तीन महिनाभित्र जन्मसिद्ध नागरिकता नदिए आन्दोलन हुन्छ : महासेठ

जनकपुरधाम । नेकपा एमालेका सचिव तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले तीन महिनाभित्र जन्मसिद्ध आधारमा नागरिकता दिन सुरु नभए आन्दोलन गर्ने बताएका छन् ।

“निर्वाचनको बेला मेरो बारेमा विभिन्न भ्रम फैलाइयो । तर जनताले भम्र फैलाउनलाई पत्याएनन्,” शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले भने, “तीन महिनाभित्र जन्मसिद्धको आधारमा नागरिकता दिन सुरु भएन भने नेकपा एमालेले दशभर आन्दोलन गर्छ ।”

एमाले अध्यक्ष केपी ओलीले पनि नागरिकता विधेयक ल्याउँदा भम्र फैलाएको आरोप समेत लगाए ।

देशभर कोरोना १५६ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर पाँचजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ९०३ वटा स्वाब नमुनाको परीक्षण गर्दा पाँचजनामा संक्रमण देखिएको हो । यो अवधिमा देशभर २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १५६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

संसदीय दलको नेताबारे गगनसँग कुरा भएको छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दलको नेता चयनमा संख्याको कुरा नै निर्णायक हुने भन्दै अहिलेको अवस्थामा सभापति शेरबहादुर देउवा नै बलियो रहेको बताएका छन्। ‘संसदीय दलका नम्बर गेम मुख्य कुरा हुन्छ’, बिहीबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले नम्बर गेम हेर्दा शेरबहादुरजीसँगै बढी देखिन्छ। तर, यसबारे कुरा हुन पाएको छैन। म उहाँसँग र अन्य नेताहरूसँग छलफल गर्नेछु।’ महामन्त्री गगन थापालाई समर्थन गर्नुहुन्छ कि हुन्न भन्ने प्रश्नमा शेखरले त्यो विषयमा प्रवेश गर्ने बेला नभइसकेको बताए। ‘गगनजीसँग फोनमा अलिअलि कुरा भएको छ’, उनले भने, ‘म काठमाडौं गएपछि सभापति, वरिष्ठ नेता सबैसित छलफल हुन्छ।’ तपाईं आफैं प्रधानमन्त्रीमा दाबी गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको अर्को जिज्ञासामा उनले ‘दाबी गर्ने भनेर मात्रै नहुने’ दोहोर्‍याउँदै छलफल गर्ने बताए। चुनावअघिको गठबन्धन अब पनि कायम हुने बताउँदै उनले गठबन्धनमा अन्य दल थप्ने गृहकार्य सुरू भएको जानकारी दिए। मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका लालबाबु पण्डितलाई हराएर कोइराला मोरङ६ बाट निर्वाचित भएका हुन्।

भरतपुर महानगरले व्यवसायीक मत्स्य फार्कको विद्युत महशुलमा ५०% अनुदान दिने

चितवन । भरतपुर महागरपालिकाले व्यपसायीक मत्स्य कृषकको लागि विद्युत महशुलमा ५० % अनुदान दिने भएको छ । महानगरले आफ्नीनो नीति तथा कार्यक्रममा यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ । भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तरगत व्यवसायीक मत्स्य फर्मको विद्युत महशुलमा ५०% अनुदान कार्यक्रम समावेश गरिएको थियो । यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्सहान गर्न सहयोग पुराउने महानगरले अपेक्षा लिएको छ । आवेदन दिनको लागि भरतपुर महानगरपालिकाको वेवसाईट वा कृषि महाशाखामा सम्पर्क गर्नुपर्ने छ । महानगरपालिकाले यस अघि दूध उत्पादनमा अनुदान लगायतको विभिन्न अनुदानका कार्यक्रहरु सञ्चालन गर्दै आईरहेको छ ।

