ऊर्जामन्त्री भुसाल र स्लोभाक गणतन्त्रका राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि स्लोभाक गणतन्त्रका नवनियुक्त राजदूत रोबर्ट म्यक्सियनबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र जल तथा मौषम विज्ञानका विविध विषयमा छलफल भएको छ ।
सो अवसरमा मन्त्री भुसालले विगत २० वर्षदेखि दुई देशबीच रही आएको सुमधुर सम्बन्ध मित्रता, हार्दिकता, आपसी सहकार्य र सद्भावमा आधारित रहेको उल्लेख गर्दै युरोपेली सङ्घको सदस्य मुलुक स्लोभाकले नेपालको सामाजिक एवं आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रति धन्यवाद व्यक्त गरिन् ।
विकास साझेदार मुलुकहरूको सहयोगमा नेपालले सुशासन एवं सामावेशी नागरिक सहभागिताको लक्ष्यमार्फत स्थितरता, प्रगति एवं दिगो विकासका लक्ष्य प्राप्त गर्ने उद्देश्य लिएको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जलवायु परिवर्तन एवं मौषम पूर्वानुमानका विषयमा स्लोभाकसँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताइन् ।
नेपालको आर्थिक विकासको प्रमुख आधारमध्ये पर्यटन प्रवद्र्धन एक रहेको बताउँदै उनले उल्लेख्यमात्रामा नेपाल आउने स्लोभाक पर्यटकका कारण दुई देशबीचमा जनस्तरको सम्बन्ध विकास भएकोप्रति खुशी व्यक्त गरिन् ।
सो अवसरमा राजदूत रोबर्ट म्यक्सियनले नेपाल र स्लोभाक गणतन्त्र दुवै भपरिवेष्ठित मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । आफ्नो देशमा मौषसजन्य प्रविधिको राम्रो विकास भएको जानकारी गराउँदै उनले स्लोभाकमा उत्पादन भएका राडार, पूर्वानुमानका पूर्वाधार विकासमा सहकार्य गर्न सकिने विश्वास दिलाए। भेटमा सहसचिव द्वय बाबुराम भण्डारी, चिरन्जीबि चटौतसहित परराष्ट्रका अधिकारीको उपस्थिती थियो ।
काठमाडौंमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक प्रहरी हवल्दारको मृत्यु
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै गएराती स्कुटर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटर चालक काठमाडौंकै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् । अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराती पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको बुझिन आएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडी जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ । मोटरसाइकलमा पछाडी सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ । बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे ठोकिएका थिए ।
झापाको गौरादहमा आगलागी, १५ लाखको क्षति
काठमाडौं । झापाको गौरादह नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गरेको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उनका अनुसार आज बिहान अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट फर्निचरको छेउमा रहेको बास र टिनको छानो भएको टहरा पूर्णरूपमा जलेर नष्ट भएको छ भने उक्त टहराभित्र रहेको मेसिन, काठ र फर्निचर जलेर करिब रु १५ लाख बराबरको क्षति भएको हो । आगलागी नेपाल प्रहरी, स्थानीयवासी, गौरादह, दमक नगरपालिका र कमल गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।रासस
