कमल थापाले पनि मागे चुनाव

काठमाडौँ, पुस १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले स्थानीय निकायको निर्वाचनका लागि दलहरुको सहमतिमा मिति तोक्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनले आज आयोजना गरेको महिला भेलामा उनले निर्धारित समय अवधिमा तीन तहको निर्वाचन गरी संविधान कार्यान्वयनतर्फ सरकार लाग्नुपर्ने बताए ।

अध्यक्ष थापाले महिलाको प्रतिनिधित्व बढाउन उनीहरुको सहभागितालाई संविधानले सुनिश्चित गरेको बताउँदै संवैधानिक व्यवस्था अनुसार आफ्नो पार्टीले महिला वर्गलाई अगाडि बढाउने विषयलाई प्राथमिकतामा राखेको बताए ।

स्थानीय निकायको अभावमा जनताका काम छिटो छरितो हुन नसकेकोले चुनाव हुनुपर्ने उनको भनाइ थियो ।

पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकमा विखण्डनको आवाज उठिरहेका बेला राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताउँदै देशमा विद्यमान समस्या समाधानका लागि राप्रपाले प्रभावकारी भूमिका खेल्ने बताए ।

निर्वाचनका लागि आवश्यक ऐन निर्माणका लागि सरकार लाग्नुपर्नेमा राणाले जोड दिए ।

पार्टी सङ्गठन प्रमुख कुन्ती शाहीले मुलुकको विकासका लागि महिला वर्गको उल्लेख्य भूमिका रहने बताउँदै अब मुलुकमा हुने स्थानीय निर्वाचनमा उनीहरुको प्रतिनिधित्व वृद्धि गर्नुपर्ने बताइन । रासस

गाई हत्याको बिरोधमा बन्द गराउँदै हिँडेका १५ जना पक्राऊ, दाङको जनजीवन प्रभावित

दाङ पुष १२ । कैलालीको गोदावरीमा अर्धमृत अवस्थामा गाई फालिएकोमा बन्दको आयोजना गर्ने बिभिन्न संघसंस्थाका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाइहरुको सामूहिक हत्या गरिएको भन्दै दाङका बिभिन्न हिन्दुवादी संगठनहरुले बन्दको आव्हान गरेका हुन । बन्दका कारण दाङमा यातायात, शैक्षिक संस्था, उद्योग, व्यापार व्यवसायच लेका छैनन् । पूर्व पश्चिम राजमार्गमा समेत गाडीहरु चलेका छैनन् भने लामो दूरीका गाडीहरु प्रहरीको सुरक्षा घेरामा पठाइएका छन् । प्रहरीले बन्द गराउँदै हिँडेकाहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको छ । सोमबार बेलुका बन्दको आव्हान गरिरहेका ६ जना र मंगलबार बिहान ९ जनालाई नियन्त्रणमा लिएको हो ।

२० दिन कैद सजाय पाएका तीन जना १८ वर्षपछि पक्राउ

लहान,  पुस १२ । कुटपिट मुद्दामा अदालतबाट कैद सजाय पाएर १८ वर्षदेखि फरार तीन जनालाई सिरहा प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । कुटपिट मुद्दामा सिरहा जिल्ला अदालतबाट २० दिन कैद सजाय पाएर फरार सिरहाको विष्णुपुर प्रम गाविस–५ निवासी रामआशिष यादव, सोही ठाउँका राम दयाल यादव र जगदीश यादवलाई पक्राउ गरिएको हो । सिरहा जिल्ला अदालतले गत २०५५ मङ्सिर १६ गते कुटपिट मुद्दामा कैद सजायको फैसलालगत्तै फरार भएका तीनै जनालाई खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। रासस

