चिसोले कष्टकर बन्दै जनजीवन

लहान, मंसीर २७ । मौसम परिवर्तन भई एक्कासि बढेको शीतलहर तथा बाक्लो हुस्सुका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ ।

शीतलहरले चिसो बढेपछि बजारमा चहलपहल निकै घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घर बाहिर निस्कनसमेत समस्या भएको छ ।

अत्याधिक चिसोका कारण सिराहा जिल्ला अस्पतालसहित स्वास्थ्य संस्थामा दम, रुघाखोकी र निमोनियालगायतका बिरामीको चाप बढेको चिकित्सकले बताएका छन् ।

चिसो छल्न ठाउँठाउँमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ भने चिसोकै कारण सवारी साधनमा यात्रुको चाप घटेको छ । यात्रु नपाई कतिपय यात्रुबाहक बस ग्यारेजमा थन्क्याइएको छ भने कतिपय गाडीको समय तालिका परिवर्तन गर्नु परेको यातायात व्यवसायीले बताएका छन् ।

अर्कोतिर अत्यधिक चिसोका कारण विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि न्यून भएको छ । जाडो बढेका कारण न्यानो लुगाको बिक्रीमा एक्कासि वृद्धि भएको छ ।

बसको ठक्करबाट ३ वर्षीय बालिकाको मृत्यु

गाईघाट (उदयपुर), २६ मङ्सिर । रामपुर ठोक्सिला गाविस– ९ मा बसको ठक्करबाट आज तीन वर्षीया बालिकाको मृत्यु भएको छ । ना४ख ३०८१ नं को हिमाली यातायातको बसको ठक्करबाट तीन वर्षीया स्मृति श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक अमनलाल माझीले जानकारी दिनुभयो । घर नजिकै खेलिरहेकी श्रेष्ठलाई बसले ठक्कर दिएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको इप्रकाले जनाएको छ । बसका चालक केशव कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रहरीको कुटाईका कारण चालकको मृत्यु भएको आरोप, बीटमा ढूँगामूढ़ा, बौद्द तनावग्रस्त

काठमाडौँ, २६ मङ्सिर । ट्याक्सी चालकको मृत्यु भएपछि आज दिनभर बौद्धको नयाँबस्ती क्षेत्र तनावग्रस्त भयो । दोलखा घर भई हाल काठमाडौँ, गोकर्णेश्वर बस्ने चालक राजकुमार लामाको गएराति मृत्यु भएपछि प्रहरीको कुटाइका कारण उनको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए । महानगरीय प्रहरी बिट, नयाँबस्तीअगाडि भेला भई उनीहरुले बिट र प्रहरीमाथि आक्रमण गरेका थिए । सो क्रममा बिट अगाडि रहेका बा २ ब ३७८३, बा ८० प ८६८३ र बा ९ प १२०५ नंको मोटरसाइकल आगजनी गरेको र बिटमा समेत ढुङ्गामुढा प्रहार गरी बिट क्षतिग्रस्त बनाएको प्रहरीले जनाएको छ । बिटमा आक्रमण भएपछि केही राउण्ड हवाई फायर गर्नुका साथै बिट तोडफोडमा संलग्न २५ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “रेस्टुराँ सञ्चालक र प्रहरीको मिलेमतोमा कुटाइका कारण चालकको मृत्यु भएको भन्ने हल्ला फैलाइयो, तर प्रहरीको यसमा संलग्नता छै्रन । उहाँले मृतक लामाकी श्रीमती र सालीले उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमा नै चालक लामाको मृत्यु भएको जानकारी दिनुभयो । नयाँबस्ती कुमारी मन्दिर नजिक सडकमा बेहोस भई लडिरहेको अवस्थामा लामालाई फेला पारी उपचारका लागि उनका आफन्तले लगेका थिए । प्रवक्ता कार्कीले चालक लामाको मृत्युबारे विभिन्न किसिमका अफवाह आउन थालेपछि यस सम्बन्धमा प्रहरीले आन्तरिकरुपमा छानबिन समिति बनाएको जानकारी दिनुभयो । रासस file photo –––––––––––