कार्यकारिणी अधिकार प्रयोग गरियो, ‘मिचाहा वर्ग’लाई कानुन मिचिरहन दिइन्न : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन शाहले ‘मिचाहा वर्ग’लाई कानुन मिचिरहन र अझ मोटाइरहन नदिने प्रतिवद्धता जनाएका छन् । उनले आवश्यकता र औचित्यको आधारमा उचित समयमै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा आफू विश्वस्त रहेको पनि प्रस्ट पारेका छन् । काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृत संरचना भत्काउने र एउटा प्रयोजनका लागि स्वीकृति लिएको संरचना अन्य प्रयोजनमा प्रयोग गरेको सम्बन्धमा अनुगमन गरी जुन संरचना जे प्रयोजनका लागि निर्माण स्वीकृति लिएको हो, सोही प्रयोजनमा प्रयोग गर्न र गराउन पछिल्लो समय सक्रियता बढाएको हो । यसै सन्दर्भमा आएका प्रतिक्रियाका बारेमा सामाजिक सञ्जालमार्फत प्रष्टिकरण दिँदै महानगर प्रमुख शाहले भनेका छन्, ‘सकेसम्म मिचाहा प्रवृत्तिको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिनाहालाई दण्डित पनि गर्ने विकल्प हामीसँग खुला छन् ।’ अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानुनी कार्यको थप निरन्तरता रोक्न अहिले आफूहरु मूलतः रोकथाम तथा नियन्त्रण सम्बन्धी कारवाहीको चरणमा रहेको उनले प्रस्ट पारेका छन् । ‘कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानुनी आधार स्वतः शून्य हुन्छ । आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृतिबिना निर्माण कार्य गर्न पाउँदैनन्,’ उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘साथै, निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अब उप्रान्त थप संरचना निर्माण नगर्ने र त्यसो गरेको खण्डमा महानगरले आदेश दिएका बखत भत्काउनेछु भनी महानगरसँग सम्बन्धित व्यक्ति वा संस्थाले कवुलियत गरेका हुन्छन् । महानगरले आफ्नो नियामक दायित्व पूरा गर्ने क्रममा यस तथ्यलाई पनि विशेष ध्यान दिएको छ ।’ महानगर प्रमुख शाहले कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैले गरेको कवुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व रहेको प्रस्ट पारेका छन् । ‘कानुनको अनुपालना गर्न ३५ दिनको सूचना दिँदा पनि अटेर गरेपछि गैरकानुनी कार्यको रोकथाम तथा नियन्त्रण गर्न महानगरीय प्रहरी बलको परिचालन गर्नु पर्ने परिस्थिति आएको सर्वविदितै हो,’ उनले भनेका छन्, ‘स्मरण रहोस्, भूइँ तला वा बेसमेन्टमा पार्किङ गर्ने गरी भवनको नक्सा स्वीकृति लिएका व्यक्ति वा संस्थाले सो बापत महानगरबाट तला थप लगायतका विभिन्न सुविधा पनि लिइरहेका छन् । तर कतिपय व्यक्ति वा संस्थाले आफूले महानगरबाट पाउने सवै सुविधा लिने तर कवुलियतनामाका शर्तहरु भने उल्लंघन गर्ने गरेको अवस्था व्यापक छ ।’ नेपालको संविधान र कानूनले काठमाडौं महानगरपालिकालाई कानुन बनाउने व्यवस्थापकीय अधिकार, कानुन कार्यान्वयन गर्ने कार्यकारिणी अधिकार तथा विवाद निरुपण गर्ने न्यायिक अधिकार सुम्पिएको स्मरण गराउँदै उनले वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहीत कार्यकारिणी अधिकार प्रयोग गरेको पनि प्रस्ट पारेका छन् । ‘कतिपयले अनधिकृत संरचना हटाउनु पूर्व न्यायिक निरुपणको पनि अपेक्षा गर्नु भएको रहेछ । गैरकानुनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नु पर्ने हुन्छ, त्यसपछि मात्र दोषीलाई कारवाही गर्न न्याय निरुपण गरिन्छ,’ उनले भनेका छन्, ‘कानुनको अनुपालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्य यसै सन्दर्भमा बुझ्नु उचित हुन्छ ।’ आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुदैन भन्ने आफूहरुको दृढ मान्यता रहेको उनले उल्लेख गरेका छन् । ‘कार्यकारिणीको अकर्मण्यताबाट सिर्जित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याका उपक्रमहरु विकसित भएका हुन् । तसर्थ, न्यायिक निरुपण पछिमात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ महानगर प्रमुख शाहले भनेका छन् । उनले भनेका छन्, ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुइँ तला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानुनी छ ।’
भिजिट भिसामा खाडी मुलुक उड्न लागेका १९७ जनालाई विमानस्थलबाट फर्काइयो
काठमाडौं । भिजिट भिसामा खाडी मुलुक उड्न लागेका १९७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको हो। कार्यालयले गत बिहीबार देखि अहिलेसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको कार्यालयले जानकारी दिएको छ। रोकिनेमा १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरू छन्। उनीहरूको कागजात शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि भन्दै प्रहरीले रोकेको हो।
माछाले धानिएको वेगनासको पिप्लेगाउँ
लेखनाथ । वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले तालमा माछा मारेर बिक्री गर्न सुरु गरेको पनि ५० वर्ष पुगिसकेको छ । पाँच दशक पार गर्दा पनि एक–दुई परिवारबाहेक उनीहरुको माछा मारेर बिक्री गर्ने मूल पेशा फेरिएको छैन । वेगनास तालका माछा बिक्री गरेर प्रत्येक परिवारले अहिले मासिक रु २० देखि रु ५० हजारसम्म आम्दानी गर्ने गरका छन् । उनीहरु बाँच्नका लागि मुख्य आधार बन्दै आएको छ । “छोरा–छोरी पढाउन, बिहान–बेलुका हातमुख जोर्न माछा व्यवसाय नै मूल आधार बनेको छ”, वेगनासताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारीले भने । “बस्ने बासबाहेक उनीहरूसँग एक टुक्रा पनि जग्गा छैन, ती घरको पनि लालपुर्जा उनीहरुको हातमा छैन”, उनले भने, “माछा बिक्री गरेर भएको आम्दानीको ३० प्रतिशत त जालको तार खरिद गर्दा नै सकिने गरेको छ, जाली पनि तीन महिनामात्र टिकाउ हुन्छ ।” आफूहरूको थातथलो कास्कीको पोखरा–९ नयाँबजार रहेको जानकारी दिँदै उनले जिजुबाजेका पालादेखि नै आफूहरूले माछा मार्ने काम गर्दै आएको बताए । जलारीका अनुसार उनको परिवार पोखराको नयाँ बजारमा हुँदा विजयपुर खोला, फुस्रोखोला, कालीखोला, याम्दीखोलामा माछा मार्ने काम गर्दै आएको थियो । माछा मार्ने क्रममा ५० वर्षअघि वेगनासको पिप्लेगाउँमा एउटा परिवार आएको र माछा मार्ने सिलसिलामा आफ्नो बुवा यही ठाउँमा बसेको इतिहास उनले सुनाए । कास्कीको पोखरा महानगरपालिका–३१ वेगनास तालमा आउने पर्यटकमध्ये केही प्रतिशत पिप्लेगाउँ पुग्छन् । तालको छेउबाट पिप्ले उक्लन पाँच मिनेट पैदल हिँड्नुपर्छ । “म ५५ वर्षको भएँ, म पाँच वर्षको हुँदा बुवा यहाँ आउनुभएको रहेछ, सुरुमा हामी एक परिवार मात्र थियौँ, बुवा एक्लै बस्न नसकेर साथीको रूपमा अर्को भाइलाई बोलाउनुभएछ”, उनले भने, “त्यसपछि अन्य व्यक्ति पनि आए, त्यो बढ्दै अहिले ४२ परिवार भएका छन् । ती परिवारले मारेको माछा वेगनासताल मत्स्य व्यवसाय समितिमा जम्मा गरी बिक्री गर्ने गरिएको छ ।” समितिकै अर्का सदस्य सानु जलारीले वेगनासतालमा मारिएका माछा समितिको कार्यालयमा सङ्कलन गरी ठेकेदारमार्फत