जाडो छल्न आगो बाल्दा छ लाख बराबरको क्षति

इनरुवा, मंसिर ३० । सुनसरीको सीमावर्ती क्षेत्र घुस्की–६ मा जाडो छल्न आगो बाल्दा सोही आगोले विकराल रुप लिएपछि छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय जुलफकार मियाँको घरबाट सल्केको आगोले चार परिवारका पाँच घर जलेर नष्ट हुँदा रु छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

राति बालेको आगोले एक घुरबाट सल्केर स्थानीयवासी मजलुम मियाँ, एमजुन खातुन, इम्तियार मियाँसहितको पाँचवटा घर जलेर नष्ट भएको हो ।

आगलागीबाट टिनको छानो भएका पाँचवटा घर, घरमा रहेका विभिन्न सरसमान, लत्ताकपडा र अन्नपात गरी रु ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिएका छन् । हाल भने आगलागीलाई स्थानीयवासी र प्रहरीले सामूहिक रुपमा नियन्त्रणमा लिएका थिए ।

यस्तो पनि: बाबुको हत्त्या आरोपमा परिवारका सबै पक्राउ

  इटहरी, २९ मङ्सिर । सुनसरीको बकलौरी–१ का ४८ वर्षीय कृष्णकुमार गौतमको मृत्यु आफ्नै छोराको हातबाट भएको आशङ्कामा प्रहरीले गौतम परिवारका सबै सदस्यलाई पक्राउ गरेको छ । सोमबार साँझ गाँजा खाएका दाजुभाइबीच भएको झगडा छुट्याउँदा कान्छा छोरा १८ वर्षीय सन्देश गौतमले २४ वर्षीय दाजु सुवास गौतमलाई प्रहार गरेको खुकुरी बाबु कृष्णकुमारको टाउकामा बज्रन पुगेको थियो । टाउकामा धारिलो खुकुरीको प्रहार भएबाट घटनास्थलमै ढलेका बाबु गौतमको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउँदा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । गाउँघर छरछिमेकमा रुखबाट लडेको र घरमा नै लडेको भनेर गरिएको हल्ला झुटो भएको असुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानपछि दुवै छोरा र श्रीमती कल्पना गौतमलाई समेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ । मृतक कृष्णकुमारको आज दाहसंस्कार गरिएको छ । दुवै छोरा र श्रीमती कल्पनालाई समेत अनुसन्धान तथा सोधपुछका लागि इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । रासस

‘कालिञ्चोक केवलकार’ सम्बन्धमा विवाद बढ्दै

दोलखा, मंसिर २९ । स्थानीय लापिलाङ गाविस–६ झरेनी सामुदायिक वनमा निर्माण गर्न लागिएको ‘कालिञ्चोक केबुलकार’ का सम्बन्धमा विवाद बढेको छ । जिल्लाका पहुँचवाला नेता तथा व्यावसायीको दबाबमा जिल्ला विकास समिति र कालिञ्चोक गाविसले केबुलकार निमार्णमा स्वीकृति दिए पनि सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति र वन कार्यालयको स्विकृति नलिएकाले विवाद बढेको हो । कालिञ्चोक दर्शन प्राली नामक संस्थाले केबुलकार निर्माण हुने जमिन गुठी संस्थानको भएको दाबी गरेको छ । केबुलकार निर्माणमा विभिन्न दलका नेता तथा कार्यकर्ता र स्थानीय व्यापारी गरी ६५ जनाको लगानी रहेकोले तिनको दबाबमा जिल्ला प्रशासन कार्यालयले वन क्षेत्रको जग्गा उपलब्ध गराउन गुठी संस्थान तथा वन मन्त्रालयमा पत्राचार गरेपनि सो मन्त्रालयले कालिञ्चोक दर्शन प्रालीलाई वातावरणीय प्रभाव मूल्याङ्न मात्र गर्न स्विकृति दिएको जिल्ला वन कार्यालयले जनाएको छ । सामुदायिक वन महासङ्घका जिल्ला अध्यक्ष कमला बस्नेतले यो सामुदायिक वन क्षेत्रको जग्गा भएकाले सामुदायिक वन र जिल्ला वन कार्यालयको स्वीकृतमा मात्रै उपभोग गर्न पाइनेमा स्थानीय जनताको अधिकारमा हस्तक्षेप गर्नुका साथै कानुन विपरितका काम भएको बताएको छ । सामुदायिक वन महासङ्घले हालै आयोजना गरेको छलफलमा जिल्ला वन कार्यलय, सुस्पा सामुदायिक वन, चर्नावती सामुदायिक वन, सुक्राम सामुदायिक वन लगायतका पदाधिकारीले सो सार्वजनिक जग्गा सरकारी सम्पति भएको ठोकुवा गरेका छन् । उनीहरुले केबुलकार निमार्णमा वन कार्यालय, सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिको स्वीकृति हुनुपर्नेमा जोड दिएका छन भने एमाले नेता बालकृष्ण शिवाकोटीले आफूहरुले सबै कानुनी प्रक्रिया पु¥याएको र २७ वर्षका लागि गुठी संस्थानसँग सम्झौता भएको बताएको छ ।

