डा केसीको स्वास्थ्य अवस्था नाजुक, अन्यत्र रिफर गर्न सेती प्रादेशिक अस्पतालको सुझाव
धनगढी । धनगढीमा ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र स्थानान्तरण (रिफर) गर्न सुझाव दिएको छ ।
अस्पतालले सोमबार एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो ।
उनी गत भदौ २७ गतेदेखि धनगढीमा अनशनरत छन् । तर उनले राखेको मागबारे सरकारले अझैसम्म सुनुवाइ गरेको छैन । आइतबार डा.केसी र सरकारी पक्षबीच पहिलो चरणको वार्ता भएको थियो । तर निष्कर्षविहीन भइ टुंगिएको थियो ।

लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन
काठमाडौं । निर्वाचन आयोगले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार निकाल्नु भएको विज्ञप्तिमा जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य तत्काल स्थगित गर्न आग्रह गरिएको छ । यस्तै, आयोगले लालपुर्जा वितरणको यथार्थ जानकारी दुई दिनभित्र आयोगलाई दिन राष्ट्रिय भूमि आयोग काठमाडांैलाई निर्देशन दिइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आसन्न निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौंलाई निर्देशन दिएको छ ।’ यसैगरी, संघीय सरकार, प्रदेश सरकार तथा पालिकालाई वैदेशिक भ्रमण नगर्न पनि आयोगले निर्देशन दिएको छ ।
तातोपानी र रसुवागढी नाका सञ्चालनमा
काठमाडौं । डेढ महिनादेखि बन्द चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रिएको छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आएका हुन् । यता तातोपानी नाकाबाट कति कन्टेनर दैनिक नेपाल भित्रिन्छन् भन्ने स्पष्ट जानकारी नआएको भन्सार कार्यालयले जनाएको छ । बिहीबार भित्रिएको कन्टेनरमा एउटामा कच्चा उन र अर्कोमा जलविद्युत् पूर्वाधारका सामग्री रहेको भन्सार कार्यालयले जनाएको छ ।
पहिरोका कारण सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अवरुद्ध
पाल्पा । निरन्तरको वर्षासँगै पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । वर्षासँगै तिनाउ गाउँपालिकास्थित पौठेडाडाँमा ढुंगासहित र रम्भा ३ सेरामा लेदोसहितको पहिरोले आवागमन बन्द भएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले दिए । सडक डिभिजन पाल्पाको स्काभेटर मगाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सोही राजमार्गको तिनाउ ५ स्थित हिउँदे खोलामा सडक फेरि भासिएको छ । यसअघि पूर्ण रुपमा सडक भासिएर बनाइएको नयाँ डाइभर्सनन पनि केही भासिएको र निरन्तर पानी परेमा माथिबाट समेत पहिरो खस्ने जोखिम रहेको प्रमुख मल्लले बताए । कमजोर भु भाग रहेको र चुरे क्षेत्रमा धेरै पानी परेका कारण यो सडक भासिने र पहिरो जाने समस्या देखिएको छ । बुधबार बेलुकादेखि निरन्तर पानी परेका कारण अन्य स्थानमा पनि पहिरो खस्ने जोखिम रहेको हुँदा सावधानी अपनाएर अत्यावश्यक काममा मत्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
मुगुमा माओवादी केन्द्रले सबै निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस गर्यो
