देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित छ ।
आज (बुधबार) बिहान प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सामान्य बदली रहेको छ । अन्य प्रदेशहरूमा भने मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो भने प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । साथै प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, बागमती प्रदेशका केही स्थानमा भने मेघगर्जन–चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
बुधबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा भने मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का अगाडि नबढाउन अन्तरिम आदेश
काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको छ। गत साउन २५ गते उच्च अदालत तुलसीपुर इजलास बुटवलका न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा गत भदौ १७ गतेको अन्तरिम आदेशमार्फत् त्यसलाई निरन्तरता दिएको हो। लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले निश्चित कम्पनीलाई मात्रै मिल्ने गरी मिलेमतोमा अस्पताल भवन निर्माणको लागि ठेक्का आह्वान गरेको भन्दै निर्माण व्यवसायी बलिभद्र रानाले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट दायर गरेका थिए। उक्त रिटमा अदालतले तत्काल प्रक्रिया रोक्न आदेश दिएको हो। उच्च अदालत बुटवल इजलासका सूचना अधिकारी सुवर्णप्रसाद खनालका अनुसार अदालतका न्यायाधीशद्वय कृष्णबहादुर थापा र रमेशराज पोखरेलको इजलासले बोलपत्रको मापदण्डमा समेत फरक पर्ने गरी चार पटकसम्म बोलपत्र संशोधन गरेको देखिएको र बोलपत्रबारे सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत प्राधिकरणलाई दुई पटक पत्र पठाएर ध्यानाकर्षण गराएको भन्दै सुविधा र सन्तुलनको दृष्टिबाट अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको जानकारी दिए। भदौ १७ गते पेस भएको उक्त मुद्दामा रिट निवेदकको तर्फबाट अधिवक्ताहरू वासुदेव रिजाल र राजकुमार ढकालले बहस गरेका थिए भने प्रदेश पूर्वाधार विकास प्राधिकरण र लुम्बिनी प्रदेश सरकारको तर्फबाट लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी, अधिवक्ताहरू दिनामणि पोखरेल, वीरेन्द्र खड्का र रेगबहादुर विष्टले बहस गरेका थिए। प्रदेश विकास पूर्वाधार प्राधिकरणले ६ अर्ब ७० करोड रुपैयाँ लागतमा अस्पतालको १० तले भवन निर्माणको लागि आह्वान गरेको टेण्डरमा निश्चित निर्माण व्यवसायीलाई मात्र टेण्डर प्रक्रियामा सहभागी हुन मिल्ने गरी प्रावधान राखेको भन्दै निर्माण व्यवसायीहरूले विरोध जनाएका थिए। निर्माण व्यवसायी बलिभद्र रानाले ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएको भन्दै प्रदेश पूर्वाधार प्राधिकरणको नेतृत्व गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट हालेका थिए।
चितवन क्षेत्र नं-२ को प्रदेश सभा‘ख’मा निशा न्यौपाने सिफारिस
भरतपुर । चितवन क्षेत्र नं.२को प्रदेश सभा ‘ख’ सदस्यमा प्रत्यक्ष तर्फ निशा न्यौपानेको सिफारिस भएको छ। निशा न्यौपाने वेपत्ता नेता दन्डपाणी न्यौपानेकी छोरी हुन् । उनी वि.सं.२०५७ साल देखि पूर्णकालिन कार्यकर्ता भएकी निशा न्यौपानेले, जनयूद्व को समयमा कठोर यातना, सैनिक हिरासत र एक वर्ष जेल जीवन बिताएकी थिइन्। विद्यार्थी राजनितिको पृष्ठभूमिबाट माओवादी केन्द्रको राजनीतिमा अघि बढेकी न्यौपाने २०७० सालमा समानुपातिक उम्मेदवारको रुपमा निर्वाचनमा सहभागी थिइन् । न्यौपाने हाल नेकपा(माओवादी केन्द्र) भरतपुर महाननगरपालिका कमिटीको सचिव रुपमा राजनीतिमा सक्रिय छन् ।