मुलुकको राष्ट्रिय अखण्डता र एकतालाई केन्द्रमा राख्नुपर्नेः अध्यक्ष थापा

काठमाडौँ, मङ्सिर २९। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय अखण्डता र एकतालाई केन्द्रमा राखेर सङ्गठन सुदृढीकरण गर्नुपर्ने बताएको छ । पार्टीका नवनियुक्त पदाधिकारीलाई पद बहाली गराउन आज केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले पदाधिकारीलाई मनोनयन पत्र हस्तान्तरण गर्दै देश र जनताको सेवालाई प्राथमिकतामा राखेर राजनीति तथा सामाजिक सेवा सञ्चालन गर्न आग्रह गरेका छन् । उनले मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले अहिले देशमा रहेका राजनीतिक शक्तिका बीच नयाँ धुव्रीकरण बन्न सक्ने सम्भावना रहेको औँल्याउँदै संविधान संशोधनको विषय पेचिलो बन्दै गएको बताए । अध्यक्ष थापाले राष्ट्रको प्राचीन मूल्य मान्यता तथा परम्परा र संस्कृतिको संरक्षणका लागि बलियो प्रजातान्त्रिक शक्तिको खाँचो रहेको बताए । उनले स्थानीय निर्वाचनको सम्भावना बढेकाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न गाउँगाउँमा पुगेर जनताको सेवामा लाग्न पदाधिकारीलाई निर्देशन दिएका छन् । सो पार्टीले मङ्गलबार २० सदस्यीय पदाधिकारी चयन गरेको पार्टीका सहायक प्रवक्ता राजाराम बर्तौलाले जानकारी दिए ।

करेन्ट लागेर किशोरको मृत्यु

बैतडी, मङ्सिर २९ । करेन्ट लागेर आज बिहान दार्चुलामा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुला धौलाकोट–४ का १८ वर्षीय सुरेन्द्र सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले राससलाई जानकारी दिए । बिहान ७.३० बजे घरको छतमा लुगा सुकाउने क्रममा घरमाथि रहेको बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका धामीको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा बिहान ९ बजे मृत भएको प्रहरी निरीक्षक चन्दले बताए ।

