मन्त्री कुँवर र उत्तर कोरियाका राजदूत मेनबीच भेटवार्ता
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा पुगेका थिए । उनीहरूबीचको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक–पटक गरेको सहयोगको लागि धन्यवाद दिएका थिए । त्यस्तै राजदूत मेनले नेपालमा लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन मन्त्री कुँवरसँग आग्रह गरेका थिए ।
नेपालमा ८ वटा उत्तर कोरियाली कम्पनीले लगानी गरेका छन् । अस्पताल, होटल, रेष्टुरेन्ट, सफ्टवेयर डेभलपमेन्ट कम्पनीमा लगानी गरेका छन् । लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञामा समस्या परेको भन्दै त्यसका लागि सहजीकरण गरिदिन राजदूत मेनले आग्रह गरेका हुन् ।
४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध, १ लाखसम्म जरिवाना
काठमाडौं । सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको हो । विभागले प्लास्टिकका झोला प्रतिबन्ध नीति तथा निर्णय आगामी दिन थप कडाइसाथ लागू गर्ने तयारीसमेत गरेको छ । यस्तो उत्पादन, आयात, बिक्री विरतरण तथा प्रयोग अवस्थाबारे अनुगमन र उल्लंघन भएको पाइए कारबाही गर्ने विभागको भनाइ छ । १ भदौबाट सरकारको निर्णयविपरीतका कार्य भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने जनाइएको छ । सरकारले यसअघि १९ असोज २०७८ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो । यसलाई प्रभावकारी कार्यान्वयनका लागि गत माघमा मन्त्रिपरिषद्ले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत गरिसकेको छ । तर, कोरोना महामारीका कारण पर्याप्त अुनगमन नहुँदा सरकार कारबाहीमा उत्रिएको थिएन । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य सहित दर्जनौं विद्यार्थी अखिल(क्रान्तिकारी)मा
काठमाडौं । समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्यको नेतृत्वमा दजनौं युवा विद्यार्थी माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)मा प्रवेश गरेका छन् । आज अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बागबजारमा एक कार्यक्रममा नवप्रवेशीहरुलाई संगठनकी केन्द्रीय अध्यन पंचा सिंहले स्वागत गरिन् । अध्यक्ष सिंहले नवप्रवेशीहरुलाई संगठनमा स्वागत गर्दै युवा विद्यार्थीहरु क्रान्तिकारी विद्यार्थी संगठनमा गोलब्ध हुन ढिलो गर्न नहुने बताइन् ।
माओवादीले बिहीबार पदाधिकारी टुंग्याउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीसहित सांगठनिक कमिटीलाई पूर्णता दिने भएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी कमिटीलाई पूर्णता दिनेबारे बृहद छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले बैठक संगठन सम्बन्धी एजेण्डामा केन्द्रीत रहेको भन्दै केन्द्रीय कमिटीमा थप्नुपर्ने केही सदस्य, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिँदै पदाधिकारी टुंग्याउनेगरी छलफल अघि बढेको बताए । ‘सवैमा विस्तृत छलफल गर्यौँ, भोली विहान टुंगोमा पुग्छौँ । आज छलफल सुरु भयो’, महराले बैठकपछि भने, ‘पदाधिकारी पनि भोली नै टुंग्याउछौँ ।’ माओवादी केन्द्रको महाधिवेशन गत पुसमा भएपनि पदाधिकारी टुंग्याउन सकेको थिएन ।
निहारिका बलात्कार आरोपितलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं । निहारिका राजपुत (सोनाली सिंह) बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठमाथि अनुसन्धान हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले अभद्र व्यवहारमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद दिएसँगै अनुसन्धानको बाटो खुलेको हो । हिजो साँझ पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद दिएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले प्रहरीलाई गालीगलौज गरेपछि श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए । ‘हिजो प्रहरी सोधपुछ गर्न पुगेको थिए । त्यही क्रममा उल्टै प्रहरीमाथि गालीगलौज गरेपछि पक्राउ गरिएको हो,’ प्रहरीले जनाएको छ । प्रहरी उच्च स्रोतका अनुसार १० दिनदेखि अनशनरत निहारिकाले न्याय नपाएसम्म अनशन नतोड्ने