालको कानुन निर्माणको सबैभन्दा कमजोर पक्ष भनेको हामी तत्काल घटेको घटनाबाट प्रभावित भएर कानुनमा ठूलो प्रभावपार्ने कुरामा विचार गर्नुपर्छ,’ मन्त्री शर्माले भने, ‘सबै विषयमा यही हिसावले कुरा गरौं, संसद ठूलो कुरा हो, तर लिगल थिङ्क टयाङ्क बनाएको छ, त्यसैको आधारमा सरकार अगाडि बढ्छ ।’ मन्त्री कोइरालाले महिला हिंसाका घटनाका पीडितलाई पीडकबाट असुल गरिएको जरिवाना सोझै उपलब्ध गराउने कानुनी व्यवस्था गर्न सकिने बताए। हाल पीडकबाट असुल गरिएको रकम हिंसा पीडित कोषमा जम्मा भएर पीडितले पाउने कानुनी व्यवस्था रहेकाले त्यसलाई परिवर्तन गरेर सोझै पीडितको हातमा दिन सकिने कानुनी व्यवस्था गर्न सकिने उनको भनाई थियो । त्यस अवसरमा मन्त्री कोइरालाले अपराध कर्म अनुसार दण्ड जरिवानाको व्यवस्था हुने प्रचलन रहिआएको पनि बताए ।

भरतपुर महानगर प्रमुख दाहालद्वारा शहीद स्मारक कलेजको निरीक्षण

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर १९ मा रहेको शहीद स्मारक कलेजको निरीक्षण गरेकी छन् । सो क्रममा मेयर दाहालले पश्चिम चितवनको पहिलो उच्च शिक्षा अध्ययन गराउने यस कलेजको शैक्षिक अवस्था, पूर्वाधार विकासबारे जानकारी लिनु भएको थियो । कलेजका बारेमा व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर गुरुङले ब्रिफिङ गरेका थिए । निरीक्षणका क्रममा कलेजका व्यवस्थापन र प्राध्यापकहरुले कलेजको स्तरोन्ती गर्न महागनर प्रमुख दाहालसँग माग राखेका थिए । मागबारे महानगर प्रमुख दाहालले आफू कलेजको विकासका लागि सकारात्मक रहेको बताए। उनले कलेजको कम्पाउण्ड, गेट तथा क्यान्टिनको थप निर्माणमा सहयोग पुराउने प्रतिवद्धता व्यक्त गरे । उनले प्राथमिकताको बारेमा कलेजको भौतिक तथा शैक्षिक गुणस्तरमा अभिभावकको भूमिका निर्वाह गर्ने उल्लेख गरे । विस २०५१ सालमा स्थापना भएको कलेजमा डिग्रीसम्म पढाई हुने गरेको छ । विस २०१८ सालको क्रान्तिमा यस ठाँउमा ६ जना शहीद भएका थिए । कलेजले व्यवस्थापन, शिक्षा र मानविक संकायमा अध्ययपन गराउँदै आएको छ ।यो कलेजले पश्चिम चितवनको शैक्षिक उन्नतीमा ठूलो भूमिका निर्वाह गरेको छ ।

जनक शिक्षाका प्रबन्ध निर्देशकलाई विप्लवका विद्यार्थीले दले कालोमोसो

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले कालोमोसो दलेको छ । पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् । संगठनका महासचिव ललित बिश्वकर्माले विभिन्न ६ बुँदे आरोपसहित कालोमोसो दलिएको बताए । उनका अनुसार देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम कृतिम अभाव गराउने काम जनक शिक्षाकै अधिकारीबाट भएको छ । राजधानीमै पाठयपुस्तकको चरम अभाव गराएको, चरम भ्रष्टाचार गरेको, कागज खरिदमा चरम अनियमितता गरेको, निजी शैक्षिक संस्थासँग मिलेर जनक शिक्षा सामाग्री केन्द्र डुवाउने खेलमा लागेको, जनताका छोराछोरीको भविष्यमाथि चरम खेलवाड गरेको जस्ता आरोप पनि अखिल क्रान्तिकारीले लगाएको छ ।