महोत्तरीको सुरक्षाबारे प्रधानमन्त्रीको चासो

बर्दिवास, मङ्सिर २९  । प्रधानमन्त्री पुष्पकमल दाहालले महोत्तरी जिल्लाको सुरक्षा, विकास पूर्वाधार र अहिलेको जनचासोबारे जानकारी लिएका छन् । मङ्गलबार साँझ महोत्तरीको बर्दिवास आइपुगेका प्रधानमन्त्री दाहालले जिल्लाका सुरक्षा अधिकारी र नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता कार्यकर्तासँगको कुराकानीमा जिल्लाका समस्या र अवस्थाबारे जानकारी लिएका हुन् । रात्रिबास बर्दिवास नै बस्नुभएका प्रधानमन्त्री दाहालले मङ्गलबार साँझ जिल्लाका प्रजिअ, अन्य सुरक्षा अधिकारी र नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता कार्यकर्तासँग छुट्टाछुट्टै सङ्क्षिप्त कुराकानी गरेका थिए। प्रधानमन्त्रीले जिल्लाको राजनीतिक र विकास अवस्थाबारे चासो लिएको नेकपा (माओवादी केन्द्र)का नेता बर्दिवास–१ का बासिन्दा राजु खड्काले जानकारी दिए । आफ्ना मित्र मातृकाप्रसाद यादवका छोराको विवाहमा सरिक हुन र सिरहाको मिर्चैयामा राजनीतिक कामको सिलसिलामा सडक मार्ग हुँदै प्रधानमन्त्री दाहाल मङ्गलबार साँझ बर्दिवास आइपुगेका हुन् । प्रधानमन्त्री दाहाल बाक्लो हुस्सु लागिरहेकाले सडक मार्गबाट आउनु परेको सुरक्षा अधिकारीले बताएका छन् । प्रधानमन्त्री दाहाल आज बिहानै विवाह समारोहमा सरिक हुन सिरहातर्फ प्रस्थान गरेका  छन् । रासस  

विजयपुरमा टिप्पर खस्यो, एकको मृत्यु

पोखरा,  मङ्सिर २९। पोखराबाट लेखनाथतर्फ जाँदै गरेको ग १ ख ३७१८ नंको टिप्पर गएराति विजयपुर खोलामा खस्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी टिप्पर चालक तनहुँ शुक्लागण्डकी–१ राईपुरका २७ वर्षीय टुकबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गाडीको चालकका सहयोगी प्रेम नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीव्रगतिका कारण अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । रासस

बालिका बलात्कार आरोपमा एकजना पक्राउ

बर्दिवास, मङ्सिर २९ । एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरीको बर्दिवासमा एकजना पक्राउ परेका छन् । झापा जिल्लाको महेशपुर–१ का २६ वर्षीय विष्णु राजवंशीलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । आजभन्दा २५ दिनअघि मङ्सिर ४ गते अपराह्न राजवंशीले बर्दिवास नगरपालिका–१० स्थित डाँडागाउँकी एक १३ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै फरार भएका राजवंशीलाई मङ्गलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । राजवंशीविरुद्ध जबर्जस्तीकरणी मुद्दा चलाइने इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । रासस –––––––

मोटरसाइकल दुर्घटनामा प्राध्यापकको मृत्यु

राजविराज,मङ्सिर २९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–७ स्थित रुपनगरमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–२ का नारायण भट्टराई रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । भट्टराई सुनसरी बहुमुखी क्याम्पसका प्राध्यापक रहेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भट्टराई चढेको को २७ प ६८९० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

विपद् व्यवस्थापनमा चिनियाँ सरकारले राहत हस्तान्तरण

रसुवा, मङ्सिर २८ । विपद् व्यवस्थापनमा सहज बनाउन आकस्मिक रुपमा चिनियाँ अधिकारीले केही राहत सामग्री जिल्लालाई हस्तान्तरण गरेका छन् । केरुङतर्फबाट ल्याएका ज्याकेट, त्रिपाल, टेन्ट र स्लिपिङ ब्यागसहित करिब ५०० किलो राहत सामग्री ओभरसिज चाइना एथिपारा कमिटीका कार्यकारी निर्देशक टङ्गाले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीलाई हस्तान्तरण गरे । प्राप्त सामग्री आपत्कालीन अवस्थामा दैवी प्रकोप उद्धार समितिको निर्णयबाट वितरण हुने प्रजिअ अधिकारीले बताए ।