अब प्रधानमन्त्री बन्ने तयारीमा लाग्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन्। महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दबाब समूहले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा आफू संसदीय दलको निर्वाचनको तयारीमा रहेको बताएका हुन्। उनले भने, ‘शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात् पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारीमा जुट्छु।’ त्यस्तै, महामन्त्री थापाले पाँच वर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागीताका लागि अहिलेदेखि नै आवश्यक कानुन निर्माणको थालनी गर्नुपर्ने पनि बताए । कहिलेकाही मन्त्रिपरिषद्मा महिला सहभागीता शून्य हुने अवस्थालाई पनि अब अन्त्य गर्नुपर्ने उनले बताए। त्यस्तै थापाले महिला हिंसालाई जरैदेखि हटाउनका लागि दलहरु मिलेर काम गर्नुपर्ने र आवश्यक नीतिनियम तर्जुमा गर्नुपर्ने धारणा राखे।

नेकपा एसलाई मत दिएर राष्ट्रिय पार्टी बनाउन सहयोग गरौं : शर्मा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले एकीकृत समाजवादी पार्टीलाई प्रतिनिधि सभाको समानुपातिकतर्फ मत दिएर राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नुपर्ने बताएका छन्। बुधबार सामाजिक सञ्जालमा शर्माले आफै सकेसम्म ३ प्रतिशत कटाएर राष्ट्रिय पार्टी बनोस्, यदि त्यसो हुन नसकेमा राष्ट्रिय पार्टी बनाउन सहयोग गर्नुपर्ने उल्लेख गरेका छन्। शर्माले लेखेका छन्,‘पहिलो कुरा अबको बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौँ, थोरैले अपुग हुन गएमा अब चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिक तर्फ कलम चिन्हमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौँ। !’

गठबन्धन सरकारले कालिगण्डकी वारितर्फ सालिग्राम करिडोर बनाउँदै छ : प्रकाश मल्ल

गल्याङ् । नेपाली कांग्रेसका नेता तथा स्याङ्जा क्षेत्र २(ख)का प्रदेशसभा सांसद प्रकाश मल्लले गण्डकी प्रदेशमा गठबन्धन सरकार बनिसकेपछि स्याङ्जा जिल्लाको तल्लो बेल्टको विकासले महत्व पाएको बताएका छन् । कालिगण्डकी करिडोर पाल्पा जिल्ला तर्फबाट बनिरहेको सन्र्दभमा कालिगण्डकी वारिको (तनहुँ र स्याङ्जा)तर्फको सडकलाई एमाले नेतृत्वको सरकारले वेवास्ता गरेको उनको भनाई थियो । उनले भने –‘एमाले नेतृत्वको सरकार ढलिसकेपछि हामीले गठबन्धनको सरकार बनायौं । त्यसपछि वारितर्फको सडकलाई सालिग्राम करिडोरको रुपमा विकास गर्न डिपिआर गरेर बजेट छुट्टयाएका छौं ।’ उनले गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट क्षेत्र २ का उम्मेदवार रहेका धनराज गुरुङले सालिग्राम करिडोरलाई रणनितिक महत्वको सडकको रुपमा विकास गर्ने बताए । सालिग्राम करिडोर नवलपरासी , तनहुँ स्याङ्जाकाका कलिगण्डकी बेसीका जनताको भौतिक विकासको आधार बन्नेछ । एमाले नेता पद्मा अर्याललाई स्याङ्जाली जनताले मत दिएर सांसद मन्त्री बनाएको भएपनि स्याङ्जाको विकासमा ध्यान नदिएको मल्लले आरोप लगाए । स्याङ्जा जिल्लाका दुई ग्रामीण सडक गल्याङ चापकोट र वालिङदेखि पर्वत जाने सडकलाई पद्मा अर्यालले अलपत्र पारेको उनले बताए । एमालेले स्याङ्जाको विकासलाई पछाडी परेको भन्दै गठबन्धन सरकार आइसकेपछी सडकहरु पिच हुन थालेको उनको भनाई थियो । साथै, उनले उम्मेदवार कांग्रेसको भएपनि गठबन्धन दल माओवादी केन्द्र र नेकपा समाजवादीसँगको सल्लाहमै स्याङ्जाको विकास निर्माणमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले एकमत भएर गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न आग्रह समेत गरे ।