नेपाल राजपत्र २४ घन्टाभित्र वेबसाइटमा

काठमाडौं, मंसिर २६ । नेपाल राजपत्र प्रकाशन भएको २४ घन्टाभित्र वेबसाइटमा राख्ने कामको शुभारम्भ भएको छ । मुद्रण विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल राजपत्र वेबसाइटमा राख्दै छपाइ यन्त्र ल्याएर नोट र टिकट नेपालमै छाप्ने व्यवस्था मिलाउने तयारीमा मन्त्रालय लागेको जानकारी गराए । विसं १७७० देखि १८७६ सम्मको युद्धले नेपालको अर्थतन्त्रलाई ध्वस्त बनायो, यो समयसम्म नेपालको मुद्रा भारतको भन्दा माथि थियो, त्यसअघि यहाँ पाइने धातु युरोपको भन्दा राम्रो थियो, युद्धले भ्रष्टाचारभन्दा पनि छिटो गतिमा अर्थतन्त्रलाई बिगार्छ”, उनले भने । सूचना र सञ्चारका माध्यममार्फत कुनै पनि तथ्यलाई छिटो जानकारी गराएर डिजिटल नेपाल बनाउने अभियानमा सहयोगका लागि पहल गर्ने मन्त्री कार्कीको भनाइ थियो । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सुरक्षण मुद्रणका रुपमा विभागलाई स्तरोन्नति गरी रु दुई अर्ब वार्षिक बिदेसिनबाट बचत गर्न सकिने बताए । ुमुद्रणको परम्परागत प्रणालीमा सुधार गरेर सुरक्षण मुद्रणमा स्तरोन्नति गरी अर्थतन्त्रमा उपलब्धि गर्न सकिन्छ, विभागले व्यावसायिक बन्न प्रतिस्पर्धामा जानुपर्छु–उनले भने । राजपत्रलाई प्रकाशन भएको १२ घन्टामै वेबसाइटमा राख्न पहल गरिनुपर्ने सचिव थपलियाले बताए । विभागका महानिर्देशक शङ्कर अर्यालले विभागको स्तरोन्नति एवम् सुधारका लागि मन्त्रालयले स्रोतसाधनसहित ठोस निर्णय गरिदिनुपर्ने बताए । विसं २००८ देखि प्रकाशन सुरु भएको नेपाल राजपत्रलाई आजैदेखि प्रकाशन भएको २४ घन्टामै वेबसाइटमा राख्न थालिएको छ ।

ट्र्याक्टरले थिच्दा बालकको मृत्यु

सिन्धुली, मङ्सिर २६ । पिपलमाढी गाविसमा ट्र्याक्टरबाट खस्दा पिपलमाढी–१ घर भएका सातवर्षीय मनोज गोलेको आज घटनास्थलमै मृत्यु भएको छ । बालक ट्याक्टरबाट अचानक झर्दा उक्त ट्र्याक्टरको टेलरको चक्काले थिचिँदा मुत्यु भएको प्रहरीले बताएको छ । ढुङ्गा लिन मरिण खोलातर्फ जाँदै गरेको ना ५ त ३६३८ नं ट्याक्टरबाट खस्दा बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पिपलमाढी– १ श्रीपुर नरसरी सिसौघारीस्थित ती बालक झमझमेबाट चढेका थिए । चालक फरार रहेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बस दुर्घटनामा पाँचको मृत्यु

पाँचथर, मङ्सिर २६ । तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभिरमा आज बस दुर्घटनामा तीन जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी २३ जनाभन्दा बढी यात्री घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन । धरानबाट तेह्रथुमको औंसीडाँडातर्फ आउँदैै गरेको ना ४ ख २८६५ नंको बस गढीभिरको सडकबाट करिब दुई सय मि तल खसेको प्रहरीले जनाएको छ । नेपाली प्रहरी, सशस्त्र र स्थानीयवासीले घाइतेको उद्धार गरिरहेका छन् ।

