भक्तपुर अस्पतालमा आईसीयू सेवाको पहलमा जोड

भक्तपुर, माघ १७ । भक्तपुर अस्पतालले सघन उपचार कक्ष (आईसीयू) सेवा सञ्चालनमा ल्याउन पहल गर्ने भएको छ ।

अस्पतालका नवनियुक्त अध्यक्ष प्रेम खड्काले आज पदभार ग्रहण गर्दै अस्पतालमा आउने बिरामीलाई अन्यत्र पठाउन नपर्ने गरी गुणस्तरीय एवम् विश्वसनीय सेवा विस्तार गर्ने र आईसीयू सञ्चालनमा ल्याउने कार्यमा आफू लाग्ने बताउनुभयो ।

अस्पतालमा आइसियु सेवा सञ्चालनमा नआउँदा धेरै बिरामी बाहिर पठाउनुपर्ने अवस्था सिर्जना भएको आफूले पाएको बताउँदै उहाँले यस्ता समस्या समाधान गर्न आफू निरन्तर लागिरहने बताउनुभयो ।

उहाँलाई अस्पतालका सुपरिटेन्डेन्ट डा हरिबहादुर केसीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

डा.केसीले उहाँलाई अस्पतालले दिँदै आएको सेवा, सुविधा, अस्पतालको अवस्था, गर्नुपर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो ।

खानेपानीको अभावले बाहुनडाँडाका विद्यार्थी विद्यालय जानै छाडे

रामपुर (पाल्पा),  माघ १७ । खानेपानीको अभाव हुन थालेपछि संयुक्त प्राथमिक विद्यालय रामपुर नगरपालिका–१० बाहुनडाँडाका विद्यार्थीले विद्यालय छाड्न बाध्य भएका छन् । नगरपालिकाको केन्द्रदेखि दुई घन्टाको पैदलमा यस विद्यालय रहेको छ । दुर्गम र पहाडी भेगमा रहेको यस विद्यालयमा खानेपानीको चरम समस्याले गर्दा विद्यार्थी सङ्ख्या दिन प्रतिदिन घट्दो छ । विसं २०४६ मा स्थापना भएको यस विद्यालयमा कक्षा एकदेखि चारसम्म पठनपाठन हुने गर्दछ । हाल कक्षा एकमा ११ जना, कक्षा दुईमा पाँच जना, कक्षा तीनमा पाँच जना, कक्षा चारमा पाँच जना गरी जम्मा २६ जना विद्यार्थी रहेका छन् । दुई जना दरबन्दी र एक जना निजी स्रोतमा कार्यरत शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर आलेले बताउनुभयो । गाउँमा कुनै पनि पानीको स्रोत नभएपछि खानेपानीको समस्याले गर्दा विद्यालयमा विद्यार्थी सङ्ख्यामा न्यून आएको प्रअ आलेले भन्नुभयो । गाउँभरि नै पानीको समस्या बिहानभरि विद्यार्थी पानीको जोहो गर्दा विद्यालयमा पनि नियमित उपस्थित नभएपछि विद्यालय जानु र नजानुको कुनै महत्व नभएको पूर्व शिक्षक मिनु सिंजालीले बताउनुभयो । “१० बजे विद्यालय पुग्यो, विद्यार्थी पढ्न आउँलान् भनेको गाग्री बोकेर पानी खोज्न जान्छन्”– “पानीको जोहो नगर भनौँ त गाउँभरि नै हाहाकार छ, अर्कोतिर विद्यार्थीको भविष्य अन्धकारमय बन्यो, न्यून विद्यार्थी सङ्ख्या भएको कक्षाकोठामा बसेर पढाउनुको सट्टा समय बिताउन पनि गाह्रो भएपछि जागिर नै छाडिदिएको हुँ” उहाँले भन्नुभयो । विद्यालय स्थापना भएको २७ वर्ष बिते पनि शैक्षिक गुणस्तर वृद्धि र भौतिक सेवा सुविधामा विद्यालयले कुनै फड्को मार्न नसकेको स्थानीय सूर्यप्रसाद रेग्मीले बताउनुभयो । पानीको अभावले बस्ती नै पातलिँदै गएपछि यहाँको शैक्षिक गुणस्तर विकास हुन नसकेको स्थानीय बताउँछन् । पानीको चरम अभाव अर्कोतिर विद्यालयको स्तरोन्नति हुन नसक्नु, बिजुली, सडकको समस्याले पनि विद्यार्थी सङ्ख्या पातलिँदै गएको हो । रासस

