एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक केहीबेरअघिबाट सुरु भएको हो।
आजको बैठकले वर्तमान सरकारमा सहभागी हुनेरनहुनेबारे आज निर्णय गर्ने जनाइएको छ। एकीकृत समाजवादीको यसअघि शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो।
बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए।
स्थायी कमिटीमा आएका सुझावमाथि छलफल गरी पोलिटब्युरोबाट बाँकी निर्णय लिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
पाँचदलीय सत्ता गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि एकीकृत समाजवादी अलमलमा परेको छ।
एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो बैठक बोलाएको छ। सोमबार बस्ने गरी पोलिटब्यूरो बैठक बोलाइएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। ‘हामीले पोलिटब्यूरो बैठक बोलाइएको छ। यसमा स्थायी कमिटीभन्दा धेरै संख्यामा नेताहरू हुनुहुन्छ। पोलिटब्यूरोले पार्टीलाई सुझाव दिन्छ,’ उनले भने। समसामयिक राजनीति, नयाँ सरकारबारे धारणा र पार्टी अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने तथा सुझाव दिन बैठक गर्न लागिएको छ। अरू पार्टीसँग अहिले एकताको कुनै सम्भावना नरहेको खतिवडा बताउँछन्। ‘पार्टी एकताका कुरा बजार हल्ला मात्रै हुन्,’ उनले भने। एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी बैठक गरेको थियो। उक्त बैठकले तत्काल सरकारलाई समर्थन नगर्ने निष्कर्ष पनि निकालेको छ। एकीकृत समाजवादीले गत मंसिरमा भएको चुनावमा प्रतिनिधि सभातर्फ १० सिट जितेको थियो भने राष्ट्रिय पार्टी बनेको थिएन। अहिले एकीकृत समाजवादीमा अहिलेको सरकारलाई समर्थन गर्ने वा नगर्नेमा दुई धार देखिएको छ।
राजनीतिमा ‘फउल’ गरे ‘रेड कार्ड’ नै दिनुपर्छ : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि ‘फउल’ गरे ‘रेड कार्ड’ नै दिएर आउट गर्नुपर्ने बताएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले खेललगायत सबै क्षेत्रमा अनुशासनको आवश्यकता औँल्याए । फउल गरे राजनीतिमा समेत ‘रेड कार्ड’ दिनुपर्ने उनको भनाइ छ । अनुशासन र नियममा चल्न नसके केही पनि रहन नसक्ने उनले उल्लेख गरे । खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि आफूले सरकारसँग आग्रह गर्ने उनले बताए। नयाँ खेलकुदमन्त्री आउन अझै १०–१५ दिन लाग्न सक्ने उनले बताए । कार्यक्रममा ओलीले केही बेर टेबलटेनिस खेलेका थिए । खेलाडीहरूले विभिन्न कलाकौशल प्रस्तुत गरेका थिए ।
२ संक्रमित थपिए ,सक्रिय संक्रमितको संख्या २९
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ जना कोरोना संक्रमित थपिएका छन् । ३९४ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टी भएको हो । आज ३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काम गर्नलाई मर्यादाक्रम मुख्य समस्या होइन, सञ्चो नभएर मन्त्रालय नगएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाक्रममा समस्या रहे पनि यसै कारण आफू मन्त्रालय नगएको कुरा गलत रहेको बताएका छन् । ‘मर्यादाक्रमको विवादले मन्त्रालय नगएको भनेर फिजाइएको हल्ला गलत छ,’ शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मन्त्री भएकै दिन मन्त्रालय गएको हो, नजाने भए पहिलो दिन नै मन्त्रालय जान्नथेँ ।’ मन्त्री भएकै दिन मन्त्रालय गएर कर्मचारीसँग भेटी आवश्यक निर्देशन दिइसकेको उनले बताए । ‘त्यसपछि सञ्चो नभएर मन्त्रालय जान सकिनँ, अहिले पनि घाँटी ठीक भइसकेको छैन,’ उनले भने, ‘तर मर्यादाक्रममा समस्यै नभएको भने होइन, समस्या छ, क्याविनेटको सिस्टम हुन्छ, न यो मेरो र अर्थमन्त्री विष्णु पौडेलबीच सम्बन्धको कुरा हो, न त्यो कारणले म मन्त्रालय नगएको हो ।’ यो सरकारलाई सफल बनाउने र त्यसका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले आइतबारबाट मन्त्रालय गएर काम सुरु गर्नेसमेत बताए । ‘तर ७–८ वर्ष पहिले उप्रधानमन्त्री भइसकेको र अर्को उप्रधानमन्त्री छ भने त्यसमा मर्यादा क्रम हुनुपर्छ, एउटै पार्टीमा हुँदा पनि म छैठौं नम्बरमा थिएँ, उहाँ (विष्णु पौडेल) नवौं नम्बरमा हुनुहुन्थ्यो,’ उनले भने, ‘८ वर्ष पहिले उप्रधानमन्त्री थिएँ, तर उहाँ ८ वर्षपछि हुनुभएको हो, यस्ता केही समस्या छन्, तर काम गर्नका लागि यी मुख्य समस्या भने होइनन् ।’ आइतबार मन्त्रालय गएर यातायात व्यवस्था विभागबाट त्यहाँ के के समस्या छन् बुझेर समाधानको उपाय खोज्ने पनि उनले बताएका थिए ।
प्रदेश १ मा मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखले गरे आव्हान
काठमाडौं। प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकार गठनको लागि पुस २४ गते बेलुकी पाँच बजेभित्र दाबी पेस गर्न आव्हान गरेका छन्। नेपालको संविधानको धारा१६८उपधारा(२) बमोजिम सरकार गठनको आव्हान गरिएको हो। मुख्यमन्त्री नियुक्त गर्नको लागि प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकोले दुई/दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गरी मुख्यमन्त्रीको दाबी पेश गर्न उनले भनेका छन्।
नेपालमा बीएफ ७ को शंकास्पद नमुना भेटिएको छैन : एनपीएचएल
काठमाडौं । नेपालमा हालसम्म ओमिक्रोनको सब भेरियन्ट बीएफ ७ को शंकास्पद नमुना नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले जनाएको छ । एनपीएचएलले जिन सिक्वेन्सिङका लागि देशभरिका प्रयोगशालाबाट संकलन गरेको पछिल्ला नमुनामा बीएफ ७ को शंका नदेखिएको जनाएको हो । एनपीएचएलले सीटी भ्यालु २५ भन्दा कम देखिएका नमुनाको जिन सिक्वेन्सिङ गरी भेरियन्ट तथा सब भेरियन्ट पहिचान गर्दै आएको छ । प्रयोगशालाले यसअघि ४८ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोनका विभिन्न सब भेरियन्टहरू भेटिएको जनाएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने विदेशी तथा स्वदेशी नागरिकमा स्क्रिनिङका क्रममा कोभिड–१९ का कुनै पनि लक्षण देखिए त्यहीँ एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरेको छ । पछिल्लो समय छिमेकी मुलुक चीन, भारतलगायत देशमा बीएफ ७ को संक्रमण फैलँदो छ ।
त्रिविमा २२ दिन हिउँदे बिदा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जाडो बढेसँगै हिउँदे बिदा दिने भएको छ । त्रिविअन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा आइतबारदेखि हिउँदे बिदा दिने भएको हो । त्रिवि कार्यकारी परिषद्ले १७ पुसदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए । उनले उक्त समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् । त्रिविमा ६२ आंगिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पस छन् ।