जनयुद्धका उपलब्धि जोगाउन एक हुनुको बिकल्प छैन–प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, पुष १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन सबै शक्ति एक हुनुको बिकल्प नभएको बताएका छन् । माओवादी केन्द्रका सांसद स्व. भक्तिप्रसाद पाण्डेको स्मृतिमा प्रकाशित पुस्तक ‘चाचा’ भक्तिप्रसाद पाण्डेको सङ्घर्ष यात्राको बिमोचन गर्दै प्रधानमन्त्रीले ऐतिहासिक उपलब्धि जोगाउन जनयुद्धकालीन शक्तिहरु एक हुनुको बिकल्प नभएको बताएका हुन् । पुस्तक बिमोचन गर्दै प्रधानमन्त्रीले भने– ‘जनयुद्धले गणतन्त्र त ल्यायो, नयाँ संविधान पनि आयो, संघीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता उपलब्धि पनि हासिल भए । तर, अहिले माओवादी शक्तिहरु केही कमजोर भएको देखेर यी उपलब्धिहरु उल्टाउन सकिन्छ कि भनेर कोशिस हुँदैछ । तसर्थ, जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन माओवादीका सबै धाराहरु एकतावद्ध हुनुको बिकल्प छैन ।’ कार्यक्रममा प्रधानमन्त्रीले सँग रहेका नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईप्रति इंगित गर्दै भने– ‘संविधान त बन्यो । तर, यसले मात्रै एउटा युगको प्रतिनिधित्व गर्दैनथ्यो । संविधान कार्यान्वयनको चुनौतिपूर्ण कार्यभार बाँकी नै थियो । हामी बहस गर्दै साझा निष्कर्षमा पुग्न सक्थ्यौं । तर, बाबुरामजी हतारिनुभयो । उनको बहिर्गमन अहिले पनि मलाई सामान्य लागेको छैन ।’ बिमोचन कार्यक्रममा प्रधानमन्त्रीले जतिसुकै कोशिस भएपछि २०४७ सालतिर फर्काउन नसकिने ठोकुवा गरे । प्रधानमन्त्रीले भने– ‘संविधान कार्यान्वयन नभए हाम्रो के जान्छ र ? २०४७ साल नै ठीक थियो भन्नेसम्मका छलफल चल्न थालेका छन् । तर, अब मुलूक २०४७ तिर जाँदैन, जाने २०७४ तिरै हो । तर, माओवादी आन्दोलन र नेतृत्व कमजोर भयो भने जनताको मनोभावनालाई अराजकतातिर लैजाने कोशिस हुन्छ । त्यसबाट मुलूकलाई बचाउन पनि हामी एकतावद्ध हुनैपर्छ ।’ कार्यक्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, भक्तिप्रसाद पाण्डेका पुत्र विश्वद्धीप पाण्डेले भक्तिप्रसाद पाण्डेको जीवन आदर्शपूर्ण जीवन भएकोमा जोड दिँदै नेपालको परिवर्तनको आन्दोलनमा उहाँले विशिष्ट भूमिका निर्वाह गरेको बताए ।

अत्याधुनिक आठ थान हतियारसहित जुम्लामा दुई व्यक्ति पक्राउ

जुम्ला, पुस १२  । गत मङ्सिर ११ गते चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवानको त्रिमूर्तिसहित २१ मूर्ति चोरी भएलगत्तै तीव्र अपरेसन थालेको नेपाल प्रहरीले आठ थान अत्याधुनिक स्वचालित हतियारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले आइतबार जिल्लाका विभिन्न स्थानमा पटकपटक गरी आठ थान अत्याधुनिक हातहतियार बरामद गरेको हो । बरामद गरिएका हतियार सोमबार निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपाने, प्रमुख अनुसन्धान अधिकृत जीवन खड्का, वकिल दिलबहादुर महत र जुम्लाका पत्रकार सञ्चारकर्मीको रोहवरमा सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा गज्र्याङ्कोट–८ का वेदनराज थापा र उनका सहोदर दाइ कमलराज थापा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिए । एकसाता अघि वेदनराज थापालाई सुराकी आधारमा काठमाडौँबाट पक्राउ गरी जुम्ला ल्याइएको र आइतबार मात्र उम्कने क्रममा उनका सहोदर दाइ कमलराज थापालाई नेपालगन्जमै पक्राउ गरी त्यहीबाट अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । पक्राउ परेका दुवैबाट लिएको जानकारी अनुसार सामान्य मान्छेलाई थाहा नहुने गरी गज्र्याङ्कोट गाविस–८ स्थित खर्क, ओडार, खेतको कान्ला, कोप्चा र माटोमा लुकाइएको अवस्थामा हतियार बरामद भएको उनले बताए । उनका अनुसार थप दुई थान म्याग्जिनसहित बिएन ६४६५÷२९६७ नं भएका अर्ध–स्वचालित एसएलआर दुई थान, प्लास्टिकको डब्बामा राखिएको एसएलआर हतियारमा प्रयोग हुने गोली २५ थान, ३०३ राइफलमा प्रयोग हुने गोली दुई थान, तीन राउन्ड गोलीसहित इन्डियन आर्मी कोर्ड नं १००० सि प्लस एलएसटी १।६५ एमएन अटोमेटिक पेस्तोल एक थान, नम्बर स्पष्ट नदेखिने हेर्दा त्यही कम्पनी जस्तो लाग्ने स्वचालित पेस्तोल एक थान, नम्बर नभएको पाँच वटा गोली प्रयोग हुने रिभल्वर (सिक्सर) एक थान, त्यसैको गोली राउन्ड पाँच थान, नम्बर नभएको छ वटा गोली प्रयोग हुने रिभल्वर थान एक, कटुवा पेस्तोल थान दुई, केप र फ्यूजसहितको डेटोनेटर सात थान, र पेस्तोल सफा गर्ने गज (रड) एक थान बरामद गरिएको छ । बरामद गरिएका हातहतियार द्वन्द्वकालमा लुटिएका हुनसक्ने भन्दै यसमा संलग्न व्यक्ति विशुद्ध अपराधी मनोवृत्तिका रहेको जिप्रका जुम्लाले जनाएको छ । पक्राउ परेका थापा दाजुभाइ अनुसन्धानको क्रममा दोषी ठहरिए हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइने प्रहरीले बताएको छ । रासस