दलहरुबीच सहमतिको विकल्प छैनः महामन्त्री कोइराला

नवलपरासी,  माघ १७ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा आइतबार नवलपरासीमा नेपाली काँग्रेस गैँडाकोट नगर समितिद्वारा आयोजित कार्यक्रममा महामन्त्री डा कोइरालाले यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले मुलुक अझै पनि संविधान कार्यान्वयनको दिशामा अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै वर्तमान सङ्कटको निकास खोज्न सबै दलबीच सहमति हुनुपर्ने विचार राख्नुभयो । उहाँले संविधान जारी गर्दा एक ठाउँमा उभिएका तीन शीर्ष दल संविधान संशोधनमा पनि एकै ठाउँमा उभिनु आजको आवश्यकता भएकाले एमालेलाई साथमा लिएर संविधान संशोधन गर्नुपर्छ भन्नुभयो । नवलपरासी निर्वाचन क्षेत्र नं १ का सांसद समेत रहनुभएका डा कोइरालाले सहिदले देखाएको बाटोमा अघि बढ्न सके मात्रै मुलुकले सही निकास पाउने बताउनुभयो ।

छब्बीस बुँदे घोषणापत्र जारी गर्दै प्रहरी र सरकारी वकिलको सम्मेलन सम्पन्न

काठमाडौँ,  माघ १७ । नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन २६ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । यही माघ १४ गतेदेखि सुरु भएको सम्मेलनको समापनका अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले विज्ञान र प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा पनि जटिलता थपिएको हुँदा रोकथामका लागि प्रयास हुनुपर्ने बताउनुभयो । उहाँले अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलको क्षमता विकास र नयाँ प्रविधिको विकास गर्नका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । गृहमन्त्री निधिले विधिको शासन कायम गर्नका लागि संविधान कार्यान्वयनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै हिमाल, पहाड तराईका सबै मानिसले संविधानप्रति अपनत्व महसुस गर्न आग्रह गर्नुभयो । उहाँले तीनै निकायको निर्वाचन गर्न आवश्यक भएकाले निर्वाचनका लागि सबै तयार हुनुपर्ने जरुरी भएकोसमेत बताउनुभयो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले अनुसन्धानमा अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलबीच समन्वयन हुनुपर्नेमा जोड दिनुभयो । नयाँ प्रविधिको विकाससँगै अपराध पनि नयाँ देखिँदै गएको हुँदा सत्यलाई न्यूनीकरण गर्नका लागि अपराधसंहिता निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले सुशासनका लागि विधिको शासन, नियम कानुनको पालना इमान्दारीपूर्वक गर्नुपर्ने बताउनुभयो । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सरकारवादी मुद्दा हार्दा सरकारी वकिल र अनुसन्धान गर्ने प्रहरी दुवैको हार हुने मात्र नभई राज्यको समेत हार हुने भएकाले गम्भीरतापर्वूक ध्यान दिनुपर्ने आवश्यकता आँैल्याउनुभयो । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी र वकिल ज्यादा नजिकभन्दा पनि व्यावसायिकतालाई ध्यान दिएर भयरहित, शान्ति र न्यायका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल बार एसोसिएसनका अध्यक्ष खम्मबहादुर खातीले अनुसन्धान गर्ने प्रहरी, अभियोजन गर्ने सरकारी वकिलसँग बार सहकार्य गरेर जान तयार रहेको उल्लेख गर्नुभयो । सम्मेलनले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको बृहत् हकहित गर्ने उद्देश्यसहित २६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा अपराधीकरणलाई कानुन दायरामा ल्याउनुपर्ने, अपराधलाई राजनीतिकरण हुनबाट निरुसाहित गर्नुपर्ने, यातनालाई निरुसाहित गर्नुपर्ने, अपराधविरुद्ध सहज रुपमा काम गर्ने वातावरणको सिर्जना गर्नुपर्ने, बढ्दो विद्युतीय अपराधलाई न्यूनीकरण गर्नुपर्नेलगायत रहेका छन् ।