चिसोले कठ्याङ्गिएर एकको ज्यान गयो

पर्सा, मङ्सिर २६ । चिसोले कठ्याङ्गिरएर सेढवा गाविस–१ निवासी ४५ वर्षीय प्रभुराम चमारको गएराति मृत्यु भएको छ । गाउँ नजिकैको नालामा मदिरा सेवन गरी लडेका चमारलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । कामबाट घर फर्किेने क्रममा मदिरा सेवन गरेका चमार नालामा लडेको एक घन्टापछि स्थानीयवासीदेखि बाहिर निकाली उपचारका लागि वीरगन्ज ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको उनले बताए । मृतक चमारको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएकोे छ । रासस

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सल्यान, मंसिर २५ । दुर्गम क्षेत्रका विद्यालयमा अध्ययन गर्ने एक सय २० विद्यार्थीले शैक्षिक सामग्री पाएका छन् । उत्तरी क्षेत्रमा रहेका दार्माकोट ढाकाडाम, भल्चौर र जिमाली गाविसमा रहेका ४५ विद्यालयका बालबालिकाले प्रतिविद्यार्थी झन्डै रु चार हजार बराबरको छात्रवृत्ति बापतका सामग्री प्राप्त गरेका हुन् । सेभ द चिल्ड्रेनको सहयोगमा सामग्री प्राप्त गर्नेमा ढाकाडाम गाविसका १३ विद्यालयका ४४, भल्चौर गाविसका १२ विद्यालयका २६ , दार्माकोट गाविसका ११ विद्यालयका ३० र जिमाली गाविसका नौ विद्यालयका बालबालिका छन् । उनीहरुलाई प्रतिविद्यार्थी एक जोर विद्यालय पोसाक, एक जोर जुत्ता, झोला, एक वर्षलाई पुग्ने कापी, कलम, शब्दकोश, सामान्य ज्ञानका पुस्तक लगायत प्रदान गरिएको दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले जानकारी दिए । उनीहरुलाई जिल्लास्थित क्रियाशील पत्रकार, जिल्ला शिक्षा कार्यायलका स्रोत व्यक्ति, दलित विकास समाज सल्यान र सेभ द चिल्ड्रेनका प्रतिनिधि लगायतले गाविसमै पुगेर सामग्री प्रदान गरेका हुन । पछाडि परेका समुदाय, गरिब, जेहेन्दार, दलित, आमाबाबु गुमाएका तथा शैक्षिक सामग्री र पोसाकका अभावमा विद्यालय जान नपाएका बालबालिका छानेर विद्यालयको सिफारिसमा छात्रवृत्ति प्रदान गरिएको सेभ द चिल्ड्रेन, जिल्ला कार्यक्रम संयोजक विमला सुवेदीले बताए ।

कर्मकाण्ड गराउन समेत पाइन छाडे पुरोहित, स्थानीयवासी चिन्तित

  म्याग्दी, मङ्सिर २६ । पाश्चात्य संस्कृतिसँगै आधुनिकतातर्फ सबैको आकर्षण बढ्दै जान थालेपछि संस्कृत शिक्षातर्फ उदासीनता बढ्नुका साथै म्याग्दीमा धार्मिक कर्मकाण्डका लागि पुरोहितको अभाव हुन थालेको छ । पुरोहितको अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयवासी चिन्तित हुन थालेका छन् । संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणले पनि संस्कृत पढ्न छोडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि ९पुरेत० ब्राह्मणको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् । वेद, उपनिषद्, पुराण, रुद्रीलगायतका ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्यु पर्यन्त आवश्यक भए पनि पुरोहितको अभावमा समस्या उत्पन्न हुन थालेको बेनी नगरपालिका–४ का भीमबहादुर कार्कीले बताउनुभयो । “हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो”, कार्कीले भन्नुभयो – “संस्कृतको ज्ञान नभएका व्यक्तिले कर्मकाण्ड गराउन नसक्ने हुँदा न्वारन, विवाह र मृत्यु संस्कारजस्ता नगरिनहुने कर्म गर्न पनि समस्या हुन थालेको छ ।” संस्कृत शिक्षा हिन्दूहरुको जीवन पद्दद्धिसँग जोडिएको शिक्षा भए तापनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ । संस्कृत पढेर सुनिश्चित भविष्य नहुने र कर्मकाण्ड व्यावसायिक पेसा अझै हुन नसकेकाले संस्कृतप्रति मानिसको उदासीनता बढेको हुन सक्ने म्याग्दी बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्रध्यापक नारायणदत्त सुवेदीले बताउनुभयो । कर्मकाण्ड गर्ने बूढापाका ब्राह्मणको शेषपछि पुरोहितको अभाव सुरु हुन थालेको हो । अहिले म्याग्दीमा पुराणवाचन गर्ने पण्डितको सङ्ख्या दुई तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गर्नेहरु पनि घट्दै गएको ब्राह्मण समाज म्याग्दीले जनाएको छ । रासस