सरकारले छिट्टै भ्रमण दशक घोषणा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक(२०२३–२०३३) घोषणा गर्ने तयारी गरेको बताएका छन। नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन–२०२२ लाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले सन् २०२३ देखि २०३३ को दशकलाई ‘नेपाल भ्रमण दशक’को रूपमा मनाउन आवश्यक तयारी अगाडि बढाएको बताए। पर्यटक आगमन बढाउन तथा पर्यटन उद्योगको विकासका लागि भ्रमण दशकको अवधारणा ल्याइएको मन्त्री श्रेष्ठको भनाइ छ । पर्यटन क्षेत्रको दिगो विकासका लागि भ्रमण वर्षभन्दा भ्रमण दशक आवश्यक भएकोले भ्रमण दशक कार्यक्रमलाई अघि सारिएको मन्त्री श्रेष्ठले बताए । पर्यटन क्षेत्रको पुनरुत्थानका लागि आफुले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना अघि सारेको उनले बताए । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गुणस्तरीय सिपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए। न्याथमले गुणस्तरीय सेवा प्रदान गरी सरकारी शैक्षिक संस्थाका रुपमा नमूना प्रस्तुत गरेको मन्त्री श्रेष्ठले बताए । पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनलाई सरकारले प्राथमिकता दिएको बताउँदै उनले पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी शिक्षालाई स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिए । होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्वन्धी शिक्षा र तालीम प्रदान गर्ने एक मात्र सरकारी निकायका रुपमा रहेको प्रतिष्ठानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरणको व्यवस्था गरिने उनले बताए । मुलुकका सबै जातजाति र भाषाभाषीका स्थानीय खानाका मौलिक परिकारको अनुसन्धान गर्ने कार्यक्रम पनि प्रतिष्ठानले अघि सारेको छ । विभिन्न जातीय आतिथ्य र स्वागत गर्ने परम्परागत संस्कृति र शैलीबारे पनि अध्ययन – अनुसन्धान अघि बढाउने प्रतिष्ठानले योजना बनाएको छ भने सार्क सदस्य मुलुक, बिमस्टेक र चीनका विद्यार्थीलाई लक्षित गरी अन्तर्राष्ट्रियस्तरको पढाइ सञ्चालन गर्ने योजना समेत अघि सारेको छ । पर्यटकीय जनशक्ति उत्पादनमा काम गर्दै आएको नाथमले स्थापनाको पचास बर्ष पुगेको अवसरमा पर्यटन सम्मेलन आयोजना गरेको हो । दुई दिनसम्म चल्ने सम्मेलनमा देश विदेशका पर्यटन क्षेत्रका विज्ञ, प्राध्यापक तथा व्यवसायीहरुले पर्यटन क्षेत्रका विभिन्न आयामहरुबारे छलफल गर्नेछन् ।
भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति भण्डारी समक्ष भाषा आयोगका अध्यक्ष अवस्थीले आयोगको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्। प्रतिवेदन पेश गर्दै भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले आयोगले नेपाली भाषाका अतिरिक्त विभिन्न ११ वटा अन्य भाषालाई प्रदेशगत रुपमा सरकारी कामकाजको भाषाको रुपमा सिफारिस गरेको बताए । अध्यक्ष अवस्थीले भाषाको संरक्षण, संवर्द्धन र विकासका लागि भाषिक सर्वेक्षण गर्न आवश्यक रहेको उल्लेख गदै मातृ भाषाको प्रयोग र विस्तारमा जोड दिनुपर्ने आयोगको सुझाव रहेको पनि बताए। कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले भाषा संरक्षण एवम् संवर्द्धनका लागि भाषा आयोगले खेलेको भूमिका सराहानिय रहेको बताए । समारोहमा राष्ट्रपति कार्यालयका उच्च पदस्थ अधिकारी, भाषा आयोगका पदाधिकारी, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री देउवाद्वारा नेतृ लिज ट्रसलाई बधाई
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकामा उनलाई बधाई दिएका छन। सठचालिस वर्षिया लिज ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उनले आज संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा नियुक्त हुँदै छन । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उनीसँग काम गर्न आफू तत्पर रहेको बधाई सन्देशमा उल्लेख गरेका छन् ।