मुगु । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागी नेकपा (माओवादी केन्द्र) मुगुले सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरु सिफारिस गरेको छ । सहमति हुन सकेको निर्वाचन क्षेत्रमा एकल र सहमति हुन नसकेको निर्वाचन क्षेत्रमा आकांक्षी उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गरेको छ । सत्तारुढ दलहरु बीच चुनावी गठवन्धन भएमा प्रदेश सभा निर्वाचन क्षेत्र (ख)माओवादी केन्द्रले पाउनु पर्ने दाबी सहित जिल्लाका सिनियर नेताहरुले प्रदेशसभा (ख) मा उम्मेदवारी दाबी गरेका छन् । माओवादी केन्द्र मुगुले पार्टी केन्द्रीय सदस्य मंगल बहादुर शाही (प्रतिक), कर्णाली प्रदेश समिति सह सचीव बिर्ख बहादुर थापा (मानव प्रकाश) र मुगु जिल्ला संयोजक सुकबिर बुढा (सुर्य)लाई प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को प्रत्यक्ष उम्मेदवारका लागी सिफारिस गरेको छ । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको मुगुमा प्रतिनिधि सभा र प्रदेश सभा (क) मा माओवादी केन्द्रले दाबी नगरे तापनि उम्मेदवार भने सिफारिस गरेको छ। प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवारको लागी अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य नवराज कार्कीलाई सिफारिस गरेको छ भने प्रदेश सभा निर्वाचन क्षेत्र (ख)को प्रत्यक्ष उम्मेदवारको लागि पार्टी प्रदेश समिती सदस्य केबल बहादुर मल्ललाई सिफारिस गरेको छ । त्यसैगरी माओवाद केन्द्र मुगुले सबै निर्वाचन क्षेत्रका लागी समानुपातिक तर्फका उम्मेदवार पनि सिफारिस गरेको छ। प्रतिनिधि सभाको लागी खस आर्य कलस्टर बाट मर्णिचन्द्र कार्की, जनजाति बाट सोनाम यान्की लामा र दावा पुटिक लामा, दलित बाट बिर्ख टमाटा र महिला बाट मधुली नेपाली सिफारिस भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र (क) को लागी खस आर्य बाट सन्तोष कुमार मल्ल, जनजाति बाट पेमा लामा, दलित बाट कर्ण बहादुर कुलालो र महिला बाट झरना देवि बुढा छन् । प्रदेश निर्वाचन क्षेत्र (ख)का लागी खस आर्य तर्फबाट लाल भक्त संज्याल, दलित बाट पदम परियार, महिला बाट बाँचु धामी र सुकुमाया शाही सिफारिस भएका छन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ३४७५ विद्यालय छनोट (सूचीसहित)
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३४७५ विद्यालय छनोट गरेको छ । बुधबार मन्त्रालयले ४ कोठे, २ कोठे र आइसीटी ल्याब गरी ३ हजार ४ सय ७५ विद्यालय छनोट गरेको शिक्षा तथा मानवस्रोतका महानिर्देशक चुडामणि शर्माले जानकारी दिए । देशभरको सूची यहाँ क्लिक गर्नुहाेस्
काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु
काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो। राति सुतिरेहका बेला पहिरो खसेपछि घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ
पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने
काठमाडौं । नेपाल सरकारले पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय गरेको छ । मिति २०७९–०५–२७ गते बसेको मन्त्रिपरिषद्को बैठकले लिजमा सरकारी जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने विषयमा भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्मा पस्ताव लगेको थियो । उक्त पस्ताव २७ गतेको मन्त्रिपरिषद् बैठकमा पेश हुनुका साथै स्वीकृत भएको हो । यससँगै पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलले १४२ रोपनी जग्गा प्राप्त गर्नेछ । यस शिक्षालयले त्यस क्षेत्रको प्राविधिक शिक्षामा महत्वपूर्ण योगदान पुर्याउने छ । शिक्षालयले कृषितर्फ बाली विज्ञान ,पशु विज्ञानसहित होटल तथा पर्यटन,सिभिल इञ्जिनीयरिङ र फार्मेसी अध्यापन गराउँदै आएको छ । नुवाकोटको तुप्चेमा जन्मिएका पोष्टबहादुर बोगटीको हृदयघातका कारण २०७१ भदौ ३० गते निधन भएको थियो । उनी तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय उपाध्यक्ष तथा ऊर्जा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका थिए । निडर, इमान्दार तथा जनप्रिय नेताको रुपमा रहेको उनको छविको सम्मानका लागि सिटिइभिटीमार्फत उनकै नाममा नुवाकोटमा शिक्षालय स्थापना गरिएको हो ।
जबर्जस्ती करणीका घटनामा २८ प्रतिशत दलित महिला
काठमाडौँ — सर्लाहीको विष्णु गाउँपालिकाका यादव थर गरेका १९ वर्षे युवकले विवाह गर्ने आश्वासन देखाएर गाउँकै १७ वर्षीया दलित किशोरीलाई भगाएर लगे । बाराको जितपुरमा लगी २० दिनसम्म राखेका उनले पछि जातको कारण देखाउँदै किशोरीलाई उनकै घरमा लगेर छाडिदिए । यता, माइती पक्षले विवाह गरिसकेकी छोरीलाई घर भित्र्याउन नमिल्ने भन्दै गोठमा राखे । विवाहको आश्वासन दिई जबर्जस्ती करणी र शरीर बन्धकमा युवकविरुद्धको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । *** कल्याणपुर–३ सिरहाका मण्डल थर गरेका युवकमाथि विवाह गर्छु भन्दै दलित किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप लाग्यो । बिहान किशोरीलाई उनकै घरमा लगेर छाडिदिएपछि परिवारले किशोरीलाई लिएर मण्डलकै घरमा पुगे । तर, ‘हाम्रो घरमा दलितको छोरीको पानी चल्दैन’ भन्दै मण्डल परिवारले स्विकारेन । पीडितले केटा पक्षविरुद्ध जबर्जस्ती करणी आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–७ बस्ने ५० वर्षीय कुशवाह थरका पुरुषले सोही गाउँकी दलित महिलालाई घर बनाउने सामान खरिद गरिदिने प्रलोभन देखाएर मोटरसाइकलमा राखेर लगे । उनले वडा ५ स्थित सिँचाइ खोला नजिक झाडीमा आफूमाथि जबर्जस्ती करणी गरेको महिलाको आरोप छ । समता फाउन्डेसनले प्रकाशन गरेको ‘दलित मानवअधिकार पुस्तक २०७८’ मा मानवअधिकार हनन भएका घटनाको विश्लेषण गर्दा जबर्जस्ती करणी भएकामध्ये २८ प्रतिशत दलित महिला रहेको उल्लेख छ । जसमा ८ प्रतिशत जबर्जस्ती करणी प्रयासका घटना छन् । यौन दुर्व्यवहार ३ प्रतिशत, अन्तरजातीय प्रेम विवाह १३ प्रतिशत, आत्महत्या दुरुत्साहन ८ प्रतिशत, जातीय भेदभाव तथा छुवाछूत १८ प्रतिशत, छुवाछूत/कुटपिट १४ प्रतिशत, हत्या ६ प्रतिशत, ज्यान मार्ने उद्योग र प्रहरी हिरासतमा मृत्यु भएका घटना १/१ प्रतिशत छन् । अधिवक्ता प्रकाश नेपाली, रोजी विसुंके र प्रकृति बुढामगरको उक्त अनुसन्धानात्मक पुस्तकलाई फाउन्डेसनले बुधबार सार्वजनिक गरेको हो । लैंगिकताको दृष्टिकोणले हेर्दा पनि दलित पुरुषभन्दा महिला बढी पीडित भएको तथ्यांकले खुलाएको छ । ६८ प्रतिशत महिला लैंगिकताको आधारमा पीडित छन् । अधिकारकर्मी धनकुमारी सुनारका अनुसार आर्थिक, सामाजिक र जातीय विभेदका कारण सबैभन्दा जोखिममा दलित महिला छन् । समग्र महिलाकै घटना र अवस्था विश्लेषण गर्ने हो भने पनि मानवअधिकारबाट वञ्चित हुने पीडित महिलाको संख्या बढी छ । ‘यद्यपि यसको मसिनो तथ्यांक न प्रहरीसमक्ष छ, न त अन्य निकायमा,’ उनी भन्छिन्, ‘दलित महिला हरेक दृष्टिले उच्च जोखिम मोलिरहेका छन् ।’ महिला आयोगकी प्रवक्ता चमिला भट्टराईले आयोगमा पर्ने हिंसाका उजुरीमध्ये दलित महिलाको अवस्था अन्यको तुलनामा दर्दनाक रहेको बताइन् । सामाजिक रूपमा पछि पारिएका दलित महिला विभिन्न डर र प्रलोभनमा पारिएर पीडित भएका थुप्रै घटना रहेको उनको भनाइ छ । राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले विभेदमा आर्थिक हैसियत र समाजको प्रतिष्ठाले फरक पार्ने बताए । ‘जसको केही छैन, जो गरिब छ उसैलाई हेप्ने प्रवृत्ति छ,’ उनले भने, ‘जसका कारण दलित महिला हिंसाको उच्चतम जोखिममा परेका हुन् ।’ महान्यायाधिवक्ता कार्यालयका अनुसार २०७७ यता जिल्ला अदालतमा २६३ मुद्दा दर्ता भएका छन् । तीमध्ये २७ मात्रै पुनरावेदनतर्फ उच्च अदालतमा गएको छन् भने सर्वोच्चमा ४ वटा मात्र रहेका छन् । अधिवक्ता एवं अनुसन्धाता प्रकाश नेपाली भन्छन्, ‘दलितमाथि विभेद कायमै छ, यसमा राज्य पनि जिम्मेवार छ ।’ कान्तिपुर दैनिकबाट
रूपाको वक्तृत्वकलामा शिवालयकी करिनाको ह्याट्रिक, एस. ई. ई. मा छात्र-छात्रा दुवैमा शिवालय उत्कृष्ट
पोखरा । कास्कीको रूपा गाउँपालिका-२ स्थित शिवालय माविकी करिना ओझाले वक्तृत्वकला प्रतियोगितामा ह्याट्रिक गरेकी छिन् । बुधबार रूपा गाउँपालिकाद्वारा ५८ औँ बालदिवसका अवसरमा आयोजित ‘शिक्षा क्षेत्रको विकासमा स्थानीय तहको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम भएसँगै उनले ह्याट्रिक गरेकी हुन् । यसै शैक्षिक सत्रमा मात्रै उनले यसअघि गोनेसा नेपाल र पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठानद्वारा रूपा गाउँपालिकाभित्रका विद्यालयका बिच सम्पन्न गरेका वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिइन् । उनी शिवालय बाल क्लबकी अध्यक्ष पनि हुन् । बाल दिवसका अवसरमा आयोजित सो प्रतियोगितामा रामकोट माविकी सजिता अधिकारी, अरुणोदय आविका विश्वास विक र विश्वशान्ति माविकी सफलता हायु राई क्रमशः दोस्रो, तेस्रो र सान्त्वना भएका थिए । यसै बिच, बाल दिवसकै अवसरमा रूपा गाउँपालिकाभित्रका विद्यालयहरूबाट २०७८ को एस. ई. ई. परीक्षामा सम्मिलित परीक्षार्थीहरूमध्ये सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । जसअनुसार शिवालय माविका धिरज सुनार छात्रतर्फ र सोही विद्यालयकी कृति ओझाले छात्रातर्फ सर्वोत्कृष्ट अङ्क ल्याएबापत पुरस्कृत भएका थिए । धिरजसँगै छात्रतर्फ समान जी. पी. ए. ३.२५ ल्याउने विश्वशान्ति माविका आदर्श घिमिरे पनि पुरस्कृत भएका थिए । यसअघि पनि शिवालयकै छात्र-छात्रा दुवैतर्फ उत्कृष्ट जी. पी. ए.सहित पुरस्कृत भएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिक्षाका क्षेत्रमा पढाइका अलावा विद्यार्थीको प्रतिभा प्रस्फुटनमा पनि गाउँपालिकाले प्रयास गर्दै आएको बताए । शिक्षा शाखा प्रमुख सन्दिप पौडेलको सञ्चालनमा भएको कार्यक्रममा वक्तृत्वकला प्रतियोगितातर्फ बृहस्पति अधिकारी, सीता सापकोटा र मनोज पौडेल निर्णायक रहेका थिए ।
हिमाली क्षेत्र सोलुमा समेत देखियो डेंगु सङ्क्रमण
