एनएमबि बैंकको एटिएम मेशिन फोडेर चोरी गर्ने अनिश पक्राउ
पोखरा । कास्की प्रहरीले बैंकको एटीएम मेशिन फोडेर चोरी गर्ने व्यक्ति एक महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका वडा नं. ५ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ३० डुँडाकोमुख बस्ने वर्ष २१ का अनिश तामाङ रहेका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले तामाङलाई रूपन्देही बेलहिया (नेपाल–भारत सीमा नजिक)बाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तामाङले गत साउन २ गते राति पोखरा ३० स्थित एनएमबि बैंकको एटीएम मेशिन फोडेर १५ लाख रुपैयाँ रकम चोरेका थिए । उनले सोही राति एनआइसी एशिया बैंकको एटीएम मेशिन पनि फोड्ने प्रयास गरेका थिए ।
कास्की प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार घटनापछि प्रहरीले अनुसन्धान गर्नेक्रममा दुवै घटनामा एउटै व्यक्तिको हुलियार सो घटनामा ग१०प २९६३ नम्बरको मोटरसाईकल र हेल्मेटसमेत प्रयोग भएको देखिएको थियो । थप अनुसन्धान गर्नेक्रममा तामाङले चोरी गरेको भन्ने पुष्टि भएपछि उनको खोजी गर्नेममा पक्राउ परेका हुन् ।
पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरी प्रमुख एसपी अजय केसी जानकारी दिए ।
आफ्ना मागहरू सम्बोधन गर्न सहिद तथा बेपत्ता परिवार कास्कीको ध्यानाकर्षण
काठमाडौं। माओवादी जनयुद्धका कास्कीका सहिद एवं बेपत्ता परिवारहरु यतिबेला काठमाडौं आएका छन्। वर्षौंदेखि आफन्तहरुको खोजिमा रहेका सहिद एवं बेपत्ता परिवार संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठकमा बेपत्ता सम्वन्धी विधेयक प्रस्तुत भएसँगै उनीहरु काठमाडौं आएका हुन्। आफ्ना मागहरू सम्बोधन गर्न सहिद तथा बेपत्ता परिवार कास्कीले सरकारको ध्यानाकर्षण गराएको छ। यसै सन्दर्भमा उनीहरुले आइतबार प्रधानमन्त्री शेरवहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा, कानुनमन्त्री गोविन्द बन्दी लगायतसँग विशेष भेटघाट गरेका थिए। उनीहरुसँगको भेटपछि सहिद एवं बेपत्ता परिवारहरुले भने, ‘हाम्रा आफन्तको स्थिति छिट्टै सार्वजनिक हुनेछ र सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गरिनेछ, वर्षौं देखिको हाम्रो प्रयासले सार्थकता पाओस्, यो गर्विलो इतिहास एवं हालको अवस्था यतिकै निर्माण भएको होइन हामी र हाम्रा आफन्त जस्तै हजारौं वीर सपुतहरुको त्याग समर्पण र वलिदानले मात्रै सम्भव भएको हो भन्ने कुरा राज्यलाई हेक्का रहोस्। हामी आसा र अपेक्षा गर्दछौं।’ संघीय संसद अन्तरगत प्रतिनिधिसभाको अब बस्ने बैठकमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमा छलफल गर्ने कार्यसूची रहेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
दुर्गन्धित काठमाडौं -भोलिसम्ममा सडकका फोहोर उठाइसक्छौं : महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिसम्ममा सडकका फोहोर उठाइसक्ने बताएको छ । पछिल्लो केही दिनयता दैनिक रुपमा झन्डै दुई सय वटा फोहर बोकेका गाडी बञ्चरेडाँडा गरेको महानगरले जानकारी दिएको छ । आज महानगरपालिकाका कमलादी र कमलपोखरी क्षेत्रका फोहर उठाइने महानगरले जनाएको छ । त्यस्तैगरी भोलि कहाँ कहाँ फोहोर छुटेका छन् तिनीहरुकमो अनुगमन गरेर उठाइनेछ महानगरले भनेको छ । यसअघि महानगरपालिकाले कुहिने र नकुहिने फोहरलाई छुट्याउन प्रत्येक घरलाई निर्देशन दिएको थियो । यद्यपि अहिले भने महानगरले सडकबाट एकै