गण्डकीका भौतिक पूर्वाधारमन्त्री पनि बर्खास्त

पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् । खड्काले समाल्दै आएको मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैंले सम्हाल्ने गरि हटाएका हुन् । खड्काले गठबन्धनका कास्की (२ ख का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेको बताइएको छ । खड्काले पछिल्लो समय गठबन्धनका उम्मेदवारविरुद्ध माग्दै हिँडेको आरोप छ । खड्का ०७४ सालमा निर्वाचनमा समानपातिकबाट गण्डकी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएको थिए । बागी फिर्ता लिएपनि एमालेसँग मिलेर भोट काट्ने योजना बनाएपछि उनलाई बर्खास्त गरिएको एक मन्त्रीले बताए । मन्त्री खड्काले भने आफूलाई बर्खास्त भएको खबर प्राप्त नभएको सुनाए ।

डेङ्गु सङ्क्रमणका कारण ६ जनाको मृत्यु

चितवन । जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेङ्गु रोगको सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठजना रहेको कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार चार सय ५० जनामा डेङ्गु रोग देखिएको केसीले बताए। उनका अनुसार खैरहनी नगरपालिकामा एक सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेङ्गु रोग देखिएको थियो । यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एक हजार एक सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको उनले बताए।

बसुन्धारामा घरधनीलाई बन्धक बनाएर लुटपाट

काठमाडौं । काठमाडौँको बसुन्धारामा गए राति लुटपाट भएको छ । बसुन्धारास्थित नन्द मल्लको घरमा गए राति ६–७ जनाको समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका हुन् । लुटेराले घरधनी नन्द सहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । राति ७ बजेतिर लुटेरा समूह घरमा प्रवेश गरेर ९ बजे निस्केका थिए । ४५ लाख भन्दा बढी नगद र ठुलो परिमाणमा सुन लुटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयका र प्रहरी वृत्त महाराजगञ्जको टिमले अनुसन्धान गरिरहेको छ । मल्लको घर नजिकै बंगलादेश राजदूतावास छ ।  

ओनसरीलाई भोट माग्दै प्रकाशमानले भने : सक्षम महिलालाई अगाडि बढाउनुस्

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर २ मा स्थापित महिला उम्मेदवारलाई सबैले साथ दिनुपर्ने बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार माओवादी नेता तथा पूर्वसभामुख ओनसरी घर्तीको पक्षमा मत माग्न साँखु पुगेका सिंहले सक्षम महिलालाई अगाडि बढाउन मतदातालाई आग्रह गरे । साँखुमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व महामन्त्री सिंहले काठमाडौं २ मा मतदाताले सोचेभन्दा बढी विकास गर्नसक्ने क्षमताको उम्मेदवार ओनसरी घर्ती भएको बताए । ‘पूर्वसभामुख यहाँबाट प्रतिनिधिसभाको लागि उम्मेदवार हुनुहुन्छ । उहाँलाई मैले संविधानसभाकै क्रममा सदस्यका नाताले नजिकबाट चिन्ने मौका पाएको हो । सभामुख हुँदाखेरि संसदमा उहाँले खेलेको सकरात्मक भूमिका, उहाँको क्षमता देखेको कारणले समर्थन गर्न आग्रह गर्दछु ।’ उनले थपे, ‘१६५ वटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने सांसद नै हुन्छन् । तर सबैको मन्त्री, उपप्रधानमन्त्री, सभामुख र उपसभामुख हुने हैसियत हुँदैन, उनले भने, ‘उपसभामुखबाट सभामुख भइसकेको संसद्‍मा उहाँको क्षमता राम्रोसँग देखिएकाले गर्दाखेरि भरोसा र विश्वास छ ।’ त्यस्तै, नेता सिंहले संविधान कार्यान्वयन गर्नका लागि लोकतान्त्रिक–वाम गठबन्धन बनेको बताए । उनले संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभाले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न नसकेको, स्थानीय तह र प्रदेशहरूलाई संविधानमा सुनिश्चित अधिकार प्राप्त नभएको बताए ।