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा समेत डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाभित्रका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । अस्पताल निमित्त प्रमुख सानी शेर्पाकाअनुसार थुलुङ दूधकोशी गाउँपालिका–२ काँगेलका ३३ बर्षीय युवक र वडा नम्बर ३ का ६० बर्षीय वृद्धलाई सङ्क्रमण पुष्टि भएको हो । उनीहरुको ट्राभल हिस्ट्री नभएको बताइएको छ । काँगेलका वृद्धलाई बस्तुभाउ चराउने क्रममा दिउँसो लामखुट्टेले टोकेको थियो । त्यसको केही दिनमा उनलाई टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने जस्ता लक्षणका कारण बिरामी परेका थिए ।तराईमा मात्रै देखिने गरेको डेङ्गु मौसम परिर्वनको कारण हिमाली क्षेत्रमा समेत देखा पर्न थालेको हो । मोबाइलको रिङ ब्याकटोनमा राखिएको सन्देशको सुनेर शंका लागेपछि फाप्लु अस्पतालमा परिक्षण गर्दा डेंगु पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ ।
मुगु प्रदेशसभा (ख) मा माओवादी केन्द्रबाट तीन जना सिफारिस
मुगु । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मुगुको लागी नेकपा (माओवादी केन्द्र) ले तीन जना उम्मेदवारका आकांक्षिको नाम सिफारिस गरेको छ । भाद्र २६ र २७ गते गमगढीमा बसेको जिल्ला समन्वय समिति, मुगुको बैठकले माओवादी केन्द्रका केन्द्रीय सदस्य मंगल बहादुर शाही (प्रतिक), कर्णाली प्रदेश समिति सह सचीव बिर्ख बहादुर थापा (मानव प्रकाश) र मुगु जिल्ला संयोजक सुकबिर बुढा (सुर्य)लाई सिफारिस गरेको छ । मंगल बहादुर शाही द्वन्द कालमा जागीर छाडेर अहिले पुनर्वाहाली भएका शिक्षक समेत हुन् भने बिर्ख बहादुर थापा मुगु जिल्लाको माओवादी जनयुद्धको पहिलो भुमिगत तथा लोकप्रिय नेता हुन् । त्यस्तै, सुकबिर बुढा पुर्व जनमुक्ति सेनाको कमान्डर तथा घाइते योद्धा समेत हुन् । सत्तारुढ दलहरू बीच चुनावी गठवन्धन हुँदा प्रदेश निर्वाचन क्षेत्र (ख) माओवादीको भागमा पर्ने निश्चित जस्तै भएको जिल्ला नेताहरु बताउछन ।
कारागार व्यवस्थापन चुनौतिपूर्ण : गृहमन्त्री खाँण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कारगार व्यवस्थापनका लागि बजेटको अभाव रहेको बताएका छन । बुधबार प्रतिनिधिसभा बैठकमा कारगार विधेयक २०७८ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथिको छलफलको क्रममा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री खाँणले यस्तो बताएका हुन । उनले कारगार व्यवस्थापनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न संसदको पनि गम्भिर ध्यानाकर्षण गराए । कारगारमा बन्दीहरुको संख्या पनि ठूलो रहेको र त्यसको भौतिक पूर्वाधार व्यवस्थापनको काम पनि चुनौतिपूर्ण रहेको उल्लेख गर्दै मन्त्री खाँणले त्यसको उचित व्यवस्थापनका लागि सरकार र संसद दुवैले पहल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए। उनले सरकारले ल्याएको सो विधेयकले कारगार व्यवस्थापन र सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । गृहमन्त्री खाँणले कारगारलाई सुधार गृहको रुपमा रुपान्तरण गर्ने कोसिसलाई सार्थक बनाउने गरी सो विधेयकले कैंद मिनाहाको प्रावधानलाई पनि अझै खुकुलो बनाएको बताए । विधेयकमा कारगारमा रहेका बन्दीहरुको सीप र क्षमतालाई मुलुकको उत्पादनसँग जोड्ने मनसाय रहेको उनले जानकारी दिए ।