बागमतीमा माआवोदी संसदीय दलको नेतामा जमकट्टेल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमकट्टेल चयन भएका छन्। माओवादी संसदीय दलको शनिबार बसेको बैठकले जमकट्टेललाई सर्वसम्मत नेता चयन गरेको हो। बैठकले सर्वसम्मत रुपमा उनको नाम पारित गरेको हो। संसदीय दलको नेतामा माओवादीबाट पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल र पार्टी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी रहेको थियो । संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री जमकट्टेललाई संसदीय दलको नेता चयन गरेको हो । यसमा पौडेल अहमति जनाउँदै संसदीय दलको नेताका लागि चुनाव हुनुपर्ने बताएका थिए ।
भरतपुर महानगर सबैको साझा चौतारी हो : मेयर रेनु दाहाल
भरतपुर । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिका सबै भरतपुरबासीको साझा चौतारी भएको बताएकी छन्। तमु समुदायको नयाँ वर्ष ल्होसारको अवसरमा तुम ह्युल छोजधी राष्ट्रिय परिषद चितवनले भरतपुरको तीन खोले गुम्बामा आयोजना गरेको कार्यक्रममा मेयर दाहालले महानगरपालिकाले सबै समुदायलाई समान दृष्टिकोण र व्यवहार गर्दै आएको उल्लेख गरिन् । मेयर दाहालले विगतको कार्यकालमा पनि सबै धर्म, लिङ्ग, क्षेत्रलाई समान व्यवहार प्रस्तुत भएको स्मरण गर्दै उनले अहिले पनि त्यसलाई निरन्तरता दिएको जिकिर गरिन् । ‘विगतमा धेरै जसो वडामा गुम्बाहरु निर्माण भएका छन्, उनले भनिन्,‘त्यही संख्यामा मन्दिर र मस्जिद पनि निर्माण भएको छ । कसैलाई काखा र पाखा भएको छैन ।’
सुदूरपश्चिम प्रदेशका सांसदले लिए शपथ
कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्यको आज शपथ ग्रहण सम्पन्न भएको छ । प्रदेशसभाको ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को ९२० बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ गराएका हुन् । त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराएका थिए । प्रदेशसभा सदस्यहरुका लागि नेपाली र मातृभाषामा शपथ ग्रहण गराइएको थियो । जसमा नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली काँग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीता चौधरीले मातृ भाषामा शपथ ग्रहण गरेको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभाका ६ जना सदस्य बाहेक अन्यले भने नेपाली भाषामा शपथ ग्रहण गरेका छन् । सुदूरपश्चिममा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा ९एकीकृत समाजवादी० का चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन्।
तमु ल्होसारका निम्ति विगतको भन्दा दोब्बर सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