घरेलु मैदानमा नेपालको फराकिलो हार

काठमाडौं । घरेलु दर्शक र घरेलु मैदानको फाईदाका बाबजुत नेपालले युएईसँगको फराकिलो हार खाएको छ । अर्जुन साउद र दीपेन्द्रसिंह ऐरी बाहेक अन्य ब्याटर चल्न नसकेपछि नेपाल पहिलो ओडिआई खेलमा युएईसँग ८४ रनले पराजित भएको हो । यो जितसँगै तीन ओडिआई खेलको सिरिजमा युएईले १–० को अग्रता लिएको छ । जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन मात्रै बनाउन सक्यो । दीपेन्द्रसिंह ऐरी ८४ बलमा ६ चौकासहित ५४ रनमा क्याच आउट भए । डेब्यू खेल खेलेका अर्जुन साउद ७९ बलमा ५ चौकासहित ५१ रनमा आउट भए । यी दुई बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान रोहित पौडेललाई एक रनमा बोल्ड आउट भए, कुशल भुर्तेल सातौं नम्बरमा ब्याटिङ गर्दै ६ रन,आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन बनाए । सोमपाल कामी र करण केसीले तीन तीन रन बनाए । गुलझन झा र ललित राजवंशी ६ रनमा अविजित रहे । युएईका आयन अफ्जल खानले १० ओभरमा ४ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिए । बासिल हामिदले ६ ओभरमा १ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए । युएईका जहूर खान, रोहन मुस्तफा र अहमेद राजाले एक एक विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । नेपालका तीव्र गतिका बलर गुलशन झाले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ६७ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । नेपालका अन्तराष्ट्रिय स्तरका बलर तथा पूर्व कप्तान सन्दीप लामिछाने बालिका बलात्कारको आरोपमा मुद्धा लडिरहेका छन् । नेपालले दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ ।

समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीपको उपाधि बद्रीलाल नेपालीलाई

काठमाडौं ।पूर्व नेशनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाईनान्स पाचौं नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीपको उपाधि जितेका छन् । पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेटमास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराउन सफल भएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे । तीन पटकका नेशनल च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमा पहिलो उपाधि हो । समग्रमा ५ दशमलब ५ अंक जोडेका बद्रीलाल बुकोल्स टाईब्रेकरका आधारमा च्याम्पियन बन्दै ५० हजार नगद समेत प्राप्त गरेका छन् । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाईनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनशीपमा समान ५ दशमल ५ अंक बनाएका फिडेमास्टर विलमलाल श्रेष्ठ तथा पुण्यमान कर्माचार्य क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहन सफल भए । पूर्व नेशनल च्याम्पियन विलमलालले छैठौं चरणमा रुपन्देहीका विजय गुरुङ एवं सातौं चरणमा नवीन तण्डुकारलाई पराजित गर्दै ३० हजार नगद हात पारे । त्यसैगरी अर्का नेशनल च्याम्पियन पुण्यमानले छैठौं चरणमा मोरङका भरत धिमाल र सातौं चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए । तेश्रो स्थानमा रहेका उनले २० हजार नगद प्राप्त गरे । स्पोर्टस एण्ड ईभेन्टस नेपालको व्यवस्थापनमा पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा सम्पन्न च्याम्पियनशीप अन्र्तगत सोमबारका दुबै खेल गुमाएपछि पूर्व नेशनल च्याम्पियन नविन तण्डुकार चौथो स्थानमा रहँदै १५ हजार नगद पुरस्कार हात पारे । भक्तपुरका बलराम नापित पाचौं स्थानमा रहँदै १० हजार नगद पुरस्कार पाउन सफल भए । त्यसैगरी जनार्दन श्रेष्ठ तथा राजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः छैठौं तथा सातौं स्थानमा रहँदै जनही सात हजार नगद प्राप्त गर्न सफल रहे । काठमाडौंका क्यानिडडेटमास्टर भगवती प्रसाद शर्मा, काठमाडौकै पुराना खेलाडी सिताराम अग्रवाल तथा बाँकेका तिर्थबहादुर विक क्रमशः आठौं, नवौं र दशौं स्थानमा रहँदै जनही ५ हजार नगद प्राप्त गरे । भक्तपुरका गणेशमान दुवाल ६० वर्षमाथि उमेर समुहको क्याटागोरी पुरस्कार पाउन सफल भए भने काठमाडौंका ज्ञानेन्द्रप्रसाद श्रेष्ठ तथा सर्लाहीका लवकुमार श्रेष्ठ क्रमशः ६५ र ७० वर्ष माथि उमेर समुहको पुरस्कार स्वरुप जनही ५ हजार नगद प्राप्त गर्न सफल भए । चार जना पूर्व नेशनल च्याम्पियन सहित देशभरका ३४ जना खेलाडीको सहभागीता रहेको च्याम्पियनशीपका विजेतालाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम समृद्धि फाईनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराई, समृद्धि फाईनान्सका सिईओ टिकानिधि लोहनी, कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कटेल लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे ।