वर्षमा राखेर फोहोर उठाएको छ । यो पटकको फोहोर व्यवस्थापन सकिएपछिको चरणमा मात्रै कुहिने र नकुहिने वर्गिकरण गरिने बताइएको छ । विगतका समयभन्दा लामो गरि सडकका फोहोर नउठेपछि काठमाडौं दुर्गन्धित बनेको थियो । फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडाका स्थानीयले आन्दोलन चर्काएपछि व्यवस्थापनमा समस्या परेको थियो । काठमाडौंलाई डुङ्ग डुङ्ग गन्हाउन हालेर अनावश्व टिकाटिप्णीमा लागेको भन्दै मेयर बालेन शाहको चर्को आलोचना हुँदै आएको छ ।
सहकारी संघहरूलाई वित्तीय रिपोर्ट सार्वजनिक गर्न रजिस्ट्रार पण्डितको आग्रह
काठमाडौं । वित्तीय विचलनका कारण प्रारम्भिक सहकारी संस्थाहरुमा समस्या आइरहेका बेला सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले केन्द्रीय सहकारी संघहरूलाई पनि वित्तीय रिपोर्ट सार्वजनिक गर्न आग्रह गरेका छन् । रजिस्ट्रार पण्डितले सहकारी ऐन, २०७४ को दफा २ (फ)लाई स्मरण गराउँदै विषयगत केन्द्रीय संघ, प्रदेश संघ र जिल्ला संघहरूलाई अबिलम्ब वित्तीय रिपोर्ट सार्वजनिक गर्न आग्रह गरेका हुन् । पाण्डेले सामाजिक सञ्जाल मार्फत नै भनेका छन्, –‘केन्द्रीय संघ, प्रदेश संघ र जिल्ला संघहरु सहकारी ऐनको दफा २(फ)अनुसार संस्थाको परिभाषामा संघ पनि पर्ने भएकोले संघहरूले पनि वित्तीय सूचक स्वतःजारी गर्नुपर्ने होइन र !! ढिला नगरौ श्रावण सम्मको सूचना शीघ्र जारी गरौं है ! गत आर्थिक वर्ष २०७८–७९ को संस्थाको वित्तीय विवरण सार्वजनिक गर्न रजिस्ट्रार पण्डितले आग्रह गरेका हुन् ।
ब्राजिलका र कोरियाका राजदूतले लिए शपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्राडा ज्योति प्याकुरेल भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । राष्ट्रपतिको कार्यालय महाराजञ्जमा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले राजदूत पदको शपथ गराएकी हुन् । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
गिरीको पार्थिव शरीर अन्त्येष्टिको लागि पशुपति पुर्याइयो
काठमाडौं । नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट शव यात्रासहित पशुपति आर्यघाट लगिएको छ । शवयात्रा सानेपा, सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाटसम्म पुर्याइएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन् । शनिबार राति निधन भएका गिरिको अहिले पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको काम भइरहेको छ । गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेससहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता पशुपति आर्यघाट पुगेका छन् । पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।
भरतपुरको मुहार फेर्न अहोरात्र खटिरहेका छौं : मेयर दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुहार फेर्न अहोरात्र खटिरहेको बताए्की छन् । आईतबार भरतपुर–१७ मा अवस्थित धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तिको अनावरण गर्दै मेयर दाहालले भरतपुरको जनताको मुहारमा खुसी ल्याउने गरी अहोरात्र खटिरहेको उल्लेख गरिन्। मेयर दाहालले विगत ५ वर्षमा पुरा हुन नसकेको अधुरा कामलाई निरन्तरता दिदै जनताको इच्छा र चाहानालाई सम्बोधन गर्दै अबको ५ वर्ष अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे। भरतपुर महानगरपालिकालाई नेपालकै नमुना महानगरका रुपमा स्थापित गर्न यहाँ आवश्यक