६३ वर्ष पुगे प्रधानमन्त्री प्रचण्ड, भन्छन्– जनताका लागि खाएका कसम अझै बाँकी छन् (फोटो फिचर)

काठमाडौं, मंसिर २६ । यतिखेर प्रचण्ड देशको कार्यकारी प्रमुख छन् । प्रधानमन्त्रीका रुपमा उनले इतिहासको जटिल कालखण्डको नेतृत्व गरिरहेका छन् । संविधान कार्यान्वयनको जटिल कार्यभार उनका सामु छ । एकातिर जनताका अपेक्षा र चाहना, अर्कोतर्फ संविधानको पूर्ण कार्यान्वयनमार्फत शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने जिम्मेवारीको पहाड छिचोल्नुपर्ने बाध्यता । तर प्रचण्ड हारेका देखिँदैनन् । प्रतिपक्षको चौतर्फी हमलाको कुशल प्रतिरक्षा गर्दै उनी अगाडि बढेका छन् । गत वर्ष हामीले प्रचण्डसँग जीवनका ६१ वर्ष पुरा भएको सन्दर्भममा कुराकानी गरेका थियौं । सोही आधारमा तयार पारिएको गत वर्षको सामग्री आजका लागि समेत सान्दर्भिक ठानेर यहाँ प्रस्तुत गरिएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो जीवनका ६२ वर्ष पुरा गरेका छन् । बिक्रम सम्बत २०११ सालको मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा उनी जन्मेका थिए । राजनीतिकरुपमा २०२८ सालदेखि संगठित जीवन शुरु गरेका प्रचण्ड २०५२ सालदेखि नेपाली राजनीतिको केन्द्रमा रही आएका छन् । जनयुद्धकालिन अवस्था र शान्ति प्रक्रियामा आइसकेपछि पनि प्रचण्ड राजनीतिक शक्ति केन्द्रको केन्द्रमा देखिएका हुन । राजनीतिमा जस्तोसुकै बोल्ड निर्णय गर्नसक्ने क्षमता रहेको नेताका रुपमा रहेका प्रचण्डले अझै सक्रिय राजनीतिक जीवन बाँच्ने बताएका छन् । एभरेष्टदैनिक डटकमसँग कुरा गर्दै प्रचण्डले भने, “जनताका लागि मैले कसम खाएका कतिपय कुरा पुरा भएका छैनन् । म अझै १०, १२ वर्ष सक्रिय राजनीतिमैं हुन्छु ।” नयाँ जनवादी राज्यसत्ताको सपना देखेका प्रचण्डले कार्यदिशा फेरिएपनि जनताको व्यवस्थाकै पक्षमा आफू निरन्तर लाग्ने समेत बताए । “कतिपय अवस्थामा शक्ति सन्तुलनको स्थिति हेरेर अगाडि या पछाडि जाने भन्ने हुन्छ तर मूल क्रान्तिकारी चरित्र र स्पिरिट त्याग्ने कुरा सपनामा पनि सोच्दिन । मैले जनताबाटै पाएँ, जनताकै बीच हुर्किएँ, जनताका लागि बाँकी जीवन समर्पित गर्छु ।” उनले बताए । पार्टीभित्रका विचलन, फूटले तत्कालमा तनाव दिने भएपनि यसले विचलित भने नबनाएको उनले बताए । “विचलन र फूटले निराशा पैदा गर्छ तर जीवनको पछाडिका कालखण्ड सम्झिँदा फेरी उर्जा पलाएर आउँछ । अझै गर्नु धेरै छ, थाकेर, हैरान भएर हुँदैन, नयाँ उर्जा बोकेर, सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन ।” उनी भन्छन् । आफ्नो राजनीतिक जीवनकालमा ४४ वर्ष सक्रिय राजनीति र २५ वर्ष भूमिगत जीवन बिताएका प्रचण्डले पहिलोपटक नेपालमा सशस्त्र संघर्षको कार्यदिशा अन्तर्गत “जनयुद्ध” शुरु गरेका थिए । नेपाली कम्युनिष्ट आन्दोलनमा आफ्नो बेग्लै विचारधारा निर्माण गर्ने प्रयासस्वरुप प्रचण्डले ‘प्रचण्डपथ’ अगाडि सारेका थिए । यद्यपी प्रचण्डपथ संस्थागत हुन भने सकेन । पिता मुक्तिराम र माता भवानीका ज्येष्ठ पुत्र प्रचण्डले रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी र एमपीएसम्म पढाई गरे । उनको नाम कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल राखिएको थियो । प्रचण्डले २०२६ बैशाखमा सीता पौडेलसँग विवाह गरे । उनका तीन छोरी र एक छोरा छन् । प्रचण्डले नारायणी विद्यामन्दिर मा।वि।शिवनगर (२०२९साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि,आरुघाट,गोरखा (२०३३(०३५ सालमा अध्यापन गरेका थिए । विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले  बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरे । उहाँ २०३४ सालमा चौथो महाधिवेशन, २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित प्रचण्ड, २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भएका थिए । उनी २०४० मा युवा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित भए । यसपछि उनी पूर्णरुपमा राजनीतिमै सक्रिय भए । विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकता केन्द्र)को महामन्त्री भए । एकता केन्द्रमा भने जनयुद्ध शुरु गर्ने विषयमा विवाद देखा पर्यो । प्रचण्ड महामन्त्री रहेको पार्टीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरे । २०५७ सालमा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसबाट प्रचण्ड नेकपा माओवादीको अध्यक्ष भए । यो कालखण्ड प्रचण्डका लागि राजनीतिक जीवनको महत्वपूर्ण अवस्था थियो । प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । प्रचण्डका नेपाली क्रान्तिका समस्या ९भाग १, २ र ३०, संस्कृति, कला र सौर्न्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरू(खण्ड १ र २ ) तथा ‘प्रचण्डका छानिएका सैन्य रचनाहरू’लगायतका पुस्तक प्रकाशित छन् ।  