फेसबुकमा साथी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ

सुरुङ्गा (झापा),  पुस १२ ।  फेसबुकको साथीको भर पर्दा बिर्तामोड नगरपालिका–७ निवासी सुष्मा प्रधान राई ठगिएकी छिन् । फेसबुकमा बनाएको साथी माटिन एन्थोनी मार्टको भर पर्दा उनी ठगिएकी हुन् । उनीलाई मार्टले आफू युकेमा रहेको र युकेबाट एप्पलको आइफोन, ल्यापटप र आइप्याड पठाइदिएको भन्दै ठगी गरेको पीडित सुष्माले बताइन् । मार्टले आफूसँग रु दुईलाख १९ हजार ठगी गरेको उजुरी गरेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले आवश्यक अनुसन्धान पछि कनकाई नगरपालिका–१ दुर्गापुर निवासी ३१ वर्षीय बोदप्रसाद पोखरेललाई पक्राउ गरेको छ । पक्राउ परेका पोखरेललाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोलाई सोमबार बुझाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । उनका अनुसार मार्टले राईलाई फेसबुकमार्फत एभरेस्ट बैंकमा दुई हजार अमेरिकी डलर जम्मा गर्न लगाएको र उक्त रकम पोखरेलले निकालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मार्टको नाममा नक्कली आइडी बनाएर पोखरेलले उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ । रासस

तह वृद्धि गर्न गाविस सचिवको माग

काठमाडौँ, पुस ११ । गाविस सचिवहरूले १४ वर्षसम्म गाविस अध्यक्षको समेत जिम्मेवारी निर्वाह गरेकारले स्थानीय तहमा कर्मचारी समायोजन गर्दा गाविस सचिवलाई एक तह वृद्धि गर्न माग गरेका छन् । गाविस सचिवले विभिन्न चुनौतीमा पनि १४ वर्षसम्म स्थानीय निकायमा दोहोरो जिम्मेवारी निर्वाह गरेको भन्दै अब कर्मचारी समायोजन हुँदा एक तह वृद्धि गर्न सरकारलाई आग्रह गरेका हुन् । कतिपय अवस्थामा गाविस सचिवले ज्यानै बाजी राखेर समेत स्थानीय निकाय सञ्चालन गरेको र सोको सम्मान स्वरूप सरकारले कर्मचारी समायोजन गर्ने क्रममा एक तह वृद्धि गरेर गाविस सचिवलाई हौसला प्रदान गर्नुपर्ने गाविस सचिवहरूको भनाइ छ । गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका अध्यक्ष दामोर रिजालले भने– ‘१४ वर्षसम्म गाउँमा बसेर स्थानीय निकायलाई सञ्चालन गर्न गाविस अध्यक्षको समेत भूमिका निर्वाह गरेका गाविस सचिवको एक तह बढुवा गरी सरकारले सम्मान गर्नुपर्छ ।’ उनका अनुसार द्वन्द्वकालदेखि हालसम्म २८ जना गाविस सचिवले ज्यान गुमाएको, भूकम्पपछि गाविस सचिवले सरकार र भूकम्प पीडितबीच पुलको काम गरेको, कर्मचारीको अभावमा एक गाविस सचिवले तीनदेखि पाँचवटासम्म गाविसको जिम्मेवारी बहन गर्दै आएका छन् । यी सबै कुराको मूल्याङ्कन अब सरकारले गाविस सचिवको एक तह बढुवा गरेर गर्नुपर्छ । अहिले भएका गाविस सचिव खरिदार र नासु स्तरका रहेका छन् । हाल कायम रहेका तहबाट एक स्तर वृद्धि गर्नुपर्ने माग उनीहरूको छ । लामो समयसम्म गाविस सचिव सरुवा हुनबाट रोकिएको, गाविस सचिवले नेपालमा भएका सबै मन्त्रालयको काम गर्न बाध्य हुनुपरेको, प्राविधिक, प्रशासनिक, न्यायिक, पञ्जिकाधिकारी र लेखापालको समेत काम गाविस सचिवबाटै गर्नु परेको, गाविस सचिवकै हातबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा जोखिम बढ्दै गएको गाविस सचिवहरूको गुनासो छ । गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका वरिष्ठ उपाध्यक्ष एकनारायण काफ्ले भने– ‘गाविस सचिवलाई कि त सरुवा हुने बाटो खुला गरिदिनुपर्छ कि त कर्मचारी समायोजन हुँदा एक तह वृद्धि गर्नुपर्छ ।’ आफ्ना माग सम्बोधन नभएको अवस्थामा भूकम्पसँग सम्बन्धी सम्झौता रोकिन सक्ने, दुई गाविसको जिम्मेवारी नलिने, गाउँ परिषद् नहुने र अध्यक्षको जिम्मेवारी नगर्ने अवस्थामा गाविस सचिव पुगेको उनले स्पष्ट गरे । यसका लागि गाविस सचिवहरूले सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीलाई समेत ध्यानाकर्षण गराइसकेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डे स्थानीय तहमा कर्मचारी समायोजनका लागि एक कार्यदल बनेको र अहिले उक्त कार्यदलले काम गरिरहेकाले कर्मचारीको एक तह बढुवाका बारेमा अहिले नै केही भन्न नसकिने बताए । गाविस सचिवको समस्या र मागप्रति भने मन्त्रालय सकारात्मक रहेको भन्दै उनले अहिले गाविस सचिवले तल्लो निकायमा रहेर काम गर्नुपर्ने हुँदा त्यहाँ राम्रा र नराम्रो दुवै पक्षको गाविस सचिवले समाना गर्नुपर्ने बताए । मन्त्रालयका अनुसार अहिले देशभर गरी करिब ३५० गाविस सचिवको पद रिक्त रहेका र उक्त गाविसमा नजिकै रहेका गाविसमा कार्यरत सचिवले काम गर्दै आएका छन् ।