पूर्वाधार निर्माण भइरहेकाले सुन्दर र सुसंस्कृति शहरका रुपमा परिचित हुने क्रममा रहेको मेयर दाहालको भनाई थियो । भरतपुरमा निर्माण भइरहेका पूर्वाधार निर्माण सम्पन्न हुदाँ देशभरबाट हेर्न आउने शहर बन्ने मेयर दाहालले बताइन्। ‘भरतपुर महानगरले सबै क्षेत्रलाई समेटेकै छ, उनले भनिन् ,‘जनताको हेरक सुख दुःखमा स्थानीय सरकार साथमा छ । महानगरबासीको इच्छा र चाहाना अनुसार विकासको कामलाई अगाडि बढाएको छौ । धेरै कामहरु गर्न बाँकी छ । ५ वर्षमा धेरै काम गर्न सकिन्छ ।’ सडक पूर्वाधार, भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा उल्लेख्य विकास भएकाले अब जनतालाई कसरी खुसी बनाउन सकिन्छ भन्ने तर्फ महानगरपालिकाले ध्यान केन्द्रीत गरेको मेयर दाहालको भनाई थियो । सबै धर्म, क्षेत्र, वर्गलाई भरतपुर महानगरपालिकाले समान दृष्टिकोणबाट प्रर्वधन गर्ने नीति लिएको मेयर दाहालले स्पष्ट पारिन्। महानगरपालिकाले प्राथामिकताको आधारमा सबै क्षेत्रलाई हरेक वर्ष बजेट विनियोजन गरी विकास निर्माणको कार्यलाई अगाडि लैजाने गरेको मेयर दाहालले बताइन्। भरतपुरमा निर्माणधिन योजनामा जनस्तरबाट अनुगमन गर्ने, खबरदारी गरी समयमै काम सम्पन्न गराउन स्थानीयबासीले भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो ।
राजनेता गिरीको निधनले सच्चा र असल नेता गुमायौं : गोपालमान श्रेष्ठ
काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले कांग्रेसका नेता एवं समाजवादी चिन्तक राजनेता प्रदीप गिरीको निधनले देशले एक सच्चा र असल नेता गुमाएको बताएका छन् । श्रेष्ठले सामाजिक संजाल मार्फत गरीको निधनले आफु स्तब्ध भएको भन्दै सो कुरा बताएका हुन् । उनले समाजिक संजालमा लेखेका छन्–‘नेपाली काङ्ग्रेसका नेता एवं समाजवादी चिन्तक वैचारिक राजनेता मेरा परम मित्र प्रदीप गिरीजीको असामयिक निधनको खबरले म स्तब्ध भएको छु। वहाँको निधनले एक सच्चा र असल नेता गुमाएको छ। उहाँको आत्माको चीरशान्तिको कामना गर्दै यस दुखद घडीमा शोकसन्तप्त समस्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
विमानस्थलमा पक्राउ परेका व्यक्तिलाई शौच गराउँदा एक किलो सुन निस्कियो
काठमाडौं । प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ । उनी फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका थिए । राहुलको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएको थियो । त्यसक्रममा प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चार वटा पोका फेला परेको प्रहरीले जनाएको छ । थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
पार्टी विभाजन र गठबन्धनले एमाले अप्ठ्यारोमा छ, यो एमालेको समस्या कि दश भाइको ? : सुरेन्द्र पाण्डे
पोखरा । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले २०५६ को चुनावमा जस्तै अहिले पनि एमाले अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् । अप्ठ्यारो परिस्थितिका बाबजुद एमाले चुनावको तयारीमा रहेको पाण्डेको भनाइ छ । आज प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले भने, ‘२०५६ सालमा भएको चुनावमा पार्टी विभाजित भए पनि हाम्रा विरुद्धमा कसैको गठबन्धन थिएन । अहिले हामी विभाजनको अवस्थामा पनि पर्ने र सँगसँगै विभिन्न दल मिलेर गठबन्धन पनि गर्ने दुई चुनौति हाम्रा सामु छन् । यी दुबै चुनौतिलाई हामीले गम्भीरतापूर्वक एनालाइसिस गरेका छौं ।’ नेकपा विभाजनको क्रम सँगसँगै एमालेभित्र पनि विभाजनको स्थिति उत्पन्न भएको, विभाजनको छाप छाडेको र जनतामा प्रभाव पनि परेको पाण्डेको भनाइ छ । पार्टी विभाजन र गठबन्धनबाट पर्न सक्ने प्रभावलाई परास्त गर्न मुस्किल भएको उनको भनाई थियो । अहिलेको राजनीतिक समस्याको समाधान अबको चुनावले पनि गर्न नसक्ने आशंकाकै बीचमा चुनावमा गइरहेको पाण्डेले बताए । आउने ५ वर्षले यसअघि भएका राजनीतिक अस्थिरता समाधान गर्न सक्यो भनेमात्रै देशले सही दिशा लिने पाण्डेको भनाइ छ । ‘परिस्थिति कस्तो देखिँदै छ भने आउने चुनावले पनि कुनै बहुमतको सरकार नहुने र कम्तिमा २/३ सरकार बन्ने सम्भावना बोकिरहेको हो कि भन्ने म देख्छु,’ पाण्डेले भने, ‘जुन ढंगले सरकारमा बसिरहेका दलहरुले वार्ता अगाडि बढाइरहेका छन् । कसैलाई बहुमत नदिने वार्ता गर्नुपर्छ भन्ने एकाथरी र बहुमत त गर्नैपर्छ भन्ने अर्को थरी । यसैले चुनावमा कुनै एउटा दलको बहुमत नहुने देखिन्छ ।’ बहुमत नपुगेपछि खिचातानी हुने र त्यसले अहिलेको असन्तुष्टि हटाउने भन्दा जारी राख्ने सम्भावना बढी रहेको पाण्डेले दाबी गरे । एमालेले यी सबैखाले समस्याको विश्लेषण गर्दै राजनीतिक घोषणा पत्र बनाइरहेको पाण्डेले बताए । पार्टीलाई एकताबद्ध बनाउन भनेर लाग्नेमध्येमा १० भाइ सहित आफू एकजना पनि रहेको तर त्यो आंशिकमात्र सफल भएको पाण्डेको भनाइ छ । महाधिवेशनपछि एमालेमा १० भाइ भन्ने अध्यायकै अन्त्य भइसकेको दाबी गरे । अबको चुनावमा टिकट पाउने सम्भावनाबारे पत्रकारको जिज्ञासामा पाण्डेले प्रतिप्रश्न गरे, ‘नेकपा एमालेभित्र इच्छुकजति सबैले टिकट पाउँछन् ? टिकट नपाउनेबित्तिकै एउटा बिल्ला लगाइदिएर हुन्छ ? कास्कीमै पनि अस्ति कसले टिकट पायो, पाएन भन्ने भएन, यो एमालेको समस्या कि दश भाइको ?’ आज सबै पार्टीभित्र धेरै–थोरै समस्या रहेको पाण्डेले बताए ।
मतदातालाई प्रभावित पार्ने कार्यक्रम सञ्चालन नगर्न आयोगको निर्देशन
काठमाडौं। निर्वाचन आयोगले मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचन स्वच्छता र निष्पक्षतामा प्रभाव पार्नेखालका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न नगराउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले शनिबार आयोगको नाममा विज्ञप्ति जारी गर्दै सो निर्देशन दिएका हुन् । आयोगले संघीय सरकार, प्रदेश सरकार र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको हो । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते आइतबारका दिन एकै चरणमा हुनेगरी घोषणा भई निर्वाचनको तयारीको काम भइरहेको सन्दर्भमा मतदातालाई प्रभावित पार्ने काम गर्न नहुने आयोगको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको पदावधि सकिनै लागेको बेलामा विभिन्न प्रदेशमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, पूर्वाधार विकास कार्यक्रमलगायतका विभिन्न नामका सम्बन्धित सभाबाट एकमुष्ठ रूपमा बजेटमा तोकिएका कार्यक्रमहरू निर्वाचनको मिति घोषणा भैसकेपछि छनौट गर्नेगरी कार्यक्रम सञ्चालन गर्न थालेको भन्ने जानकारीमा आएपछि त्यसो नगर्न आयोगले सम्बद्ध पक्षलाई निर्देशन गरेको आयोगले जनाएको छ । योजना तथा कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने र समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा प्रत्यक्ष असर पार्न सक्ने भएकाले त्यसो गर्न नहुने प्रवक्ता पौडेलले बताए। प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विपद् वा महामारीको पूर्वतयारी वा कुनै विपद्को अवस्थामा परी विपद् व्यवस्थापनसम्बन्धी काम गर्नुपर्ने वा मानवीय सहायता प्रदान गर्नुपर्ने वा स्वास्थ्य महामारीको अवस्थामा सोको सामना गर्न आवश्यक उपाय अवलम्बन गर्नुपर्ने विषय बाहेक कुनै पनि प्रकारका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न नगराउन हुन आयोगले तीनै तहका सरकारलाई स्पष्ट निर्देशन दिएको हो ।”