विद्युतीय शवदाह निर्माणमा सहयोग

चितवन, मङ्सिर २८ । भरतपुरका समाजसेवी विजय सुवेदीले आफ्ना छोराको बिहेको खर्च जोगाएर सामाजिक क्षेत्रमा रु तीन लाख बढी रकम सहयोग गरेको छ । सुवेदीका छोरा विपुल र प्रतीक्षा धितालको विवाहमा लाग्ने खर्च कटौती गरेर उहाँले भरतपुरस्थित मानव सेवा आश्रम र देवघाटमा विद्युतीय शवदाह निर्माणका लागि सहयोग गरेका छन् । सडकबाट बेवारिसे र मानसिक रोगी उठाएर उपचार र पालनपोषण गर्दै आएको आश्रमका लागि रु एक लाख एक हजार एक सय २१ र देवघाटमा विद्युतीय शवदाह निर्माणका लागि रु दुई लाख उहाँले सहयोग गरेको छ । आश्रमका प्रमुख संरक्षक तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले देवघाटमा विद्युतीय शवदाह निर्माण गर्न सो सहयोग बीज रकम भएको बताउनुभयो । नवविवाहित जोडीका बुबा तथा भरतपुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष सुवेदीले व्यवहार परिवर्तन गरेर आफूले सामाजिक हित र समाज रुपान्तरणका लागि सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । आश्रमका अध्यक्ष रामजी अधिकारीले नेपालको सडकलाई बेवारिसे मानवमुक्त बनाउने आफ्नो लक्ष्य पूरा गर्न सहयोग गर्नुभएकामा नवविवाहित जोडीलाई बधाई ज्ञापन गरेको छ ।

बत्तीस बिजुली चोर पक्राउ

गौशाला, मङ्सिर २८ । महोत्तरी प्रहरीले आज जिल्लाका विभिन्न स्थानबाट ३२ विद्युत चोरलाई पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरीले प्राधिरकणका कर्मचारीको सहकार्यमा जिल्लाका धिरापुर, एकरहिया, पिपरा, मटिहानी, सोनौल, हतिसर्वा, मेघनाथ गोरहन्ना, गौशाला नगरपालिका क्षेत्र र जलेश्वर नगरपालिका १५ र १६ लगायत स्थानबाट विद्युत् चोरीमा संलग्न रहेका भनिएकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले एक प्रगति विवरण प्रस्तुत गर्दै जानकारी गराए । जिल्लामा भइरहेको विद्युत् चोरीलाई नियन्त्रण गर्न प्राधिकरणले चलाएको अभियान अन्तर्गत उनीहरुबाट रु एक लाख ६० हजार जरिवाना समेत बरामद गरिएको प्रहरी निरीक्षक रवीन्द्र खनालले बताउनुभयो । यसअघि ७२ जनालाई प्राधिकरणले पहिले नै पक्राउ गरिसकेको छ । महोत्तरीमा ४२ हजार मिटरधारी विद्युत् उपभोक्ता रहेको बताइएको छ । करिब १० हजार व्यक्तिले विद्युत् चोरी गरेर उपभोग गरिरहेको विद्युत् कार्यालयका प्रमुख सूर्यनारायण मण्डलले आरोप लगाए ।