माओवादी केन्द्र पाँच नं प्रदेशको नयाँ प्रस्ताव

दाङ, पुस ११ । संसद्मा संविधान संशोधन प्रस्ताव पेस भएपछि विभिन्न पक्षले आन्दोलन गरिरहेका बेला नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेशले भने नयाँ प्रस्ताव अघि सारेको छ । दाङको घोराहीमा दुई दिनसम्म चलेको प्रदेश समितिको प्रथम बैठकले नयाँ प्रस्ताव अगाडि सारेको हो । बैठकपछि आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशको नयाँ प्रस्ताव अघि सारेको हो । प्रस्तावअनुसार “सरकारले जनजाति, मधेसी, थारुलगायतका समुदायलाई समेट्न अघि सारेको संविधान संशोधन प्रस्ताव सही छ, संविधान संशोधन भएको खण्डमा रोल्पा, प्यूठान र अर्घाखाँचीका जनताको मागलाई सम्बोधन गर्न दुईखाले प्रस्ताव अघि सारेका छौँ ।” – प्रदेश इञ्चार्ज वर्षमान पुनले भने । पहिलो प्रस्तावका रुपमा पार्टीको नीतिअनुरुप १० प्रदेश बनाएर यी जिल्ला र आसपासका जिल्लालाई समेटेर आठौँ प्रस्ताव बनाउन हाम्रो अवधारणा आएको उनले बताए । त्यो पनि तत्काल सम्भव भएन भने प्युठान, रोल्पा र अर्घाखाँचीलाई सम्बोधन गर्ने गरी प्रदेश राजधानीका एकाइ राख्नुपर्छ भन्ने आफूहरुको निष्कर्ष उनको भनाई थियो । हाल उच्च अदालतका मुकाम एक ठाउँमा र अन्य ठाउँमा इजलास तोके जस्तै प्रदेश राजधानीबाट हुने सेवा सुविधा दिने गरी यी जिल्लामा राजधानीका एकाइ राख्ने सकिने उहाँको भनाइ थियो । गुल्मी र पाल्पाका माथिल्लो क्षेत्रका बासिन्दाले पहिले नै पोखरा भनिरहेका थिए उनीहरुलाई कुनै समस्या नपर्ने उनको भनाई थियो ।