पाल्पामा भगवती जात्रा मनाइयो
पाल्पा । अङ्ग्रेजलाई पराजित गरेको सम्झनामा पाल्पाको तानसेनमा १०३ वर्षदेखि विजयोत्सव मनाइँदै आइएको छ । शनिबार पनि जात्राको नामले विजयोत्सव मनाइएको छ । भगवती जात्राको नामले पनि यो विजयोत्सवलाई चिनिन्छ । नेपालले अङ्ग्रेज सेनालाई युद्धमा जितेको खुसीयालीमा तानसेनमा विजयोत्सव मनाउन लागिएको हो । वि. सं १८७१ पौष देखि १८७२ जेठसम्मको लडाइमा पाल्पा नुवाकोट, बुटवल जितगढी युद्धमा नेपालले अङ्ग्रेजलाई पराजित गरेको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिरसिंह थापाको नेतृत्वमा दुई पटकसम्म अङ्ग्रेजसँग भएको युद्धमा नेपालले विजय हासिल गरेको थियो । युद्धमा अङ्ग्रेजी सेनालाई हराएको सम्झनामा वि।स।१८७६ देखी निरन्तर रूपमा प्रत्येक वर्ष पाल्पामा कृष्ण जन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाउने गरिएको छ । विजयोत्सवको भगवती रथ शनिबार दिउसो तीन पटक मन्दिरको परिक्रमा गराई सेना, प्रहरी र प्रशासकले श्रद्धापूर्वक पूजाआजा गरी तानसेन बजार परिक्रमा गरिएको रहेको भगवती गुठी व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले जानकारी दिए । कोभिड १९ को कारण दुई वर्षसम्म रोकिएको विजयोत्सव भगवती जात्रा यसपटक पुनः गरिएको हो । विजयोत्सवमा तत्कालीन समयमा अङ्ग्रेजसँग युद्धमा खटिएको सबुज गणको पनि सहभागिता रहेको थियो । तत्कालीन प्रशासक कर्णेल थापाले बुटवल जितगढी युद्धमा विजयी भएमा तानसेनमा भगवतीको ठूलो मन्दिर बनाई भगवतीको महिमा चारैतिर फैलाउने छु भनी भाकल गरेका थिए ।
कांग्रेस निर्वाचनमा केन्द्रित : ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने
काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले पार्टी केन्द्रिय कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गरी यही भाद्र १० गतेदेखि २४ गतेसम्म आगामी निर्वाचनलाई लक्षित गरी सोहि अभियान सुरु गर्ने जानकारी गराएको हो । जनताकोबीचमा जाने, जनताको कुरा सुन्ने र कांग्रेस नेतृत्वको सरकारले गरेका कामहरुको बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनको तयारीको कामलाई अघि बढाउने गरी अभियान संचालन गर्न लागिएको पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार यो अभियानमा पार्टीका केन्द्रिय प्रतिनिधिहरु सबै जिल्लामा सहभागी हुनेछन । उनीहरुको नेतृत्वमा प्रदेश समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति हुँदै सोही अभियानमा वडा तहसम्मका पार्टीका समितिहरु परिचालित हुनेछन । उनले भने– ‘अहिले ‘जनताको साथमा कांग्रेस’ अभियान आउँदो भाद्र १० गतेदेखि संचालन हुन्छ । त्यसपछि दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि जनताकाबीचमा जाने कार्यक्रम हुन्छ । र, त्यसपछि निर्णायक उम्मेदवारहरु चयन भएपछि १६५ वटै संघको निर्वाचन क्षेत्र र ३ सय ३० वटा प्रदेशको निर्वाचनमा क्षेत्रमा