पेट्रोलियमको लागत मूल्य घटाउन नेपाल सरकारले भारतसँग वार्ता गर्ने

काठमाडौं । पेट्रोलियम पदार्थको लागत मूल्य घटाउन सरकारीस्तरबाटै भारतसँग वार्ता गरिने भएको छ। अहिले भारतले रसियाबाट सस्तोमा तेल किनेकाले हामीलाई दिने लागत मूल्य घटाउन प्रधानमन्त्रीस्तरबाटै भारतीय सरकारसँग फलफल गरिने भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ। यस अघि अर्थ मन्त्रालयले व्यावसायिक स्तरबाट पनि तेलको मूबल्य घटाउन भारतीय आयल कर्पोरेसन (आइओसी) लाई आग्रह गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको थियो । लागत मूल्य घटाउन अर्थले दिएको निर्देशनबारे एनओसीले सक्रियता देखाएको थिएन ।एनओसीले लागत मूल्य घटाउनेबारे सक्रियता नदेखाएपछि सरकार आफै अघि बढ्ने भएको हो । पछिल्लो तथ्यांकअनुसार हाल भारतले आयात गर्ने कुल पेट्रोलियम पदार्थमध्ये रसियाबाट मात्रै १० प्रतिशत बराबर आयात हुन्छ। यसरी रसियाबाट आउनेमध्ये ४० प्रतिशत कच्चा तेल भारतीय निजी रिफाइनर्सले प्रयोग गरिरहेका छन्। गत मे महिनामा मात्रै भारतमा रसियाबाट करिब दुई करोड ५० लाख ब्यारेल तेल आयात भएको देखिन्छ। भारतीय सञ्चार माध्यम बिजनेश स्ट्यान्डर्डले प्रकाशित गरेको समाचारअनुसार रसियन तेलले भातरमा हुने आयातको लगभग २१ प्रतिशत हिस्सा ओगट्ने क्रममा रहेको उल्लेख छ। हाल अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल कच्चा तेलको मूल्य एक सय १६ डलर पुगेको छ। यसअनुसार प्रति लिटर कच्चा तेलको मूल्य ०.७२ डलर हुन्छ। हालको विनिमयदर अनुसार प्रतिलिटर कच्चा तेलको मूल्य ९२ रूपैयाँ पर्ने देखिन्छ। अहिले विश्वका धेरैजसो मुलुकमा रहेका रिफाइनरीहरूले कच्चा तेल प्रशोधन गरेर तयार गर्न लाग्ने लागत वृद्धि गरेर प्रतिलिटर ३० देखि ५० डलर पुर्‍याएका छन्। यही कारण तेल थप महँगिएको छ। रसियाले भने केही समय अघिदेखि विश्वमा चलेको मूल्यभन्दा ३२ प्रतिशतसम्म मूल्य घटाएर बिक्री गरिरहेको छ। त्यसैले भारतीय सरकारसँग नेपालले प्रतिलिटर १० रूपैयाँसम्म लागत घटाइदिन आग्रह गर्न लागेको स्रोतले बताएको छ। नेपालले यस्तो तयारी गरिरहँदा भारतले भने शुक्रबार निर्यात गरिने पेट्रोलमा ६ भारू र डिजेलमा १३ भारू प्रतिलिटर कर बढाएको भारतीय सञ्चार माध्यम इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ।

विदेशी शैक्षिक संस्थाको मनपरीविरुद्ध आन्दोलन गर्ने नेकपा बहुमत अखिल क्रान्तिकारीको घोषणा

काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी)ले नेपालमा खुलेका विदेशी शैक्षिक संस्थाको मनपरीविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । हालै काठमाडौँमा सम्पन्न संगठनको विशेष राष्ट्रिय भेलाले नेपाली शैक्षिक संस्थालाई धरासायी बनाउने गरी विदेश शैक्षिक संस्था अघि बढेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो । संवाद डबलीमा नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन गरी विदेशी शैक्षिक संस्थासँगै मेडिकल शिक्षामा भइरहेको माफियाको दादागिरी अन्त्य गरी सरकारको लगानीमा मेडिकल कलेजहरुको विस्तारको लागि संगठनले संघर्ष गर्ने बताएको छ । भेलाबाट नवनिर्वाचित अध्यक्ष मिलन राईले विदेशी शैक्षिक संस्थाहरुले सम्बन्धनको हवाला दिँदै कमिसन खुवाएर वर्षमा दुई पटक भर्ना लिने गरेको तर शिक्षा गुणस्तर, भौतिक संरचनाको अनुगमन नहुने गरेको बताए । उनले विदेशी शैक्षिक संस्थाहरुले नेपाली विद्यार्थीहरुलाई लुटिरहेको समेत आरोप लगाए । उनले विदेशी शैक्षिक संस्ठाहरुले पुँजी पलायन समेत गरेको बताउँदै स्वदेशी शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने बताए । “विशेष राष्ट्रिय भेलाबाट संघर्षका निसाना ठोस गरेका छौं, आवश्यकतामा हामी सार्वजनिक गर्दै जानेछौं । सरकारीमा जागिर खाएर निजी शैक्षिक संस्था विज्ञापन गर्ने दलाल शिक्षक हाम्रो निसानामा पर्नेवाला छन् । सम्बन्धको हवाला दिएर विदेशी शैक्षिक संस्थाहरुले कमिसन खुवाएर बर्षमै दुईतिन पटकसम्म भर्ना लिएका छन्, विद्यार्थीलाई लुटिरहेका छन्, हाम्रो निसाना त्यस्ता शैक्षिक संस्थाहरु पनि हाम्रो संघर्षको निसामा छन्” अध्यक्ष राईले भने । उनले त्रिविले पनि कमिसन खाएर जग्गा भाडा दिएको तर कहिलै नतिरेको बताउँदै त्यसविरुद्ध पनि आफूहरुले संघर्षको एजेण्डा बनाउने बताए । भेलाले बढ्दो छात्रा हिंसा नियन्त्रण गर्न, सुन्दरी प्रतियोगिता खारेज गर्न र छात्रा सशक्तिकरण कार्यक्रम हरेक शिक्षालयमा संचालन गर्न माग समेत गरेको छ । त्यस्तै, एमसीसी र एसपीपी समझौता अमेरिकी सैन्य रणनीति इण्डोप्यासिफिक रणनीति अन्तरगत भएको भन्दै भेलाले खारेजीको माग गरेको छ । पत्रकार सम्मेलनमा वितवरण गरिएको प्रेस विज्ञप्तिमा भेलाले विप्लव नेतृत्वको नेकपासँग सम्बन्ध विच्छेद गरी निरन्तर क्रान्तिको मार्गमा अघि बढ्ने पार्टी नेतृत्वको कदमको भेलाले स्वागत गरेको उल्लेख छ । “विप्लव नेतृत्वको नेकपाभित्र देखापरेको दार्शिनिक रुपमा सारसंग्रहवाद, राजनीतिक रुपमले संसदीय संशोधनवाद, संगठनात्मक रुपले निषेधात्मक अधिभूतवाद तथा विसर्जनवाद, संघर्षमा आत्मसुरक्षावाद र आर्थिक हिसाबले जुझारु अर्थवादका विरु निर्णयक सम्बन्ध विच्छेद गरी निरन्तर क्रान्तिको मार्गमा अघि बढिरहेको कार्यप्रति यो विशेष राष्ट्रिय भेला हार्दिक स्वागत गर्दछ” विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा उपाध्यक्ष विरेन्द्र शाह, महासचिव रुपा बुढामगर, सचिव नवराज भट्ट र कोषाध्यक्ष दिपक विष्टले आफूहरुले विगतको नेतृत्वले जस्तो पैसामा विद्यार्थीका एजेण्डा नसाट्ने र शैक्षिक क्षेमा भइरहेको दलाली र माफियाकरणविरुद्ध संघर्षमा उत्रिने प्रतिवद्धता समेत जाहेर गरे । भेलाले राईको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । त्यस्तै, सम्मेलनले वैज्ञानिक व्यवस्थामा मात्रै वैज्ञानिक शिक्षा प्राप्त हुने भन्दै त्यसको लागि समाजवादी क्रान्तिमा लामबद्ध हुने निर्णय गरेको छ ।