कुलेश्वरमा आगलागी, डेढ घण्टामा नियन्त्रण

काठमाडौँ,  माघ  १७। कुलेश्वरको नयाँबस्तीस्थित नवील बैंक अगाडि गौतम स्टोरमा आइतबार साँझ आगलागी भएको छ । कालिमाटी प्रहरीका अनुसार बेलुका ८ः३० मा सुरु भएको आगलागी प्रहरी, दमकल तथा स्थानीयवासीको सहयोगमा करिब डेढ घन्टापछि आगलागी नियन्त्रणमा लिइएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी सहायक निरीक्षक सुदीप पोखरेलका अनुसार विद्युत सर्ट भई आगलागी भएको र के कति नोक्सान भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ । छवटा दमकल र १० वटा ट्याङ्करबाट पानी ल्याएर आगो निभाउने कार्यमा प्रहरी र सेना लागिपरेका थिए । आगलागी भएको सटर वरपर करिब १०–१२ वटा सटरमा समेत आगलागीको असर परेको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

फागुन ७ गते, प्रजातन्त्र होइन ‘निर्वाचन दिवस’!

काठमाडौँ, १६ माघ । निर्वाचन आयोगले अव प्रत्येक वर्ष फागुन ७ गतेलाई ‘निर्वाचन दिवस’को रुपमा मनाउने भएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको हो । २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात ७४ सिट प्राप्त गरेका थिए । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए । उक्त दिवसमा अवसरमा आयोजना हुने मूल समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले मुख्य अतिथिका रुपमा भाग लिनुहुने छ । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि आयोगले पहिलो पटक भव्यताका साथ दिवस मनाउने तयारी गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । मुलुकमा २०५४ सालपछि स्थानीय निकायको चुनाव हुन सकेको छैन । जसका कारण ३५ वर्ष उमेर समूहका ८० लाख नागरिकले स्थानीय तहको निर्वाचनको मतदानमा भाग लिन पाउने नागरिक अधिकारबाट वञ्चित हुँदै आएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार आगामी २०७४ साल माघ ७ गतेभित्र सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने पूर्वसन्ध्यामा आयोगले निर्वाचन दिवसको समेत किटानी गरेको छ । दिवसका अवसरमा आयोगले प्रभातफेरी, अन्तरसंवाद, आयोगका पूर्व पदाधिकारीको सम्मानका साथै नेपालमा निर्वाचनको इतिहास सम्बन्धी पुस्तकको विमोचन गर्ने जस्ता कार्यक्रम तय गरेको सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए । निर्वाचन दिवसलाई कसरी भव्य र सभ्य तुल्याउने भन्नेबारेमा आयोग विभिन्न तयारीमा जुटिरहेको बताइएको छ ।