सारंगी रेटेरै हुर्काए नौ सन्तान

गोरखा, मङ्सिर २९ । गोरखाको मसेल गाविस–९ घ्याम्पेशाल ७१ वर्षिय लालबहादुर गन्धर्व दिनहुँजसो सबेरै सारङ्गीको धूनसँगै गीत गाएर सुनाउने ती व्यक्ति हुन् । धर्मराज थापाले गाएको ‘हाम्रो तेनजिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनले गाएर सुनाउँछन् । नौ वर्षको हुँदा सारङ्गी बजाउने सीप जानेका लालबहादुरले वृद्ध भइसके पनि यो कामलाई निरन्तरता दिइरहेका छन् । सारङ्गी रेटेरै नौ सन्तान, आफू र श्रीमतीको लालनपालन गर्नु कम्ती चुनौतीपूर्ण थिएन । लालबहादुरले हिम्मत हारेनन् । सन्तान हुर्काएर शिक्षादीक्षा दिए । अहिले छोराहरु विभिन्न पेसामा संलग्न छन्, तैपनि लालबहादुर सारङ्गी बोक्छन् र गीत गाउँछन् । उनले गीतमार्फत् समाचार, सूचना जनमानसमा पु¥याउन सहयोगी भूमिका निर्वाह पनि गरेका छन् । उनले रचना गरेको ‘किन दियो अल्छीको जन्म’ बोलको गीत रहेपनि रेकर्ड भएको छैन । नेपाली सेना, रेडियो नेपाललगायत विभिन्न ठाउँमा जागिरे अनुभव बटुलेका उनले भने, ‘सारङ्गी भिर्दै गीत गाउँदैमा जिन्दगीले नेटो काट्ने भो ।’ हातगोडा चलुञ्जेल सारङ्गी रेटेरै गीत गाउने धोको उनको छ । उनका जेठो छोरा एकबहादुर सारङ्गी बनाएर बिक्री गर्छन् । माइलो बलबहादुर कृषि पेसामा आबद्ध छन् भने साइला नेत्र बहादुरको निधन भइसक्यो । काइँला छोरा धु्रव गैससका जागिरे हुन् । अन्तरे छोरो सुब्बा व्यापार व्यवसाय गर्छन् भने जन्तरे छोरा बाबुराम सरकारी जागिरे हुन् । पानीमन्तरे छोरो कमल बस चालक छन् । ठूलो कान्छा छोरा ठाकुर सरकारी विद्यालयमा पढाउँछन् । कान्छो छोरा उदय नेपाली सेनामा जागिरे भएको लालबहादुरकी श्रीमती गाजली गन्धर्वले जानकारी दिइन् । वि‍सं २०२२ मा रेडियो नेपालमा जागिरे हुँदा गन्धर्वले मासिक तीन सय रुपैयाँ पारिश्रमिक पाउँथे । तारन दल गुल्ममा जागिरे भएपनि उनले लामो समय जागिरलाई निरन्तरता दिएनन् । ‘दसैं, तिहारमा गाउँ डुल्दा एकै दिनमा पाँच÷छ हजार रुपैयाँ पनि कमाएँ’ – लालबहादुरले भने । सारङ्गी रेटेर कमाएको पैसाले छोराहरु पढाउने, बिहान बेलुकी हातमुख जोर्ने कामका अलावा गन्धर्वले घ्याम्पेशालमा घरघडेरी पनि जोडेका छन् । ‘आजभोलि कमाइ हुनै छाडेको छ,’ उनले भने– ‘बुढ्यौलीले छोएछ क्यारे भनेजस्तो स्वर आउँदैन, लामा गीत गाउन सक्दिनँ ।’ अहिले दिनहुँ रु चार/पाँच सय कमाइ हुने उनले बताए । उनका ११ नाति र ९ नातिनी छन् । उनले १७ वर्षको उमेरमा गाजलीसँग बिहे गरेका थिए । सारङ्गी रेटेर कमाएको पैसाले घर, व्यबहार चलाउन धौ–धौ परेपनि छोराछोरी हुर्काएर पढाउन सकेकामा गन्धर्व परिवार खुसी छन् । ‘भूकम्पले भत्काएको घर बनाउनुपर्ने छ,’ उनले भने – ‘संघर्ष गर्दैमा जीवन बित्ने रहेछ ।’