अर्थमन्त्री बोल्न लाग्दा एमालेद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरु सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । तर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई हेरफेर गरेकोले अर्थमन्त्रीको राजीनामा माग गरेको हो ।   एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रीको राजीनामा नआउञ्जे आफूहरु अर्थमन्त्रीले प्रस्तुत गर्ने कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको संसदीय दलको निर्णय भएको बताए । उनले अर्थमन्त्री शर्माले घातक काम गरेको आरोप लगाए । सांसद श्रेष्ठले आफूहरुले बैठकमा अर्थमन्त्रीको कार्यसूची बहिष्कार गर्ने बताएसँगै एमाले सांसदहरु बाहिरिएका थिए । एमालेले अर्थमन्त्रीलाई बहिष्कार गरेसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो प्रश्ताव पेस गर्न अर्थमन्त्री शर्मालाई आग्रह गरेका थिए । बैठकमा अर्थमन्त्रीले पेस गरेको ‘आर्थिक विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । त्यस्तै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रश्ताव स्वीकृत भएको घोषणा गरे । त्यसैगरी, अर्थमन्त्री शर्माले पेस गर्नुभएको ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रश्ताव पनि बहुमतले पारित भएको छ । अर्थमन्त्री शर्माले पेस गर्नुभएको प्रस्तावमाथिको कारबाही सकिए लगत्तै एमाले सांसदहरु पुनः राष्ट्रिय सभा बैठकमा भाग लिन प्रवेश गरेका थिए ।

दुर्व्यवहार गरेको आरोपमा जुरेलीले दिइन युवा संघका केन्द्रीय सदस्यविरुद्ध जाहेरी

काठमाडौं । असार १५ मा हिलो खेल्ने क्रममा आफूमाथि दुर्व्यवहार गरेको भन्दै रेस्लर अस्मिता जुरेलीले जाहेरी दिएकी छन्। हिलो खेल्ने क्रममा युवा संघका केन्द्रीय सदस्य हिलारी भन्ने हिकमत बोहराले आफूलाई दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी परिसरमा जाहेरी दिएकी हुन्। जुरेलीले दिएको जाहेरी दर्ता गरेको प्रहरी परिसर ललितपुरले जनाएको छ। ‘अभद्र व्यवहार र दुर्व्यवहारको आरोपमा जाहेरी आएको छ’, परिसर स्रोतले भन्यो। युवा संघले नै आयोजना गरेको कार्यक्रममा बुधबार उनी भैंसेपाटी पुगेकी थिइन्। कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेश बस्नेत पनि सहभागी थिए। रोपाइँ उत्सव मनाउँदा उनलाई पछारेको भिडिओ सार्वजनिक भएको थियो। घटना लगत्तै उनले आपत्ति जनाएपछि लफडा भएको थियो। जुरेलीको कपडा पनि च्यातिएको थियो। उनीहरुबीच लफडा भएपछि अन्यले पछि छुट्याएका थिए।