पोखराको बजारमा बिक्रीका लागि लगिने गरिएको जानकारी दिए । तालमा पाइने विभिन्न जातका माछाको मूल्य प्रतिकिलो रु एक सय ८० देखि रु एक हजारसम्म पर्छ । वेगनासतालमा तिलिपीया, विग्रेड, भ्याकुर, सहरलगायत प्रकारका माछा पाइन्छन् । तिलिपीयाका कारण अन्य माछा लोप हुने अवस्थामा रहेको स्थानीयवासी बताउँछन् । तराईका पोखरीमा पालिएका माछा पोखरा बजारमा वेगनास, रुपा, फेवा र खास्टेतालका भन्दै व्यापारीले ढाटेर बिक्री गर्दा पछिल्ला वर्षमा यहाँका तालका माछाको महत्व घट्नुका साथै मूल्यमा समेत गिरावट आएको उनीहरूको गुनासो छ । पछिल्लो १५ वर्षयता पिप्लेका एक जलारी, अन्य क्षेत्री र बाहुन समुदायका चार जनाले रेष्टुरेण्ट र लज खोलेका छन् । ती होटलमा मुस्किलले ५० पाहुना अटाउँछन् । कोरोना महामारी अघि माछाको स्वाद लिनका लागि स्वदेशी तथा विदेशी पर्यटक त्यहाँ पुग्ने गरे पनि केही समय यता बिदाका दिन केही आन्तरिक पर्यटक मात्र पुग्ने गरेको उनीहरू बताउँछन् । सरकाले यतिका वर्षसम्म पनि जग्गाको लालपुर्जा नदिँदा आफूहरूलाई चिन्तित बनाएको उनीहरूको दुःखेसो छ । तालको मापदण्डको नाउँमा हटाउने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताउने गरेको छ । स्थानीय तहले जलारी समुदायलाई कास्कीको वेगनासतालमा माछा मार्न कुनै रोकटोक भने लगाएको छैन । कोरोना त्रासले समस्या बनाएको उल्लेख गर्दै पिप्लेमै रेष्टुरेन्ट सञ्चालन गर्दै आएका अनिष जलारीले भने, “दुई वर्षदेखि बाह्य पर्यटक आएका छैनन् ।” –रासस
हर्क साम्पाङको श्रम अभियानमा सहभागी हुन अध्यक्ष प्रचण्ड धरानमा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुन धरान पुगेका छन् । धरानमा अध्यक्ष प्रचण्ड शुक्रबार जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा पनि सहभागी हुने छन् । धरानका मेयर साम्पाङले हरेक शनिबार वृक्षारोपण कार्यक्रम राख्दै आएका छन् । ‘यसपटक अध्यक्ष प्रचण्ड धरान आइपुग्नुभएकोले आजै शुक्रबार सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षारोपण कार्यक्रममा उहाँ सहभागी हुँदैहुनुहुन्छ,’ धरानका उपमेयर आइन्द्रविक्रम बेघाले भने, ‘वृक्षारोपणको कार्यक्रम सकेर अध्यक्ष जेबी टुहुरे स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।’
नेपाल–बंगलादेश ऊर्जा व्यापार– ऊर्जा सहकार्य गर्न ५ बुँदे सहमति
काठमाडौं । नेपाल र बंगलादेशले आपसमा ऊर्जा सहकार्य गर्नका लागि ५ बुँदे सहमति गरेका छन् । दुई दिनसम्म काठमाडौंमा चलेको सचिवस्तरीय बैठकमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न ५ बुँदे सहमति भएको हो । सचिवस्तरीय बैठकबाट बंगलादेशको भेरामारामा अवस्थित एचभीडीसी (हाइ भोल्टेज डाइरेक्ट करेन्ट) संरचनाको बाँकी रहेको क्षमता उपभोग गरेर नेपालबाट बंगलादेशमा प्रारम्भिक चरणमा ५० मेगावाटसम्मको बिजुली निर्यात गर्न सम्भव देखिएको छ । यसका लागि नेपाल र बंगलादेशका पक्षले आपसमा सहकार्य गरेर भारतीय पक्षलाई अवरोध खुलाउन अनुरोध गर्ने सहमति भएको छ । यस्तै, जलविद्युत क्षेत्रमा सहकार्य गर्न प्रस्तावित सुनकोसी–३ जलविद्युत आयोजना (६८३ मेगावाट) को विकासका सम्बन्धमा वातावरणीय अध्ययन प्रतिवेदन समेत यथाशिघ्र बंगलादेशी पक्षलाई उपलब्ध गराउने र अध्ययन प्रतिवेदनहरूमा बंगलादेश पक्षले छिट्टै धारणा दिने सहमति समेत भएको छ । यसका साथै, नेपाल–बंगलादेश डेडिकेटेड