चुनाव मिति घोषणा गर्न नसकेकोमा नारायणकाजीले मागे माफी

काठमाडौं, माघ १६ । माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भनेको समयमा चुनावको मिति घोषणा गर्न नसकेको भन्दै माफी मागेका छन् । आइतबार अपरान्ह समाजिक सञ्जालबाट आफूले दलहरूको सहमतिमै माघ १५ भित्र स्थानीय तहको चुनाव हुन्छ भनेर घोषणा गरेपनि नसकेकोमा माफी मागेको बताएका छन् । उनले लेखेका छन्-‘मैले केही दिन अघि नेपालगञ्जको पत्रकार सम्मेलनमा माघ १५ भित्र स्थानीय निर्वाचनको मिती घोषणा हुन्छ भनेको थिएँ, त्यस पछि काठमाडौंमा बसेको ३ पार्टीको बैठकले पनि सोही निष्कर्ष निकालेको थियो र प्रधानमन्त्रीले समेत सार्वजनिक रुपमा सोही कुरा भन्नुभएको थियो। त्यसका बाबजूद उक्त मितिमा निर्वाचन घोषणा हुन सकेन, त्यस निम्ती म जनसमुदायसँग क्षमा याचना गर्दछु।’ श्रेष्ठले चुनावको मिति घोषण हुन्छ भन्नुको कारण राष्ट्रिय आवश्यकता र दलहरूबीचमा रहेको समझदारी भएपनि मिति नतोकिनु दुखद रहेको उल्लेख गरेका छन् । ‘निर्वाचनको घोषणा गर्नै पर्ने राष्ट्रिय आवश्यकता र सल्लाह एवं समझदारी को आधारमा गरेको थिएँ,’ उनले लेखेका छन् । नेता श्रेष्ठले यथाशिघ्र चुनावको मिति घोषणा गर्नुपर्नेमा जोड दिएका छन् । चुनाव नगरी देशका लागि सकारात्मक विकल्प नरहेको उनले बताएका छन् । उनले लेखेका छन् –‘म फेरी पनि पूर्ण गम्भिरताका साथ भन्छु, यथाशीघ्र निर्वाचन घोषणा गरिनु पर्छ, देशको सामु अर्को कुनै सकारात्मक विकल्प छैन ।’

दलहरुबीचको सहजकर्ता हो नयाँ शक्ति : नेता देवकोटा

बेनी, माघ १६। नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले आफ्नो पार्टीले संविधान कार्यान्वयनमा सहजकर्ताको भूमिका खेल्ने बताएका छन् । म्याग्दीको बेनी पत्रकारसँग कुरा गर्दै उनले सरकारले संविधान संशोधन, चुनाव घोषणा र दलहरुबीच आपसी विश्वास जित्न पनि नसकिरहेको अहिलेको अवस्थामा नयाँ शक्ति पार्टीले सबै राजनीतिक दलबीच सहमतिका लागि सहजकर्ताको भूमिका खेल्ने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नगरेसम्म मुलुकले सहज निकास पाउन नसक्ने बताउँदै उनले भने, – “राजनीतिक व्यवस्थाका विरुद्ध सबैसँग लड्ने समय सकिएको छ, अब अवस्थाका विरुद्ध लड्नुपर्ने समय आएको छ ।” प्रवक्ता देवकोटाले विगत लामो समयपछि प्राप्त संविधानको कार्यान्वयन हुनुपर्नेमा जोड दिदैं नयाँ शक्तिको चाहना संविधान कार्यान्वयन होस् भन्ने रहेको स्पष्ट पारे ।  