अडान राखेपछि गृह मन्त्रालयको दबाबमा धनुषा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेको बलात्कार आरोपी श्रेष्ठलाई जिल्ला अदालत धनुषाले सफाइ दिएपछि फैसलाविरुद्ध निहारिका ६ महिनाअघि पुनरावेदन पुगेकी थिइन् । तर, अहिलेसम्म पेशी बस्न सकेको थिएन । निहारिकाले शुक्रबार राष्ट्रपति कार्यालयअगाडि आत्मदाह प्रयास गरेपछि सरकारले उनको मुद्दामा चासो देखाएको छ । सोमबार कानुनमन्त्री गोविन्द बन्दीले शिक्षण अस्पताल पुगेर निहारिकालाई भेटेका थिए । न्याय दिलाउने प्रतिबद्धता जनाउँदै उनले अनशन तोड्न आग्रह गरे पनि निहारिकाले न्याय नपाएसम्म अनशन जारी राख्ने अडान राखेकी थिइन् । आरोपित श्रेष्ठले भने पक्राउ पर्नुअघि निहारिका र आफू प्रेम सम्बन्धमा रहेको तर बलात्कार नगरेको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै हिँडेका थिए । निहारिकाले धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ३ का २३ वर्षीय शिवराज श्रेष्ठले नसालु पदार्थ पिलाएर आफूलाई बलात्कार गरेको, तर त्यसबाट जन्मिएको बच्चा अस्वीकार गरेको भन्दै जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । तर, जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईले २४ माघ ०७८ मा जबर्जस्ती करणीको दाबी नपुग्ने भन्दै आरोपी श्रेष्ठलाई सफाइ दिएका थिए । यता, न्यायाधीश भट्टराईमाथि न्यायपरिषद्ले छानबिन थालिसकेको छ । अरु नै मुद्दाका कारण सर्वोच्च अदालत तानिएका उनीमाथि परिषद्ले यसबारे पनि सोधपुछ थालेको हो ।
राप्रपाको युवा संघका जिल्ला उपाध्यक्ष सहित दजनौं युवा माओवादी प्रवेश
भरतपुर । चितवनमा दजनौं युवाहरु माओवादी केन्द्र प्रवेश गरेका छन् । राप्रपा नेपाल निकट राष्टिय प्रजातान्त्रिक युवा सघंको जिल्ला उपाध्यक्ष शंकर विश्वकर्माको नेतृत्व ५० जना राप्रपामा संगठित नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका हुन् । नवप्रवेशी नेताकार्यकर्तालाई माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले खादा माला र अविर लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश गर्दै शंकर विश्वकर्माले देशको विकास गर्ने,युवाहरुको भावना बुझेर युवालाई स्थान दिने र देशको आवश्यकता पुरा गर्ने पार्टी माओवादी केन्द्र र नेतृत्व प्रचण्डको पार्टी भएको बताए । उनले युवाहरुलाई माओवादी केन्द्र र प्रचण्डको नेतृत्वमा गोलबन्ध हुन आग्रह समेत गरे । चितवनको विकास र समृद्धि माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव भएको भन्दै पछिल्लो समय माओवादी केन्द्रप्रति युवाहरुको आर्कषण बढेको अध्यक्ष अधिकारीले बताए ।
भरतपुर महानगरको बेरुजु घटाउन सक्रिय लेखा समिति
चितवन। भरतपुर महानगरपालिकाले बेरुजु फछर्यौटका लागि क्रियाशीलता देखाएको छ। महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो। संघ संस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी बेरुजु फछर्यौट गर्न ताकेता गरिएको छ। महानगरको ११औँ नगरसभाले भरतपुर महानगरपालिका–१ का अध्यक्ष केशब महर्जनको संयोजकत्वमा लेखा समिति गठन गरेको थियो। समितिका सदस्य सचिव महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पुरानो बेरुजु धेरै छ। नगरपालिका स्थापनादेखि हालसम्म आइपुग्दा बेरुजु एक अर्ब भन्दामाथि छ। पछिल्लो पटक जनप्रतिनिधि आएपछि पाँच वर्ष यताको बेरुजु भने १२ करोड हाराहारी मात्र छ। सो रकममध्ये धेरै नियमित गर्ने बेरुजु रहेको उनी बताउँछन्। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७–७८ को राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनमा भरतपुरको बेरुजु ६ महानगरमध्ये सबैभन्दा कम थियो। अर्यालयका अनुसार भरतपुरको ० दशमलव ५६ प्रतिशत बेरुजु थियो भने बढी हुने विराटनगरको १६ दशमलब ५७ प्रतिशत रहेको थियो। महानगरले हाल भएको बेरुजुको अध्ययन गर्ने र नियमित प्रकृतिको बेरुजुलाई फछर्यौट गर्ने गरी तयारी गरेको छ। समितिले तयार पारेको बेरुजुको फछर्यौट गर्न कार्यापालिका बैठकमा पेस गर्ने गरी आफ्ना कामलाई अगाडि बढाएको उनले जानकारी दिए। नगरसभाले निर्णयगरेको