बौलाहा खोलाको भांचियो पूल, नवलपरासीमा रोकिए गाडी

कावासोती, २६ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदले स्थित बौलाहा खोलाको पुलमा ट्रकले ठक्कर दिँदा आज बिहान पुल भाँचिएको छ । पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७ नंको ट्रकले पुललाई ठक्कर दिँदा पुल झोलुङ्गो जस्तो बनेको छ । पुल भाँचिएपछि यात्रुबाहक बस र मालबाहक ट्रक अलपत्र बनेका छन् । साना हल्का सवारी साधन भने पुल भाँचिएको भागभन्दा अर्को भागबाट सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । बौलाहा खोलामा डाइभर्सन निर्माण गरेरमात्र सवारी साधन आवात जावत गराउन सकिने उहाँले बताउनुभयो ।

मीनभवनको तरकारी बजार भत्काएकोमा बिरोध

  काठमाडौँ, २५ मङ्सिर । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले २०५८ सालदेखि सञ्चालित बानेश्वर मीनभवनस्थित तरकारी बजार कुनै विकल्प नदिई राज्यको ठूलो साधनस्रोत प्रयोग गरी, प्रहरी प्रशासनको बलमा बलजफ्ती भत्काइएकोमा विरोध जनाएको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी तीन सयभन्दा बढी व्यवसायी र हजारौँ किसानको प्रत्यक्ष जीविकोपार्जन खोस्ने तथा लाखौँ उपभोक्ताको तरकारी उपभोग गर्ने अधिकार हनन हुने गरी चालिएको सो कदमको भत्र्सना गरेको छ । अन्य विकल्पको खोजी गरी व्यवसायी स्वयम् अन्य ठाउँमा बजार स्थानान्तरण गर्ने प्रयास गरिरहेको बेला डोजरको प्रयोग गरी बलजफ्ती भौतिक संरचना, कृषि उपज तथा धनमाल नष्ट गरिएको र राज्यको उक्त कदमले किसानले उत्पादन गरेका एक सय ५० टनभन्दा बढी कृषि उपज बजारसम्म नपुगी खेरजाने अवस्था सृजना भई करोडौँ आर्थिक क्षति पुगेको महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । बजार भत्काइएपछि विस्थापित हुन पुगेका व्यवसायीलाई तत्काल अर्को बजारको व्यवस्था गरी पुनस्र्थापना गर्न, व्यवसायिक ग्यारेन्टी र स्थायित्व प्रदान गर्न तथा क्षति हुन पुगेका धनमाल र कृषि उपजको क्षतिपूर्ति उपलब्ध गराउन महासङ्घले सरकारसमक्ष माग गरेको छ । देशैभरका कृषि बजार सङ्कटमा रहेको सन्दर्भमा महासङ्घले पटक–पटक कृषि ऐन निर्माण गरी नयाँ कृषि