विचल्लीमा परे बालबालिका

जाजरकोट, माघ १६। जाजरकोट ढिमे–२ मालुबेलामा डोल्पाका चार बालबालिका विचल्लीमा परेका छन् । डोल्पा फुलचिङ खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो बिहे गरेर गएपछि उनीहरु विचल्लीमा परेका हुन् । अज्ञात व्यक्तिले छ वर्षअघि बाबुको हत्या गरेको र एक वर्षअघि आमा रतनकलीले डाँडागाउँ ७ चाउले चौरमा बिहे गरेर गएपछि चार वर्षीय अनिल, छ वर्षीय रेखा, आठ वर्षीय चन्द्रा र १० वर्षीय पार्वती बिचल्लीमा परेका हुन् । द्वन्द्वकालमा (माओवादी) पार्टीका कार्यकर्ता हुँदा अन्तरजातीय विवाह गरेका उनीहरू–९ वर्षदेखि ढिमेको मालुबेलामा बस्दै आएका थिए । बाबुको हत्या भएको पाँच वर्षसम्म आमा रतनकलीले मजदुरी गरेरै छोराछोरीको लानपालन गरेको स्थानीय जगत मल्लले बताउनुभयो । जग्गा–जमिन, घरबास केही नहुँदा ३० वर्षीय रतनकलीले छोराछारीको लालनपालन गर्न नसक्ने अवस्था आएपछि दोस्रो विहे गर्न बाध्य भएको मल्लले बताउनुभयो । ‘ती बालबालिकाको आफन्त छन् वा छैनन्, कसैले वास्ता गरेका छैनन’ उनले भने– ‘चारै भाइबहिनीलाई डोल्पा घर छ, छैन भन्ने पनि थाहा छैन।’ उनीहरुका लागि प्रमुख समस्या भनेको नै गाँस, बास र कपासको हो, उहाँले भन्नुभयो– गाउँमा अर्काको गोठाला गरेर उनीहरू पेट पाल्न बाध्य भएका छन् । गरिबीका कारण नाबालक नातिनातिनाको लालनपालन गर्न नसकेको ७० वर्षीय हजुरआमा देवी कामीले बताइन् । ‘मागेर कसरी लालनपालन गर्ने रु’ उहाँले भन्नुभयो– ‘कमाइ गर्ने कोही नहुँदा समस्या भएको छ । गोठाला गरेर गाँसबास र लत्ताकपडा जुटाउनुपरेको छ । पठनपाठनको व्यवस्था मिलाउन सकिएको छैन ।’ घरको आर्थिक अवस्था कमजोर रहेकाले समस्या भएको उनको भनाइ छ ।

सहिद स्मारक पुगेर प्रधानमन्त्रीले दिए शहीदहरूलाई श्रद्धाञ्जली

काठमाडौँ, माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लैनचौरमा रहेको सहिद स्मारकमा पुगी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद सप्ताहको अन्तिम दिन आइतबार प्रधानमन्त्रीले शहीदको शालिकमा फूलमाला अर्पण गरेका हुन् । सो श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्ती मगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा. सोमलाल सुवेदी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारीले पनि पुष्पगुच्छा अर्पण गर्दै शहीदको सम्झना गरे। सोही अवसरमा नेपाली सेनाले शहीदको सम्झनामा एक मिनेट सम्मान गारक अर्पण गरेको थियो । काठमाडौँ महानगरपालिकाको आयोजनामा सहिद सप्ताहको अन्तिमा दिन आज रत्नपार्क शान्तिवाटिकाबाट प्रभातफेरीको आयोजना गरी सहिद स्मारक लैनचौर पुगी मूल समारोहमा परिणत भएको थियो । विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाले ज्ञात–अज्ञात सहिदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाउँदै आएको छ ।

भारतले दशगजामैं बनायो पक्की सडक र नाला

गौशाला, माघ १६ । भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालय, महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको हो । सीमाक्षेत्रको दसगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दसगजा मिचेर पक्की संरचना निर्माण गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताए । भारतीय पक्षले दसगजा मिचेर भौतिक संरचना निर्माण गर्न लागेको सम्बन्धी गत पुस २३ गते नै जानकारी पाएपछि सशस्त्र बेस क्याम्प मटिहानीले सो संरचनाको विरोध गरी काममा अवरोध खडा गर्दै रोक लगाएको थियो । तर पुनः भारतले सबै मान्यता र सम्झौतालाई लत्याउँदै तीन साता नबित्दै दसगजामा सडक र नाला निर्माण गरेको सशस्त्र प्रहरी उपरीक्षक, प्रकाश श्रेष्ठले बताए । भारतले यसरी दसगजामा बनाएको पक्की सडक र नालाको महोत्तरीका प्रजिअ यादवसहितको सुरक्षा निकायले स्थलगत निरीक्षण गरेको छ भने यसबारे भारततर्फका मधुवनी जिल्लाका डिएम र सशस्त्रका कमाण्डरसँग समन्वय गरी निर्माण गरिएको संरचना भत्काएर मिचिएको दसगजा क्षेत्रलाई खाली गराउन प्रयास भइरहेको जनाइएको छ ।