काठमाडौं। प्रधानमन्त्री प्रचण्डले शुक्रबार काठमाडौंको टुँडिखेलमा पुगेर गुरुङ समुदायको तमु ल्होसार पर्वको शुभकामना व्यक्त गरेका छन् । पोडियमबाट आफ्नो भनाइ सकाएर मञ्चमा फर्किसकेका प्रधामन्त्री प्रचण्ड ‘दुईटा कुरा भन्न छुटाए छु’ भन्दै पुनः पोडियममै फर्किए । उनले छुटाएका दुईवटा कुरा पनि भने । पहिलो– उनले समारोहमा सुरक्षाका निम्ति खटिएका सुरक्षाकर्मीलाई सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिए । ‘यो काठमाडौंको टुँडिखेलमा आयोजित यो समारोहको सुरक्षाका निम्ति विशेष ध्यान दिन नेपाल प्रहरीलाई म यसै मञ्चबाट निर्देशित गर्न चाहन्छु,’ उनले भने । प्रचण्डले उठाएको दोस्रो कुरा– तमु ल्होसारका निम्ति सरकारले दिने आर्थिक सहयोगसँग सम्बन्धित थियो । विगतमा आर्थिक सहयोग रोकिएको भन्दै आफूले दोब्बर गर्ने घोषणा समेत गरे । ‘तमु ल्होसार निम्ति बिगत सरकारले पनि सम्मान र सहानुभूति स्वरुप आर्थिक सहयोग गर्दै आएको मलाई थाहा छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म पनि दोस्रो चोटी प्रधानमन्त्री हुँदा मैले बोलेको थिएँ । तर, मैले प्रधानमन्त्री छोडेपछि त्यो आर्थिक सहयोग भएन भनेर मलाई सुनाउनुभयो । यो पटक अहिलेसम्म दिइएको भन्दा बढी रकम दिइने छ । र, मेलै दिने छु ।’
गृहमन्त्री लामिछानेले भने – सरुवा बढुवा कानुनसम्मत हुन्छ
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको सरूवा बढुवामा आफूले कुनै किसिमको हस्तक्षेप नगर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गर्न शुक्रबार पुगेका लामिछानेले आफू कानुनसम्मत चल्ने कुरामा विश्वास गर्ने बताए। नियम, कानुन र विधिसम्मत रूपमा प्रहरी चलेमा गृह मन्त्रालय र आफूले कुनै हस्तक्षेप नगर्ने लामिछानेले बताए। प्रहरीको सरुवा, बढुवा कानुन अनुसार हुने तर्क गरेका उनले त्यसका लागि कुनै मन्त्री र नेताको दैलोमा नधाउन पनि आग्रह गरेका छन्। सरुवा बढुवाकै लागि नेताको घरमा धाउने कुरालाई अन्त्य गर्न चाहेको बताउँदै उनले यदि कसैले त्यस्तो गरेको देखिए कारवाही गर्ने चेतावनी पनि दिएका छन्। उनले प्रहरी संगठनको बेथिति हटाउन जुट्ने पनि बताए।
प्रधानमन्त्रीको निर्देशनपछि रोकियो मोबाइल फोन दर्ताको नयाँ नियम
काठमाडौं । विदेशबाट नेपालीहरुले लिएर आउने मोबाइल फोनमा कडाइ गर्ने निर्णबाट नेपाल दूरसञ्चार प्राधिकरण पछि हटेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत रुपमा नेपालीहरुले विदेशबाट लिएर आउने मोबाइल फोनमा गरिएको कडा तत्काल लागु नगर्न बिहीबार निर्देशन दिएका थिए। उक्त निर्देशनपछि प्राधिकरणले बिहीबार एक सूचना निकालेर उक्त निर्णय कार्यान्वयन नगर्ने जनाएको हो। मोबाइल सेटको गैर कानुनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका र हराएका मोबाइल सेटको ट्र्याकिङरब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमस)मा विदेशबाट आउने नेपालीहरुले निजि प्रयोगक लागि ल्याएका मोवाइल सेटहरुको आईएमईआई रजिष्ट्रेसन सम्बन्धमा सेवााग्राहीको पृष्ठपोषण र दर्ता प्रक्रियालाई सरलीकरण गर्न निर्देशन भएअनुसार अर्को सूचना प्रकाशन नहुन्जेलसम्म पूर्वत रुपमा हुँदै गरेको आईएमइआई प्रक्रिया अनुसार नै हुने व्यहोरा जानकारी गराइन्छ,’ प्राधिकरणले भनेको छ। आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने नियम सरकारले ल्याएको थियो। त्यस्ता मोबाइल फोन वैदेशिक रोजगारीबाट आउने युवाले ल्याउने गरेका थिए। विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएपछि सरकार पछि हट्न बाध्य भएको हो।
निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया पश्चात संसार देख्न पाएपछि……..