हट्यो भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता
दोधारा चाँदनी। कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ । भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो । विसं २०७४ मा निर्माण सुरु गरिएको पुलको काम सम्पन्न भइसकेको छ, भने पुलसँगै पहुँच मार्ग पनि निर्माण भइरहेको छ । पुल सञ्चालनमा आएपछि हाल दोधारा चाँदनीका बासिन्दाले यही बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका छन् । यसअघि पैदलयात्रु र दुई पाङ्ग्रे सवारीसाधनको आवागमन झण्डै डेढ किलोमिटर लामो झोलुङ्गे पुलबाट हुने गरे पनि चारपाङ्ग्रे सवारीसाधन भारतको शारदा ब्यारेजबाट मात्र सम्भव थियो । महाकाली नदीमा पक्की पुल बनेपछि त्यो बाध्यता अन्त्य भएको छ । दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरि सिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेवल पुलले दोधारावासीलाई धेरै राहत मिलेको बताए । “हामीलाई सर–सामान ल्याउन धेरै समस्या हुन्थ्यो शारदा ब्यारेजमा भारतीयले ढोका नखोल्ने, घण्टौं कुर्नुपर्ने बाध्यता थियो ।” उनले भने,“सबैभन्दा ठूलो समस्या बिरामी अस्पताल लैजान हुन्थ्यो महेन्द्रनगर जान चारपाङ्ग्रे सवारी शारदा ब्यारेजबाट मात्रै सम्भव थियो ।” दोधारा–चाँदनी नगरपालिकालाई दुई दशकअघि बनेको एक हजार चार सय ९५ मिटर लामो झोलुङ्गे पुलले पनि निकै राहत दिएको थियो । मानिसको आवतजावत र दुई पाङ्ग्रे सवारी साधनले महाकाली तर्न यही झोलुङ्गे बनेपछि मात्र सम्भव भएको थियो । “शारदा ब्यारेजमा भारतीय पक्षको एकाधिकार भएका कारण यो बाटो आवतजावत गर्दा धेरै दुःख झेल्नुपरेको थियो ।” वडाध्यक्ष धनाडीले भने–“अहिले पुल बन्दा आफ्नै सवारीसाधन प्रयोग गरेर महेन्द्रनगर सदरमुकाम आउजाउ गर्न सहज भएको छ ।” महाकाली पारीको गाउँ भनेर समेत चिनिने दोधारा चाँदनी नगरपालिकामा ५४ हजार बढी जनसङ्ख्या छ । “महेन्द्रनगर सदरमुकाम आउन भारतको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।” दोधारा चाँदनीवासी आकृति कसेराले भने–“अब भारतीय सुरक्षाकर्मीको अनावश्यक तनाव झेल्नुपर्ने छैन,महाकालीमा बनेको पुलले धेरै सजिलो भएको छ ।” उनले यसअघि महेन्द्रनगरबाट सर–सामान दोधारा चाँदनी ल्याउन निकै सकस हुने गरेको बताए । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इञ्जिनीयर किशोर पाण्डेयले पुलको काम सम्पन्न भइसकेको बताए । “अहिले पुलबाट अस्थायी रुपमा दोधाराचाँदनी आवतजावत भइरहेको छ ।” उनले भने,“पुलको पहुँच मार्ग र पोखरी निमार्ण गर्न बाकी छ ।” उनका अनुसार पुल निमार्णको ९० प्रतिशत भौतिक प्रगति भएको छ भने ८१ प्रतिशत वित्तीय प्रगति भएको छ । आठ सय मिटरको लम्बाइ र २३ दशमलव आठ मिटरको चौडाइ रहेको पुल निर्माणसँगै गड्डाचौकीसम्म जोड्ने छ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । दोधाराचाँदनी नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको सडक निर्माण अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । पुलसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नदीका दुवै किनार तर्फको ६००/६०० मिटरसम्म ठूलो पोखरीसमेत निर्माण हुने महाकाली पुल आयोजना कार्यालयले जनाएको छ ।
भारतीय स्थल सेनाध्यक्षले आज प्रधानमन्त्रीलाई भेट्ने
काठमाडौं । नेपाल भ्रमणमा रहेका भएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै छन् । भारतीय स्थल सेनाध्यक्ष पाण्डेले दिउँसो ३ बजे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । मंगलबार बिहान उनले माउन्टेन फ्लाइट गरे भने शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम रहेको छ । साँझ पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम छ । भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन् । भारतीय स्थल सेनाध्यक्ष पाण्डेले भारतीय सेनाको तर्फबाट हिजो नेपाली सेनालाई ‘माइन प्रोटेक्टिभ’ सवारीसँगै केही स्वास्थ्य सामग्री र घोडा हस्तान्तरण गरे ।