पाँच वर्षभित्र एक घर एक धारा: राज्यमन्त्री खड्का

दाङ, १५ माघ । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई हठ त्यागी सहमतिको राजनीतिमा आउन आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन, दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खड्काले लोकतन्त्रमा सबै पक्षको आवाज सुन्नुपर्ने र उचित माग पूरा हुने भएकाले पनि एमालेले मधेस र आदिवासीलगायतका कुरालाई सुन्नुपर्ने बताउनुभयो । एमाले जति कडा बन्दै जान्छ, मुलुक झनै अन्योलताको भूमरीमा पर्ने उहाँले बताउनुभयो । काँग्रेसका नेतासमेत रहनुभएका मन्त्री खड्काले समयमै लचकता अपनाउन एमालेलाई आग्रह गर्नुभयो । उहाँले मधेसी र आदिवासी जनजातिलगायतका कैयौँ समुदायहरु उत्पीडितमा रहेको र संविधान संशोधनमार्फत उनीहरुको माग सम्बोधन हुने भएकाले संशोधनमा लचकता अपनाउन एमालेलाई आग्रह गर्नुभयो । अर्को एक प्रसङ्गमा उहाँले सरकार निर्वाचनको घोषणाको तयारीमा जुटिसकेको बताउनुभयो । अब दलहरुसँग छलफल गरी तीनवटै निकायको निर्वाचन एक वर्षभित्र सम्पन्न हुने गरी मिति घोषणा हुने बताउनुभयो । मन्त्री खड्काले पिउने पानीलाई आधारभूत आवश्यकताका रुपमा सरकारले लिएको बताउँदै, अबको पाँच वर्षभित्र एक घर एक पानी धारा हुने जानकारी दिनुभयो । हाल एक वर्षभित्रै सम्पन्न हुने गरी देशभरमा पाँचहजार एकसय खानेपानीका योजना सञ्चालन भइरहेको जानकारीसमेत दिनुभयो । राज्यमन्त्री खड्काले नेपालमा आधारभूत खानेपानी ८५ प्रतिशत र आधारभूत सरसफाइ ८६ प्रतिशत जनतामा पुगिसकेको बताउँदै आगामी एक वर्षभित्रै सबैको पहुँचमा सेवा पु¥याउन सरकार लागिपरेको बताउनुभयो । तराईका जनताले अझै पनि स्वच्छ पिउने पानी उपभोग गर्न नपाएको बताउँदै तराईमा डिपबोरिङको माध्यमबाट त्यहाँका जनतालाई स्वच्छ पिउने पानी र पहाडी क्षेत्रमा लिफ्ट सिस्टमबाट जनतालाई स्वच्छ पानी पु¥याउने योजना सरकारले अगाडि सारेको राज्यमन्त्री खड्काले बताउनुभयो । प्रेस युनियनका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

श्रेष्ठले छोडे नयाँ शक्ति, विप्लव माओवादीका पूर्वी कमाण्ड इन्चार्ज पनि फर्के माओवादी केन्द्र