काठमाडौं । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। यही पुस ११ गतेदेखि १३ गतेसम्म चलेको सो शिविरमा आँखा जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबैको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिए। शिविरमा चार सय ५० जनाले आँखाको निःशुल्क उपचार सेवा लिएको उनको भनाइ छ। शिविरमा ९७ वर्षकी वृद्धाकोसमेत मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए। त्यस्तै दुवै आँखाको दृष्टि गुमाएकी ७७ वर्षीय थरमाया विकको दुवै आँखाको मोतियाबिन्दुको शल्यक्रिया सफल भएको उनले जानकारी दिए। झण्डै चार वर्षदेखि दृष्टि दुवै आँखाका दृष्टि गुमाएकी विक शल्यक्रिया सफल भएपछि दृष्टि फिर्ता भएकामा खुसीले गद्गद् भइन्। ‘आँखाको पट्टी खोलेपछि वृद्धा विक खुसीले नाच्नु नै भयो’, उनले भने, ‘लामो समयपछि फेरि संसार देख्न पाएकामा उहाँमा खुसीको सीमा नै थिएन।’ नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका मेडिकल डाइरेक्टर एवं नेत्ररोग विशेषज्ञ डा। कमलबहादुर खड्काको नेतृत्वको टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको उनले बताए। नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोग तथा बारपाकस्थित बौद्ध बहुद्देश्यीय सहकारी संस्था, मुटु फाउन्डेसन काठमाडौँ र मनोज एसोसिएसन फ्रान्सले सहयोग शिविर सम्पन्न भएको हो। शिविरमा उपचार गराएकालाई आवश्यकताका आधारमा चस्मा र औषधिलगायत निःशुल्क वितरण उनले जानकारी दिए। गाउँपालिकाको समन्वयमा पालिकाभित्रका वडा नं ३ देखि ८ सम्मका वडामा भने यसअघि नै निःशुल्क आँखा शिविर सम्पन्न भइसकेको जनाइएको छ। रासस
चिसो बढेसँगै भरतपुर महानगरपालिकाले दियो साना विद्यार्थीलाई न्यानो कपडा
चितवन । चिसो बढेसँगै भरतपुर महानगरपालिकाले साना विद्यार्थीलाई मध्यनगर गर्दै न्यानो कपडा वितरण गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार भरतपुर–२८ मा रहेको आधारभूत विद्यालय सिसाबासबाट मेयरसँग बालबालिका कार्यक्रम अन्तरगत पहिलो चरणको न्यानो कपडा वितरणको थालनी गरेकी छन् । भरतपुरको शिक्षालाई थप गुणस्तरीय बनाउने उदेश्यसहित विद्यालयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईएको छ । चिसोका कारण विद्यालय जान रोकिन् नपरोस् भनेर कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम विगतको कार्यकालदेखि नै सञ्चालन गर्दै आइरहेको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताइन् । यस्तै भरतपुरका सामुदायिक विद्यालयमा मेयरसँग छात्रा कार्यक्रम अन्तरगत साईकल वितरण, विद्यालयलाई बस हस्तान्तरण जस्ता कार्यक्रमहरुले निरन्तरता पाउने प्रमुख दाहालले जानकारी दिइन्। पहिलो चरणको न्यानो कपडा वितरण कार्यक्रममा साना विद्यार्थीहरुलाई एक जोड ट्रयाक सुट र ऊनको टोपी वितरण गरिएको भरतपुरका महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिए । यस वर्ष १५ सय विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम अन्तरगत पहिलो चरणमा १२ विद्यालयका १ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको महाशाखा प्रमुख पौडेलले जानकारी दिए। महानगरले आज (बिहीबार) ९ सय ८६ जना विद्यार्थीलाई सहयोग गरेको सहयोग गरेको छ । भरतपुर–६ को देवज्योति आधारभूत विद्यालयका १ सय १४ जना, वडा नम्बर १३ को आधारभूत विद्यालय ब्रहमपुरीका ५८ जना, वडा नम्बर १७ को आधारभूत विद्यालय लगौटाका १ सय २२ जना, १८ को आधारभूत विद्यालय भवनवस्तीका १ सय १३ जना विद्यार्थीले न्यानो कपडा पाए । यस्तै वडा नम्बर २१ को आधारभूत विद्यालय रंगीलाका ८९ जना, आधारभूत विद्यालय सीतापुरका ३४ जना विद्यार्थीले न्यानो कपडा पाए । यस्तै वडा नम्बर २३ को आधारभूत विद्यालय घैलाघारी, वडा नम्बर २६ को जनमासिंह आधारभूत विद्यालयका ५० जना, वडा नम्बर २७ को काजिमान आधारभूत विद्यालयका ८४ जनाले न्यानो कपडा सहयोग पाएका छन् । भरतपुर महानगरभित्र १ सय १६ वटा सामुदायिक विद्यालय छन् भने ९७ वटा संस्थागत विद्यालय छन् । ७३ वटा आधारभूत तहका विद्यालय छन् । महानगरले विगत ४ वर्षदेखि विद्यार्थीलाई न्यानो कपडा सहयोग गर्दै आएको छ । महानगरले छात्राहरुलाई साइकल समेत वितरण गरिसकेको छ ।