बजारको निर्माण तथा व्यवस्थापन गर्न, सञ्चालनमा रहेका बजारमा देखापरेका समस्या समाधान गर्न ध्यानाकर्षण गराउँदै आएकामा उल्टै दादागिरी शैलीमा राज्य उत्रिएकाबाट कृषक, व्यवसायीका समस्या समाधान गर्न तथा कृषि क्षेत्रको विकास गर्न राज्य उदासिन छ भन्ने प्रष्टिएको विज्ञप्तिमा उल्लेख छ । रासस

आश्राङमा पहिलोपटक स्वास्थ्य शिविर, ४१६ जनाले गरे परीक्षण

आश्राङ, मंसिर २५ । ललितपुर जिल्लाको आश्राङ गाविसमा बृहत स्वास्थ्य शिविर भएको छ । दक्षिण ललितपुरको मकवानपुरसँग सीमाना जोडिएको उक्त गाविसमा भएको शिविरमा हाड जोर्नी, छाला स्त्री रोग र दाँत सम्बन्धी ४१६ जनाले उपचार गराएको आश्राङ हेल्थ पोष्ट व्यबस्थापन समितिका अध्यक्ष टीका बल्लभ बजगाँइले एभरेष्टदैनिक डटकमलाई जानकारी दिए । पहिलो पटक उक्त गाउँमा भएको स्वास्थ्य शिविरबाट गम्भीर प्रकृतिका ९ जनालाई काठमाडौं रेफर गरिएको अहेव राजु गौतमले बताए । हाड जोर्नी १४१ जना, साधारण छाला सम्बनधी १९२ जना र स्त्रीरोगमा ५२ जनाले परीक्षण गराएका थिए । गौतमका अनुसार गाउँमा रहेको हेलथपोष्टमा डेढ वर्षदेखि एमविविएस डाक्टर नहुँदा सामान्य घाउ चोट लागेक विरामी पनि काठमाडौं पुग्नुपर्ने बाध्यता थियो ‘हामीले स्थानीयको आग्रहमा आनन्द बन लेप्रोसी मिसन अस्पतालको आयोजनामा बृहत स्वास्थ्य शिविर राख्ने तयारी गरेका थियौं । लेप्रोसी मिसन अस्पतालले सहयोग गरेपछि त्यो सम्भव भयो ।’ लेप्रोसी मिसन अस्पतालका प्रमुख इन्द्र नापित आफै शिविरमा पुगेका थिए ।  गाउँमा भएको सवास्थ्य शिविरमा विरामीहरुको चाप देखेर ललितपुर जिल्लाका जनस्वास्थ्य प्रमुख झलक शर्मा पाैडेलले त्यहाँ तत्काल डाक्टर पठाइने बताए । उनले अहेव र कर्मचारीहरुलाई दश बजेदेखि चार बजेसम्म सेवा दिन निर्देशन पनि दिए । जिल्लाका प्यूटार, आश्राङ, गिम्दी र मकवानपुर जिल्लाका मन्थली, ठिङ्गन बेतिनी गाविसका विरामीहरु शिविरमा जाँच गराउँन आएका थिए । गाउँमा सामान्य रोग लागेका विरामी देखि हाड जोर्नीका विरामीहरु बढीमात्रामा आएका अहेव गौतमले जानकारी दिए । जिल्लाको चापागाँउबाट गाडीमा चार घण्टामा पुगिने आश्राङमा पहिलोपटक शिविर राखिएको हो ।