प्रधानमन्त्रीको निर्देशनपछि मध्यपहाडी लोकमार्ग कालोपत्रको काम तीव्रगतिमा

खोटाङ,  मङ्सिर २८। मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक कालोपत्रको काम तीव्रगतिमा अगाडि बढाइएको छ । कच्ची अवस्थामा रहेका दुवै सडक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को निर्देशनमा कालोपत्र गर्ने काम तीव्रगतिमा अगाडि बढाइएको हो । दुई वर्षअघि देखि कालोपत्रको काम थालिएको सडक अनुगमनका लागि कात्तिक २३ गते खोटाङ आएका प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायलाई छिटो तथा गुणस्तरीय काम गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीको ठाडो निर्देशनपछि अहिले दुवै सडकको कालोपत्र गर्ने काम तीव्रगतिमा अगाडि बढेको छ । अहिले दुवै सडक फराकिलो पार्ने, ग्याभियन वाल भर्ने, ग्राभेलिङ तथा रोलिङ गर्ने लगायतका काम तीव्रगतिमा भइरहेको ठेकेदारहरुले बताएका छन् । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता गरिएका दुवै सडक कालोपत्रको काम ठेकेदार कम्पनीको लापरबाहीले गति लिन नसकेको सबैतिरबाट जनगुनासो आएपछि प्रधानमन्त्री प्रचण्ड आफैँ निरीक्षण तथा अनुगमनका लागि खोटाङ आएका हुन् । जिल्लाको प्रमुख मार्गका रुपमा रहेको दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको छ । हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सूर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्र गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको हो । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा तीन वर्षभित्र कालोपत्रको काम सम्पन्न गर्नेगरी काम थालिएको सडक यसअघि सुस्तगतिमा रहेको थियो । पछिल्लो समय दुवै सडकको कालोपत्र गर्ने कामले गति पाएपछि अहिले जिल्लामा यातायात सञ्चालन गर्नसमेत सहज भएको यातायात व्यवसायी सङघ, खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिए  । दिक्तेलदेखि चखेवासम्मको करिब ४६ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा गोल्डेन गुड प्रालिले लिएको छ । छिमेकी जिल्ला भोजपुरसँग सिधा यातायात जोड्ने सडक करिब रु एक अर्बको लगानीमा कालोपत्र सम्पन्न हुने आयोजनाका इन्जिनियर युवराज पाण्डेले जानकारी दिए । करिब दश वर्षअघि देखि यातायात सञ्चालन भएको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक कालोपत्र नहुँदा हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । पछिल्लो समय दुवै सडकमा कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेपछि जिल्लावासी हर्षित भएका छन् । धुलाम्मे तथा हिलाम्मे सडक कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेपछि आसपासका कामदारले गाउँमै रोजगारीसमेत पाएका छन् । ठेकेदार कम्पनीले मेसिनरी उपकरणसँगै गाउँका स्थानीयवासीलाई काम गर्ने वातावरण मिलाएका छन् । दुवै सडक तोकिएकै मितिमा सम्पन्न नभए पनि चाँडै सम्पन्न हुनेमा जिल्लावासी विश्वस्त बनेका छन् । सडक कालोपत्र भएपछि राजधानी काठमाडौँलगायत छिमेकी जिल्ला आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । रासस

ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

कावासोती,  मङ्सिर २८। ट्याक्टरको ठक्करबाट नवलपरासीको कावासोती–३ मा एकजनाको मृत्यु भएको छ । आज बिहान ३ बजे लु ३ त १५७० नंको ट्र्याक्टरले त्रिनेत्र पेट्रोल पम्पबाट भित्री सडकमा जाने क्रममा ठक्कर दिँदा कावासोती–१६ का १४ वर्षीय सुवास विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

बलात्कार र बेचबिखन आरोपमा दुई पक्राउ

इलाम,  मङ्सिर २८ । दुई महिलालाई जबर्जस्ती करणीपछि बेचबिखन गर्न खोजेको आरोपमा इलामका तीनमध्ये दुईजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँखेजुङ–९ का ३५ वर्षीय निमतेन्जी शेर्पा र साँखेजुङ–४ की ३६ वर्षीया कमला राईलाई प्रहरीले पक्राउ गरेको छ । २० वर्षीया र २४ वर्षीया दुई महिलालाई जबर्जस्तीकरणी गरी मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा शेर्पा र राईलाई पक्राउ गरेको हो । जबर्जस्तीकरणी गरेको भन्दै मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । घटनामा संलग्न भनिएका अर्का व्यक्ति साँखेजुङका २५ वर्षीय चेवन दाहाल भने फरार रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुँडालले जानकारी दिए। रासस