विद्युत प्रशारण लाइन निर्माण गर्न बंगलादेश–भारत–नेपालबीच त्रिपक्षीय सम्झौताका लागि पहल गर्न दुवै पक्ष सहमत बनेका छन् । यसका साथै, सोलार होम सिस्टम र बंगलादेशको सस्टेनेबल एण्ड रि–न्यूएबल इनर्जी डेभलपमेन्ट अथोरिटीबीच समझदारीको मस्यौदाले एक महिनाभित्र नेपालको वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रलाई उपलब्ध गराउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले जनाएको छ । यसैगरी, बंगलादेश पावर म्यानेजमेन्ट इन्स्टिच्युटले दिने तालिम र जलविद्युत आयोजनाहरूमा नेपालले हासिल गरेको अनुभव आदानप्रदान कार्यक्रम लगायत द्विपक्षीय क्षमता अभिवृद्धिका लागि भावी कार्यदिशा तयार गर्न संयुक्त प्राविधिक टोलीलाई जिम्मा दिने सहमति भएको जनाइएको छ । नेपाल–बंगलादेश ऊर्जा बैठकका लागि बंगलादेशबाट प्रतिनिधिहरू काठमाडौं आइपुगेका थिए । जसमध्ये सह–सचिवस्तरीय र सचिवस्तरीय गरेर दुई दिन बैठक चलेको थियो ।
महाअभियोग समितिद्धारा चोलेन्द्रशमशेर विरूद्धका प्रमाण माग
काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपबारे तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सार्वजनिक सूचना प्रकाशित गरेको छ। राणाविरूद्धको महाअभियोगमा २१ आरोप लगाइएको छ। समितिले शुक्रबार गोरखापत्रमा प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने नियकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्रकाशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने निर्णय भएकाले सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ,’ समितिको सुचनामा भनिएको छ। सिफारिस समितिले राणालाई बयानका लागि भदौ १५ मा बोलाएको छ।
नेपाल र केन्याबीच दोस्रो खेल आज
काठमाडौं । पाँच ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अपरान्ह घरेलु टोलीसँग दोस्रो ट्वान्टी–२० खेल खेल्दैछ । नेपालले नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बाट शुरु हुनेछ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो । पहिलो खेलमा बुधबार नेपालले ५ विकेटको सहज जित निकालेको थियो । नेपाल आज पनि जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान प्रवेश गर्ने भएको छ ।
गुठीको जग्गा हडप्ने पूर्व राजा ज्ञानेन्द्रका भिनाजुसहित ३१ जना विरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठीको जग्गा हडपेको आरोपमा पूर्व राजा ज्ञानेन्द्रका भिनाजु स्वर्गीय खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले धनुषाको पिँडारी चोक र रत्नसागर मन्दिरको नाममा रहेको जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा सारेको भन्दै उक्त कार्यमा संलग्न मालपोत कार्यालयका तत्कालिन कर्मचारीसहितलाई मुद्दा दायर गरेको हो । मन्दिरको नाममा रहेको ८ बिगाहा १० गठ्ठा जग्गा व्यक्तिको नाममा ल्याउन उति बेला भूमिका खेल्ने र उक्त जग्गा अहिले खरिद गर्नेहरु विरुद्ध आयोगले मुद्दा दायर गरेको हो । पूर्व राजा ज्ञानेन्द्रकी दिदी शारदाका श्रीमान् खड्गविक्रमको २०५८ साल जेठ १९ को दरबार हत्याकाण्डमा निधन भएको थियो । मृत्यु भइसकेका ब्यक्ति विरुद्ध भ्रष्टाचार मुद्दा नलाग्ने भए पनि आयोगले जग्गा असुलउपर गर्न भन्दै खड्गविक्रमलाई पनि विपक्षी बनाएको हो । अख्तियारका अनुसार खड्गविक्रम शाहका विरुद्ध प्रचलित मूल्य अनुसार २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ बिगो कायम गरिएको छ । यस्तै जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालय धनुषाका तत्कालीन नायव सुब्बा यमुनाप्रसाद पंजियार, खरिदार जगदेव कामतीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । उक्त जग्गा अहिले खरिद गर्ने धनुषा उपमहानगर पालिकाका दिवशविक्रम शाह, विभा कुमारी यादव, राज किशोर महासेठ, विमला देवी, विजय कुमार मण्डल, चन्द्रकला कुमारी देवी, त्रिफला कुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, राम विपिन साह, सज्ञान देवी, पुष्पा सिंह र लक्ष्मी नारायण मिश्रा विरुद्ध पनि मुद्दा दायर गरिएको छ । यस्तै मुद्दा दायर गरिएका अन्य जग्गा खरिदकर्ताहरुमा नितु कुमारी झा, शर्मिला कुमारी, रेणु कुमारी राय, नवल किशोर यादव, जय कुमार गोईत, रिता देवी, सिकली देवी यादव, नविन कुमार झा, मनिशा कुमारी झा, मिना कर्ण, विपेन्द्र कुमार मिश्र, राधिका देवी यादव, मोमिना बेगम र गजेन्द्र ठाकुर रहेका छन् ।
सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
काठमाडौं । पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज शुक्रबार पनि बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ–आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन शुक्रबार बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र छन् । तर, सत्ता गठबन्धनभित्रका पाँच दलले दुई सय ३४ सिटमा दाबी गरेका छन् । बिहीबार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले २ सिटको दाबी पेश गरे। समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समयसीमा तीन साता पनि बाँकी नरहेकाले गठबन्धनमा सिट बाँडफाँड चाँडै टुंग्याउनुपर्ने दबाब छ । तर, प्रत्यक्षतर्फकै बाँडफाँडमा किचलो हुने संकेत देखिएको छ । यद्यपि, गठबन्धनका नेताहरूले भने औपचारिक रूपमा आएको दाबीले सिट बाँडफाँडको आधार बनाएको र यसले सहमति खोज्न सहज हुने दाबी गरेका छन् । शुक्रबार बस्ने बैठकमा दलहरूले क्षेत्र नै तोकेर आफ्नो दाबी पेस गर्ने तयारी गरेका छन् । संख्यामा दलहरूका आ–आफ्ना दाबी पेस भएपछि शीर्ष नेताले सिट बाँडफाँडसम्बन्धी कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई निर्वाचन क्षेत्रपिच्छे गठबन्धनको विवरण तयार गर्न निर्देशन दिएका छन् । सिट बाँडफाँट टुंगोमा पुग्नका लागि कार्यदलको बैठक झन्डै एक महिना देखि चलिरहेको भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन ।
गठबन्धन बैठकमा आ–आफ्नो दाबी
काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दाबी पेश गरेका छन्। बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसले एक सय सिटमा दाबी गरेको छ। यस्तै, नेकपा माओवादी केन्द्रले ६०, नेकपा ९एकीकृत समाजवादी० ले ४० र जनता समाजवादी पार्टीले ३५ सिटमा दाबी गरेको कार्यदलका एक सदस्यले जानकारी दिए। राष्ट्रिय जनमोर्चाले बाग्लुङ र प्युठान बटमलाइनसहित दुई सिट नघट्ने गरी मागेको छ। सत्तारूढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटको लागि बनाएको कार्यदलमा पाँच वटै दलले आफ्नो दाबी औपचारिक राखेका हुन्। कार्यदलको बैठक शुक्रबार पनि बस्नेछ। शुक्रबार दिउँसो ४ बजे बस्ने बैठकमा निर्वाचन क्षेत्रको अवस्थासहित छलफल गर्ने ती नेताले बताए। प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १ सय ६५ सिट छन्।