आज देशभर मौसम बदलीसँगै मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित छ । विभागका अनुसार प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीका साथै प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम ३० दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
यूएनको ७७औं महासभामा प्रधानमन्त्री अमेरिका नजाने, परराष्ट्र मन्त्री खड्का जान सक्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक पनि अमेरिका भ्रमणमा नजाने भएका छन् । संयुक्त राष्ट्र संघ (यूएन)को ७७औं महासभामा सहभागी हुन उनी अमेरिका जाने चर्चा थियो । प्रधानमन्त्री देउवाको अमेरिकाको भ्रमणका लागि पटकपटक तयारी गरिए पनि भ्रमणको मिति तय हुन सकेको थिएन । पछिल्लो पटक यही १३ सेप्टेम्बरदेखि २७ सेप्टेम्बरसम्म हुने यूएनको ७७ औं महासभाको अवसरमा उनको अमेरिका भ्रमणको तय गरिएको थियो । तर अन्तिम समयमा सो सभामा प्रधानमन्त्री सहभागी नहुने भएका हुन् । एक त नेपालमा निर्वाचनको मिति तय भइसकेकको र अर्को अमेरिकाबाट द्विपक्षीय भ्रमणका विषयमा निश्चित मिति नआएको कारण प्रधानमन्त्री देउवा यूएन महासभामा सहभागी हुन अमेरिका नजाने मुडमा पुगेको बताइएको छ । सो महासभामा नेपालको प्रतिनिधिका रुपमा परराष्ट्रमन्त्री नारायण खड्का जाने बताइएको छ । खड्काको भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरेको भए पनि आगामी मन्त्रिपरिषदको निर्णयपछि मात्र पक्का हुनेछ । न्युयोर्कमा हुने महासभामा संयुक्त राष्ट्रसंघका सदस्य मुलुकका सरकार प्रमुख–राष्ट्रप्रमुख सहभागी हुने चलन छ ।
डेङ्गुका बिरामीले भरिँदै काठमाडौं उपत्यकाका अस्पताल
काठमाडौं । उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन्। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन्। टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या पाउनै मुस्किल छ। उक्त अस्पतालमा चार जना बिरामीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको डेङ्गुका कारण मृत्यु भएको छ। अस्पतालका उपनिर्देशक डा। सुवास आचार्यले दिएको जानकारीअनुसार ३५ वर्षीय युवकको डेङ्गुका कारण मृत्यु भएको जानकारी दिए। शिक्षण अस्पतालको आकस्मिक कक्षमा आउने अधिकांश बिरामी डेङ्गुको लक्षण लिएर आउने गरेका छन्। उच्च ज्वरो, थकान, जोर्नी दुख्ने, आँखाको गेडी सुन्निने जस्ता लक्षण लिएर आउने अधिकांश बिरामीमा डेङ्गु पुष्टि भएको छ। अस्पतालका उपनिर्देशक डा। आचार्यले शिक्षण अस्पतालको आकस्मिक वा ओपीडीमा आउने अधिकांश बिरामीमा डेङ्गु पुष्टि भएको जानकारी दिए। उनका अनुसार डेङ्गु पुष्टि भएर घरमै आराम गरी बस्ने बिरामीको सङ्ख्या सयौँ छ। हाल शिक्षण अस्पतालमा भर्ना भएका डेङ्गुका बिरामी ११ जना रहेका छन्। टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता नवराज गौतमले अस्पतालमा डेङ्गु बिरामीका लागि शय्यासमेत पाउन मुस्किल परेको जानकारी दिए। टेकुमा २२ जना बिरामीलाई भर्ना गरेर राखिएको छ। तीमध्ये चार जनालाई आईसीयूमा राखिएको छ। यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।
तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस : उपराष्ट्रपति पुन