बेरुजु महालेखा परीक्षकको कार्यालयबाट खटिएको टोलीले पुनःअवलोकन गरी फछर्यौट गर्दछ। लेखा समितिले महानगरभित्र निर्माणधीन सडक पूर्वाधार, तटबन्ध र मोज्याक टायल विच्छयाएको स्थानको अनुगमन गरी महानगरलाई सुझाव बुझाउने काम अघि बढाएको छ। लेखा समितिको क्रियाशीलताले बेरुजुमा कमी आउने, पारदर्शीता कायम हुने र आर्थिक सुशासनमा वृद्धि हुने सचिव अर्यालले बताए। अर्यालले बेरुजु तत्काल फछर्यौट गर्ने परिपाटीको विकासकै कारण बेरुजु कम भएको बताए। ऐन, नियम र मापदण्डको पूर्णपालना, उपभोक्ता समितिलाई पेश्की दिन कार्यमा कडाई र बेरुजु फछर्यौटमा विशेष जोड दिएकाले अन्य महानगरपालिकाको तुलनामा भरतपुरको बेरुजु निकै कम भएको उनको भनाइ छ। कम भएको बेरुजुलाई पनि फछर्यौट गर्नुपर्ने भन्दै महानगरपालिकाले क्रियाशीलता बढाएको हो। महानगर प्रमुख रेनु दाहालले आर्थिक सुशासन र पारदर्शीतामा महानगर अग्रणी रहेको भन्दै बेरुजु फछर्यौट गर्न समितिले काम गरेको बताइन्। उनले भनिन्, ‘जवाफदेहीता, पारदर्शीता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ।’ सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको उनी बताउँछिन्।
टिम भित्रको कमजोरी थाहा भयो,अब सुधारको आवश्यक छ : प्रभाकर
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली टोलीको कमजोर पक्ष आफूले पत्ता लगाइसकेको बताएका छन् । उनले आफूले उक्त कमजोरीलाई सुधार गर्ने पहिलो प्राथमिकतामा राखेको बताए । प्रभाकर भर्खरै मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ । प्रभाकरले सोमबारदेखि टिममा प्रशिक्षण दिइरहेका छन् । उक्त प्रशिक्षणको क्रममा टिमको कमजोरीको विषयमा आफूले भिडियोमार्फत पहिले नै थाहा पाएको र अहिले त्यसको सुधारका लागि लागिरहेको बताए । ‘टिमको कमजोरीको विषयमा पहिले नै थाहा पाएको थिए । अहिले त्यसको सुधारको विषय खोजिरहेको छु । सानो कमजोरी छन् त्यसलाई सुधार गर्न धेरै समय लाग्दैन,’ प्रभाकरले अभ्यासका क्रममा पत्रकारसँग कुरा गर्दै भने । प्रभाकरले आफूले टिमको ब्याटिङको विषयमा पहिले समाधानको उपाय निकालिरहेको बताए । नेपालको टिममा अहिलेको मुख्य समस्या नै ब्याटिङ भएकाले त्यसलाई सुधारका लागि आफूले काम गरिरहेको र त्यो चाडै सुधार हुने बताए । ‘टिममा अहिले ब्याटिङको समस्या छ । अहिले त्यसैमा फोकस गरिरहेका छौं,’ प्रभाकरले भने । नेपाली राष्ट्रिय क्रिकेट टोलीले भदौ ९ देखि २० सम्म केन्यासँग पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज र तीन एकदिवसीय सिरिज खेल्दैछ ।
ग्यास विस्थापनबारे मन्त्रालयको क्यान्टिनमा अर्थमन्त्रीको निरीक्षण
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयस्थित क्यान्टिन निरिक्षण गर्दै ग्यास सिलिण्डर विस्थापित भएनभएको जानकारी लिएका छन् । अर्थमन्त्रीको सचिवालयका अनुसार अर्थमा शतप्रतिशत विद्युतीय चुलो जडान गरी सिलिण्डर विस्थापित भएको छ । मन्त्री शर्माले अर्थ मन्त्रालयमातहतका सिहंदरबार बाहिरका क्यान्टिनमा समेत सिलिण्डर हटाउन निर्देशन दिएका छन् । सरकारले यसवर्ष बजेटमै साउनभित्र सिंहदरबारबाट ग्याँस सिलिन्डर विस्थापित गर्ने घोषणा गरेको थियो ।
आजबाट सिंहदरबारमा ग्यास सिलिन्डर प्रतिबन्ध
काठमाडौं । देशको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा आजदेखि एलपीजी ग्यास विस्थापन गरिएको छ । अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत सिंहदरबारको ग्यास चुलो हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेको थियो । सोअनुसार, आज भदौ १ गतेदेखि विद्युतीय चुलो प्रयोगमा ल्याइएको अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ ।
अर्थमन्त्री शर्माको विज्ञ सल्लाहकारमा डा. पोखरेल
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा.शालिकराम पोखरेल नियुक्त भएका छन् । डा.पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् भने अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय ल्याइएको मन्त्रालय स्रोतले जनाएको छ । दोस्रो पटक अर्थ मन्त्रालयमा प्रवेश भएसँगै यसअघि शर्माले सञ्चार विज्ञका रुपमा मनऋषि धिताललाई नियुक्त गरेका थिए । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा संसदीय समितिबाट क्लिन चिट पाएपछि शर्मा अर्थ मन्त्रालय फर्किएका थिए ।