दिनभर डोजर हान्न व्यस्त मेयर बालेन साँझ पख उपमेयर सहित तीज माने, नाचे पनि
काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले आज बिहीबार दिनभर काठमाडौंको बानेश्वर शंखमुल आसपासका मापदन्डविपरीतका संरचना खाली गराउँदै, भत्काउने कार्यमा व्यस्त मेयर बालेन साँझ भने आफ्नै आयोजनामा महानगरपालिकाका कर्मचारीलाई दर खुवाउने कार्यक्रममा सहभागी भएका छन् । उपमेयर सुनीता डंगोलसहित पुगेका बालेनले महानगरका कर्मचारी महिलाहरुसँग तीजको रहर आयो बरिलै जस्ता गीतहरुमा नाचे । उपमेयर सुनीता भने थपडी बजाउँदै बसे पनि नाच्न भने अन्कनाइन् । महानगरको तीज अहिले पनि काठमाडौंको सभागृहमा चलिरहेको छ ।
डा. भट्टराईद्धारा बालेनको सपोर्ट
काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बालेनको कदमको स्वागत गरेका छन् । समाजिक संजालमा बालेको तस्बिर सेयर गर्दै वोयल डन लेखेका हुन् । Well done @ShahBalen ! Keep it up !! pic.twitter.com/tPS7gCSRmQ — Baburam Bhattarai (@brb1954) August 25, 2022
वाइसीएल पदाधिकारीद्धारा पदभार ग्रहण, ३ महिने संगठन सुदृढीकरण अभियान संचालन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालका नव निर्वाचित अध्यक्ष सुबोध शेर्पालीले पदभार ग्रहण गरेका छन । वाइसीएलको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित अध्यक्ष शेर्पालीसंगै वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर गुरुङ ‘कसम’ उपाध्यक्षहरु गोगन मल्ल , मञ्जु बम, मिङ्माडन्डु शेर्पा,महासचिव गणेश शाही लगायतका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । वाइसीएल नेपालको केन्द्रीय कार्यलय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै १४ बुँदे समसामयिक प्रस्तावहरु सार्वजनिक गर्दै पदभार ग्रहण गरेका हुन । पदभारपछि पत्रकारहरुसंग बोल्दै वाइसीएल नेपालका अध्यक्ष शेर्पालीले १६ देखि २६ वर्षसम्मको युवाहरूलाई वाइसीएलमा आकर्षित गर्नको लागि ३ महिने संगठन सुदृढीकरण अभियान संचालन तथा राष्ट्रिय मुद्दाहरु जोडदार संग उठाउने जानकारी गराए । बढ्दो महंगी नियन्त्रण, संरचनागत भ्रष्टचार, नीतिगत भ्रष्टचार, दलालीकरण र चरम श्रम शोसनका विरुद्ध वाइसीएल नेपाल दृढतापूर्वक लड्ने उद्घोष गरेका छन् । साथै श्रम र उत्पादनमा वाइसीएल भन्ने मुल नाराका साथ युवाहरूलाई आत्मनिर्भर हुने व्यवसाय थालनी गर्न प्रत्येक पालिकामा १०० जना युवा सम्मीलित श्रम सहकारी गठन गर्ने वाइसीएल नेपालले जानकारी गराएका छन् । नागरिकता विधेयकमा थपिएको अन्यौलताका कारण नागरिक राज्यविहीन बनेको कुरा, भारतद्धारा अतिक्रमित नेपालका भूमिहरु रक्षाका लागि जागरणमूलक कार्यक्रमको आयोजनासहित सरकारलाई भूमि फिर्ताको निम्ति अपिल समेत गर्ने बताए । जनयुद्धरजनआन्दोलन तथा अन्य सबै न्यायपूर्ण आन्दोलनका महान शहिदहरुलाई राष्ट्रिय शहिद र जनसेनाका योद्धाहरुलाई गणतान्त्रिक सेनानी घोषणाका लागि अपिल तथा ‘सहिद परिवारसंग युवा भेटघाट तथा सम्मान’ कार्यक्रम घोषणा गरेका छन् । पदभार ग्रहण तथा पत्रकार सम्मेलन कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् वाइसीएल इन्चार्ज राम प्रसाद सापकोटा दिपशिखा, वाइसीएल नेपालका तात्कालिन संयोजक सुमन देवकोटा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