सौराहामा हात्ती महोत्सव सुरु

चितवन, पुस ११ । चितवनको सौराहामा हात्ती महोत्सव सुरु भएको छ । आजबाट सुरु भएको उक्त हात्ती महोत्सव पुस १५ गतेसम्म चल्नेछ । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा सो महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल सङ्घ, चितवनले जनाएको छ । महोत्सवको पहिलो दिन बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरबाट हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको ¥यालीले सौराहाको परिक्रमा ग¥यो । ¥यालीमा भजन–कीर्तन तथा बाजागाजा प्रस्तुत गरिएको थियो भने थारु सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । नेपाल आएका पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर हात्ती महोत्सव आयोजना गरिएको हो । यस वर्ष सौराहामै पहिलोपटक अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितासमेत आयोजना गरिएकाले रौनक बढेको पोलो प्रतियोगिताका संयोजक शङ्कर सैँजुले जानकारी दिए । हात्तीका गतिवधि प्रदर्शन हुने उक्त महोत्सवमा यसवर्ष विभिन्न नौवटा कार्यक्रम सञ्चालन हुने छन् । महोत्सवमा हात्ती फास्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाबीच रोमाञ्चक फुटबल, हात्ती शङ्गार प्रतियोगिता, गाडा टौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, सांस्कृतिक कार्यक्रम र डुङ्गा दौड प्रतियोगिता आयोजना गरिने क्षेत्रीय होटल सङ्घका सचिव राममणि खनालले जानकारी दिए । महोत्सवले हात्ती र मानवबीचको सम्बन्ध प्रगाढ गराउन सहयोग गर्ने र यसबाट पर्यटन प्रवद्र्धन र संरक्षणमा टेवा पुग्ने आयोजकको विश्वास रहेको बताइएकाे छ । बाह्र वर्षअघि सौराहामा हात्ती दौड प्रतियोगिताका रुपमा आयोजना भएको कार्यक्रम विगत केही वर्षदेखि हात्ती महोत्सवका रुपमा आयोजना हुँदै आएको छ ।

फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु

पोखरा, पुस ११ । आसन्न स्थानीय तह वा निकायको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला निर्वाचन कार्यालय कास्कीले आजबाट फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु गरेको छ । मतदाता नामावली सङ्कलनका लागि कास्कीमा मात्रै छ टोली खटाइएको कार्यालयका प्रमुख गङ्गाप्रसाद सुवेदीले जानकारी दिए । टोलीले कार्यस्थलमा गएर उमेर पुगेका मतदाताको नाम दर्ता, त्रुटि देखिएको विवरण सच्याउने, मृत्यु तथा बसाइँसराइ गरेका मतदाताको नामावली मतदाता सूचीबाट हटाउनेछ । त्यस्तै दोहोरो मतदाता नामावली भएका मतदाताको नाम एक ठाउँमा राख्ने काम टोलीले गर्ने छन् । पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका तथा ३२ गाविस भएको सो जिल्लामा खटिएको टोली गाविस कार्यालय तथा नगरपालिकाको वडा कार्यालयमा गई दुई दिनसम्म बसेर नामावली सङ्कलन गर्ने बताइएको छ । कास्कीमा मंसिर मसान्तसम्म दुई लाख २३ हजार ११९ मतदाता रहेका छन् । जसमा पुरुष एक लाख तीन हजार ५६२, महिला एक लाख १९ हजार ५५२ र तेस्रोलिङ्गी पाँचजना रहेको कार्यालय प्रमुख सुवेदीले बताए ।