दोलखा, माघ १५ । नयाँ शक्ति नेपालका नेता तथा पूर्व सभासदले नयाँ शक्ति परित्याग गरेको घोषणा गरेका छन् । शनिवार एक कार्यक्रमबीच हेमवहादुर श्रेष्ठले नयाँ शक्ति नेपाल परित्याग गरी माओवादी केन्द्रमा फर्किएको घोषणा गरेका हुन् । उनी एक वर्ष अघि डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल प्रवेश गरेका थिए । उनी तत्कालिन नेकपा माओवादी दोलखाका सँस्थापक हुन् । नयाँ शक्ति पार्टी परित्याग गर्दै उनले भने– ‘बाबुरामले भनेको जस्तो समृद्धि माओवादीले पनि चाहेको छ, हामीले पनि चाहेका छौं,’ हाम्रो वर्गको उत्थान र समृद्धिका लागि मेरै वर्ग र मेरै सह योद्धाको साथमा उभिनुपर्छ भन्ने निर्णय गरेर फर्किए ।’ उनले जनयुद्धका बेला १० वर्ष सम्म जेल सजाएँ भोगेका थिए । यसैगरी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका युवा संगठनका पूर्वी कमाण्ड इन्चार्ज राम ढुँगेल पनि माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका छन् । उनी दुवैलाई माओवादी केन्द्र दोलखाका नेताहरु गंगा कार्की (विश्व) शंकर लामा लगायतका नेताले माओवादी केन्द्र प्रवेश गराए । पार्टी प्रवेश कार्यक्रममा जिल्लाका मञ्चमा बसेका अन्य नेताहरु खुशी देखिन्थे । उनीहरुले दुवै नेतालाई अविर र खादाले स्वागत पनि गरे । स्थानीय पत्रकार लक्ष्मण खड्काको सहयोगमा

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

बझाङ माघ १५। जयपृथ्वी नगरपालिका– ६ कपडेमा एक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । चैनपुरबाट रुपातोला जान लागेको से १ ज ५६२ नम्बरको जिप सडकबाट झन्डै १५० मिटर तल सेती नदीको किनारमा खसेको थियो । मृत्यु हुनेमा रिलु गाविस– ८ का ४६ वर्षीय लालसिंह बोहरा रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा मेलबिसौना गाविस– ५ का ३३ वर्षीय ललित सिंह, रिलु गाविस– ४ का ११ वर्षीय देव बोहरा र १४ वर्षीया सुशीला बोहरा तथा रिलु गाविस १ का १५ वर्षीया शिल्पा बोहरा घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । जिप चालक देवराज बोहरा प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बागमतीबाट निकालियो उन्नाइस मेट्रिक टन फोहोर