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाली हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिएका छन् ।तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस भन्ने शुभकामना व्यक्त गरेका छन् । यस्तो छ शुभकामना सन्देश –‘नेपाली हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तीज–२०७९ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो । हाम्रो मौलिक संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्वहरु हाम्रो गौरव हुन् । चाड पर्वहरुले हाम्रो सामाजिक सद्भावलाई सुदृढ् र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका छन् । हरितालिका तीज विशेष गरी नेपाली हिन्दु महिलाहरुको प्रमुख धार्मिक पर्व भए तापनि आम नेपाली दिदीबहिनीहरुले हर्षोल्लासका साथ यो पर्व मान्ने गर्नुभएको छ । आफ्नो स्वास्थ्य भन्दा महत्वपूर्ण अरु हुन सक्दैन । आफ्नो स्वास्थ्यलाई ध्यान दिएर तीज पर्व मान्न म सम्पूर्ण दिदीबहिनीहरुलाई आग्रह गर्दछु । हाम्रा धार्मिक तथा सांस्कृतिक चाड पर्वहरु कतिपय परम्पराबाट माथि उठेर मनाउन आवश्यक छ । यस वर्षको तीज पर्व सिर्जनशील र उल्लासमय रहोस्, हरितालिका तिजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस्, हार्दिक शुभकामना ।
सरकार धार्मिक एवं सांस्कृतिक पर्वलाई सम्वर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासन प्रतिको चाहनालाई व्यवहारमै रूपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन् । साथै, उनले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वर्द्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । हिन्दु धर्मावलम्वी नेपाली महिलाको महान पर्व हरितालिका तीज पर्वको अवसरमा एक शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीका सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् । खासगरी नेपालमा भाद्र शुक्ल पक्ष तृतीयाका दिनलाई भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै हिन्दु महिलाहरूले हरितालिका तीज पर्व मनाउने भए पनि हालका दिनमा नेपालमा सबै धार्मिक समुदायले यस पर्वलाई पारिवारिक सु–स्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासका साथ श्रद्धा पूर्वक मान्ने गरेको पाइन्छ । प्रधानमन्त्री देउवाले सांस्कृतिक पर्व हरितालिका तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास लिएका छन् । साथै, उनले यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रुपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।
तीजले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने बताइन् । “महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु”, उनले सन्देशमा भनेकी छन् । उनले तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र सौभाग्यका लागि कामना गर्नु व्यक्त गरेकी छन् । “हिन्दु धर्मावलम्बी महिलाले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्व रही आएको पाइन्छ”, उनको सन्देशमा भनिएको छ, “परापूर्वकालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ ।” आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचार युक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्नु अति आवश्यक रहेको सन्देशमा उल्लेख गरिएको छ । तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बन्न गएको पक्षलाई सबैले मनन गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छन्, “हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु ।” रासस
सम्पदा यात्राका लागि ‘होप अन हप अफ’ बस संचालनको तयारी तीव्र