नाबालिग बलात्कार गरेको आरोपमा सेनाका अमल्दार पक्राउ
काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखाबाट नेपाली सेनाका अमल्दारलाई पक्राउ गरेको छ । बाग्लुङ गल्कोट–११ घर भएर सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई पक्राउ परेका हुन । रानामाथि चुमनुब्री–३ स्थित सिर्दिबासमा तरकारी टिप्न गएकी १४ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । उनलाई भदौ २५ मा पक्राउ गरिएको एसपी खनालले जानकारी दिए । अरोपीमाथि जबर्जस्ती करणी मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खेल क्षेत्रमा राजनीति नगर्न खेलकुदमन्त्री अथकको आग्रह
काठमाडौं। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन्। नेपाल भलिबल संघको नवौं चुनावी साधारणसभामा उनले सहमतिबाट संघको नयाँ नेतृत्व चयन गर्नसमेत आग्रह गरे। मन्त्री अथकले खेल क्षेत्रको संस्थागत विकासकालागि स्थापना भएका खेल संघहरु खेलकुदमै केन्द्रित हुनुपर्ने धारणा राखे। खेल क्षेत्रको संस्थागत विकासको अभिभारा बोकेका खेलसंघमा देखिएको राजनैतिक विचलन तर्फ इंगित गर्दै उनले भने, ‘तपाईंहरु खेलकुदमा केन्द्रित हुनुहोस्, राजनीति गर्ने त विभिन्न पार्टी छँदै छन् नि१’ नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रुपमा मात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको बताउँदै मन्त्री अथकले राज्यले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। पछिल्लो समय खेलमैत्री वातावरण सृजना गर्न सरकार लागिपरेको बताउँदै उनले सिंहदरबारलाई खेलकुद बुझाउन आवश्यक रहेको जिकिर गरे। नेपालमा भलिबल खेलको राम्रो सम्भावना देखिएकाले नै राज्यले भलिबललाई राष्ट्रिय खेलकारुपमा सूचीकृत गरेको उल्लेख गर्दै उनले भलिबल खेलको समग्र विकासमा सरकार लागिपरेको बताए। खेललाई उद्योगका रुपमा समेत विकास गर्नुपर्ने उनको भनाई थियो। खेलाडीहरूको मनोबल बढाउन खेलकुद मन्त्रालयले ऐनमै पुरस्कार तथा सम्मानको व्यवस्था गरेको र मन्त्रीपरिषदबाट समेत अनुमोदन भइसकेको जानकारी गराउँदै उनले अब कुनै पनि खेलाडीको मिहेनत खेर जान नदिने प्रतिवद्धता समेत जनाए। राज्यको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको सहजताका लागि विशेष पासपोर्टको व्यवस्था गर्नेबारे समेत छलफल भइरहेको उनको भनाई थियो।
धनुषामा घाँस काट्न गएका दुई युवती मृत फेला
काठमाडौं । धनुषामा घाँस काट्न गएका दुई युवती मृत अवस्थामा फेला परेका छन् । नगराईन नगरपालिका–६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा दुबै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । नगराईन नगरपालिका–७ स्थित डेवडियाका दशरथ महराकी १८ वर्षीया छोरी पूजा महरा र भारत मधुवनी हर्निया हरलाखी घर भई डेवडियास्थित मावली बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा मृत फेला परेका हुन् । उनीहरु दुवै जना मंगलबार दिउँसो घाँस काट्न भन्दै घरबाट निस्किएका थिए । शवको प्रकृति हेर्दा दुवै जनाले विष सेवन गरेर आत्महत्या गरेको देखिएको तर घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरुको शव पोष्टमार्टमका लागि जनकपुर अस्पतालमा राखिएको छ ।