चुनावी प्रचार अभियानको कार्यक्रम हुन्छ । हामीले मुलतः यो अभियान जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र त्यसलाई आत्मासात गर्ने र सँगसँगै नेपाली काँग्रेसको नेतृत्वमा हामीले के–के काम गर्यौं । के कस्ता उपलब्धी भए र आउने दिनमा के कार्यक्रम छन भनेर प्रस्तुत गर्छौ । यी विषयवस्तुमा केन्द्रित रहेर यो अभियान अगाडि बढछ । र, चुनावी तालमेल गरेर जाने भनेका छौं । यस विषयमा पनि त्यहाँ जानकारी लिने, परिस्थिति बुझ्ने र यसको आवश्यक्ताको बारेमा पनि हामी चर्चा, परिचर्चा गर्ने र त्यो किसिमको माहौल बनाउने अभियानको मूल उद्देश्य हुनेछ । ७७ वटै जिल्लामा पार्टीका केन्द्रिय सदस्यहरु परिचालित हुनुहुनेछ । भोलीनै पार्टी सभापतिको उपस्थितिमा उनीहरुलाई अभिमुखिकरण कार्यक्रम हुन्छ । केन्द्रिय प्रतिनिधिहरु सबै जिल्ला गएर जिल्ला कार्य समितिको बैठक राखेर विभिन्न तहलाई परिचालन गरी सो अभियानलाई सफल बनाउने योजना तय गर्नेछन ।’ प्रवक्ता महतले सत्तारुढ गठबन्धनबीचको सिट बाँडफाँडको टुंगो लगाउने काम कठिन नभएको बताए। निर्वाचनमा परिणाम गठबन्धनको पक्षमा आउने गरी सिट बाँडफाँड गर्ने कुरालाई आफ्नो पार्टीले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले गठबन्धनमा आवद्ध दलहरु सबै वीनवीन हुने गरी त्यसको टुंगो लगाउने बताए । प्रवक्ता महतले मतदातालाई स्वभाविक लाग्नेगरी सिटमा दावी गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरुलाई आग्रह गरे । त्यसो हुन नसके चुनावमा गठबन्धनले अपेक्षित परिणाम ल्याउन नसक्ने उनको भनाइ थियो । प्रवक्ता महतले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने गरी चुनावी प्रचार अभियानमा आफ्नो पार्टी केन्द्रित भएको बताए ।
२१ सय थान लागु औषधसहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–२० बाट दुई जना भारतीय नागरिक लागु औषधसहित पक्राउ परेका छन् । प्रहरी चौकी वसन्तपुरले गण्डक नहर चोकबाट शनिबार उनीहरूलाई पक्राउ गरेको हो । भारतको बिहारबाट नेपाल आएको बीआर ३० आर ९३९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना ग्राम पञ्चायत कोरैया–१ का ३२ वर्षीय चन्दन मिश्रा र २ का २५ वर्षीय धर्मजित कुशवाहालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको पिठ्युँमा बोक्ने झोलाभित्र लुकाई छिपाई नेपालमा बिक्रीका निम्ति ल्याएको डाइजेपाम, फेनारगन र नुर्फिन ६–६ सय थान र नाइट्राभेट–१० तीन सय थान लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । लागुऔषध फेला परे पश्चात उनीहरू सवार मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय बारा ल्याइएको छ । खुल्ला सीमाका कारण बारा लागुऔषध कारोबारीहरूका लागि मुख्य ट्रान्जिट बन्दै आएको छ ।
रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ शंकरनगर चोकमा शनिबार बिहान २ बजे स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २१ प ९५९४ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका–१ का ३० वर्षीय शंकर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै, घाइते भएका स्कुटरमा पछाडी सवार एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर अनियन्त्रित भइ पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
करेन्ट लागेर बाबु र छोराको मृत्यु
नेपालगञ्ज। नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।