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटकहरुलाई सहज बनाउन ‘होप अन हप अफ’ सिटी बस सञ्चालनबारे सरोकारवालाहरुसँग छलफल गरेका छन् । मन्त्रालयमा आज भएको छलफलमा बस व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी लगायत सरोकारवालाको उपस्थिति थियो । काठमाडौंका साँस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरुलाई सम्पदा क्षेत्र अवलोकनमा सार्वजनिक सवारी सहज बनाउन ‘होप अन हप अफ’ बस संचालन गर्न लागिएको जानकारी दिए । काठमाडौंमा पर्यटकहलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा हैरानी खेप्नुपरेको गुनासो आउने गरेको छ । काठमाडौंका विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा ‘होप अन हप अफ’ बस संचालन भएपछि पर्यटकहरु केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । ‘होप अन हप अफ’ का लागि अन्तराष्ट्रिय मापदण्ड अनुरुपका बस सेवा सञ्चालन गर्नुपर्ने सरोकारवालाको सुझाव छ । पहिलो चरणमा साझा यातायातका विजुली बसलाई ‘होप अन हप अफ’ का लागि प्रयोग गर्ने तयारी गरिएको छ । साझा यातायात संचालक समितिका सदस्य भुषण तुलाधरले दुई महिनाभित्र बस सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको बताए । अपाङ्गता तथा जेष्ठ नागरिकमैत्री बसमा पर्यटक पथप्रदर्शक समेत हुनेछन् । २७ किलोमिटरको मुख्य सम्पदा यात्राका लागि करिव साढे २ घण्टा समय लाग्नेछ । पाँच वटा बस तीस–तीस मिनेटमा छुट्ने गरी तयारी गरिएको तुलाधरले बताए। मन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थान कार्ययोजनामा ‘होप अन हप अफ’ बस संचालनलाई प्राथमिकता दिएका छन् । उनले पर्यटन क्षेत्र विकासको लागि साँस्कृतिक सम्पदाहरूलाई संरक्षण र संवर्द्धन गर्दै अर्थतन्त्रमा टेवा पुग्ने गरी कार्ययोजना अगाडि बढाइएको बताए । पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्नयोग्य छ भन्ने सन्देश अन्तराष्ट्रिय बजारमा प्रवाह गर्ने योजना बनाइएको उनले बताए ।
काठमाडौंपछि पोखरा महानगरपालिका पनि तात्यो, पार्किङबारे ३५ दिने सूचना
कास्की । पोखरा महानगरपालिकाले भूमिगत तला ३५ दिनभित्र पार्किङ प्रयोजनका लागि खुला गर्न निर्देशन दिएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाइरहेका बेला पोखराले पनि त्यस्तै अभियान थाल्न लागेको हो। काठमाडौंले पार्किङ प्रयोजनको लागि भनेर नक्सा पास गरेका तर अन्य प्रयोजनमा लगाइएका संरचना हटाउन थालेको हो । यही क्रममा पोखरा महानगरपालिकाले पनि एक सूचना जारी गर्दै महानगरले ३५ दिनभित्र अवैध संरचना हटाएर पार्किङ प्रयोजनको लागि लगाउन घरधनीलाई भनेको हो । महानगर क्षेत्रभित्र पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तलासहितका भवनहरूको भूमिगत तलालाई पार्किङमा प्रयोग नगरी अन्य प्रयोगमा ल्याएकाहरू खाली गरेर पार्किङ प्रयोजनमा ल्याउन भनेको हो । ३५ दिनभित्रमा खाली गरेर पार्किङको रूपमा प्रयोगमा नल्याए । कानून बमोजिम कारवाही हुने चेतावनी दिएको छ । पोखरा महानगर क्षेत्रमा करिब २५० वटा अन्डर ग्राउन्ड सहितका भवन छन् । त्यसमध्ये करिब ६० वटा भवनले मात्रै प्रयोजन अनुरूप अन्डरग्राउन्डलाई पार्किङका रूपमा प्रयोग गर्दै आएका छन् । महानगर प्रमुख धनराज आचार्यले केही दिन अगाडि पोखरामा रहेका अन्डरग्राउन्ड पार्किङलाई पार्किङ कै रूपमा प्रयोग गर्न आग्रह गरेका थिए । महानगरपालिकामा एकद्वार प्रणालीको शुभारम्भ गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख आचार्यले पार्किङ प्रयोजनका भवनलाई पार्किङमै प्रयोग गर्न सबैमा अनुरोध गरेका थिए । महानगरपालिकाबाट राजश्व छुट लिएर पार्किङ प्रयोजनका लागि निर्माण गरिएका बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको भए महानगरले तोकेको समयावधि भित्र हटाउन उनको अनुरोध थियो । महानगरको आग्रहलाई अटेर गरे महानगर आफैले हटाउने र त्यस बापतको क्षतिपूर्तिसमेत सम्बन्धित व्यवसायीहरूबाट असुल उपर गरिने उनको चेतावनी थियो ।