ज्यान जाला तर उपलब्धी खोस्न दिँदैनौं

काठमाडौं, पुस ११ । प्रधानमन्त्री प्रचण्डले माओ जयन्तीको अवसरमा आफूहरु नेपाली समाजको वर्ग संघर्षको नयाँ स्वरुपमा रहेको भन्दै सो उपलब्धीका लागि नेपाली जनताले निकै दुःख कष्ट भोग्नु परेको भन्दै अब पाएको उपलब्धीलाई कुनै पनि हालतमा फुत्किन नदिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी नेपाली समाजको वर्ग संघर्षको नयाँ स्वरुपमा छौं । जनतालार्इ परिवर्तन दिन माओको भूमिका रहेकाले रक्षा प्रयोगबाटै बिकास गर्ने र देश संघीय लोकतान्त्रिक गणतन्त्रलाई विकास गर्ने प्रेरणा उनै माओ हुन् ।’ प्रतिपक्षीहरुलाई इंगित गर्दै प्रधानमन्त्री प्रचण्डले थपे, ‘अहिलेको राजनीतिलाई विकसित र प्रयोग र रक्षा गर्ने दलालहरुलार्इ परिवर्तन मन परेको छैन ।’ उनले थपे ‘राजा त पद्च्युत भए । उनका वरिपरि घुम्नेलार्इ पनि मन परेको छैन । उनीहरु यो परिवर्तन र उपलब्धी उल्ट्याउने र भाच्नेतिर उन्मुख भएका छन् । तर हामीले त्यसो हुन दिनुहुन्न ।’ माओ दिवसका असरमा उनले आफूहरुले औपचारिक रुपमा यो दिवस मनाउनुमा विशिष्ट अर्थ रहेको बताए । उने भने, ‘देशलार्इ एकताबद्ध गर्नु । जातजाती मधेस पहाड बिचमा विभाजन नभई मधेस पहाड जोड्नु छ र एकता ल्याउनु छ ।’ उनले थपे, ‘कम्युनिस्टले नै एकता गरेका छन् ।’ साम्राज्यवाद र सर्वहारावाद उत्पिडितहरुको बिचमा एकता कायम गर्न कम्युनिष्टहरुले नै अहम भूमिका खेल्ने उनले बताए । उत्पिडनको बिरुद्व समानताको नारा हाइज्याग गर्ने काम गर्ने साम्राज्यवादहरुले गरेको उनले बताए । उनलेउ नेपालमा आत्मानिर्णय, पहिचान समानुपातिक समावेशी नारा माओवादीले ल्याएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो नारा आफ्नो बनाउन खोज्ने ति हिजो पञ्चाएको बेला सरकारमा बस्ने राजासँग मिल्ने काम गरे र आज उनीहरुले नै माओवादीको नारा हाइज्याक गराउन खोजेका छन् ।’ उनले थपे, ‘साम्प्रदायिक दंगा हुनुको कारण पनि त्यही हो ।’ आज दिवस मनाउनुको कारण उत्पीडितको पक्षमा लाग्नु रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अब सङ्कल्प गर्ने दिन आएको बताए । देशमा संविधान संशोधनभित्र उत्पीडित समुदायलार्इ अधिकार नदिन प्रयास भएको भन्दै शान्ति प्रक्रियामा आएपछी माओवादीलाई जालीझेली भनिएको स्मरण गरे । दस वर्षपछि फेरि पार्टी एकतामा जोडिएको भन्दै प्रचण्ड र बाबुराम मिल्नुपर्ने उनको चाहना भएको बताए । चीनमा माओको नेतृत्व सम्झिँदै उनले भने, ‘फुट्ने माओवादी हुँदैन । चीनमा माओले पार्टी फुट्न दिएनन् ।’ फुट्नेतिर होइन जुट्नेतिर लाग्नुपर्छ भन्दै अब समाजवाद र साम्यवादमा जान सकिने उनले बताए । उनले भने, ‘हाम्रो जितलार्इ कसैले रोक्न सक्तैन । हामी सबै माओबादीलार्इ एकतावद्ध गर्नु छ ।’

ट्याक्टरले किचेर चालकको मृत्यु

महेन्द्रनगर, पुस ११ । धनुषाको जनकपुर–ढल्केवर राजमार्ग लक्ष्मीनिया सडकखण्डमा गए साँझ आफैँले ट्याक्टर चलाएको क्रममा किचेर क्षिरेश्वरनाथ नगरपालिका–३ का २२ वर्षीय चालक जाहिल राइनको मृत्यु भएको प्रहरीले जनाएको छ । ज१त २८३६ नंको ट्र्याक्टर चलाएर महेन्द्रनगरतर्फ जाँदै गरेका बेला ट्र्याक्टर पल्टिँदा च्यापिएर चालक राईनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जनाएको छ ।

जङ्गली जनावरको आतंक, स्थानिय रातभर जागराम

इनरुवा, पुस ११  । सुनसरी सहित तीन जिल्लामा फैलिएर रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका स्थानीयवासिन्दा आरक्षबाट निस्कने जङ्गली जनावरको आतङ्कबाट आतङ्कित बनेका छन् । जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण रातभर जागराम बस्नुपरेको सो क्षेत्रका स्थानीयले गुनासो गरेका छन् । आरक्षबाट दैनिकजसो रातको समयमा आउने अर्ना, हात्ती र बँदेलका कारणले स्थानीय रातभर जागराम बस्न बाध्य भएको हरिपुर गाविसका किसन मण्डलले गुनासो गरे । आरक्षमा सोलार फेन्सीको केही क्षेत्रमा व्यवस्था गरेको भए पनि कमजोर तारवारका कारण जङ्गली जनावर निर्वाधरुपमा निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मचाउने गरेको श्रीपुर गाविसका तेजनारायण अरगरीयाले गुनासो पोखे । आरक्षले स्थानीयलाई काठ दाउरा र चरिचरणबाट रोक लगाउने गरेको भए पनि आरक्षले जङ्गली जनावर रोक्न नसकेकोमा आक्रोश पोखेका छन् । आरक्षमा रहेको समस्या समाधान गर्न आरक्ष प्रशासन उदासिन रहेको हरिपुरका सुकुम्वासी टोलका विलेक्षण सदाले बताए । आरक्षले आफ्नो क्षेत्रमा जनतालाई प्रवेश गर्न नदिने तर जङ्गली जनावर गाउँ पसेर बाली खाने, कुल्ची दिने, नष्ट गरी दिने गरेको भए पनि त्यसलाई रोक्न ध्यान नदिएको श्रीपुर गाविसका धमेन्द्र मेहताको भनाइ रहेको छ । अहिले आरक्षमा सुराक्षर्थ खटिएका सेनाले महिलालाई अभद्र व्यवहार गर्ने र प्रतिवाद गरे पक्रेर रु ५०० जरिवाना तिराउने गरेको स्थानीयको गुनासो छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका जङ्गली जनावरले यो हप्ता मात्रै दुई वटा घरमा क्षति पु¥याउनुका साथै गहुँ, तरकारी र केराको बेटमा क्षति पुर्याएको श्रीपुरका श्यामनारायण खेरवारले गुनासो पोखे । सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई स्थानीयले आरक्षबाट सुरक्षित बनाइदिन र आरक्षको घाँस दाउरा सहज पाउने वातावरण सिर्जना गरी दिन आग्रह गरेका छन् । प्रजिअ पौडेलललाई स्थानीयले जङ्गली जनावरबाट जोगाइ दिन र क्षतिको क्षतिपूर्ति दिन तथा आरक्षमा रहेको विकृति अन्त्य गर्न माग गरेका छन् । आरक्षमा रहेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति विहीन रहेको र जनता र आरक्षाको समन्वय अभावका कारण केही समस्या रहेको पाइएको प्रजिअ पौडेलले बताउनु हुँदै समस्या सामाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी आरक्षणका संरक्षण अधिकृत श्यामकुमार शाहले यहाँ धेरै समस्या रहेको स्वीकार गर्दै समाधानको प्रयासमा आरक्ष लागेको बताए । रासस  

विदेशी हस्तक्षेप र चलखेलको प्रतिरोध गर्न नेपाली जनता सचेत हुनुपर्दछःबिजुक्छे

भक्तपुर, पुस ११ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको सार्वभौमिकता र अखण्डतालाई जोगाउन नेपाली जनता सचेत हुनुपर्ने बताएका छन् । नेपाल क्रान्तिकारी किसान सङ्घको छैटौँ भक्तपुर जिल्ला सम्मेलनको आइतबार दत्तात्रयमा उद्घाटन गर्दै उनले भने – “विदेशी हस्तक्षेप र चलखेलको प्रतिरोध गर्न नेपाली जनता सचेत हुनुपर्दछ ।” अध्यक्ष बिजुक्छेले किसानले राम्ररी खेती गर्न जानेर मात्र नपुग्ने बताउँदै देशको नीति निर्णयबारे पनि किसानले जानकारी राख्नुपर्नेमा जोड दिए । नेपाल क्रान्तिकारी किसान सङ्घका अध्यक्ष एवम् सांसद डिल्लीप्रसाद काफ्लले किसानको हकहितबारे सरकारले चासो नदिँदा उनीहरु कृषि पेसाबाट टाढिँदै गएको र युवा देश छोडेर विदेसिएको बताउँदै क्रान्तिकारी भूमिसुधार लागू नगरेसम्म मुलुकमा उत्पादकत्व नबढ्ने धारणा व्यक्त गरे । नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठ र नेक्राकिसङ्घका जिल्ला अध्यक्ष गोविन्द दुवालले किसानको हितका सम्बन्धमा कुनै पनि सरकारले स्पष्ट र प्रभावकारी नीति नबनाउँदा उनीहरुको उन्नति प्रगति हुन नसकेको बताए । यसअघि परम्परागत बाजागाजासहित भक्तपुर नपा–१७ भर्वाचोबाट सुरु भएको ¥याली नगर परिक्रमा गर्दै दत्तात्रय पुगेको थियो । रासस

२० महिनामा ४१ हजार घर निर्माण, प्राधिकरण नेतृत्व फेर्न दबाब ?