नारायणी तटबन्धनको काम सुरू

चितवन । नारायणी नदी तटबन्धनको काम सुरुआत भएको छ। विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै(थोरै काम हुँदै आएकामा रकमको निसाकासँगै यस वर्षबाट नदी किनारका भरतपुर महानगरतर्फका अधिकांश भू–भागमा काम गरिँदै छ। असार अघि नै बोलपत्र आह्वान भई सम्झौता भएका तीन खण्डमध्ये एउटा खण्डको काम थालिएको छ। अन्य दुई खण्डमा छिट्टै काम थालनी गरिँदै छ। नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार अर्को एक खण्डको बोलपत्र आह्वान भएर सम्झौता यसै महिना गरिएको छ भने अर्को एक खण्डको बोलपत्र आह्वान भई मूल्याङ्कन भइरहेको छ। असार अघि नारायणी नदीको महानगरतर्फ सिसइदेखि भगडीसम्मको तटबन्धनका लागि रु ३८ करोडमा ठेक्का सम्झौता भएको हो। त्यसैबेलाको अर्को एक खण्ड गाँजीपुरदेखि हीरापुरसम्मको रु ४८ करोडमा ठेक्का सम्झौता भएको छ। तेस्रो रामघाटदेखि काभ्रेघाटसम्मको रु एक अर्ब १५ करोडमा ठेक्का सम्झौता भइसकेको छ। तेस्रो खण्डको काम सुरु गरिएको छ। उनले अन्य दुई खण्डको काम छिट्टै सुरु हुने बताए। सम्झौता भइसकेका तीन खण्ड ५ किलोमिटर लम्बाइका दरले रहेका छन्। गत कात्तिकमा सम्झौता भएको बालुवादेखि गोलाघाट सम्मको सात किलोमिटरमध्ये २.५ किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्हार रहेको छ। यसका लागि रु २३ करोडमा यसै महिना ठेक्का सम्झौता भएको हो। नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिविच बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको छ। नारायणी किनारको जङ्गलको क्षेत्रबाहेकका सबै ठाउँमा तटबन्धनका लागि ठेक्का लगाइएको हो। बहुवर्षीय आयोजनाका रुपमा काम अघि बढाइएको छ। विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकै पटक रु पाँच अर्बको काम अघि बढाइएको हो। जसमध्ये भरतपुर र नवलपरासीतर्फ दुवैतर्फ यस बजेटबाट काम हुँदैछ। आर्थिक वर्ष २०६६–०६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन। चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ। चितवनका लागि रु नौ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ। हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरी सकिएको छ। गुरुयोजनाअनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार छ जना प्रत्यक्षरुपबाट लाभान्वित हुने छन्। चौध हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने छ भने कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने छ। नारायणी नदीमा धेरै बाढी आउँदा १४ हजार चार सय तीन क्युविक मिटर प्रतिसेकेण्ड पानीको बहाव रहने गरेको अध्ययनले देखाएको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण बजेट परेको जानकारी दिइन्। यसलाई सबैको साथ र सहयोगबाट समयमै सम्पन्न गर्न सकेमा पश्चिम चितवनका कटान समस्या सदाका लागि अन्त्य हुने उनको भनाइ छ।