प्रहरीले फसाएको पीडितको अारोप

काठमाडौँ, मंसिर २५ । धनमती पुन र राजु विक (रोल्पा), कुमार तामाङ र विमल मगर (काभ्रे) तथा विमल माझी (रामेछाप) लाई झुटो मुद्दा लगाएर गिरफ्तार गरिएको जनाउँदे पीडित आफन्तद्वारा रिहाइको माग गरिएको छ । वि.सं.२०७३ भदौ १२ गते गोरू काटेको भनी झुटो मुद्दा लगाएर फसाएको गुनासो गरी आफन्तजन/परिवारले जति सक्दो तिनको चाँडो रिहाइ गर्नुपर्नु माग गरेका हुन् । अभियुक्तलाई गिरफ्तार गरी पुर्पक्षका लागि केन्द्रीय कारागार काठमाडौँमा राखिएको छ । आदिवासी जनजाति सरोकार सङ्घद्वारा यहाँ आज आयोजित अन्तरक्रियामा अभियुक्त तामाङका मामा विकास तामाङले प्रहरीले कुनै प्रमाणबिना आफ्ना भान्जालाई पक्राउ गरेर झुटा मुद्दा लगाएको भन्दै बिना सर्त तत्काल रिहाइको माग गरेको छ । अधिकारकर्मी आङकाजी शेर्पा र माइला लामाले घटनामा असंलग्न व्यक्तिलाई पक्राउ गरी दुःख दिएर राज्यले पीडितमाथि अन्याय गरेको भन्दै तत्काल छाडिदिन आग्रह गरेका छन् ।

२७ वर्षपछि पक्राउ

जाजरकोट, मंसिर २५ । जाजरकोट साल्मा– ९ का ६२ वर्षीय प्रेमबहादुर थापालाई ज्यान मारेको अभियोगमा फरार भएका तर आज प्रहरीले दसेरा–८ थलह बजारबाट २७ वर्षपछि पक्राउ गरेका छन् । २०४७ साल वैशाख ७ गते जिल्ला अदालत जाजरकोटले ज्यान मारेको अभियोगमा उनलाई बीस वर्ष कैद सजाएको फैसला गरेको थियो । थापालाई कैद भुक्तानीका लागि जिल्ला अदालतमा पेस गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

काम गर्न सरकार प्रतिबद्धः राज्यमन्त्री

धनकुटा, मंसिर २५ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जनचाहना अनुरुप काम गर्न सरकार प्रतिबद्ध रहेको बताएको छ । नेपाली काँग्रेस धनकुटाद्वारा आज पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले जनाताको दैनिक प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा देखिएको चरम लापरबाहीलाई नियन्त्रण गर्न मन्त्रालयले सुधारका नयाँ कार्ययोजना बनाएको छ भने। राज्यमन्त्री गुरुङले सहर केन्द्रित स्वास्थ्यकर्मीको चाहनालाई र अनाधिकृत खुलेका स्वास्थ्य संस्थालाई निरुत्साहित गर्दै ग्रामीण जनताको स्वास्थ्यप्रति सरकार बढी संवेदनशील बनेको बताए । जनसङ्ख्या र भौगोलिक अवस्थाको विश्लेषण गरेर पूर्वाधार र चिकित्सक अभाव रहेका अस्पताल र स्वास्थ्य केन्द्रमा तत्काल पूर्वाधार र चिकित्सकको व्यवस्थापन गर्न कार्यमा मन्त्रालय लागिपरेको बताए ।