सार्वजनिक शौचालयलाई चिह्न दिदै काठमाडौं महानगर, मर्मत र सरसफाईको जिम्मा संस्थाकै

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न दिने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगर सभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ । सर्वसाधारणलाई सहज होस् भनेर कामपाले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको हो । प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राख्न लागेको हो । चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् । सङ्केत चिह्नमा गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न रहेको छ । सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ । चिन्नकै आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्नसक्ने कामपाले जानकारी दिएको छ । सम्झौताअनुसार करिब २०० शौचालय सञ्चालन आउनेछन् जसमा १०० मा चिन्न लगाइसकेको छ भने अन्यमा पनि जारी छ । निर्णयअनुसार सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यावसायिक संस्थासँगको सहकार्य र यसअघिकै कामपामा रहेका ५८ गरी अब कामपामा २५० शौचालय सार्वजनिक रुपमा प्रयोगमा ल्याउन आउन लगिएको पनि कामपाले जानकारी दिएको छ । बैंक, रेष्टुराँ, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्स होटलसहित छन् । यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा संस्थाकै हुनेछ । यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट एक÷एक जना प्रतिनिधि तोकिएको छ र उनीहरुले हरेक चार महिनामा प्रतिवेदन दिनेछन् ।

दक्षिण कोरियामा १३ नेपाली पक्राउ, नेपाल फर्काउने तयारी

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ–८)को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् । अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् । उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैरकानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएवाफत रकम असुल्ने गरेका थिए ।

खाना पकाउने ग्याँसको मूल्य तत्काल वृद्धि नहुने

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य तत्काल वृद्धि नगर्ने बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा नेपाल आयल निगमका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेयले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नेपाल आयल निगमको बढ्दो घाटा र अन्तर्राष्ट्रिय मूल्यलाई आधार मानेर बाध्यतावश गरेको बताए ।   मूल्यवृद्धि गर्ने निर्णय आफैँलाई असहज लागे पनि संस्थाको हित तथा आपूर्ति शृङ्खला असहज नहोस् भनेर मूल्य वृद्धि गर्न बाध्य भएको सचिव पाण्डेयले स्पष्ट पारे । सचिव पाण्डेयले नेपाल आयल निगमको घाटामध्ये खाना पकाउने एलपिजि ग्याँसबाट मात्रै करिब ५० प्रतिशतको घाटा भइरहेको उल्लेख गर्दै ग्याँसको अवस्थासहित समग्र विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको बताए । पत्रकार सम्मेलनमा नेपाल आयल निगमका महाप्रबन्धक उमेश थानीले नेपाल आयल निगमलाई १५ दिनमा २ अर्ब ७० करोड घाटा भएको र आइतबारको मूल्य वृद्धिपछि पनि नेपाल आयल निगमले पेट्रोलमा १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा र खाना पकाउने एलपिजि ग्याँसमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ घाटा बेहोर्नुपरेको बताए । आयल निगमले चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर थियो, वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको तर जेठमा २ दिन सार्वजनिक बिदा दिँदा भने घटेर ५९ हजार किलोलिटरमा झरेको थानीले जनाएको छ ।

अखिल(क्रान्तिकारी)त्रि–चन्द्रद्धारा नवआगन्तुक विद्यार्थीलाई सिलेवस वितरण

काठमाडौं । माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) त्रि–चन्द्र क्याम्पस कमिटीले स्नातक तह वि.एस्सी प्रथम वर्षमा अध्यनरत विद्यार्थीहरुलाई प्रथम वर्षको सिलेवस वितरण गरेको छ । नव आगन्तुक विद्यार्थीलाई प्रथम वर्षमा पढाई हुने विषयवस्तुको सुरुमै जानकारी होस र अध्ययनमा सहयोग पुगोस भनेर सिलेवस वितरण गरिएको अध्यक्ष सन्दीप पुडासैनीले जानकारी दिए ।   सिलेवस वितरणसँगै क्रान्तिकारी त्रि–चन्द्रले संगठन विस्तार पनि गरेको छ । अनेरास्ववियू (क्रान्तिकारी) त्रि–चन्द्र क्याम्पस कमिटीले आज विहानी सत्रको कक्षा कमिटीहरु निर्माण गरेको छ । त्रि–चन्द्र क्याम्पस कमिटीले १५५ जना नवआगन्तुक विद्यार्थीलाई अखिल(क्रान्तिकारी)को सदस्यता दिएको हो ।