बञ्चरे डाँडामा फोहोर व्यवस्थापनमा आज पनि स्थानीयको अवरोध
काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने ल्याण्डफिल साइट बञ्चरे डाँडामा आज बुधबार पनि स्थानीयले फोहोर फाल्न अवरोध गरेका छन्। डाँडाडाँडामा जम्मा भएका स्थानीयले काठमाडौंबाट फोहोर लिएर गएका गाडीमाथि आक्रमण गर्ने धम्की दिएपछि गाडीहरू फोहोर नफालीकन रोकिएका हुन्। ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनबद्ध छन्। तर फोहोर फाल्न नसकिएको प्रहरीले जनाएको छ। बुधबार बिहानै फोहोर बोकेर गएका १ सय वटा गाडी मुङ्खुबाट अगाडि बढिसकेका छन्। सडक साँघुरो र बिग्रेका कारण सहज रूपमा आवागमन हुन सकेको छैन। सशस्त्र प्रहरी बेसक्याम्प बञ्चरे डाँडाका नायव उपरीक्षक युवराज रिजालले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी फोहोर फाल्ने तयारी भईरहेको बताए। काठमाडौं महानगरीय प्रहरी परिसर काठमाडौंले पनि एसपी दिनेश मैनालीको नेतृत्वमा प्रहरी टोली पनि बञ्चरेडाँडामा पठाएको छ।
गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन : कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको बताएका छन्। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता रहेको उनले बताएका हुन्। राप्रपा फुटाएर राप्रपा नेपाल पार्टी गठन गरेका थापाले आफु अब गणतन्त्रवादी भएको भन्दै राजतन्त्रको औचित्य समाप्त भएको बताएका थिए । ‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ,’ बुधबार उनले ट्वीटरमा लेखेका छन्, ‘गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो ।’ हिजो सम्पन्न भएको केन्द्रीय समितिको बैठकले पार्टीलाई पुर्ण रुपमा निर्वाचन केन्द्रित गराउने निर्णय गरेको छ ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बुधबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बुधबारको बैठकमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका शर्तहरुको बारेमा छलफल हुने बताइएको छ । साथै आगामी निर्वाचनको बारेमा पनि छलफल हुनेछ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार पनि बसेको थियो । मंगलबारको बैठकले डा. बाबुराम भट्टराई र बामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नै चुनाव चिन्ह दिएर चुनावमा जान दिने निर्णय गरेको थियो ।
सिट बाँडफाँट कार्यदल बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा बस्दैछ । बैठक बुधबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने बैठकमा संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफाँट आधारको खाका प्रस्तुत गर्ने तयारी छ । वैशाखको स्थानीय चुनाव, २०७४ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ दलले ल्याएका मत, संसदमा अहिले दलको प्रतिनिधित्वलगायत हेरेर सिट बाँडफाँटको आधार खाका बनाइएको १ नेताले जानकारी दिए । कार्यदललाई सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले छिटोभन्दा छिटो प्रतिवेदन दिन निर्देशन दिएको छ ।
चोलेन्द्रशम्शेर बिरुद्धको महाअभियोग सिफारिस समितिको बैठक बस्दै
काठमााडौं । चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बुधबार बस्दैछ । निलम्बनमा रहेका प्रधानन्यायाधीश जबराबिरुद्धको महाभियोग बारे छलफल गर्न समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने जनाइएको छ । जबराबिरुद्ध विभिन्न २१ वटा आरोपका साथ महाभियोग लागेको छ । उक्त आरोप गत फागुन फागुन १ गते प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । त्यसपछि जबराबिरुद्ध फागनु २२ गते महाभियोग सिफारिस समिति गठन गरिएको थियो । आजको बैठकमा समितिको आन्तरिक कार्यविधि निर्माणका साथै पारित गरिने छ । त्यस्तैगरी समितिको संयोजक पनि चयन हुनेछ । समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा.शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन् ।