काठमाडौं, भूकम्पपछिको पुनर्निर्माणलाई अगाड बढाउने अख्तियारीसहितगठन भएको पुनर्निर्माण प्राधिकरणको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ । भूकम्पपीडितहरुलाई राहत तथा नवनिर्माणको कामलाई गति दिन सरकारले बारम्बार निर्देशन दिँदा समेत काम अगाडि नबढेपछि नेतृत्व नै फेर्ने दबाब सरकारमाथि परेको छ । सरकारले प्राधिकरणका निर्देशकलाई यसअघि नै स्पष्टीकरण सोधि सकेको छ । सार्वजनिक भएका तथ्यांक अनुसार, भूकम्पले अति प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार परिवारको घर ध्वस्त भयो । भूकम्पको २० महिना बितिसक्दा पनि मश्किलले ४१ हजार ३ सय ११ घर पुनर्निर्माण भएका छन् भने १७ हजार १ सय घर निर्माण भइरहेका छन् । ६ लाख पीडित रहेको १४ जिल्लामा यति थोरै काम हुनुले प्राधिकरणको नेतृत्व र संरचना नै फेर्नुपर्ने माग उठेको हो । प्रधानमन्त्री निर्वाचित भएलगत्तै प्रचण्डले भूकम्प पीडितले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ हेलिकप्टर मार्फत भएपनि ४५ दिनभित्र वितरण गर्न निर्देशन दिएपनि यो पूर्णरुपमा लागु भने हुन सकेन । हालसम्म पीडितहरुले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ ४ लाख ५८ हजार पीडित मात्र पाएका छन् । अझैं १ लाख ६८ हजार घरधुरीले पहिलो किस्ता पाएका छन् । १४ जिल्लामा पुष ८ गतेसम्म ५ लाख ४३ हजार १ सय ७ घरधनीले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये ४ लाख ५८ हजार ५ सय ९२ घरधनीले अनुदान लिईसकेको प्राधिकरणले जनाएको छ । त्यस्तै भूकम्पले कम प्रभावित १७ जिल्लामा सर्वेक्षणको काम अघि बढेको बढाईएको जानकारी दिएको छ । १४ जिल्लामा २ सय विद्यालय, २ सय स्वास्थ्य केन्द्र, १५ वटा पुरातात्विक सम्पदाको पुननिमार्ण सकिएको जनाएको छ । पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ वितरण गर्नत सकस ब्यहोरेको प्राधिकरणले दोस्रो किस्ता बापतको डेढ लाख वितरणमा कस्तो सकस होला भन्ने धेरै पीडितको गुनासो छ । प्राधिकरणका अनुसार दोस्रो किस्ता पीडितलाई उपलब्ध गराउन करिब १ खर्ब रुपैयाँ लाग्नेछ । १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरीलाई डेढ लाख रुपैयाँको दरले उपलब्ध गराउँदा ९३ अर्ब ९० करोड ५४ अर्ब रुपैयाँ खर्च लाग्ने प्राधिकरणको भनाई छ । दोस्रो किस्ता डेढ लाख रुपैयाँका लागि मन्त्रिपरिषद्बाट पारित भएपछि वितरण गरिने प्राधिकरणले जनाएको छ ।

५ सयको बाजी थाप्दा मर्स्याङ्दीमा बेपत्ता

लमजुङ, पौष १० मर्स्याङ्दी नदीले बगाउँदा आईतबार बेसीशहर नगरपालिका–७ का ४० वर्षका राजु घिमिरे बेपत्ता भएका छन् । साँढे १२ बजेको समयमा साथीसंग पाँच सय रुपैयाँको बाजी थापेर को पहिले ? नदी पार गर्ने भन्दै मस्र्याङ्दीमा पौडी खेल्ने क्रममा उनी बेपता भएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले टेलिफोनमार्फत जानकारी गराउनुभयो । उहाँका अनुसार राजुसंगै पौडी खेलेका पदम घिमिरे भने बाहिर निस्कन सफल भएका छन् । ‘रानीकुवामा रहेको घाटसम्म गाउँबाटै पानी लैजाने भन्दै पाईप बिच्छ्याउँने क्रममा गर्मी भयो भन्दै साथीसंग बाजी थापेर नदीमा पौडी खेल्ने क्रममा घिमिरे बेपत्ता भएको बुझिएको छ, प्रहरी, सेना र स्थानीय उनको खोजी कार्यमा जुटेका छन्,’ डिएसपी खरेलले भन्नुभयो । खरेलका अनुसार बेपत्ता राजु एक सामुदायिक विद्यालयका शिक्षक हुन् ।