काठमाडौँ, माघ १५ । उपत्यकाका प्रमुख नदी सफाइ गरी १९ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९४ औँ हप्तामा आज गैरीगाउँदेखि शान्तिनगर पुलसम्मको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिनुभयो । सफाइमा अधिकार सम्पन्न बागमती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको संस्थागत सहभागिता थियो । सफाइको नेतृत्व पूर्व सचिव किशोर थापाले गर्नुभएको थियो । सफाइमा प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, अधिकार सम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्यलगायत अभियानकर्मीको उपस्थिति थियो । आजको सफाइमा भारतको हरिद्वारको विद्या आश्रमका चार कन्याको पनि सहभागिता थियो । ती कन्या बागमती सफाईमै सहभागी हुन नेपाल आउनुभएको आयोजना प्रमुख सिंहले बताउनुभयो । सफाईमा टेलिकमको वार्षिकोत्सवका अवसर पारेर कर्मचारीको पनि उल्लेख्य उपस्थिति थियो । सो अवसरमा टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले सफाई महाअभियानलाई ३०० जोर बूट, ३०० जोर स्थायी पञ्जा, १०० ट्रयाक सुट, ५० डोको र ५० फलामको सुइरो हस्तान्तरण गर्नुभयो । सफाईसँगै यस क्षेत्रका घरदैलोमा पुगी जनचेतनामूलक अभियान सञ्चालन गर्ने क्रममा सुकुम्वासी बस्तीमा भगवती कार्कीका दुई अपाङ्ग छोराहरुलाई बाँधेर राखिएको अवस्थामा फेला पारेपछि उपचार एवम् शिक्षा दीक्षाका लागि रु एक लाख ३८ हजार ९६० सहयोग सङ्कलन भएको मुक्तिनाथ विकास बैंकका सञ्चालक नारायण श्रेष्ठले जानकारी दिनुभयो । “टेलिकमले सामाजिक उत्तरदायित्व अन्तर्गत रु एक लाख, बैंकले रु १० हजार र सफाईमा उपस्थितबाट रु २८ हजार ९६० सङ्कलन गरिएको, थप उपचार एवम् शिक्षा दीक्षाका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ”– उहाँले भन्नुभयो । रुद्रमती सफाईको १५३ औँ हप्तामा आज नीलोपुलदेखि गोपीकृष्ण पुलसम्मको क्षेत्रमा सफाई गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । सफाईमा काठमाडौँ महानगरपालिकाका वडा नं ४ र ७ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारीहरु लगायतको सहभागिता थियो । सफाईको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गर्नुभएको थियो । अर्को शनिबार १५४ औँ हप्ताको रुद्रमती सफाई गोपीकृष्ण पुलदेखि भत्केको पुल क्षेत्रसम्म गरिने उपाध्यक्ष गिरीले बताउनुभयो । विष्णुमती सफाईको १२६ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाई गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । महादेव खोलाको सफाईमा स्थानीयवासीको कम सहभागिता जुटेको अभियानकर्मी बिजेन्द्र लामाले बताउनुभयो । धेरैजसोले सेफ्टी ट्याङ्की नबनाई सिधै खोलामा ढल हालेको पाइएको उहाँले जानकारी दिनुभयो । नख्खुखोला सफाईको ७० औँ हप्तामा आज कार्यविनायक नगरपालिका वडा नं २ फूलबारीमार्ग र फूलबारी बगैँचा सफाई गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको नख्खुखोला सरसफाई अभियानका संयोजक बलुदेव पाण्डेले बताउनुभयो । सङ्कलन गरिएको फोहर नेप्से म्याक प्रालिले व्यवस्थापन गर्नेछ । यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाज लगायत संस्थाले सफाई गरेका छन् । रासस

खुम्जुङको तापक्रम माइनस ११ डिग्री

सोलुखुम्बु, माघ १५ । सोलुखुम्बुमा शुक्रबार राति अहिलेसम्मकै सबैभन्दा बढी हिमपात भएको छ । शुक्रबार बिहान१० बजेदेखि पर्न सुुरु भएको हिमपात राति निकै अबेरसम्म जारी रहेको थियो । जिल्लाको खुम्जुङलगायतको माथिल्लो बस्तीमा चार फिटभन्दा बढी हिउँ जमेको छ भने दूधकुण्ड नगरपालिकालगायतको क्षेत्रका डाँडापाखा पनि हिउँले सेताम्मे भएका छन् । यस वर्ष यसअघि पुस महिनाको दोस्रो हप्ता हिउँ परेको भए पनि त्यसबेलाको भन्दा यस पटक बढी हिउँ जमेको छ । हिमपातसँगै जिल्लामा चिसो पनि अत्यधिक बढेको छ । शनिबार बिहान ५ः३० बजे सदरमुकाम सल्लेरीको तापक्रम माइनस ७.२ डिग्री सेल्सियसमा झरेको सल्लेरीस्थित मौसम अवलोकन केन्द्रले जनाएको छ । यस्तै खुम्जुङ भ्यालीको तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको खुन्दे अस्पताल परिसरमा रहेको तापमापन केन्द्रले जनाएको छ । हिमपातसँगै जिल्लाको हिमाली बस्तीको जनजीवन कष्टकर बनेको छ । रातभर हिउँ परेको भए पनि बिहानैदेखि मौसम सफा भएर घाम लागेका कारण स्थानीय बासिन्दालाई राहत भएको छ । रासस