कोप२७ राष्ट्रसंघीय सम्मेलन शुरुआत : वातावरणीय विपदको चेतावनी

काठमाडौं । हाम्रो ग्रह पृथ्वीले ‘आफू विपद्­मा परेको संकेत दिइरहेको छ’ भन्ने चेतावनी सहित आइतवारबाट इजिप्टमा संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन शुरुभएको छ। महासचिव एन्टोनियो गुटेरसले आइतवार नै सार्वजनिक गरिएको एक प्रतिवदेनको आधारमा त्यस्तो टिप्पणी गरेका हुन् जुन प्रतिवेदनले, अभिलेख अनुसार, गएको आठ वर्ष पृथ्वीमा हालसम्मकै सबैभन्दा बढी तापक्रम भएका वर्षहरूका रूपमा दरिने जनाएको थियो। कोप२७ भनेर चिनिने इजिप्टको यो सम्मेलनमा १२० जनाभन्दा बढी विश्व नेताहरूले जलवायु परिवर्तनबाट पर्ने विश्वव्यापी असरका सम्बन्धमा चालिनु पर्ने कदमहरूका बारे दुई हप्तासम्म विभिन्न छलफल र वार्ताहरूमा सहभागीता जनाउँदै छन्।कोप २७ का अध्यक्ष इजिप्टका विदेशमन्त्री सामेह शुक्रीले रूसले युक्रेनमा गरेको अतिक्रमणबाट सिर्जना भएको खाद्य तथा उर्जा संकटको अवस्थालाई जलवायु परिवर्तनसँग जुझ्ने कार्यको बाटोमा अवरोध बन्न नदिन नेताहरूलाई आग्रह गरेका थिए। राष्ट्रसंघका महासचिव गुटेरसले सम्मेलनमा पठाएको एक भिडिओ सन्देशमा सन् २०२२ मा विश्वमा जलवायु परिवर्तनबाट परेको प्रभाव सम्बन्धी एक प्रतिवेदन, द स्टेट अफ ग्लोबल क्लाइमेट रिपोर्ट २०२२, लाई “जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट सिर्जित भद्रगोलपूर्ण अवस्थाको अभिलेख” भनेका छन्। उक्त प्रतिवेदनमा वैज्ञानिकहरूले अनुमान गरे अनुसार विश्वको तापक्रम औद्योगिकिकरण युगभन्दा अघिको समयको दाँजोमा १.१५ डिग्री सेल्सिअस्­ले वृद्धि भैसकेको छ र गत आठवटा वर्ष पृथ्वीमा सबैभन्दा तातो वर्षको रूपमा रहने बाटोमा छन्।उक्त प्रतिवेदनले जलवायु परिवर्तनबाट पर्ने व्यापक असरहरूका बारेमा पनि चेतावनी दिएको छ जसमा समुद्रको सतह बढ्ने क्रम तीव्र हुने, हिमनदीहरूको आकारमा ठूलो ह्रास हुने र गर्मीका लहरहरू झन् चर्केर जाने अवस्थाहरू पनि पर्दछन्।

नेपालमा डेंगुको कहर : संक्रमित ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

काठमाडौं । कात्तिक २१ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ५० हजार २ सय ६३ पुगेको छ ।त्यस्तै डेंगुबाट अहिलेसम्म यो वर्ष संख्या ५५ जनाको ज्यान गएको छ । यो संख्या सन् २००४ यताकै उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएको छ ।महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ । डेंगु संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।